सानो किताब । सजिलो । फुत्त सकिइजाने । बेरै नलाग्ने ।
‘उ मरेकी छैन ।’ बालकृष्ण सम । नेपाली भाषाको बहुचर्चित नाटककृति । नाट्य रूपान्तरण पटक-पटक । पछिल्लोपटक पोखरेली नाट्य समूह न्यारेटरद्वारा (चे शङ्करको निर्देशनमा) मञ्चन ।
पात्रहरू:
भुवन: एक प्रेमी । कान्तिसँग बिहे गर्न खोजिरहेको २० वर्षे एक युवक । पितृसत्ताको उत्तराधिकारी । भनौँ, भोलिको नारी दमनकारी ।
शिवगिरि : एक जोगी । भुवनजस्तालाई वास्ता गर्न छाडेर जङ्गलमा बसिरहेको शिवगिरि । आफ्नो श्रीमतीलाई परपुरुषसँग ओछ्यानमा पाएपश्चात् संन्यास लिएको व्यक्ति । किञ्चित् प्रगतिशील तर यद्यपि पुरुषमैत्री धर्म-संस्कारको उपासक ।
कान्ति : १७ वर्षीय विदुषी अर्थात् भिक्षुणी (संस्कृत) या भिख्क्खुनी (पालि) । अर्थात् भिक्षुचर्यालाई अपनाउन चाहेकी एक किशोरवयकी युवती । अर्थात् सामाजिक बन्धन त्यागेर स्वतन्त्रताको भोगविलासप्रति लोभिएकी तर ईश्वरीय भक्तिले गाँजिएकी र आफ्नो अठोटमाथि पटक-पटक विश्वस्त भएर पनि पटक-पटक हार खाइरहिकी किशोरी । जोगीको भजन सुनेपश्चात् उसैको वरपर रम्दै परमेश्वरको खोजीमा भजन-कीर्तन रमाउन चाहिरहेकी एक किशोरी ।
बूढी : समयको थप्पडभन्दा बेसी समाजिक संस्कारको थप्पडले चाउरिसकेकी एक वृद्धा । जसलाई केटाकेटीहरू पागल ठान्छन् । खेलौना मान्छन् । ‘वृद्धाश्रम, वृद्धआस्था एवं वृद्धावस्था’लाई ‘खेलौना, खेल एवं खेल-मैदान’ मान्ने समकालीन परिपाटीमाथि ठुलो व्यङ्ग्य । अझ, नयाँ पुस्ताले पुरानो पुस्तालाई प्राविधिक ज्ञान र भौतिक उन्नतिको नाममा मनोवैज्ञानिक दमन गरिरहेको यथार्ततालाई पनि जोड्न मिल्ने प्रासङ्गिकता पनि ।
प्लट :
कान्तिको बलियो अठोट । भिक्षुणी बनी छाड्ने हठ ।
सो अठोटमाथि पिता, गाउँले (कनकवीर-ज्येठी, दुवै), रहन-सहन, संस्कार, धर्मको गह्रुङ्गो भारी ।
भारीको बोझ । झुकिरहेको शिर । निहुरिरहेको काँध । हैरानी, परिसानी क्रमश..।
त्यसपछि कान्तिको आत्महत्या ।
कान्तिको लास काँधमा बोकेर ‘महापथ’तर्फ हिँडेका शिवगिरि । (एक विसङ्गती !)
