पुस्तकहरू इमानदार मित्र हुँदा रहेछन् :विकेश कविन (किताबका कुरा)

You are currently viewing पुस्तकहरू इमानदार मित्र हुँदा रहेछन् :विकेश कविन (किताबका कुरा)
  •  विकेश कविनसँग ‘किताबका कुरा’

काव्यिक अभ्यासमा साधनारत सुनसरीको इटहरीमा बस्ने विकेश कविन किताब पढिरहने व्यक्ति हुन्। उनको ‘साहित्यिक पाइलाहरू’ नामक फेसबुक ग्रुप पनि छ, जहाँ उनी बरोबर पठनसामग्रीहरू राखीरहेका हुन्छन् ।

प्रस्तुत छ, भिजन न्यूज नेपालका राजु झल्लु प्रसादले तयार पारेका सामाग्री :  विकेश कविनसँग ‘किताबका कुरा’

‘रुटिन प्रश्न’ नभनियोस्, तर मलाई सोध्न मन लागेको छ । लेख्न/पढ्न के-कुराले प्रेरित गर्यो? गर्दोरहेछ ? गरिरहेछ?

सर्वप्रथम प्रश्नका निम्ति तपाईंलाई धन्यवाद ।

म‌ैले अक्सर भन्ने गरेकाे कुरालाई फेरि दाेहाेर्याएर भन्नु पर्दा, पठन र लेखन दुवै कुरा मेरा निम्ति मेराे जीवनमा ‘संयाेग’ बनेर आइदियाे । यदि त्याे ‘संयाेग’ नजुरेकाे भए आज म साहित्यानुरागी त के साहित्य, पुस्तक र पठनबारे पूरै अनभिज्ञ मान्छे हुन्थे ।
म सानाे छँदा हाम्राे घर/परिवारमा अर्थात् मेराे जीवनमा एउटा ठूलाे घटना घट्याे, जुन घट्नाले मेराे जीवनलाई ३६० डिग्रीमै पूरै उलटपुलट पारिदियाे । जसपश्चात्, म पूरै एक्लिएँ । त्याे बेला मसँग असीमित संवेदनाहरू, आवेगहरू, उकुसमुसुकहरू, आँसुहरू र पीडाहरू थिएँ जुन म ‘कसैलाई’ सुनाउन चाहन्थे ताकि आफूलाई हलुका बनाउन सकूँ । आफ्ना ती कुराहरू भित्तालाई सुनाएँ, तर उसले मलाई कुनै प्रतिक्रिया दिएन । तिनै कुराहरू रातलाई सुनाएँ, ताराहरूलाई सुनाएँ, जूनलाई सुनाएँ, माैनतालाई सुनाएँ, तर कसैले पनि मेरा कुराहरू सुनेर प्रतिक्रिया दिएन ।

एकदिन मेराे भेट एउटा कापी र कलमसँग भयाे । त्याे भेट अरू बेलाकाे भन्दा बिलकुल फरक थियाे । त्याे बखत मैले आफैँलाई पूर्णत: पाेखिदिएँ/खसाइदिएँ- शब्दका रूपमा (भलै त्याे बेला मसँग लेखनसम्बन्धी कुनै ज्ञान थिएन) । अचम्म, मलाई त्याे बेला के लाग्याे भने, मैले लेखेकाे कविताजस्ताे ‘केही’ले मसँग कुरा गरिरहेकाे छ । ऊ मसँग बाेलिरहेकाे छ । मलाई अँगालाेमा बेरेर मातृस्नेह दिइरहेकाे छ । त्याे बेला लेखन मेरा निम्ति साथी बन्याे । हितैषी बन्याे । आमा बन्याे ।

यसरी पहिलाेपटक मेराे प्रस्थान भयाे- ‘लेखनकाे भूमिमा’ । अर्थात्, यसरी आऊफूलाई अभिव्यक्त गर्दा म स्वान्तसुखायकाे अवस्थामा हुन्थेँ । त्यसैले लेख्न नजाने पनि लेखिरहेँ । अर्थात्, मेरा शब्दरूपी साथीसँग डुलिरहेँ, कहिले कविताकाे देशमा त कहिले संस्मरणकाे देशमा । सुरुवाती चरणमा कलममा अाँसु भरेर लेखेँ । पछि मात्र मसी भरेर लेख्न थालेकाे हुँ । बिस्तारै लेखनसँगै पठनकाे क्रम पनि सुरु भयाे । र, लेखन र पठन सँगसँगै हिँड्न थाल्याे मेराे मुटुकाे बाटाेमा । सुरुमा रमाउँनलाई मात्रै लेखेँ/पढेँ तर पछि त कथा नै बेग्लै भइगयाे !

