नेपाली साहित्यको अँगालो रित्तो छैन उदय सर !

You are currently viewing नेपाली साहित्यको अँगालो रित्तो छैन उदय सर !

उदय सरकै कारण यहाँ समावेश ६ जना स्रष्टा (नारायण ढकाल, अभि सुवेदी, सरुभक्त, श्यामल, मनु मन्जिल र श्रवण मुकारुङ) का बारेमा कहिल्यै नलेखिने इतिहासका पृष्ठहरू मात्रै थपिएका छैनन्, अपितु यी कवि/लेखकमार्फत अन्य कवि/लेखक र नेपाली साहित्य उजिल्याउने काम भएको छ ।

पूर्वकथन:

उदय अधिकारी सर (हेटौंडा) सँग धेरै ढिलो एकेडेमीको मझेरीमा, किताबको यात्राको दैलोमा भेट भयो । उहाँसँग उतै आउने वाचाबन्धन गाँसिएकै हो, हेटौडा पुग्दा ‘आइपुगेँ’ भन्न पनि छुटाएकै हो । हेटौँडा मेरा लागि नयाँ नै छ, यद्यपि त्यहाँको सांस्कृतिक र ऐतिहासिक थातथलोबारे थोरबहुत जान्न खोज्दो छु । मनतातो यस ठाउँ अतितका कुनै घुरमाइलो गल्लीहरूमा मेरो प्रेमनगरी थियो । राधाको रुप लावणयमा लट्ठ भइरहको यस जगदगुरु कृष्णले ख्यालै राखेको थिएन- प्रश्न यहीँ छ, उदय अधिकारी यहीँ छन् । ख्याल राख्दो हुँ त ‘धेरै ढिलो’ नहुँदो हो । तर, यस खियालबाट फुत्कन म बशीर साहेबको यो शेर समाउन पुग्छु;

बड़े लोगों से मिलने में हमेशा फ़ासला रखना
जहाँ दरिया समुंदर से मिला दरिया नहीं रहता

कथन:

म साहित्यिक गल्लीहरूमा लामै बेर लखर लखर लखर्काएको जन्तु हो, जो फुर्माइसी दिन बियाँलो जस्ता देखिए पनि त्यसले कालक्रममा प्रभाव छाडिबसेको रहेछ । भृकुटीमण्डपमा करिबन पौने २ वर्ष चिया मात्रै पाउनु चानचुने फुर्माइसी कहाँ ? सोही ताका उदय सरका बारेमा महेश दाजू (पौड्याल) बाट सुनेको हूँ कि भन्ने लाग्दछ । तर, जे सुकै होस् । कुनै व्यक्तिको नाम् सुन्नु र उससँग प्रत्यक्ष साक्षत्कार हुनु दुई अलग-अलग थोक हुन् ।

मार्जिनको साप्ताहिक स्तम्भ ‘किनाराका साक्षी’ रित्तो नपार्ने उद्देश्यसहित संवाददाताको हैसियतले उहाँसँग प्रश्न गरिरहँदा पनि मलाई पत्तो थिएन कि, उदय सर नेपाली साहित्य जगतका ६ धुरन्धर कवि/लेखकहरूलाई प्रश्न गरिरहेका छन् । प्रश्न पढिकेपछि म लाजले एकै डल्लो परेको- ‘ज्या ज्यादा जान्ने पल्टिएछु ।’ ‘पढ्ने मामलामा हामी लगभग कुण्ठित छौँ’ भनेर स्वघोष गरिहिँडेका सर कहिलेकसो म्यासेन्जरमा टुप्लुक्क देखिंदा सोध्न भ्याईहाल्छन्, “प्रश्नमाथि तपाइँको प्रश्न खोइ ?” यो एकेडमीको प्रथमभेट पश्चात् फेरि बढ्न थालेको छ ।

