उसले मेरै सामुन्ने बसेर बोटका एक-एक तिँदुका दाना छाम्यो । चरालाई सम्झिएर मुर्मुरियो । लोखर्केलाई गाली गर्यो । मै बसेको डालोको टुप्पोको तिँदु छाम्न खोज्दा उसको खुट्टा चिप्लियो ।
एउटा फलसँग कोही कति नोस्टाल्जिक हुन् सक्ला ? सिङ्गो बालापन तिँदु खाएर हुर्किएको म यतिबेला यही प्रश्नको उत्तर खोजिरहेछु । धादिङको मैधीस्थित उखुबारीमा मेरो बालापन बित्यो । भन्नु परोइन, तिँदुको रुख चढेरै मेरो बाल्यकाल हुर्किएको छ । सुरिलो रुख र चढ्न सजिलो बान्की, फैलँदा हाँगाबिँगा एवम् स्वादिलो फलका कारण तिँदुसँग मेरो ज्यादा लसरपसर रह्यो । यसो भन्न सकिएला- तिँदुसँग मेरो अतलस्पर्शी सम्बन्ध थियो/छ, जससम्बन्धका संस्मरण गाथाहरू साह्रो दिलचस्प एवम् अलेख्य छ । यो सम्बन्ध मरुभूमिमा हावाले थुपारेको बालुवा ढिस्को (बालुकास्तूप) जस्तो अत्यल्प (क्षणिक) नभई अन्तकाल समय रहिबस्ने खालको रहेछ भनेर म अहिले चाल पाउँदैछु ।
सल्यान, दैलेखका साथीहरू पनि तिँदु नै भन्नुहुँदो रहेछ । तिँजु भन्दा रहेछन् स्याङ्जा, अर्घाखाँची,बागलुङतिर । खल्टुक (खल्टु) अथवा खल्लुक/खल्डुक भनिँदो रहेछ गुल्मी, पर्वत, पाल्तातिर । कतै कालिकाठ पनि भनिँदो रहेछ । संस्कृत नाम ‘तिन्दुका’बाट तिँदु नाम आएको बताउनुहुन्छ, इतिहासविद् महेशराज पन्त । रामायणमा वाल्मीकिले ‘तिन्दुका’ उल्लेख गरेको कथ्य भेटिन्छ । वैज्ञानिक नाम Diospyros peregrina र अङ्ग्रेजीमा यस फललाई Gaub Persimmon भनिन्छ । कतै पहेँलो, कतै हरियो र कतै निलो रङ्गको पाइन्छ । मैले खाएको तिँदु हरियो रङ्गको हो ।
म सम्झन्छु, शिशिर ऋतुका माघ, फाल्गुनका चिसा दिउँसोहरूमा ४ बजेसम्म स्कुलका चिसा बेन्चका पुट्ठो अड्याउनु झन्झट लाग्थ्यो । बाहिर पारिलो घाम लाग्थ्यो तर क्लास रुमभित्र छिर्दैनथ्यो । फेरि, ह्याल्फ टाइमपछिका क्लासहरूमा जनसङ्ख्या, स्वास्थ्य शिक्षा, लेखा, भूगोलजस्ता विषयहरू पढाइ हुन्थ्यो । ती विषय स्कुलको चौघेरामा बसेर पढ्ने होइन, प्रकृतिमा डुलेर पढ्ने विषय थिए । किताबमा भूगोल पढ्नुभन्दा तिँदुका रुखबाट मैधीको भौगोलिकता पर्गेल्नु कति हो कति विलक्षण हुन्थ्यो । जन्मदर र मृत्युदरको हिसाबकिताब निकाल्नुभन्दा यो बोटमा कति तिँदु छन्, कति पाकेका छन्, कति पाक्दै छन्, कति ओइलाए ? भनि हिसाब गर्नु मनोरोचक कुरा थियो ।