यी माथिका कुराहरू आज नै मैले सर्वप्रथमत: सार्वजनिक गरिदिएँ । नत्र त यी कुराहरू अहिलेसम्म पनि मेरा कविता, कथा, संस्मरण अादिभित्र लुप्त/सुरक्षित छन् । जुन साहित्यिक सामग्रीहरूलाई आजसम्म मैले मेराे मुटुकाे काेठाबाट सार्वजनिक गरेकाे छैन । र, त्यसैमा म खुसी पनि छु ।

याे त भयाे, म कसरी पठन/लेखनकाे संसारमा अाइपुगेँ भन्ने कुरा । अब संक्षिप्तमा बताउने प्रयास गर्नेछु, के कुराले लेख्न र पढ्न उत्प्रेरित गर्दाेरहेछ र गरिरहेकाे छ ।

अहिले वर्तमान अवस्था/भाेगाइ/अनुभवलाई केन्द्रमा राखेर भन्नुपर्दा, मलाई लेख्नलाई प्रेरणा पठनले दिन्छ । र, पढ्नलाई प्रेरणा लेखनले दिन्छ (लेख्न र पढ्नलाई प्रेरणा दिने अन्य अनेक कुराहरू पनि छन्) ।

आजभाेलि त बाँच्नका निम्ति लेखिरहेकाे छु । भलै मैले लेखेका शब्दहरू संसारकै कुरूप हाैऊन् । साथै, केही जान्न, शब्द भण्डार बढाउन, लेखन शैलीहरूसँग साक्षत्कार हुन, केही बुझ्न, केही साेच्न र आफूले लेख्नलाई पढ्ने गर्छु ।

‘पठनका बेला हामी हामीभित्रको हामीसँग हुन्छौं’, भन्नुभएको छ । त्यो भनेको ? साथै, तपाइँको लागि पठन के हो ? पुस्तक के हो ? 

‘पठनका बेलामा हामी हामीभित्रकाे ‘हामी’सँग हुन्छाैँ’, कतै यसरी बाेलेकाे रहेछु । पुस्तक पठनका क्रममा हामीसँग पुस्तकका अतिरिक्ति वास्तवमा हाम्राे ‘हामी’नै उपस्थित हुँदाेरहेछ । पुस्तक पठनकाे अवस्था भन्नु ध्यानकाे अवस्था पनि हाे । र, ध्यानकाे अवस्था भन्नु नै हामी ‘हामी’सँग हुनु हाे । पठनका क्रममा हामी हामीभित्रकाे ‘हामी’सँग निरन्तर संवाद र बहसमा हुन्छाैँ । त्यहाँ भावना साटासाट गर्ने पुलकाे निर्माण गर्छाैँ । त्याे बेला भित्री ‘हामी’काे काेमल पाटाेलाई छुँदा हामी बाेल्छाैँ, आँसुको भाषामा । अनि, त्याे भित्री ‘हामी’काे विचारलाई हल्लाउँदा हामी बाेल्छाैँ, चिन्तन र मननकाे भाषामा । बाैद्धिक भाषामा ।

पढिरहँदा हाम्राे मन र मस्तिष्क विशेषत: सक्रिय हुन्छ । यसाे हेर्दा पठन त हामीभित्रकाे ‘हामी’ले नै गर्दाेरहेछ ।

मेरा निम्ति पठन आफ्नाे मन-मस्तिष्कभित्रका असीमित उकुसुमुकुस र भारीहरूलाई हलुका गर्ने माध्यम हाे । केही क्षण भए पनि रमाउने अर्थात् मनलाई शान्त पार्ने माध्यम हाे । र, मुख्यत : ज्ञान आर्जनकाे माध्यम हाे । धेरै कुराहरू सिक्ने माध्यम हाे ।

