नोबेल पुरस्कार विजेता ग्लिक रहिनन्, उनका कविता रहिरहे (अनुवाद कविता सहित)

You are currently viewing नोबेल पुरस्कार विजेता ग्लिक रहिनन्, उनका कविता रहिरहे (अनुवाद कविता सहित)

सन् २०२० मा भने नोबेल पुरस्कार विजेता अमेरिकी कवि लुइस ग्लिक (८० वर्ष) रहिनन् । उनका कविताहरू हामीमाझ छन् । उनका १०/१२ वटा मात्रै कविता पढ्दा मैले के बुझे भने मानव हुनुको सार्वभौम संवेदना, बचपनका किस्साहरू र सम्बन्धका तानाबानाहरूलाई उन्न/बुन्न उनलाई आउँछ । विश्वासघात गर्ने अनेकन् पौराणिक पात्रहरूलाई आफ्नो कविता ठाउँ दिएको देखेर मलाई उनी अझ मनपर्छ, यसो गर्दा मानव सभ्यता र ‘विश्वासघात’ पर्यायवाची बनेको प्रष्टिन आइपुग्छ ।

२२ अप्रिल, १९४३ मा न्युयोर्कमा लुइस ग्लिक जन्मिएकी हुन् । ग्लिकको आमा यहुदी थिइन्, उनको हजुरआमा-हजुरबुबा हंगेरीको यहुदी थिए, जो ग्लिकको बुबाको जन्मअगावै अमेरिका आइसकेका थिए ! ग्लिकका पिता लेखक बन्न चाहन्थे, तर सकेनन् । ग्लिकले आफ्नो आमा-बुबाबाट यूनानी पौराणिक कथा एवं अन्य प्रचलित कहानीहरू सुनेर बचपन बिताएकी थिइन् । र, यसैकारण ग्लिकले सानै उमेरदेखि कविता लेख्ने थालिन्, क्रमश: त्यसमा सुधार देखियो । किशोरावस्थामा ग्लिक ‘एनोरेक्सिया नर्वोसा’ नामक रोगले प्रताडित भइन्, यो प्रताडित समयमा उनले खुब पढिन् र लेखिन् ।  ७ वर्ष लाग्यो उनलाई यसबाट पार पाउन । 

यस बिमारीको कारण उनको स्कुलको पढाइ र जेनतेन सकियो तर कलेजतर्फ बाधा उत्पन्न भयो, जसकारण सारा लरेन्स कलेजमा उनले काव्य लेखनको कक्षाहरू लिन सुरु गरिन् । सन् १९६३देखि १९६६ को बीचमा उनले कोलम्बिया युनिभर्सिटीको स्कुल अफ जनरल स्टडीजमा काव्य कार्यशालामा भाग लिइन्, जो गैर परम्परागत छात्राहरूलाई डिग्री प्रदान गर्दछ । यस समयमा उनी लिओनी एडम्स र स्टेनली कुनित्जको सम्पर्कमा आइन्, जसले उनलाई कविको रूपमा निखार्न सघाएको ग्लिक आफैंले बताएकी छन्  । ठुलो दिदिको मृत्यु, बाबुको मृत्यु, पतिसँग छोडपत्र जस्ता घटनाहरूले पनि उनलाई अझ निखार्यो ।

सन् १९६८ मा प्रकाशित फस्टबर्न कविता संग्रहमा नयाँ शिल्प गरेको भन्दै समकालीन कविहरूमा नाम जमाएकी थिइन् । सन् १९८५ मा उनको द ट्रम्फ अफ अकिलिज कृतिपछि भने उनी विख्यात नै भइन् । सन् १९९० को दशक उनका लागि महत्त्वपूर्ण रह्यो । उनको अरारतले संसारभर फैलने अवसर पायो भने सन् १९९३ मा द वाइल्ड आइरिस कृतिमार्फत पुलित्जर पुरस्कार हात पारिन् । ग्लिक सन् १९९३ मा ‘बेस्ट अमेरिकन पोएट्री’ को सम्पादक पनि थिइन् । सन् २००३ देखि २००४ सम्म उनलाई अमेरिकी सर्वोच्च कविको सम्मानपूर्ण पदवि दिइएको थियो भने सन् २०१४ मा उनले नेसनल बुक अवार्ड हात पारेकी थिइन् । उनले जीवनकालमा कयौँ विश्वविद्यालयमा अंग्रेजी साहित्य र सिर्जनशील लेखन पढाइन् ।

१. पहिलो कविता :

साइरन

म एक अपराधी बन्न पुगे, जब मैले विशुद्ध प्रेम गरेँ,

त्यसभन्दा अघिसम्म म एक वेट्रेस थिएँ ।

म तिमीसँग शिकागो शहर जान चाहन्न थिएँ,

मेरो त तिमीसँग बिहे गर्न चाहाना थियो ।

म चाहन्थे,

तिम्रो श्रीमतीले यसबापत कष्ट भोगिरहोस्।

म उसको जीवन नाटक जस्तो होस् भन्ने चाहन्थेँ,

जहाँ दुःख र मात्रै दुःखहरू होउन् ।

के एक असल व्यक्तिले यस्तो सोच्ने गर्छ ?

तर म सोच्ने गर्छु,

यसप्रकारको साहसको मैले जस पाउनुपर्छ ।

म तिम्रो अगाडी बार्दलीको अँध्यारोमा छेलो परेर बसेकी थिएँ,

सबै कुराहरू स्पष्ट थिए-

यदि तिम्रो श्रीमतीले तिमीलाई मसँग जान दिई भने

प्रमाणित हुनेछ कि ऊ तिमीलाई प्रेम गर्दिन ।

यदि तिमीलाई प्रेम गर्दछे भने ऊ,

तिमी खुसी भएको पनि पक्कै रुचाउनेछे ।

मलाई लागिरहेछ,

यतिखेर

यदि मैले आफूलाई कमजोर महसुस गरेँ भने

म एक असल व्यक्ति सिद्ध हुनेछु !