उनको यस्ता म्यासेजपश्चात् हरहमेशा म एकै सोचाइको क्षितिजमा खुट्टा झारेर सोच्ने गर्दथे/गर्छु, “प्रश्न जस्तो आउट अफ द बक्स किताब लेख्ने, नेपाली साहित्यप्रति कदाचित खेलाँची नगर्ने, समकालीन पाठक-लेखक र समीक्षकका नाडी छामेका, नयाँ पुस्तक आयो कि पढीहाल्ने स्वभाव भएका, पुराना पुस्तक नछोड्ने आदत बसाएका यी विद्वान किन यति संकोची भएका ? एकसरो पुस्तकानुभूति लेखिदिन कति आग्रह गरिरहेका ? म बबुरोले उनी र उनको बारेमा लेख्नुलाई उनको विद्वतालाई के नै फरक पार्छ र ?” तत्काल लाग्ने गर्दथ्यो/गर्छ- ‘उदय अधिकारीको प्रश्न भेटेजतिका लागि पढ्न सिफारिस गरिआएकै छु, मैले गर्ने त यति नै हो । प्रश्नबारे म लेख्न सक्दिनँ ।” सक्दिनँ/सक्दिनँको एक सरो रटान कति बेला ‘गर्दिनँ’मा परिणत भयो मलाई बोध छैन । तर, आज चाल पाउँछु, त्यसो पनि भइहालेको रहेनछ, लेख्न बस्न नभ्याएको रहेछु ।

राजु झल्लु प्रसाद

उपकथन:

यहीनेर एउटा प्रसङ्ग सुनाइहाल्नु जाती हुने म बुझ्दछु;

‘विवादित’ रोल्पाको सुलिचौर महोत्सवमा राजकुमार बानियाँ दाजुसँग खाजा बुत्याइरहँदा पनि यो कुरा परेको थियो । बानियाँ दाइले रोल्पा पुग्नुअगावै कोसेलीमा नेपाली साहित्यमा मानेका पक्का पाठक उदय लेखकमा ‘बढुवा’ भए भनेका थिए । यस कुरालाई लिएर रोल्पा र काठमाडौं तत्कालीन चिया गफहरूले बाफ छुटाएको मलाई थाहा छ । उसो त, गतिशील र व्यस्त पाठकहरूबाट, प्रश्न जस्तो असीमीत र जटिल तारतम्य सहित गरिएको अन्तर्वार्ता संग्रहमाथि छेडखानी गरिनु नवीनतम कुरा पनि रहेन । मौलिक एवम् पृथक् पुस्तकहरूका बारेमा हास्यास्पद एवम् निर्बलिया चर्चा-परिचर्चा-चियोचर्चा गर्नु/गरिनु समकालीन पाठकीय-समीक्षकीय परम्परा भएको सर्वविदितै भएकाले यसबारे धेरै दुन्दुभि मच्याउनु आवश्यक पनि भएन ।

म बानियाँ दाजूको प्रसङ्ग उप्काउँदै थिएँ;

साहित्यिक पत्रकारितामा सत्य बोल्न नडराउने निर्भीक व्यक्ति उर्फ बानियाँ दाजु पाठक दीर्घामा बसेर मेरो ‘बिम्ब परिवर्तन गर कवि हो’ शीर्षकको कविता सुन्दै थिए । कविता सुनाइसकेर उनी छेउकै सिटमा बसी उनलाई सोधेको थिएँ, “कस्तो छ ?” ‘गजब भने या दामी’ बिर्सिएँ तर यस्तै केही भने । म पछि अर्को कोही कविता सुनाउन गयो, त्यसपछि अर्को कोही.. । र, जो पनि कविता सुनाइसकेर आउथ्यो, बानिया दाइ ‘दामी या गजब’ भनिदिन्थे । अलि बेरपछि खुसुक्क सोधेँ, “तपाईं पनि यस्तै गर्ने गर्नुहुन्छ ?” उनले मुसुक्क भनेका थिएँ, “गर्नै पर्यो, मुखमै नराम्रो छ त कसरी भनिदिनु ?’ उनको जवाफपछि मैले आफ्नो कविता मात्रै होइन, उनको समीक्षाहरूप्रति पनि पुनरावलोकन गरेको थिएँ ।

