चिखता है – राजु झल्लु प्रसाद

You are currently viewing चिखता है – राजु झल्लु प्रसाद

शिर्षकप्रति रोइलो गर्नेहरूलाई मेरो साधुवाद छ । स्याबासी छ । धन्यवाद छ ।

१.
अब कुरा सुरु गरौँ । सँगसँगै कुरालाई चुरा पनि लगाउदियौं र ‘छन्.., छन्..’ आवाज छन्कीरहोस् (बजीरहोस्) । लेख्नुजेल चुराको ‘छन्..,छन्..’ नरोकिओस् । चाहे पृथ्वी नारायाण शाहले गोरखकालीमा चढाएको चुरा होस् या भूतप्रेत भगाउन महिलाहरूले लगाउने हरिया-पहेला-राता चुराहरू हुन् । जस्ताखाले चुराहरू भए पनि हुन्छ, लगाईदियौँ । चुराका कुरामा धेरै गलफती नगरौँ । धार्मिक ग्रन्थहरू र प्राग-ऐतिहासिक प्रसंगहरूलाई कोट्टाएर वर्तमानको लुतो नकन्याऔँ । अगुल्टो नहुत्ताऔँ ।

म लेख्न बसेको छु । ‘म लेख्न उठेको छु’ भन्न मिल्दैन । यसो भन्दा परम्परागत भाष्य शैलीमा घनघोर मुसलधारे वर्षात् हुन्छ । समिक्षकहरूसँग यस्तो वर्षात्मा रुझ्ने आँट हुँदैन, छैन । अकारण उनीहरूलाई रुझाउने मसँग पनि आँट हुँदैन, छैन । यसकारण म लेख्न बसेको छु, कदाचित उठेको छैन । पुन: दोहोराउछु, ‘म लेख्न बसेको छु ।’

२.

एक खेप के भएछ भन्दाखेर, एकादेशका महान कवि (महाकवि होइनन्)लाई पखला लागेछ । पखलामामा पनि पखला चलेपछी उनको ‘हालत पतला’ भएछ । पखला ‘पतला’ नै हुन्छ ।

पखाला लागेपछि शरीरबाट ठूलो मात्रामा खनिज नाश हुनेगर्छ । यसका लागि जीवनजल वा पानीमा कागती, नुन र चिनी मिसाएर दिनभर पिउनुपर्छ । महान कविजीलाई यस अलावा पनि कडा कफी, दहीमा भुटेको मेथी र जिरा एवं बेलकाे सर्वत र लौकाको तरकारी खुवाइएछ । आराराेट, साबुदानाकाे खीर, बार्ली या छाछ समेत सेवन गराइएछ । तर यि-यस्ता एरेगैरे-नथ्तु खैरे किसिम र प्रकारका घरेलु औषधिले उनको छेरपटीलो दैनिकीको स्याहार-सम्भार गर्न सकिएनछ ।

तपाईंलाई यो पनि मन पर्न सक्छ

एक अलिखित आख्यान : काैशिला दिदी – गगन याेक्पाङ्देन

 साउन ६, २०७८

‘सवा कट्टु पौने पोँइठ’ – राजु झल्लु प्रसाद

 असार २९, २०७८

‘सवा कट्टु पौने पोइठ’ – राजु झल्लु प्रसाद

 असार २५, २०७८

त्योङ्गि गाउँ – तायुछाङ लामा “किरण “

 जेष्ठ २९, २०७८

उनले गएका दिनहरूमा बासी, तारेकाे, भुटेकाे, पिराे, मसालेदार खाद्यजन्य कुराहरू पनि खाएका थिएनन् । फ्रिजमा राखेकाे खानेकुरा बाहिर निकालेर तुरून्तै खाएका पनि होइनन् । अगाडिदेखि नै काटेर राखेकाे प्रदूषित सलादसँग रक्सी निलेका पनि थिएनन् ।

यद्यपी एकाएक-अच्चमैसँग-झटपट उनको पेट फुल्ने, कराउने, दिसा पातलो हुँदै झुसीलो डकार, बान्ता र वाकवाकीसम्मको यात्रा तय भयो । एकाएक पाँच-दश मिनेटको समय अन्तरालमै छेर्न र छाद्नमा पारंगत भइसकेपछी उनलाई अस्पताल कुदाइएछ ।

‘चेकजाँच पश्चात् रिपोर्ट आयो।
‘उहाँको शरिर एकदम ठीक छ । शरीरमा निर्जलीकरणको कुनै बुँद छैन । शरीरको नून (सोडियम) र चिनी (ग्लूकोज) मात्रा पनि ठिक्क छ । जीवनजलको कुनै आवश्यकता हामीलाई आवश्यक महसुस हुँदैन’ लेखिएको प्रेसक्रिप्सन महान कविजीका अनुयायीहरूको हात-हातमा थमाइयो । हात-हातमा थमाईएको प्रेसक्रिप्सन पात-पातै पुग्यो । प्रेसक्रिप्सनको खबरले सब्सक्रिप्सन कमाउन थालिहाल्यो । भटाभट..भटाभट । बेल आइकन बजाउन छाडीएन । कमेन्ट बर्साउन छाडीएन। लाइकको वर्षात् नै भयो । ब्रेकिंङ न्यूज बन्यो । विदेशी संचारमाध्यममा पनि ‘छोटे देशको बडे खबर’ फटाफट बज्न थालिहाल्यो ।

