अत्याधुनिक बौद्धिकताको पिँजडाबाट आफूलाई उम्काउनु निकै गाह्रो छ । उत्तरआधुनिक समाजको यस चारित्रिक विशेषतालाई ‘म्यूजिकल चेयर’ नामक खेल भन्ठान्ने हो भने यसबाट जति सक्दो छिटो मेरो चेयर गुमिदिए हुन्थ्यो ! यस खेलबाट मैले उन्मुक्ति पाइदिए हुन्थ्यो ! आधारविहीन, बकम्फुसे, तोरीलाहुरे, लट्ठक, बिकामे, बेठागाने, बेकम्मा, लम्फु, ठण्डाराम, लछारपाटो केही नलाग्ने हरिबिजोग क्याटागोरीका यी तमाम जमात र सन्जालबाट आफूलाई बचाउन पाए कस्तो हुन्थ्यो ! कति आनन्ददा यी हुन्थ्यो ! कति मनोरम हुन्थ्यो ! कति चित्ताकार्षक हुन्थ्यो ! बस, यी-यस्तै मनोकामनाबाट ओतप्रोत होइरहँदा यतिखेर मसँग ‘यस्तो यस्तो भइदिए हुन्थ्यो’ नाम गरेको विस्मयादिबोधक स्थिति, परिस्थिति र मनस्थिति मात्रै छ । जसले हरबखत साहित्यसँग नाता जोडेर उम्किभाग्ने चेष्टा गर्दछ । तर हरहमेशा यो चेष्टा कट्टर पुरुषवादी समाजको मुखारविन्दमा झुन्डिएको उखान- ‘तिम्रै छोरी तरुनी, हाम्लाई के को दोष’ सिद्ध होइराख्छ ! कारण हो- साहित्यकारहरूमा जति अत्याधुनिक बौद्धिकताको लेपन कसैमा छैन । यिनीहरूलाई जति उत्तरआधुनिक चारित्रिक विशेषताले अलंकारित कसैलाई हुनु छैन । यिनीहरूलाई जस्तो बौद्धिक, भलाद्मी, नैतिवान, चरित्रवान एवं सदाचुरी-गुणाचारी कसैलाई देखिनु छैन । एक त वर्तमान समाजमा परनिर्भरमुखी बौद्धिक जमातको लाम छ, अर्को सोही जमातको दिनहुँ उठबसमा नै आफ्नो जिविकोपार्जन तमाम भइरहेको छ । एक हिसाबले म पनि यहाँबाट निस्कन सकेको छैन । कहिलेकाहीँ यस्तो लाग्छ, यहाँबाट निस्कने चेष्टा गर्नु मेरो ढोङ शिवाय अर्थोक केही होइन । जानेर-नजानेर, चाल पाएर-नपाएर हरहमेशा अत्याधुनिक बौद्धिकता तथाकथित सिंहासनमा मेरो पनि उपस्थिति छ । म पनि आसनलीन छु ।
कुरालाई सिधा सिधा सुरु गरूँ । बाङ्गो बनाइरहनुको कुनै औचित्य एवं उद्देश्य छैन ।
कुरा त्यसरातको त्यतिबेलाको हो, जतिबेला म साहित्यलाई तथानाम गाली दिँदै थिए । साहित्य, साहित्यकार, साहित्यिक समाज, साहित्यिक व्यवहार, साहित्यिक आस्था.. सबसँग मेरो कुस्ताकुस्ती चलेको थियो, मुखामुख भएको थियो । म सक्दो हुँ त, साहित्यलाई गैरकानुनी घोषित गरिदिन्थेँ । साहित्यकारहरूलाई आजीवन काराबासको सजाय सुनाइदिन्थेँ । साहित्यिक समाज र सम्पदाहरूमा डोजर हुलिदिन्थेँ । र, साहित्यको लावारिस खण्डहरहरूमाथि बसेर एक झुप्पा निन्द्रा लोलाउथेँ, त्यसभन्दा पहिले एक झुप्पा अंगुर खान्थेँ, मुख मिठ्ठाउँथेँ । त्यसपछि चरम सुखको एक सुन्दरतम परिवेशमा आफूलाई चराइरहन्थेँ । आह..त्यो एक गोठालोविहिन स्थिति..! आह..त्यो हर्षातिरेक समय चौतारी..!