यस प्रसङ्गको उच्चारणको ध्येय बानिया-निरौलाको बाध्यात्मक बाध्यता सतहमा ल्याउनु मात्रै नभई यसप्रकारका प्रसङ्गहरू समकालीन साहित्य जगतमा कायममुकायम रहनुको पछाडिका बग्रेल्ती कारणहरू खोतल्नु रहेको छ । र, यो काम पुस्तक ‘प्रश्न’ले आफैँ गरिरहेकाले ‘घुम्तिनेर लेट भयो’ हुन् पाएको छैन । यसका एक दुई प्रमुख कारण छन्,

एक कारण- आधिकारिक रुपमा नेपाली साहित्यको इतिहास उजिल्याउने काम उत्तम कुँवरको ‘स्रष्टा र सीर्जना’ मार्फत हुन पुग्यो ! बाबुराम आचार्यकृत ‘पुराना कवि र कविता’ अलि बेग्लै किसिमको भएकाले, बालकृष्ण पोखरेलको ‘पाँच सय वर्ष’ पढ्न नभ्याएकाले एवम् राममणि रिसालको ‘नेपाली काव्य र कवि’ आधाअधुरोमै छाड्ने मूर्खता गरेकाले पंक्तिकारले यो तर्क राख्न पाउँदो हो । अझ, नेपाली वाङ्मयको श्रीवृद्धिका खातिर भइरहेका भनिएका तमाम यात्रा, महोत्सव र गोष्ठीहरूदेखि भागिरहेको समस्याक्रान्त बोझिलो यथार्तताबीच पंक्तिकार कुनै पुस्तकको खोजीमा हुँदो हो, जसले उसलाई घैटाको पानी सरह तनतनी तृप्त बनाओस् । आलोचनाको तिखो सुईले घोच्न नहुने, निष्पक्षभावले बोल्न नहुने, आफूहरूको गुण-अवगुण केलाउनै नहुने गरी अलग्ग उभिएका सांगठनिक एकात्मकतासँग जुध्दा ‘समीक्षात्मक त्रुटी दर्शन’ भएको बताउनेहरूसँग उठबस गरिरहनुपर्ने कामकाजी बाध्यताकाबीच ‘प्रश्न’ हात पर्यो । जसले आफू पाठकदीर्घामा बसिरहँदा पटकपटक स्टेजमा देखिरहेको एवम् पढिरहेको कवि/लेखकका अनसुना सच्, लेखकीय प्रभाव, चिन्तनपद्धति, पठन आदत, पाठ्य सामग्री र मानवीय सस्पर्शतालाई जान्ने/बुझ्ने/केलाउने मौका दियो ।

