स्वतन्त्रता भन्ने कुरा के रहेछ ? – उक्ति प्रत्युक्ति (अंक-३)

You are currently viewing स्वतन्त्रता भन्ने कुरा के रहेछ ? – उक्ति प्रत्युक्ति (अंक-३)

स्वतन्त्रता भन्ने कुरा के रहेछ ? स्वतन्त्रताको सीमा पनि हुन्छ भनिन्छ नि ? स्वतन्त्रतासँग सावधानी कत्तिको जोडिन्छ ? स्वतन्त्रतालाई लिएर हामीहरूको भाष्य कस्तो पाउनुहुन्छ ?

स्वतन्त्रता ?
तर.. स्वतन्त्रताबारे कसरी कुरा सुरु गरौँ ? स्वतन्त्रताबारे कुरा गर्नु स्वतन्त्र हुनु हो ? स्वतन्त्रताबारे सोच्नु स्वतन्त्र हुनु हो ? स्वतन्त्रताबारे मानिस किन र कसरी सोच्न पुग्छ ? स्वतन्त्रताबारे सोच्नुपूर्व ऊ पिँजडामा नै कैद होस्, यो जरूरी छ ? या पिँजडाबाहिर रहँदा पनि मानिस बन्धक हुन्छ ? के यी यावत प्रश्नहरू स्वतन्त्र छन् ? र, यसका उत्तरहरू ? साँच्चै, स्वतन्त्रता प्रश्न हो कि उत्तर ?
स्वतन्त्रता पाउने कुरा मात्रै हो कि दिने कुरा पनि हो ? स्वतन्त्रता पाएपछि स्वतन्त्र होइन्छ कि स्वतन्त्रता दिएपछि स्वतन्त्र भइन्छ ? कसले कसलाई कसरी स्वतन्त्रता दिने र कसले कसबाट कसरी स्वतन्त्रता प्राप्त गर्ने ? स्वतन्त्रता अँध्यारोबाट उज्यालोमा आउने यात्रा हो या सकभर अँध्यारोमा जाँदै नजाने यात्रा हो ?

इतिहास:
मानव उत्पत्ति विज्ञहरूका अनुसार पहिलेपहिले मानिस स्वतन्त्र थिए अरे ।
तर आदम र हव्वा साँच्चै स्वतन्त्र थिए ? या फल नखानु भन्ने ईश्वरको सीमा (आदेश) ले उनीहरूको स्वतन्त्रता खोस्यो ? त्यस प्रकारको सीमा तोक्ने अधिकार ईश्वरलाई कसरी प्राप्त भयो ?

के स्वर्गमा स्वतन्त्रता छ ? या स्वतन्त्रताको अर्को नाम स्वर्ग हो ? के सृष्टिकर्ता र ब्रह्‍माण्डको तमाम सार्वभौम शासकहरू साँच्चै स्वतन्त्र थिए ? शिवजीले ब्रम्हाको पाचौँ शीरछेदन गर्नुले कस्तो सृजनात्मक स्वतन्त्रतालाई चित्रित गर्दछ ? नेपालमा चलिरहेको धार्मिक स्वतन्त्रता कि धार्मिक निरेपेक्षता भन्ने बहसबीच यस्ता प्रश्नहरूले कत्तिको स्वतन्त्रताको वकालत गर्न सक्लान् ? असीमित स्वतन्त्रताले यसबीच कहाँनेर मुन्टो उठाउला ?

लौ, मानदिऊँ, गुरुत्वाकर्षण, हिलियम ग्यासको आयू, एस्ट्रोरोइड्सको ठक्कर, चन्द्रमाको स्थानान्तरण, कस्मिक रे, अणु बम, प्रदूषण, लगायतका कारण पृथ्वी स्वतन्त्र छैन अरे ! तर यी सबबीच पनि पृथ्वीले वाइल्ड कार्ड इन्ट्री पायो र बाचीरह्यो रे ! त्यसपछि ?… के लामो आयू स्वतन्त्रताको मुहारपुस्तिका हो ?
छोडौँ, सिधा प्रश्न गरौँ, के यो ब्रह्माण्ड स्वन्तन्त्र छ ? सानो तत्व क्वार्क्स, इलेक्ट्रोन, न्यूट्रोन एवं लोप भइसकेको भीमकाय जीव मैमथ हात्ती, मेगालोथान सार्क, डाइनोसर या सबैभन्दा विशाल मानिएको ब्ल्याक होल,..स्वतन्त्र थिए/छन् ? स्वतन्त्रता आयू पनि हो ? हो भने, स्वतन्त्रताको चाहिँ आयू हुन्छ कि हुँदैन होला ?

तपाईंलाई यो पनि मन पर्न सक्छ

राजनारायण प्रधान

“ भाषाको साहित्यमा पाश्चात्य साहित्यको विषयमा विवेचना गरेकै हुन्छ।”- राजनारायण प्रधान

 अशोज १८, २०७८

मञ्जुला तामङ सुब्बा

समीक्षात्मक वेदीमा “इजा अर्घ्य” अर्पण – कृष्ण प्रधान

 भदौ १, २०७८

हर्कबहादुर लामगादे 'रोहित'

“चुनौतीमा गरेको कार्य नै ऐतिहासिक र सन्तोषजनक हुन्छ ।”- हर्कबहादुर लामगादे ‘रोहित’

