- राजु झल्लु प्रसाद
म स्वयं मनोविज्ञानको विद्यार्थी होइन, तर यो विषयप्रति चासो राख्ने ‘डिजिटल पाठक’ अवश्य हुँ।
अमेरिकाको ९/११ घटनाको सम्बन्धमा मैले “आतंकवादी आक्रमणप्रति मानसिक प्रतिक्रियाहरू: सेप्टेम्बर ११ का अमेरिकी प्रतिक्रिया सम्बन्धी राष्ट्रिय अध्ययनबाट प्राप्त निष्कर्षहरू (Psychological reactions to terrorist attacks: findings from the National Study of Americans’ Reactions to September 11) आदि पढेको यतिखेर याद भइरहेछ। यसबाहेक पनि इतिहासको विद्यार्थी भएको नाताले मैले युद्धको मनोविज्ञानको सन्दर्भमा केहि डिजिटल अर्काइभ र युट्युब भिडियोहरू हेरेको थिएँ। प्राय: यस्ता अध्ययनहरू आक्रमण भइसकेपछि गरिन्छ, जसमा आक्रमणपश्चात् प्राप्त र अनुपस्थित हुन् पुगेको मानसिकताको प्रभाव पनि रहन सक्छ। अमेरिकाले गरेको सो ‘आक्रमणपछि आतंकवादको समर्थनको फैलावटको मनोविज्ञानको अध्ययन’ले आतंकवादको समर्थन गर्ने व्यक्तिहरूको नेटवर्क अनायास फैलिएको बताएको छ। व्यक्तिगत र सामाजिक मनोविज्ञानले आतंकवादको समर्थन र फैलावटमा महत्वपूर्ण भूमिका खेलेको बताएको छ।
तर, त्यो ९/११ को घटना आतंकवाद थियो, अन्धाधुन्ध विनाशतर्फ उन्मुख। नेपालमा भर्खरै भएको जेन-जी क्रान्ति (९/८, ९/१०) भने त्यसको विपरीत, सचेत परिवर्तनतर्फ उन्मुख आन्दोलन हो। यद्यपि दुवैमा मानव मनको व्यवहार, भावना र सामाजिक मनोविज्ञानको भूमिका भने गहिरो छ कि झैं ठानेर यो लेख्दै छु।
पृष्ठभूमि: असन्तोष र अन्यायको अनुभूति
नेपालमा हाल जेनजी क्रान्ति भएको छ। सम्पन्न भइसकेको छैन। सम्पन्नउन्मुख दिशामा राष्ट्र अगाडी बढिरहेको विश्वास पंक्तिकारलाई छ। अन्तरिम सरकारले आगामी ६ महिनाभित्र दुईवटा मूल जिम्मेवारी सहित यात्रा तय गरको छ। पहिलो, संकटग्रस्त अर्थतन्त्रको पुनर्निर्माण; दोस्रो, स्वतन्त्र र निष्पक्ष चुनावसम्म मुलुकलाई पुर्याउने यात्रातर्फ अगाडी बढेको छ, जसमा हालसम्म पंतिकारको समर्थन र विश्वास दुवै छ।
मैले बुझेअनुसार, क्रान्ति केवल राजनीतिक वा सामाजिक कारणले मात्र हुँदैन, यसमा मानव मनको व्यवहार, भावना र सामाजिक मनोविज्ञानको ठुलो हिस्सा हुन्छ। जब मानिसहरूले आफ्नो जीवन स्तर, अवसर, वा अधिकारप्रति असन्तोष अनुभव गर्छन्, यसप्रकारको क्रान्ति, आन्दोलन गर्दछन्। संघर्षको हकमा त्यो अलिक कम, युद्धको हकमा त्यो अलिक बढी हुन्छ कि भन्ठान्छु।