यसलाई यसरी भन्दा अनर्थ नहोला- नेपाली साहित्यलाई जोगाइरहेका कवि/लेखकहरूसँग यस्ता प्रश्न गरिन्न थे भने उनीहरूबाट त्यस्ता उत्तर पनि आउथेन । पंक्तिकार स्वयं जान्दछ, ‘प्रश्न नदी हो, उत्तर कुँवा वा उल्टो ।” उदय सरकै कारण यहाँ समावेश ६ जना स्रष्टा (नारायण ढकाल, अभि सुवेदी, सरुभक्त, श्यामल, मनु मन्जिल र श्रवण मुकारुङ) का बारेमा कहिल्यै नलेखिने इतिहासका पृष्ठहरू मात्रै थपिएका छैनन्, अपितु यी कवि/लेखकमार्फत अन्य कवि/लेखक र नेपाली साहित्य उजिल्याउने काम भएको छ । यी ६ स्रष्टाहरूलाई एकै प्रश्न नगरेर उनीहरूकै सिद्धान्त, चिन्तनप्रणालीअन्तर्गत रही फरक-फरक प्रश्न गरिनु अर्को रोचक पक्ष हुँदै हो (केही प्रश्न अपवाद भए) । ६ जनाको ठाउँमा ६० जना भइदिएको भयो के हुन्थ्यो भन्ने पनि छ तर, प्रश्न (भाग-२) नआउँदा पनि दु:खमनाउ रहनेछैन, किनभने अन्तर्वार्ता पनि साहित्यिक विधा हो भनेर पुन: प्रमाणित गर्न अधिकारी सफल भएका छन्, जो गद्गदिलो कुरा हो । तर, उत्तम कुँवर (स्रष्टा र सीर्जना)बाट जेजति काम भयो, त्यो अधिकारीमार्फत हुन् सकेन भन्ने गुनासो चाहिँ यद्यपि रहिरहनेछ ।

दुई कारण- एकमै अनेक कारण आइसकेको जस्तो लाग्दछ ।

भोटो फटाएर प्रौढता अँगालेका पाठक भन्दा यस कृतिले पठनको परिपक्वता सहित अनुभवको विस्तृतता अँगाल्न अक्षर साधानाको दीर्घ यात्रामा निस्किएका छोटे उमेरका काव्यकारहरूको साथ खोजिरहेको छ । प्रशंसाको फूल जडाइ प्रकाशकीय एवम् समीक्षात्मक गोहो भएकाले म त्यो बाटो हिँडिरहेको छैन, यो नितान्त ‘पुस्तकानुभूति हो’ । पुस्तक पढिरहँदाको अनुभूति- पठन संस्मरण। ‘कसैका लागि कटु र अप्रिय हुन्छ भने सत्य कुरा पनि नबोल्नु’ भन्ने कथित महावाणीलाई ढड्नेसो फर्काउन मन लागेरे यो वाकिरहेको हूँ । सरसर्ती भन्दा प्रश्नकर्ता र उत्तरदाताको गहनताकै कारण प्रश्न ‘पठनीय छ, हाम्रो साहित्य दुर्बल हुनुको कारण खोतलिएको कारण प्रश्न ‘पारणीय’ छ । प्रश्नका कतिपय प्रश्न र उत्तरहरू ‘उद्धरणीय’ पनि छन्, जसलाई यसप्रकार उद्धरण गर्न सकियो;

१. अभि सुवेदी ।

सुवेदीसँग प्रथम किताबी भेट ‘कार्पेट टाँगिएको आकाश (२०५६)’ मार्फत भयो । रमाइलो के भन्दा यसमा सुवेदी मात्रै एक्लै बोलिरहेका छैनन् । सुवेदी बोल्नु भनेको ‘एक्लो व्यक्ति बोल्नु होइन’ भन्ने मलाई सो निबन्धसङ्ग्रह पढ्दा नै फिल भएकाले उदय सरले सोधेका प्रश्नमा चासो रहने नै भयो । भनौँ न यो भेटमा म अझ बेसी जिज्ञासु थिएँ ।

‘एक्स्ट्रा स्लिम बडी’ भएका उदय सरले सुवेदीसँग ३६ प्रश्न गरेका छन् । प्रश्नहरूमा नजिक्याई र आदरभाव (गुरु-शिष्य) बेसी देखिन्छ । फेरि यो सम्बन्ध थिएन भने केही व्यैक्तिक जस्ता देखिने प्रश्नहरूको सहाराले यस्ता उत्तरहरू पनि आउने थिएनन्;

१. प्रजातन्त्रमा सैनिक लिएर बसेको शासकलाई अधिकार दिएपछि त्यो एक दिन उन्मत्त हुन्छ र त्यसले शक्ति लिन्छ भन्ने कुरा प्रजातन्त्रको निम्ति लडेका राजनेताहरूले बुझेका थिएनन् ।