र, म सोही गर्थेँ । सेडाईको घरदेखि भोटे भट्टको घरसम्मको अन्दाजी २५ थान तिँदुका बोटहरूमा कुन दिन कति वटा तिँदु पाक्छ भन्न सक्थेँ । कोलाचौरदेखि केउरिनी भीरसम्मको अर्को २०/२५ थान तिँदुका रुखका बारेमा पनि मेरो यो दक्षता थियो । अझ, कुन तिँदुको बोटमा यस वर्ष तिँदु पाक्छ र कुनमा पाक्दैन भन्न सक्थे । घरगाउँमा रहिबसेका हरेक रुखमा तिँदु पाक्दैनन्, कुनै सेपले कुनै जातैले झुस मात्रै निकालेर बस्नेखाले हुन्छन् । यसप्रकार, माघदेखि चैत र कहिले वैशाखसम्मै तिँदुका बोटमा झुन्डिइरहने लोखर्के भएको थिएँ म । घर पुग्दा ममी आज पनि भन्नुहुन्छ, ‘ए लौ, लोखर्के घर आएछ ।”
लोखर्के वन्यजीव हो र ऊ वनफल खान रुचाउँछ । ममीको हकमा म अझै पनि वनमै बस्ने व्यहोराको छु ।
म भन्दै थिएँ- तिँदुका एक-एक दाना छामेर पाकेका तिँदुले गोजी भर्नु स्कुलकालीन दिउँसो बियाँल्ने मेसो थियो । स्कुलको खाजा खाने समय १ बजे हुन्थ्यो, त्यो पनि ४५ मिनेट मात्रै । त्यो समय प्राय: तिँदुको रुखमा बित्थ्यो । माघको पुरै महिना र फाल्गुनका दोस्रो हप्तासम्म प्राय: काँचा तिँदु नै हात लाग्थ्यो । तर, यो आकर्षक फलले आफ्नो रुपाकार लिनथालेपश्चात् अर्थात् गोलाई लिन थालेपछि मलाई उसको नगिच गइहाल्न पर्थ्यो । हाँगा मर्काइ-मर्काइ एक-एक दाना छाम्दा ३ जति बजिसक्थ्यो । १ घण्टा पढ्न को स्कुल जाओस् ? त्यसमा पनि प्राय: लास्ट पिरियड स्वास्थ्य शिक्षाको हुन्थ्यो । चौरमा गएर खोखो वा कबड्डी खेल्नुभन्दा अग्लो तिँदुको रुखमा चढी खुट्टा झारेर भोलि किन चाहिँ तिँदु पाक्ला भनेर सोचिबस्नु रुचित कुरा हुन्थ्यो । झोला ल्याइदिने सन्दिपेलाई भोलिपल्ट एउटा तिँदु दिन्थेँ ।
म सम्झिन्छु, तिँदुका रुखमा लोखर्के र मेरो बरोबरी प्रतिस्पर्धा चल्थ्यो । लोखर्के एउटा मासुम वन्यजीव हो,अलि लजालु स्वभावकै हुन्छ । तर यस जीवसँग मेरो आज पनि गतिलो सम्बन्ध छैन किनभने लोखर्केका कारण मेरो हातमा काँचा तिँदुहरू ज्यादा आइपरेका छन् । आज सोच्दा चाल पाउँछु, यसो हुनुमा एउटा कारण रहेछ ।
कारण के भने, म दिउँसोका १ बजेपछि मात्रै रुख चढ्थे, ऊ रातभरि रुख कुरी बस्थ्यो र बिहान हुने बित्तिकै तिँदुका एक-एक दाना छामेर मध्यान्हसम्म भ्याइसक्थ्यो । म आइपुग्दा उसले बोटका पाकेका तिँदु सिद्ध्याइसकेको हुन्थ्यो । मेरो भागमा उसले तिँदु खाएर ओकलेका गेडा मात्रै रहन्थ्यो । एउटा मात्रै होइन, दुई-चार वटै बोटका । एउटै मात्रै लोखर्के पनि कहाँ थिए र ? रिसले म आँखा देख्दिन’थेँ तर त्यो गोट्टी लोखर्के मेरो सामुन्ने नै पर्दैनथ्यो । भएभरका मिठा र पाकेका तिँदु खाएर ऊ कुन टोड्कोमा उङ मारिरहेको हुन्थ्यो ।
