विकल जी, म बाथरुम छिरेको थिएँ ।
बाहिर सिमसिम झरी झरिरहेछ । म केहिबेर ढोकाबाहिर रहे, केहि बूँद पानीका थोपा थपक्क थपक्क गरीगरी मेरो पातला कपालमा थप्किरह्यो (परिरह्यो)। यी पानीका थोपाहरू ‘थुपुक्क..थुपुक्क..’ परेर बस्न सक्दैनन्, जसै भुइँमा खस्छन्,..बज्रन्छन् । प्वाट्ट फुट्छन् र विपरित दिशामा समान्तर गतिमा पर..पर सम्म पुग्छन् । त्यसपछि जलाश्रय लिन्छन् । ती बाटुला-गोला थोपाहरू तरल स्वरूप धारण गरी मेरै पैताला मुनितिर छिर्छन् । पैतालामा काउकुती लगाइदिन्छन् । एक असीमित तृप्ति । भावातिरेक समय चौतारी । म यो समयलाई निलिरहन चाहन्छु । बादलले बगर निले झैँ । बगरले नदि निले झैँ । नदीले माझिलाई निले झैँ ।
जसै ढोकाभित्र छिर्छु, मेरो दृष्टिगोचर हुन्छ कि घरमा बत्ति छैन । एक मन त उडूँ उडूँ लाग्छ, बेलुन झैँ । माथि..माथि आकाशसम्म । बादलहरू छेडेर पनि उडूँ, आकाश चिरेर पनि उडूँ जस्तो..! हातलाई पखेटा बनाऊँ र आकाशगङ्गाको एक फन्को मारेर फर्कौँ । मन बेलुन हुँदा फोक्सो कति खुसी भएको ? माम्पाखा फोक्सो, जोडजोडले बेलुनमा प्राणवायू भरेर आफूलाई मात्रै उडाइरहेछ ! ‘ए ! म पनि उड्छु नि । पर्खी ।’-हृदय चिच्याइरहेछ । हृदय र फोक्सो यो लछारलुछुर…! हाय । क्या रोमान्टिक विसंगति ।
नाथे..केहिबेरका लागि वर्खामासमा बत्ति जानु पनि २१औँ शताब्दीको लागि हर्षतिरेक देउराली भइदियो । जहाँ सामाजिक सन्जाल, बिथोलिरहने म्यासेज/च्याट र किबोर्डमा कुप्रिँदै नाचिराख्ने बन्धक औँलाहरूले स्वतन्त्रताको हावा खाइरहन पाउने भए । आफ्नो फोक्सो भर्न पाउने भए । यो देउराली, यति सुरूचीपूर्ण सावित भइदिन्छ कि केहिबेर निभिरहेको इन्डिकेटर देखेर म यसै यसै मख्ख परिदिन्छु । मानौँ प्रेमिका जी भर्खरै नुहाएर आउनु भएको छ र आफ्नो भिजेको कपाल हल्लाउँदै मतिर पानी छम्कँदै हुनुहुन्छ । र, म उहाँको चिउडोको कालो कोठी हुँदै घाँटी आसपास आइपुगेर लडीबुडी खेलीरहेका पानीका दानाहरू समाउदै हत्केलामा लिग्दै छु र जिब्रोले चाट्दै छु । यसै बेला प्रेमिका जी भनिदिनुहुन्छ, ‘कति खस्रो जिब्रो, छ्या !’ म अझ दाम्लोमा बाँधिएको राँगो बनेर उहाँलाई हुङ्कार दिइराख्छु, ‘मेडम जी, हजुर यतिबेला सुकेको हाँगो बन्नुपर्छ क्या ।’ त्यसपछि उहाँ भनिदिनुहुन्छ- ‘राँगाहरू सुकेका हाँगामा कहाँ बाधिन्छन् र ?”