 साउन २८, २०७८

कर्ण थामी

कर्ण थामीको “उदुम्बरा” -लाई हेर्ने काकाकुली तिर्सनामा  – कृष्ण प्रधान

 साउन १६, २०७८

वर्तमान:
यसो गरौँ, अलि सजिलोसँग कुरा गरौँ । वर्तमानमा नै आऊँ । (यार.. ब्रम्हाण्डतिर भौतारिँदा मेरो पसिना छुट्यो ।)
स्वतन्त्रता वर्तमानकालको प्रमुख राजनैतिक दर्शन हो । हरेक देशका नागरिक सेल्फ-गर्भर्नान्स (स्व-शासन) चाहिरहेका छन् । आफ्नो इच्छानुसार काम गर्ने सत्ता, आफ्नो इज्जत गर्ने, ख्याल राख्ने सरकार । र, यदी त्यस्तो सरकार भेटिन्छ र निर्माण हुन्छ भने त्यो स्वतन्त्र देश भयो, त्यहाँका नागरिकहरू स्वतन्त्र भए । यो दर्शनको सार कुरा यत्ति नै हो । यस दर्शनलाई अलि केलाउने हो भने ‘स्वशासन सुशासीत हुने गर्दछ, स्वशासनले सुशासन ल्याउँछ’ भन्ने छ ।

यही भनाइलाई आधार मानेर राजनीतिक, धार्मिक, न्यायिक एवं अभिव्यक्ति स्वतन्त्रता लगायतका मुद्धाहरू पृथ्वीकै नक्कल गरिरहेका छन्, पृथ्वी झैँ नै चलायामन छन् । गोल-मटोल घुमिरहेका छन् । भनौँ न, एक रिंगटा छुटाउने खेल संचालन भइरहेको छ र आजसम्म यसको कुनै निर्णायक निष्कर्ष निस्किसकेको छैन । मतलब, कसैले म पूर्णत: स्वतन्त्र भए भनेको छैन- चाहे त्यो देश होस् या कुनै एक व्यक्ति ।

कुनै देश दमन, भेदभाव अनि गरिबीबाट स्वतन्त्र हुन चाहिरहेका छन्, कुनै देश वाक-स्वतन्त्रता, स्वाधीनता, समानतालाई लिएर लडिरहेका छन् । यसलाई यसरी भनौँ, स्वतन्त्र हुन पाउने आफ्नो अधिकारको लडाइ हरेक व्यक्ति लडिरहेको छ । आत्मनिर्णयको अधिकार, नागरिकताको अधिकार, मानवीय व्यवहारको अधिकार, भोकविरुद्धको अधिकार, शान्तिको अधिकार, स्वस्थ पर्यवारणको अधिकार, भेदभावविरुद्धको अधिकार, श्रमिक/महिला/बालक/फरक लिंगी/अशक्तहरूको अधिकार लगायतका अधिकारहरूलाई स्वतन्त्रतासँग लगेर जोडिन्छ, यसकारण स्वतन्त्रताको सवाल हरबखत पेचिलो बन्ने गर्दछ । स्वतन्त्रताले यी यावत अधिकारहरूको संरक्षण गर्दछ र मानविकी कानूनले यी अधिकारको अधिकार क्षेत्र पनि तोक्दछ ।

हरेक व्यक्ति स्वतन्त्र छ ?!
स्वतन्त्रताबारे एउटा सर्वमान्य सिद्धान्त छ कि ‘हरेक व्यक्ति स्वतन्त्र छ र स्वतन्त्र हुन पाउनु उसको जन्मजात अधिकार हो । उसको त्यो अधिकारको सम्मान गर्दै भातृत्वको भावनाबाट एकआपसमा व्यहार गरौँ, दुनियाँ सुन्दर बन्छ, स्वतन्त्र बन्छ, समानता आउँछ, शान्ति छाउँछ । हुनु नहुनु सब हुन्छ । कायापलट हुन्छ । बबाल हुन्छ । झकास हुन्छ । दामी हुन्छ । खतरा हुन्छ । के हुन्छ, हुन्छ ।’ के यो यस्तै हुन्छ ? यस्तै भइरहेको छ ? हामीले प्रयास गरिरहेका छौँ ? र, प्रयास सुधारोन्मुख पनि छ ? सिधा-सिधा उत्तर हो- छैन ।

‘स्वतन्त्रता’ नामको जन्मसिद्ध अधिकार कसले शतप्रतिशत उपयोग गर्न सकिरहेको छ/गरेको थियो ? फेरी अर्को पनि प्रश्न, शतप्रतिशत नै उपयोग गर्न सक्ने सुविधा एक्काइसौँ शताब्दीको मानवसँग छ ? हिटलरले कति प्रतिशत स्वतन्त्रताको उपयोग गरेका हुन् ? र, स्कल्यान्डरले कति प्रतिशत?

वर्ल्ड बूक इन्साइक्लोपीडिया भन्छ कि स्वतन्त्रता भनेको ‘छनौट गर्ने र त्यस अनुसार गर्ने क्षमता हो ।’ त्यही विश्‍वकोश थप्छ, ‘कानुनी दृष्टिकोणबाट हेर्ने हो भने मानिस साँच्चै स्वतन्त्र हुन्, समाजले कुनै पनि प्रकारको अन्यायपूर्ण, अनावश्‍यक वा अव्यावहारिक सीमा तोक्नु हुँदैन ।’ यसको अर्थ हो, स्वतन्त्रताबाट कोही पनि वञ्चित नहुन समाजमा न्यायोचित, आवश्‍यक र व्यावहारिक सीमा चाहिन्छ । त्यसो भए प्रश्‍न उठ्‌छ; त्यस्तो सीमा तोक्ने अधिकार कोसित छ ? सीमा तोक्ने नै किन ? सीमासहित पनि स्वतन्त्रता भन्ने हुन्छ र ? अब एउटा प्रश्न उब्जन्छ, स्वन्त्रताको कुनै अस्तित्व पनि छ ? स्वतन्त्रता भन्ने कुनै कुरा पनि हुन्छ र ?

