युगयुगान्तदेखि युगयुगान्तसम्म ! (कविता)

You are currently viewing युगयुगान्तदेखि युगयुगान्तसम्म ! (कविता)

एउटा चिसो रङ मेरो मुटुमा छाउँछ,

एउटा तातो हत्केलाले मेरो आँखा छोप्छ,

एउटा उदाङ्गो बाहुपास मलाई समेट्न आइपुग्छ ।

तब,

मेरा अन्तरचेतना र अनुभूतिहरू

मठ बनिदिन्छन्,

घाट बनिदिन्छन्,

ध्वजापताका बनिदिन्छन्.. ।

र, म आनन्दको मुकुट पहिरिएर 

प्रेमका फूलपात र हाँगाबिँगाहरू बटुलिरहन्छु ।

तत्कालै मविरुद्ध,

धरतीका तमासाहरू मसान भाँती जगमगाउँछन्,

मानव खोपडीहरू मकै पड्किएसरह पड्किन थाल्छन् ।

यस धरतीमा,

एउटा आँखा ओरालो लाग्दै जान्छ र 

हाहाकारको भीरबाट हामफाल्छ ।

अर्को आँखा उकालो चढ्दै जान्छ र 

कल्पनाको काँधमा चढेर मुतिदिन्छ ।

नाक अघि सर्छ– रूपवती रहस्यको वासनामा 

चुर्लुम्म डुबेर गुह्येकीरो भइखान्छ ।

कान कोल्टे फेर्छ– लुते कुकुरसरह 

ढललाई च्यापेर निदाइदिन्छ ।

जिब्रो म्वाइँ खान्छ दाँतलाई र

गिजा खोतलेर मुखभित्र खटिरा निकालिदिन्छ ।

क्रमशः हातगोडाको स्वार्थपरक ढोगभेट चलिरहन्छ ।

र, एउटा धरती फेरि दुईवटा हुन्छ.. ।

पुस्तक पढ्ने क्रम रोकिन्छ,

गीत गलपासो बन्छ,

कविता शीतसरह बज्रन्छ र टुट्छ !

चित्रकथा खेस्रा बन्छ र च्यातिन्छ ।

हाडलाई सङ्ग्रहालयमा र

अस्तुलाई स्तूपमा राखेर

मानवधर्मका कुरा गर्नेहरूले

प्रजातन्त्रको धार यसरी चम्काएका छन् कि

हरप्रहर एउटा विनम्र भाव

यहाँ अचानो बनिरहनुपर्छ । 

(प्रकाशन : २१ फागुन २०७९, आइतबार, गोरखापत्र, मधुपर्क)

https://gorkhapatraonline.com/news/56382