दुर्लभ भन्ने तहबाट माथि उठ्यो भने हामीले गैँडाको व्यापार गर्न सक्छौँ  (अन्तर्वार्ता)

You are currently viewing दुर्लभ भन्ने तहबाट माथि उठ्यो भने हामीले गैँडाको व्यापार गर्न सक्छौँ  (अन्तर्वार्ता)
  • डा. नरेश सुवेदी, गैँडा विज्ञ
    निर्देशक, राष्ट्रिय प्रकृति संरक्षण कोष

(विश्व गैँडा दिवस विशेष)

नेपालको पछिल्लो गैँडा गणनाअनुसार नेपालमा एकसिङे गैँडाको सङ्ख्या गत दुई दशकमा क्रमशः बढिरहेको छ । विश्वभर जोखिमपूर्ण अवस्थामा रहेको यो प्रजाति नेपालका समथर क्षेत्र,उत्तरपुर्वी भारत र भुटानमा मात्र पाइन्छ । आईयूसीएनको रेडलिस्टमा यसलाई जोखिमयुक्तको सूचीमा राखिएको छ । साइटीसको अनुसूची-१ मा राखिएको यो स्तनधारी नेपालको राष्ट्रिय निकुञ्ज तथा वन्यजन्तु संरक्षण ऐनले संरक्षित वन्यजन्तुको सूचीमा राखेको छ ।

सन् २०२१ मा गरिएको गणनामा नेपालभर ७५२ वटा एकसिङे गैँडा रहेको निर्क्यौल गरिएको थियो भने त्यसअघि सन् २००५ मा ४०९ मात्र थिए । २०१५ को तुलनामा १०७ वटा गैंडाको संख्या थप भएको हो, जसअनुसार चितवनमा सबैभन्दा धेरै ६९४, बर्दियामा ३८, पर्सामा ३ र शुक्लाफाँटामा १७ वटा गैंडा छन् । 

प्रस्तुत छ, नेपालका गैँडाको वासस्थान, आहार, पानीको स्रोतको अवस्था, गैँडा संरक्षणका लागि चुनौती तथा अवसर लगायतका विषयमा केन्द्रित रही गैँडाको विषयमा विद्यावारिधि प्राप्त डा. नरेश सुवेदीसँग टुर न्यूजका राजु झल्लु प्रसादले गरेका कुराकानीको सम्पादित अंश:

मानव-वन्यजन्तु द्वन्द्वको कुरा गर्दा, मानव-गैँडा द्वन्द्व चाहिँ कम भइरहेको हो ? यसो हुनुमा कुन फ्याक्टरले काम गर्‍यो ?

हो, अन्य जीवजन्तुको तुलनामामा हाल मानव-गैँडा द्वन्द्व कम भएको छ । तर यसलाई मानव-गैँडा द्वन्द्व भन्दा पनि ‘किसान-गैँडा द्वन्द्व’ भन्नु उपयुक्त हुन्छ । यो द्वन्द्व मान्छेसँग भन्दा पनि खेतीबाली खाने, नष्ट गरिदिने कुरासँग सम्बन्धित छ । 

विगतका दिन गैँडाको सङ्ख्या धेरै भएको क्षेत्र चितवन किसान र गैँडाबिच द्वन्द्व बढी थियो । त्यसो हुनुमा केही कारणहरू छन् । सौराहाको हालको पर्यटन क्षेत्र २५/३० वर्ष अगाडिको खेती गर्ने जमिन थियो । विस्तारै, नारायणी र राप्तीको किनारमा होटेलहरू बन्न थाले । २५/३० वर्ष अगाडि चितवनमा हात्ती तथा बाघको सङ्ख्या पनि न्यून थियो, थिएन नै भन्न पनि सकिन्छ । सौराहाको हकमा त्यतिबेला गैँडाको २०% आहारा किसानको खेतबाट प्राप्त हुन्थ्यो । पछिल्लो अध्ययनले सो ३ % मा झरेको देखेको छ । यसप्रकार तथ्यांक घट्नुमा  खेति गर्ने जमिन अथवा नदी तटीय क्षेत्र ठूला-ठूला होटेल तथा लजहरूमा रुपान्तरण हुनु, वन्यजन्तु रोक्न विद्युतीय तारजाली प्रयोग गरिनु आदि प्रमुख कारण हुन् । यसकारण हाल किसान-गैँडा द्वन्द्व घटेकै हो ।