अनि, पुस्तक मेरा निम्ति मेरा सबैभन्दा नजिकका र मिल्ने अर्थात् घनिष्ठ साथीहरू हुन् । जीवनमा असंख्य साथीहरू भेटिए र केही समयमै छुटिगए पनि । तर, पुस्तकहरू उहिल्य‌ै भेटिए पनि, आज पनि मसँगै छन् । मेराे मनकाे बागमा मसँगै डुलिबस्छन् । मसरि पुस्तकहरूले पनि मलाई माया गर्छन् । साँच्चि, पुस्तकहरू इमानदार मित्र हुँदारहेछन् । सदैव साथ दिने । तपाईंलाई अन्तर्हृदयबाट बुझ्ने । तपाईंका दु:ख-कष्टमा आफैँ पनि राेइदिने र तपाईंलाई सान्त्वना र प्रेम दिने ।

अनलाइन बिक्री र इ-बुकको आर्कषण बढीरहेको छ, तपाइँ चाहिँ पुस्तक नै किन्नु हुन्छ अरे! किन हो ? 

हाे । म प्रिन्टेड पुस्तक नै किन्छु सकेसम्म । जुन ई-बुकहरूभन्दा महंगा हुन्छन् । यसका थुप्रै कारणहरू छन् । प्रमुख कारण त, हातमा पुस्तक नै बाेकेर पढ्नुकाे आनन्द सायद शब्दमा बयान गर्न कठीन हुन्छ । त्यसमाथि आफू काेरकार गरेर, हरेकजसाे पानालाई शब्दका रङहरूले रङ्ग्याउँदै पढ्ने गर्छु । जुन ई-बुकमा सम्भव छैन । अनि, म सधैँ याे सिसा/प्राविधिक/डिजिटल संसारबाट सकेसम्म आफूलाई दूर राख्न चाहन्छु । ताकि मानसिक रूपमै आफूलाई अलि स्वस्थ र सक्रिय बनाउँनसकूँ । मलाई लाग्छ, पुस्तककाे पनि जीवन हुन्छ । शरीर हुन्छ । सास हुन्छ । आत्मा हुन्छ । जुन कुरा म सिसामा पढ्दा अर्थात् ई-बुक पढ्दा पाउदिनँ ।

अनलाइन माध्यमबाट भने कहिलेकाहीँ पुस्तकहरू मगाउने गर्छु ।

तर, जसलाई जुन माध्यममा पढ्दा मज्जा आउँछ, उसले त्यही पढ्नु बेस ।

पुस्तक छनौटको आधार केलाई बनाउनुहुन्छ ? पढेकामध्ये सबैभन्दा मन परेका पुस्तक? तपाईंको ‘प्रिय पुस्तकहरू’को सूची शाश्वत एवं सनातन छन्? छन् भने ती कुन–कुन हुन्?

मेरा केही मन पर्ने अथवा भनाैँ रुचिका विधा र विषयहरू छन् । साहित्यिक विधाहरूमध्ये मेराे पहिलाे छनाेट सधैँ कविताकाे रहन्छ । त्यसपछि आख्यान । नाटक पनि प्रिय नै लाग्छ । पछिल्लाे समय निबन्ध र संस्मरणतिर पनि लाेभिएकाे छु । समग्रमा, म सबैजसाे विधा उत्तिकै रुचाउछु र पढ्छु । ऐतिहासिकलगायत अन्य विषयमा लेखिएका पुस्तकहरू पनि रुचाउन त रुचाउछु तर अरूभन्दा कम । वास्तवमा, शब्दलाई प्रेमी/प्रेमिका बनाएकाे मान्छेले बाटा-बाटामा टाँसिएका पाेस्टरहरू पनि मन पराउँदाेरहेछ । (हाहा.. )

विषयगत रूपमा भन्नुपर्दा मलाई मनाेविज्ञान, बाल मनाेविज्ञान, बालबालिकासँग सम्बन्धित विविध विषय, शिक्षा, समाज, संस्कृति, इतिहास, भाषा, संस्कृति, प्रकृति, प्रविधि, वातावरण, गाउँ-सहर, राेचक कुराहरू, ज्ञानवर्द्धक कुराहरूलगायतका अन्य थुप्रै विषयमा लेखिएका पुस्तकहरूप्रति रुचि लाग्छ । र, विशेषत: मेराे छनाेटमा त्यस्तै पुस्तकहरू पर्नेगर्छन् ।