स्वतन्त्रताको कुनै अस्तित्व पनि छ ?!
स्वतन्त्रताको ठ्याक्कै उल्टो शब्द ‘दास हुनु हो’ भन्ने छ । तर धर्मलाई नियाल्दा एउटा रमाइलो पक्ष भेटिन्छ । जस्तो, इस्लाम अल्लाहको दासत्व कबुल गरेर अल्लाहबाहेक अरू कसैको दास नहुन स्वीकार्छ । इसाई र यहुदीहरू ख्रिस्ट र यहोवाको दासत्व सोही अर्थमा स्वीकार्छन् । यता, एकान्तप्रेमी तथा ध्यानशील बुद्धले स्वतन्त्रतालाई अलि ब्रान्डीङ गरिदिए, समता, शान्ति, मैत्रीसहित मानवीय मूल्य ल्याएर जोडिदिए । तर बुद्धको पनि दासत्व आफ्नो ठाउँमा छँदैछ । हिन्दु धर्ममा यो अझ बढ्ता भेटिन्छ । यहाँ तेत्तिस कोटीको संख्यामा अल्लाह या ख्रीष्ट छन् । यसरी हेर्दा स्वतन्त्रता कहिल्यै अस्तित्वमा नै थियो र भन्ने प्रश्न उब्जनु स्वाभाविक हो ।

जस्तो कि, मानिसले जबजब परमात्मा या परमेश्वरमा विश्वास गर्न थाल्यो, उ स्वतन्त्र रहेन । परमात्मा या परमेश्वरले आएर उसको ब्रेनवास गरिदिए । स्वतन्त्रताको बारेमा चाहिँदानचाँहिदा कुराहरूले कान भरे । र, मानिस विश्वस्त भएरै छाड्यो । जसले जीवन दियो उसको दासत्वलाई सर्वोपरी मान्नु पर्दछ भन्ने विश्वासले यहाँ काम गर्‍यो कि भन्ने लाग्छ । फेरि कोही एकको दासत्व अस्वीकार गर्दा अरू दुई/चार व्यक्तिको दासत्व पो बाध्यतावश स्वीकार्नु पर्ने भएको पनि थियो कि/छ कि ?

त, विश्वास पनि स्वन्तन्त्रताको बन्धक हो रहेछ नि ! यसपछि चाहिँ पाप र पुण्यको दासत्व आइपुग्यो । सँगसँगै मृत्यु एवं स्वर्गको दासत्वको आगमन भयो । सांसारिक इच्छा अनि महत्वकांक्षाको दास त त्यसपछि हुर्कँदै आएका हाँगाबिगा भइहाले । यस हिसाबले हेर्दा ‘पूर्णत: स्वन्त्रताको कुनै अस्तित्व छ र ?’ भन्ने प्रश्न जीवित नै रहिरहन्छ । (यसको आयू र अमरत्वबारे मैले अनुमान गर्न सकिन ।)

धर्म छाडौँ, राजाहरू हेरौँ । रोमनहरू आफूलाई नियम-कानुन, न्याय-व्यवस्था र स्वतन्त्रताको सारथी ठान्थे । तर रोम साम्राज्यले त्यस्तो शक्‍ति र महिमा दासदासीहरूलाई थिचोमिचो गरेर हासिल गरेको थियो । कुनै एउटा समयमा रोमको कुल जनसङ्‌ख्याको ३० प्रतिशत मानिसहरू दास थिए ।

राजा पनि छाडौँ, कानुनलाई हेरौँ । सबैभन्दा खुसी नागरिकहरूको बसेरा मानिएको न्यूजल्याण्डमा (विशेषत: महिला) यौन दासत्व बरकरार नै छ । भारततर्फ मोदी-मिथ, रसियामा पुटिन-मिथ, टर्कीमा हागियासोफिया-मिथ, अमेरिकामा अंकल श्याम-मिथ, नेपालमा ठोरी-मिथ चलिरहेकै छ । यी मिथकहरूले स्वन्तन्त्रताको भाष्यलाई कसरी पो परिभाषित गर्ने हुन् ? (यार,यता पस्दा निस्कनै हम्मे-हम्मे पर्ने भयो, यता नपसौँ ।)

नास्तिकका कुरा गरौँ, यिनीहरू धर्मबाट उन्मुक्ति पाउनुलाई स्वन्तन्त्रता मान्दछन् । धर्मबाट उन्मुक्ति पाएका उनीहरू अन्य कुरादेखि स्वतन्त्र छन् त ?

उत्तर आधुनिकताको कुरा गरौँ, नो ब्रा-मुभमेन्ट, नो सोसियल मिडिया मुभमेन्ट लगायत चलिरहेको छ यता । तर उनीहरू पनि साँचो अर्थमा स्वतन्त्र छन् ? इतिहास पुनर्लेखन गरिरहेकाहरू यस्ता मुभमेन्टलाई कसरी लेख्लान् ? एउटा नैतिक प्रश्न यहाँनेर छँदैछ । त्यसभन्दा महत्वपूर्ण प्रश्न, उत्तर आधुनिकताले रूचाएको स्वतन्त्रता कस्तो हो ?

यसबाहेक, अर्को एउटा अलग समूह पनि छ, सबैप्रकारका दासत्वबाट उन्मुक्ति खोज्दै आफ्नै दासत्वबाट समेत आफू मुक्ति चाहनेहरूको । उनीहरूका अनुसार भोक लाग्नु, निन्द्रा लाग्नु र थकाइ लाग्नुबाट मुक्ति खोज्नुपर्छ । उनीहरू सदैव जाँगर चलिरहोस्, भूँडी भरिइरहोस्, आराम मिलिरहोस् सोच्दछन् । तर त्यो सम्भव छ र ? छैन । छैन, भने फेरि आफ्नै दासत्वलाई अस्विकार गरेर स्वतन्त्रताको कुरा कसरी गर्ने ? (यसपछि रोबर्टको कुरा गर्नुपर्छ, त्यता नजाऊँ ।)