अत: कुरा त्यस रातको हो, जब म आफ्नो दैनन्दिनमा भिजेर लुछुप्पै भएको थिएँ- झरीले कुटेको भुत्ले बिरालोजस्तो । ‘हालत-ए-हालको के बयाँ गरूँ, जनाब ?’ कुकुरले नपाउने दु:ख पाएको थिएँ । सिकिस्त थिएँ- आफैँदेखि । सिथिल थिएँ-आफैँसँग । थकित थिएँ-आफैँद्वारा । गलित थिएँ-आफ्नै लागि । विभिन्न अनलाइन साहित्यिक पत्रिकाहरूका साहित्यिक अंकहरूमा आफूलाई पेलाइरहँदा/ थेप्चाइरहँदा/ चेप्टाइरहँदा/ निचोरिरहँदा/ चिथोरिरहँदा म उठ्न नसक्ने गरी लडिसकेको थिएँ । साहाराका लागि कुनै हातहरू थिएनन् । सहयोगार्थ कुनै जन्तुको आगमन हुनेवाला थिएन । घोर निस्सारता र घनघोर भावविभोरताकन उठ्दा/लड्दा/अडेस लाग्दा र खङ्गारिदा मानसिक क्षतविक्षतले तहसनहस भइसकेको थिएँ । दिक्क यतिसम्म लागिसकेको थियो कि ठिक्क ठिक्क मैले खान, सुत्न र निदाउन छाडेको महिना दिन नाघिसकेको थियो । नित्य एकै कर्म ! नित्य एकै दैनिकी ! नित्य एकै मानसिक असन्तुष्टि ! नाथे..साहित्य !..यसले मलाई गलाएरै छाड्यो । यसले मलाई सिध्याएर छाड्यो । यसले मलाई चोइटा-चोइटा पारेर मिल्कएरै छाड्यो । तर जनाब, विकल्प थिएन । गैर-दोबाटो र उप-गल्लीहरू थिएनन् । ठसठसी कन्दै भए पनि मौजुदा हालतसँग उठबस गर्नु नै थियो,..असिनपसिन हुनु नै थियो ।
यसप्रकार म त्यस रात साहित्यलाई गाली गरिरहेको थिएँ कि साहित्यतर्फ आफ्नो लगाव र आस्था देखेर दिक्क-ए-दिक्दार भएको थिएँ । आफ्नो आस्थामा पखला चल्दा केको भजन, केका शंख फुकाइ ?..
तपाईंलाई यो पनि मन पर्न सक्छ
एक अलिखित आख्यान : काैशिला दिदी – गगन याेक्पाङ्देन
चिखता है – राजु झल्लु प्रसाद
‘सवा कट्टु पौने पोँइठ’ – राजु झल्लु प्रसाद
‘सवा कट्टु पौने पोइठ’ – राजु झल्लु प्रसाद
जति पनि साहित्यिक रचनाहरू मेरो जिमेल एड्रेसमा आउने गर्दथे । ‘पाउनु भयो ?’ भनेर सोधिएको हुन्थ्यो । ‘पाएँ’ भन्नुपर्थ्यो । भन्थेँ । पाएँ मात्रै होइन, ‘राम्रो लाग्यो, उत्कृष्ट लेख्नुभएछ, गजब नै छ, यस्तो त मैले कहिल्यै पढेको नै थिइनँ, यसले त नेपाली साहित्यलाई उपल्लो कोटीमा पुर्याउँछ, तपाईँको चेत कत्ति मज्जाको छ हाऊ कवि ज्यू, कसरी लेख्नुहुन्छ हँ यस्ता कविताहरू यार ?’ लगायतका रेडिमेड तर तरमताजगी जवाफहरू पनि मेसेज या फोन कलतिर हुत्ताइदिनुपर्थ्यो । कारण थियो- म ती रचनाहरूको पारिश्रमिक दिन्न थिएँ । नदिनुको थुप्रा कारणहरू छन्, त्यसमध्ये मुख्य हो मसँग हुँदैन थियो । नहुनुका थुप्रा कारणहरू थिए, तीमध्ये मुख्य हो- म सीमित तलबमा काम गर्दथेँ र खर्च ज्यादै नै बढी थियो । तलबले खर्चको बहिखातामा छेउ-टुप्पो भेट्दैन थियो ।
कुनै पनि सृजनाकर्मीहरूको सृजना प्रकाशित गरेबापत ५०० रुपियाँसम्म भए पनि दिऊँ भन्ने सधैँ लाग्थ्यो । तर काठमाडौँको बसेरा र सोहीअनुसार रहनसहनले आफ्नो तलबबाट रचनाकारहरूलाई पारिश्रमिक दिनु चुनौतीपूर्ण रहन्थ्यो । आफ्नो तलाब काटेर दिनु शिवाय अर्को विकल्प मसँग रहँदैन थियो/हुँदैन थियो । पारिश्रमिकको लागि अफिसका हाकिमहरूसँग कुरा राख्दा उनीहरूको तथानाम बहानाबाजीमा टाउको हल्लाइरहनु पर्थ्यो । कहिले सरकारलाई पोस्थे, कहिले एड दिने बैंक र डोनरहरूलाई । “के गर्नू सर, देशको हालतै यस्तो छ, सरकारको ठेगान छैन, कोरोनाले अर्को आर्थिक संकट निम्ताएको छ ।..” कहिले विजुलीको बिल बढेको कुरा आउथ्यो । कहिले कर्मचारीहरूलाई तलब दिन नपाएको