हर्के (चेलो) को हर्षाश्रुपूर्ण नयन ।
रातको पर्दा खस्दछ ।
नाटक सकिइजान्छ ।
***
तर नाटक सकिएन, सकिदैन ।
नाटककार :
समले आजभन्दा ७८ वर्षअघि एक साहस गरे । सहास होइन, गर्नुपर्ने जे थियो त्यही गरे । ‘उ मरेकी छैन’ लेखे । यस नाट्यकृतिका कारण समको गुणगान गाइराख्नु परेन । कसैले कसैको गुणगान गाउनु पर्दैन । हरेकको आ-आफ्नो अधिकार-दायित्व छ, त्यो निभाउने हो । कुलमान घिसिङको देवत्वकरण मलाई पछिल्ला दिनहरूमा साह्रै खल्लो लागिरहेको छ । हरेकले आ-आफ्नो भूमिकाअनुसार अधिकारको उपयोग गर्दै कर्तव्य निभाउने हो । समले लेख्दैन थिए भने अर्काले लेख्थ्यो । अर्काले कस्तो लेख्थ्यो, के लेख्थ्यो-तपसिलको कुरा ।
प्रचलित भाष्य छ, ‘जाति, पर्यावरण र क्षणबाट हरेक व्यक्ति प्रभावित हुन्छ ।’ ठिक हो, हुन्छ । प्रभावित हुनु भनेको मोहित हुनु मात्रै होइन, प्रवाहशील हुनु पनि हो । सम तत्कालीन सामाजिक कथनसँग मोहित भएनन्, यसकारण ‘उ मरेकी छैन’ कृतिको जन्म भयो । खैर, जसरी भनौँ- सम प्रगतिशील थिएँ, कुरा त्यति नै हो ।
समले समाजको अस्थिपञ्जर छामे र नलीहाड थुतेर हाम्रा सामु राखिदिए । ठीक गरे । परम्परावादीहरूद्वारा कथित नारीको आदर्शचित्र बोकाएर बसेको समाजको स्नायु प्रणालीमै ढुङ्गा हाने, टुटिल्को उठाइदिएँ, नसो तानिदिए । सही गरे । यसैकारण, उनको व्यक्तित्वलाई ओजिलो मानिँदिदा पनि असजिलो-अप्ठ्यारो केही छैन । सम धन्यवादका पात्र छन्, दिऔँ ।
यद्यपि, संवेदनशील मुद्दामा लेखिरहँदा उनले केही ठाउँमा संयमता गुमाएका छन् । क्षमा दिने कुरा हुँदैन । कालक्रम, पृष्ठभूमि, सामाजिक संरचना जुनसुकै होओस्; यस्ता कुराहरू चोर बाटा हुन् । यी अचाक्ली दुर्गन्धित छुद्र प्वालहरू हुन् । थप मुसा नबनौँ । छुचुन्द्रो नबनौँ ।
खैर, समले ‘बधुशिक्षा’ लेखेका छैनन् न त ‘वरशिक्षा’ नै । अकारण उनको वैचारिकतत्त्वमा नअल्झिऔँ । यो सत्यवाणी हो कि, ‘एउटा कृतिबाटै सम्पूर्ण लेखक उत्रँदैन ।’
समाजपरक समालोचना र समसामायिक समालोचना भइराख्नुपर्छ, भइरहेको पनि छ, भइरहोस् पनि । अतः समका कृति पढ्दै उनका बारे थप धारणा बनाउँदै जाऔँला । जिन्दगी बाँकी छ, किताबहरू बाँकी छन् । फिकरोकी कोनो बात ही नही ।
कृति :
अब कृतिको कुरा । कुनै पनि अक्षरहरू, पृष्ठहरू कसरी कृति हुन्छ ? पुस्तक हुन्छ ? किताब ठहरिन्छन् ? बस्, प्रश्न । उत्तर हामीसँग छ । हुनुपर्छ । खोज्नुपर्छ । नभए हौँ, खोजौँ । त्यसका लागि प्रज्ञा र मदन पुरस्कार गुठीको धोती नसमातौँ, फरिया नतानौँ ।.. पटक-पटक पढौँ, बरोबर पढौँ।
र यो कृति हो । यतातर्फको कुरा पनि यत्ति नै ।