जेनजी आन्दोलनको मूल कारण सर्वत्र भ्रष्टाचार, असमान वर्ग विभेद देखाउने नेपोकिड्स (Nepokids), न्यायको निरन्तर असमान वितरण र शासकहरूको गैरजिम्मेवारीपन हो। र, यसको पछाडी खड्गप्रसादहरूको नालायाकिपन त कायममुकायम रहेको थियो नै। यी सबै राजनीतिक कारण जस्तो देखिए पनि, वास्तविकतामा यिनले युवाको मानसिक संरचनामा अन्याय, निराशा र असुरक्षाको गहिरो छाप छाडेका थिए। यी यावत कारणले पंतिकार सहित जेनजी पुस्ता सहित समग्र नेपाली प्रताडित थिए र छन्। त्यसमाथि, असंवैधानिक रूपमा गरिएको सामाजिक सञ्जाल प्रतिबन्धले युवाको क्रोधलाई विस्फोटक बनायो। यो मात्र प्रविधि बन्द गर्ने प्रश्न थिएन; यो त उनीहरूको आत्मपहिचान र आवाजलाई नै निल्ने प्रयास थियो। र, यो सब भइसक्दा युवा पुस्ताले अन्यायको अनुभूति गरे। यसकारण यस आन्दोलनको इन्धन ‘सञ्जाल प्रतिबन्ध’ मात्रै हो भन्ने सतही कुतर्कलाई म खण्डन गर्दछु र अन्य उपस्थित कारण पहिल्याउन आवश्यक देख्दछु।
नेपोकिड्स र सक्षम युवामाथि गरिएको अपमान
यसमा अर्को कुरा पनि भएको छ। आफूलाई अरूसँग तुलना (नेपोकिड्स) गर्दा ब्युतिने ‘जायज आक्रोश’। आफू सक्षम हुँदाहुँदै पनि सीमान्तकृत हुन् पुगेको वा बन्चित भएको महसुस जेनजी पुस्ताले पटकपटक गरेको छ। डिजिटल दुनियाँमार्फत ‘नेपोकिड्स’को विलासी जीवनशैली पनि नेपाली जनताको छोराहरूले देखिरहेका थिए। र, यसप्रकारको ‘यो असमानता स्वीकार्य छैन’ भन्ने भावना क्रमश. जागृत हुँदै गयो। यसले मनोवैज्ञानिक रुपमा जेन जी पुस्तामा क्रोध र विद्रोह जन्म गरायो। र, भदौ २३ को जेनजी विद्रोह सडकमा देखियो।
आन्दोलन सुरु हुनुअघि सिमित मिडियाले मात्रै यो मनोविज्ञान फैलिरहेको छ भनेर समचार लेखेका थिए। र, एक साँझ (सामाजिक सञ्जाल प्रतिबन्ध लागेकै समयमा) यस विषयमा समचार लेख्ने साथीसँग बस्दा पंक्तिकारले ‘सम्भावित क्रान्ति’ हुँदै छ भन्ने छनक पाएको थियो। (तर, यति छिटो हुँदै छ भन्ने पंक्तिकारले पनि भेउ पाएको थिएन।)
अपमानलाई सुधार्ने उपाय: स्वतन्त्र दल
नेपोकिड्स (Nepokids) र आम युवाबीच देखिएको असमानता केवल आर्थिक मात्र नभई ‘मनोवैज्ञानिक आघात’ थियो। नेपोकिड्स र परम्परागत दलले दिएको बेवास्ता केवल आर्थिक असमानता होइन, सामाजिक–मनोवैज्ञानिक अपमान पनि थियो। त्यो अब, यस आन्दोलनबाट प्राप्त उपलब्धिलाई संस्थागत गर्ने युवा मनोविज्ञानको विपरित जर्याकमर्याक गरिरहेका राजनीतिक दल र तिनको पछिल्लो एक हप्तामा सार्वजनिक विज्ञप्ति, डिजिटल अनुहार र कोठे छलफलहरूमार्फत झन् बढ्न पुगेको पनि देखिन्छ। र, यसक्रममा अर्को कुरा पनि भएको छ, अब “सडकमा मात्र होइन, संस्थागत राजनीति मार्फत पनि हामी मान्यता पाउन सक्छौं” भन्ने मानसिकता बढेको छ। यस अपमानलाई सुधार्ने उपाय “स्वतन्त्र दल गठन” हो भन्ने सोच क्रमश.. विकसित भइरहेको देखिन्छ।