देखावटी दुखेसो । अझ यति गुनासो छताछुल्ल पारिसक्दा पनि म आफ्नो निर्णयबाट टसको मस भइनँ भने ‘राजनीतिक संकट र आफ्नो पार्टी प्रतिपक्षमा रहेको बहाना अघि सारिन्थ्यो । त्यसपछि पनि भएन भने अर्को मिडियाले पनि सृजनाकर्मीहरूलाई पारिश्रमिक दिने नगरेको, अझ यस्तो चलन नै नभएको, दिन आवश्यक नै नभएको, लेखन भनेको स्वान्त सुखाय भएको, यसमा पैसा खोज्नै नहुने’ जस्ता अत्यन्त दुर्गन्धित र वान्ता छुटाउने पदोटिप्पणीहरू अघि सारिन्थ्यो । जुन डुङ्ग गनाउँथे, त्यहाँ सोही ‘सो कल्ड बौद्धिक’ माखो भुनभुनाइरहन्थ्यो । अझ ‘पैसा हातको मयल भएको, पैसाका लागि लेख्ने पनि के लेख्ने, पैसा र सिर्जनाकर्मीहरू दूरदराजको नातागोता र साइनो-सम्बन्ध नभएको’ बहानाहरू सदैव अघि सारिन्थ्यो- धारावाहिकको मुख्य भूमिकाजस्तो: ‘प्रस्तुत घटना पूर्णत काल्पनिक हो कसैँसँग मेल खाएमा संयोग मात्रै हुनेछ ।’
यतिले पनि म पर सरिनँ या अडान छोडेर काममा लागिनँ भने तलब कटनीको कुरा, निष्कासनको डर र राजिनामा पत्रको ढाँचाको बारेमा प्रसंग उप्काइन्थ्यो । त्यतिबेला महिनामा दुई जना कर्मचारी फेरिरहेको अवस्थामा आफ्नो जागिर जोगाउनु नै उपयुक्त विकल्प ठान्थेँ, चुप बस्थेँ । मलाई थाहा थियो ठुलो स्वर र लिँडे ढिपी गर्दा जागिर चैट बनिदिन्थ्यो र बसेरामा तहसनहस आउँथ्यो, उठिबास लाग्थ्यो । कुम्लो-कुटिरो बोकेर धादिङ झर्नुको विकल्प रहन्न थियो । आधा महिनाको तलब बुझ्दा पनि ‘हवस्, हुन्छ, भइहाल्छ नि, समय/परिस्थती नै यस्तै छ सर’ जस्ता नैतिकताहीन कुराहरू अघि सारेर हाकिमहरूकै खुट्टा दबाइरहेका आफ्ना सहकर्मीहरूलाई देखेर किञ्चित् आफू अझै पनि भाग्यमानी भएको ठहर गर्दै म सोही ‘म्यूजिकल चेयर’मा आफूलाई लडखडाइरहन्थे । र, मेरो दूर्भाग्य आजसम्म पनि मैले यो खेलबाट उन्मुक्ति पाएको छैन । र, मेरो चेयरमा अर्को विराजमान भएको छैन ।
अब यो स्थितिमा कसरी रचनाकारहरूलाई पारिश्रमिक दिनु ? फेरि पारिश्रमिक दिन नसक्दा कसरी हप्तैपिच्छे लेख-रचना पठाइरहनेहरूको रचनाको मानहानी गर्दै प्रकाशित नगर्ने अडान कस्नु ? पहिलो कुरा त, राम्रो लेख्नेहरू राम्रो पारिश्रमिकको माग राख्छन् । त्यो दिन सकेको खण्डमा यसप्रकारको स्थिति सिर्जना नै हुँदैन । सिर्जनशिल व्यक्तिले आफ्नो सिर्जनशिलताको मूल्य माग्नु जायज हो । उसले पाउनुपर्छ । मैले दिनुपर्थ्यो । तर त्यो म सक्दिनथेँ । र, मूल्य नपाएको खण्डमा उसले आफ्नो सिर्जना मकन पठाउँदैन थियो, मैले पाउँदिन थिएँ । र, म आगामी अंकमा के छाप्ने होला भन्ने पीरतापमै पिल्सिरहन्थे । छट्पटिरहन्थे ।
यस्तै केही कारणहरू थिए, जसकारण जे-जस्तो रचना आउँथ्यो, तिनलाई छाप्न करै लाग्थ्यो । र, तिनको झुटो प्रचारवाजी र प्रशंसाको पूल पनि बाँध्नै पर्थ्यो । यसमध्ये कत्ति त असाध्यै राम्रा र उपल्ला श्रेणीका हुने गर्दथे । छाप्न पाउँदा आफूलाई गौरवान्वित महसुस हुन्थ्यो । श्रद्धाले उनीहरूप्रति मुन्टो निहुराऊँनिहुराऊँ हुन्थ्यो । अझ त्यसमा पनि पारिश्रमिक बेगर निरन्तर रचना पठाउनेहरूको त नित्य पूजा गरौँ, उनीहरूको नाममस आरती गाऔँ-नरिवल फुटाऔँ जस्तो हुन्थ्यो । कति मनकारी व्यक्तिहरू….! कति सदाचारी व्यक्तिहरू..! तर मेरो दुर्भाग्य, यस्ता रचनाकार र रचनाहरू असाध्यै कम हुने गर्दथे । छिटफुट कहिलेकसो आउँथ्यो, जहिलेजसो आउँथ्यो म आफ्नै तलबबाट निकालेर भए पनि उनीहरूलाई पारिश्रमिक दिन्थेँ । मनले धरै मान्दैन थियो- नदिँदासम्म । आफ्नो खाजा कटाएर यसो गरी मैले धेरै कवि, लेखक र अभियन्ताहरूलाई पारिश्रमिक दिएको छु । दिएको छु भन्दा पनि लाज लाग्ने, यथोचित दिन सकेको थिइनँ । झरीको मूल्य छाता ओढेर पनि कहीँ तिरिन्छ र ? रुझे पो तिरिन्थ्यो । खैर.. थोरैमा पनि उनीहरू चित्त बुझाउँथे र निरन्तर लेख-रचना पठाउँथे ।