थप, समले ‘उ’लाई मरेकी छैन भनेर समाजिक क्रान्तिको निरन्तरतालाई आशय दिएका छन्, धर्मभीरुहरू नुहाइरहेका शान्त पोखरीमा आफू भ्यागुतो बनी पसेका छन् ।
कृतिको ‘शीर्षक चयन’ मलाई रुचिकर लागेकै हो । पात्रहरूको मनोवैज्ञानिक धरातल गजब लागेकै हो । दृश्य-परिदृश्यको वर्णनमा पठनीय लागेकै हो । मैले नदेखेको पृष्ठभूमि भएर होला, केही पृष्ठभूमिप्रति अपत्यारिलो पनि बनेकै हुँ । त्यसबाहेक थुप्रै कुरा छन्, थुप्रै पक्षहरू छन् । त्यता नजाऔँ । समको लेखकीय समीक्षा र कृतिगत समालोचना गर्ने उद्देश्यपरक चासो छैन । नाट्यसम्राट्को कथित उपाधि, दर्जामाथि धावा बोलेर समीक्षाजीविहरूको आँखाको तारो नबनीहालूँ ।
मुद्दा :
नाटकले उठाएको मुद्दाको कुरा ।
मुद्दा साधारण छ । नारीप्रतिको भेदभाव, तिरस्कार, उपेक्षा, हेलत्वभाव तथा दमन उत्पीडनको कुरा । साधारण यसअर्थमा कि यो करिब दुई शताब्दीदेखिको प्रचलित मुद्दा हो र आजको मुख्य मुद्दा पनि यही हो । समानता र स्वतन्त्रताको कुरा । सहजता र सहजीकरणको मुद्दा । यसकारण भनेको, यो अत्यन्त साधारण मुद्दा हो । हरेकले देखे-सुनेको-भोगेको तर आजपर्यन्त समाधान हुन नसकेको, नदिइएको मुद्दा । यसलाई असाधारण तथा जटिल बताएर समसमायिक सत्यताको आङ कन्याएर बस्न मलाई मन छैन । लुतो कन्याइको मज्जा समाज हरबखत लिन खोजिरहको छ, सचेत हुनुपर्नेछ । उही कवि श्यामलकै कुरा ।
मसँग आजको आँखा छ, यसले हिजो स्पष्ट देख्न सक्दैन तर महसुस छ, जसले हिजो बुझ्न सघाउ पुऱ्याउँछ । बुझ्न खोजेपछि सकिन्छ, बुझ्न सकिन्छ ।
मार्क्सवादी चिन्तनको प्रभावका अनेकन् पाटा होलान् तर यही चिन्तनका कारण वर्गीय मुद्दाहरू सतह देखा परिरहेका छन् । मुद्दाहरूको चर्चा-परिचर्चा-उपचर्चा-चियोचर्चा भइरहेको छ । नेपालमा दोस्रो जनान्दोलनपछि बढी नै बहस भएको ‘वाद’ नारीवाद हो । खुसीको कुरा हो तर दु:खको कुरा के छ भन्दा हरबखत संस्कार, मूल्य–मान्यता र जातगत प्रभावको बाछिटाले वर्गीय (लैङ्गिक) मुद्दाहरू लल्याकलुलुक गरिरहेछ । यसमा मुख्यतः दुई-चार कारण छन्;
पहिलो- नारीलाई समान दिनुपर्छ भन्ने कुरा । सम्मान दिने ?.. हाँसोउठ्दो कुरा । दिने चाहिँ को ? हरेकपटक पुरुष नै दानवीर भई किन खानुपर्ने ? दानको अर्थ ‘आफ्नो हकमा रहेको वस्तुको हस्तान्तरण’ भन्ने हुन्छ । पुरुषसँग अधिकारसम्पन्न आज भएको देखिन्छ तर यो उसको मात्रै थिएन (साङ्क्रित्यानका अनुसार त उसको छँदै थिएन) । पक्का कुरा यही हो कि, अधिकार कुनै एक लिङ्ग, वर्ग र व्यक्तिसँग हुने कुरा होइन र हुनु हुँदैन ।