सरकारले अकस्मात सर्वदलीय बैठक बोलायो । अंकगणितीय हिसाब नमिलेको भन्दै प्रतिपक्षले बैठक बहिस्कार गर्यो । तर महान कविजीका अनुनायीले सडक तताउने बताएपश्चात प्रतिपक्षी दलहरू रुझेको बिरालो बनिहाले । अन्य-अन्य दलका पदाधिकारी र पूर्वपदाधिकारी पनि संसद भवनतर्फ बत्तीए। सदनमा ‘म्वाउ म्वाउ र भ्वाउ भ्वाउ’ बढ्दै गयो । अन्तत: ‘म्वाउ म्वाउ र भ्वाउ भ्वाउ’को मनहारी कवालीपश्चात कविजीको उपचारखर्च देशले व्योहोर्ने व्यहोरा सार्वजनिक भयो ।

यसमा पनि कविजीका विपक्षी गुटहरूले चुच उठाए, नङ्ग्रा बढाए:-
‘त्यसले आजसम्म राष्ट्रहितका खातिर के नै लेखेको छ र ?’
‘यस्ता नाथे कवि भनाउदाको ज्यान बचाउन सरकार बजेट छुट्टाउछ । देशका कति दुख छन्, कष्ट छन् । त्यता किन यो अधिनायकवादी सरकारको खोपडीको जरो पुग्दैन ? हाँगो फैलीदैन ?’
‘नाथे एउटा कविको ज्यान जोगाउन लाखौ मूल्य ? हाय… यो देश । हाय..यो बर्बादी । हाय..यो दलाल पूँजीवादी सरकार । हाय..यो लोकतन्त्रको नाङ्गो नाच ।’
‘हाय..हाय…र हाय..!’

यसप्रकारको हानाहान र भनाभनहरू रक्सी अड्डा, चिया चौतारी, दरुवा एक्सप्रेस, भट्टी डट कम, झ्यापलाल समारोह, चुरोट्यौली देउराली, शाब्दिक नमन प्रतिष्ठान, साहित्यिक अभिवादन प्रा.लि. र हाउ कवि ज्यू एसोसियनतर्फ भरमार चलीरह्यो ।

खबरअनुसार दश-बीस थान कवि/लेखकहरूको नाथ्री, कन्सिरी र चिउडो फुटेछ । सात-आठ जोडी स्वतन्त्रवादी र बहरबादीहरूको सेन्डो च्यातिएछ, सुरुवाल उध्रीएछ । निबन्धशास्त्री र नियात्राशास्त्रीहरूको कल्पनातीत एवं चित्ताकर्षक मारमुङ्ग्रीमा अनुभूतिजन्य गोदाई र एकालापीय रामधुलाई मच्चीएछ । समालोचनाजीवि, जीवनीकार एवं रिपोतार्जकर्मीहरूको तकरार पनि उत्तिकै प्रणयोन्मत्त एवं मोहितिलो-सुवासिलो-सुगन्धिलो भइगएछ । पद्य र गद्य कविहरूको पनि छन्दिलो एवं थोडासा मन्दीलो साथसाथै फुटकरप्रदायक-लघुप्रदायक व्याकारणिलो रोधी घर एवं रत्तेयौली मच्चीएछ । मुक्तक, हाइकु, शेन्यू, सायरी र लोकसूक्ति विधाकारहरूले त्यस महोत्सवमा खैंजडी, मुजुरा, मादल बजाउदै बेली डान्स र मुन डान्स हानेछन् ।

यसप्रकार समकालीन साहित्य जगतमै अकस्मात अतिरिक्त पढाइ वा ब्रिज कोर्स टाइप्स खर्चिलो-बोझिलो तर मन हर्ने माहोलको छन्दोबद्ध कुस्ती च्याम्पियन आयोजना गर्न सफल भएकोमा सरकारलाई बधाई र धन्यवाद दिइटोपल्ने पाठकवृन्दहरू र समिक्षक गिरोहहरू पनि बापसी भइगएछ । पुनरागमन होइगएछ ।

यता, आम नागरिकहरू, लामबद्ध कार्यकर्ताहरू, कुपोषित वृद्धभत्ता होल्डरहरू, संस्थागत युवा जमात, अरिंगाली-माहुरेली एवं फट्याङ्ग्रीलेदी लेडिज एवं लेड्याजहरू पनि यस कुस्ती समारोहको वाछिटाबाट चोखा रहेनन् । लुछुप्प भिजिगए । कविजीको रोगव्याधिले निम्ताएको वर्षातमा उनीहरूको वर्सादीले काम गरेन ।