त्यहीँ त, ठिक-ठाक या मध्यतस्तरका रचनाहरूले जिमेल भरिएको हुन्थ्यो । तिनलाई म पढ्थेँ, छाट्थेँ, शुद्धाशुद्धि हेर्थेँ । प्रकाशित हुने-नहुने खबर दिन्थे । प्रकाशनपश्चात प्रकाशित भएको खबर दिन्थे । जसै एउटा रचनाको काम सकिन्थ्यो, अर्को रचनामा सोही सिलसिला सुरु हुन्थ्यो । यो कहिल्यै अन्त्य नहुने खेलजस्तो थियो । हर शनिबार आउँथ्यो, हर शनिबार १० वटा सामाग्री जुटाउनुपर्थ्यो । हरेक अंक अघिल्लो भन्दा विशेष र फरक बनाउने चाहना हुन्थ्यो । हरेक अंकमा समानुपातिकता होस् भन्ने चाहन्थेँ । बुढ्यौली साहित्यदेखि देखि एसइइ अध्ययनरत भाइबहिनीहरूको केट्यौली रचनासम्म छापौँ लाग्थ्यो । दलित, मधेसी, महिला, अपांग, फरक लिंगी, गैरआवासीय नेपाली, विदेशीहरूको रचना समावेश गर्ने इच्छा हुन्थ्यो । यसमा बडो दौडधुप हुन्थ्यो । हैरानी हुन्थ्यो । परिश्रम लाग्थ्यो । तर पनि म नित्य यो काम गरिरहेको थिएँ । गलिरहेको थिएँ । थाकिरहेको थिएँ । उही कुरा..हरबखत शिथिल, गलित नै थिएँ । तर न भविष्यको कुनै बिमा थियो । बस वर्तमान धितोमा राखेर अहोरात्र साहित्य सेवा हो नामको अधिकतम हीनताबोधी ठिगुँराबाट आफूलाई अपलक हिँडाइरहेको थिएँ ।
र, त्यो दिन म यसै उपक्रममा लागेको थिएँ । शुक्रबारको रात थियो त्यो- करिबन साढे दश अन्दाजी । मैले नौवटा सामाग्री तयार गरिसकेको थिएँ । कसैगरी पनि दशवटा पुर्याउन सकिरहेको थिइनँ । आफैँले एउटा केही लेखेर संख्या पुर्याउन सक्थेँ तर लेख्नका लागि आवश्यक मनस्थिति मकन हुँदैन थियो । त्यसबाहेक ब्यानर र डिजाइनिङको काम बाँकी थियो । लेख्ने हुती नै बाँकी रहँदैन थियो त्यसो हुँदा । नौवटा मात्रै छाप्दा भोलिपल्ट हाकिमलाई स्पष्टीकरण दिनुपर्थ्यो । उसका तथानाम बग्रेल्ती उखान-बखानहरू सुन्नुपर्थ्यो । हप्ताभरमा अन्तर्वार्ता, कथा, मनोवाद, समानुपातिकता, समावेशिता लगायतका आफैँले तय गरेको नियम-उपनियममा गाँजिदा आफूले नलेखेको कत्ति भइसक्थ्यो..भइसक्थ्यो । यस्तैमा कहिलेकसो च्या गफमा दाजूहरू ‘तिमि पत्रकारभन्दा कवि होइदिए हुन्थ्यो’ भन्दिन्छन् तब मन साह्रो अमिलो हुन्छ । लेख्छु नि त भनेर लाग्छु, फलानोको फोन आउँछ, ‘कविज्यू रचना पठाएको छ, पाउनुभयो ?’ अब त्यसपछि लेख्ने मुडको सत्यानासै हुन्थ्यो । कहिलेकाहीँ त लाग्थ्यो- भनिदिऊँ- ‘६ महिना भइसक्यो एउटा कविता लेख्न नसक्या, केका कविज्यू ? तोरीहरू…!’
हो, त्यसरात यी-यस्तै बग्रेल्ती-वासरल्ल कारणहरूका कारण साहित्यलाई भरपूर गाली गरिरहेको थिएँ- नाथे..साहित्य..! यसिम हिडाँउने साहित्य ।
साहित्यिक पत्रकारिता अँगालेकोमा आफूलाई कोसिरहेको थिएँ । आफैँलाई थुकिरहेको थिएँ । यसबाट निस्किभाग्न पाए पनि हुने नि ! यो सब च्यात्त छोडेर जुम्ला-जोमसोम-झार्लाङतिर चौरी चराउँदै बस्न पाए पनि हुने नि ! नभए विदेश भागे पनि हुने ! नभए धादिङ पुगेर बाह्रबिसे-अर्चले खेत र केउरिनी-पँधेर बारी खने पनि हुने !..