मन परेका पुस्तकहरू त थुप्रै छन् । तर, मैले सधैँ मेराे मुटुमै राख्ने दुई पुस्तक हन्, विजय मल्लका नाट्यकृति ‘काेही किन बदबाद हाेस्’ र ‘जिउँदाे लास’ । लीलबहादुर क्षेत्रीकाे उपन्यास ‘बसाइँ’ पनि मेराे प्रिय हाे । कवितासङ्ग्रहहरूमध्ये एक नम्बरमा भूपी शेरचनकाे ‘घुम्ने मेचमाथि अन्धाे मान्छे’लाई राखे पनि मलाई वासु शशीका कविताहरू पनि उत्तिकै प्रिय लाग्छ । केही समयअघि ‘करिया’ पढेकाे थिएँ, कृष्ण अविरलकाे ऐतिहासिक उपन्यास । त्याे पनि निकै मन परेकाे थियाे । राेचक घिमिरेकाे संस्मरणहरूकाे सँगालाे ‘सम्झनामा फक्रिएका थुँगाहरू’ पनि पठनीय छ ।

म विशेषत: मलाई रुचि लाग्ने विषय र मन पर्ने विधाका पुस्तकहरू पढ्ने हुनाले मलाई मन परेका पुस्तकहरू अरूलाई पनि मन पर्छ भन्ने छैन । म कुनै पनि कृति त्यत्तिकै मन पराउँदिनँ । जब कुनै किताबले मलाई अलि केही ‘विशेष’ खुराक दिन्छ, तब मात्र म त्याे पुस्तक मन पराउँछु ।

तपाईं प्राय पुगिरहने पुस्तक पसल र पुस्तकालय? तपाईंसँग कति पुस्तकहरू होलान्? 

म आजसम्म जतिपटक मन्दिर पुगेकाे छैन, त्याेभन्दा कैयाैँगुणा धेरैपटक पुस्तक पसलहरूमा पुगेकाे छु । अर्थात्, पुस्तक पसलहरू मेरा निम्ति मन्दिरसरह हुन् जहाँ पुस्तकरूपी भगवान् बस्छन् । म जहाँ जुनसुकै ठाउँमा पुगे पनि, मेरा आँखाहरूकाे पहिलाे खाेजी भनेकै पुस्तक पसलहरू हुन्छन् । 

इटहरीमा म पुगिरहने पुस्तक पसलहरू सुनवर्षी बुक हाउ, सप्तकाेशी पुस्तक पसल, साेनी बुक्स आदि हुन् । विराटनगर र धरानका साझा प्रकाशनका बुक स्टल, धरानकाे मैनाली पुस्तक पसल, विराटनगरकाे सम्पूर्ण बुक्सलगायतका पुस्तक पसलहरूमा गइरहेकै हुन्छु । चितवनकाे सम्पूर्ण बुक्स, नारायणगढसँगकाे सम्बन्ध अप्रत्यक्ष भए तापनि पुरानाे, विशेष र प्रियकर छ मेरा निम्ति ।

पुस्तक पढ्दा केरमेट पनि गर्नुहुन्छ कि?  पाना दोबार्ने, हाइलाइट गर्ने केही ? 

पढ्दा काेरकार गर्नु नै मेरा निम्ति पढ्नु हाे । त्यस्ता काेरकार, केरमेटहरू नै पुस्तककाे साैन्दर्यमाथिकाे अझ अर्काे साैन्दर्यकाे इन्द्रेणी हाे जस्ताे लाग्छ मलाई । पढ्ने बेलामा मेराे हातमा सिसाकलम अनिर्वाय हुनैपर्छ । तर, कलमले काेरेकाे मलाई मनपर्दैन । पाना दाेबार्ने, हाइलाइट आदिजस्ता क्रिया पनि गर्नेगर्छु । पुस्तकलाई हानि नहुने जे पनि कुरा गर्छु म ।

नेपालमा पठन संस्कृतिका लागि भएका प्रयासहरूसँग सन्तुष्ट हुनुहुन्छ? पठन संस्कृति विकसित गर्न के गर्नुपर्ला? पुस्तकबारे भइरहेका बहस एवं महोत्सवहरूबारे तपाईंलाई बोल्ने मुड छ? 