समग्रमा पुरा-से-पुर् देश नै महान कविजीमाथि आइलागेको अनौठो-अपत्यारिलो-विस्मितिलो-गजबको-छक्कलाग्दो-हक्क-बक्क बनाउदो-आश्चर्यलाग्दो-विलक्षण-विचित्रको-अविश्वासनीय रोगको चर्चा-परिचर्चा-उपचर्चा-चियो-चर्चामा लागिपरे । देश नै हट केक बनिगयो । विदेशी मिडियाबाजहरूहरूको आगमन बढ्दो भयो ।

बीबीसीले लेख्यो- ‘देशका वरिस्ठ कविज्यू हाइब्रेड पखलाबाट पीडित, अवस्था चिन्ताजनक ।’
सीएनएनले लेख्यो- ‘राष्ट्रका कविमा अनौठो पखला, राष्ट्र पखलामय ।’
अलजजिराले लेख्यो- ‘सी, देयर कमस अ न्यू डायीरिया भेरियन्ट’’
टाइम्स म्ग्याजिनले लेख्यो- ‘डायीरिया भेरियन्ट: नाउ इट्स गेटीङ सिरियस ।’

पाँच दिन बित्यो ।
कविजीले खान छाडेका छन् । पानीसमेत निल्न सकेका छैनन् । निस्तेज भएर अस्पतालको शघन उपचार कक्षमा पल्टीरहेका छन् । पल्टीदै आफ्ना दुई पुठ्याद्वयबीचको खोंचबाट लगातार पन्यालो वस्तुको त्याग गरिरहेका छन् । प-पन्ध्र मिनेटमा परित्याग गरिरहेका छन् ।

कवि-गोष्ठी एवं सभा-सम्मेलनमा प्रमुख अतिथिको कुर्सीमा विराजमान होइबस्ने आराध्य पुठ्याद्वयको विमार्जन (धोईपखाली एवं बढारबुढुर)मा उनका अनुयायी,अनुगामी एवं समर्थक समकालीन, कनिष्ठ र राजनैतिक नेता-नेत्रीहरूको व्यापक सहभागिता देखिन थालेछ । जसोजसो समय बित्दो छ, उसोउसो कविजीको पुठ्याद्वयको धोईपखाली एवं बढारबुढुरमा देशका गन्ने-मान्ने, सज्जन वृन्दहरूको हात-पाउ-जिब्रो बट्दो हुँदै गएछ । पुठ्याद्वयबीचको खोंचबाट मानौं लोकतन्त्र, समानता र समृद्धिका दिव्य भजनहरू, ऋचा र मन्त्रहरू, अक्षता-चामलहरू, अबिर-चन्दनहरू निस्कदो छ । पुठ्याद्वयबीचको खोंच मानौं गङ्गोत्री हो, ऋषिकेश, मक्का-मदिना हो, हाजिया सोफिया हो, पारो ताक्तसाङ्ग हो, ग्रुन्डट्भिग चर्च हो, वाट रङ्ग खुन हो, परमबनान हो, ब्लु मोस्क, पशुपतिनाथ हो, स्वयम्भूनाथ हो, पाथिभरा हो । पुठ्याद्वयबीचको खोंचलाई नवसर्जकिलो हातले स्पर्श गर्नु, वासना लिनु र चाट्नु भनेको मोक्षतर्फको यात्रा हो, कवैल्य प्राप्तिको मार्ग हो, चेतनाको वशीभूतकरण हो । यही मान्यताको दासत्वमा समग्र साहित्यिक वृत्त फनफनी घुमीरहेको प्रतित भइगएछ ।

सम्पूर्ण देश नै वर्षौदेखि लावारिस चिकित्सकीय प्रणालीको खण्डहरमाथि आ-आफ्ना आस्था-श्रद्धा- विश्वास टिकाएर महान कविजीको शिघ्र स्वास्थ्य लाभको कामनामा तल्लिन बनिगए । कविजीलाई बचाउन एकिकृत स्वास्थ्य अभियान नै सुरु भइगयो । तर यस्ता अभियानबाट केही लछारपाटो लागेन । यसपछि विदेशी सहयोग मागियो । हार्भड-अक्सफोर्ड-क्यामब्रीज-जोह्न्स हप्किन्स-कारोलिन्सका-इम्पेरियाल-याले युनीभर्सिटी जस्ता विश्व विख्यात मेडिकल इन्स्टीच्युटका फिजिसियन-सर्जन-क्लनीसियन-मेडिक-डकहरूको लाम एकादेश आइपुग्यो । तर यो जमातले पनि कविजीको शरीरमा लागेको अनौठो पखला पखालपखुल पार्न सकेनन् । धोईपखाली गर्न सकेनन् । बढारबुढुर गर्न सकेनन् ।

सनै सनै, विस्तारै विस्तारै कविजी पन्यालो वस्तु बन्दै गइरहे । पित्त मनुवा हुँदै गइगए । उनले लेखेका सम्पुर्ण मोटा-चाक्ला पुस्तकहरू बटुलाबटुल गर्ने हो भने कविजीको पातलो पखाला पुछ्न नसकिने भयो । पखलामा नै उनी पौडी खेल्न थाले । शघन कक्षको बेड दिनमा पाँच पटक जस्तो फेर्नुपर्ने भयो । अस्पताल नै डुंग गनाउन थाल्यो । जनरल र एचडीयू वार्डका बिरामीहरू अझ बिरामी हुन् थाले । डिस्चार्ज हुने सम्भावना देखिएका बिरामीहरूलाई एकाएक च्यापेको देख्दा डाक्टर एवं नर्सहरू सातोपुत्लो उडीगयो । हंसले ठाउँ छोडीगयो । पानी फर्काएर पनि नहुने भयो ।