नारीले सम्मान खोजेकै पनि छैनन्-एक अर्थमा । घरेलु हिंसा नहोस्, बलात्कृत हुनु नपरोस्, साँझपख घरगाउँ गर्दा पुरुष अनुहारको भूतप्रेतको डर नहोस्, यति नै खोजेका हुन् । यसमा सम्मानको पालकी ओढाएर थप ‘हिप्पोक्रेसी’ देखाइरहनु आवश्यक नै छैन । (समद्वारा कहीँकतै यो काम भएको छ ।)
हरेक सीमान्तीकृत मुद्दामार्फत आफू भएर म बाँच्न पाऊँ भनेका हुन् । तिमीजस्तै भएर बाच्न पाऊँ भनेका झन् कदाचित् होइनन् । कसैलाई पनि कसैजस्तो हुनु छैन । सबैलाई आफूजस्तै हुनु छ । यो सामान्य कुरालाई बुझ्न ढिला नगरौँ, बुझिहालौँ ।
दोस्रो- अधिकार लेनदेनको कुरा । अधिकार लेनदेनको कुरा नै होइन । सोच, बुझको कुरा हो । मैले (पुरुष, सवलाङ्ग, बाहुन, सरकार) दिने र उसले(महिला, अपाङ्ग, दलित, नागरिक)ले पाउने भन्ने कुरा नै होइन । (उही माथिकै कुरा ) । एकको जति हकाधिकार र दायित्व छ, दोस्रोको पनि उत्तिकै हकाधिकार र दायित्व छ ।
‘छोरीलाई पढाएको छु, जागिर खुवाएको छु’ भनिरहेका बाबु एक समयमा पुगेर विशाल घर र अकुत धनवीर ज्वाइँको पछि लाग्छ । छोरी-ज्वाइँको खुट्टाको पानी खाएपश्चात् ज्वाइँलाई ‘मारे पाप, पाले पुण्य’ वाला भाष्य दोहोऱ्याउँछ । यसले छोरीलाई यद्यपि ज्वाइँको भन्दा कम दर्जा दिइरहेकै छ । (नाट्यकृतिले यस कोणलाई समात्न सकेको छैन । बरु भुवनको परिवार ‘राम्रो’ भएको भाष्य प्रयोग गर्दै अघि बढ्छ । राम्रो अर्थात् सोही प्रोपगान्डा अर्थात् मिथ्या सूचना र गलत जानकारीको बेहिसाब खेती ।)
तेस्रो: नारी र पुरुष एकै हुन् या ठ्याक्कै एउटै हुन् भन्ने गलत भाष्य । समान हुन् तर एकै होइनन् । यस किसिमको एकपक्षीय ‘एकोहोरोवादी’ तर्कले पनि यस मुद्दालाई ठेगानमा पुर्याउन सकिरहेको छैन । कुनै पनि मुद्दालाई । (मुद्दा गलत शाब्दिक चयन हुन सक्छ, माफी पाऊँ।)
चौथो: ‘नारीवाद कि नारी सर्वसत्तावाद?’ भन्दै अहिल्यै नकुर्लिऔँ । पुरुषहरू अझै अधिकारसम्पन्न छन् । आफ्ना अधिकार खोसिएको, आफू सकिएको, भ्याइएजस्ता काइते तर्कहरू अघि नसारौँ अनि देशको शासनको मूल स्वरूपमाथि लगातार प्रश्न गरौँ । (जसरी कान्तिले शिवगिरि, कनकवीरमाथि पटक-पटक गरेकी छन् ।)
पाचौँ : धर्म र आचरणको दोसाँधे छायाबीच पितृसत्ताले आज पनि नारीलाई ‘धर्तीमाता’, ‘गौमाता’ पुकारेर अझै यातना दिइरहेको छ । मलाई लाग्दैन कि, मसँग उठबस होइराख्ने महिला मित्रहरूमध्ये कसैलाई काली, दुर्गा, सीता भइखानु छ । मेरी बहिनीलाई मजस्तै गरी रत्नपार्कमा बेफेक्री उभिन छुट छ । उसले पाउनुपर्छ । अर्कातर्फ, आमालाई महान् बताएर कविता लेख्ने कवि/लेखकहरू आमालाई आजसम्मै भान्सामा चुरा छन्..छन्..बजाउन लगाइरहेकै छन् । ‘आमाले, भाउजुले पकाएको भातै मिठो’ भनेर उनीहरूलाई भान्सामै धकेलिरहेका छन् । यो धूर्तवाजहरूको अश्लील टिप्पणी हो, जोगिऔँ । ‘गोही र बाँदर’को कथा एकपटक पुनः पढौँ । अर्थात्, लेख्य र कथ्य भाषा सुधारौँ । यसमा घनघोर विकृति छ । (मेरो पनि होला, भनी पाऊँ)
