बिहानकै समय भए पनि चरक्क गर्मी थियो । तर, जानकी मन्दिर परिसरको शीतलता बेजोड थियो । कला, संस्कृतिको सामाजिकीकरणको बढ्दो न्यूनताले कठ्याङ्ग्रिइरहेका हरकोहीलाई यस परिसर मनतातो लाग्छ, लाग्छ । मुगल, जयपुर एवम् हिन्दू वास्तुशैलीको अनुपम सङ्गमस्थल यस मन्दिर परिसरमा कुनै तिथिमिति या चाड विशेष नभए पनि आफ्नै रूप, रङ्ग, शब्द, सुर, ताल र अभिव्यञ्जना गुन्जित/ध्वनित थियो ।
दर्शनार्थीहरूको श्रद्धा, रुचि र संलग्नता निकैबेर नियालिबसेँ । एउटा अनौठो प्रेरणाले मलाई ङ्याक्दै लग्यो । यो कोट्याइ, यो कुत्कुत्याइ, यो पर्यावरणलाई चुपचाप पिइरहेँ, घुट्क्याइरहेँ । म जान्दथेँ, ‘यो सन्तुष्टि अन्तिम होइन, प्रस्थानबिन्दु हो । जनकपुरले मलाई अझ पटक-पटक चकित पार्नेछ ।’ भौतिक आविष्कार (जानकी मन्दिरको वास्तुकला एवम् इन्जिनियरिङ) को मात्रै कुरा रहेन, यहाँ प्रवाहित वस्तुवस्तुमा भाषा, धर्म, कला र आध्यात्मिक चिन्तनको लेपन देखिन्थ्यो । एउटा प्राचीन नगरीको सानोतिनो अंश महसुस अझ जीवित छ र त्यसको मसिनो अंशमा म पनि घटित छु भन्ने भावाबोधले निकै सन्तुष्टि पो दियो त । संस्कृतिमा चाख नहुने बिरलै मानिस होलान्, साधारणदेखि असाधारणसम्म यसबाट पार पाउन सकेका छैनन् । एउटा सम्पूर्णता सहितको वस्तु आफू सामुन्ने या ऊभित्र आफू उपस्थित छु भन्ने अनुभव नै कता हो कता अपरिभाषित पाएँ । यसैकारण भनेको जनकपुरले मलाई अझ पटक-पटक चकित पार्नैछ, पार्दैछ, पार्नेछ ।
उसो त, मन्दिर परिसरको फोहोर, अव्यवस्थापनले पनि पाइला-पाइलामा चकित पारिरहेकै थियो । एउटा सभ्यथलोमा यस्ता लठेब्रा हर्कत किन गरिँदो हो ? ‘जनकपुर फोहोरमा डुबेको छ’ भनेर भन्न कुनै आइतबार कुर्नु पर्दैन । यहाँ बढिरहेको सहरीकरणको प्रकृति काठमाडौंभन्दा रत्ति फरक छैन । गतिशील जनसङ्ख्या अर्थात् एक विश्वव्यापी रोगका कारण फोहोर व्यवस्थापन नै प्रमुख तगारो यहाँ पनि बनेको देख्दा मन साँच्चै दुख्यो । जानकी मन्दिर प्रवेश गर्नै लाग्दा या भित्रसम्म पनि फोहोरको गन्धले पछ्याउन छाडेन । भारतदेखि आएका दर्शनार्थीहरू, स्थानीयवासीहरू, स्थानीय सरकार सबैसबैसँग दायित्वबोध नलिएको महसुस गरेँ । फोहोरमा मृत कुकुर–बिरालोको गन्ध भेटिनु यहाँको अर्को खासियत रहेछ । जनकपुरमा फोहोर व्यवस्थापनका लागि एकीकृत सहरी विकास परियोजना अन्तर्गत ल्यान्ड फिल साइट निर्माण गर्न एसियाली विकास बैङ्क (एडीबी) ले ४८ करोड रुपैयाँ ऋण सहयोग गर्न चाहेको तर उपमहानगरले चासो नदिँदा ऋण रकम फिर्ता गएको पनि चाल पाएँ । यो कुरा अझ दुर्गन्धित लाग्यो मलाई । एउटा ल्याण्डफिल साइटसम्म नहुनु जनकपुरको