साहित्य जीवन सम्प्रेषणको कमजोर माध्यम हो

You are currently viewing साहित्य जीवन सम्प्रेषणको कमजोर माध्यम हो

नयाँ लेखकहरूका कारण शब्दहरूले पुरानो अर्थ गुमाइरहेका छन् । उसो त पुराना लेखकहरूले ती शब्दहरूलाई नयाँ अर्थ दिएका पनि हुन् । शब्दहरूको अर्थ यसरी बदलिरहँदा समय सापेक्ष वाक्य, अनुच्छेद र सम्पूर्ण पुस्ताकालय बेअर्थी, अनेकार्थी या अस्तित्वनिहित वा अस्तित्वहीन बनिरहेका छन् । 

पसिनाले मुख चुठिरहेका मेरा बुबाममी न्याप्किन पेपर र रुमालको अर्थ अर्थोक नै केही बताउनुहुन्छ । न्याप्किन पेपरको अर्थ मेरा  लागि उसको ओठले लेखेको प्रेमपत्र मान्न म सक्छु । 

फेरि उसो त पसिनाको अर्थ पनि बेग्लाबेग्लै छ हामीबिच । चनौटे पाटोको कोदो कति भयो रु २ मुरि भएछ यसपाली । यो उहाँहरूको पसिना हो । यो ४ महिने जागिरमा मैले फुर्सद निकालेर आज केही लेख्न बसेको छु/लेखिरहेको छु । यो पसिना हो मेरो लागि । 

पैतालाले टेकिरहेको नाथे धुलो, आखाँमा पस्न सक्छ, आँसु बन्न सक्छ ।  धुलो यति सजिलैरयति छोटो समयमा आँसु बन्न सक्ने कुरा मेरो बहिनी स्वीकार्दिन । उसलाई आसुँको मतलब उसले खाइरहेकी स्न्याकर्स मैले चोरीदिनुपर्छ या त उसले हेरिरहेकी कुमकुम भाग्य बन्द गरेर म तारक मेहताको उल्टा चस्मा हेर्न बस्नुपर्छ ।

आमाको काखमा सुतिरहँदा मलाई काठमाडौँँको एक्लो जीवन र दुर्गन्धित कोठा बारबार याद आइरहन्छ । उता सिक्किम बसिरहेको मेरो भाइ आमाको काख सम्झिएर रुँदो हो । आमाको काखभन्दा राष्ट्रियता प्यारो हुन्छ भन्दै जङ्गल छिरेका मेरा तल्लाघरे दाइलाई पनि म यतिखेर सम्झिरहेछु । यी तिनै वाक्यले हामी तिनको देशप्रेम, घरप्रेम र हाम्रो जीवनप्रतिको मोह अर्थ्याउँदो हो । 

उस्तै गरी ५ वर्ष देखि जापान बसीरहेको मेरो दाइ आजसम्म घर फर्कने मनासयमा छैनन् । उनको अनुसार राष्ट्रियता सम्पत्ति भन्दा ठूलो होइन । ५ वर्षअघि जङ्गल छिरेर मारिएका ती दाइको यो कान्छो भाइ हो । कान्छो भाइ दाइले सिकाएको राष्ट्रियताको अर्थ मान्न तयार छैन ।

यो राष्ट्रले बनाइदिएको अन्धोपन आत्मसात गरी जीवन गुजारा गरिरहेका काठमाडौँ मल अगाडि गीत गाउने दाइ (मलाई नाम थाह छैन) आफ्नो आखाँले यो राष्ट्र फेरि हेर्न चाहन्छन् । उनको लागि राष्ट्रियता अर्थ आखाँको नानी हुन सक्छ । 

धानखेत छिरेर उधुम मच्चाइरहेको त्रिशुलीलाई गाली गर्नेहरू र किनारा फैलाइरहेको ध्वाङखोला देखेर रमाउनेहरू दुवैको बेग्लै अर्थ छ बाढीलाई लिएर । तर किनारा फैलाइरहेको ध्वाङखोलो पनि उता त्रिशुलीमा मिसिएर धान खेत छिरेको हो भनेर मान्न कोहि पनि तयार छैनौं । यहाँ नेर बाढी अर्थ बेअर्थी होइदिन्छ । 

मैले चिनेको एकजना मेरि फूपू पर्ने ३५ वर्षको भैइन, उनको बिहे हुन सकेन । (कारण यो उल्लेख गर्नु आवश्यक छैन ।)  र, मेरै गाउँको भाउजू पनि ३५ वर्षकी छिन् । तर उनको सिँउदोमा विगत दुई वर्षदेखि सिउँदो छैन् । यी दुवै एकअर्कालाई नजिकबाट चिन्दछन् । यति नजिक छन कि उनीहरू एकर्कालाई मनै देखि मन पराउदैनन् ।  दुवैसँग आ-आफ्नो सिउँदो र सिन्दुरलाई लिएर एकएकवटा अर्थ छ । र एकअर्काको सिउँदो र सिन्दुरलाई लिगेर अनेकौँ अर्थ छन् । दुवैको अस्तित्व एकअर्कालाई स्वीकार्नु इन्कार गर्छ । दुवै एकअर्कालाई बहुतै धेरै सौभाग्यशाली र भाग्यविहिन मान्दै आइरहेका छन् । 