पुराना दल, पुराना राजनीतिक उद्देश्य लिएर आएका समूहसँग जेनजी पुस्ता कुनै पनि हालतमा आफूलाई अलग राख्न चाहन्छ भन्ने कुरा जंगी अड्डामा देखिएका छलफलले पनि संकेत गरिसकेको छ। नयाँ दल भनेको नयाँ ब्राण्ड, नयाँ विश्वास, नयाँ पद्धति पनि हो। र, डिजिटल नेटवर्ककै आधारमा नयाँ दल स्थापनाको अभियान अघि सार्न सकिने आधार पनि यस आन्दोलनको क्रममा देखिएको छ। चिली, ताइवान, आइसल्याण्डको राजनीतिक घटनाहरू हेर्ने हो भने पनि युवाहरूले स्वतन्त्र पार्टी खोलेर राजनीतिक प्रभाव बनाएका छन्।
युवाको मनोविज्ञान अझै लिडरलेस डेमोक्रेसी (leaderless democracy) चाहन्छ, तर दलमा हाइरार्की (hierarchy) अनिवार्य हुन्छ। अर्को कुरा भनेको नयाँ पुस्ता आफ्नो राजनीतिक पहिचानलाई ‘जेनजी पहिचान (GenZ identity) को रूपमा ब्राण्ड गर्न खोज्दै छ। जेनजी पुस्ताले पुराना पुस्ता–केन्द्रित दलहरूलाई अस्वीकार गरेर आफ्नै जेनेरेशनल स्पेस (generational space) बनाउन खोज्दैछ। आन्दोलनमा आएको भावनात्मक उर्जा (आक्रोश र आशा) संस्थागत गर्न पनि खोज्दैछ।
आवश्यक संगठनात्मक संरचना, आन्तरिक लोकतन्त्र र दिगोपन का लागि अहिलेको जोश दीर्घकालीन व्यावहारिक राजनीति (policy, law-making) मा रूपान्तरण गर्न नयाँ पुस्ता अध्ययन बढाइरहेको पनि प्रष्ट देखिन्छ। यसमा उनीहरू एन्टी नेपोकिड्स सेन्टिमेन्ट (anti-nepokids sentiment) बाट मात्र परिभाषित नभई सबैका लागि समान अवसर सुनिश्चित गर्ने सामाजिक–आर्थिक सुधार (inclusive socio-economic reform) मा केन्द्रित हुने अपेक्षा गर्न सकिन्छ। यसक्रममा युवापुस्ताको ‘तल–बाट माथि शैली (horizontal style)’, दलको ‘अधिकार र निर्णय क्षमता माथिल्लो तहमा केन्द्रित हुने प्रणाली (vertical hierarchy)’ सँग मेल खान्छ कि खाँदैन, त्यो चाहिँ हेर्न बाँकी छ। र, अर्को कुरा यो आन्दोलन र सम्भावित नयाँ दल अझै मुख्यत: शहरी, पढेलेखेका युवाको क्षेत्रमा केन्द्रित देखिन्छ। ग्रामीण, महिला, दलित, श्रमिक, किसान जस्ता समुदायसँग कसरी जोडिन्छ भन्ने प्रश्न अझै स्पष्ट छैन।
खैर, जे होस् दल खोल्ने नयाँ पुस्तासँग ऊर्जा छ तर संगठनलाई दीर्घकालीन बनाउन कस्तो मनोविज्ञान चाहिन्छ भन्नेमा गृहकार्य भइरहेको छ कि जस्तो देखिन्छ। युवा पुस्ता आफ्नो सामूहिक आक्रोशलाई स्थायी संरचनामा रूपान्तरण गर्ने यस प्रयासमा सफल होस् भन्ने आमनागरिकको सदिच्छा रहेको अनुमान गर्न सकिन्छ।
सामूहिक चेतना र समूह मनोविज्ञान
अब आऊ हामी भदौ २३ मा।
भदौ २३ कुनै आकस्मिक दिन थिएन। भदौ २३ मा सडकमा उत्रनुअघि जेनजी पुस्तामाझ एउटा सामूहिक चेतना र साझा प्रेरणा निर्माण भइसकेको थियो। प्रत्येक जेनजीले व्यक्तिगत रूपमा भोगिरहेको असमानता, अन्याय र राज्यप्रणालीले थोपरेको विभेदलाई लिएर उभिएको असन्तोष एकअर्कासँग जोडिँदै गयो। हरेक युवाले भोगेको असमानता र अन्याय एकअर्कासँग मिसिँदा ‘साझा भावनात्मक