एस्ट्रेमा खरानी र ठुटा जम्मा भइरहेका थिए, निभिरहेका थिए । तर कुनै जुक्ति सामुन्ने आइरहेको थिएन । सबै क्याटेगोरीका सामाग्री आइसकेको थियो तर नवसर्जकको कुनै पनि रचना समावेश गर्न सकिरहेको थिइनँ । यसबेला गर्नुपर्ने के हो मैले भेउ पाउन सकेको थिइनँ । एक मन लाग्यो, ‘जिमेल फेरि चेक गरौँ । के थाहा केही आइहालेको पो छ कि ? महिना-दुई महिनापहिले कसैले पठाएको कुनै रचना बाँकी पो बसेको छ कि ?’ यही अभिप्रेरणाबाट अभिप्रेरित भएर जिमेलका ५० वटै पेजहरू स्क्रोल गर्न थालेँ ।
..४८औँ पेजमा पुगेर म टक्क रोकिएँ । धेरै भएछ आएको लाग्यो । र, मैले त्यतिबेला किन भेटिनँ- म भन्न सक्दिनँ । शिर्षकविहीन एउटा लामो आलेख (प्रेमकथा?) मा मेरो नजर पर्यो । त्यहाँ प्रेम थियो, पश्चताप थियो, पछुतो थियो,..त्यसभन्दा बेसी साहित्यप्रतिको अतुलनीय लगाव र आस्था थियो । कसोकसो पढ्दै जाँदा मलाई मैले खोजेको लेख यही हो, खोजेको चिजै यही हो भन्ने हुँदै गयो । जसै..जसै म पढ्दै गएँ..बस,..म त्यहीँ अल्झिदै गएँ । लेखसँगै मेरो मानसिक गतिशिलता र हृदयगत भावनात्मक तीव्रताले बढोत्तरी पाउँदै गयो ।..
(आलेख/प्रेमकथा यस्तो थियो…)
***
ऊ भन्थी- ‘प्रिय, संसार एक मायावी वधशाला हो ।’
ऊ भन्थी- ‘प्रिय, जोगी हौ हामी ।’
ऊ भन्थी- ‘प्रिय, चिहान डुलिहिँड्ने भूतप्रेत हौँ हामी ।’
भन्थी मात्रै होइन भनिरहने गर्थी ऊ.. । ऊ अर्थात् मेरो प्रेम । र, ऊ सहि थिई । हाम्रो प्रेम चिहानघाटमा नै उम्रियो । जलिरहेका लासहरू नियाल्दै हाम्रो प्रेमले गर्भधारण गर्यो । बगिरहेको बागमतीमा आ-आफ्ना छायाँहरू बगाउँदै हामी प्रेमिल नहरीमा डुबुल्की मार्न थाल्यौँ । काठमाडौका अग्ला-एक्ला डाँडामा बेरिएका तुँवालो र हुस्सुलाई एक-अर्कामा बेरेर नै हामीले एक-अर्कालाई न्यानो दियौँ । पानी अमला र सल्लाका पातहरूमा चिप्लेटी खेलेर नै हामीले एक-अर्कालाई एक-अर्कासँग अड्डाइरह्यौँ । ऊ धारामा मुख जोतेर पानी खान्थी र मलाई दिन्थी । प्रेम र प्यास यसैगरी बुझ्थ्यो । म सबेरै उसकोमा पुग्थे र एक-एक माना चिया घुट्काउथ्यौँ । हामी एकाबिहानै खाली पेटमा पानीपुरी निल्थ्यौँ र जोडले उफ्रन्थ्यौँ । त्यसपछि दर्किरहेको झरीलाई माझि औँला देखाउँदै छाताभित्र लुटपुटिएर एकअर्काको छाती मुसार्थ्यौँ, जिब्रो खेलाउथ्यौँ ।
ऊ भेटिनुभन्दा (हो, ऊ भेटिएकी थिइन, अकस्मात आइपुगेकी थिइ) धेरै पहिलेदेखि नै म प्रेमका कविताहरू लेख्ने गर्थेँ । प्रेमिल कथाहरू लेख्ने गर्थेँ । प्रेमले ओतप्रोत गजल, मुक्तक र मनोदशा र मनोभावनाहरूको मसँग खात थियो । यस्ता खातहरूको एउटा गोदाम नै थियो । ती छन्, अझै पनि । केही जलाएँ, केहीलाई च्यातेँ । केहीको डुंगा बनाएर असारको आँगनमा छाडिदिएँ । केहीलाई फूल बनाएर शिशिरका हाँगाहरमा झुण्डाइदिएँ । केहीलाई समातेर घन्टौँ घोरिए, केहीलाई समातेर घन्टौँ हाँसे । केहीलाई दोहोर्याएर, तेहेर्याएर पढेँ । केहीलाई पढ्नै सकिनँ । तर अहँ,..कत्ति गर्दा पनि त्यहाँ एक गेडो प्रेमको बीज भेटिएन । एक अंकुर प्रेमको टुसो भेटिएन । क्या खल्ला प्रेमका किस्साहरू थिएँ । बस..फुस्सा ।