म कीर्तिपुर बस्दाताका पाङ्गा दोबाटोनेरको एक किनारा पसलमा पिँजडा भित्र हरियो सुगा होइरहन्थ्यो । त्यसको अवस्था के छ यतिखेर म जान्दिन । मैले कहिल्यै पनि त्यो सुगालाई पिँजडामुक्त गरिदिन चाहिन । कारण यस्तो थियो, एकदिन म असनतिर बरालिरहेको थिएँ । असनको घाम नछिर्ने गल्लीमा छिरेर त्यो ताका थोरबहुत म नेवास् ऐला पिँउथे । पिइसकेर मात्तिँदै हिँडिरहँदा कताकताबाट म आकाश हेर्न पुगेछु । आकाशमा एक हुल चराहरू उडिरहथे । आवाज निकालेर सक्दो हल्ला गर्दै उडेका ती चराहरूलाई देखेर देख्नेहरूले त केके सोछे कुन्नी, तर मेरो मुखबाट जम्माजम्मी दुई शब्द निस्कियो । ‘चराहरू…..बराहरू ।’

मलाई लाग्यो यी चराहरू यत्रो आकाशदेखि तर्सिएका छन् । आकाशको फैलावटले यिनीहरू निस्साएका छन् । मलाई जस्तै यी चराहरूलाई पनि आकाशको निस्सारताले दिक्क बनाएछ । फैलदो आकाश आखिरीमा पराजय न हो । मलाई त्यो दिनदेखि आकाश एक विशाल पिँजडा लाग्छ ।

ए म कुरा गरिरहथे, त्यो पिँजडाको सुगाको । त्यसलाई म किन्न सक्थे र यो आकाशमा उडाइदिन सक्थे । तर मलाई लाग्यो आकाश भन्दा त्यो पिँजडा नै बेश छ । कमसेकम उसलाई ऊ पिँजडामा कैद छु भन्ने त थाहा छ । 

शब्दहरू अरु पनि छन् । जसलाई म आफ्नो विचार, सोच र अतीतसँग गाँसेर लेखिरहन सक्छु । तर मैले लेख्न खोजेको यी विभिन्न उदाहरणहरू मात्रै होइन । 

भुसुनोलाई बम पड्काएर मार्नु,
बारुदको सुरुङभित्र गुलाफ फक्रिनु,
ईश्वरको मृत्युमा नास्तिकहरू किरिया बस्नु,
गहिरो इनारमा इनार जस्तै गहिरो लाग्नु- यो उच्च आकाश ।।
आफ्नो छायालाई कोट्टाउँदै बसिरहेछु म- वर्षौदेखि,

मैले मेरो  विभिन्न कविता, मनोवाद, केख, कथाहरूमा प्रयोग गरेका शब्द, वाक्य या बिम्ब हुन यी । जुन यतिखेर मलाई अलिक अडमिल्दो, नसुहाउँदो लागिरहेछ । 

म ती सब कथा, कविता, मनोवाद र लेखहरूलाइ आज आएर सच्चाउन सक्दिन । कारण मैले यो हिजो लेखेको हुँ, जुन बेला मसँग तिनको अर्थ त्यस्तै थियो । अहिले भिन्न अर्थ छ रे भन्दैमा म तिनलाई सच्चाइरहन सक्दिन । यसो गर्ने हो भने तीनको अस्तित्व म निमेट पारिरहेको हुन्छु । 

र, आज लेखिरहेको यो लेख भोलि सच्चाउन बस्ने वाला पनि म छैन । कारण यदि सच्चाउन पर्ने छ भने यसलाई मैले आज नै सच्चाउन पर्छ । भूत र भविष्य मसँग थिए/होलान पनि , तर मसँग रहे नै कहाँ र ? छ नै कहाँ र ?

आफ्नै सम्पादनमा जीवन चलाइरहेछु म । थोरबहुत लेख्न सक्नुको फाइदा (घाटा पनि हो),  मैले बिगारेको दाइमात्रा, बाइ मात्रा- मेरा गल्तीहरू हुन । म तिनलाई सुधार्दै भने गइरहेछु । तर यो सुधारले मेरो जीवन अब्बल लेख या रचना नहुनेमा म ढुक्क छु । आफूलाई पोख्न पाउछु, लेखेर । यसैले लेख्दो रहेछु । तर आफूलाई भर्न म लेखेर मात्रै सकिरहेको छैन । (हुनसक्छ सुरुङ जस्तो सानो/अप्ठ्यारो सोच हो यो- मेरो)

लेख्नु फर्केर हेर्नू हो । लेख्नु अलि अगाडिको कुरा सोच्नु पनि हो । तर ठ्याक्कै यतिखेर (टस्छछ साँझ)को कुरा लेख्छु भनेर लागिरहँदा म पछि पर्दो रहेछ (टस्छट भैसकेछ) ।  लेख्छु भनेको समय लेख्दालेख्दै फुत्कदो रहेछ । 

यसैले पनि मलाई लाग्छ, जिन्दगी या जीवन (पर्यावाची शब्द म मान्दिन) सम्प्रेषणको लागि साहित्य साँच्चै नै कमजोर माध्यम हो । बलियो माध्यम के हो म जान्दिन ।

२०१७, रानीवन

द मार्जिनमा पुस ३, २०७८ शनिबार गते प्रकाशित

https://themargin.com.np/literature-and-creation/3770/

Leave a Reply