गैँडा एकपटक पर्खालमा ठोकिएपछि अथवा विद्युतीय तारको झट्का लागेपछि फेरी त्यसलाई पार गर्ने कोसिस गर्दैन । तर, हात्तीको हकमा त्यसो हुँदैन । हात्ती अलिकति बाठो स्वभावको हुन्छ, ऊ पर्खाल भत्काउने वा तार फ्याँकेरै भएपनि आफ्नो बाटो हिँड्छ । 

२० वर्षअघि पनि मानव-गैँडा द्वन्द्व फाट्टफुट्ट भई नै रहन्थ्यो, जुन आजभोलि पनि देखिरहेको छ ।  मानवीय क्षति कम नहुनुमा चाहिँ मानिसहरू निगुरो टिप्न जाने, राति राति माछा मार्न जाने, कहिलेकाहीँ गाइडले पनि अलिकति ख्याल नगरी लैजाने जस्ता कारणहरूलाई लिन सकिन्छ । 

समग्रमा भन्दा गैँडासँगको द्वन्द्व घटेको छ । 

Photo: Sagar Giri

नेपालभरि गैँडाको सङ्ख्या ७५२ पुगेको छ, जसमध्ये ६९४ वटा गैँडा चितवनमा छन् । चितवनमा मानवीय चहलपहल (पर्यटक) कम भएको छैन, यसले गैँडामा स्ट्रेस बढाएको साँचो हो ? चितवनमा गैँडा राख्ने क्षमता पुगेको छ ?

स्ट्रेस बढेको हो या होइन भनेर हामीसँग नाप्ने संयन्त्र छैन । कहिलेकाहीँ घनत्वमा निर्भर रहने तत्त्वहरूले गर्दा स्ट्रेस बढ्छ भनिन्छ । हामीले यस्ता कुराहरू सापेक्षिक हिसाबले बुझ्नुपर्छ । उदाहरणको लागि, हामीले क्षेत्रलाई अति उत्तम, उत्तम र ठिकैमा वर्गीकरण गर्‍यौँ भने इन्डियाको काजिरङ्गा राष्ट्रिय निकुञ्जमा २६०० भन्दा बढी गैँडा छन्, जुन गैँडाका लागि उत्तम क्षेत्र हो । हाम्रो कुरा गर्दा, चितवन उत्तममा पर्छ र बर्दिया ठिकैमा । यसरी हेर्दा, नेपालसँग अझै दोब्बर संख्यामा गैँडा राख्ने क्षमता छ ।

डब्लुडब्लुएफले हाम्रोमा गैँडा राख्ने क्षमता कति हो भनेर अध्ययन-अनुसन्धान पनि गरेको थियो । र, यहाँको पारिस्थितिक प्रणाली कस्तो छ भन्ने कुरा उनीहरूलाई भन्दा पनि यहीँ २५/३० वर्ष बिताएकालाई थाहा हुन् सक्छ । हाल हाम्रो देशमा प्रत्येक १०० वर्ग किलोमिटरमा ७ वटा बाघ छन् । तर, भारतमा सोही क्षेत्रफलमा इन्डियाकै कुनै संरक्षित क्षेत्रमा ११ वटा, कुनैमा ७ वटा, कुनैमा ३ वटा र कुनै मा १४ वटासम्म बाघ रहेको पाइन्छ । यसबाट के प्रष्ट हुनुपर्छ भने, क्षमता कति छ भन्ने कुरालाई व्यवस्थापनको कलाले निर्धारण गर्दछ । चितवनको करिब एक हजार वर्ग किलोमिटरलाई हामी कसरी व्यवस्थापन गरिरहेको छौँ भन्ने कुराले यहाँको क्षमतालाई जनाउँदछ । समग्रमा भन्दा, गस्तीकार्यलाई सशक्त बनाउने, वासस्थान व्यवस्थापनमा सुधार गर्ने, मिचाहा प्रजातिलाई नियन्त्रण गर्ने, र गैँडा वासस्थानमा पर्ने असर न्यूनीकरण गर्न विकास परियोजना निर्माण गर्दा वन्यजन्तुमैत्री उपाय अपनाउने लगायत कुराहरूमा सरकार गम्भीर हुनुपर्छ ।