दुर्भाग्य हो । टोलमा फोहोर उठाउने गाडी विरलै पुग्ने, फोहोर थुप्रिएको भूसतह माथि लड्डु लगायत बेच्न राखिने, मन्दिरका गेटैमा फोहोर थुपार्ने लगायतका हर्कत नदेखिँदा हुन् त जनकपुरधामको वर्तमान स्वरूपको महिमागान गाउन पनि मजा आउँदो हो । तर, मजस्ता इतिहास र संस्कृति रुचाउने एउटा बबुरोलाई यसको सांस्कृतिक र ऐतिहासिक विरासतमा फोहोर नलागोस् भन्ने चिन्ता पनि बढ्तै हुँदो रहेछ, यसैले जानकी मन्दिरको त्यो सुग्घर ऐतिहासिक एवम् सांस्कृतिक विरासत खोज्नैतर्फ ज्यादा लहसिएँ ।
श्री जानकी विद्युतीय तथा सांस्कृतिक सङ्ग्रालय:
हामी ‘श्री जानकी मन्दिर छुट गुठी, श्री जानकी विद्युतीय तथा सांस्कृतिक सङ्ग्रालय’तर्फ अघि बढ्यौँ । नेपाली १५ र भारु १० टिकट मूल्य थियो । सरद्वय सङ्ग्रालय देखाएर फर्किन्छु भन्नेमा पुग्नु भएकाले टिकट काट्नु परेन । स्थानीयता । यस सङ्ग्रालयको शिलान्यास भारतीय राजदूत शिव शङ्कर मुखर्जीद्वारा २०६४ माघ २८ गते भएको रहेछ । ‘नेपाल भारत सहयोग अङ्कित’ शिलास्तम्भ प्रवेशद्वारमै हुनाले यसमा आँखा पर्यो । हलेश्वरी महायज्ञ, बधाई गान, कोहबर कुञ्ज, तुलसी दास जी द्वारा रामायण वाचन, धनुष यज्ञ, श्री सीताराम विवाह आदिआदि लेखिएका कक्षहरू र कक्षभित्र सोसम्बन्धका विद्युतीय सामग्रीहरू प्रदर्शित थिए । मलाई यी हेर्नमा उति मजा लागेन । कहाँ त्रेतायुगको ती घटना र कहाँ यी बच्चाको खेलौनाजस्ता रिमिकझिमिक ? कमसेकम बनाइसकेपछि मिथिलाकै रङ मिलाइदिएको भए हुने । माटो या प्रस्तरकै मूर्ति खोपिएको भए त्यसमा सुगन्ध थपिने थियो कि ? दोस्रो तलामा रहेको यस कक्षका भित्तामा झुन्डिएका मैथिल चित्रकलाले चाहिँ मन लुट्यो । सरद्वयले निस्कन हतार गरेकाले तल्लो तलामा झर्यौं र गर्भकुटी (शिश गर्भगृह) तर्फ लाग्यौँ । उहाँहरू प्रेम दाइलाई ‘सुरकिशोर एवम् पुराना वस्त्रहरू छन्, मज्जाले हेर्नुहोला’ गर्दै निस्किएको देखेँ । सुरकिशोरको चित्र देख्छु भन्ने खुसीले म निकै अगाडि बढिसकेको थिएँ, उहाँहरूको आवाज मात्रै सुनेँ । सरद्वय, अब अर्को भेट फेरि जुटाउनुपर्छ है ।
गर्भगृह:
गर्भकुटीमा भुँइतलामा रहेको र निकै फोहोर थियो । यहाँ जानकीजीको चन्द्रिका (गहना), श्री जानकीजीको प्राचीन मुकुट, श्री जानकी मन्दिरको सिंहासनमा आसीन देवताहरूको प्राचीन पोसाक (सोमबार, मङ्गलवार गरेर) राखिएको पाइयो । साथै, नरहरिदास, सुविरनदास, रामदास, शुरकिशोरदास, जनकविदेहीदास लगायतका निकै धुमिल र कमसल रुपाकृति देखेँ । यस्तो प्रतीत हुन्थ्यो, ‘यसको रेखदेखको जिम्मा कसैले पाएको छैन या आफ्नो जिम्मेवारी निभाइरहेको छैन ।’ यी ऐतिहासिक चिजवस्तु के हुन् भनी एक वाक्य (Foot Note) सम्म लेख्न कन्जुस्याइँ गरिएको थियो, लेखिएका पनि मेटिँदै थिए । कठै विद्वता । सङ्ग्रालयले विगतमा प्रयुक्त औजार, पहिरन, जनजीवन, संस्कृति आदिको झल्काउने हुँदा जनकपुरको त्यो ऐतिहासिक विरासत यहाँ प्रदर्शित नै हुन् नसकेको पाएँ ।