२. सौराह, ठमेलजस्ता ठाउँहरूमा विश्वयात्री आएका पदचाप भेटिन्छन् । तिनका औंठाका छाप भएका किताब भेटिन्छन् । (यो भनाइमा काव्यात्त्मकता छ ।)

३. हाम्रा सरल, गाउँले, जनजातीय, भौगोलिक अनि कठोर जीवन पनि हाँसेर बाँचेका अनुभूतिहरू लेखियुन किताबमा । ती बाहिर (विदेश) पढिन्छन् । पढाउन सकिन्छ । (सुवेदीले ल्याटिन अमेरिकाको उदाहरण पस्किएका छन् । )

४. गुरुकुलले नेपाली नाटकको निमित जे गर्यो, त्यसलाई अद्वितीय मान्नुपर्छ । सबभन्दा ठुलो कुरा यसले दर्शकहरूको रचना गर्यो । अब मानिस नाटक हेर्न जान्छन् ।

५. मैले आजमसम्म पढेको किताबमध्येबाट केही किताबको नाम भन्नु भनेको नै नभन्नु हो, किनकि त्यो गर्न सकिँदैन । र, आदि-इत्यादि ।

केही सीमित कुराहरू सरासर बताउनुपर्ने भएको छ,

‘आरुको फूलका सपना’ भन्ने किताबको रचनागर्भ यता पढ्न पाउँदा दंग भएँ । सुवेदीले कतै विपी कोइराला लियोन ट्रास्टस्कीबाट प्रभावित थिए भन्ने संकेत पनि गरेको पाएँ । सुवेदी आत्मकथा पनि लेख्दै रहेछन् । भी.एस.नयपलको प्रसङ्गमा अधिकारीको प्रश्न पनि रुचिकर छ, यहाँ उनले नेपाली लेखकको नोबेल पुरस्कारतर्फको यात्राबारे प्रश्न गरेका छन् । जुन प्रश्नको उत्तरमा सुवेदी भन्छन्, “नेपाली लेखकले राम्ररी काम गरे भने असम्भव छैन ।”

सुवेदीसँग चित्रकलाको सन्दर्भमा प्रश्न सोध्न अधिकारी चिप्लिएँ या पंक्तिकारको चित्रकलाप्रतिको ज्यादा लगावले यसो गरेको हो, तर सुवेदीबाट कला समिक्षा सुन्न किरण दाइ (मानन्धर) कै एक्जिविसन ताक्नुपर्ने भयो । प्रश्नमार्फत सुवेदीको नाट्यमञ्चसँगको लगाव चाहिँ प्रष्टिएको छ । पंक्तिकारले शिल्पी थिएटरको लाइब्रेरीमा ‘आरुका फूलका सपना’ पढ्दै थियो, घिमिरे युवराजले ‘हिउँ पृथ्वीयात्रा’का लागि थिएटरमा तानिहालेकाले तुरेको थिइनँ, त्यो तलतल फेरि जीवित हुन पाएको छ ।

२. नारायण ढकाल ।

ढकाल सरसँग देखादेख भएको छ, बोलेको छुइनँ । प्रेतकल्पबारे लेख्छु गर्दागर्दै त्यसो भयो । शोकमग्न यात्री भृकुटीमण्डपदेखि गायब भयो । उहाँको एउटा निबन्ध सङ्ग्रह (संस्मरण, साझाबाट छापिएको ) हात लागेको थ्यो, जो फिलहाल गायब छ । अत: ढकाल सर मेरो किताब र्याकदेखि गायब भइरहनुभएको थियो, यहाँ ‘प्रश्न’मा फेरि भेटिनुभो । उहाँलाई पढ्नको लागि मैले थप अर्को थान पुस्तक पढ्नुपरेको छ, जो शंकर लामिछानेको हकमा पनि होइरहन्छ ।