अब सविस्तारमा,
एक त समाजमा हरेक घटना-परिघटना-दुर्घटनाको रोमान्टीसाइज अर्थात् स्वच्छन्दतावाद अर्थात् रुमानी शैलीको प्रयोग ज्यादा भइरहको छ । यो हरेक बहसलाई नित्य मोड्ने बलियो हतियार साबित भइरहेको छ । याद गरौँ, बिम्ब परिवर्तन नितान्त आवश्यक छ; गरौँ । विम्बहरूको रुढीवाददेखि जोगिऔँ ।
यस प्रकार, समाधान नै समस्या भइरहेको छ । यसो हुनुको मुख्य कारण समाधान गर्न खोज्नेको वैचारिक धरातल मुख्य कुरा हो। अहिले बेसी यही भइरहेको छ । चाहेको सबैले समानता, स्वतन्त्रा नै हो । सबले बुझेका पनि छन्, बुझ्न चाहेका पनि छन् (चाहन्न भन्नु ढोँग हो, ढोँगीहरूलाई ‘अकबर र वीरबलको कथा’ सुनाऔँ ।)
मुख्य कुरा, दिने-पाउने, लिने-खोस्ने लगायतका गलत भाष्यको प्रयोगबीच समाज यद्यपि जकडिरहेको छ । मानसिकता सही नहुँदासम्म समाधान भेटिँदैन । प्रथमतः मानसिकता ठिक गरौँ र सही गरौँ । ‘पुरुषत्व’ र ‘नारीत्व’को बहसलाई अझ स्वस्थ्य बनाऔँ । बहसलाई क्रमशः मानवतातर्फ अग्रसर गरौँ ।
‘रामसीता’ र ‘सीताराम’मा नअल्झिऔँ । महिलाको शरीरको निषेधीकरण र बजारीकरण नगरौँ । ‘वुमेन फ्रस्ट, महिला सीट’ जस्ता आन्ग्रेपाङ्ग्रे, तोरीलाहुरे, लट्ठक कुरामा बेसी नरुमल्लिऔँ । यी हिजो आवश्यक थिए, आज छैनन् । पुनर्विचार गरौँ, हरेक नयाँ विचारको उदयसँगै दमनकारी सोचका क्षितिजहरू पनि देखिन्छन् । निरन्तर चलिरहेको नारीवादको बहसमा दमनकारी सोचका क्षितिजाधिकारीहरूको जन्म, पुनर्जन्म भइरहेको छ; विचार गरौँ ।
त, समस्याको मूल साँघुहरू(फड्को) यिनै हुन्, तरौँ । सामान्य कुरा, सबै जनावर बराबर हो तर मचाहिँ अलि माथि नै हुँ, भन्ने एनिमल फार्मले उजागर गरेको विचार त्यागौँ ।
हाम्रा सन्तान यो बहसदेखि माथि उक्लन सकून् । पर्यावरणीय समस्या, वैज्ञानिक उपनिवेशवाद, अन्तरिक्षीय डकैतजस्ता विश्वव्यापी ‘स्क्याम’का विरुद्ध उनीहरूको सहभागिताजन्य उपस्थिति रहोस् । हामीले छोडेर जाने तर्खर गरिरहेका तमाम भौतिकवादी लालसा, अमानवीय स्वार्थलिप्साहरूबाट बच्ने बाटो खोजून् । सकभर यी मुद्दाहरूतर्फ हामी नै केन्द्रित हुन सकौँ ।
***
पुनः कृतितर्फ फर्कौं ।