तरंग (shared affective wave)’ बनेको थियो। जब एउटाले प्रतिरोध गर्छ, त्यसको हिम्मत अर्कोमा सर्छ। यसरी व्यक्तिगत डर कमजोर पर्छ, र सामूहिक निडरताको वातावरण जन्मिन्छ। त्यस दिन पनि त्यहि भयो। वा यसलाई यसरि भनौँ, जसरी एउटाको पीडा अर्कोको आक्रोशसँग मिल्छ, त्यसरी नै साझा असन्तोषले साझा उर्जा पैदा गर्यो। यही कारणले, व्यक्तिगत असन्तोषहरू एकीकृत भएर सामूहिक आन्दोलनतर्फ रूपान्तरित भए।
यसबीच, खड्गप्रसाद र उनको शासनशैली निरन्तर युवाविरोधी, दमनकारी र तुच्छ देखिँदै गयो। कोशी प्रदेशका मन्त्रीको गाडीले जेब्राक्रसिङमा हिडिरहेका नागरिकलाई धक्का पुगेपछि मन्त्रीबाट देखाएको असंवेदनशीलता त्यसप्रति खड्गप्रसादको गैरजिम्मेवार टिप्पणी, एमाले विधान महाधिवेशनमार्फत देखिएको सत्तालोलुपता, अनि सामाजिक सञ्जाल प्रतिबन्धलाई लिएर पृथ्वीसुब्बा गुरुङमार्फत बान्ता गराइएको निरंकुशता; यी सबै घटनाले जेनजी पुस्ताको सामूहिक असन्तोषलाई थप उकास्यो।
यसप्रकार गठबन्धन सरकारको तानाशाही चरित्र प्रस्टसँग उजागर हुँदै गएपछि, ‘अब क्रान्ति अपरिहार्य छ’ भन्ने साझा भावना तीव्र हुँदै गयो। जब साझा मनोविज्ञान यसरी विकसित हुन्छ, व्यक्तिगत डर कमजोर पर्छ, अनि ठूलो संख्यामा युवा प्रत्यक्ष रूपमा सडकमा ओर्लन तयार हुन्छन्। यही मनोविज्ञानले भदौ २३ को आन्दोलनलाई सडकमा ओराल्यो। इतिहासका प्रायः प्रख्यात आन्दोलनहरूमा साझा असन्तोष र सामूहिक मनोविज्ञानले निर्णायक भूमिका खेलेको हुन्छ। जेनजी आन्दोलन पनि यही निरन्तरताको एउटा उदाहरण हो, जहाँ व्यक्तिगत पीडा सामूहिक प्रतिरोधमा बदलियो। भीडमा भावनाहरू तीव्र हुन्छन्। र, त्यस दिन त्यो तीव्रता देखिएकै हो।
नेतृत्वविहीन आन्दोलन
यस आन्दोलन नेपालका तमाम आन्दोलनभन्दा भिन्न छ।
जेनजी आन्दोलनमा हालसम्म देखिने गरि कोही ‘प्रेरक नेता’ वा ‘लोकप्रीय आह्वानकर्ता’ देखिएका छैनन्। हालसम्म देखिएकाहरू पनि पेशागत वा रुचिगत साझा भेटघाट कारण डिजिटल स्पेस एवं भौतिक भेटघाट गरिरहेका र विगतका केहि सडक संघर्षमा उत्रिएकाहरू मात्रै देखिन्छन्।
नेपालको राजनीतिक इतिहास हेर्ने हो भने २००७, २०१७, २०२८, २०३६, २०४६, मावोआदी विद्रोह, ०६/६३, संविधान निर्माण ताका उठेको मधेश आन्दोलन वा अन्य घटनाहरूमा प्रष्ट चिनिने गरि नेतृत्व देखिएका थिए। तर, यस आन्दोलनमा त्यसो भएन । यस कारण कतिपयले यसलाई “स्वचालित आन्दोलन” को संज्ञा दिन थालेका छन्।
नेताविहीन हुँदा कुनै एक व्यक्तिमाथि निर्भरता भएन। ‘हामी सबै नेता हौँ’ भन्ने भावनाले सहभागीता बढायो। एकअर्काको नेता वा साझा जिम्मेवारी दियो। यसले जिम्मेवारी सामूहिक बनायो। जब आन्दोलन “मेरो” मात्रै होइन, “हाम्रो” हुन्छ, त्यसमा सहभागी हुने तत्परता स्वतः बढ्छ। सामान्यतया नेतृत्वसहितको भीडमा जिम्मेवारी हराउँछ, तर यस आन्दोलनमा नेतृत्वविहिन भएकै कारण जिम्मेवारी साझा हुँदै बढ्यो।