यसप्रकार मानिस आफ्नै शरिर या उसको जैविक प्रकृतिबाट नै स्वतन्त्र छैन । स्वतन्त्रताको कुरा धमिलो कुवा हो भन्ने तर्क पनि छ । तर एउटा प्रश्न, के उनीहरूले यसो भनेर स्वतन्त्रताको भाष्य नै बिटुलाइरहेका हुन् ? हुन् भने उनीहरूलाई स्वतन्त्रताबारे एक शब्द पनि बोल्ने अधिकार छैन । तर स्वतन्त्रताको विपरित गएर बोल्न नै नपाउनु पनि स्वन्तन्त्रता हुन सक्ला र ?…स्वतन्त्रताको यसैकारण अलग-अलग भाष्य छ, अलग-अलग प्रकृति र परिभाषा छ ।

स्वतन्त्रता आखिर के हो ?
मानव एक जैविक जीव हो । जन्मिन्छ, मर्छ । तर यसबीचको बाँच्ने उपक्रममा स्वतन्त्र भएर बाँच्न पाओस् भन्ने कुरा हो । कसैले उसको भाग नखोसोस्, निन्द्रा नाचोरोस्, आराम नलुटोस् । सायद यही नै स्वतन्त्रता हो । तर सँगसँगै यी प्रश्नहरू पनि छन्, ऊ कतिन्जेल निदाउन पाउने ? उसले कति खाने पाउने ? उसले कतिबेर आराम गर्ने पाउने ? उसले मात्रै खान पाउने कि अर्को व्यक्तिले पनि खान पाउने ? ऊ मात्रै निदाउने कि अर्को व्यक्ति पनि निदाउने ? उद्योग र मजदूरको लडाइ, शासक र शोषितको लडाइ, राज्य र शरणार्थीको लडाइ यसै कित्ताका लडाइहरू हुन्, जुन चलिरहेकै छन् ।

बालक आमाको पेटमा स्वतन्त्र थियो भन्ने पनि छ। तर यसमा पनि विवाद छ । ठीक छ, बालक जन्मियो । स्वतन्त्रताको उपयोग गर्न जन्मिएको एक बालक हुर्कँदै जाने क्रममा सामाजिक, सांस्कृतिक, धार्मिक, भौगोलिक, विचारिक पिँजडामा कैद हुन पुग्यो । यी सबबाट पर हटेर उसले आफ्नो स्वतन्त्रताको माग राख्यो । (बाबु-आमाविरुद्ध मलाई किन जन्माएको भनेर मुद्धा परेको इतिहास हिजोकै हो ।) तर हामीकहाँ दायित्व, मर्यादा, जिम्मेवारी जस्ता शब्दहरू छन् । यिनको अर्थ छ । मूल्य छ । त्यसबाट भागेको खण्डमा हामी मानव रहदैनौँ । जन्मेको देश, जन्माएको आमा, हुर्केको समाज, पढेको शिक्षा र सिकेको कुराको हामीले मूल्य चुकाउनु पर्छ । ऋणभार, गुरु दक्षिणा.. तिर्नुपर्छ । र, यहि चुकाउँदै चुकाउँदै हामी आफैँ एक पिँजडा बन्छौँ । र, आफैँलाई दानापानी दिँदै आफ्नै हृदयको फलामेबारमा ठुङ(चुच) हानिरहन्छौ ।

स्वतन्त्रताको उपयोग गर्न जन्मिएको एक बालक कसरी फलामेबारमा पुग्यो, मूल्यांकन आवश्यक छ । हामीकहाँ त्यस्ता व्यवस्था छन्, वैचारिकी छन्, व्याख्या-उपव्याख्या छन् जसले स्वतन्त्रतालाई लिएर चरम सुख र या खुसीसँग लगेर तौलिन्छ । सायद यी पो मुख्य कारण हुन् कि ?

स्वतन्त्रता र खुसी:
अहो, स्वतन्त्रताको अर्को नाम ‘खुसी’ हो ? जस्तो, कोक पिउँदा म खुसी हुन्छु । मान्दिऊँ कि, म कोक पिएर म खुसी भएँ, यसर्थ स्वतन्त्र भए । तर कोक पिउन नपाउँदा ? नाथे, कोक पिउन नपाउँदा म दुखी हुनुपर्ने किन ? नाथे कोकको एक घुँट पिउन नपाउँदा मेरो स्वतन्त्रता बन्धकमा पर्ने, कसरी ? के कोक ‘नाथे’ छ ? के कोकसँग खुसी र स्वतन्त्रता जोडिएकै थियो या म आफैँले लगेर जोडेको हुँ ?

कोकजस्तै धेरै कुरा छन्, जससँग जोडेर मैले आफ्नो खुसीको मापन गर्ने गरेको छु । मैले मात्रै होइन आजको दुनियाँको परिभाषा नै त्यस्तो छ । जस्तै, यतिखेर मेरो सामुन्नेको घरको छतमा ‘नेपाटप, सब ठीकठाक’वाला कालो रङको ड्रम छ । मेरो कोठाको भुइँमा ‘यति कार्पेट’ बिच्छिएको छ । म प्रख्याती कमाएको ‘लेनेभो, डेल’ ल्यापटप प्रयोग गरिरहेको छु । म वियर खान मन हुँदा ‘टुबोर्ग’ नै किन रोज्छु ? मलाई किन ‘एप्पल आइफोन’ किन्ने सपना छ ? ‘टोयोटा कार’ चढ्ने सपना छ ? ‘नेटफ्लिक्स’बाटै फिल्म हेर्न म किन भागदौड गर्छु ? पाएसम्म ‘मार्लबोरो चुरोट’ नै खाऊँ भन्ने किन हुन्छ ? ‘नेस्क्याफे’ नै पिऊँ, ‘जिलेट’ले नै दारी काटौँ, ‘वाईवाई चाउचाउ’ नै खाऊँ, ‘सिजीकै राइस कुकुर’ किनौँ, ..यस्तो किन हुन्छ ? र, यी समानहरूको प्रयोग गरिरहँदा मलाई उत्पात खुसी किन हुनुपर्‍या हो?