सङ्ग्रालय मन बहलाउने एवम् मनोरञ्जनात्मक थलो भन्दा पनि ऐतिहासिक परिपेक्ष्यहरू पेश गर्न तयार हुनुपर्छ । कुनै पनि सङ्ग्रालयले अनपढ एवम् प्रकाण्ड विद्वान् दुवैलाई लोभ्याउन सक्ने दक्षता राख्नुपर्छ । सङ्ग्रालय इतिहासलाई जीवन दिने माध्यम हो । पुरातात्त्विक अंश भएका राम, लक्ष्मण, जनक, कुपेश्वरनाथ, जानकी, हनुमानगढी, कपिलेश्वर, रत्नसागर आदिबारे पुरातात्त्विक चासो व्यक्त नभइरहँदा संग्रालयतर्फ के ध्यान जान्थ्यो ? महन्तको एकल व्यवस्थापनमा चलेको मन्दिरमा दशकभन्दा बढी समयदेखि लेखापरिक्षण नहुँदा पनि यो भद्रगोल देखिएको हुँदो हो । यसै हुँदै गएमा मन्दिरमा शोभामान अधिकांश गुम्बज र बुर्जामा प्रयोग गरिएका प्राचीन कलात्मक स्वर्ण गजुर, भगवान् राम, लक्ष्मण र माता जानकीलाई चढाइएका बहुमूल्य आभूषण हराउन (केही हराए पनि, मन्दिरको उत्तरतर्फको प्रवेशद्वारमाथि रहेको ढुङ्गाको कलात्मक सिंह जोडीको हीराजडित आँखा लगायत) के बेर ?
केही अगाडि जनता समाजवादी पार्टीका नेता नवीन यादवले ‘जानकीज टेम्पल ज्वेलरी (Janaki Temple’s Jewellary)’ मन्दिरबाट गायब भइसकेको भन्दै महन्थसामू ती सामग्री सार्वजनिकीकरणको माग समेत गरेका समाचार (न्यूज ब्यूरो: काशिन्द्र कुमार शर्मा, सम्पादक) देखिएका थिए । अर्कोतर्फ, जानकी मन्दिरको गरगहना हराउने डरले तत्कालीन राजा महेन्द्र शाहको आदेशमा २०२० सालमा जानकी मन्दिरका तत्कालीन महन्त रामशरण दास वैष्णवसँग लगत हिसाब गरी मन्दिरका हिरा, मोती, बहुमूल्य पत्थर, सुन र चाँदी (सुनका ५६ किसिमका २ किलो २४० ग्राम गरगहना एवम् चाँदीका ७७ किसिमका २ किलो ८५० ग्राम गरगहना) काठमाडौँ लगिएको थियो । तर वर्तमान महन्त रामतपेश्वर दासले मन्दिरको गरगहना जनकपुरधामवासीलाई दर्शन गराउन भन्दै माग गरेपछि गुठी संस्थानले जानकी मन्दिरका गरगहनाको अत्तोपत्तो नरहेको जवाफ दिएका समाचारहरू पनि काठमाडौंमै हुँदा सुनेको थिएँ । २०६२ साउन २६ मा भोजराज घिमिरेको संयोजकत्वमा गठित उच्चस्तरीय कार्यदलद्वारा प्रस्तुत अध्ययन प्रतिवेदनले पनि ‘ती बहुमूल्य गहना कहाँ र कुन अवस्थामा राखिएका छन्, त्यसबारे व्यापक जनचासो रहे तापनि सन्तोषजनक जानकारी प्राप्त नभएको’ उल्लेख गरेको भेटिन्छ । यसमा मेरो फलोअप नरहनाले यस कुराबारे यो भन्दा बेसी जान्दिनँ । जे होस्, जनकपुरको हकमा यहाँ सङ्कलित पुरातात्त्विक विषयवस्तुमाथि विज्ञहरूको चासो एवम् खबरदारी निरन्तर आवश्यक देखेँ ।