र, मलाई एउटा कुरा नमिठो लाग्थ्यो, लोखर्केले झैँ भोलि बिहान तिँदु पाक्ला र खाउँला भनेर म रातभर रुखमा बस्न सक्दिनथेँ । गाउँमा तिँदुका रुखमा भूत बस्थ्यो पनि सत्य स्थापित थियो । मध्यान्हको १२ बजे समेत हामीलाई त्यो बाटो हिँड्न मनाही थियो, साँझ परेपछि तिँदुको रुखमा चढ्नु कल्पना बाहिरको कुरा भइगो । मलाई रिस उठ्थ्यो, लोखर्के कम थियो र भूत आएर बस्न परेको ? भूत पनि चानचुने थिएनन्, १२/१५ जनाको जत्था हुन्थे । नाइके भूत हात्तीमा सवार होइबक्सिन्थ्यो, अरू भूतहरू चाहिँ बाघ, चितुवा, घोडा, बाँदर, कुकुर, सुंघुर आदित्यादीमा सवार होइबक्सिन्थे । हुँदाहुँदा एउटा भूत ज्यू त बुढी कमिलोमा सवार गरिबक्सिनहुन्थ्यो रे । मलाई कसोकसो लाग्थ्यो, त्यो मरन्च्याँसे भूतलाई चाहिँ म कुल्चिएरै मार्दिन्छु होला । तर, त्यही मरन्च्याँसे भूतसँग समेत मेरो कहिल्यै जम्काभेट भएन । किनभने, साँझको सात बजेपछि त्यो ढुङ्गा छापिएको गल्लीमा हामीलाई जान मनाही थियो । घर-गाउँलेले यस्तो जबर्जस्त कथा हालेका थिए मसहित अरू केटाहरूले पनि त्यो आँट कहिल्यै गरेनन् । यसो हुँदा न त्यो भूतसँग भेट भयो, न लोखर्के सरह मैले रातभर तिँदु कुर्न पाएँ ।
मलाई भररात भूतले रातभरि तिँदु खाँदैछ भन्ने पिरले सताउँथ्यो । भूत भइसकेपछि मान्छे खानु, भैँसी-बाख्रा खानु नि, के तिँदु खाइरा’होला जस्तो लाग्थ्यो । लोखर्केलाई बरु भेटे भने लखेट्न सक्थे, भूतसँग त्यसो गर्न पनि सक्दिनथेँ । पछिपछिका दिनमा त मैले भूतसँग कामना पनि गरेँ, “भूत सर, त्यो लोखर्केलाई पनि खाइदिनु क्या ।” (ठुलाबडालाई ‘सर’ भन्नुपर्छ भनेर सिकाइएको थियो । भूत भन्ने कुरा मलाई भयङ्कर ठुलो लाग्थ्यो ।) तर, भूतले कहिल्यै लोखर्के खाएन । बरु, लोखर्के र भूत मिलेर रातभर तिँदु खाइरहे ।
मेरो भागमा मुस्किलले चोखा तिँदुहरू हात लाग्थे । भूत र लोखर्केले छाडेका तिँदुहरूमा त्यसपछि चराहरूको हमला चल्थ्यो । अरूबेला कहिल्यै नदेखिने चराहरू तिँदु पाक्ने बेला देखिन्थे । हिउँदे याममा चिसो छल्न र ग्रीष्म याममा बच्चा कोरल्न विदेशदेखि आउने चराहरूले पाकेका तिँदुमा चुच्चो गाँडेको जति कुरूप दृश्य मलाई केही लाग्दैनथ्यो ।
मलाई यी पाहुना लाग्न आउने चराहरूसँग कम्ता रिस उठ्थेन । आफ्नो बारीको तिँदुमा नानाभाती, नानाथरीले हमला गरेको देखेर भ्याउन्न छुट्थ्यो । ‘आओ, आओ..खाओ तिमिहरू कमी थियो’ भन्दै कराउँथेँ म । अनि त्यहाँमाथि घरगाउँमा देखिरहने सुगा, कोइली, चिबे, लाँचे, काठफोर, ढुकुर आदिले दिक्क बनाउँथे । खानु खाइसकेपछि पुरै खानु नि, चुच्चो गाडेर छोड्दिने साह्रो नराम्रो बानी थियो तिनको । अनि आफू सकिनसकी रुख चढेर ल ‘गलत्तै पाकेको तिँदु’ पाइयो भनेर टिप्यो, फर्काएर हेर्दा त चौथाई भाग छैन । क्या बोर लाग्थ्यो । तर, म अहिले सोच्छु, मैले पनि चराले झैँ हाँगाहाँगाका तिँदु टोकेर छाड्दिनुपर्थ्यो । यसो गर्दो हुँ त, भोलिपल्ट ज्यादा तिँदु पाक्ने थिएँ तर त्यो बुद्धि त्यतिबेला कहाँ ?