यस आन्दोलनमा नेतृत्वको भाषणले भन्दा पनि आन्दोलनको मागले युवालाई आकर्षित गर्यो भन्ने लाग्छ। वा यसो भनौँ, आन्दोलनका मागकै कारण जेनजीहरू प्रभावित भए र सडकमा सम्पूर्ण आक्रोशसहित पोखिए। यसैले भन्न सकिन्छ, ‘जेनजी पुस्ता नेताको पछि लागेर होइन, आफ्नै पीडाको वजन र साझा असन्तोषको कारणले सडकमा ओर्लिएको हो।’ साझा आक्रोशले मात्रै नभई आशा र विश्वासले पनि आन्दोलन निरन्तर बनायो र एकप्रकारले सफल तुल्यायो।
पहिलो दिनको बर्बरता र त्यसको मनोवैज्ञानिक प्रभाव
पहिलो दिन (भदौ २३) बेलुकासम्मको नरसंहार र प्रहरी दमनपछि यो आक्रोश अझ बढ्यो। त्यो रातभर कोहि सुतेन, म पनि सुत्न सकिनँ। आन्दोलनमा बलिदानी दिएका व्यक्तिको परिवार वा घाइते र तिनका परिवार मात्रै होइन, हरेक नेपाली सुत्न सकेन। हरेक व्यक्ति व्यक्तिगत तवरमा विचलित भएँ तर भोलिपल्टको बिहान कस्तो हुनेछ भन्ने हरेक नागरिकले मोटामोटी आंकलन गरिभ्याएँ। हरेक भिडियो, हरेक स्टोरी, हरेक पोस्ट ‘तानाशाही सरकारले नरसंहार गर्यो’ भन्ने सामूहिक निष्कर्ष सबैलाई जगाउने कारक बने। त्यतिबेलासम्म प्रतिबन्धित सामाजिक सञ्जालले वैकल्पिक प्रयोगमार्फत आक्रोश फैलाउने मात्र होइन, साझा भावना र विश्वास पनि द्रुत रूपमा फैलायो। अब पछि फर्किने बाटो छैन” भन्ने सामूहिक अनुभूति र परिवर्तनको अपेक्षा गहिरिँदै गयो।
पहिलो दिनकै हिंसाले व्यक्तिगत र सामूहिक आघात (trauma) उत्पन्न गर्यो। भिडियो/फोटोहरू हेर्दा सेकेण्डरी ट्रमा (secondary trauma) फैलियो। प्रत्यक्ष घाइते नभएका मानिसहरूले पनि गहिरो पीडा महसुस गरे। मृत्यु र घाइतेहरूले केवल सम्बन्धितपरिवारलाई मात्र होइन, सम्पूर्ण पुस्तालाई “सामूहिक शोक”मा डुबाए। रातभर नसुत्दा शरीर थाक्छ, तर आन्दोलनको सुरुवाती उर्जाले त्यस रात सबैमा मानसिक सतर्कता अझ बढायो। यही सतर्कताले भोलिपल्ट आन्दोलनलाई नयाँ स्वरूप दियो।
अझ, सुत्ने बेलासम्म पनि घटनाप्रति जिम्मेवार भएर राजिनामा नदिएर, ‘सामाजिक सञ्जाल फुकुवा हुँदैन’ भनेर टसको मस नभएका ‘भष्मासुर खड्गप्रसाद’ कारण भोलि के हुनेछ भनेर सबैले आंकलन गरिसकेका थिए। त्यस दिनको सामूहिक मनोविज्ञानको अलगै अध्ययन आवश्यक छ झैं लाग्दछ (उसो त यस आन्दोलन अघि र पछिको पनि आवश्यक छँदै छ)।
सरकारले क्रूत नरसंहारपछि पनि चुप लाग्ने वा अहंकार देखाउने व्यवहारले जनतामाझ “अब यो शासनसँग संवाद सम्भव छैन” भन्ने धारणा पक्का गर्यो। जीवन बाँच्नका लागि प्रतिरोध आवश्य छ भन्ने मनोविज्ञान निर्माण भयो कि भन्ने लाग्दछ। ‘हामीले साथ् दिए युवा पुस्ताले चाहेको देश निर्माण हुन्छ वा नेपालको भविष्य बदलिन्छ” भन्ने पुस्तागत चेतनाले पनि यहाँ काम गर्यो।