एक युवती भिक्षुणी बन्न खोज्दा आइपरेका कठिनाइको सरसरती तर वैचारिक वर्णनले धेरै पाटो हाम्रो सामुन्ने राखिदिएको छ । व्यक्ति, परिवार, समाजले एक नारीमाथि बोकाउँदै आइरहेको कर्तव्यको भीषण भारीको सङ्केत गरेको छ (जसको माथि चर्चा गरियो) ।
पितृसत्ताले बोकाएको भारीले थिचिएर एक किशोरीले आत्महत्याको बाटो रोज्नु समाजमाथिको थप्पड पनि हो र समाजको एक कालो पोट्रेट पनि (धब्बा) तर यहाँनेर मलाई लागेको चाहिँ, कान्तिको मृत्यु गराई घटनालाई शिव र सतीदेवीको पौराणिक कथानकसँग जोडेर हिमाल(शिवगिरि) र हिउँ (हिमालको कान्ति)को महिमागान गाउनु आवश्यक थिएन । कान्तिको आत्महत्या मैले तर्न नसकेको फड्को हो । समसँग मलाई यहाँनेर ठुलो आपत्ति छ । हरेक दुःखको अन्त्य दुःखदायी हुन्छ भन्ने मान्यता रुमानीकरणको हद प्रयोग हो ।
यसभन्दा बेसी सापेक्षिक स्वतन्त्रताको उपभोगको विषयमा कृति अब्बल ठहरिएको छ । हरेक व्यक्तिको आ-आफ्नो स्वतन्त्रा र वैचारिक धरातल छ । निजी जिन्दगीमा व्यक्तिले आफ्नो सापेक्षिक स्वतन्त्रताको उपभोग गर्न चाहन्छ भने त्यसो गर्ने अधिकार उसलाई हुनुपर्छ तर ‘म्याक्सिम ह्याप्पिनेस अफ म्याक्सिमम नम्बर (maximum happiness of maximum number) बाट दायित्वच्युत हुन पाइन्न ।
“बल्सीलाई चाराको लोभले जो टोक्छ उही बल्सीमा पर्छ, त्यो बल्सीलाई सुँघेर, गन्ध मन नपराई जाने माछा पनि त हुन्छन् । तिनलाई पनि समातेर मुखमा बल्सी कोचाइदिनु त पच्चिसै आना अन्याय हो ।”
हर्केद्वारा बोलाइएको यो संवादले कान्तिलाई सोही माछा बताउँछ, जो समाजले देखाएको बल्सी(बल्छी)को गन्ध मन नपराएर शिवगिरिको कुरा सुन्न, ऊसँग बस्न हरदम तयार भइरहकी छे अर्थात् भिक्षुणी बनी स्वतन्त्रताको उपभोग गर्न चाहिरहेकी छे । यहाँ बल्छी अर्थात् ‘विवाह, सन्तानोत्पादनदेखि संरक्षकत्वसम्मको कठोर गोहो, पतिको खटनपटनलाई शिरोधार्य गर्नुपर्ने एक हिन्दू आदर्शवादी महिलाको चित्रण’ हो, जसलाई कान्ति सरासार गलत्याएर आत्महत्याको बाटो रोज्छे । यस्ता बल्छी देखाएर माछा (नारी) फसाउने कर्ममाथि कान्ति पटक-पटक धावा बोल्छे ।
“बा मैले दिएको किन नलिएर फालेको ? देउतालाई स्वास्नीमान्छे मन पर्दैन ?’ (पृ. १३)
“मैले सुख दिएर दिने, नदिएर नदिइने भए त बाको के कुरा म जगतैलाई सुखी पार्थे, त्यसो हुने हैन, सबले आफ्नै आफ्नै कर्मअनुसार सुखदुःख भोग्नुपर्छ, के लाग्छ ।” (पृ. ३९)
“बा । तपाईँले बिहा गरिदिन लाग्नुभाको मेरो सुखको निम्ति हैन ? मलाई जत्ति त्यल्ले सुख लाग्दैन भने फेरि तपाईँलाई व्यर्थै किन गरिदिनुपऱ्यो ?” (पृ. ५७)