मैले प्रश्न गर्नु पर्थ्यो, यी कम्पनीका तथाकथित ‘ब्रान्डेड’ भनिएका सामानहरू प्रयोग गरिरहँदा म खुसी त थिएँ तर के स्वतन्त्र पनि थिए ? मलाई ‘सेभेन ओ’ क्लक ब्लेड’ किन मन पर्दैन ? सेभेन ओ’ क्लक ब्लेडले दारी मिलाउँदा स्वतन्त्रता हनन भएजस्तो किन हुन्छ ? या अझ, रारा चाउचाउ खाँदा बन्धकजस्तो महसुस किन हुन्छ ? नेपाल आइस बियर किन्दा लाजजस्तो किन लाग्छ ? र,फेरी टुबोर्ग नै किन्दा स्वतन्त्र भएको महसुस के-कति कारणले हुन्छ ?

यो सब पुँजीवादको करामत हो- एउटा सिधासिधा जवाफ त यतिखेर मसँग छ । तर पुँजीवादको उद्देश्य पनि मानिसलाई आ-आफ्नो रोजाई र छनौटको सामानहरू होम डेलीभेरीको व्यवस्थासहित उनीहरूको घर-घरमा पुर्‍याउने नै हो । यसले कसरी स्वतन्त्रताको हनन गर्‍यो र ? म आफैँले मगाएको हुँ, उसले ल्याइदिएको हो । तर पुँजीवादले सेवाको नाममा मलाई कोक नै पिलाइरहन, वाईवाई चाउचाउ नै खुवाइरहन, जिलेटले नै दारी मिलाइरहन, लेनेभोको ल्याप्टप नै चलाइरहन किन बाध्य बनाइरहेछ ? यो प्रश्न पनि महत्त्वपूर्ण छ ।.. ठीक छ, खुसी मात्रै स्वतन्त्रता होइन । यो कुरा यहाँ सक्दिऊँ ।

स्वतन्त्रतालाई यसरी पनि परिभाषित गर्न सकिएला, आफ्नो महत्त्वकांक्षादेखि पर सर्नु स्वतन्त्र हुनु हो । आफ्नो सपना, रहर, अहमलगायतका मानवजन्य गुणदेखि पर हट्नु स्वतन्त्र हुनु हो । मलाई के लाग्यो भने, मेरा भावनाहरू, मेरा रहरहरू, मेरा महत्त्वकांक्षाहरू, मेरा गतिविधिहरू मबाट नियन्त्रित हुँदा म स्वतन्त्र हुने हो । ती बाट म नियन्त्रित हुँदा चाहिँ म आफूलाई बन्धक महसुस गर्छु ।

म कसरी आफूलाई स्वतन्त्र महसूस गर्दो रहेछु ?
म खुसी हुने केही तरिकाहरू रहेछन् । यी तरिकाहरूमार्फत म खुसी होइरहँदा चाहिँ साँच्चै स्वतन्त्रता महसुस गर्दछु कि झैँ मलाई अहिले लागिरहेछ । जस्तै: स्वस्थ यौन सम्पर्क राख्नु, मन्दिरमा घण्टा बजाउनु, बाटोछेउ बसेर पोलेको मकै खानु, यात्रा गर्दा बसको झ्यालदेखि मुन्टो बाहिर निकाल्नु, छतमा उक्लेर बादल प्वाल पार्न औँलो उचाल्नु, वर्षातको पानीमा रुझ्नु, नङ टोक्दै ‘पर्स्युट अफ हेप्पीनेस’ फिल्म हेर्नु, कपडा नलगाइकन नाङ्गै सुत्नु, क्याफेमा पुग्दा सधैँ झैँ आफू बस्ने कुना रित्तो हुनु, बगरमा पुगेर ढुङ्गा बटुल्नु, फेवा ताल वारपार साइक्लिङ गर्नु, नाटकघर, पुस्तकघर, चिहानघरहरूमा डुलिरहनु, कागका काला-काला प्वाँख जम्मा पार्नु, परेवाको गुडुर गुडुर देखेर दंगदास हुनु, खर्सेतोको हाँगाबाट ढुकुरको अण्डा चोर्नु, बाख्राको पाठाको जुम्रा हेर्नु, भैँसीको पुच्छर काट्नु, गाइलाई आफ्नो थुतुनोले चाट्न दिइराख्नु, पुरानो एल्बम पल्टाएर घन्टौँ हराउनु, पढिसकेको किताब दोहोर्‍याएर फेरि पढ्नु, राति ओशो बजाएर सुत्नु, दारी बढाइरहनु,…यो सब गरिरहँदा म आफूलाई आफू होइरहेको पाउँछु ।

तर किन पाउँछु ? सायद यतिखेर म आफूलाई शारीरिक र मानसिक दुवै रुपमा स्वतन्त्र पाउँछु, स्वस्थ पाउँछु ? के स्वतन्त्र हुनु भनेको स्वस्थ हुनु पनि हो ? शारीरक स्वस्थता, मानिसक स्वस्थता, भावनात्मक स्वस्थता..सबै । तर सबै तवरले हरबखत स्वस्थ भइराख्न सम्भव छ ? छैन । सम्भव तुल्याउन लेनदेन आवश्यक छ । त्यो चाहे व्यक्ति-व्यक्तिबीच होस्, राज्य र नागरिकबीच होस् !

