कथा : चिप्लेकिरा, मेलम्ची र झिँगा

You are currently viewing कथा : चिप्लेकिरा, मेलम्ची र झिँगा

रातको ११ बजिरहेको छ।

झरी झुपुझुपू झुलिरहेको छ। जमिन लुपुलुपु लोलाइरहेको छ। म टुलुटुलु टोलाइरहेको छु।

लुपुक्क..लुपुक्क, झुपुक्क..झुपुक्क..। क्या काइदा, क्या मज्जा।

लुछुप्प..लुछुप्प.., छर्लप्प..छर्लप्प..,छ्प्याङ्ग..छ्प्याङ्ग,..छुप्लुङ्ग..छुप्लुङ्ग.. । क्या मज्जा। क्या काइदा।

सम्भवतः यति मनोरम झरी कहिल्यै पनि कहीँ परेको छैन भन्ने मेरो अड्कलबाजी छ।  अड्कल अक्कलमन्द कुरा होइन भन्ने चाहिँ मेरो व्यक्तिगत भोगाइको निर्क्योल रही आएको छ। खैर, झुपूझुपू झरिरहेको झरीमा लुपुलुपु हुँदै, टुलुटुलु रहँदै झुलिरहनुको, लोलाइरहनुको, टोलाइरहनु मजै बेग्लै छ। आनन्दै बेग्लै छ। यस किसिमको मुसलधारे जलपुष्पसँग झ्याम्मिनु, लुटुपुटु, पुलपुलिनु मेरो लागि खुसीको कुरा हो। यस क्रियात्मकतामा सरिक होइजाँदा बेपता भई जान नसकेका लोपोन्मुख एवं अपहरित आफ्नै छिरीङमिरिङ उर्फ छिर्के-मिर्के मनोदशाबाट कसोकसो फुकाफाल भएजस्तो, फुत्किए/दाम्लो छिनाए जस्तो महसुस गर्दछु। फक्कडदास भएजस्तो, हरिटट्टु भएजस्तो, हबुल्लो भएजस्तो, लठ्यौरो भएजस्तो। विछटटको स्थिति! मनचिन्ते मनस्थिति!

फलाकाङ्क्षा एक रत्ती नहुँदा मन कति शान्त हुँदो रहेछ, मस्तिष्क कति स्थिर हुँदो रहेछ । वस्तुतः यतिखेर म यही अनुभव गरिरहेछु।

यतिखेर खुसीको कुनै राजमार्ग नै छैन। आनन्दको कुनै गोरेटाहरू नै छैनन् । खुट्टा पखेटा भएका छन् र, उडिरहेका छन्। बादल माथिमथि..कुहिरो माथिमाथि। अब त मैले चन्द्रलाई चुमुँला। अब त म पृथ्वीको गुरुत्वदेखि फुत्किगएँ। अब त म चन्द्रमाको गुरुत्वले खिचिइगएँ।

उसो त, पखेटाहरूलाई राजमार्ग चाहिँदैन, गोरेटाहरू चाहिँदैन। पखेटाहरू गल्लीहरूमा लर्खराउदैनन्। पखेटाहरू यसकारण भुँइमा भेटिँदैनन्। भुँइमा त प्वाँख मात्रै भेटिन्छ । एउटा..दुइटा.., फ्याट्ट..फुट्ट .. ।

गोरेटाहरूमा-गल्लीहरूमा-बाटोहरूमा-दोबाटोहरूमा-चौरहरूमा-जङ्गलहरूमा-पोखरीहरूमा प्वाँखहरू भेटिन्छन्, पखेटा होइनन्। पखेटा त उड्ने गर्छ, आकाश ताकिरहने गर्दछ।  भुइँमा आइपुगेका पखेटा होइनन्, प्वाँख हुन्। प्वाँखहरू गल्लीहरूमा हल्लिरहन्छन्।  प्वाँखहरू  भुँइमा लर्बरिरहन्छन् ।  प्वाँख र पखेटा जोइपोइ होइनन्, यद्यपि यिनीहरूबिच वर्गीयता छ, असमानता छ, सोपानतन्त्र छ।

संरचनात्मक लाभांशका मारा..यी..बिचरा..बबुरा!
कठै..छुक..छुक… !
बरा..बिचरा ..!
बरा .. बबुरा… !

यतिखेर बार्दलीबाट खुट्टा बाहिर निकालेर दुवै पैताला झरीलाई सुम्पिएको छु। झरी चिप्लेकिरा भएको छ।  बिस्तारै..बिस्तारै..सनै..सनै..चिप्लेकिराहरू मेरो कुर्कुच्चा मिच्दै छन्, चाट्दै छन्, म्वाइँ खादै छन्, दबाउँदै छन्, कोतार्दै छन्, चिथोर्दै छन्, टोक्दै छन् । जे गरोस्, चिप्लेकिराको चिप्लो-चिल्लो, डल्लो-लाम्चो, शरीरले मलाई सुम्सुमाउदै छ, मुसार्दै छ।  पैतालामा बग्रल्ल..वासरल्ल काउकुती लागेको छ। छताछुल्ल काउकुती लागेको छ। हृदय खित्का छाडी छाडी हाँसिरहेको छ।

दाँतहरूका बिच जिब्रो फसेको छ, ..खिती..खिती.ति..खितिति..खितिति… ।
एक मनमोहक आवाज आइरहेको छ।  मन्द मन्द मुस्कान छाइरहेछ।
.. आइरहेछ। छाइरहेछ।
…खिती..खिती.ति..खितिति..खितिति… ।

त, चिप्लेकिरा मेरो पैतालामा खस्दै छ । चिप्लेकिरा सलबलाउँदा छन्। गुडल्किदा छन्।  गोल गाँठाहरूको दुखाइ कम भएको छ।  आकाशदेखि खसेका चिप्लेकिराहरू हाडजोर्नी दुखाइको अचुक ओखतीमुलो साबित भएको छ, प्रमाणित भएको छ, सिद्ध भएको छ।