नेपालको वन्यजन्तु एवं घाँसे मैदान व्यवस्थापन पाटो सुधारोन्मुख छ ?

हालको अवस्थालाई हेर्दा केही नगरेको भन्न मिल्दैन, तर, यतिमात्र पर्याप्त छैन । चितवनमा गैँडाकै कुरा गर्दा यहाँ अझै पनि गैँडाको सङ्ख्या कम छ भन्छु म । किनभने, पश्चिम क्षेत्रमा नदी तटीय क्षेत्र बढी भएका कारण त्यहाँको ह्याबिटेट राम्रो छ । चितवनमा गैँडा फस्टाउनका लागि ४/५ वर्षमा भीषण बाढी आउनुपर्छ । बाढीले गैँडालाई केही गर्दैन । बाढीको कारणले ५% जनसङ्ख्या विस्थापित होला । तर, बाढीको जुन रिभर एक्सन हुन्छ, त्यसले गैँडाका लागि नयाँ वासस्थान, नयाँ घोल र नयाँ घाँसे मैदान बनाइदिन्छ । चितवनमा बेलाबखतमा बाढी आएन भने चाहिँ गैँडाको सङ्ख्या घट्छ । तर, सिँचाइ आयोजनाका लागि राप्ती नदीमा तटबन्ध बनाउँदा यसको प्राकृतिक वहावलाई साँघुर्याएको छ भने गैँडाका लागि वासस्थान बन्ने गरेको बाढी फैलिने क्षेत्र खुम्चिएको छ । नदीको माथिल्लो भागका कैयौँ ठाउँमा बालुवा दोहन बढेको छ ।

भारतको काजिरङ्गामा निकुञ्जमा गैँडाको सङ्ख्या बढ्नुमा ब्रम्हपुत्र नदीमा आउने बाढी जिम्मेवार छ । काजिरङ्गामा नदी, घोल, घाँसे मैदान र जङ्गल गैँडालगायतका जनावरका लागि उपयुक्त छ, हाम्रोमा चुरे जस्ता भिराला पहाड धेरै हुँदा पनि घाँसे मैदान व्यवस्थापनमा समस्या छ । हामीले कम्तीमा पनि वर्षको तीन पटक घाँसे मैदान व्यवस्थापन गर्नुपर्छ । साउन भदौमा एक पटक,  कात्तिक–मङ्सिरमा दोस्रो पटक र माघ फागुनमा तेस्रो पटक बुढो घाँस काटेर फाल्न सक्यौँ भने सधैँ हरियो कलिलो र पोसिलो घाँस जनावरले खान पाउँछ । घाँसे मैदान व्यवस्थापनको कुरा गर्दा, चितवनका गैँडाको ४०% आहारा भनेको काँस भन्ने घाँसबाट आउँछ । माइकेनिया मिकारान्था भनिने लहरे वनमारा झारको नियन्त्रण पनि चुनौतीपूर्ण बनिरहेको छ । पार्थेनियम हिस्टेरोफोरस (कनिके झार), लन्ताना कमारा (वन फाँडा ), कोर्मोल्याना ओडोराटा (सेताे वनमारा ) ले गैँडा र घाँसेमैदानमा निर्भर रहने अन्य वन्यजन्तुका लागि नयाँ खतराका रुपमा थपिएका छन् । यस्ता वनस्पति थप फैलिनबाट रोक्ने उपाय अपनाउन अनिवार्य भइसकेको छ ।