म सम्झन्छु ती दिनहरू, प्रेमका साध्य, सिदान्त र व्याख्या-उपव्याख्याहरूमा मेरो खास दख्खल छ भन्ने गर्थ्यो- मेरो साहित्यिक सेरोफेरो । म दिनहुँजस्तो फेसबुकाँ प्रेम लेख्थेँ । प्रेम त मानौँ मेरो शिरमाथिको आकाश हो । मेरो पैतलामुनिको धरती हो । मलाई हरबखत उत्तेजित पार्ने चट्याङ् हो । मलाई हरप्रहर प्रेमिल बनाइराख्ने बादल हो । र, मलाई शिथिल तुल्याउने उरन्ठेउला इन्द्रेणीहरूको रुप-रंग र जोवन हो । मानौँ, ती तथानाम प्रेमका साध्य, सिदान्त र व्याख्या-उपव्याख्याहरू मलाई स्वच्छन्दता दिलाउने हावाहुरी हो, प्रकाशका किरणहरू हुन्,..जो जतिखेर पनि जति पनि मात्रामा मसँग थिए । जतिबेलै मसँग थिए । बस,..तिनलाई लिपिबद्ध मात्रै गरिदिनुपर्दथ्यो । तिनलाई अक्षरश: ओकलिदिनु मात्रै पर्दथ्यो । मसँग मानौँ प्रेमको भण्डार थियो, जताततै वासरल्ल..छरपस्ट । टिप्यो, लेख्यो, टिप्यो, लेख्यो । र, फेरि लेख्यो, फेरि टिप्यो । लेख्यो… टिप्यो.. । केही फिक्री नै थिएन । लेख्ने म थिएँ । पढेर ‘वाह !’ गरिदिने प्रेमपूजकहरूको फेसबुकियन झुण्ड थियो ।
झुण्डको ‘वाहीवाही’मार्फत मलाई फिल्म-किस्सा-कहानी र कल्पनाको मदतले प्रेम लेखाइरह्यो । म लेखिरहेँ । यतिखेर सम्झिँदा त्यस साहित्यिक सेरोफेरोलाई ‘कठै’ भनी पुर्कान मन लाग्छ । र, ‘कठै’लाई कण्ठदेखि नै उच्चारण गर्न नसक्ने शिथिल अवस्थामा आफूलाई यतिखेर पाउँदा गलल हाँस्न मन हुन्छ । खित्का मारिरहन मन हुन्छ । आफैँलाई गिज्जाइरहन मन लाग्छ । आफैँलाई लात मार्न मन लाग्छ । कारण हो- त्यस किसिमको बहुलठ्ठी हर्कतले सुसम्पन्न प्रेमका तथाकथित उच्छ्वासहरू ओकल्न म कसरी लालायित भए, मेरो दिमागले धर पाउँदैन यतिखेर । हाहा..म बस, देखे-सिकेका तर कदाचित अनुभूत नगरेका प्रेमका ‘ऐरेगैरे नत्थु खैरे’ विश्लेषण, व्याख्या र परिभाषाहरूमा आफूलाई मोल-माल गरिरहन्थेँ । त्यसो गरेर प्रेमको एउटा डल्लो निर्माण गरिरहन्थेँ । र, त्यही डल्लोलाई गिलगिलाइरहन्थेँ ।…त्यस किसिमका हर्कतहरूलाई सम्झेर खितिति खितिति खित्खिताइरहेछु यतिखेर म । मलाई के थाहा, त्यो डल्लो प्रेमको पिण्ड रहेछ ? श्राद्धमा गाइलाई खुवाएको चामलको भातजस्तो मात्र..! एक मृत अनुभूति । जीवनहीन कविता र कथाहरू ।
म आज यतिखेर आफैँलाई प्रश्न गरिरहेछु, प्रेम अनूभूत हुनुपूर्व नै मैले कसरी थाहा पाएँ कि प्रेम हुनु भनेको सबैभन्दा सुन्दर कुरा हो ? प्रेम भनेको मनदेखि मनको साइनो हो ? हृदयको आँखीझ्याल हो ? मस्तिष्कको गैर-हाजिरी हो ? शरिरको स्फूर्तता हो ? आँखाको सुदूर क्षितिज हो ? पैतालाहरूको एकनास तर निर्जन पल्लो किनारा हो ? हाय..! प्रेम यसरी भन्न सकिने कुरै रहनेछ- आज म यो पाउँछु । जसलाई प्रेम गर्थेँ, उसलाई पनि बताउन सक्दिनँ कि प्रेम के हो ? यतिसम्म कि यतिबेला आफूलाई पनि । कसरी भनूँ प्रेम के हो ? कसरी लेखूँ प्रेम यो-यो हो ? कसरी बोलूँ- प्रेम यस्तो-यस्तो हुन्छ ? बस..एक खालीपन । बस,..एक शब्दातीत आलोक । बस..प्रेम आकारविहीन, सीमाविहीन.. केही रहेछ । र, त्यो ‘केही’ के रहेछ ?..म यतिबेला पनि उत्तरविहीन छु ।
प्रेम त्यो- बस, एक विश्राम ? बस..एक थकाइ ?
प्रेम त्यो- बस, एक निश्वास ? प्रेम त्यो- बस, एक निस्सास्याइ ?
के हो प्रेम ?