पठन संस्कृतिकाे कुरा गर्दा, प्रविधि र सामाजिक सञ्जालकाे आगमनसँगै दिन प्रतिदिन पठन संस्कृति बढिरहेकाे नै छ । अझ शिक्षाकाे पहुँच बढिरहेका कारणले पनि केही हदसम्म पठन संस्कृतिकाे निर्माण, विकास र विस्तार भइरहेकाे छ । अहिलेकाे वर्तमान परिदृश्य हेर्ने हाे भने, मलाई के लाग्छ भने- साहित्य, पुस्तक, र पठनसँग सम्बन्धित फेसबुक ग्रुप जस्ताे कि ‘बुकाहाेलिक्स’, ‘साहित्यिक पाइलाहरू’, ‘कथा’, ‘कविताहरू’ आदिलगायत अन्य थुप्रै साहित्यिक ग्रुपहरूले ठूलै संख्यामा पाठकहरूलाई आकर्षित गरिरहेकाे छ, जसका कारणले पढ्ने र पढाउने क्रम अर्थात् पठन संस्कृतिकाे निर्माण र प्रवर्द्धन  राेमाञ्चक तरिकाबाट भइरहेकाे छ । युवा र प्राैढहरू मात्र हाेइन, बच्चाहरू पनि पठनकाे बाटाेमा हिँडिरहेका देखिन्छन् । जुन सुन्दर र प्रशंसनीय पाटाे नै हाे ।

‘पठन संस्कृति’लाई हामीले एउटा ‘ठूलाे हात्ती’ नै सम्झन्छाैँ । याे त्यति ठूलाे र जटिल कुरा हाेइन । सामान्य कुरा हाे । हरेक घरका हरेक सदस्यले दैनिकरूपमा अलिकति पढिदिए पनि पठन संस्कृति ह्वात्तै बढ्छ । घरका ठूलालाई पढेकाे देखे भने बच्चाहरूलाई तपाईंले जबरजस्ती ‘पुस्तक पढ् !’ पनि भन्नुपर्दैन । यसरी एउटा परिवारबाट समाज र समाजबाट सिङ्गाे देशमै पठन संस्कृतिकाे निर्माण र विस्तार गर्न सकिन्छ । समय-समयमा साहित्यिक कार्यक्रमहरू गरेर, पुस्तक छलफललगायतका कार्यक्रमहरू गरेर पनि पठन संस्कृतिलाई विकसित गरेर बढाउन सकिन्छ । तर, सर्वप्रथमत: एउटा घरकाे एउटा मान्छेले चाहिँ पढ्नुपर्याे । तर विडम्बना, यहाँ त कैयाैँ सिङ्गाे समाज नै छ जहाँका एकजना पनि पढ्दैनन् । सायद यसमा दाेष नपढ्नेकाे भन्दा पनि पढ्नेहरूकै छ कि ! किनकि पढेकाहरू त्यहाँसम्म पुगेर पढ्ने वातावरणकाे निर्माण गदिदिनुपर्छ । तर, सबैभन्दा ठूलाे दाेषीचाहिँ याे सरकार नै हाे जसले पठन र पठन संस्कृतिका लागि केही पनि कदापि गर्दैन । वास्तवमा, याे सरकारले (छुद्र/दरिद्र) राजनीतिबाहेक अरू के नै जानेकाे छ र आजसम्म !

तर, सकिन्छ । शनै: शनै: ।

साहित्य, पुस्तक र पठन संस्कृतिलाई केन्द्रमा राखेर गरिने मेचीदेखि महाकालीसम्मका जस्ताेसुकै साहित्यिक महाेत्सव/मेला/जात्राहरूकाे पनि खुला हृदयले प्रशंसा गर्छु । कमसेकम त्यस्ता कार्यक्रम र महाेत्सवहरूले गर्दा हरेक गाउँ, हरेक कुनामा दुई-चारजना हुँदै पाठकहरू त बढिरहेका छन् । आशा गराैँ, एक दिन पूरै देशले नै पढ्नेछ । एक जुगमा एक दिन जरुर आउनेछ ।

संसारभिर नै पुस्तकको गुणस्तर मापनको एउटा प्रमुख आधार समीक्षालाई मानिन्छ। तर हामीकहाँ एउटै कृतिका थरीथरीका समीक्षा आइराखेका हुन्छन्, तपाईं समिक्षामा कत्तिको विश्वास राख्नुहुन्छ?