तपाईंलाई यो पनि मन पर्न सक्छ
एक अलिखित आख्यान : काैशिला दिदी – गगन याेक्पाङ्देन
चिखता है – राजु झल्लु प्रसाद
सन्ध्या आचार्यका दुई लघुकथा
‘सवा कट्टु पौने पोँइठ’ – राजु झल्लु प्रसाद
प्रेमीका जीको खस्न लागेको आँचल सम्झी सम्झीकन मन चञ्चल-चञ्चल हुनुपूर्व नै म आफ्नो कोठाभित्र पस्छु ।
कोठामा बडो शान्ति छ । कतै चम्पारन ब्लुज लडिरहेको छ, कतै नेपाली लोककथाको एउटा कुनै पानो पल्टिरहेको छ । कतै एस्ट्रे र चुरोटको दोहोरी साँझ चलिरहेको छ । कतै डसना र तकियाको बक्सिङ च्याम्पियनसीप । अलि पर,..बाफ छोडिरहेको ‘कफी गाग्री’ माथि ‘आज फेरी एउटा तन्ना फेरिन्छ’ चुपचाप उँगिरहेको छ । कलमदानीका कलमहरूले सामाजिक दूरी मेन्टेन गरेछन् कि कुन्नी कोहि भुइँतिर, कोहि टेबलतिर असरल्ल छन् । कपाल एवं दारीका रौँहरू र परालका तान्द्रा (छ्यास्किना) हरू कोठामा चारकुने भूगोलभरि तितरवितर भएका छन् । तर पनि कोठामा बडो शान्ति छ । म बाहेक यहाँ अरू कोहि छैन र मेरो बाहेक यहाँ कसैको केहि छैन । समग्रमा, जताततै म नै म छु । मेरा सामानहरू मेरो अल्छ्याइँ र बहुलठ्ठी देखेर म नभएका बेला एक-अर्कासँग गफ-सफ गर्दा हुन्, मेरो उछितो काढ्दा हुन् । मेरो ओइरो खन्दा हुन् । तर जे होस्, कुरा त मेरै हुँदो हो । र, त भनेको कोठा ठ्याक्कै म भएको छ । मेरै किम्वदन्तीहरूको पटकथाहरू जस्तै । मेरा कविताहरू पंक्तिहरू जस्तै । मेरा सारेगमका स्वरहरू जस्तै। मेरै थकान र हाँसखेलहरू जस्तै ।..
बार्दलीमा गुन्द्री ओछ्याएको थिएँ, गुन्द्री त उठाए तर परालका छ्यास्किनाहरू उठाउन भुलेछु । बाथरुम गइकन आउँदासम्म हुरीले सब कोठाभित्र हुल्दिएछ । खैर, यी परालका तान्द्राहरूले त्यति बिगार केहि गरेको छैन । बरू पहेँला पहेँला यी तान्द्राहरू सुन भाँती चम्कीरहेका छन् । सुनसँग मेरो मोह केही होइन तर कहिलेकाहीँ मनले भन्दिन्छ के- ‘बहुमूल्य कुराहरूको बारेमा पनि सोची बस्, त्यसबारे पनि तैँले लेख्नुपर्छ । ती पनि लेख्नलायक कुरा हुन् ।’ कुरा त ठीकै हो- बहुमुल्यता धारण गरेका सुनजस्तै यावतयावत कुराहरू पनि उत्तिकै लेख्नलायक प्रसंगहरू हुन् । परालका तान्द्राहरूबारे लेखिरहँदा सुनका ढिक्काहरूबारे चाहिँ नलेख्न मलाई कसले रोकेको छ ? यस्तै सोचिरहँदा दुनियाँभर चलेको ‘गोल्ड रेस’बारे चम्पारन ब्लुजको दितीय या तृतीय खण्डमा रोशन शेरचन दाजूले लेख्नुभएको एउटा प्रसंग सम्झन पुग्छु- दक्षिण अफ्रिकी देशमा वितण्डा मच्चाएको ‘कालो र पहेँलो रङ’ बारे एउटा निबन्ध । रंगभेदसँग जोडिएको कालो रङ र सुनखानीसँग जोडिएको पहेंलो रङ । ‘दक्षिण अफ्रिकामा अपार सुनखानी नहुँदो हो त दक्षिण अफ्रिकालाई गोराहरूले उपनिवेश