जेठमासको झरीमा तुँवालोले नुहाइरहेको बुढानीलकण्ठका डाँडाहरू सम्झिन्छु । असारमासका हिलाम्मे बागमती किनारमा लड्दा दुखेका घुंरँडा र गोलीगाठाहरू मुसार्छु । शिवपुरी जंगलमा चरिरहेको हरिणको पुच्छरलाई याद गरिबस्छु । बिहानको घाम नतप्किँदै हाम्रा हात-पाखुराहरूमा तप्किएका असनका चिसा-मसिना शीतका थोपाहरू सम्झन्छु । घिमिरे गाउँ र नाग डाँडाका बैँशालु फूलका बेर्नाहरू सम्झन्छु । नगरकोटका सुनसान तर झरीको कोलाहल आवाजहरूको तालमा नृत्यमग्न रुखबिरुवा-स्याउलाहरू सम्झन्छु । त्रिवेणी घाटका नेवा: ऐला र लरबराइरहेका दुई जोडी खुट्टाहरू सम्झन्छु । रानीवनका उबडखाबड गोरेटाहरू त्यसमा उछलकुद गरिरहेकी उसलाई सम्झन्छु ।.. दशैँताका पिङमा मच्चिरहेकी ऊ र उसलाई मच्चाइरहेको त्यो नौजवानलाई सम्झन्छु । ठमेलका झुम्का पसलहरू र भक्तपुरको तरकारी बारी सम्झन्छु । चोभारको फेदी र ह्वाइट हाउसको उच्चटम चोटि सम्झन्छु । पशुपतिको चिहानघारी र स्वयम्भूको भगवान् पाउ,..सम्झिन्छु । यसो गर्दा यसै मात्र गर्छु । यत्ति मात्रै गर्छु । यत्ति मात्रै गर्नु नै होला प्रेम ? के पो होला खै..? के-के गर्नु र के-के नगर्नुबीचको शुन्यता होला प्रेम ?..के पो होला प्रेम ? खै के-के होला प्रेम ?..
***
उसँग हुँदा मैले लेख्न नै सकिनँ । किनकी म ‘तथाकथित प्रेम’ मात्रै लेख्ने गरी तालिमप्राप्त थिएँ । मलाई तथाकथित प्रेम मात्रै लेख्ने आदत थियो । त्यही आउँथ्यो मलाई । तर जब म उसँग रहेँ, त्यतिबेला जान्दिनँ म- मलाई के भयो ?
सुरुसुरुका दिनहरूमा त अझ ऊ पनि मैले लेखेकै तिनै प्रेमिल गन्थनमन्थनहरू गन्थनाइरहन्थी, मन्थनाइरहन्थी । मेरा तिनै बकम्फुसे प्रेमिल उच्छ्वासहरूमा ऊ प्रेमको आस्वादन गर्ने गर्थी । मैले जे लेखे पनि, जसरी लेखे पनि उसलाई रुचिकर लाग्थ्यो । उसलाई प्रियतम लाग्यो । ऊ खुब स्वादले मेरा कोरा प्रेमहरू पढ्ने गर्थी । ऊ खुब स्वादिलो अन्दाज-ए-बयाँसहित तिनलाई भट्टाउने पनि गर्थी । आफूले लेखेका प्रेम नामधारी कविताहरू आफ्नै प्रियसीले त्यत्तिको प्राणप्रिय लवजमा पुकारिरहँदा, कुनचाहिँ प्रेमी हुँदो हो जसको हृदयका परेलीहरू नभिजोस् ? भिज्दथे मेरा पनि ।
ऊ यसै गरी गरी मलाई आफ्नो हृदयसम्म लागिरहन्थी । आफ्नो हृदयको अगेनोमा मलाई सेकाइरहन्थी । साँचो हो, उसँग हुँदाका दिनहरूमा मेरा हातगोडा र सम्पूर्ण शरिर, तन-मन र मस्तिष्क बस, हतप्रभ रहन्थे,..होइरहन्थे । लोलाइरहन्थे । म यसैउसै पग्लिरहन्थेँ..जमिरहन्थेँ..फुटिरहन्थेँ र फेरी बगिरहन्थेँ । ऊ एक बगाइ । बगाइ अर्थात् मेरो प्रेम । र, ऊ भन्ने गर्थी- ‘प्रिय, जोगी हौँ हामी ।’ हाहा..जोगीहरूको बगाइ जति रुचिकर के होला अर्कोथोक ?
म प्रश्न गर्दिनँ थिएँ- ‘हामी किन जोगी हौँ ?’ मसँग जवाफ पनि त हुँदैन थियो । मसँग आवाज पनि त हुँदैन थियो । न सुन्नलाई कान, न बोल्नलाई मुख । म सशरिर उसँग हुँदा म आफूलाई सशरिर भेट्दिन थिएँ । बस..उसैमा लिप्त होइजान्थे । उसैमा समाहित भइजान्थे । सायद यसैलाई सत्ययुग भनिँदो हो । यसैलाई तमिलनाडूको एलिभोर गाउँ भनिँदो हो । मार्क्स यसलाई साम्यवाद भन्दा हुन् । कृष्ण यसलाई द्वारिका भन्दा हुन् । र, ज्याकब यसलाई जेरुसेलम ।..