सङ्ग्रालयको संरक्षण शैक्षिक-प्राज्ञिक कार्य भएकाले पनि यस सम्बन्धमा बृहत् छलफल हुँदै होलान् । सङ्ग्रालयलाई सर्वाङ्गीन, बहुपक्षीय एवम् व्यापक स्वरूप दिलाउन खोजिँदै होला । यदि त्यस्तो हुँदै छ भने, इतिहासमा उल्लेखित मानगृह, कैलाशकुटभवन, भद्राधिवासभवन सरह नै रामायणमा व्यक्तिएको जनक दरबारको एउटा रुपाकृतिसम्म सङ्ग्रालयमा रहिदिए कति गजब हुने थियो । झन्, जनकदरबारका पुरातात्त्विक अवशेषहरूको खोजिनीति पनि राष्ट्रियस्तरदेखि नै चालिए सुनमा सुगन्ध नै हुने थियो । यो आग्रह जनकलाल शर्माले पनि गरेका छन्, “पुराणमा यसको महत्त्व जतिसुकै भए तापनि पुरातात्त्विक दृष्टिले यस भूमिमा खोज भएको छैन (चितवनदेखि जनकपुरसम्मका केही पुरातात्त्विक स्थल, पृ.६) ।”
गर्भगृहबाट बाहिरिँदै गर्दा म अर्को प्रश्नले पनि ङ्याकिएँ, “यहाँ प्रदर्शित सामाग्रीहरू पुरातात्त्विक हिसाबले कत्तिको महत्त्वपूर्ण छन् ? जानकी मन्दिर बनेकै धेरै समय (मूर्ति प्रतिष्ठा मिति: १९६७ साल माघ २८ गते तदनुसार ११ फेब्रुअरी १९११ इस्वी) नभएकाले यी सामग्रीहरूको आयुका सम्बन्धमा पनि सोचेँ, जसको हालसम्म पनि उत्तर पाएको छैन । यहाँ फोटो खिच्न मनाही थियो तर ‘खिच्न’ पाइन्थ्यो किनकि सबै खिचिरहेका थिए । यसकारण मैले पनि शुरकिशोर लगायत केही सामग्रीलाई क्यामरामा कैद गर्न पाएँ ।
यसपछि बाहिर निस्किवरी माख्लो तला चढ्यौँ । जहाँबाट जानकी मन्दिरको भव्यता निकै सूक्ष्म तवरले नियाल्न पाइन्थ्यो । जानकी मन्दिरको गर्भगृहमा लागेको दर्शनार्थीको घुइँचो पनि नियाल्न पाइन्थ्यो । साथमा नेपालकै विशाल मन्दिरमै रहेर उसकै रुपाकर नियाल्ने मेरो दुस्साहस पनि बरोबर चल्दै थियो ।
जानकी मन्दिरको भव्यता:
यो क्षेत्रफलको आधारमा नेपालकै सबैभन्दा ठुलो मन्दिर हो । ४९ हजार ५५५ वर्गफिटमा फैलिएको यो मन्दिर करिब ५० फिट अग्लो छ । पूर्वतर्फ फर्किएको यस मन्दिरको शोभा चारैतिरका ठूला र साना गुम्बजहरूद्वारा प्रकटीकरण भएको छ । चारै कुनामा तीन–तीन वटाका दरले बनाइएका बाह्रवटा कलात्मक बुर्जा र अन्य साना ठुला बुर्जाहरूलाई नियालिरहँदा अलग्गै महसुस हुँदो रहेछ । अझ गुम्बजमाथिको सुनौलो गजुर, फराकिलो परिसर त्र आकारको प्रवेशद्वार र प्रवेशद्वारको दुवैतिर र माथि बनाइएका विभिन्न चित्रले मन्दिरको भव्यता बढाएको छ । यस सम्बन्धमा रोशन जनकपुरी लेख्छन्, ‘पूर्व उत्तरी द्वारको माथिको बुर्जामा ढुङ्गाका दुईवटा पूर्ण कदका सिंहहरू निर्मित छन् । यी सिंहहरूको