बनाउदैन थिए’ भन्ने उहाँको वाक्यले मलाई कता-कता पुर्याएर फेरि कता-कता लगेर छाडिदिएको थियो । निबन्ध पढिसक्दा न म आफू बसिरहेको मेचमा थिएँ, न दाजु पुग्नुभएको जोहानसवर्ग एयरपोर्टतिर । न यो खड्का गाउँ, न त्यो अफ्रिकी सोवेतो टाउनसीप । म कसोकसो सुनका किस्साहरू सम्झेर अपलक टोलाउँदै घरि खास्सा, घरि लंका गर्दै थिएँ भने घरि बहिनी आमा एवं हजुरआमाका नाक, कान र घाँटीतिर पुगिरहेको थिएँ ।
बडो महंगो रत्न मानिएको सुन जम्मामा एक कथित ‘बहुमूल्य विचारधारा’ नै त हो । त्योबाहेक सुन के नै पो हो र ? तर यो विचारधारा कति शक्तिशाली ? र, यो विचारधारा निर्माणको प्रक्रिया ? मलाई आज न त यो बारे घोत्लिन गर्न मन छ, न त लेख्न नै । मन भएछ भने कुनै दिन गरौँला, नत्र ठिकै छ । यहाँ म नाथे परालको तान्द्रालाई सुन मानिरहेको छु । अब यो मनस्थितिमा ‘बहुमूल्य रत्न निर्माणको विचारधारा’लाई ओल्टाइपोल्टाई गर्ने शक्ति पो कहाँदेखि खोजी ल्याउनु ? आफू चिप्लेकिरा झैँ लसक लसक लस्किरहेका बेला समयलाई के गाली गरिराख्नु हाउ स्वपनिल स्मृति दाजु । बरू समय मेरै आङबाट चिप्लिरहोस्..उसको गतिशीलता हेरेर म दंगदाश पर्छु नि ।
तोरी यार..अघि पानीमा रुझेर सँगालेको त्यो विधि शक्ति नाथे ‘सुन महात्म्ये’मा आएर सकियो । बेलामौकामा मेरो मानिसिक स्थिति यस्तैयस्तै हुन्छ । दिनचर्यालाई नियाल्ने हो भने त घरिघरि आफूलाई ‘छेपारो महात्म्ये’को छेपारो नै पाउँछु हो ।
हिजोको एउटा प्रसंग सुनाइहालूँ, हिजो दिउँसोपख एकबार नवराज पराजुली दाइसँग गन्थन गर्ने मेसो मिल्यो । दाइको एउटा कथा शिलापत्रमा छापिएको थियो, शिर्षक यतिखेर भुलेँ । सर्च गरे गुगलले देखाउथ्यो, त्यो जाँगर पनि छैन । अँ, त्यहि त, दाइले हिजो फोन हुँदा ‘लेख्ने इनर्जी चाहिँ जोगाइराख्नु है । क्रियटिभ मान्छेहरू क्रियसन् छाडेर क्रियटिभ वर्क्स म्यानेज गर्न बढी लाग्छन् । अनि सकिन्छन्’ भन्दै हुनुहुन्थ्यो । उहाँले त्यसपछि त फोन राखिहाल्नु भयो, म भने घन्टौँ टोलाइरहेँ ।
एकफेर, प्रज्वल अधिकारी दाइले ‘मलाई तिमी पत्रकारभन्दा बेसी कवि होइदिए खुसी लाग्थ्यो’ भन्दा करिबन करिबन यस्तै भएको थियो । हो, कहिलेकाहीँ पत्रकार होइराख्दा आफू कहाँनेर कवि छु, कति चाहिँ कवि बच्या छु भनेर खोज्न मन लाग्छ । भेट्टाइहाले पनि एकछिन छुस्स बात मारम् न त भन्दा-नभन्दै मकहाँ चिप्किएर रहेको चिप्लेकिरो उर्फ पत्रकारमोशायले उसलाई लखेटिदिइहाल्नुहुन्छ । यस्तोयस्तो बेला चाहिँ चिप्लेकिरो (सरी, पत्रकार) हुनु भनेको साह्रो रड्डी लागेर आउँछ । तर ‘साहित्यिक पत्रकारिता’ गरिरहेछु भनेर एक तवरले मन बुझाउँछु । तर त्यो पनि धेरै गाह्रो छ । कहिलेकसो बुझे जस्तो लाग्छ तर त्यति नै बेला अर्को कसैको एउटा मिठो रचना पढ्न पुगे पनि टाउको रन्नन भएर आउँछ ।