यसबाहेक एकपटक फोन हुँदा उहाँले भन्नुभयो, “साहित्यिक अङ्कहरूलाई बिक्रीको माल बनाएर नयाँ पुस्तालाई बन्ध्याकरणमा राख्नु हुँदैन । यसमा तिनको पनि भलो छैन । हामी बुढाहरूको अनुहार बेचेर कहिलेसम्म खालान् ? म त बुढो भइसके (भएँ), विचारमा एकनासे भएँ । मैले धेरै लेखेँ, अब तपाईँहरू लेख्नुस् (राष्ट्रिय बहस, कपुरी ‘क’ र विचौलिया, मार्जिन) ।” एकेडेमीलाई जागिर खाने र बुढेसकाल बिताउने थलो बनाउनु हुँदैन भन्ने संकेत पनि यो कुराकानीमा भएको थियो ।

ढकाल सरलाई निरन्तर पढिरहेकाले मेरा केही प्रश्न पनि यस पुस्तकमा परेका छन्, जस्तै:

१. नारायण ढकाल नेपालमा मार्खेजको वक्ता हो भनेर मैले भनें भने तपाइँलाई कस्तो लाग्छ ?

२. तपाइँको स्तम्भलेखनले पाठकहरूसँग संवादको काम गर्दथ्यो तर आजकल स्तम्भकार ढकालले पाठकहरूसँग बिदाइको हल्लाएजस्तो छ नि ?

३. तपाइँले प्रेतकल्प उपन्यास अन्त गर्न हतार गरेकै हो ?

४.बुटपालिस आन्दोलनको बारेमा सोधिएको प्रश्न पनि । र, आदि-इत्यादि ।

र, एक दुई-कुरा:

ढकालको यो प्रश्न सोचनीय छ- ‘शिरीषको फूलको सुयोगवीर युद्धबाट फर्किएको कुन नेपाली सिपाहीको प्रतिनिधि हो ? सकम्बरीले कुन नेपाली नारीको परिचय दिन्छे ?’ यससँगै ढकालले अनुराधा र चपाइएको अनुहारको सन्दर्भमा पनि प्रश्न उठाएका छन्, यसबारेमा एकपटक फेरि कोही (जान्ने-बुझ्नेहरू) बोल्दिएँ ‘हामी’हरूलाई सजिलै हुने नै थियो, अन्यथा गार्है त भइहालेको छैन पनि ।

उपन्यासमा ऐतिहासिक विषयवस्तुहरू लेखिरहँदाका घटना-दुर्घटनाबारे यी ढकाल-अधिकारीबीच भएको वार्तालाप पनि पठनीय छ । इतिहास र इतिहासबारे लेखिएका पुस्तकहरू पढिरहँदा ‘इतिहास लेखन बरालिएको छ’ भनिरहने डा.अमर गिरिलाई पनि म सम्झिरहेको हुन्छु । इतिहास लेखनमा ‘नेपालीपन’ भन्दा पनि ‘जनपक्षधरता’ चाहिएको हो, जो यस कुराकानीमाफत पनि व्यक्तिएको छ ।

३. सरुभक्त ।

सारङकोट काटेर नागडाँडा हुँदै लुम्ले झर्दै गर्दा ट्याक्सी चालक दाजूले सोधिहालेँ, “लेखकज्ज्यू, तपाइँको लेखकको गाउँ ।” यो जोमसोम जाँदाको याता संस्मरणमा नपरेको वाक्य हो । जो यता पर्यो-निकै भयो । वैज्ञानिक स्वरैकल्पना वा यान्त्रिक मानवको कल्पना नेपाली साहित्यले कमै पाएको हो, सरुभक्तमार्फत अलि बेसी पाएको हो । दार्शनिक उपन्यास पागलवस्ती, प्रयोगात्मक उपन्यास तरुनी खेती, छिटपुटे लेखनले भरिएको चुली वा समय त्रासदी; सबैसबैसँग मेरो अलग-अलग कमेन्ट छ, जो कतै लेखिबसौंला ।