बीचमा सङ्गमर्मरका एउटा विशाल अण्डाकार प्लेट छ, जसमा अङ्ग्रेजी वर्णमालाको ‘पी’ र ‘एस’ अक्षर अङ्कित छ । यसको अर्थ केहीले ‘प्यालेस अफ सीता’ र केहीले यसलाई टिकमगढका राजा प्रतापसिंहको साङ्केतिक अक्षरको रूपमा अर्थ्याउँछन् । किल्लाभित्र गर्भगृहको ठीक पछाडि पश्चिमपट्टि सीताको माता र पिता सुनयना र सीरध्वज जनकको मन्दिर छ । एउटा भनाइअनुसार यहाँ मन्दिरको उत्तरपट्टिको अरगजा सर (तलाउ)बाट प्राप्त मूर्तिहरू स्थापित गरिएको हो (जनकपुरी: कथा जनकपुरको, टूर न्यूज) ।’ जानकी मन्दिर कलात्मक दृष्टिकोणले अलौकिक एवम् जानकी मन्दिर परिसर पुरातात्त्विक दृष्टिकोणले महत्त्वपूर्ण छ भन्न कतै लोभ गर्नुपर्दैन ।
जानकी मन्दिरको भव्यताको गुणगान गाउन जनकलाल शर्मा पनि कन्जुस्याइँ गर्दैनन् । उनी लेख्छन्, “यस मन्दिर दुई भागमा विभक्त छ । बाहिरी भागमा अत्यन्त सुन्दर गिर्दा छ, जसमा अनेक स्वर्ण गजुरको सजावट छ । बाहिरी भागमा ‘शीशमहल र तहखाना’ प्रसिद्ध छन् । आजकल जनकपुर आउने विशिष्ट व्यक्तिहरू शिशमहलमा बस्छन् र अन्य भागमा सामान्य यात्री । गिर्दाको भित्री भागमा चारैतिर प्राङ्गण छ र त्यसभन्दा भित्र मुख्य मन्दिर छ । भित्री मन्दिरमा किम्ती सिङ्गमर्मरले भुइँ छापिएको छ । साथै माथिल्लो महल किम्ती सुवर्ण गजुरले युक्त छ । यसै मन्दिरमा वैरागी सुरकिशोरदासले भेटेको जानकीकीको मूर्ति पनि राखिएको छ । वास्तवमा त्यो मूर्तिको प्राधान्य आज छैन । यो मूर्ति पनि ईसाको एघारौँ शताब्दीभन्दा पुरानो हुन् सक्दैन । आजकाल विशेष प्रतिष्ठा भएका मूर्ति चाहिँ मन्दिर बनाउँदा बनाएर राखिएका सेता सिङ्गमर्मरका मूर्ति छन् (चितवनदेखि जनकपुरसम्म केही पुरातात्त्विक स्थल, पृ. ७)।”
शर्माले जानकी मन्दिर निर्माणको पक्षमा अर्को आलेखमा यसरी बोलेका छन्, “टीकमगढकी महारानी वृषभानुकुमारीदेवीले सर्वप्रथम नौ लाख रुपियाँ पर सारेर बनाउन सुरु गरेको हुँदा यसको नाम नौलखा मन्दिर रह्यो । यद्यपि यसको निर्माण समाप्त हुँदा सत्र लाख लाग्यो भन्ने विश्वास छ । यस मन्दिरमा वृषभानुकुमारीले स्थापना गरेको सङ्गमर्मरको मूर्तिका छेउमा सन्त किशोरदासले पत्ता लगाएको जानकीको मूर्ति पनि अद्यापि विराजमान छ । सूरकिशोरदासले त्यो जानकी मूर्ति फेला पारेर त्यस समयका राजा मकवानीसेनबाट राज्याश्रय नदिलाइदिएको भए जनकपुर पुरातत्त्वका विद्यार्थीका निमित्त अन्वेषणको विषयवस्तु मात्रै हुने थियो । यस्तो महत्त्वपूर्ण काम गरिदिने अज्ञात सन्त सूरकिशोरदास हाम्रा धन्यवादका पात्र छन् । यस्ता विभूतको कदर गर्नु नेपालीमात्रको परम कर्तव्य हुन् आउँछ (शर्मा: जनकलाल शर्माका प्रबन्ध, पृ. ५५) शर्माले जसप्रकार यहाँ जनकपुरको पुरातात्त्विक अवशेषको चिन्ता व्यक्त गरेका छन्, पङ्क्तिकारको हालत पनि उही छ ।