अघि बाथरुम जानुअगाडि त्यस्तै भयो । लाग्दै नलागेको बाथरुम लगाउने त्यो रचना थियो- रमेश विकलको । ‘आज फेरी तन्ना फेरिन्छ’ नामका दुईवटा कथाहरू पढेपछि मेरो मन त्यसै त्यसै बाथरुम छिरुम् छिरुम् गर्न थाल्यो । अन्तत: छिरिछाड्यो। ‘आज फेरि तन्ना फेरिन्छ १ र २’ गरेर शुरुमा र अन्त्यमा दुईवटा कथाहरू छन् । पहिलो कथामा एउटा डाक्टरले कथावाचक भएर आफ्नो मानिसक हविगतको सहित स्वास्थ्य प्रणालीको सम्पूर्णत चिरफार गर्दै गएको छ ! अन्तिमको कथामा चाहिँ, एउटा बिरामीले कथावाचक भएर अस्पतालको रुपरेखा खिच्दै कथानक अघि बढाएको छ । दुवै कथाको सारांशले मलाई यसरी लखेट्यो कि एकसाथ म देशको वर्तमान स्वास्थ्य संकट र स्वास्थ्य प्रणाली सम्झेर ‘क्वाँ..क्वाँ..’ रुन पुगेँ । रोएर मन हलुको भयो तर आँखा र गालाबीच च्याडु दोबान जमेछ । पखाल्नु परेन ? त्यहि पखाल्न म बाथरुम छिरेको थिएँ ।
देश यतिखेर सरकार-मोशायबिहिन हुनुहुन्छ । केपी सर आफैँले राख्नुभएको विश्वासको मतको प्रस्तावमा आफैँ सिल् टिमुर खानुभएसँगै देश यतिखेर प्रमुख जिल्ला अधिकारीहरूका हात-हातमा पुगेर थिचिमिची हुँदैछ । यसो समाचारतिर मन दौडाउने हो भने तथ्यांक-मोशाय हाम्रो नाक छेड्न आइपुगिहाल्नुहुन्छ ।
तथ्यांक-मोशाय भन्नुहुन्छ कि, अक्सिजन नपाएर औषतमा हरेक १० मिनेटमा एक जना नेपालीको मृत्यु भइरहेको छ ।’ सास फेरिरहेको मलाई तथ्यांक-मोशायले हतास तुल्याइदिनुभयो र कसो कसो ‘बाँच्न मात्रै पाएँ देखाजायगा’ भन्ने स्थितिमा लगेर पछारिदिनुभयो । कुरा ठीक हो, कोठे पत्रकारिताको निरन्तरतास्वरूप घरबाट नै मेरो काम चलिरहेको छ । बाहिरफेर निस्कन परेको छैन । तीन दिन बिराई १५ मिनेट बाहिर निस्किएर तरकारी ल्याउँदा भएको छ, त्यसमा पनि निरन्तरता छैन । जतिजति मृत्युको संख्या बढ्दै गइरहेको छ, उतीउती म कुनाकाप्चामा लुकेका गुन्द्रुक, गाभा, भटमास र बोडीका दानाहरूसँग भोक निवारणको सम्झौता गरिरहेको छु । कहिलेकसो घरधनीको बारीमा छिरेर एक मुठा साग र दुई चार दाना प्याज उखेलिरहेछु । त्यति नै नपुग्दा बाटामा थालेको लसुन खेतीले काम चलीरहेछ । नत्र हरिवंश स्टाइलमा आलुकै तरकारी, आलुकै दाल र आलुकै अचार गर्ने विकल्प पनि सुरक्षित नै छ । समग्रमा हेर्दा मलाई विलास नै छ । यो विलासीपूर्ण अवस्था नै हो तर भौतिक विलास र मानिसक विलासमा आकाश-पातालको फरक रहेछ ।