झरीलाई (चिप्लेकिरालाई) पैताला चाट्न दिएर सुखानुभूति गर्नु चरम उत्कर्षको क्षण हो, विलक्षण उत्क्रान्ति (फड्को) हो, उत्क्रोश (गर्जन) हो, उत्कर्षक घडा-नक्षत्र-समय-पला हो।

भनिहालेँ, यो लेबलको खुसी आजसम्म मेरो थाप्लोमा बज्रिन आइपुगेकै थिएन। यो कदकाँठीको प्रफुल्लताको पालकी मैले हालसम्म ओढेकै थिइनँ । म त पाकेको आँप जस्तो थलथल भएको छु, भरिएको गाग्रीजस्तो डमडम्ती भएको छु।

उसो त, बर्सिरहेका चिप्लेकिराहरू (झरीका बाछिटा)का ओठ निकै कलात्मक हुने गर्दछ। हजारौँ जिब्रा हुन्छन्। चिप्लेकिरा शेषनाग हुन्छन्। यो कुरा छत र छाताले मात्रै होइन मान्छेका थाप्लो-पाखुरा-पैतालाले पनि बुझ्नुपर्दछ, सम्झनुपर्दछ।

झरीसँग तर्किनुहुँदैन, झरीसँग झर्किनुहुँदैन, झरीसँग फन्कनु हुँदैन। झरी चियामा डुबेको बिस्कुटजस्तो मुलायम कुरा हो, टपक्क टिपेर खाइहाल्नुपर्छ, औँलो चाटिहाल्नुपर्छ। झरीसँग दोस्ती गर्नुपर्छ, झरीसँग दोस्ताना बढाउनुपर्छ।

चिप्लेकिराहरूका हजारौँ ओठहरूलाई बुझ्नुपर्छ। चिप्लेकिराका ओठहरूलाई स्पर्श गर्नुपर्छ, मुसार्नु पर्छ। चिप्लेकिराको ओठसँग आफ्नो ओठ जोड्नुपर्छ। एक टङ किस मार्नुपर्छ..मारिरहनुपर्छ। अँगालोमा बेर्नुपर्छ,  बेह्रिरहनुपर्छ।

अझ सकिन्छ भने, आफ्ना न्याना सुकिला टिसर्टभित्र चिसा-भिजेका चिप्लेकिरा (झरीका बाछिटा)हरूलाई समाहित गर्नुपर्दछ। आ-आफ्ना ताता वक्षस्थलहरूमा आश्रय दिनुपर्दछ।  ज्वरो, सर्दी-झुकाम सँग डराउनु हुँदैन। तब पो..कुरा बन्छ। तब पो बात बन्छ। तब पो ‘हाय रे तोबा, ये क्या हुवा..; हुन्छ। तब पो ‘जिन्दगी नमिलेगा दोबारा’ हुन्छ। ‘हम दिल दे चुके है सनम..’ हुन्छ।  ‘पुट योर हेड इन माई सोल्डर्स..’ हुन्छ। तब पो ‘ह्वाट अ वन्डरफुल वर्ल्ड..’ हुन्छ। ‘मन चङ्गा हुन्छ’, ‘माटै मधुवन..’ हुन्छ। ‘उड जायगा हंस एकेला..’हुन्छ।
यसपछि उज्ज्वल सागरले कहिल्यै सोध्ने छैनन्, ‘ तिमी खुसी त छौँ नि,.. सुन न।’

त, चिप्लेकिराहरूसँग ‘लम्बेतान म्वाइँ (लङ टङ किस)’ खाइसकेपछि उसलाई आफ्ना अङ्गप्रत्यङ्गमा घस्रिन दिनुपर्दछ । चिप्लेकिराका साना-मसिना खुट्टाहरू तिघ्रा हुँदै जाङसम्म आउन दिनुपर्दछ। जाङ हुँदै नाइटोसम्म आउन दिनुपर्दछ। नाइटोमा आइपुगेर केही बेर बौरिउन्, सुस्ताउन।

तिमी आफूलाई सम्हाल, नहाँस, लामो-लामो श्वास नतान (नखिच पनि)..बस्, मर्लान्त बनिजाऊ, मर्दिए नै हुन्छ,.. मर्देऊ।

चिप्लेकिराहरूले नाइटोमा टङ किस हानिरहँदा तिम्रो फोक्सो बेकाम्मे बनिसक्छ..बन्न देउ। बनिदेऊ। यसपछि चिप्लेकिराहरूलाई आफ्नो हृदयसम्म पुग्न देउ। हृदयको अन्तरकुन्तरमा उसले छापा डालोस्, रेड हालोस्..हाल्न देउ, दिइरह्यौँ।

अब ब्युँझ। अब उठ। अब जे गर, जसो गर। चाहे नित्सेसँग शून्यवादी डिनर गर्न जाऔँ। चाहे फ्रान्सिस्को गोयासँग डार्क चित्र सिक्न जाऊ। चाहे साल्भोडर डालीसँग समुन्द्रमा डुबुल्की मार्दै जुँगा ट्रेम गर्न जाऊ। चाहे हरिभक्तसँग तिनपाने हानेर तिरिरी हुन् जाऊ।   तिमीलाई कसैले बिगार्न सक्ने छैन। तिम्रो केही बिगार हुनेछैन। तिमी मस्त हुनेछौँ।  तिमी मदमस्त हुनेछौँ।  दिल्लागीबाज हुनेछौँ। फकिर हुनेछौँ। जोगी हुनेछौँ। बुद्ध हुनेछौँ। शिव हुनेछौँ। ..तिमी गुरिल्ला हुनेछौँ। तिमी पेङ्गुइन हुनेछौँ। हाँगाबिँगा उफ्रिनेछौँ। हिउँका डल्लाडल्लामा कम्मर भाँच्नेछौँ।

जे गर, जसो गर, जसरी गर।  तिमी हुनेछौँ।  तिमी..बस्,  तिमी हुनेछौँ।

***

२.