छोरी (कान्ति)ले आफ्नो रुचिअनुसारको जीवनयापन चाहँदा बाउ(कनकवीर)ले पटक-पटक अवरोध सिर्जना गर्नुको कारण छोरीको वैवाहिक मङ्गलताको कामना त हो, साथै शिवगिरि(जोगी)प्रति वितृष्णा पनि हो । छोरी पटक-पटक जङ्गलबीचको आश्रम पुगेपश्चात एक रात कनक(बाउ) उही पुग्छन् र त्यहाँ बाझाबाझको स्थिति आइपर्छ । यो बाझाबाझ पुस्तकभरिकै गुदी कुरा हो ।
छोरीले ‘उहाँलाई केही नभन्नुहोस्, म आफ्नै खुसीले आएकी’ बताइरहँदा बाबु कनक ‘जोगीजनको धर्म, कर्तव्यबारे व्याख्य छाटछन्, भडास पोख्छन् । साथसाथै यहीबीच उनी यो पनि भन्न भ्याउँछन् कि, “परमेश्वरले मलाई त सर्वपुँजी यो एउटा छोरी दिए, यो मेरो जिम्माको माल हो, यसमा मेरो अधिकार छ, मलाई यसको बिहा गरिदिन मन छ ।’ यस वाक्यले कनकवीरको व्यक्तित्व छर्लङ्गै पार्दछ ।
“संसारले संसारलाई हेला गर्ने जोगी जोगीलाई मात्रै पालेको छैन, संसारलाई प्यारो गर्ने, संसारलाई रमाइलो मान्ने करोडौँ करोड मान्छे पनि पालेको छ । मलाई मीठो खान मन छ, राम्रो लाउन मन छ, मलाई यो संसारको एक-एक ओटा फूलसँग सम्बन्ध राख्न मन छ, मलाई संसार प्यारो छ, मलाई यो संसार रामाइलो छ । तपाईँलाई यो संसार अँध्यारो लागोस्, मलाई झल्मल्ल छ । तपाईँलाई यो संसार गन्हाओस्, मलाई बास्ना आउँछ । तपाईँका निमित्त यो संसारमा पत्थरैपत्थर होस्, मेरा निम्ति त यहाँ रत्नैरत्न छन् । तपाईँको के हक मेरो मध्याह्नको सूर्य फुटालिदिने, तपाईँको के हक ?”- कनकवीरको प्रश्न शिवगिरिलाई (पृ. ५६-५७)
“मलाई सुख भए तपाईँलाई सुख हुन्न ? तपाईँलाई यो संसार रमाइलो छ, प्यारो छ, मलाई छैन; मलाई त् परमेश्वरको भजनमा मात्रै आनन्द लाग्दछ । तपाईँलाई संसारमा डुब्न मन छ भने डुब्नोस्, मलाई किन उत्रन दिनु हुन्न ?”- कान्तिको प्रश्न कनकवीरलाई । (पृ, ५७)
“मैले भनिहालेँ नि, त्यहाँ गौरीशङ्कर छन् । कान्ति पनि त्यहीँ छ । उसको लाश म उसैलाई बुझाइदिन्छु । हर्के । बस्, म जान्छु ।”- शिवगिरिको आदेश हर्केलाई । (पृ. ६४)
कृतिमा भुवन र कान्तिले बरोबर गाइराख्ने एक-एक गीत छन् । जो एकअर्काको जबाफजस्ता छन् । परमेश्वरको भक्तिमा लीन हुन चाहिरहेकी कान्ति र प्रेममा लीन हुन चाहिरहेका भुवन तर भुवन प्रेमगीत गएर कान्तिलाई श्रीमती बनाउन चाहन्छ, प्रमिकाभन्दा पनि । यो वास्तविकता आजपर्यन्त पनि छँदै छ ।
कान्ति: (गाउँछे)
एक अँधेरी रातमा एक्लै आकाशमा
ध्यानले हेरिरहेकी मेरो अगाडि वृक्षमा
एउटा पन्छी बसी बोल्थ्यो ‘तिमी के उड्दिनौ ?’
हेर स्वर्गङ्गा, मेरो साथ उसपार तर्दिनौ ?
मैले भनेँ-’असङ्ख्य ताराहरू के वस्तु हुन् ?’
उसले भन्यो- ‘ती बालुवा काँ नदी किनारका ।’
मैले भनेँ- ‘ती चन्द्रमा के हुन्, कता बग्दछन्?’