मन्दिरकै नामकै सन्दर्भमा कुरा गर्दा- हिन्दू वाङ्मयमा अनुपम, विलक्षण, आश्चर्यजनक वास्तु, भवनलाई सबभन्दा उत्तम दर्जाको एकाइमा भन्नुपर्दा नौ भनिने हुँदा नौ लाखा भनिएको हुन सक्ने तर्क पनि यहाँ सुन्न पाइन्छ । नौ लाखमा बनेकाले ‘नौलाखा’ भनिएको भनिने कथनभन्दा यो अलि बलियो हुन् आउँछ, किनभने मन्दिरको निर्माण १५ लाख भन्दा बेसी खर्च भएको थियो । अन्वेषक नारायण रिमालले एक ठाउँमा मन्दिरको निर्माणमा त्यस बेलाका बेलायती महारानीका चाँदीका सिक्काहरू रु तीन चार लाख खर्च भएको छ। साथै उनले मूर्ति प्रतिष्ठाको अवसरमा महारानी वृषभानुको मृत्यु भइसकेकाले दोस्रो महारानी गणेश कुँवरीको सहभागिता रहेको समेत उल्लेख गरेका छन् (विश्व सम्पदाको सूचिमा सूचीकृत हुन प्रतीक्षारत जानकी मन्दिर: वीरेन्द्र रमण, नेपाल आज) । गणेश कुँवरी नभएर कान्छी महारानी महेन्द्र कुमारी उपस्थित भएकी आरबी काप्रीले उल्लेख गरेको समेत भेटिन्छ ।
जानकी मन्दिर होइन ‘जानकी महल’ :
जानकी मन्दिर मन्दिर नभएर ‘महल’ भएको एवम् यसलाई धार्मिक स्थलको रूपमा तत्कालीन समयमा नबनाइएको तर्क संस्कृति एवं इतिहासका जानकार नमोनारायण झाले जनतापोस्टसँग गरेको पनि भेटियो (जनकपुरको प्राचीन चिनारी : दरबार थियो अहिलेको जानकी मन्दिर: वीरेन्द्र केएम, जनतापोस्ट) । उनले भनेका छन्, “भारतको ताजमहल जस्तै नेपालको जनकपुर महल हो । धनुषा सागरमा भेटिएको राजा जनकको दरबारको अवशेषलाई ल्याइएर यहाँ प्रतिस्थापन गरिएपछि यसको नाम जनकपुर मन्दिर भनियो । यो प्रेमकै प्रतीकको रूपमा बनाइएको महल हो ।” सो आलेखमा यस मन्दिर राजस्थानका कालिगड समसुदिन तसगलकले बनाएको समेत उल्लेखित छ । सोही लेखमा अर्का संस्कृतविद् महेन्द्रनारायण मिश्रले मुसलमानले बनाएकाले यसमा मुस्लिम प्रभाव देखिएको बताउँदै झासँग सहमति जनाएका छन् ।
भूमाफियाका कारण पुरातत्त्व गुम्ने डर:
जानकी मन्दिरको सन्दर्भमा कुरा गरिरहँदा यसलाई शोभायमान बनाउने भन्दै मुख्यमन्त्री स्वच्छता अभियान अन्तर्गत गरिएका कर्तुतहरूलाई कोट्याउनु पनि मुनासिब हुन्छ । यस सन्दर्भमा पानी निकासका लागि माटोमुनि जडान गरिएको ह्युम पाइप समेत गुणस्तरहीन रहेको पाइएकाले धेरै अलमलिनु जरुरत पनि परेन । जानकी मन्दिर परिसर तथा मन्दिर भित्रको टाइल्स, मार्बल, गेट निर्माण तथा मर्मत सम्भारसहितका भएको सौन्दर्यीकरण र मधेस प्रदेश सरकारकै कार्यक्रम अन्तर्गत बृहत्तर क्षेत्र विकास परिषद् द्वारा