हत्तेरी.., झल्याँस्स पो भइगएँ।

यार.. म त झरीका बाछिटा (चिप्लेकिराहरू)को चुम्बन, आलिङ्गन र प्रेमालापले लुसुक्क लोलाएछु।आँखा होइन मन लोलाएछ मेरो। परेला होइन मस्तिष्क बन्द भएछ मेरो।

निदाएको होइन, लोलाएको। लोलाउनु भनेको अलिकति निदाएजस्तो, अलिकति झँकाएजस्तो हुनु हो। यस्तो हुनु भनेको  दामी हुनु हो, झकास हुनु हो। ..भर्खरै दामी भयो, भर्खरै झकास भयो। भर्खरै झल्याँस्स भएँ। भर्खरै क्या बात भयो। मिठो स्वप्न परीसँग समागम गरेर फर्किएर जस्तो मनोकारी भएछु। मनोहर भएछु। मनमती भएछु।

दायाँ-बायाँ हेर्छु, आकाशमा बादलहरू अलि कम भएछन्। चिप्लेकिरा बादलका काला-खैरा थुँगाहरूमै पुगिगएछन्। बस्, बलेँसीबाट मोटा-बाक्ला-लाम्चा-भद्दा प्वात्त प्वात्त गरेका आवाजहरूले मलाई हिर्काइदिएछन्। त्यो हिर्काइले मलाई वास्तविकताको छत्री ओढाइदिएछ। बिपनाको रेनकोट भिराइदिएछ। त्यसपछि म झल्यास भइगएछु। ..खैर,  जसो भइगएछ, अच्छा भइगएछ। जे भइगएछ, दामी भइगएछ।

बस्, अब एक कप तातो चिया घुट्काउन पाएँ क्या बात होइजाने थ्यो। बरु त्यतिन्जेल उज्ज्वल सागर गाइरहुन्,

सपना भरिएका आँखामाआँसु भरिन नदेऊ
उडेर छुने आकाशमा तिमीबादल छरिन नदेऊ। ’
….
जोखेर किन जिउँछौ जिन्दगी
दुई पल न हो,  तिमी रमाऊ, … ।’

उज्ज्वल सागर गाइरहेका थिएँ, म फेरी बार्दलीमा चिया कप लिएर निस्किएँ। चिया कप राख्न मात्रै भ्याएको थिएँ। पैतलामा उसैगरी फेरी बर्सिन थालेका चिप्लेकिराहरू खस्न थालेका थिएँ। म मुग्धित होइरहेको थिएँ। एक्कासि फोन बजिदियो।

***

३.

हत्तेरी..यो फोन। यार यो चर्को आवाज। यार कठोर आवाज। .. दिक्क लाग्यो। दिक्दारी छायो।

उठाएँ फोन । आवाज आयो।
सुने आवाज । निःशब्द भएँ ।

गयो फोन । गएँ म ।
छताछुल्ल भएँ म । रित्तिएँ म ।
..।  बिरक्तिएँ म ।

मेलम्ची बहुलाएछ । मेलम्ची खोलाले गति छाडेछ । बजार डुबेछ । सहरिया बस्तीमा पानी छिरेछ । घर गोठ..तैरिएछ । बस्तुभाउ बगेछन् । बालुवा र कालो लेदोले हाहाकार मच्चाएछ । बिचल्ली गरेछ । मानिसहरूलाई रातारात हेलम्बुतिर सारिएछ।

फोन सिजन (भाइ) को थियो। उसको गण मेलम्चीको उद्धारमा खटिएका रहेछन्। फोन उसको थियो। खबर उसले दियो। मन मेरो छट्पटायो। मस्तिष्क मेरो काँतर बन्यो। ..मलाई गाह्रो भयो। मलाई छटपटाहट भयो। बहुप्रतीक्षित मेलम्ची खानेपानी आयोजनाको मुहानस्थल अम्बाथानबाटै नदीको बहाव बढिरहेको खबर त केही बेरअघि मैले हालेको थिएँ, तर त्यसको केहीबेरमा नै यस्तो वितण्डा मच्चिएला सोचेको थिइनँ। आफू उद्धार कर्ममा खटिएको जानकारी दिएर उसले फोन राख्यो (राख्यो, या काटियो ?)।

भाइले बताएअनुसार एक हृष्टपुष्ट तरुनी बढ्दो पानीको भेलदेखि ज्यान जोगाउन लागिपरेकी थिई। तर. सकिन,.र पानीको भेलमै आफ्नो प्राण विसर्जन गरी।

म हठात् झरीले म्वाइँ खाइरहेका आफ्ना दुवै खुट्टाहरू भित्र तान्छु। र, एकतमासले झरिरहेको झरीलाई नियालिरहन्छु। नियालिरहन्छु.. । फोक्सोले आफ्नो काम भुल्दिन्छ। हृदयले आफ्नो कर्तव्य बिर्सिदिन्छ। मस्तिष्क पुरापुर डकुलन्ठु बनिदिन्छ। कसैले केही मेसो पाउँदिनन्।  भेउ पाउँदैनन्।

समय एकै कहाँ रहनु ? मलाई हताश प्यास लागेर आउँछ। तातो चिया पिउन खोज्छु सक्दिन।पानीको बोतल खोज्छु भेट्दिन। पर कतै कुकुर कराउँछ,..कराइराख्छ। भूउ..भूउ..भूउ.. । घाँटी छाम्छु, आवाज मेरै घाँटीबाट आइरहेको हुन्छ।

चिप्लेकिराहरू बर्सिरहेका छन्। म अनलाइन समाचारहरू स्क्रोल गर्न थाल्छु। त्यत्ति हल्ला हुनै भ्याएको छैन। माहौल सामसुम नै छ। तर मेरो छैन। ‘म मध्यरातमा कुकुर भुकिरहेछु…भूउ..भूउ..भूउ.. ।’