स्वतन्त्रता लेनदेन हो भन्ने दर्शनका अनुसार, ‘म तिम्रो पिँजडा खोलिदिन्छु, तिमी मेरो प्वाँखमा लागेको घाउ सफा गरिदेऊ !’ सम्बन्ध, नातागोता, परिवार, समाह, राष्ट्र, लोकतन्त्र यही दर्शनको सेरोफेरोमा विचरण गर्दछन् ।

राज्यले नागरिकको सुरक्षाको बन्दोबस्त मिलाउँछ, उसको अधिकारको संरक्षण गर्दछ । र नागरिकले आफ्नो सुरक्षा र अधिकारको संरक्षणका लागि राज्यको कानून र आदेशहरू मान्नुपर्दछ । यहि लेनदेन नै स्वतन्त्रता हो । तर यस लेनदेनको क्रममा सावधानी नअपनाउँदा तानशाही प्रवृत्ति मौलाउँदछ ।

स्वतन्त्रता र सावधानी:
स्वतन्त्रताको चर्चा गरिरहँदा सावधानीको भूमिका कस्तो हुनुपर्दछ ? असीमित स्वतन्त्रताले अर्को व्यक्तिलाई हानी पुर्याउँदैन ? आफ्नो स्वतन्त्रताको उपभोग गर्दा अर्को व्यक्तिको स्वतन्त्रतालाई प्राथमिकतामा राख्नु पर्दछ कि पर्दैन ? स्वतन्त्रताको सीमा पनि छ भनेर बोध गर्न आवश्यक छ कि छैन ? कुनै पनि कानून स्वतन्त्रताविरोधी हो या स्वतन्त्रताको परिपूरक ?

अत: यसो भन्न सकियो सतर्क हुनु भनेको नै स्वतन्त्रताको सीमा पनि छ भनेर बोध गर्नु हो । बोध यसप्रकार कि, सबै प्रकारका प्रतिबन्धहरूको फुकुवा कसैगरी पनि सम्भव छैन । सबैथोकबाट स्वतन्त्रता पाउनु सम्भव छैन । अझ, स्वतन्त्रतासँगै समानता पनि गाँसिएर आउँछ ! समानताको ख्याल नराख्ने हो भने स्वतन्त्रता एक स्वप्नदोष बन्न पुग्छ । स्वतन्त्रताको उपयोगको क्रममा सावधानी नअपाउने हो भने त्यसले विनाश निम्ताउँछ। त्यसका लागि व्यक्तिले स्वतन्त्रता र सावधानीलाई सँगसँगै आत्मसात गर्नुपर्दछ।

यहाँ मैले स्वतन्त्रता र यसका सीमा र सावधानीका बारेमा रही केही व्यक्तिहरूको विचार समेटेको छु:

स्वतन्त्रता के हो ?
नेल्सन मन्डेला, दक्षिण अफ्रिकाका भुतपूर्व राष्ट्रपति/फ्रीडम फाइटर

स्वतन्त्र हुनु भनेको केवल आफ्नो बन्धन त्याग्नु वा फुकाउनु मात्र होइन तर जीवनको यस्तो शैली अवलम्बन गर्नु हो जसले अरूको स्वतन्त्रतालाई सम्मान र बढावा देओस् । स्वतन्त्रता अविभाज्य छ; कुनै एक व्यक्ति बन्धनमा रहनु भनेको प्रत्येक व्यक्तिको स्वतन्त्रता हनन गरिनु हो ।

स्वतन्त्रता के हो ?
डा. अभि सुवेदी, नाटककार/प्राध्यापक/कवि/चिन्तक

स्वतन्त्रतासँगसँगै सावधानी जोडिएन भने खुस्किन्छ । तपाईँको स्वतन्त्रतामा तपाईँ सावधान हुनुभएन भने तपाईँको स्वतन्त्रता जान्छ, खुस्किन्छ । सावधानी भयो भने स्वतन्त्रताले तपाईँलाई सिर्जनशील बनाउछ । स्वतन्त्र मान्छेले पो आफ्नो कुरा सेयर गर्न सक्छ । राजनीति गर्न आउनेहरूमा अझ यो सिर्जनशीलता आवश्यक छ, उनीहरूले यो कुरा बुझिदिए भने त युग बनिहाल्थ्यो नि ।
अझ यसमा एउटा रमाइलो पक्ष छ, ‘म स्वतन्त्र भएँ भनेर स्वीकार्ने एउटा वर्ग हुन्छ । मैले स्वतन्त्रता दिएँ भनेर भन्ने अर्को वर्ग त्यहीँ निस्किन्छ ।’ मैले स्वतन्त्रता दिएँ अब यो यो गर्नुपर्‍यो भन्नेहरू डिक्टेटरसीपतर्फको पहिलो पाइला हो । ‘तँ कसले गर्दा स्वतन्त्र भएर हिँड्न सकिस् ?- हामीले ।’ भन्दछ भने त्यो डिक्टेटरसीपको पहिलो वाक्य हो । यो भाष्य नै डिक्टेटरसीपको हो । मैले सहयोग गरेँ, तिमी स्वतन्त्र भयौ, अब हामी अगाडि जान्छौँ भन्नु पो स्वतन्त्रताको अर्थ हो त ।

स्वतन्त्रता
ईश्वर कँडेल, कवि

स्वतन्त्रतामा पनि लिमिटेसन हुन्छ । कति हदसम्म स्वतन्त्र हुने भन्ने कुरा स्थानपिच्छे फरक हुन सक्छ । तर स्वतन्त्रताको नाममा चरम स्वतन्त्रता र आफ्नो मात्र स्वतन्त्रताको कुरा गर्दा कहिलेकाहिँ आफ्ना साथिहरू, या अन्य व्यक्तिहरूको स्वतन्त्रताको पनि हनन नहोस् भन्ने ख्याल राख्नु राम्रो कुरा हो । तर कतिपय बेला हामी व्यक्तिगत स्वतन्त्रतामा रमाइरहँदा सामुहिक वा सामाजिक मूल्य, मान्यता र समाजिक स्वतन्त्रता बिर्सन पुग्छौँ ।