कारण धेरे छन्, देश सरकार-मोशायबिहिन हुनु मात्रै मुख्य कारण कसैगरी होइन (यसलाई त म कारण नै मान्दिन) । यतिबेला पूर्व, दक्षिण र पश्चिम गरि १८५० किलोमिटरको सीमा नाकाहरूबाट बाँच्ने आशमा नेपाली दाजुभाइहरू घर पुगिरहेका छन् । उनीहरूले रोक्न (चेकजाँच गर्ने र उपचार गर्ने) संयन्त्र-मोशाय ‘दशगजाकै बिम्ब’ बोकेर बसिरहनु भएको छ । नेपालका स्वास्थ्यकर्मी, जनस्वास्थ्यविद् र सुरक्षा निकायहरूले आ–आफ्नो च्यानलमार्फत उपप्रधानमन्त्री ज्यूको नेतृत्वमा रहेको संकट व्यवस्थापन केन्द्र (सीसीएमसी) को सचिवालय-मोशायसँग हार-गुहार मागीरहेका छन्, सत्तो सराप पनि गरिरहेका छन्-समानान्तर रूपमा ।
भारत-मोशाय रिसाइहाल्नुहुन्छ कि भनेर बेलैमा लकडाउनतर्फ जान डराउनुभएको सरकार-मोशय अन्तत: पल्टङबाजी खानुभयो । भारतबाट नेपाल हुँदै तेस्रो मुलुक छिरेका (ट्रान्जिटे पाहुना-मोशाय) हरू कोसेलीस्वरूप कोरना छाडेर आ-आफ्ना लक्ष्यतर्फ उन्मुख भइछाड्नु भयो । सिंहदरबारमा बसेको सरकार-मोशायले त्यहीँ लैनचौरमा एनओसी (नो अब्जेक्सन लेटर) लिन लाम बस्नुभाका पाहुना-मोशायहरूतर्फ किन्चित हेर्नै चाहिबक्सनु भएन ! न क्वारेन्टाइन, न होल्डीङ सेन्टर, न स्वास्थ्य जाँच । सम्पूर्ण संयन्त्र केहि भएकै छैन है झैँ गरी गतिशील भइराखे । चलायामान होइराखे । सीएमसी-मोशाय यतिबेलासम्म ओली सरकै पाइन्टको गोजीमै लुटपुटिरहनु’भाथ्यो, उहाँले त्यहाँबाट मुन्टो उठाउने चेष्टा नै गर्नुभएन । ओली सरको गुप्तांग नगरमा भमराभाँती रमेर बस्नुभएको सीएमसी-मोशाय उर्फ ‘भमरा-मोशाय’ नेपाली सेनाको प्रस्तावलाई पनि कुल्चिएर त्यहीँ भुनभुनाइरहनु भयो । नगरको एक फूलबाट अर्को फूलको छलाङ मारिरहनु भयो । त्यतिबेला सुनिन्थ्यो, भमरा-मोशाय स्वास्थ्यकर्मीहरूलाई देशमा कोरोना नियन्त्रणान्मुख नै रहेको भुनभुनाउदै(बताउँदै) हुनुहुन्थ्यो ।
गुजरातमा अक्सिजन अभावमा खुला चौर र मैदानहरू लास गोदामघरहरूमा परिणत भइरहेको दृश्य सन्चारमाध्यमहरूले देखाइरहँदा भमरा-मोशयहरू ओली सरको जेनिन्द्रीयको रतिरागमै बासनालिप्त (सरकारलिप्त) हुनुहुन्थ्यो । भमरा-मोशायहरूले त्यो दुर्गन्धमा आफ्नो फोक्सो निस्सासिएको महसुस गरिबक्सदासम्म देश अक्सिजन अभावको चरम संकटमा पुगीसकेको थियो । त्यतिबेला पनि भमरा-मोशायहरूले अक्सीजनको प्रयाप्तताबारे अड्कलबाजी लगाउन सक्नुभएन । बरू, प्रदेशस्तरीय छ्याईमाने हुतुतुमा उहाँहरूको दिल लाग्यो । दिलचस्पी बस्यो। त्यतै डकुलन्ठु भएर लन्ठिबक्सिरहनुभयो । जब कोरानाले हुँकार गर्यो; एकसाथ भमरामोशाय, गुप्तांग नगर र सत्तातिर पराकम्पन छुट्यो ! रेक्टर स्केलको त्यो पराकम्पन नाप्नै सकेन ।