कविजीको रवाफिलो अनुहार हिलोको भगेरा जस्तो हुन् थाल्यो । फुंग उडेको चामल रङको अनुहारमा अब त्यस्तो बात रहेन । उनको अनुहारमा हाँसोको टुसा पलाउन नै सकेन । उनको अनुहारमा अदबसाथ अल्झिएको वैराग्यता यहुदीहरूले अस्वीकार गरेको इटालीयनहरूले व्यवस्थित गरेकोक चर्च जस्तो बडो रहस्यमयी हुँदै गयो । उसो त उनी उपनिवेशवादको विरोधमा थिए । त्यति मात्रै होइन । ‘बाफ र रेल’, ‘बिजुली र फ्याक्ट्री मोडेल’, ‘कम्युटर मेनफ्रेम र सेमीकन्डक्टर’ एवं ‘इन्टरनेटमा आश्रित डिजिटल युग’ जस्ता औद्योगिक क्रान्तिका चरणबद्ध ऐतिहासिक अनुभवसँग उनको रिसराग थियो । औद्योगिक क्रान्तिप्रति उनी हरबखत आशंका व्यक्त गर्दथे । मानव पतनको प्रमुख कारक बताउथे । फोन बोक्दैन थिए । डिजिटल क्यामेराको क्लिक-झिलिक उनलाई मन पर्दैन थियो । प्रोपोगान्डा या बजार ‘मास एटेन्सन’बाट आफू सकभर अछुतो भएको जस्तो देखाउने गर्दथे । पुँजीवादको आँखीझ्यालमा लुक्ने गर्थे । आधुनिक युवतीलाई उनी निर्जिव स्केच बताएर एकसाथ महिला अधिकारकर्मी एवं चित्र पेशाकर्मीको आँखा कसिङ्गर बन्ने गर्दथे । महिलालाई अझ पनि नर्तकी, वस्तु एवं विज्ञापनको साधन बनाएर उनले कथाकृतिहरू लेखेका थिए । जसले साहित्यवृत्तमा घनघोर अपमान र प्रशंशा एकसाथ् बटुलेको थियो । सँगसँगै कयौँ थान पुरस्कार र सम्मानका फुल-पाती ओढेका थिए ।

त, अमूर्तता, अवचेतन जस्ता विषयमाथि कमै कलम चलाएका महान कविजीको देह चियाको डुबेको बिस्कुटजस्तै लत्याकलुतुक हुँदै थियो । फत्याकफुतुक गल्दै थियो । उनको शरीरबाट अत्यन्त दुर्गन्ध आउन थालेको थियो ।

आफ्नो कविताको बारेमा अनावश्यक दुर्गन्ध फैलाएको भन्दै एकताका कविजीले समकालिन कविजीको नाकैमा पिच्च थुकिदिएका थिए- ‘कविता भनेको आत्मा हो, कहिल्यै गनाउदैन । जसको कविता गनाउछ, उसले लेखेको कविता होइन गु हो । मेरो कवितालाई गु भन्ने तँ को ? निउ खोजेको हो ? सिण्डीकेट ल्याइदिम ?’ अर्का कविजीले कट्टुमै मुतेका थिए अरे ।

त, यसरी अरू कविज्यूँहरूको हुर्मत लिईराख्ने टोले गुण्डा टाइप्समा यी महान कविजीको अन्दाजी ३७ किलोको शरीर कुहिएको सिनो जस्तो ठ्वासठ्वास गनाइरहको थियो ।

यहीँ सेरोफेरोमा बाहिरफेर हल्लाबाजहरू यी-यस्ता हल्लाहरू फैलाउदै थिए:-
‘बासी र ढुसी विचार पालेर बसेका थिए । कविजीको दिमाग गनाएको हो ।’
‘कवि भएर यसरी ठसठसी गनाउँन त हुन्थेन । लाजैको पोको ।’
‘लेख्न छाडेर सत्ताकेन्द्रित हुँदै राजनीतिवाज भएका थिए, इमान्दारिताको पखला चलेको हो । नैतिकताको छेरपटी लागेको हो ।’
‘म जस्तो कोही छैन, मैले जस्तो कसैले लेख्न सक्दैन भन्दै हाम्रो गुटलाई पखाल्थे । अब आफैँ पखालिने भए !’
‘धेरै पखेटा पलाएपछी यस्तै हो । चिलले पनि छेर्छ भन्थे यहि हो ।’
‘उनको मस्तिष्कको खान्की र आहारविहार नै गलत थियो । हाम्रो समूहमा आएको भए प्रदूषित हावा-पानी सेवन गर्ने मौकै मिल्थेन । त्यति विघ्न राम्रो लेख्ने भएर पनि आफूमा संक्रमण फैलन रोक्न सकेनन् । बरा..बिचरा !’
‘मलाई त माया लागेर आएको छ । दयाको पालुवा पलाएको छ मेरो मनमा । निको होउन् । त्यसपछि जसरी हुन्छ हाम्रैतिर ल्याउनुपर्छ ।’
र, यावत..यावत । आदि..इत्यादि ।