सो नरसंहार र अबेर रातिसम्मको प्रहरी दमन (कपन घटना लगायत) पछि भदौ २३ को आन्दोलनमा संचित आक्रोश अझ प्रज्वलित भयो। ‘कि तँ छैनस कि म छैन’को भावमा जेनजीसहित हरेक नागरिक राति नै पुग्यो। र, यसका साथसाथै, त्यो अन्धाकार रात उकुसमुकुस भएर नसुती नसुती भए पनि चिर्न सकेमा सकरात्मक परिवर्तन सम्भव छ भन्ने सामुहिक भावनाको विकास पनि त्यसै रात हुन् सक्यो। यो विश्वास नै जेनजी आन्दोलनको युवा क्रान्तिको उत्प्रेरक शक्ति हो कि भन्ने देखिन्छ।
भदौ २३ को रात केवल रक्तपात र दमनको रात थिएन; त्यो रात सामूहिक आघात, सामूहिक शोक र सामूहिक पुनर्जागरणको रात थियो। भीडभाडमा, सामाजिक सञ्जालमा, हरेक घरमा र होस्टलको कोठामा, सबैतिर एउटै मनोविज्ञान जन्मिँदै थियो: “डरले होइन, प्रतिरोधले मात्र अब भविष्य बाँच्नेछ।” यही विश्वासले साझा आक्रोशलाई साझा आशासँग बाँध्यो र भदौ २४ को घटना घटित भयो।
(पंक्तिकार स्वयं पछिल्लो एक वर्षयताका पटकपटकका यारहरूसँगको चियागफ, पत्रकार एवं वातावरण सम्मेलन, साहित्यिक कार्यक्रम आदिमा उपस्थित हुँदा ‘खड्गप्रसादको गाडी बुलेट प्रुफ हो कि होइन ?’ एवं ‘७/८ जना टाउके नेताहरूलाई नमारी देशमा प्रगती हुँदैन’ भन्ने खाले बहस वरपर पटकपटक रहेको यतिबेला पनि सम्झिन्छ।) जेनजी पुस्ता जीवनको त्यो चरणमा छ, जहाँ ‘जोखिम उठाउने व्यवहार (Risk-taking behavior)’ स्वाभाविक हुन्छ। यो व्यवहार पछिल्ला दिनहरू आइपुग्दा युवापुस्ता अझ बढ्दै गएको देखिनाले, राजनीतिक दलहरूलेले बेलेमै सोच्नु र सुध्रिएर चुनावमा आउनु आवश्यक पनि देखिएको छ।
रणनीति होइन, मनोविज्ञान
क्रान्ति धेरै चरणमा आउन सक्छन् र यसका तमाम कारणहरू हुन् सक्दछन् तर मुख्यरुपमा नेपाली जनता असन्तोष र निराश थिए। र, जेनजी सहित सम्पूर्ण नेपालीमा ‘हामी सबै यो परिवर्तन चाहिन्छौं’ भन्ने भावना विकसित हुन् पुग्यो। यसप्रकार त्यो आक्रोश छिटो नै, भोलिपल्टै बिहानैदेखि व्यवहारमा अभिव्यक्त हुन् पुग्यो। यसकारण यस आन्दोलनको रणनीति र योजना निर्माण गरिरहनु परेन। सामन्य डिजिटल खेस्रा वा क्यानभा एवं एआइ डिजाइनमा ‘हत्यारा सरकार मुर्दावाद’ सहित अघिल्लो दिनको मुख्य माग सहित आह्वान गर्दा नै सम्पूर्णले परिवर्तनको सहि समय आएको बोध गरे। र, आफूलाई पनि यो आन्दोलनको प्रत्यक्ष सहभागी बनाउन मनोवैज्ञानिक रुपमा सबैले भूमिका खेले। जहाँसम्म म ठान्दछु, पहिलो दिन रातिसम्म हरेक नेपाली (नेपाल बाहिर रहनुभएकाहरू पनि) खड्गप्रसादको समय घर्कियो भन्ने मनोवैज्ञानिक अठोटमा पुगिसकेका थिए। डिजिटल संलग्नताले भौगोलिक दूरी हटाइदिएको छ प्रष्ट देख्न सकिन्छ। देशभित्र र बाहिरको डिजिटल उपस्थिति, भौतिक उपस्थिति भन्दा पनि मनोवैज्ञानिक रुपमा सब तयार थिए भन्ने लाग्छ। यसले आन्दोलनले आघात (trauma) झेलिरहेकाहरूलाई पनि “resilience” (धैर्य र पुनः उभिने शक्ति) प्रदान गर्यो ।