घरी घरी जिन्दगी घुँडामा लगाइएको प्लास्टर जस्तो बनिदिन्छ । नचलाउनु मिल्ने, नहिँड्नु मिल्ने। खुट्टा दोबार्नै नपाएपछि खुट्टाको के काम ? ठ्याक्कै जिन्दगी कहिलेकसो लडेर फुटेको घुँडा र त्यसमाथि लगाइएको सोही प्रकारको ब्यान्डेज जस्तै बनिदिन्छ।

भाइलाई फोन गरें, उसको फोन ‘आउट अफ रिच’ आयो। कसोकसो मलाई उसको वस्तुस्थिति जान्न मन भएर आयो।  कसोकसो पारिवारिक नातासम्बन्धको लालसामा फसेछु, मलाई भाइको फिक्री हुन् थाल्यो। हो, ऊ आर्मी हो- उसको यही काम हो। उसको यही कर्तव्य हो। उसले यो गर्नैपर्छ। गर्ला पनि। तर अन्धमुष्टि रातको समय छ। अँध्यारो अस्थिरपन्जरहरू छरिएका छन्। यतिबेला उसको फिक्री हुनु स्वाभाविक नै हो। उसँगसँगै मेलम्चीवासीको पिर-चिन्ताले लखेट्छ। तर..तर.., खोला अझ बढ्दै होला, खोला अझ हुनहुनाउँदै होला।..यो सोचले मात्रै पनि म फेरी कुकुर बन्छु..
सुनसान रातमा एक्लै भुकिरहन्छु…..भूउ..भूउ..भूउ.. ।

४.

यता चिया सेलाएछ। गिलास समाएँ। र, तनतनी पिइदिएँ। सकिनँ। मलाई चियापतिले कोक्कायो, मलाई चिनीले कोक्कायो।  मलाई चियाले कोक्कायो।

चिप्लेकिराहरू मेरो पैतालामा उसैगरि खसिरहेछन्, मैले पैतालालाई उसैगरि सुम्सुमाइरहेछन्।तर लागिरहेछ चिथोरिरहेछन्, टोकिरहेछन्,..। मलाई कोक्कायो। मलाई बर्सिरहेको बर्सातले कोक्कायो।  मलाई कोक्कायो..कोक्कायो।

एक्कासि तुरुक्कै भएँ। एक्कासि हुरुक्कै भएँ। ट्वाइलेट दौडिएँ। पिसाब  फेर्दा पनि अत्तालिएँ। यो पनि पानी नै हो। यसले जमिन खान्छ, यसले जमिन बगाउँछ। यो पनि बाढीको मुहान हो। ..सोच्नै नसक्ने, सोच्ने नमिल्ने काइते सवाल-जवाफको बाढीमा हेलिँदै गएँ म। गइरहेँ।  आफैभित्र पहिरो खसाइइरहेँ, आफै नदी बनिइरहेँ, आफै थुनिइरहेँ। आफै फुटिइरहेँ। आफै हुन्हुनाउदै बगिइरहेँ। आफै घर-गोठ र मानिस बढारिइरहें। म सनै..सनै..मेलम्ची खोलो बनिरहेँ..बगिरहेँ..बगाइरहेँ।

***

५.

पिसाब गरौँ कि नगरौंको दोधारमा धेरै बेर अल्झिएँ। अन्ततः : काम फत्ते गरिछाडे। मनमा एउटा किल्किलो रहिरह्यो। आफ्ना भिजेका पैतला, कपाल, शरीर,..सबै सबैसँग घिन लाग्यो।  म मध्यरातमा एक आलिसान घरको बार्दलीमा झरीलाई चिप्लेकिरा भनी शोभामण्डित गरी रमाइरहँदा, खिल्खिलाईरहँदा, सोही झरीले कसैले डसिसकेछ। सोही चिप्लेकिरा कसैको पैतलामा बिच्छी बनेर डसिसकेछ, डसिरहेछ ।

मलाई आफैसँग घिन लाग्यो, आफैसँग सरम लाग्यो।

थप एक गिलास पानी पिऊ जस्तो भयो। पिइदिएँ । अलिकति बच्यो, पुरै गिलास निल्न सकिनँ। बाँकी बचेको पानी बोकेर बरन्डामा निस्किएँ। त्यसलाई कुन्नि कता राखेँ। जे हो बरन्डाकै कुन भागमा राखे हुँला।

बाहिर हेर्छु त छ्याङ्ग भइसकेको छ। मिर्मिरे बिहान भइसकेको छ।आकाशमा छिटपुट घुरमैला बादलहरू देखिएका छन्। तुवाँलोहरू डाँडा चढ्दै छन्। एकछिन गोता खाएँ, म ट्वाइलेटमा कतिबेर बसे ? कति घण्टा ? कति वटा घण्टा ?…कति घण्टा ? कति वटा घण्टा ?

मोबाइल निकालेर हेर्छु। भाइको फोन सभा १२ आसपास आएको रहेछ। कमसेकम पौने एक आसपास म ट्वाइलेट छिरेको हुनुपर्छ। अहिले बिहानको ५ बजेको छ। करिब ४ घण्टा ट्वाइलेटमा मैले के गरे ? कतिचोटी पिसाब गरें ? गरें ?..गरें र ? कि गरिनँ ? ..आच्या..४/४ घटना ट्वाइलेट म किन थिएँ ? या कसैले घडी घुमाइदियो ? कसले घुमाइदियो ? मेरो नाडीको घडी घुमाउन को आयो ? आए पनि कतिखेर आयो ? म ट्वाइलेटमा हुँदा नै आयो कि ट्वाइलेटबाट निस्केपछि ? ..यो सब के भयो ?  हरे..यो के हुन् लागेको ? कसरी भयो ? ..यस्तो त नहुने पर्ने, भएछ। तर कसरी भयो ? यार..कोही जवाफ देओ न।

..गुहार..गुहार.. । मलाई यो के भयो।  ..गुहार..गुहार.. । मेरो प्रश्नको उत्तर कोहीसँग छ ? ..गुहार..गुहार..मेरो प्रश्नको उत्तर पनि छ ?…गुहार..गुहार.. । कोही छ, कोही छ, मलाई बचाऊ, मलाई बचाऊ। गुहार..गुहार.. मलाई मेरै प्रश्नहरू देखि बचाऊ..मलाई मेरै मस्तिष्क देखि बचाऊ। ए लौ न..गुहार..गुहार.. । मलाई बचाऊ..मलाई बचाऊ।

***

६.