उसो त, म एक असल वेट्रेस त थिएँ नै,

म अझ पनि आठ वटा पेय पदार्थहरू एकसाथ बोक्न सक्छु।

पर्ख, म तिमीलाई मेरो सपना बताउँछु,

गएराति मैले एक महिलालाई अँध्यारो बसमा बसिरहेको देखेको थिएँ।

सपनामा;

बस गुडिरहेको थियो, उनी रुँदै थिइन्,

बस टाढा कतै जाँदै थियो ।

एक हातले उनी आँसु पुछ्दै थिइन्,

र, अर्को हात हावामा लहराउँदै

बच्चाहरूले भरिएको ‘अण्डाका क्यारेटहरू’ सुम्सुमाइरहेकी थिइन्।

सपनामा, त्यो विवाहित महिलाको उद्धार हुन् सकेन ।

भावार्थ :

साइरन प्रलोभन, इच्छा, र जोखिमको प्रतीक हो। ग्रीक पौराणिक कथाअनुसार कुनै पनि टापु आसपास हुँदै अघि बढिरहेको जहाज या नाविकहरूलाई रोक्नको लागि साइरनले मिठो गीत गुनगुनाउने गर्दछे । उसको गीतमा लट्ठ हुँदा जहाजहरू टापुको चट्टानी तटमा दुर्घटनाग्रस्त हुने या नाविकहरूको पानीमा डुबेर मृत्यु हुने अनुमान गरिन्छ । डिमिटर (अन्न एवं पृथ्वीको उर्वराशक्तिको देवी) एवं म्युज/म्युजेज (साहित्य कला, सङ्गीत, दृश्यकला, र विज्ञानको मूर्त रूप या कलाका संरक्षणका लागि खटाइएका देवीदेवताहरू) द्वारा श्रापित साइरन एउटा सानो टापुमा निर्वासित जीवन बिताइरहेकी छे भनेर विश्वास गरिन्छ ।

२. दोस्रो कविता

एक फेन्टासी :

म तपाईँलाई केही कुरा बताउँछु,

हरदिन मान्छेहरू मरिरहेका छन्,

र यो सिर्फ एक सुरुवात हो ।

हरदिन अन्त्येष्टि स्थलहरूमा

नयाँ नयाँ विधवाहरूले जन्म लिइरहेका छन्,

नयाँ नयाँ अनाथहरूले पनि ।

ती दुवै आ-आफ्ना हात बाँधेर झोक्राइरहेका हुन्छन्,

आगामी जीवनको बारेमा प्रश्नहरू गरेर, तीनका जवाफहरू खोजेर ।

उनीहरू चिहान पुग्नेछन्, कोही त पहिलोपटक पुगिरहेका हुन्छन् ।

उनीहरूलाई रुन डर लाग्छ, कहिलेकाहीँ त रुन नसकेर पनि डराउछन् ।

फेरी, कोही व्यक्ति उनीहरूतर्फ झुक्नेछ,

र, उनहरूलाई बताउनेछ- ‘अब भविष्यको बारेमा सोच, जसको कुनै महत्त्व होस् !’

…यस्तै यस्तै केही शब्दहरू बोल्नु,

र, उदाङ्गो चिहानमा माटो खसाउनु,…

त्यसपछि सबै मलामीहरू आ-आफ्नो घर फर्कन्छन् ।

रित्तो-रित्तो हुन्छ- त्यो चिहान,

जो केही समय अगाडीसम्म समवेदनाका आवाजहरूले भरिएको थियो ।

विधवा सोफामा बस्दछे, एकदम धीर-गम्भीर ।

आफन्तजनहरू एक-एक गर्दै मिल्नको लागि उसको साम्मुख आउँछन्,

कोही आउँछन्, उसको हात समाउँछन्;

कोही आउँछन्, उसलाई अँगालो हाल्छन् ।

उनीहरूसँग सम्झाउन/बताउनका लागे हमेशा केही न केही हुनेगर्छ,

ऊ उनीहरू सबलाई धन्यवाद भन्दछे- ‘आउनुभएकोमा यहाँहरू सबैलाई धन्यवाद !’

आफ्नो मनमनै ऊ पुकार गर्छे- ‘हे ईश्वर, यी सब चाँडोभन्दा चाँडो यहाँबाट गई जाउन् !’

र, ऊ पुग्न चाहन्छे, सोही चिहानसम्म,

बिरामी छटपटाइरहेको वार्डसम्म, अस्पतालसम्म ।

ऊ जान्दछे, अब यो सम्भव छैन ।

तर, त्यही नै उसको आशाको त्यान्द्रो हो,

विगतसम्म पुगेर आउने,

थोरे पछाडिसम्म मात्रै भए पनि ।

  • निकै पछाडि, विवाह र पहिलो चुम्बनसम्म भने होइन ।

खोज/सङ्कलन/अनुवाद : राजु झल्लु प्रसाद

लेखकका अन्य सिर्जनाहरू पढ्न यहाँ क्लिक गर्नुहोस्…#राजु झल्लु प्रसाद#लुइस ग्लिक

(साहित्यपोस्टमा २०८०, आश्विन २९, सोमवार १३:३७ मा प्रकाशित)

Leave a Reply