हुन त आफैँ पनि कुनै समय निरन्तर पुस्तक समीक्षा लेखियाे । केही वर्षसम्म । पक्कै पनि, पुस्तक समीक्षाले कुनै पुस्तकबारे यथेष्ट ज्ञान दिन्छ नै । तर, हाम्रा समीक्षाहरू हेर्ने हाे भने, धेरैजसाे समीक्षा पाठक र पठनलाई नै निरुत्साहित पार्ने देखिन्छ । एउटा समीक्षाकै कारणले कसैले एउटा पुस्तक पढ्दैन । र, एउटा पुस्तक नपढेकै कारणले कसैले पढ्न नै छाडिदिन्छ सधैँका निम्ति । याे दृष्टान्तमा मनाेविज्ञानमा पार्ने पठनप्रतिकाे प्रतिकूल प्रभावबारे बुझ्न सकिन्छ । यदि समीक्षाले यस्ताे अवस्था निम्त्याउँछ भने यस्ता समीक्षाकाे कुनै अर्थ छैन ।

केही समयअघि एउटा पुस्तकमाथि एकजना समालाेचकले संक्षिप्त टिप्पणी गरे, निकै आलाेचनात्मक रूपमा । त्यै टिप्पणीका कारणले धेरै पाठकले ‘अब म पनि याे पुस्तक पढ्दिनँ’ भनिरहेका थिए । तर, त्याे आलाेचनात्मक टिप्पणीमाथि पनि कैयाैँ आलाेचनात्मक र समालाेचनात्मक प्रतिटिप्पणीहरू थिए, जुन प्रतिटिप्पणीले समालाेचकलाई भनिरहेका थिए, ‘हे समालाेचक ! तिम्राे अालाेचनात्मक टिप्पणी नै साँघुराे भयाे । सम्पूर्णतालाई नै हेरेर तिमीले आलाेचना गर्नुपर्ने तर तिमी त अाफ्नाे एउटा भावनालाई आधार मान्दै आलाेचना गरिरहेका छाैँ ।’ यसरी आजकाे पुस्तक समीक्षा र समालाेचनाकाे सिनारियाे मज्जैले हेर्न र बुझ्न सकिन्छ । तर, सही तरिकाले वस्तुनिष्ठ भएर सन्तुलित रूपमा समीक्षा गर्नेहरू पनि छन् । जसले लेखक र पाठकहरूलाई सिकाउँछन् । र, सबैभन्दा बढी त आफैँ सिक्छन् ।

पुस्तक उपहार दिने प्रचलन फस्टाउँदै छ आजभोलि, तपाईंले उपहारमा पाउनुभएको पुस्तकहरू? सँगै अर्को प्रश्न पनि, किताब, फिल्म, संगीत र घुमफिरमध्ये कुन कुराको संगत प्रिय लाग्छ तपाईंलाई? 

पाएकाे छु केही पुस्तकहरू, उपहारमा । र, दिने पनि गर्छु । मैले अरूलाई उपहार दिँदा ‘पुस्तक’बाहेक अरू केही कुरा मेराे मनमै आउँदैन ।

धेरैकाे बुझाइ के छ भने, पढ्नु भनेकाे केवल पुस्तक पढ्नु मात्र हाे । तर, यस्ताे हाेइन । जुनसुकै कुरा गरिरहँदा पनि मेराे केन्द्रमा पठन र लेखन नै हुन्छ चाहे घुम्दा, गीत सुन्दा वा काम गर्दा । म जति पुस्तक रुचाउँछु, उतिकै घुम्न पनि रुचाउँछु, उतिकै गीत सुन्न, पुराना कुराहरू खाेतल्न, विशेषत: पुराना र दुर्लभ तस्बिरहरू खाेज्न र सङ्कलन गर्न, फिल्म हेर्न आदि ।

वास्तवमा घुम्नु पनि एक किसिमकाे पठन नै हाे । र, फिल्म हर्नु, गीत/संगीत सुन्नु पनि । र, पुस्तक पढ्ने मान्छेले अन्य थुप्रै किसिमका पठन पनि गर्नुपर्छ । घुम्दा प्रकृति बुझिन्छ । समाज बुझिन्छ । संस्कृति, भूगाेल, इतिहास आदि बुझिन्छ । संगीतले निजलाई नै बुझ्न सिकाउँछ । फिल्मले विविध विषयबारे ज्ञान दिन्छ । फरक काेणबाट साेच्न/बुझ्न सिकाउँछ । र, सबैभन्दा प्रमुख कुरा, यी सबै कुराहरूले लेख्नलाई असीमित सामग्रीहरू उपलब्ध गराइदिन्छ । जसका कारणले हामीले लेख्दा, हाम्राे लेखनमा केही नुतनता आउँछ । माैलिकता अाउँछ । लेखकीय साैन्दर्य आउँछ । विशिष्टता आउँछ ।

त्यसैले पुस्तक पढाैँ । घुमाैँ । गीत सुनाैँ । पर्यटन/यात्रा गराैँ । साेचाैँ ।

सानो छँदा कस्ता किताबहरू भेटिन्थे ? कस्ता किताबहरू पढिए?