विकल जी, तपाईँले तन्ना फेरेको कथा बडो विदीर्ण छ-ओठमुख सुकाउने खालको । दिनमा एउटा, दुईवटा तन्ना तपाईँले फेरिरहनुभयो । केहि-केहि बिरामीलाई बचाउनु पनि भयो । केहि बिरामीको सन्चो-विसन्चो सोध्नु पनि भयो । बिरामीलाई मानिसिक दुर्दशा खप्न दिनुभएन । सान्त्वना पनि बाड्नुभयो । भलै, त्यो फुच्चे सिलिङ हेर्दा हेर्दै मर्यो । भलै, त्यो बुढो घर जाने बाटो कुरिरह्यो । एउटा चित्र थियो त्यो, नेपालको सपाट चित्र । नेपालका अस्पतालहरू, स्वास्थ्य प्रणाली, बिरामीको मनोदशा र चिकित्सकहरूको मानिसक आरोह-अवरोहको एक कुरूप तर यथार्थ चित्र । त्यस चित्रमार्फत तपाईँले ०२४ सालतिरै भमरा-मोशायहरूलाई देशमा स्वास्थ्यलाई लिएर खेलाँची नगर्नु जोडबल गर्नुभयो थियो । तपाईँले गर्नसक्ने जति तपाईँले गर्नुभएको हो, तपाईँले भन्न सक्ने जति भन्नुभएको हो । तपाईँले यी दुई कथा लेखेर नेपालको स्वास्थ्य प्रणालीमाथि ठुलो व्यङ्ग्य मात्रै गर्नुभएको छैन, सम्भाव्यता र उपचारको बाटो पनि देखाउनुभएको छ । तपाईँप्रति साच्चै मलाई अपार प्रेम छ । अपार श्रद्दा छ ।
तर दुर्भाग्य विकल जी, भमरा-मोशायहरू यतिखेर मात्रै तन्ना फेरिरहेका छन् । देशको स्थिति यस्तो छ कि, एउटा बिरामी आर्यघाट नपुग्दै अर्को बिरामी तन्नामा लड्न पुग्छ । बाँचिहालिन्छ कि भन्ने आशले डाक्टरहरूका मुखमुख नियाल्छ । तिनका हत्केलामा आफ्ना नङ चिथार्छ ! नर्सहरूको हात-पाखुरा समाउँछ । तिनलाई पनि दबार्छ । उसका आफन्तजन सिलिन्डरको चाँचोपाँजो मिलाउन देशदेशवार दौडाहा लगाउछन् । कसैको केहि चल्दैन । न अस्पतालको, न डाक्टरको, न नर्सको, न अक्सिजन सिलिन्डरको, न बिरामी कुरुवाको, न स्वयं बिरामीको नै । खुला आकाशमुनि एउटा बिरामी सास फेर्न नसकेर अर्को व्यक्तिको लागि बेड खाली गरिदिन्छ र आफू त्यहि तन्नामा लपेटिएर आर्यघाटसम्म पुग्छ । अनि नर्सहरू अर्को सुकिलो तन्ना ओच्छ्याउँछन् (त्यो पनि कुन्नि ?) र त्यसमाथि अर्को बिरामी राख्छन् । विकल जी, यतिखेर देशमा बस् ‘तन्ना पुनरावृत्ति’ भइरहेको छ । एउटा तन्ना जान्छ, अर्को आउँछ । फेरि त्यो पनि जान्छ र अर्को तन्ना बिच्छिन्छ । विकल जी, बिरामीहरूको चिच्याहट र एम्बुलेन्सहरूको रोदन गुन्जिरहेछ देशभर । र, त्यसबाहेक अर्को थोक केहि भइरहेको छ भने, भमरा-मोशायहरूको गुप्तांग नगरवरपरको उदेकलाग्दो भुनभुनाहाट ।
हरेक दिन गाढेको मेथीको अचारमा नाक जोतेर नाकका गन्ध चेक गरिरहेको म अस्पताल-अस्पतालका गेट, प्राङ्गण, दैलो र इमर्जेन्सी वार्डमा देखिएको यो खपिनसक्नुको दौडबाजीले अत्यासिँदा रसिक दाइको एउटा शेर सम्झीन पुग्छु ।
‘कहिलेकाहीँ देखेर आफ्नै जिन्दगी डर लाग्छ
यो बाच्ने रहरले थिचिएर मरिन्छ कि डर लाग्छ ।’
दाइ भन्नुहुन्छ कि,“यो शेर लेखिरहँदाको क्षण तिमीलाई बताउन म सक्दिन । त्यस क्षणलाई साझा गर्न खोज्दा डर लाग्छ । यो शेर लेखनको अनुभव डरलाग्दो थियो/छ ।”