..हेर्दाहेर्दै घाम लाग्यो। बलेनी त्वाप्प..त्वाप्प.. गर्न थाल्यो। एकैछिनमा त नाथे घाम पनि टुप्लुक्क देखियो। पर..परका घर र घरका छतहरू देखिन थाले। तर कतै कुनै मानव आकृतिको हलचल देखिएन, भेटिएन। यी सहरियाहरू कति सुतेका ? घाम थाप्लोमा बज्रिसक्दा पनि फ्वाँ..फ्वाँ गरिरहेछन्। कुम्भकर्णहरू।

निकैबेरसम्म टनटनी दुखिरहेको टाउको समाउँदै वल्लो-पल्लो घर नियालिरहेँ।  आफैँ बसेको घरधनीलाई आवाज दिएँ।  अह..केही भएन। टाउको अझ रन्थनियो। अझ टनटन गर्‍यो।विषमज्वार निस्केला जस्तो..सन्निपातले समात्ला जस्तो।..दिमागमा मानौँ खिचडी पाकिरहेछ। मस्तिष्क छड्किरहेछ।…मलाई मेलम्चीको डुबान र भाइको फोन भन्दा पनि आफू ४ घण्टा ट्वाइलेटमा बन्द भएको पीरले ङ्याक्यो, ङ्याकिरह्यो। दबार्यो, दबारिरह्यो।  चिथर्‍यो,..चिथोरिरह्यो। …

टाउको फुट्ला जस्तो भएको थियो। अबै फुट्यो, अहिल्यै फुट्यो जस्तो भएको थियो।  चिच्याउन पनि नसक्ने भएको थिएँ। थच्याक्क भुइँमा बसेको थिएँ। घाम एकाबिहानै प्रचण्डसँग लागेको थियो। घामले उस्तै हिर्काइरहेको थियो। एकाबिहानै यसरी घाम किन चर्क्यो, तार्किक प्रश्नहरूले अब आत्महत्या गरिसकेका थिएँ। मलाई अब कुनै प्रश्न थपेर मथिङ्गल खराब गराउनु थिएन। एउटा मात्र प्रश्न थपियो भने मेरो दिमाग प्याट्ट चुँड्छ। यति प्रश्न मेरो दिमागले थाम्न सक्दैन। माफ पाउँ।  म आफैँसँग माफी मागिरहेको थिएँ।  हाय.. ।

म भाइलाई फोन गरेर गाली गर्न चाहन्थेँ,- ‘तँ मुलाले राति हुँदो मलाई किन फोन गरिस् ? फोनमा किन बताइस् कि एउटा तरुनीलाई मैले (हामीले) बचाउनु सकेनौँ, उसलाई मेलम्चीले लिएर गयो।  कु-टाइममा फोन गर्ने ? त्यो तरुनी को थिई र मेरो ? के खान तैँले मलाई उसको मृत्युको खबर सुनाएको ?..यावत..यावत.. ।’ तर..यो सबको कुनै औचित्य थिएन। उसले सुनाइसकेको थियो। नहुनु भइसकेको थियो। बस्,,यसबाट छुटकारा पाउनु छ। एक-एक गरी प्रश्नहरूलाई उत्तरहरूको लगनगाँठोमा बाँधिदिएर पठाइदिनु छ। जसरी हुन्छ, यी प्रश्नहरूको दुलही (उत्तर) खोजी छाड्नु छ। त्यसपछि मलाई चैन मिल्ला। त्यसपछि मलाई आराम मिल्ला। त्यसपछि मैले ४/४ घण्टा ट्वाइलेटमा के गरेको थिएँ, थाहा पाउँला।

७.

एक्कासि ४/५ सय मिटर परको एउटा घरमा कुनै मानव आकृतिको हलचल देखियो।बडो कलात्मक तवरले सो आकृतिले आफ्ना गोला-डोला स्तनहरू फुलाउँदै हात तन्काउन थाली।  घाम यसप्रकारले उत्तेजित भएको थियो त्यसबेला कि मलाई लाग्यो मानौँ..स्तनले धकेलेरै उनले मलाई ठेल्दिन्छिन्।..मैले उनको अनुहार ठम्याउन खोजेँ,…खोजिरहेँ। तर त्यस पहिले मलाई गुहार लगाउनु उपयुक्त लाग्यो।

मलाई बचाउन अब त कोही आउलान् लाग्यो।  मेरो पुकार अब त कसैले सुन्लान् लाग्यो।  म कराउन थाले,
‘गुहार..गुहार..।  मलाई बचाऊ।’
‘मलाई मेरो प्रश्नहरू देखि बचाऊ। ‘
‘म ४/४/ घण्टा ट्वाइलेटमा के गर्दै थिएँ ? मलाई मेरा प्रश्नहरूदेखि बचाऊ।’
‘ ..गुहार..गुहार..।’

सो आकृति छतबाट एकाएक हरायो।  होइन, एकाएक सहरबाट उज्यालो हरायो, अँध्यारो भयो। होइन, एकाएक सूर्य गायब भयो। होइन, एकाएक मुसलधारे झरी बर्सियो। होइन, एकाएक कतै झिँगा कराएको सुनियो। होइन, एकाएक नजिकै झिँगा भुनभुनाएको सुनियो।  होइन, आकाश भुनभुनायो। होइन, झिँगा भुनभुनायो।  होइन, …. । भुन..भुन..भुन..।