हाम्राे घरमा कुनै किसिमका पुस्तकहरू थिएनन् हामीले सानाेछँदा पढ्न मिल्नलाई । बुबाले पढ्ने रामायणबाहेक । बुबाले रामायण पढेर सुनाउनुहुन्थ्याे र त्यसकाे कथालाई सुन्दर तरिकाले हामीलाई सुनाउनुहुन्थ्याे । सायद, पढ्नुपर्छ भन्ने सानाेतिनाे साेचकाे बीज मेराे बाल मस्तिष्ककाे काेमल माटाेमा यसैले राेपिदियाे । एक दिन खाेज्दै जाँदा, संयाेगवश एउटा पुस्तक पसल भेटियाे इटहरी चाेकमा ‘नुतन पुस्तक पसल’ (जुन अहिले छैन) । जहाँका बालसाहित्यका पुस्तकहरू पढेर नै मैले पठनकाे सुरुवात गरे । वास्तवमा, पढन थालेपछि बिस्तारै अरू-अरू कुराहरू पनि पढ्न थालिहाल्दा रहेछाैँ हामी । यस्तै भयाे मसँग पनि । ‘साहित्य, पठन, पठन संस्कृति’ आदिजस्ता शब्दहरू त निकै-निकैपछि मात्र सुनियाे र जानियाे । किनकि, म बसेकाे समाज मेराे परिवारजस्तै थियाे, कहिल्यै नपढ्ने । र, अहिले पनि उही हालत छ । हाम्राे मात्र हाेइन, सबैजसाे समाजकाे । पैसा र पुँजिवादकाे भुमरीमा फसेर काेही पनि पढ्न चाहँदैनन् । कसैसँग पनि पुस्तकका निम्ति समय छैन । बस् कमाउन चाहन्छन् । बस्…….!

‘साहित्यिक पाइलाहरू’ का लागि तपाईंलाई धन्यवाद । तर, यसै ग्रुपका कारण कविनलाई पोखरा पुर्याइयो भन्नेहरू पनि भेटिए । के भन्नुहुन्छ ? 

वास्तवमा पुस्तक, पठन र लेखनप्रति रुचि हुने मान्छेलाई साहित्यकाे महाेत्सवप्रति रुचि नहुने कुरै हुँदैन । दशैँ-तिहारतिर हाम्राेतिर ठूला मेला-महाेत्सवहरू हुन्छन् जहाँ राेटे पिङ, ब्रेक डान्स, ड्रागनलगायत हुन्छन् । जहाँ रमाइलाे गर्न थुप्रै मानिसहरू जानेगर्छन् । तर, त्यस्ता मेलाहरूले मलाई कदापि तानेनन् । मलाई केवल पुस्तक र पुस्तकका कुराले ताने । पठन र साहित्यसँग सम्बन्धित वैचारिक कुराहरूले ताने । पाेखरा अर्थात् पाेखरामा भएकाे नेपाल साहित्य महाेत्सव पुग्नुपूर्व म आफ्नै मनले कैयाैँ साहित्यिक महाेत्सवहरूमा पुगिसकेकाे थिएँ । जस्ताे कि काँकडभिट्टामा हुने ‘कला साहित्य महाेत्सव’, इटहरीमै भएकाे ‘समता साहित्य महाेत्सव’, धरानमा भएकाे ‘अन्तर्राष्ट्रिय साहित्य, सांस्कृतिक एवं पर्यटन महाेत्सव’ आदि इत्यादिमा । यी सबै कार्यक्रममा मलाई मेराे असीम रहरले पुर्याएकाे हाे । कसैले बाेलाएर गएकाे हाेइन ।

