मन सुविधाजनक वस्तु होइन । आज, हिजो, भोलि, पर्सि र अस्ति; यतिखेर, उतिखेर, त्यतिखेर, जतिखेर..; यत्रतत्र, सर्वत्र… अलपत्र, पत्र-पत्र र छरपष्ट हुँदाखेर लाग्छ – मनबाट मुक्ति सम्भव छ ? प्रश्न- मस्तिष्कसँग । उत्तर – हृदयसँग ।
डुबेर घोर निराशामा भुइँभरि खुट्टा ओछ्याउँदै म आज त्यहीँ पुगे – जहाँ मन लुखुरलुखुर मेरै अनुमति बेगर हिँडिरहन्छ, उभिइरहन्छ, टहलिरहन्छ – दिनानुदिन । पल पल । क्षण क्षण ।
मुटु खाने चिसो सिरेटो यतै आसपास चल्छ ।
आँखामा पसिरहन खोज्ने भुसुनाकृत दृश्य यहीँ कहीँ झुम्मिइरहन्छन् ।
र, अनि औँलाका अँगालोभरि लुटपुटिने एक सिथिल स्पर्शको आत्मीयता पनि त म यहीँ भेट्ने गर्छु,… भेटिरहन्छु ।
आफ्नै ओठको एक घृणित कार्य – आँसुको पोखरीमा डुबेर फुत्त निस्किएको – एक चिसो, सुकिलो मन्द मुस्कान ।
ओठ मनको झ्याल होइन । ओठ हो – मनको झ्यालमा टाँगिएको पर्दा ।
पर्दा – एक चिसो, सुकिलो मन्द मुस्कान !
अनि आफ्नै हृदयको खेदपूर्ण हर्कत – प्रेमको आगोले कठ्याङ्ग्रिएर निस्किएको एक झिल्को तात्तातो अभिव्यक्ति – बालुवा दूबोमा हेलिनु अव्यक्त, अस्पष्ट प्रेमिल स्वीकारोक्ति हो – बगरबिचको नदीको !
थाहा छैन – हृदयको यो अव्यवस्थित गोरेटो थुप्रै पदचापहरूका लागि गन्तव्यहीन भए या गन्तव्य प्रदायक ठहरिए ?
एक समय – आफूमाथि स-सना झारपात, पोथ्रा र बुट्यान उमारेर थर्थराइरहेको यही गोरेटोमा एक जोडी ‘जोडी पैताला’ परेको थियो ।
र, यो समय – यदाकदा हृदयको सुस्केरा सुन्छु, ऊ सोधिरहेको हुन्छ – ‘ती पैतालाहरूले पनि यताको बाटो हिँड्न छाडे, अब के ?’
म बस् मुस्कुराउँछु – उही चिसो मुस्कान !
र, बोल्नलाई मुख खोल्छु – ‘आएको थियो चरा, चारो टिप्यो, उडेर गयो…।’
बादल र बगरबिचको सम्बन्ध…
एक न्यास्रोपन… ! र, एक तिक्तता पनि ।
न्यास्रोपन – वास्तविकतासँग !
तिक्तता – स्वभाविकतासँग ।
घडीको भित्ता हेर्दै जान्छु… ! टिक..टिक..टिक..र, अनि एक्कासि बन्द ।
भित्ताको घडी हेरिरहन्छु..! टिक..टिक..टिक…र, अनि एक्कासि सुईको उल्टो वेग ।
हेरिरहेँ – हिजो भयो, अस्ति भयो, एक हप्ताअघि भयो, एक महिनाअघि भयो, एक वर्षअघि भयो, सभा दुई वर्षअघि भयो… अनि ?
अनि एक्कासि बन्द भयो – घडी । रोकियो ठ्याक्कै । चलेन त्यसपछि । त्यहीँ अड्कियो समय । लाग्यो – यतिखेर घडीले साथ दिइरहेछ ।
तर कुरा के भयो ? समय रोकिँदा मानिसको आयु घट्छ/स्थिर रहन्छ ? होइन, समय रोकिँदा मनको थकाइले विश्राम लिन्छ । थकाइ मनको विश्राममा लिप्त हुँदा – उमेर तनको घट्छ/स्थिर रहन्छ ।
उम्, यतिखेर हिजोसम्म पुगेर आज फर्कँदा भोलि भएको सम्म थाहा पाइनछु । मनको उमेर अझ बढ्यो क्यार ! मन अझ उड्यो क्यार !
र, आफ्नो मनको थकाइ – सम्झनाहरू !
र, आफ्नो मनको विश्राम पनि – सम्झनाहरू !
थकाउने पनि सम्झनाहरू, उछलकुद् गराउने पनि सम्झनाहरू !
मान्छेको व्ययैक्तिक स्वतन्त्रता – सम्झन सक्नु !
मान्छे व्ययैक्तिक परिबन्धन पनि – सम्झन सक्नु !
ओ सम्झना ! ए सम्झना !…
साँच्चै… हिजो हिजोकै वर्तमानमा मात्रै होइन भोलि,..पर्सि..र पर्सिका वर्तमानमा पनि उस्तै आत्मीक ज्योतिसहित हाम्रा वैचारिक उच्छृङ्खलता र स्वाभिमानताको प्रतिष्पर्धाबिच रक्षार्थ उभिइरहनेछ- दुई ‘हृदय किनार’बिच बगिरहेको कल्पना/उपकल्पनाको धमिलो बाढीमा पनि ।
र, हिजो – जो यतिखेर मलाई सोधिरहेछ – हिजोलाई सम्झँदा आज भुल्नेहरू प्रेमी होइनन्,… ? मलाई उत्तर दिन बिलकुलै मन छैन ।
शीतको कुचीले लेखिएको उदाउँदो ती बिहानहरू,
साँझका पालुवाहरूमा अङ्कुरित बादलमुनिका गुलाबी ती क्षितिजहरू,
न्यानो बतासको स्निग्धतामा आह्लादित हृदयको ती जम्काभेटहरू,
अँगालो मारेर गफ्फिरहेका चिरबिरे वसन्त र ऐँसेलुको ती काँढे गुच्छाहरू,…
अनि ?
सुकेको रुखमुनिको बालुवामाथि सुकसुकाइरहेको पहेँलो पातको सुकसुकाहट…!
आगमनअघिको साउती…
र, एकैबेरको काउकुती…
अनि प्रतिगमन पछिको स्थिति …,
सबै सबै जानेर पनि मन भनिरहेछ – साँचो हृदयले घृणा गरेमा पनि प्रेमको पालनपोषण होइरहने गर्दछ ।
भने त – मन सुविधाजनक वस्तु होइन,.. हुँदै होइन ।
लेखकका अन्य सिर्जनाहरू पढ्न यहाँ क्लिक गर्नुहोस्…#राजु झल्लु प्रसाद
(साहित्यपोस्टमा २०८० आश्विन २६, शुक्रवार ००:०१ मा प्रकाशित)