सात दिन बित्यो ।

कविजीको स्वास्थ्यमा कुनु सुधार आएन । विश्वभरका कुख्यात-विख्यात्-खुङ्खार चिकित्सकहरूको नौ नारी गलेछ । कसैगरी कविजीको रोग निर्मुल पार्न सकिएन । वीन्टर डायरिया हो भनौं भने उनी नवजात शिशु र बालबालिका होइनन् । रोग प्रतिरोधी क्षमता कमजोर भएका भनौं भने त्यति वृद्ध पनि होइनन् । कर्निक डायरिया भनौं भने पनि शरीरमा गम्भीर त्रुटी केही देखिएको छैन । पखला लाग्दा हुने ठुलो घटना भनेको पानी तारतार बग्नु हो । हप्तादिनदेखि कविजीले पानी त के एक दाना अन्न समेत निल्न सकेका छैनन् ।

तर पखला निरन्तर चल्दै गइच्छ । दिनानुदिन पखला चल्ने क्रममा बढोत्तरी हुँदै गएछ । चिकित्सकहरू चिर्पेटो चिट चिट गर्दै गएछ ।

महान कविको महानता यसै सिद्धिजाने भयो भनेर चिकित्सिकीय बुर्जुवा, दलाल एवं ड्रगिस्टहरूले लख काटे । मिडियाबाजी गरे । प्रचार-प्रसारमा भरपुर व्यापारीकर गरे ।

‘उहाँले आफ्ना कवितामार्फत समयको दाग मेट्नुभएको छ। प्राथना गरौँ ।’
‘उहाँका दिव्य रचनाका कारण मानव हृदयको स्पष्ट कोलाज कोर्नुभएको छ । पूजापाठ गरौँ ।’

‘नित्से वेश्या विना सुत्दैनथे, महाकवि देवकोटा चुरोट बिना बाँच्दैनथे, माइकल ज्याक्सन लागूपदार्थका दुर्व्यसनी थिए, नारायण गोपाल रिसाहा र लहडी थिए। तर हाम्रा कवि त्यस्ता छैनन्, उनमा नकारत्मकता नै छैन । उनी साँचो छन् । इमान्दार छन् । समाजवादी छन् । उदारवादी छन् । स्वतन्त्रताप्रिय छन् । कसैको अहित सोच्दैनन् । रिसराग राख्दैनन् । कसैको कुभलो चिताउदैनन् । उनी महान छन् । यसकारण उनी महान कवि हुन् । उनलाई कुनै पनि हालातमा बचाउनै पर्छ। ‘

अझ यि-यस्ता पादटिप्पणी, साहित्यिक भाषा दोहन, काव्य विलासिता, आलङ्कारिकताजन्य सुस्केरा, ओठे भावपूर्ण उछ्वास, खपटे सुसेलीहरूले पुगेन । अझ सुरिला ध्वनिहरू सुनिन थाले ।

‘सान्तिनो मान्छे पखला ल्याएर मर्न पाउँदैन । पखला लागेर मृत्यु वरण गर्ने भनेको अलेक्जेन्डर, पृथ्वी नारायण शाह जस्तो मान्छे हो । जो पायो त्यसलाई यस्तो अहोभाग्य कहाँ ?’ मर्नु अघि नै उनको मृत्युको कामना । आहा..बिम्बमय । हाय..।

‘कविजी वैचारिक संघर्षको उद्गमस्थल हुन्, तिर्थाटन हुन् । उनीबाट नै प्रयोगवादको भगिरथ बगेको हो । उनी अनुसन्धान र अनुभववादका नाइल हुन् । कविजी पूर्वीय र पाश्चात्य साहित्य-शैलीका संगम बास्पोरस नदी हुन् ।’ आहा..ऐतिहासिक बौद्धिकता । हाय..।

‘समसामयिक धारातर्फ त उनको अतुलनीय योगदान छ । कविताको आधुनिक कालको उनी कम्पोस्ट मल हुन् । उनैका कारण कविताको खेती फस्टाएको हो ।’ आहा..असाधारणिय कल्पनाको प्रचूरता । हाय..।

दश दिन बित्यो ।

महान कविजी बाच्ने कुनै उमिद नभएको’ बताईरहँदा खेर पनि दान-अनुदान,धर्म-कर्म, यज्ञ-यज्ञादीमा लाखौँ खर्च गरिएछ । तर सब बालुवाको घर भएछ । खोयाको नौं तले दर्बार भएछ । ‘शशस्त्र द्वन्द’ भएछ । ‘समृद्ध नेपाल, सुखी नेपाली’ भएछ । बेमौसमी अध्यादेश काण्ड भएछ । राष्ट्रियताको गफ भएछ । ग्यास्ट्रिक पिडीतले निलेको घिउ भएछ । कार्तिकमासको कथित कुकुर-लिला भएछ । असारमासमा घटित मेलम्ची-दशा भएछ । सब खत्तम भएछ । बर्बाद भएछ । जिरो भएछ । बोर भएछ ।