यो लकडाउनको एकान्तितामा एक्लिरहँदा घरिघरि मन त्यहि पुरानो यान्त्रिकतातर्फ उन्मुख हुन किन खोज्दछ कुन्नी ? म सोच्छु, ‘हुँदैन यसरी । यथार्थको आत्मलोचना नगरी हुँदैन । आत्मपरकताको तुलना नगरी हुँदैन । यसरी त हुँदैन रसिक दाइ । हुँदै हुँदैन ।’ म जान्दिन कि दाइ तपाईँले यो शेर कहिले र कुन समयमा लेख्नुभयो तर मलाई जहाँसम्म लाग्छ शेर लेखिसकेपछि तपाईँलाई चयन मिलेको थियो होला, आराम मिलेको थियो होला । म पनि त यतिखेर चयन खोज्दै छु, आराम खोज्दै छु । भन्छन् नि, के त दाइ, ‘हरेक व्यक्तिसँग आफूलाई मार्ने र बचाउने दुवै तत्व छ । कसले के खोज्छ भन्ने मात्रै हो ।’ म यतिखेर आफूलाई बचाउने बहाना खोज्दै छु । र, त्यो बहाना मेरो लागि लेखाइ शिवाय अर्थोक के पो हुन्थ्यो र ? के पो छ र ?
यो पक्का छ कि, यो सब सदाकाल चल्दैन । चिरस्थायी समय कुनै पनि हुँदैन, र यो पनि होइन ! केहि दिनपछि यो सब उघारिन्छ र, एउटा ठीकठाक जीवननिर्वाहमा हामी अस्तव्यस्त रहन्छौँ/पुग्छौँ । क्राइसीसको समय भयवहाताको समय रहे पनि यसको आफ्नो सौन्दर्य छ । ब्युटी छ । क्राइसीसको ब्युटी डर, त्रास र अभावबीच पनि देखिने जीवन्तताको झिल्काहरू हुन् । क्राइसीसको ब्युटी शोकव्याधी र रोगव्याधीका आँखीझ्यालहरूबाट देखिने एकापसको मेलमिलाप र सर-सहयोगका स-साना कणहरू हुन् । ती कणहरू मनावीय समवेदनाका, मानवीय भावनाका, मानवीयताको पक्षधरताका ।
भलै, यतिखेर जिन्दगीका संगीतहरूहरू बज्न सकीरहेका छैनन् ! भलै यतिखेर जिन्दगीका गीतहरू घन्किन सकेका छैनन् । तर खसेको पहिरो पनि त रोकिन्छ । झरेको चट्याङ पनि त बिलाई जान्छ । दु:खका सुखहरू पनि त जीवन हो । सुखका दु:खहरू मात्रै कहाँ जीवन हुन् र ?
उफ् !..यतिखेर कन्स्ट्रक्सन् बिल्डिङ निर्माणको क्रममा उठेका रिंगटा छुटाउने मेसिनजन्य घर्षणका आवाजहरू कानसम्म ठोक्किन आइपुगिरहेछन् । ..हुया..हुया..हुयायाया..या…! यिनले मस्तिष्कमा दिक्दारी ल्याएर टाँसिदिए । ती आवाजहरूलाई पन्छाएर अलि बेर त लेख्छु भनेर बसिरहेको मलाई उठाएरै छाडे । मेरो औँलाहरूलाई किबोर्डबाट छुटाएरै छाडे ।
विकल जी, म अब फेरि बाथरुम जान्छु ।
अस्तु !
राजु झल्लु प्रसाद राजु झल्लु प्रसाद राजु झल्लु प्रसाद
राजु झल्लु प्रसाद राजु झल्लु प्रसाद
लेखक परिचय
राजु झल्लु प्रसाद
धादिङका राजु झल्लु प्रसाद कविता, कथा, मनोविश्लेषणात्मक लेख साथै अखबारीय लेखनमा पनि सक्रिय छन् । अनलाइन पत्रिका न्युजकास्ट नेपालमा कलासाहित्य विधाका प्रमुख रहेर काम गरिरहेका झल्लु प्रसाद त्रि-चन्द्र कलेजमा बिएससी अध्ययन समेत गर्दैछन् ।
(शब्दसोपानमा बैशाख ३०, २०७८ मा प्रकाशित)