डेविड हर्बेर्ट लरेन्स उर्फ डी. एच. लरेन्सकाे (११ सेप्टेम्बर १८८५– २ मार्च १९३०) प्रसिद्ध कवि तथा आख्यानकार हुन् । अङ्ग्रेजीमा रहेकाे उनको कविता ‘देयर इज नो गड’को नेपाली अनुवाद कवि राजु झल्लु प्रसादले गरेका हुन् ।
देवता कहीँ छैन त
तिम्लाई देखाऊँ कहाँ ?
सुनसान छ पूरै आकाश
धुवाँमा कहाँ कहाँ रुमल्लिऊँ ?
यसैले भन्दैछु,
जहाँ पनि मिल्छ खुसी, समेट !
मनले चाहन्छ भने
टेनिस खेल या कारमा बसेर घुम्न निस्क
पार्कको वरिपरि चक्कर मार वा बजारको !
मित्रहरूसँग गफ लडाऊ,
सिगरेट पिऊ !
तिमी जसरी खुसी हुन्छौ, त्यसरी नै खुसी होऊ
मस्ती गर, मस्तीमा रमाऊ
आफ्ना औँलाहरूमा पहेँला–पहेँला दाग बस्न देऊ !
यहाँ देवता कहीँ छैन, तिम्रो मनले चाहेको गर !
फूलमा सुत या रक्सीको सिसामा डुबेर मर !
तर, मलाई एक्लो छोड
म एक्लो नै रहुँला !
र, कुराकानी जो मेरी हृदयसँग हुन्छ,
ती म बताउने छु !
सोच, यो कोठामा को छ
जसको कारण हावा चिसो छ,
वरिपरि छाएको शान्ति मौन छ ?
को यो जादु देखाइरहेछ ?
अकारण, मेरो मनमा आनन्द भरिरहेछ ?
को हो, जो सुस्तरी मेरो आत्मालाई छोइरहेछ ?
कसको औँलाबाट अमृत यो चुहिरहेछ ?
दिलको धड्कनलाई यो को थुमथुमाइरहेछ ?
अमृतको लहर समान हृदयमा को जाने–आउने गरिरहेछ ?
को हो, जो विछ्छाएको च्यादरलाई यति मुलायम बनाइरहेछ ?
त्यो शीतल, मुलायम समुन्द्रको समान बनाइरहेछ,
जसको किनारमा,
जब रात हुन्छ माछाहरू सपना देख्दै निदाइरहेका हुन्छन्
को हो, जो मेरो थाकेको पिडुला बिस्तारै–बिस्तारै मिचिरहेको छ,
यतिबेरसम्म कि थकान मेटियोस्,
प्राण जस्तो कि सञ्जिवनीले भरियोस्,
अमृतमा भिजेको यो कसको काख हो ?
पैतालामा पनि कमलको फूल फुलेको छ ?
र, यो विश्वास गर
यहाँ न कोही स्त्री छ, न पुरुष छ,
म एक्लो छु !
एक्लोपनको आभा
जसै–जसै गहिरो हुँदै जान्छ
मलाई ती देवताहरूको साथ निन्द्रा आउँछ,
जो मान त छ, नमान त छैन,
अहिले यहि छ, अहिले कहीँ अन्तै छ !
भगवान् सरोवर हो, तलाउ हो, समुन्द्र हो !
डुब्न चाहन्छौ जहाँ खोज, त्यहाँ पानी छ !
चाहन्नौँ, जहाँतहीँ सपनाको कहानी छ !