गैँडाको सङ्ख्या बढाउने हो भने यस्ता कुराहरूमा ध्यान दिनुपर्छ । क्षमताभन्दा बढी सङ्ख्यामा गैँडा भए भनेर हावाकावा गर्ने बेला भएको छैन, गैँडाको सङ्ख्या वृद्धि विशुद्ध कुशल निकुञ्ज व्यवस्थापनसँग जोडिएको कुरा हो । अब सङ्ख्या बढाउनु  पर्दैन, यतिलाई मात्र व्यवस्थापन गरौँ भने संरक्षणात्मक सोच हामीले राख्नुहुँदैन । हामीलाई बर्दिया र शुक्लाफाँटामा पनि गैँडाको सङ्ख्या बढाउनु छ । जतिबेला चितवनबाट १५ वटा गैँडा वार्षिक रूपमा हार्भेस्ट गर्न सकिन्थ्यो, त्यो बेला ५% वृद्धि दर थियो । राम्रो व्यवस्थापन गर्न नसकी हार्भेस्ट गर्न नसक्दा यो ३% मा झरेको छ । शुक्लाफाँटा र बर्दियामा ५०-५० भन्दा बढी गैँडाको सङ्ख्या बनाउन सकियो भने आगामी १०० वर्षसम्म नेपालमा गैँडा लोप हुँदैन । तर, नराम्रो व्यवस्थापनका कारण गैँडा थारै बस्न सक्छ । यसकारण, गैँडाको जैविक व्यवस्थापन गर्नमा राज्यले जोड दिनुपर्छ । 

अर्को कुरा, भारतले गैँडाको सङ्ख्या बढाउँछु भन्यो भने भारतलाई १५/२० वटा गैँडा दिँदा पनि फरक पर्दैन । भारतबाट हामीले हामी कहाँ नभएको अन्य जनावर ल्याउन सकिन्छ । यसलाई विनिमय कार्यक्रम (एक्सचेन्ज प्रोग्राम) भनिन्छ । । नेपालको गैँडा राज्यको सम्पत्ति हो । यसलाई पनि हामीले फार्मिङ कन्सेप्टमा जान सकिन्छ । दुर्लभ भन्ने तहबाट माथि उठ्यो भने हामीले गैँडाको व्यापार गर्न सक्छौँ ।

Photo: Naresh Subedi

एकातिर वनमन्त्री ‘हन्टिङ’तर्फ जानुपर्छ भन्दै हुनुहुन्छ, अर्कोतर्फ हामी कठोर संरक्षण नीति अभ्यास गर्दै छौँ । यसबारे तपाईँको टिप्पणी ? 