यस आन्दोलनको अर्को विशिष्ट मनोवैज्ञानिक पक्ष के थियो भने यस आन्दोलनमा यसअघिका नेपालका आन्दोलन वा संघर्ष सरह व्यापक विरोध प्रदर्शन, जनसम्पर्क, मीडिया प्रयोग पनि देखिएको होइन। एक्कासि भयो। कसैले ‘त्यो’ हुनेछ भनेर सोचेको पनि होइन। आन्दोलन आवश्यक छ भन्ने ‘सार्वजनिक चेतना’ को माउथ पब्लिसीटी (mouth publicity) हुन् एकैचोटि पुग्यो र सबै ‘आवश्यक छ र अहिले नै आवश्यक छ’ भन्नेमा पुगे।” अब नै आवश्यक छ” भन्ने तत्कालीन अर्जेन्सी (urgency time pressure) ले आन्दोलनलाई योजनाबद्धभन्दा आकस्मिक बनायो। यसप्रकार, सकारात्मक अपेक्षा र परिवर्तनप्रति भरोसा भएपछि हरेक व्यक्ति जोखिम लिन तयार हुन्छन्। हुँदो रहेछन्, पंक्तिकारले यो देख्यो।
मानिसहरू “म मात्रै होइन, हामी सबै आक्रोशित छौँ” भन्ने अनुभूतिमा पुगेपछि यस्तो हुन् सम्भव हुँदो रहेछ। पहिलो दिनको मृत्यु र घाइतेहरूको समाचारले आन्दोलनलाई शोक–प्रधान बनायो। शोक र आक्रोश मिसिँदा “अब रोइबस्ने होइन, प्रतिरोध गर्ने” मनोविज्ञान जन्मियो।
अर्को पाटोमा कुरा गर्नुपर्दा- प्रहरी दमन बाँकी छ र जोखिम छ भन्ने थाहा पाउँदा पाउँदै पनि मानसिक रूपमा तयार भएको जेनजीको माग पक्षधर र नरसंहारको विपक्षी सहित ‘राजनीतिक स्वार्थ समूहहरू’ सहित जनता सडकमा उत्रिए र त्यसलाई व्यवहारमा परिणत गरिदिए। यसकारण यो आन्दोलनलाई असन्तोष + अन्यायको अनुभूति + अलौकिक सामाजिक चेतना +असंगठित नेतृत्व + परिवर्तनको विश्वासको परिणाम हो भन्न सकिन्छ। यही मिश्रणले एउटा पुस्ताको मानसिकता विस्फोट गरायो र नेपालको राजनीतिक इतिहासमा नयाँ अध्याय लेख्यो।
यो आन्दोलनको सुरुवात कसरी भयो, कसले गर्यो, हालसम्मलाई अज्ञात छ। स्वचालित हो भने, मनोवैज्ञानिक हिसाबले हेर्दा यो आन्दोलन कुनै एक व्यक्तिको भावनात्मक स्तरबाट उठ्यो। समूहमा पुग्यो र समूहले यसलाई पुन व्यक्तिकरण गर्यो, त्यसपछि सामूहिकारण गर्यो।
अर्को महत्वपूर्ण पक्ष भनेको जेनजी पुस्ता लामो समयदेखि “हामी को हौँ?” भन्ने पहिचान संकटसँग संघर्षरत थियो। राज्यले उनीहरूको आवाजलाई नचिनेर, निरन्तर दमन गरेर यस संकटलाई अझै चर्कायो। यही “identity crisis” नै अन्ततः आन्दोलनको गहिरो आधार बनेको देखिन्छ। यसलाई मैले लामो समयदेखि “जेनेरेसन ग्याप” भन्दै आएको छु, यसैबारे अर्को अंकमा विस्तृत रूपमा चर्चा गर्नेछु।
अन्त्यमा,