गरिएको लाइट जडानमा व्यापक भ्रष्टाचार भएको जगजाहेर प्रसङ्ग हुँदै हो । जानकी मन्दिरको पुरानो श्रेस्ता गुठी संस्थान कार्यालय जनकपुरधाममा फेला नपर्नु थप सर्वविदित प्रसङ्ग हो । जानकी मन्दिरको केही जग्गा रेल्वे, जनकपुर चुरोट कारखाना लिमिटेड (हाल मधेस प्रदेश सरकार), परिक्रमा सडक र अस्पतालमा गाभिए पनि बाँकी खै भनी प्रश्नहरू सोधिरहनु पर्नेछ नै ।
धेरैभित्र नपसी भन्दा – मन्दिरलाई शोभायमान बनाउन भन्दै लगाइएको पछिल्लो रङले चाहिँ मन्दिरको मौलिकता बिगारेको छ, सुर्खी, इट्टालाई दक्खल पुर्याएको आँखा भएका हरेकले देख्छन् । मन्दिर परिसरमा रहेका ६० वटा कोठामध्ये अधिकांश कोठाका पर्खाल कालो भएका र आधुनिक किसिमले विश्राम कक्ष निर्माण गराई यसको प्राचीन स्वरूप ध्वस्त पारिएको छ । जनकपुर नगरपालिका भित्र १४ राजगुठी रहेको (जानकी मन्दिर, सीता कुण्ड र वीरपुर गुठी अलग्गै रहेको) एवम् गुठीहरूसँग मुस्किलले १० प्रतिशत जग्गा मात्र अवशेष बाँकी रहेको स्थानीय गल्लीहरू कानेखुसी गर्छन् । जनकपुरको सबैभन्दा बढी जानकी मन्दिरको साबिक ६ हजारमध्ये ५ सय ३० बिघा जमिन भूमाफियाको कब्जामा गइसकेको उनीहरू बताउँछन् । एउटा कुरा चाहिँ भन्नु नै पर्छ- यसै मन्दिरको संरक्षणका लागि धनुषा र महोत्तरी जिल्लामा विभिन्न २३ गुठी खडा गरी ६ हजार बिघाभन्दा बढी जमिनको देवगुठी स्थापना भएको थियो । जनकपुर संरक्षणका दाताले दान गरेका जानकीको ६ हजार बिघा गुठीको जमिनमध्ये ५ हजार बिघा गुठी गायब हुनु साँच्चैमा डरमर्दो कुरा हो । यस्तो हुँदा यस मन्दिर सहित सम्पूर्ण जनकपुरधाम युनेस्कोमा सूचिकृत होला एवम् यसको पुरातात्त्विक खोजी होला भनेर कसरी पो भन्नु ?
जनकपुरको पुरातात्त्विक अवशेषहरूको कुरा गर्दा राम मन्दिर पुग्नु अनिवार्य हुन् आउँछ, त्यता लाग्नुपूर्व वृषभानु कुमारीदेवीबारे केही कुरा बताएर यसलाई तुरौँ ।
जानकी मन्दिरको शतवार्षिक २०५१ सालमा मनाइयो । वि.सं १९५२ साल माघ २८ गते टिकमगढकी महारानी वृषभानु कुमारी (कुम्मरि) ले नरेश प्रतापनारायण सिंहसँगै शिलान्यास गरेकी तथा जानकी मन्दिरका तेह्रौँ महन्त रामकृष्ण दासको पालामा विसं १९६७ सालमा उद्घाटन गरिएको जानकी मन्दिर परिसरमा आइपुग्दा वृषभानु कुमारीलाई बिर्सन मिल्दैन । जानकी मन्दिरका निर्माताहरूको शिलालेख वा तस्बिर मन्दिर परिसरमा खोजिराथेँ, जो मन्दिरका महन्त रामतपेश्वर दासको कक्षमा छ भन्ने जान्नमा आयो । जान्नमा आएअनुसार, महन्त रामतपेश्वर दासको कक्षमा सन्त तस्बिरको हारमा महारानी भानु कुँवरी र उनी छोरा लिएर प्रसन्न मुद्रामा बसेकी देखिन्छन्, साथमा राजा प्रताप सिंह छँदै छन् । महन्तले ११ बजेपछि आफ्नो कक्षमा बोलाएको हुँदा त्यतिन्जेलका लागि हामी मन्दिर प्राङ्गणको फन्को मार्दै ‘सीताराम, सीताराम’का भजनहरू सुन्न लाग्यौँ । थाहा हुन् आयो- मन्दिरमा बिहान ७ बजे र बेलुका ८ बजे आरती हुन्छ । दिउँसो १२ देखि ४ बजेसम्म गर्भगृहको ढोका खुल्दैन ।