त, ‘त्रिविका सबैभन्दा खराब विद्यार्थी’ सरुभक्तलाई भेट्ने इच्छा फिल्हाल मुल्तबीमै छ । र, प्रश्नमार्फत जुरेको यो भेट पनि रुचिकर रह्यो । यसका तपसिलबमोजिम कारण हुन् सक्छन्;

१. संरक्षण कविता आन्दोलनका बारेमा डा. नवीनबन्धु पहाडीबाट पनि केही कुरा सुन्न पाएको, जसको केही मेसो उदय सरमार्फत सरुभक्तमाथिको उदय सरको भूमिकाबाट प्रष्टिएको छ ।

२. नाटक उपेक्षाकृत हुन पुग्यो भन्नेबारेमा सरुभक्तले लिएको चिन्ता पनि मननयोग्य पाटो छ । नाटक दर्शक बढ्नुको प्रमुख कारण नाटकका किताब नलेखिनु नै हो ।

३. समालोचनाको पनि समालोचना हुन्छ र कविताको संरक्षण आवश्यक छ/छैन भन्ने सवालमा भएका कुराकानीहरू पनि आक्कलझुक्कल सुन्न पाइने भएकाले यसमा चासो रह्यो ।

एउटा कुरा भन्नै बिर्सिएको,

उदय सरले ‘सरुभक्त कमलको लेखक हो..’ भन्ने प्रश्न गरिरहँदा साथीको बहाना वा अझ पेगको साहरा लिनुपर्ने आवश्यकता चाहिँ थिएँ कि भन्ने पनि लाग्यो । हाँकाहाँकी सोधिएको प्रश्नको मजा नै अर्कै हुन्छ । प्रश्न सिर्जनशीलताको आग्रह पनि भएकाले उदय सरले यो हिच्किचाहट नदेखाएको भए पनि हुन्थ्यो भन्ने चाहिँ लागेको हो ।

अर्को कुरा पनि बिर्सिन लागेको,

०६२/०६३ को आन्दोलनमा एकेडेमीका सरुभक्त सडकमा ननिस्किनुको कारणबारे सोधिएको प्रष्टिकरण मज्जाको छ । किताबै खोजेर पढ्नु नि !

४. श्यामल र श्रवण मुकारुङ ।

यो रोल्पाको कथनमै पर्नुपर्ने कुरा थियो । यता पर्दा पनि कुनै हानी छैन ।

कविद्वय श्यामल र श्रवन मुकारुङ साथमा रहनु एउटा दुर्लभ सुअवसर नै थियो, जसको यथोचित सम्बोधन हुने मेलोमेसो खोजिरहेको थिएँ, खोज्नुको कारण- उदय सरको प्रश्न सोधाईबाट कविद्वयको वैचारिकीसँग अझ नजिक पुगेको थिएँ । तर, नमीठो के भयो भन्दा- त्यो मेसो मिलेन । हामी हाम्रै उमेरवयको गतिशीलतासँग मत्तिदै रोल्पाको यथार्तता खोजिहिड्यौँ । उहाँहरू ‘टिमुरको मधुरस’को खोजीमा दायाँबायाँ लाग्नुभयो । कार्यक्रमस्थलमा हाँसो जुधाई बाहेक बढ्ता हुनै पाएन ।

पहिले श्यामलका हकमा केही कुरा भनौँ;

उनको लुतो कविता मैले धेरै ठाउँमा सुनाएको कविता हो । कारण- काठमाडौंमा कार्यक्रममा जाँदा कि लुतो कन्याउन मजा आउछ कि लुतो कविता सुनाउन । अरू छोडौँ, ‘प्रश्न’कै पेरिफेरिमा रह्यौँ;