अन्तत: महान कविको इहलिला खत्तम भएछ । उनको प्राणवायू पन्चमहाभूतमा बिलिन भएछ । क्रमश: राष्ट्रवादबारे लेखिएका उनको कवितासंग्रह, लोकतन्त्रबारे लेखिएका उनको निबन्धसंग्रह, नवनिर्माणबारे लेखिएका उनका अखबारी लेखन संग्रहहरू, स्वाभाविमानबारे लेखिएका उनका कथासंग्रहहरू र ‘सर्पको काँचुली’बारे लेखीएको उनको उपन्यासंग्रहमा उनको प्राणवायू बिसर्जन हुन पुगेछ । छैटौं एवं अन्तिम तत्व ‘आत्मा’ चाहिँ देशदेशावर डुलीहिडेछ ।

वैतरणी नदी :

महान कविजी ‘महान आत्मा’को चिरशान्ति, स्वास्थ्यलाभ एवं कल्याणका लागि देशवासीले श्राद्ध, तर्पण, येँया, उपाकु र बौमतः जस्ता मोक्ष प्राप्तिका तमाम कामना, आराधाना गरिएछ । मनोरथ मागीएछ । हार्दिक इच्छा प्रकट गरिएछ । अभिलाषा राखिएछ । दियो बालिएछ । ममबत्ति सल्काइएछ ।

तर जसै गरे पनि महान कविजीको महान आत्माले नरकलोकको नदी तर्न सकेनछन् । वैतरणी नदि किनारमा अड्किगएछन् । हैरान भइ गएछन् ।

आफ्ना प्राचिन दिनहरूको स्वादिष्ठ सुखानुभूति आस्वाद गरिरहेका महान कविजीको महान आत्मालाई एकाएक ब्रम्ह ज्ञान जस्तो प्राप्त भएछ । भारतमा एक नदीको नाम वैतरणी छ भन्ने चाल पाएछन् । अब साच्चैको वैतरणी नदी त तर्न सकिएन त्यहि भए पनि तर्नु पर्यो भनेर महान कविजीका तिलस्मी पाद जोडी त्यतातर्फ प्रस्थान भएछन् । एकै पलामा प्रेतशरीर धारण गरि उनी बालासोर जिल्ला र कटक जिल्लाको सीमनामा बग्ने ‘ओडिशाको गंगा’नामले परिचित वैतरणी नदि किनारमा पुगेछन् ।

नदि तर्न खोजेछन् । सकेनछन् ।
आफ्ना तिलस्मी पाद जोडी नदीको पानीमा राख्नासाथ् पानीले पोलेछ । फेरी राखेछन् । फेरी पोलेछ । तिलस्मी पाद जोडीमा ठुला-ठुला फोका उठेछन् । तिनलाई निचोरेछन् । केही दिन त्यसै गरि अलमलिएछन् ।

हप्ता दिन जस्तो भइसकेपछि फेरी वैतरणी नदिमा पाउ राखेछन् । उनका तिलस्मी पाद जोडी जमेछन् । ठण्डा परिगएछन् । ठण्डीले उनको तिलस्मी पाद जोडीलाई कर्याम कर्याम चपाईदिएछ । तिनलाई सुम्सुमाउदै उनले अर्को हप्ता काटेछन् । त्यति अलमलिएछन् ।

फेरी पानीमा खुट्टा राखेछन्, पोलेछ ।
फेरी पानीमा खुटा राखेछन्, जमेछ ।
पोल्ने र जम्ने निरन्तर भइगएछ ।..भइगएछ ।

यसकिसिमको झिँझकलाग्दो कामदेखि विरक्त भएर उनी वैतरणी नदी किनारमा लडीरहेका रहेछन् । उनमा अझै पनि झुटमुटकै सहि वैतरणी नामको नदी तरेरै छोड्ने जिद्ध थियो । सोही जिद्धको उक्साहट उनी जे पर्ला सोही तारला भनेर पानीतर्फ अघि बढेछन् । अघि बढ्दै जाने क्रममा एकाएक उनको हाइनाहरूको झुण्डसँग भेट भएछ । अकस्मात उनको आत्मा आत्तिइगएछ । डराइगएछ ।

हाइना:

