घाम पानी घाम पानी स्यालको बिहे

You are currently viewing घाम पानी घाम पानी स्यालको बिहे

दिउँसोको समय छ। घाम र बादलबीच ठट्यौली चलीरहेको छ। कहिले बादल बर्सीदिन्छ, कहिले घाम चर्कीदिन्छ। असार-साउनको महिना छ। भदौरेहरू देखिन थालेका छन्, र ती रमाइरहेका छन्।

दिउँसोको समय छ। घाम र बादलबीच ठट्यौली चलीरहेको छ। कहिले बादल बर्सीदिन्छ, कहिले घाम चर्कीदिन्छ।  असार-साउनको महिना छ। भदौरेहरू देखिन थालेका छन्, र ती रमाइरहेका छन्। जमिनमा एकप्रकारको न्यायो चिस्यान छ। मलाई यस्तो दिनहरू खुब मन पर्छ। यस्ता दिनहरूमा देखिने इन्द्रेणीहरूले मेरो हृदयमा सदैव वास माग्छन्। म आफूलाई आफ्नै हृदयको बलेसीमा उभ्याएर इन्द्रेणी आफ्नो हृदयको दैलोभित्र छिराउँछु।  

जसै इन्द्रेणीहरूले मेरो हृदय वास पाएँ, मैले दिएँ।  उनीहरू एक-अर्कासँग गफ्फिन थालेँ। म सुनी रहेँ। उनीहरू एउटा लोककथनको चर्चा गरिरहेका थिए- ‘घामपानीबारे, स्यालको बिहे।’ म चुपचाप धड्कन सुनीरहेँ, कथा सुनिरहेँ। ‘धड्क..धड्क..’कथा अघि बढ्दै गयो। 

***

“घाम र पानी बडो असल साथी थिए। तर उनीहरूको भेट आक्कलझुक्कल मात्रै हुने गर्थ्यो। एउटा समान्तर दूरीमा रही उनीहरूको एक-अर्काको सन्चो-सुविस्ता सोध्ने गर्थे, एकअर्काको हृदयका तरंगहरूलाई सुम्सुमाउने गर्दथे। एकअर्काबीच उनीहरूको पारिवारिक कुराहरू चल्थ्यो, समसमायीक घटनाक्रमबारे टिकाटिप्पणी हुन्थ्यो।  

घाम : मित्र पानी ज्यू, हजुरसँग त बादल, चट्याङ, हावाहुरी लगायतको बाक्लो साथी सर्कल छ।  म त सधैँ एक्लो। कहिलेकसो हावाहुरीसँग एकछिन चिया खान भ्याउछु, कहिलेकसो हजुरको सहहृदयताले इन्द्रेणीसँग ‘क्यान्डेल डे डिनर’ गर्ने मौका जुर्छ। नत्र सदैव आफ्नै तापको रापमा तप..तप..तप्कीरहन्छु।   

पानी : मित्र घाम ज्यू, तपाईं पनि! चट्याङ, बादल, हावाहुरी सबै म नै हूँ। उहाँहरूलाई पराइ नसम्झिनुहोला। होला, हामीबीच तात्विक फरक देखिएला तर एकापासको भेटघाट र वार्तालापबिना हामी हामी हुन् सक्देनौं।  मुख्यत: तपाईंबिना हामी हामी हुन नै सक्देनौं। तपाईंकै कारण हामी समुन्द्रदेखि आकाशसम्म उडान भर्छौँ। तपाईं हामीसँग सदैव हुनुहुन्छ। बिन्ति छ मेरो, आफूलाई एक्लो-एक्लो, उदास-उदास अन्दाज-ए-बयाँमा नराख्नुस। बुझ्नुहुन्छ, यस्तो कुरा गरेर तपाईं हाम्रो मन कटक्क पार्दै हुनुहुन्छ। 

घाम : माफ पाउँ मित्र माफ पाऊ। जीवनप्रक्रियाबाट गुज्रीरहँदा उदासीको दासी बानिदो रहेछ। आज त्यस्तै भयो।  

पानी : स्याबास मित्र घाम ज्यू। तपाईंको रवाफिलो चिन्तनले मलाई द्रवीभूत बनायो। के अरे, तपाईंको उमेर पनि पुगनपुग साढे चार खरब (४.५ खरब) वर्ष पुग्यो।  अब त उदासी छाउने बेला भयो नै। 