स्वतन्त्रता
विक्रम पवन परियार, कवि

स्वतन्त्रता भन्ने कुरा हामीमा कतिकाे विश्वास छ ? विश्वासमै भर पर्ने कुरा हाे । स्वतन्त्र याैटा महसुस हाे ! र स्वतन्त्रकाे सीमा हुन्छ । तर नेपालकाे विषयमा स्वतन्त्रकाे नाउँमा छाडातन्त्र ज्यादा भयाे । स्वतन्त्रताको नाउँमा विकृति भएकाे छ । स्वतन्त्रतामा लिमिटेसन हुन जरुरी छ !
स्वतन्त्रताले भविष्य निर्धारण पनि गर्छ र गर्दैन पनि । दुवै पाउन सक्छाैँ । एकथरी स्वतन्त्रतालाई गलत प्रयाेग गरिरहेका छन् र लक्ष्यविहीन भएका छन् भने एकथरीले स्वतन्त्रतालाई सहि ठाउँमा प्रयाेग गरेका छन् । त्यसैले स्वतन्त्रताले मात्रै भविष्य निर्धारण गर्छ भन्न सकिने अवस्था छैन जब कि अझै पनि स्वतन्त्रताकाे नाउँमा गलत काम भएका छन् । र हरेक नागरिकले स्वतन्त्रताबाट सावधान पनि हुन जरुरत छ । यहाँ वाक स्वतन्त्रता भन्दैमा आदरभाव नै हराइसकेकाे छ । जसले जे बाेल्दा पनि हुने भएकाे छ । जसले जे गर्दा पनि हुने भएकाे छ । त्यसैले स्वतन्त्रतासँगै सावधानी पनि जाेडिएकाे छ ।

स्वतन्त्रता
दिलिप कुँवर, कवि

स्वतन्त्रता आफैँमा परिभाषीत शब्द हो । सुन्दा यो विषय सामान्य छ, र संवेदनशील पनि । मलाई के लाग्छ भने, यसका संकुचित र व्यापक आयामहरू छन् । प्रतिबन्ध, दबाब र निश्चित सीमाहरु भन्दामाथि उठेको विचार, अभिव्यक्तिलाई यसकोे सामान्य परिभाषाको रूपमा लिन सकिन्छ । तर यत्तिले मात्रै यसको परिभाषालाई न्याय भने हुँदैन । स्वतन्त्रताबारे थुप्रै जनाधार पाइन्छन्, राजनीतिक स्वतन्त्रता, अभिव्यक्ति स्वतन्त्रता, धार्मिक स्वतन्त्रतालगायत । स्वतन्त्रताको विषयमा सावधानी त हुन्छ नै, छ पनि । स्वतन्त्रताको हकमा सावधानी एउटा सुन्दर दर्शन हो । सावधानी अर्थात आफ्नै सचेतना । अब यसको सीमाहरूबारे चाहिँ आ-आफ्नो तर्क हुन्छ । सीमाहरू छन् पनि, र छैनन् पनि । एउटा चरालाई हेरे पुग्छ । जब आकाशमा हुन्छ, आकाश उसकै हुन्छ । जब पिँजडामा हुन्छ, पिँजडा पनि उसकै हुन्छ । हामीले नोटिस गर्नुपर्ने कुरा कहाँनेर हो भने, पिँजडाको विरुद्ध आकाश कि आकाशको विरुद्ध पिँजडा ?

स्वतन्त्रता
ब्रिगिड श्रेष्ठ, विद्यार्थी

कुनै पनि व्यक्ति, समाज, वर्ग, लिङ्ग, जात, शासक वा समग्र प्रणालीको बन्धनमा अधिनस्थ नभएको महसुस गरिनु नै स्वतन्त्रता हो ।

स्वतन्त्रताको सीमा हुँदैन, सीमा भएकै कारणले चाहिँ स्वतन्त्रताको अवधारणा आएको हो । हामी पुर्ण रूपमा स्वतन्त्र हुन सकेका छैनौँ, आआफ्ना बाध्यतामा सीमित छौँ, तर त्यही सीमितता तोड्ने प्रयास नै स्वतन्त्रताको लडाइ हो । जस्तै, पृथ्वीको गुरुत्व हाम्रो सीमा हुन्थ्यो तर मान्छेले आफ्नो स्वतन्त्रतामा बाधक रहेको सिमानाहरूलाई यसरी तोड्यो कि मान्छे आज आकाशमा मात्रै होइन, त्यो भन्दामाथि, अन्तरिक्षमा पनि विचरण गर्छ । त्यसकारण सीमा यदि छन् भने त्यसलाई तोड्ने मात्रै मान्छेको उद्देश्य हुन्छ । सिमाना छ भने पनि म त्यसलाई तोड्ने कुरामा विश्वास गर्छु । त्यसैले स्वतन्त्रताको सीमा हुँदैन, बरु सिमानाको भेदन मात्रै हुन्छ ।

सीमा तोक्नेहरूले स्वतन्त्रतालाई जहिल्यै त्रासको रुपमा देख्छन् भने स्वतन्त्रता खोज्नेहरूले जहिल्यै सिमानालाई त्रासको रूपमा । त्यसकारण स्वतन्त्रता चाहने र सीमा तोक्ने दुवैले आआफ्ना किसिमका सावधानी अपनाउँछन् । पराधिनताको घेरा तोडिएका दिन स्वतन्त्रता चाहनेहरूलाई सावधानीको आवश्यकता महसुस नहुन सक्छ । हरेक स्वतन्त्रताका लागि गरिएका आन्दोलनहरू सीमा तोक्नेहरूको डरबाट मुक्त भएर सुरु भएका छन्, असावधानीका साथ सुरु भएका र सफल भएका छन् । सावधानी आफैँमा सीमा हो र मैले माथि नै भनिसकेँ, स्वतन्त्रताको सीमा हुँदैन ।