भनिन्छ, सपना देखिरहनुपर्छ; एकदिन त्याे अवश्य पूरा हुन्छ । नेपालकै सबैभन्दा ठूलाे र भव्यरूपमा हुने नेपाल साहित्य महाेत्सवलाई एउटा साहित्यानुरागी भएकाे कारणले निकै वर्षदेखि पछ्याइरहेकै थिए । माेबाइलमै सबैजसाे कार्यक्रम/सेसनहरू हेर्थेँ । प्रतिक्रिया दिइरहन्थे । वास्तवमा, म यता घरमा हुन्थेँ तर मेराे मन भने उतै पाेखराकाे नेपाल साहित्य महाेत्सवमा हुन्थ्याे ।

र, एकदिन मेराे सपना पूरा भएछ । संयागवश, मेराे मनसँगै मेराे तन पनि नेपाल साहित्य महाेत्सवमा पुगेछ, त्याे कार्यक्रमकाे एउटा सानाे हिस्सा भएर । वास्तवमा, हाम्राे सेसन ‘पढ्ने र पढाउने हुटहुटी’का निम्ति जसले मलाई छनाेट गर्नुभयाे, उहाँलाई ‘साहित्यिक पाइलाहरू’बारे केही पनि थाहा रहेनछ । पछि मात्र उहाँलाई ‘साहित्यिक पाइलाहरू’बारे थाहा भयाे । जीवन आफैँमा संयाेग जै संयाेग भरिएकाे डाेकाे हाे । र, उक्त घटना पनि मेरा निम्ति ‘संयाेग’ नै बनेर आइदियाे किनकि केही सर्तहरूभित्र म अचम्म तरिकाले अटाएँछु ।

तर, यदि ‘साहित्यिक पाइलाहरू’कै कारणले मलाई कसैले कहीँ निम्त्याउँछ भने, म झनै खुसी हुनेछ । यसमा दु:ख मान्ने कुनै कुरै देख्दिनँ म । किनकि ‘साहित्यिक पाइलाहरू’लाई मैले मेराे आत्माकाे रङले पाेतेकाे छु । अब त याे मेराे जीवनकै एउटा हिस्सा भइसक्याे । आफ्न‌ै अङ्ग/हिस्सालाई मैले किन प्रेम नगर्ने ! दुई-चारजना पाठकहरूबाट सुरु भएकाे ग्रपमा अहिले आठ-दस हजार सक्रिय पाठकहरू हुनु र हजाराैँ साहित्यिक, पुस्तक, समाज, विचार आदि विशेष सामग्रीहरू, लेखहरू सम्प्रेषण र सङ्गृहीत हुनु हाम्रा निम्ति गाैरवकाे कुरा हाे ।

‘लेखकले सामाजिक मुद्दा उठाउनै पर्छन्’ भन्छन् क्यार! तपाईंको त्यो प्रयास रहन्छ? या यसरी सोधौं, एउटा लेखकको कर्तव्य, जिम्मेवारी एवं दायित्व के-के हुन्?

समाजमा बस्ने लेखकले लेख्ने भनेकै समाजका कुराहरू हुन् । सामाजिक मुद्दाहरू हुन् । यहीँका यावत् कुराहरू हुन् । मेराे लेखनमै पनि यी कुराहरूकाे विशेष रूपमा प्रवेश हुन्छ नै । तर, समस्या यहाँ नि छ कि- ‘सामाजिक मुद्दा’ हामी कुन-कुन कुराहरूलाई मानिरहेका छाैँ ? केवल मसाल, टायर, आगाे सामाजिक मुद्दा हाे ? केवल राजनीति सामाजिक मुद्दा हाे ? केवल अर्थविनाकाे र विचारविहीन हाेहल्ला सामाजिक मुद्दा हाे ? पर्यावरणचाहिँ सामाजिक मुद्दा हाेइन ? मनाेविज्ञानचाहिँ सामाजिक मुद्दाभित्र पर्दैन ? प्रविधिले अवसरसँगै निम्याएकाे सङ्कटचाहिँ सामाजिक मुद्दा हाेइन ? बालबालिका र किशाेरकिशाेरी साथै युवाहरूसँग सम्बन्धित कुराहरू सामाजिक मुद्दाभित्र पर्दैन ? वास्तवमा, सामाजिक मुद्दालाई राम्ररी बुझेर, अध्ययन गरेर हामीले यी यावत् कुराहरूलाई व्यवस्थित र सन्तुलित रूपमा निरन्तर लेख्नुपर्छ । र, मलाई लाग्छ, एउटा लेखककाे दायित्व पनि यही हाे । कमसेकम लेखक नेताजस्ताे नहाेस्, सङ्कुचीत र बेइमान ।

Leave a Reply