यो गजबको छ, हामीलाई बढी नै कठोर संरक्षण मान्यता पढाइएको छ । अनुत्पादित जनावरको सङ्ख्या वृद्धि हुन्छ भने त्यसलाई मार्दा के फरक पर्छ र ? कुनै गैँडा अथवा बाघ, जुन अबको केही वर्षमा आफैँ मर्छन् अथवा भाले लगाएर पनि त्यसले बच्चा जन्माउन सक्ने अवस्था छैन भने त्यस्तो गैँडा तथा बाघलाई सिकारको लागि अनुमति दिनु राम्रो हुन्छ । यस कार्यले राज्यलाई नै फाइदा छ । हाल, नेपालले एउटा बाघ संरक्षणको लागि करिब दुई अर्ब लगानी गरिरहेको छ । भविष्यमा उत्पादन नदिने बाघ तथा गैँडालाई यसरी लगानी गरेर बचाइराख्नु भन्दा सिकार गर्नको लागि अनुमति दिँदा ह्याई भ्यालु पर्यटक पनि आकर्षित हुन्छन् र देशको राजस्व पनि बढ्छ । एउटा आयु पुग्न लागेको अथवा उत्पादनमा योगदान नपुर्‍याउने अवस्थामा रहेको बाघ वा गैँडा सिकार गरेर प्राप्त रकमले यहाँका दर्जनौँ बाघ तथा गैँडाको अझ राम्रो व्यवस्थापन गर्न सकिन्छ भने हामीले त्यसतर्फ किन नसोच्ने ? हन्टरको सोख पनि पुरा हुने, उसले दिएको रकमले संरक्षणमा पनि योगदान पुग्ने ।  सिकार सोख पाल्ने नै गर्ने कुरा हो । विश्व बजारमा हेर्दा सिकारीसँग पर्याप्त पुँजी छ । यसर्थ, बाघ, गैँडा लगायतका लोपोन्मुख जनावर देशका सम्पत्ति त हुन्, यिनीहरूलाई कसरी सु-व्यवस्थित गर्न सकिन्छ भन्ने राज्यले सोच्ने बेला आएको छ । मार्नै हुन्न भन्ने मान्यतालाई अब परिवर्तन गर्नुपर्छ ।

नेपालमा ४५% वन क्षेत्र छ तर, कूल राष्ट्रिय उत्पादनमा ४% मात्रै योगदान छ । यसकारण, राज्यले पर्यटकीय क्षेत्रमा लगानी गर्न हिचकिचाइरहेको अवस्था छ । यदि हामी हन्टिङमा गयौँ भने हामीसँग वाइल्डलाइफ टुरिजम अझ फस्टाउनेछ । 

गैँडा स्थानान्तरण किन आवश्यक छ ?

शुक्लाफाँटा वन्यजन्तु आरक्षमा हाल १७ वटा गैँडा रहेका छन् । गैँडाको सङ्ख्या त्यतिमै सीमित हुनुहुन्न, कम्तीमा ५० वटा भन्दा बढी हुनुपर्छ भन्ने हाम्रो कुरा हो । बर्दियामा पनि गैँडा स्थानान्तरण गर्न सक्ने अवस्था छ ।  चितवन गैँडाको लागि भण्डारको रूपमा रहेको छ, यहाँको गैँडालाई अन्यत्र स्थानान्तरण गर्नुपर्छ । यसो गर्दा चितवनमा कारणवश गैँडा सकियो पुनः त्यहीँबाट स्थानान्तरण गर्न सकिन्छ । यसप्रकार गैँडाको लागि कम्तीमा तीनवटा स्थानमा सुरक्षित गरिदियौँ भने ३०० देखि ५०० वर्षसम्म गैँडा लोप नहुने गरी संरक्षण र व्यवस्थापनका कार्यहरू अगाडि बढाउन सकिन्छ । गैँडाको लागि चितवन फस्ट क्लास ह्याबिट्याट हो, बर्दियाको कर्णालीतर्फको भेग सेकेन्ड क्लास र बबई थर्ड क्लास हयाबिट्याट हो । थर्ड क्लास ह्याबिट्याटलाई उपयुक्त व्यवस्थापन गरेर सेकेन्ड क्लास ह्याबिट्याट बनाउन सकिन्छ । बबई थर्ड क्लास हुनुमा त्यहाँ पानीको अभाव छ, घोलहरू यथेष्ट छैन । 

Greater one-horned rhino moved to Shuklafata, (File Photo)

बबई कसरी थर्ड क्लास ह्याबिट्याटमा रुपान्तरण  भयो ?