स्वतन्त्रतालाई लिएर विकास भएका हाम्रा भाष्य सिमा तोक्नेहरूले निर्धारण गरेका छन् न कि स्वतन्त्रता चाहानेहरूले । “स्वतन्त्र भएर हात हल्लाउने मेरो अधिकार अरु कसैको नाक सुरु भएको ठाउँमा पुगेर अन्त्य हुन्छ ” भन्ने किसिमका भाष्यलाई सीमा तोक्नेहरूले अत्याधिक प्रयोग गर्ने गर्छन् । अङ्ग्रेजीमा एउटा भनाइ छ,”फ्री इज नट फ्री”। कसैको विशेषाधिकारबाट खोसेरै अर्को कसैको स्वतन्त्रता स्थापित हुने गर्छ । त्यसो भन्दैमा सामन्तीले आफ्नो अधिनायकत्व लाद्न पाउने अधिकारको रक्षार्थ स्वतन्त्रता माग्नेहरूले सावधान भइदिनु आवश्यक छैन । सबैले समान स्वतन्त्रता पाएको युटोपियन स्थितिमा मात्रै अर्काको स्वतन्त्रताको सम्मान गर्ने भाष्य लागू हुने हो । तर स्वतन्त्रताको अभियानलाई दबाउन आजको असमान समयमा यो भाष्य प्रयोग गर्ने गरिएको छ जुन दु:खद् छ ।

स्वतन्त्रता
योगेश घिमिरे, कवि

मेरो हिसाबमा स्वतन्त्रता कल्पनाको उपज हो । सहि मानेमा कोही कहिल्यै स्वतन्त्र रहन सक्दैन । स्वतन्त्रता सीमिततासहितको एउटा यस्तो अवस्था हो जहाँ केही कुराहरूको छुट हुन्छ । तर जानिँदो/नजानिँदो पारामा केही सीमितता या बन्देज लागिरहेको हुन्छ । स्वतन्त्रताको कुरा आइरहँदा म सधैँ एउटा उदाहरण दिने गर्छु, तपाईँलाई कसैले एउटा सुबिधासम्पन्न कोठामा बन्द गरेर तँ यस कोठाभित्र सबैथोक गर्न स्वतन्त्र छस् भन्छ भने त्यसको सीमा चार दिवार हुने भयो । र चार दिवारभित्रको स्वतन्त्रता फगत देखावटी हुने भयो । स्वतन्त्रता सहि मानेमा स्वतन्त्रभन्दा अनेक सीमितताले बेरिएको छ । चाहे त्यो कानुनी होस् सामाजिक होस् या प्राकृतिक।

कानुनी स्वतन्त्रताको कुरो गर्ने हो भने संविधानमा लेखिएका केही कुराहरू गर्ने छुटलाई स्वतन्त्रता भन्न मिल्ला । यस हिसाबमा हेर्दा आफ्नो स्वतन्त्रताको प्रयोगले अरुको स्वतन्त्रतामा आँच नआओस् भन्ने कुरामा साबधान हुनुपर्ला । प्रकृति र समाजले त कसैलाई स्वतन्त्र रहनै दिँदैन । त्यसैले त्यसतिर जान चाहिनँ ।

अचेल स्वतन्त्रता एक छुट्टै शुद्ध शब्दभन्दा पनि अनेकन् अरु शब्दहरुसँग जोडिएर आएको पाउँछु । जस्तो वाक स्वतन्त्रता, प्रेस स्वतन्त्रता आदि । यसरी हेर्दा हामीले निकै साँघुरो सोच राखेको झैँ लाग्छ । माथि भने झैँ साँघुरो कोठालाई स्वतन्त्रता ठान्ने भाष्य सर्वव्यापी छ । त्यस भाष्य परिवर्तन हुनु जरुरी छ ।

स्वतन्त्रता के हो ?
अशेष कुलुङ राई, संगीतकार

आफ्नो इच्छा अनुरूप सुत्ने/उठने आफैँले निर्धारण गर्नु सक्नु, उठेपछि दाँत माझ्नु/नमाझ्नु . . . ब्रेकफास्ट मेनु आफैँले छान्नु. . . खाना पकाउनु/अर्डर गर्नु. . . पकाएमा के पकाउने ? नुन कति ? पिरो ? . . . अहो त्यो घरबाहिरको कुकुर कत्ति भुकेको ? एक स्वाँठ् दिने हो की ? कि होस् विचरा ! . . .यिनै choice/decisions बीचनै स्वतन्त्रताको आभास गर्न सकिन्छ ।

‘स्वतन्त्रता’ हुन त सिमानाबिना डुल्न सक्नु पनि होला . . . तर मेरो लागि स्वतन्त्रताको सीमा अनुशासन हो/हुनुपर्छ । अनि विवेक पनि . . . अरूको स्वतन्त्रता मिचेर आफू स्वतन्त्र हुनु पनि स्वतन्त्र हुनु होइन . . . त्यसको लागि अरू नामहरू छन् . . . दमन, आदि . .
अनुशासन/विवेक भए स्वतन्त्रतामा सावधानी आफै लागु हुन्छ । . . र स्वतन्त्रतालाई लिएर हाम्रो भाष्य पनि यिनै दायराभित्रबाट हेर्नसक्नुपर्छ , जस्तो लाग्छ ।
शास्त्रीय सङ्गीत तालिमबाट एकदमै राम्रो उदाहरण लिन सकिन्छ . . . वर्षाैँ तपस्या गरेर, दैनिक रियाज गरेर मात्रै एउटा सिकारू उस्ताद बन्छ . . . र स्वतन्त्र, किनभने खोक्रो खोकाइको बोक्रे स्वतन्त्र ऊ होइन . . . र आफूलाई ठग्न सकिन्न, त्यति हो ।

लेखक परिचय

राजु झल्लु प्रसाद

राजु झल्लु प्रसाद

+ पोस्टहरु

धादिङका राजु झल्लु प्रसाद कविता, कथा, मनोविश्लेषणात्मक लेख साथै अखबारीय लेखनमा पनि सक्रिय छन् । अनलाइन पत्रिका न्युजकास्ट नेपालमा कलासाहित्य विधाका प्रमुख रहेर काम गरिरहेका झल्लु प्रसाद त्रि-चन्द्र कलेजमा बिएससी अध्ययन समेत गर्दैछन् ।

(शब्दसोपानमा  जेष्ठ ५, २०७८ मा प्रकाशित)

Leave a Reply