लोपोन्मुख जनावर हाइनाको धेरै व्यक्तिविशेष गुणहरूलाई संग्रलायमा राख्नुपर्ने जरुररतबारे पनि उनले कुनै कालखण्डमा बौद्धिक गोष्ठीमा चरा-परिचर्चा-उपचर्चा एवं चेवाचर्चा गरेका थिए। उनले आफ्नो चर्चापीठ म्हात्म्ये सुनाइरहँदा मानिसले जस्तै घरको बन्दोबस्ती गर्ने, भाले-पोथी मिलेर बस्ने, एउटैसँग जीवन काट्ने ‘स्ट्राइप्ड हाइना’को प्रसंग उप्काएका थिए । विवाहिक संस्थाको ढाड खुस्काउन लागिपरिरहेको डिभोर्स, लिभिङ टुगेदर, सेरोगेट मदर, सिंगल मदर, टेस्ट ट्युब बेबी जस्ता अत्याधुनिक विचार-दर्शनको कटाक्षप गरेका थिए । सभ्य शब्दमा भन्नुपर्दा लैंगिक समानताको बोलवाला नारीवादको सतीत्त्व नष्ट पारिदिएका थिए । खित्का छाडीछाडी मान्छेको आवाजमा हास्ने, हास्दाहास्दै रोइदिने र सह-लिंगधारी (सिउडो पेनिस) पोथी हाइनालाई महिला अधिकारकर्मीसँग तुलना गरेर आफ्नो गुप्त-रहस्य उजागर गरेका थिए । आफ्नो मस्तिष्कको खोपिल्टा-खुपुल्टीमा लुकीबसेका/लुकाईराखेका पर्सनल विचारह्हरू छताछुल्ल पारिदिएका थिए। वासरल्ल पारिदिएका थिए । र, शहरभरी खैला-बैला मच्चाईदिएका थिए ।

खैला-बैलाका खल्याङ-मल्याङहरू यी-यस्ता सुनिन्थे:
‘महान भनेको महिलालाई देखिनसहने महिला-भोग्या रहेछ ।”
‘यस्ता कविलाई महान भनियो, इतिहासले हामीलाई माफ गर्दैन ।’
‘जे-जसो भने पनि मानव प्रजातिको पोथी वर्गसँग सह-लिंग चाहिँ हुँदैन । हाइनासँग महिलाको तुलना कदाचित न्यायसंगत छैन । यसमा आपत्ति जनाउनै पर्दछ।’
‘महिला, सबैभन्दा लामो दु:ख हो । यसबारे यसप्रकारको छोटो र निम्छरो टिप्पणी । छ्या..छ्या..। छि: छि: ।’
‘यस्ता पनि के कवि ? सामन्तीवादी संकीर्णताबाट ग्रसित मान्छे । बरै..। कठै..। दु:ख लाग्यो । घिन लाग्यो ।’
‘समानता, स्वतन्त्रता र भ्रातृत्वका यिनका कविता । बस्, कोरा नारा । बरा । विचरा ।’
‘प्रेम विवाहको विरोधी । स्थायी श्रीमती प्रथाको प्रश्रयवादी । महिलालाई माल बताउने दलाल ।’
यावत..यावत ।..आदि..इत्यादि ।..

अन्तत : उनको किताबहरू जलाइएछ । उनको पुत्ला दोहन गरिएछ । उनका मूर्तिहरू तोडिएछ । उनको घरको झ्यालमा ढुंगा बर्साइएछ । उनलाई माफी माग्न बाध्य तुल्याइएछ । उनले माफी मागेछन् पनि। र, माफी दिइएछ पनि । तर यत्तिमै कुरो रोकिएनछ । कुराको चुरा त अब बज्दछ- ‘छन्..छन्..। छन्..छन्..।’

यसपछि उनको रथारोहण गरिइएछ । नगर-परिक्रमा उत्सव रचिएछ । उनीद्वारा पानसमा बत्ति बलाइएछ । रिबन कटाइएछ । दोसल्ला लगाइएछ । उनको वक्तव्यलाई साहित्य-अनुरागीकोहरूको सर्वोच्च अदालतले पुन:व्याख्या गरिदिएछ । ‘महान कवि’को पदभार र सत्ता सुम्पिएछ । गजब भएछ । दामी भएछ । उल्कै भएछ । बबाल भएछ।

अत: उनको मृत्युपश्चात उनको महान आत्माको भेट हाइनाहरूको झुण्डसँग भएछ । हाइनाहरूले उनलाई त्यसप्रकारको क्षुद्र टिप्पणी गरेको संगिन आरोपमा माफी दिएनछन् । उनले हाइनाहरूसँग आत्मारक्षाको भिख मागेछन् । भिख पाएनछन्। अन्तत: हाइनाहरूले उनको आत्माको सतित्व नष्ट पारिदिएछन् ।
यसप्रकार वैतरणी नदी किनारमा महान कविजीको आत्माको हाइनाहरूको सिउडो पेनिसद्वारा सत्तित्व नष्ट भएछ।

३.
लक्करे बाघ, भेडे बाघ, हड्डी बाघ, हाउसे बाघ लगायत अनेकन छद्मनामधारी हाइना प्रजातिले यसप्रकार इतिहासमा गुण ल्याएको कथ्यलाई मैले यहाँ सविस्तार चर्चा गरे । मानव जगतमाथि ठुलो ऋण-धनको मैले सविस्तार उल्लेख गरे ।