मेरा प्यारा चिप्लेकिराहरू।  तिमीहरू झिँगा झैँ किन कराइरहेका छौँ ?  तिमीहरूलाई के भयो ? तिमीहरू किन यसरी कानै खाने गरी कराएको ?..कसैले केही आवाज दिएन।  भुनभुनको आवाज अझ चर्को..अझ चर्को हुँदै आयो। ..आइरह्यो।  भुन..भुन..भुन्.. ।

म हठात् आधि भरिएको पानीको गिलासको खोजीमा लागेँ। झिँगाको भुनभुन बाक्लो हुँदै गयो। कानै छेड्न थाल्यो। कानै कोपर्न थाल्यो। कानै लुछ्न थाल्यो। झिँगा देखिँदैन..तर झिँगाको भुनभुनले हृदय काँप्यो..हृदयको तेज बढ्यो। तर..झिँगा भेटिँदैन। तर…छतको तरुनी एकाएक कसरी हराई भन्ने प्रश्नको जवाफ भेटिँदैन। ट्वाइलेटमा म के गरिरहेको थिएँ भन्ने प्रश्नको उत्तर भेटिँदैन।

..छतको तरुनी, झिँगा..भुनभुन..ट्वाइलेट.. ।
..ट्वाइलेट..भुनभुन..झिँगा..छतको तरुनी..।
..भुनभुन..छतको तरुनी..झिँगा..ट्वाइलेट..।

***

८.

कसोकसो पानीको गिलास भेटियो। आँखै नहेरी पानी घुट्क्याइदिएँ।

गिलासबाट पानी झर्दैन।  म गिलास झट्कार्छ…अह.पानी आउँदैन। आउँदै आउँदैन। कसै गरे पनि आउँदैन।

ओठमा जोतिरहेको गिलासको भित्रसम्म जिब्रोले छुन खोज्छु। पानी भेटिँदैन।

त्यति नै बेला ..आइया नि.मरे नि बाबा। गिलासभित्र के थियो ? कसले डस्यो ? ..फेरी अर्को प्रश्न, फेरी दिमाग रन्किन्छ। फेरी जिब्रो दुख्छ। फेरी दिमाग दुख्छ। फेरी रिस उठ्छ।

गिलास पसेको मेरो जिब्रोलाई कसैले चुसिरहेछ..।  चुसिरहेछ.. ।
कसोकसो गिलासभित्रबाट जिब्रो फुत्काउँछु।…जिब्रो अगाडीको भाग आँखै अगाडीबाट उछ्टीन्छ…र तल कतै खस्छ। ….मुखबाट रगत निस्किन्छ। यो रगत कसरी? मलाई कसले टोक्यो ? गिलास भित्र को थियो ? फेरी प्रश्न..फेरी प्रश्न। मेरो दिमाग दुई तिरबाट तन्काइएको रबर जस्तो बन्छ। अब च्याट्ट चुँड्न मात्रै बाँकी छ।

जिब्रो छाम्छु। छैन, जिब्रोको अगाडीको भाग नै छैन। औँलाहरूमा रगत आइपर्छन्। रगत जम्दैनन्..डल्ला..डल्ला पर्छन्.. । म ती डल्लाहरूलाई हातमा लिग्छु.. । चोर औँला र माझी औँला बिच लिएर खेलाइरहन्छु।  खेलाइरहँदा अनुभव गर्छु, दुई औँलाबिच भर्खरै केही कुराले डस्यो। भर्खरै कसैले चिमट्यो। चिमट्यो के, डस्यो ? या..कसले डस्यो ? आफ्नै रगतले ? आफ्नै जिब्रोको रगतले ? ..ए साँच्ची।  मेरो जिब्रोमा कसले डस्यो ? मेरो औँलाले कसले डस्यो ? मेरो जिब्रोको अघिल्लो भाग खोइ ? मेरो पानीको गिलासमा के थियो ? यो भुनभुनाहट कहाँदेखि आइरहेको छ ? झरीको आवाज त झर..झार.. हुने गर्थ्यो। भुन..भुन कसरी भइरहेछ ?

– पानीको गिलास..जिब्रोको अघिल्लो भाग..रगत..औँलाको डसाइ, झिँगाको भुनभुनाहट।
– झिँगाको भुनभुनाहट..पानीको गिलास..जिब्रोको अघिल्लो भाग..रगत..औँलाको डसाइ।
– पानीको गिलास..जिब्रोको अघिल्लो भाग.. झिँगाको भुनभुनाहट…रगत..औँलाको डसाइ।

***

९. 

म कुन-कुन प्रश्न जवाफ खोजौँ ? म कुन-कुन दुखाइको निवारण खोजौँ ?

कुन-कुन प्रश्नहरू हुन् ? कुन-कुन दुखाइहरू हुन् ?

अहिले रात हो कि बिहान हो ? या मध्यान्ह ?

अहिले वर्षात् भइरहेको हो कि घाम चर्किरहेको ?

अहिले कुकुर कराइरहेको हो कि झिँगा ?

अहिले औँला दुखिरहेका हुन् कि जिब्रो ? या मस्तिष्क ? या हृदय ? या शरीर ?

अहिले प्यास लागिरहेको हो कि अत्यास ?

त्यो तरुनी को थिइन् ? त्यो घर कुन थियो ? ..मेरो आँखा किन धमिलो हुँदै गइरहेछ ?

त्यो गिलास कहाँ छ ? उज्ज्वल सागरको गीत कहाँ छ ? भाइको आवाज कहाँ छ ?

म ट्वाइलेटमा छु कि मेलम्चीमा ? या बार्दलीमा ? या गिलासमा ? या गिलासभित्र ? या मुसलधारे झरीमा ? या प्रचण्ड घाममा ?

मेरा चिप्लेकिराहरू खै ? मेरा आँखाको ज्योति खोइ ? मेरो मस्तिष्क खोइ ? ..मेरो दिमागको सन्तुलन खोइ ?

यी प्रश्नहरू हुन् ? या जवाफ हुन् ? या स्पष्टोक्ति हुन् ?