मलाई फेरि बच्चाबेलामा, अरूको जुठो खान घिन लाग्थ्यो । चराको जुठो पनि । अनि म रिसले त्यो चराले जुठो बनाएको तिँदु तल मिल्क्याइदिन्थे । रुख चढ्न नसक्ने सम्झने, केशवे, रमेशे, सुनिते, ढकेहरू सोही तिँदु मिठो मानीमानि खान्थे । मलाई कहिलेकसो यी मूलाहरूसँग चराहरूको साँठगाँठ छ कि जस्तो पनि लाग्थ्यो । चराले जुठो हालेर छोडेर हिँड्ने, अनि यिनीहरू मलाई रुख चढाएर त्यही जुठो तिँदु खाने । प्राय:जसो सुगाले हिजो चुच गाडेर हिँडेको तिँदु आज बिहान या दिउँसोसम्म भुँइमा झरिसक्छ । झरेन भने पनि हाँगा लर्काउँदा वा जोडले हल्लाइदिँदा खस्छ किनभने चराले तिँदुमा चुच गाड्दा भेट्नो कमजोर हुने गर्छ । र, पाकेपछि झर्नु हरेक फलको नियति पनि भइगो । मेरा कामचोर साथीहरू त्यही गर्थे । चराको आशीर्वचन स्वरूप उनीहरू तिँदु खान पल्किएका थिए ।
उनीहरू मलाई जिस्काउँदै भन्थे, ‘तँलाई थाहै छैन मुला, चराले टोकेको तिँदु जति मिठो केही हुँदैन ।”
“हुने भइगो नि । दुःखै नगरी सित्तैमा पाएसी । सित्तैमा पायौँ भने तिमिहरूले विष पनि खान्छौँ”, म एक-एक वटा पाकेको तिँदुमा हात-हातमा राखिदिँदै भन्थेँ । उनीहरू मानौँ विष नै दिएको छु झैँ गरेर मलाई घुर्थे ।
र, यो गजबको कुरा थियो कि, रुखाँ चढ्नेहरूले भुँइमा बसेका हरेकलाई एक-एक वटा तिँदु दिनैपर्थ्यो । दिन सकेन भने, उसको चोरी पक्रिन्थ्यो । रुखाँ चढ्ने व्यक्ति जहिले ढिलो उत्रने गर्छ र ऊ अन्य विद्यार्थी भन्दा ढिलो क्लासमा पुग्छ तर उसलाई बचाउन भुँइमा बसेकाहरू अघि सर्दथे । पाकेको तिँदु नदिएको निहुँमा कति पटक केटाहरूले मलाई मास्टरको कुटाइ खुवाएका छन् ।
फागुनको सुरुवाती हप्तामा मैले आफूले काँचो तिँदु खाएर भुँइमा बसेकालाई पाकेको तिँदु दिएको छु । तिँदुको सम्बन्धमा स्कुलभरि फिँजिएको बहादुरीको किस्सालाई भत्काउनु थिएन मलाई । तर, अहिले चाल पाउँछु, “ती मुलाहरूलाई पनि थाहा चाहिँ थियो के, यसले आफूले नखाई-नखाई पनि हामीलाई दिएको छ भनेर ।” र, उनीहरू यसैप्रकार मेरो नाक जोगाइदिन्थे या मेरो बहादुरीलाई अगाडि सारेर आफ्नो फाइदा बटुल्थे ।
***
यी सबैसबै सम्झिरहँदा वर्तमानमा आउन भुलिरहेछु म । यसपाला घर जाँदा पनि मेरो सोही हाल भयो । ४/५ वर्ष भइसकेको थियो यो मौसममा म घर पुगेको थिइन । यतिबेला नपुगेपछि तिँदु नसिब हुन्थेन ।