कथा सकिएको छ । महान कविजीको बारेमा तपाईंहरूले आ-आफ्ना तर्कहरू स्थापित गर्न सक्नुहुनेछ । उनको मूर्ति, शिलालेख, चित्र एवं कविता कोर्न सक्नुहुनेछ । आमचकारी गाली देखि विश्ष्टतम गाली लवजहरू पनि प्रयोग गर्न सक्नुहुनेछ । कविजीको मृत्युको खबर सुनेपश्चात छाती पिटीपिटी रुन, चिच्याउन एवं हाँस सक्नुहुनेछ । जसो गर्नुहोस्, जे गर्नुहोस्- आगे तपाईंको मर्जी ।
तर मेरा एक दुई कुरा छन् । ती म सकीहालूं । आगे तपाईंको मर्जी ।

यतिखेर मानव जगतका तथाकथित सहासिक मनुवाहरू उर्फ कविहरूको झुण्ड फेरी ‘महान कवि’ हुने होडमा निस्किएको देखिरहेको छु । अनेक किताबहरू निस्कीरहेका छन्, अनेक लेखकहरू जन्मीएका छन् । अनेक वक्तव्यहरू सार्वजनिक भएका छन् । तिनै वक्तव्यहरू पुरस्कृत पनि हुँदै आइरहेका छन् ।

र, यति नै खेर हाइनाहरूको खोजीखोजी हत्या गरिदै छ ।

कवि/लेखकहरू जंगलविहार गर्न निस्किए भने हाइनाको मासुको खान पल्किएका छन् । मिश्रित जंगल, खयर तथा सालको जंगल र घाँसे चौरमा हाइनाहरूको कंकाल भेटिने क्रम बढ्दो छ । लामपुछ्रे यस जीवको अस्तित्व दिनानुदिन धरापमा पर्दै गइरहेको छ । यसलाई लोपोन्मुख जीवको सूचीमा सूचिकृत गरिएको ‘महान कवि’हरूलाई कत्ति पनि मन परेको छैन । उनीहरूको चित्त कुंडीएको छ । मस्तिष्क बाउडीएको छ ।

‘हाइना मार्नुपर्छ, हाइना सिध्याउनुपर्दछ’ खालका प्रगतिशील कविताहरूले सामाजिक सन्जाल भरिभराउ छ । हाइनाको बदख्वाइ गरि लेखिएका पुस्तकहरूको ‘ठेलम-ठेलबीच पुस्तकालयहरू जिल खाइरहेका छन् । किताब प्रदर्शनी र काव्य प्रस्तुतिहरू यी-यस्तै प्रवचनद्वारा झकीझकाउ छन् । मिडिया कविहरूको सपोर्टमा छ । यसो भन्नु गजब हुनेछ, कविहरू नै मिडियामा छन् । मिडिया नै कवितामय छ ।

यो माहोलमा, यो मौसममा म लेख्न बसेको छु । र, म लेखिरहेको छु । लेख्दा-लेख्दै दिक्क लागेको छ । लेख्न फिटिक्कै मन लागिरहेको छैन । र, लेख्न फिटिक्कै मन नलागिरहेको मुडलाई पिटिक्कै भाँचेर किबोर्डमा फिटिक..फिटिक..पिटीक..पिटीक..औंला दौडाइरहेको छु । ..लेखिरहेछु ।

यतिबेला हाइना शिकारमा लागिरहेका शिकारीहरू उर्फ कविहरूको बारेमा किन्चित सोच्न मन छैन । पर्यावरणको रक्षामा अहम भूमिका खेल्ने हाइनाहरूको बारे सोचीरहेको छु । एकादेशका ती ‘महान कवि’बारे सोचीरहेको छु । र, यसपछि लेख्न नसकेकोमा सोचीरहेको छु ।

ति ‘महान कवि’ त आफ्ना समयमा एक्ला थिए । तर यी ‘महान कवि’ त एक्ला पनि छैनन् । झुण्डमा छन् ।
झुण्डमा हाइनाहरू हुन्छन् । हाइनाहरू स्वभावत झुण्डमा शिकार गर्छन् ।
‘महान कवि’हरू पनि झुण्डमा छन् । झुण्डमा शिकार गर्दैछन् ।

हाइनाहरू समाजिक जीव होइनन् । ‘महान कवि’हरू जंगली जीव हुन् ?
हाइनाहरू पाल्तु जीव होइनन् । ‘महान कवि’हरू फाल्तु जीव हुन् ?

हाइनाहरू मरेको जीवको सिनो खाने गर्छन् । कविहरूको कसको खाँदै छन् ?

– प्रश्नहरू उब्जिरहेछन् । उत्तरहरू छैन ।
अस्तु !

लेखक परिचय

राजु झल्लु प्रसाद

राजु झल्लु प्रसाद

धादिङका राजु झल्लु प्रसाद कविता, कथा, मनोविश्लेषणात्मक लेख साथै अखबारीय लेखनमा पनि सक्रिय छन् । अनलाइन पत्रिका न्युजकास्ट नेपालमा कलासाहित्य विधाका प्रमुख रहेर काम गरिरहेका झल्लु प्रसाद त्रि-चन्द्र कलेजमा बिएससी अध्ययन समेत गर्दैछन् ।

(शब्दसोपानमा  असार ३१, २०७८ मा प्रकाशित)

Leave a Reply