सन् १९८४ मा बबई भ्यालीबाट सानो सिरी र ठूलो सिरी भन्ने दुई वटा बस्ती बाहिर निकालेका थियौँ । जुन हाल बर्दियाको तारा तालतर्फको भेगमा अवस्थित छन् । त्यतिबेला १५७२ घरधुरीलाई ल्याएको थियौँ । उनीहरूलाई त्यहाँबाट ल्याउनुभन्दा अगाडि बबई भ्याली पुरै धान खेतको रूपमा रहेको थियो । त्यस धान खेतमा किसानले परम्परागत कुलो चलाउँथे, बबईको पानी लगाउँथे । सोहीकारण त्यहाँ  त्यसबेला थुप्रै घोलहरू थिए । हामीले बस्ती त उठायौँ तर ती पुराना घोलहरूलाई ब्युँताउन सकेनौँ । जब सन् १९९१ मा त्यहाँ गैँडाहरू लग्यौँ, त्यतिबेला ती घोलहरू थिए । 

त्यतिबेला बबई नै छनौट गर्नुको कारण थियो । बबई भ्याली चारैतर्फबाट घेरिएको हुँदा गाउँलेलाई दुख दिँदैन, भारततर्फ पनि जाँदैन र मानववस्ती पनि बाहिर निकालिएकाले वन्यजन्तु आबाद हुनेछन् र नेपालकै उत्कृष्ट पर्यटकीय क्षेत्र बन्न सक्छ भन्ने परिकल्पना गरिएको थियो । तर, पछि गएर ती परम्परागत सिँचाई प्रणाली पुरिएर गए, भएका घोलहरूको पनि संरक्षण गर्न सकिएन, घाँसे मैदानको पनि व्यवस्थापन गर्नमा हामी चुक्यौं । समग्रमा भन्दा लगानीको अभाव भयो । यसरी त्यो ठाउँ थर्ड क्लास हयाबिट्याटमा रुपान्तरण  हुन् पुग्यो । अझै पनि यसलाई सही तरिकाले व्यवस्थापन गर्न सके २०/३० वटा गैँडा बस्न सक्ने अवस्था छ । अहिलेकै अवस्थामा सुख्खा सिजनमा अलिकति अप्ठ्यारो रहेता पनि मनसुनमा समस्या छैन ।

अब, हामी कोषमा आऔँ । कोषले हाल केकस्ता रणनीतिक योजनाहरू ल्याएको छ ?  

हामीले “Conservation for Development” भन्ने थिम ल्याएका थियौँ, जुन अझै पनि मान्य छ । राज्यले बोकेको “समृद्ध नेपाल, सुखी नेपाली” भन्ने कुरालाई पनि योगदान दिने हिसाबले पनि भिजन ल्याएका छौँ । मानव वन्यजन्तुको सहअस्तित्वलाई कायम गर्ने एवं संरक्षणले समृद्धिमा योगदान गर्छ भन्ने भिजन बोकेर हिँडिरहेका  छौँ । यो भिजनलाई प्राप्त गर्नको लागि विभिन्न रणनीतिक योजनाहरू पनि ल्याएका छौँ । यी रणनीतिहरूमा विभिन्न प्रजातिलाई  संरक्षणलाई केन्द्रमा राख्ने, पारिस्थितिक प्रणालीलाई बलियो बनाउने, क्लाइमेट चेन्जका कुराहरूलाई पनि ध्यानमा राख्ने जस्ता योजनाहरू मुख्य  छन् । कोषको मुख्य उद्देश्य भनेको अनुसन्धान, अनुगमन, अध्ययनहरूलाई अगाडि बढाउने, लैङ्गिक समानता, सुशासनमा ध्यान दिने हो । हालसम्म भिजनअनुसार नै काम हुँदै आइरहेको छ । भिजनिङ गर्नु एउटा कुरा हो, स्रोत साधन जुटाउनु अर्को कुरा हो । हामी यही रणनीतिबाट नै निर्देशित छौँ । 

[असोज, ०५, २०८० मा टुरशालामा प्रकाशित]

Leave a Reply