यसरी हेर्दा जेनजी आन्दोलनलाई मनोवैज्ञानिक सूत्रमा समेट्न सकिन्छ। असन्तोषले आधार तयार गर्यो, अन्यायको अनुभूतिले उसलाई बलियो बनायो, सामूहिक चेतनाले त्यसलाई सामाजिक शक्ति बनायो, नेतृत्वको अनुपस्थितिले मागलाई केन्द्रमा ल्यायो र परिवर्तनप्रतिको विश्वासले सबैलाई सडकमा उतार्यो।
यसबाहेक सार्वजनिक स्मृति र ऐतिहासिक मनोविज्ञानले पनि काम गरेको हुनुपर्दछ। त्यो भनेको चाहिँ, अघिल्ला आन्दोलनहरूको स्मृति (२०६२/६३, मधेश आन्दोलन) अझै सामाजिक स्मृतिमा जीवित थियो। र, “आन्दोलन गर्दा परिवर्तन सम्भव छ” भन्ने विश्वास पुस्तान्तरण भइसकेको पनि थियो।
आजको जेनजी पुस्ता मात्र व्यक्तिगत पीडामा सीमित छैन; हामीहरू डेटा, तथ्य, र डिजिटल फ्याक्ट–चेकिङ मार्फत निर्णय गर्ने सक्षम समूह पनि हौँ। आन्दोलनपश्चात् पनि यो पुस्ता घटनाक्रमलाई विश्लेषण, मूल्याङ्कन र सार्वजनिक छलफलमा राखिरहेको देखिन्छ। डिजिटल प्लेटफर्मको झन् बढ्दो प्रयोग र अन्तरिम सरकार डिजिटल भोटिङमार्फत चुनिनु लोकतान्त्रिक सहभागिताको नयाँ अभ्यास हो। यसले डिजिटल डिस्कोर्स र राजनीतिक संवादलाई निरन्तरता दिने मनोवैज्ञानिक आधार तयार गरिरहेको छ। यसमार्फत उन्नत लोकतन्त्र स्थापना भएर नै छाड्ने मनोविज्ञान तयार भइरहेको जस्तो देखिन्छ।
आज, करिब एक हप्ता पछि पनि, यस आन्दोलनमा देखिएको युवा आशा र निरन्तरता उल्लेखनीय छ। आन्दोलनका क्रममा शहिद भएका व्यक्तिका परिवारहरू, आन्दोलनमा उत्रिएका घाइतेहरू, अन्य सह्माभागी आन्दोलनकर्मीहरू, यस आन्देलनको पक्षमा देखिएको मिडिया मनोविज्ञान, विदेशमा बसेको डिजिटल युवापुस्ता र समग्र देशवासीको ‘देश परिवर्तन हुँदैछ र त्यो स्वतन्त्र र सचेत जेनजीहरूले नै गर्नेछन्’ भन्ने विश्वासले काम गरिरहेको छ कि जस्तो देखिन्छ । किनभने सबै सहभागीहरूले आफ्ना अधुरा सपना, असन्तोष र आकांक्षालाई यस आन्दोलन र यस सरकारको हरेक कदममाथिमाथि प्रोजेक्ट गरेको देखिन्छ। त्यसैले योआन्दोलन ‘युवाको भविष्य र राष्ट्रिय भविष्यको प्रतीक’ दुवै एकसाथ् बनिरहेको हो कि जस्तो देखिन्छ। युवा प्रतिभा/क्षमता, fact-checking क्षमता, र डिजिटल सहभागिताले सकारात्मक भविष्यप्रतिको भरोसा निर्माण गरिरहे झैं देखिन्छ।
(भदौ २४ गते भएको सार्वजनिक सम्पति तोडफोडमा क्रममा देखिएको पुरातात्त्विक अमर्यादा र व्यवसायिक घराना लक्षित लुटपाटका सम्बन्धमा पनि बेग्लै चर्चा आवश्यक छ। भविष्यमा त्यसतर्फ पनि मनोवैज्ञानिक अध्ययन हुँदै जाला । सरकारी संरचना वा भ्रष्ट नेताको घर/गाडीमाथिको आक्रमण केवल भौतिक क्षति होइन, संकलित पीडा बाहिर निकाल्ने मनोवैज्ञानिक प्रक्रिया (Catharsis) थियो जस्तो देखिन्छ, यसको पनि आवश्यक ठहरिएमा मनोवैज्ञानिक अध्ययन गर्न सकिएला।)