मेरो चिप्लेकिरा.., मेरो गिलासको पानी.., उज्ज्वल सागर.., मेलम्चीको बाढी,.. नाडीको घडी.., छतको तरुनी, गिलासको चिया.., मुसलधारे बर्सात.., झिँगाको चर्को आवाज.., औँलाको दुखाइ.., जिब्रोको चोक्टो.., भाइको फोन.., ट्वाइलेटको पिसाब.., जिब्रोको दुखाइ.., मस्तिष्कको टनटन,..औँला..रगत..पानी, नाडीको घडी.., चिया.., उज्ज्वल सागर.., मेलम्ची.., छतको तरुनी.., पिसाब.., ट्वाइलेट.., झिँगाको आवाज, चिप्लेकिरा..उज्ज्वल सागर..मेलम्ची..भाइको फोन..!..

***

१०.

निकैबेर पछि..म आफ्नै बार्दलीमा भेटिन्छु। कतिबेर पछि ? मैले घडी हेरेको थिएँ र ? मेरो नाडीको घडी खै ?

कसोकसो गिलास भेट्छु, एकापट्टि लडिरहेछ।  झिँगाको भुनभुनाहट अझ बढेको छ। बढ्दो छ।  बढिरहेछ। ..

लडिरहेको गिलास उठाउँछु। फेरी पनि पानीको आसमा गिलास उठाउँछु! तर पिउनलाई मेरो जिब्रो खोइ? जिब्रोको अघिल्लो भाग खोइ ?

प्यासले छटपटिन्छु। उठाएको गिलासलाई मुखमा जोत्छु। ..आत्था..आइया..मरे..नि। मेरो घाँटीबाट के छिर्‍यो? मेरो घाँटीमा के अड्क्यो ? ..मेरो मस्तिष्क खोइ…! कसले बताउँछ मलाई ? …कसले उत्तर दिन्छ मलाई। ..मेरो घाँटीमा के छ ? मेरो घाँटी कसले खाइरहेछ ? को बताउँछ मलाई ?..मेरो मस्तिष्क खोइ ? मलाई किन कसैले जवाफ दिँदैन ?…मैले अझ कति प्रश्न गर्नुपर्ने हो ?..मेरो घाँटीमा को पस्यो ..को घुस्यो ? कसले मेरो रुद्रघण्टी चपाइरहेछ ….?

ए कोही त बोल्यो।  ए कोही त बतायो। ..यो मलाई के भइरहेको छ ?..यो मसँग के भइरहेछ ? मेरो रुद्रघण्टीमा फेरी कसले डस्यो ??..मेरो बोली खोइ ? म किन चिच्याउन नसकेको ?…म किन कराउन नसकेको ?…म किन नमरेको ?? म किन बाँचिरहेको ? …

मेरो घाँटीमा को छ ? मेरो मस्तिष्क खोइ ? मेरो नाडीको घडी खोइ ? छतको तरुनी खोइ ? ट्वाइलेटको पिसाब खोइ ?…यो झिँगाको भुनभुन अझ किन ? अझ चर्को किन ? मेरा चिप्लेकिराहरू खोइ ?..मेलम्चीको बाढी खोइ ?..भाइको फोन खोइ ? ..भाइको खबर खोइ ??…पानीको गिलास खोइ ?…उज्ज्वल सागर खोइ ??

११.

हठात् घाँटीमा औँलो छिराउँछु। औँलो दुखिरहेको छ। औँलोबाट पनि भुनभुन आवाज आइरहेको छ। आयोस्!…रुद्रघण्टीसम्म औँलो छिराउँछु। फेरी मलाई कसैले डस्छ। ..आत्था…आइया..मरे नि। म औँलो बाहिर निल्दिनँ। अझ खोतल्छु। घाँटीलाई अझ खोतल्छु।  मेरा औँलाहरू तन्किन्छन् सायद। मेरा औँलाले केही चिज भेट्टाएरै छाड्छ। म चोर औँला र माथि औँलाको साहयताले त्यो चिजलाई च्याप्छु। मेरो घाँटी मानौँ प्वाल परिसक्यो। ..त्यो चिज निस्कन मान्दैन। मेरो औँलामा अझ डस्छ। मेरो रुद्र घण्टीलाई अझ चिथोर्छ। मेरो घाँटीलाई अझ निमोठ्छ। म छाड्दिनँ । समाइराख्छु..च्यापिराख्छु।

घाँटीबाट एक लिटर जस्तो रगत हुलुक्क निस्किन्छ। चोक्टा-चोक्टा निस्कन्छ। चोक्टा-चोक्टाहरू चलबलाइरहेका छन्। असिना परेजस्तो..पग्लिरहेका छन्।  होइन, असिना परे जस्तो होइन, ति फेरी जम्दै छन्।  ती अझ ठुलो ठुलो आकार लिँदै छन्। औँलामा डस्दै छन्,चिथोर्दै छन्। अरे..ति चोक्टाहरू अब त औँलामा पनि अट्न सक्दैनन्। हत्केलामा खस्छन्।  हत्केलामा डस्दा छन्। हत्केलामा भरिँदा छन्।  आइया नि..मरे नि..आत्था..मरे नि !

म दुखाइ खप्न सक्दिनँ। दुखाइ नखप्न पनि सक्दिनँ। टोकिरहोस्। डसिरहोस्। झिँगाको भुनभुन चर्किरहोस्। मुसलधारे झरी बर्सिरहोस्। अँध्यारो भइरहोस्। टोकिरहोस्..हत्केलामा उक्त चोक्टाहरू चलमलाइ रहुन्।…चटपटाइ रहुन्। …म त्यो रगतले भरिएका रक्तिला चोक्टाहरू क्याच क्याची अठ्ठाइदिन्छु, जहाँतहाँ अठ्ठाउछु, त्यहाँ त्यहाँ दुख्छ, त्यहाँ घाउ हुन्छ।  त्यहाँ-त्यहाँदेखि रगत आउँछ। आएको रगत तिनै चोक्टामा मिसिन्छन्। तिनै चोक्टा बनी चलमलाउन थाल्छन्।  तिनै चोक्टा बनि चिथोर्न थाल्छन्।