उसले भन्यो – ‘ती शून्य हुन् अमृतका मृगतृष्णिका।’
…
…
भुवन: (गाउँछ)
प्रीति गरेर मरौँ यस जुनीमा भक्ति रहोस् पछिलाई
पाप गरीकन नर्क नजाऔँ, पुण्य गरीकन स्वर्ग नधाऔँ
प्रेत बनी अझ प्रेम गरौँ यही पृथ्वीतलमा आई आई
भक्ति रहोस् पछिलाई ।
…
…
***
आजको आँखाले हेर्दा पनि पौने शताब्दी पुरानो यस कृतिको औचित्य रहिरहेको छ । यो वाक्य लेख्नुपर्दा खिन्नताबोध हुन्छ । कारण- चरम पितृसत्तात्मक मानसिकता आजपर्यन्त जीवित हुनु दुर्भाग्यको कुरा हो । होला, यस मानेमा कृतिलाई जीवन प्राप्त हुँदो हो तर यो दुर्भाग्य नै हो । यो कृति पटक-पटक पुनर्मुद्रण र पुनःप्रकाशित नभए पनि हुने हो । यसो हुँदा कृतिको अपमान हुँदैन । सम्मान नै हुन्छ ।
मेरो भनाइ के मात्र हो भने, कुनै पनि कृति पटक-पटक जीवित भइराख्नु भनेको म बाँचिरहेको समाज कति जड छ, चट्टान छ भन्ने कुराको सूचकाक्षर हो (हरेक किताबमा लागु हुँदो हो ?) । आज पनि समाज नारीको अपमान, तिरस्कार र महत्त्वहीनतालाई कति विधि स्वादले अँगालो मारिरहेको छ भन्ने सङ्केत हो । यो दुर्गन्ध हो । …गन्हायो ? नाक नछोपौँ । दुर्गन्ध सफा गरौँ ।
दुर्गन्ध हटाउन यो कृति पढिरहनु पर्दैन । (पढ्दा हानि पनि छैन ।) तर अरू वैकल्पिक बाटाहरू छन् । खोजौँ । खोजी भइरहेको छ । सघाऔँ । यस कृतिलाई झाडु बनाऔँ । समको सहभागिता यसरी नै हुन्छ । उनलाई सहभागी बनाऔँ ।
अन्त्यमा,
म पुरुष हुँ, मेरो सोपान यद्यपि अग्लो छ । यो मैले चाहेको होइन । ममाथि थुपारिएको हो । थुपारिएको हो भनेर मैले फुत्कन कदाचित् मिल्दैन । यसलाई भताभुङ्ग नपारी हुन्न, पारौँ । भनेको, समाधानको पाटो खोजौँ । ढिला भइसक्यो, हतार गरौँ, गडबड नगरौँ ।
संयोग र सम्भोगले जन्मिएको हरेक व्यक्तिको खोज ‘खुसी र सुख’ नै हो । हाम्रा शारीरिक, मानसिक एवं भावानात्मक खोज एकै छन् । यसमा ‘मानवीय न्यायको सिद्धान्त’लाई बिर्सिएर समानता, अधिकार र अवसरको दायरा यति सङ्कुचित पारिरहनुको कुनै औचित्य नै छैन ।
माथि पनि भनियो, समधानले थप समस्या सिर्जना गरिरहनु हुँदैन । गरिरहेको छ, बुझौँ । कनकवीर (कान्तिका बाबु) नबनौँ, छोरीको लास नहेरिरहौँ । आफ्नै संस्कारजन्य रुढताले छोरी (नारी) को घाँटी नकसौँ । न कनकवीर बनेर छोरीको लास हेर्दै पछुताएर हुन्छ न भुवन बनेर प्रेमगीत गाएर हुन्छ र त न कान्ति (सतीदेवी) बनेर आत्महत्या गरेर नै समस्याको समाधान हुन्छ । उसो त शिवगिरि (महादेव) पनि नबनौँ । जीवित व्यक्तिको स्वतन्त्रता र प्रेम (भक्ति) लाई अस्वीकार गरेर मृत देह काँधमा बोकेर रनबन नडुलौँ । कैलाश (गौरीशङ्कर) नपुगौँ ।
नारी दमनको मुद्दा, महिला-पुरुषको भन्दा पनि समाजको मुद्दा हो । यसमा शिवगिरि भएर हुँदै हुँदैन, कान्ति भएर त झन् हुँदै हुँदैन । पितृसत्ताले मारेको एक किशोरीको लाश बोकेर हिमालायतर्फ लागेर समस्याको समाधान कदाचित् हुँदैन । कैलाशलाई चिहानघारी नबनाऔँ ।
मोक्ष, परमात्माका कुरा अलि पछि गरौँ । अहिले कान्तिलाई बचाऔँ ।
#बालकृष्ण सम#राजु झल्लु प्रसाद
प्रकाशन मिति: २०७९, श्रावण २९, शुक्रबार १०:०१, साहित्यपोस्ट