यसपाला ती पुराना प्रिय रुखहरू खोजेँ, भेटिएन । निकै रुखहरू मासिएछन् । भएकामा पनि ती पातला हाँगा हुर्किएछन्, सुम्लिएछन् । लोखर्केहरू पनि देखिएनन् । तिनका आची पनि त्यत्ति भेटिएन । एउटा पुरानो रुख चढ्न खोजेँ । बल्लतल्ल सकेँ । जिउ गह्रौँ भएर हो या रुख अग्ला-मोटा भएर हुन्, रुख चढ्न निकै कसरत पर्यो । जसोतसो एउटा पुरानो रुख चढेँ, म सोही रुखको फेदीमा अडेसिएर आफ्नै बाल्यकाललाई सम्झिरहेँ । त्यो लिखुरे केटोको हतासा, चञ्चलता, अभिमान आदित्यादीलाई गमिरहेँ।
क्या मजा आउने रहेछ, आफू एउटा हाँगामा बसेर अर्को हाँगामा तिँदु टिपिरहेको आफ्नै बालक कायालाई नियालिबस्नु । उसले मेरै सामुन्ने बसेर बोटका एक-एक तिँदुका दाना छाम्यो । चरालाई सम्झिएर मुर्मुरियो । लोखर्केलाई गाली गर्यो । मै बसेको डालोको टुप्पोको तिँदु छाम्न खोज्दा उसको खुट्टा चिप्लियो । एउटा हातले तुर्लुङ्ग झुन्डियो । सकिनसकी देब्रे खुट्टाले हाँगा भेट्टायो र आफूलाई जोगायो । तर, यसो गर्दा उसले गोजी भरि राखेको पाकेको तिँदु वरर भइदिए । तल बसेका केटाहरूको मुहार उज्यालो भयो । ऊ हस्याङफस्याङ तल हामफ्याल्यो, तिनलाई झम्टा मार्यो । तिनीहरूसँग तिँदु खोस्दै ऊ पर..देखि लापता भयो ।
म त्यो लिखुरे केटोको त्यो उत्साहप्रद उछलकुद सम्झिँदै एउटा हाँगा आफू भएतिर तान्छु, तिँदु छाम्छु र मुखमा हाल्छु । अनायास थाहा हुन् आउँछ, मुखमा हालेको तिँदुमा चराले चुच मारिसकेको रहेछ, यो अलि गुलियो पनि थियो । तर, म यसपाला तिँदु ओकल्दिनँ । किनकिन मलाई लाग्छ, ‘मेरो बारीको तिँदु, मैले चढेको तिँदुको रुख भन्दैमा तिँदुमा मेरो (मानव) मात्रै हक छैन । यसमा लोखर्के पनि हक छ, भूतको पनि हक छ, र चराहरू पनि ।’
तर, कतै चरा देखिँदैनन्, लोखर्केहरू देखिँदैनन् । गाउँका चरा एवम् लोखर्केहरू पनि शहर पसेका हुन् र ? गुलियो तिँदु खाँदै म तितो हुँदै जान्छु..गइरहन्छु । अलि पछि कसैले भन्दिन्छ, “ए भूत आउने बेला, रुखाँ’ट ओर्ली ।”
…ओर्लिन्छु ।
अस्तु !
लेखकका अन्य सिर्जनाहरू पढ्न यहाँ क्लिक गर्नुहोस्…
(साहित्यपोस्टमा २०७९ चैत्र ३, शुक्रवार १०:०१ मा प्रकाशित)