प्रेम दाइले विवाहमण्डपतर्फ डोर्याइहालेकाले यस सम्बन्धमा पनि केही कुरा भनौँ;
विवाहमण्ड:
जानकी मन्दिर नजिकै उत्तरतर्फ रहेको विवाहमण्डप जनकपुरको अर्को आकर्षण हो । उक्त मन्दिरभित्र तहखाना रहेको छ । तहखानामा प्राचीन मूर्ति, पहिरन, खेलौना, आभूषणसहित दुर्लभ सामग्री राखिएको छ । मन्दिर परिसरमा पश्चिमतर्फ राजर्षि जनकसहित उनका परिवारका मूर्तिहरू, आन्तरिक शृङ्गार मण्डप, हिन्दू वस्तु, ढाँचाअनुसार मन्दिर निर्माण गरिएको छ । मन्दिरको उत्तरतर्फ २४ सै घण्टा अखण्ड सीताराम जप भइरहेको हुन्छ ।
प्यागोडा शैलीको विवाहमण्डप तत्कालीन राजा वीरेन्द्र शाहको पूर्वाञ्चल र मध्यमाञ्चल क्षेत्रको भ्रमण हुँदा वि.सं. २०४१ मा निर्माण गरिएको थियो । यस विवाहमण्डपमा भगवान् राम, सीताको स्वयंवर हुँदाका उपस्थित भएका राजा जनक, दशरथ, ऋषिमुनि, वाल्मीकि, भरत, शत्रुघ्न, सुनैना, कैकेयीलगायत १२५ देवीदेवताका सिङ्गमर्मरका मूर्ति प्रतिस्थापित छन् । जो सुन्दर प्रतीत हुन्छन् । यहाँ निकै भिडभाड लागिसकेकाले पुनः जानकी मन्दिर भित्रै पस्यौँ ! मूल महन्तलाई भेट्ने समय नजिक आउँदै थियो ! उनीबाट बोलावट आउनुपूर्व सोचिरहेँ- १२ वैशाखको महाभूकम्प थेगेको यो सम्पदालाई भविष्यको धक्काबाट जोगाउन पूरा मन्दिर परिसरको विस्तृत नक्शांकन जरुरी छ, महन्त यस कुरामा कति सहमत देखिएलान् ?
अस्तु !
तस्बीरहरू : राजु झल्लु प्रसाद
सन्दर्भ-स्रोत:
दैनिक करोडौँ ‘घाटा’ : शाहीमान राई, कान्तिपुर
जनकपुरको प्राचीन चिनारी : दरबार थियो अहिलेको जानकी मन्दिर: वीरेन्द्र केएम, जनतापोस्ट
मन्दिरको जग्गा बेचिसके महन्तले, विवाहमण्डपको भूमि भूमाफियाको खल्तीमा, अन्नपूर्ण पोस्ट
विश्व सम्पदाको सूचिमा सूचीकृत हुन प्रतीक्षारत जानकी मन्दिर: वीरेन्द्र रमण, नेपाल आज
जनकलाल शर्माका प्रबन्ध: बगर फाउन्डेसन नेपाल
मैथिली संस्कृति : डा. रामदयाल राकेश
जनकपुरका सांस्कृतिक सम्पदाहरू जोगाउनै पर्दछ- आरबी काप्री
IMPACTS OF RELIGIOUS TOURISM IN JANAKPUR: Adhikari, Shyamchandra
चितवनदेखि जनकपुरसम्मका केहि पुरातात्त्विक स्थल : जनकलाल शर्मा
लेखकका अन्य सिर्जनाहरू पढ्न यहाँ क्लिक गर्नुहोस्…#मिथिलाङ्ग#राजु झल्लु प्रसाद
(साहित्यपोस्टमा २०७९ पौष ८, शुक्रवार ०८:०१ मा प्रकाशित)