१. भूपीपछिको पुस्ताको ‘सशक्त कवि’को रूपमा श्यामललाई पस्किँदै प्रश्न गरिरहेका उदय सरसँग मेरो पनि प्रश्न छ, “त्यसो पनि हैन कि ?” २१ औँ शताब्दी बहुमुखी भएकाले एउटा मुख छुच्चो भइहाल्यो ।

२. ब्रतेल्ट ब्रेख्तको एउटा सुन्दर कवितांश ‘प्रश्न’मा परेको छ, जो मज्जाको कुरा छ ।

३. साहित्यमा प्रगतिशीलता भन्ने विषयमा श्यामल-अधिकारीबीचको कुराकानी ‘नोटेड’ छ ।

४. विदेशतिरको च्यातिएको पुरानो कम्बल ल्याएर केहीले यहाँको बौद्धिक जाडो छल्ने काम गरेका छन् भनिरहेका श्यामल दाजुसँग मलाई पनि प्रश्न गर्नु छ- “तपाईँ साहित्यमा आउनुभन्दा अगाडि नै मार्क्ससिट स्कुलिङ भइसकेको थियो र ?”

यसपछि हामीले श्रवण मुकारुङ (खुम्बुवानको महाकवि !) ले दिएका केही उत्तरहरूलाई मनन गर्नुपर्छ;

१. संसारमा कविता लेख्न हामीले सुरु गरेका त होइनौँ नि । तर, पनि हामीमा आफ्नोपनको कमी छ भनेको हुँ । हाम्रो आफ्नै सौन्दर्यशास्त्र बनोस् भनेको हुँला ।

२. हामीले चाहेको सुन्दर नेपालमा सबैको आवाज र अनुहारको पहिचान हुनुपर्छ । अहिलेलाई मेरा कवितै घोषणा-पत्र हुन् भनेर बुझिदिनुहोस् ।

३. भूपीको कवितालाई होच्याउने उद्देश्यले नारा भन्नेले कविता नपढे पनि हुन्छ । किनभने उसले कविता ग्रहण गर्ने सामर्थ्य राख्दैन ।

५. मनु मन्जिल ।

सबैभन्दा बेसी मैले इन्जोय गरेको च्याप्टर यही नै हो । कारण- मनु मन्जिलको बारेमा ‘प्रश्न’मा रहेको प्राय: जानकारी मेरो लागि नयाँ थियो । उनको कवितासँग मात्रै परिचित म, उनको व्यक्तित्त्व जानेर दंग परिरहेको छु । यसबारेमा यत्ति नै किनभने, उनका उत्तरहरूमा भेटिएको काव्यात्त्मकतालाई फेरिफेरि रस्वादन गर्नुमै मज्जा छ ।

अत: सामाजिक, सांस्कृतिक वा साहित्यिक कुनै पनि क्षेत्रमा एकाएक परिवर्तन हुने होइन, चाहेर पनि हुँदैन । यसका लागि प्रश्नहरू आवश्यक छन् । परिवर्तनका खातिर प्रश्न सजीव प्रभाव हो । यो प्रभावका लागि उदय सरलाई धन्यवाद । ‘प्रश्न’मार्फत मैले ५० भन्दा बेसी पढ्नुपर्ने पुस्तकको सूची टिपोट गरेको छु, यसको लागि पनि धन्यवाद । र, उही कुरा- सामाजिक विडम्बनाहरूको उछितो तपाईँले काटे पनि, मैले काटे पनि काटिरहनुपर्नेछ । र, तपाईँले भन्न सक्नुहुनेछ, ‘राजु एक सामाजिक बिडम्बना हो ।’ त्यसो भन्नुभएमा म भन्नेछु- “नेपाली साहित्यको अँगालो बिल्कुलै रित्तो छैन नि उदय सर ।”

अस्तु !

प्रकाशन मिति: २०७९,मंसिर ७, बुधबार १२:५९

https://sahityapost.com/top-news/89322/

Leave a Reply