घाम : हेहे,..मित्र।  तपाईं र मेरो त रगतको नाता छ नि।  जुम्लाहा पो हौँ त हामी। तपाईं ठण्डा दिमागको हुनुहुन्छ र आफूलाई काबूमा राख्नुहुन्छ।  म अलि गरम दिमागको भएँ, कहिलेकसो अत्तालीन्छु।  

पानी : फेरी पनि मित्र, तपाईं गरम हुनुहुन्छ भनेर नै त म नरम हुने गर्छु। तपाईं नरम होइदिनुभयो भने मेरो अस्तित्व नै कहाँ रहन्छ र? मेरो अस्तित्व रहेन भने तपाईंको अस्तित्व पनि रहदैन।  हामीलाई आ-आफ्नो नियती स्विकार्नुको अर्को विकल्प नै छैन।  

घाम : तर पनि मित्र, कहिलेकाही मलाई लाग्ने गर्दछ, यहि एक जमिनलाई जीवन्तता दिलाउन तपाईं र म कति मरीमेटीरहेका छौं। तपाईं नै तपाईं हुँदा पनि पन्याइलो वस्तु हुनेछ।  म मात्रै हुँदा पनि यो एक वाष्पकृत नृत्यमग्न धुवाँ हुनेछ।  

पानी : पक्कै मित्र, जमिन तपाईं र मलाई जोड्ने सेतु पनि हो। तपाइँ यसलाई अँगालो हाल्नुहुन्छ। म पनि यसलाई बाहुपासमा बेर्छु। कहिलेकसो लाग्ने गर्छ, सँगसँगै यस जमिनलाई अँगालो हालौँ। 

घाम : तपाईंलाई त्यसो गर्न मन लागिरहेको हो मित्र पानी ज्यु? के भयो त, आउनुहोस् एकैफेरी यस जमिनलाई माया गरौँ। तर त्यसपहिले एउटा सर्त छ। मित्र, हामीले आ-आफ्नो तेज अलि कम गर्नुपर्छ।  हामी एकसाथ एकअर्कालाई छुन र भेट्न सक्देनौँ। त्यसो गरेको खण्डमा हामी दुवैको इहलिला समाप्त हुन्छ।  

पानी : पक्कै मित्र घाम ज्यू, म केहि बादलहरू ल्याएर तपाईंसामू राखीदिन्छु। तपाईं बादलमुनी लुगलुग कामिरहको हावालाई अलिकति गतिशिलता प्रदान गर्नुहोस्।  

घाम : लौ त्यसो गरौँ मित्र।  आज जमिनलाई एकसाथ् अँगालोमा बेरौँ।  जमिन दुवै गालामा एक-एक चुम्बनको डोब छाडौं।  

पानी : लौ मित्र त्यसै गरौँ।  

घाम:  लौ त मित्र।” 

***

इन्द्रेणीहरू घाम र पानीका यहि चुम्बनका डोबहरू पो रहेछन्। यसैले यति सुकुमार र रङले भरिएका।..यति सुगठित देखिएका।.. उनीहरू एक्कासी कविता गुनगुनाउ थाले।  म कवितामै हराएँ।       

“घाम पानी घाम पानी स्यालको बिहे
कुकुर जन्ती बिरालो बाहुन”

युद्धप्रसाद मिश्रको कविताले सारा लोक गुन्जायमान भइरहेछ। जमिनका हरेक प्राणी यहि कविता गुनगुनाइरहेका छन्।  

“झिलिमिली झिलिमीली बिजुली चम्क्यो
बादल गर्ज्यो अन्धाधुन
डोले भरिया कहाँ हुन्, कहाँ हुन्,
घाम पानी घाम पानी, स्यालको बिहे
कुकुर जन्ती बिरालो बाहुन।

आँधी आयो, असिना आयो
जन्ती बस्ने घरै उडायो
स्यालको बिहे भाङ् भाङ् भुङ् भूङ्
आज असार भोली साउन
घाम पानी घाम पानी स्यालको बिहे
कुकुर जन्ती बिरालो बाहुन। ”

***

यसप्रकार त्यस दिनको दिउँसो बित्यो। जसलाई लिपिबद्ध गर्न खोज्दा मनमा फेरी इन्द्रेणी देखियो।  मेरो हृदयदेखि उठेको इन्द्रेणी तपाईंको हृदयसम्म पुग्यो। 

TSCBN मा May 21, 2021 मा प्रकाशित

Leave a Reply