चोक्टा अझ बढ्दै जान्छ।  रगत अझ बग्दै जान्छ।  चोक्टा अझ बढ्दै जान्छ।
झिँगाको आवाजको चर्को हुँदै जान्छ। भुनभुन..भुनभुन..बढ्दै जान्छ।

मेरो हत्केलाले अब ती चोक्टाहरूलाई थाम्न सक्दैनन् । दुवै हत्केला अब लगभग समाप्त भइसके । चोक्टाहरू पाखुरातर्फ सर्किएका छन्, अघि बढेका छन् । झिँगाको आवाज अझ बढ्दो छ… बढ्दो छ ।

चोक्टाहरूले मेरो पाखुरा खाइसके । चोक्टाहरूलाई अब हातले उचाल्न सक्दैन।  मेरो बोली छैन, मेरो आवाज छैन। मेरो आँखा खुला छैन। मेरो नाक खुला छैन। घाँटी भित्रबाट फेरी कोही पसेको छ।

मेरो जिउमा आगो बल्छ। पसिना छुट्छ। हृदय लुगलुग काम्न थाल्छ। ज्वरो छुट्छ। रिगंटा लागे जस्तो, हातगोडा थर्थाए जस्तो।

हेर्न खोज्छु, परेला बिझाए जस्तो हुन्छ। नाक डम्म थुनिए जस्तो। कान ड्याम्मै बन्द भएजस्तो।कस्तो..कस्तो..उकुसमुकुस।  ..के गरूँ? कता फ्याल हानूँ ?

मुखभित्र सलबलाइरहेका झिँगाहरूलाई सक्दो बल गरेर बाहिर फ्याल्न खोज्छु, थु थु गर्छु।  एकदमै कम, सीमित मात्रै बाहिर निस्कन्छन्। बाँकी कुनै जिब्रोमा ठुङ हानेर बस्छन्। कुनै जिब्रोमा आफ्नो दाह्रा गाडेर बस्छन् मात्रै होइन गाड्दै जान्छन्। अरू कुनै दाँत छेड्न लागिपरेका छन्, कुनै गिजा चुसिरहेका छन्। कुनै जिब्रोको टुप्पोमा झुत्तिएका छन्, कुनै जिब्रोको पछिल्लो भागमा चिथोरिरहेका छन्। ..आत्था..थो…!

मलाई ब्रम्हज्ञान प्राप्त हुन्छ, झिँगा बाहिर कतै होइन। ममा छ। मेरो शरीरभरि छ। ती चोक्टाहरू होइनन्, झिँगाहरू हुन्। घाँटीभित्र झिँगा छिरेको छ। मैले पानी पिएको थिइनँ, झिँगा पिएको थिएँ। गिलासमा झिँगा थियो। होइन, झिँगामा गिलास थियो।..झिँगा..गिलास..।  गिलास..झिँगा।

तर यो झिँगा कहाँदेखि आयो ? कसरी आयो ?

१२.

हठात् मलाई बोध हुन्छ कि मेरो ढाडमा कसैले कोपरिरहेछ.. । मेरो छाला काढेर कसैले नुन बेसार छर्किरहेछ। हात ढाड तिर पुर्‍याउन खोज्छु, हात पुग्दैन। हेर्न खोज्छु, आँखा छैन। आँखा पुग्दैन। बोल्न खोज्छु, जिब्रो छैन। बोली पुग्दैन। आँखाबाहिरबाट पनि ,आँखा भित्रबाट पनि झिँगाले डसेका छन्।  बस्, डसिरहेका छन्।

अब मेरो हाड चपाउन थालेका छन्..यी झिँगाहरू। अब मलाई यो आत्मबोध हुन्छ कि मेरो शरीरको कुनै पनि अङ्ग बाँकी छैन। हरेक अङ्गप्रत्यङ्ग झिँगामा झुम्मिएका छन्, चिथोरिरहेका छन्, चुसिरहेका छन्, चपाइरहेका छन् र मलाई सनै..सनै बिस्तारै बिस्तारै सक्काउँदै छन्..निल्दै छन्। मेरो शरीरको एक अंश पनि यिनले छोड्ने छैनन्।

मेरो शरीरभरि झिँगा छन्, बस् झिँगा। मुसलधारे बर्सात होइन, मुसलधारे झिँगा खसिरहेछन्। झिँगाको आवाज सुन्न नसकेर मेरो कान फाटिसक्यो। फाटेको कानमा झिँगा झुम्मिइसके।

आकाशबाट झिँगाहरू झरिरहेका छन्। एक दुईको सङ्ख्यामा होइन, सयौँको सङ्ख्यामा। बिस्तारै यसले चार अङ्क तयार गरिरहेछ..हजारको सङ्ख्यामा पुगिरहेछ । म कदाचित कल्पना गर्न सक्दिनँ कि यत्ति धेरै झिँगा एकसाथ मेरो जीउमा कसरी खसिरहेछन्। मेरो घरको छत खै ? छत छेडेर झिँगा बर्सिरहेछ।

छत ??..छतको तरुनी खोइ ? त्यसले मलाई किन सुनिन ? त्यो मेरो साहयताको लागि किन आइन ? कहाँ गई त्यो तरुनी ? साँच्ची घाम कहाँ गयो ? नाडीको घडी कहाँ गयो ? गिलासको पानी कहाँ गयो ? उज्ज्वल सागर खोइ ? चिप्लेकिरा खोइ ?…बस्, एक भुन भुन सुनिरहेछ..!
को भुनभुनाइरहेछ ? को सुनिरहेछ?
..बस्, भुन भुन..भुन..भुन ।

अस्तु !

लेखकका अन्य सिर्जनाहरू पढ्न यहाँ क्लिक गर्नुहोस्…#राजु झल्लु प्रसाद

(साहित्यपोस्टमा २०८०, श्रावण ५, शुक्रवार १२:०१ मा प्रकाशित)

Leave a Reply