मलाई लाग्दछ, हुर्काइ सबैभन्दा महत्वपूर्ण कुरा हो । कुनै पनि बच्चो कस्तो सामाजिक एवं मानिसक परिवेशमा हुर्कियो भन्ने अर्थले निकै फरक पार्दो रहेछ । म उसको र हामीबीचको प्रेमको कुरा गर्नुपूर्व मेरो समाजको थोरै चर्चा गर्छु, हुन्न राजू जी ? (एक्कासि मेरो नाम सम्बोधित भएको पाउँदा म झसङ्ग हुन्छु, आच्या यसले मलाई नै किन सम्बोधन गर्यो ?) ***
मेरो सामाजिक परिवेश निकै अभद्र थियो । जेट जेनेरेसनको अन्तिम पुस्ता म, मसँगै विज्ञान र ज्ञानविज्ञानका अनेकन रूपरेखाहरू खिचिए, साजसज्जा गरिए । काठमाडौँदेखि ५ घण्टाको दूरीमा रहेको मेरो गाउँले आफू हुन कहिले खोजेन । भन्ने हो भने सिन्धुपाल्चोकले आफू हुन नै चाहेन । नुन चाहिए पनि ऊ काठमाडौँ आइपुग्थ्यो र सुन चाहिए पनि । तरकारी बेच्न पनि ऊ काठमाडौँ नै पुग्थ्यो र फर्कँदा मरमसला उहीँदेखि किनी ल्याउँथ्यो । सिन्धुपलान्चोक आजसम्म पनि काठमाडौँको प्रभावबाट मुक्त छैन । बागमती प्रदेशको सबैभन्दा ठूलो जिल्ला ऊ धुलिखेलको बजारसँग पनि बरोबर आश्रित रह्यो । र धुलेखेल काठमाडौँसँग । यसप्रकार ऊ आफूकन नै आश्रित हुनै सकेन । म हुर्कँदा काठमाडौँको भव्यताको प्रभाव मेरो गाउँमा थियो । काठमाडौँ एक सपनाभन्दा बेसी थियो म गाउँले ठिटोका लागि । काठमाडौँको बखान-ए-उपबखानबीच म हुर्किएँ । काठमाडौँको विराटस्वरूपको दर्शनार्थ म प्रतिक्षारत रहिरहेँ । काठमाडौँको दिव्य स्वरूपको दर्शानार्थ म चिन्तित, प्रताडित भइरहेँ । कहिलेकसो म सदरमुकाम चौतारामसम्म पुग्थेँ । तर ल्याउन मन लागेकै कपडा हुन्न थियो, खेल्न मन लागेकै खेलौना हुन्न थियो । जब दशैँ-तिहार आउँथ्यो, काठमाडौँ बसेका फुपूदिदीहरू आ-आफ्ना बलबच्चा घिसार्दै माइत आउँथे । फुपूका बच्चाहरूले लगाएका कपडा र समाएका खेलौनातर्फ मेरो आँखा पर्थ्यो, नजर गड्थ्यो । अब मलाई त्यही चाहिन्थ्यो र त्यो मैले पाउने कुनै सम्भवना थिएन । यसले एक किसिमको मानिसिक खल्लोपन बोकाइराख्दो रहेछ । सो खल्लोपन आफूकन बोकिरहेँ मैले । सामाज यसप्रकार दीक्षित हुँदै थियो कि पठनपाठन ध्वस्तप्राय हुँदै थियो । माओवादी कालको एकछत्र रजाइँ एक ठाउँमा थियो भने वैदेशिक प्रभावको असर उस्तै थियो । यसबीच म ममीसँग हुर्किएँ । बुबा माओवादी विचारधारादेखि उम्किभाग्न विदेश फुत्कनुभयो । मभन्दा तल भाइबहिनीहरू रहे । ममीबाहेक घरमा हजुरआमा हुनुहुन्थ्यो । हजुरबुबाको देहान्त भइसकेको थियो । दुई अंकल-आन्टी र मेरा सहित ८ जना भाइबहिनीहरू म तल भए ।
बुबा/अंकलहरू सब विदेश लस्किएपछि ममी/आन्टीहरूको संरक्षकत्वमा हाम्रो लालनपालन भयो । कृषि पेशाका कारण उहाँहरूको दिनचर्या खेतबारीमा बित्यो । हामी फुक्काफाल भयौँ । जहानमा पढेका व्यक्ति त्यति थिएनन् र पढेका फुपूदिदीरू पनि आ-आफ्ना घरजम गरी बसिसकेका थिए । यसक्रममा टुकी र पानस बालेर नै मैले पढेँ । बिजुलीबत्ति, टिभी, रेडियो.. त्यो धेरै परको कुरा थियो । पत्रिका मैले पल्स टुपछि पढ्न थालेको हुँला । लाइब्रेरीको नाममा विद्यालय परिसरमा ‘रुम टु रिड’को एक थान लाइब्रेरी र ४/५ सय पुस्तक विद्यालय हातामा थियो तर त्यहाँबाट त्यतिखेरको समयमा ‘पल्पसा क्याफे’जस्ता किताबहरू पढ्न दिइँदैन थियो । ‘माओवादी सन्त्रास’ काठमाडौँमा माओवादीले हतियार बिसाइसकेपछि पनि गाउँमा जबर्जस्त थियो ।
यसक्रममा पाठ्यक्रमबाहेक मसँग पढ्नका लागि कुनै पनि पुस्तकहरू थिएनन् । म तिनै पाठ्यपुस्तकहरू दोहोर्याई-तेहेर्याई पढ्थेँ । कण्ठस्थ पार्थेँ । सम्झन्थेँ र तिनैलाई परिक्षामा बान्ता गरिदिन्थेँ । सोही वान्ताले मलाई ‘ब्रोड फ्रस्ट’ दिलाइरह्यो । ताली दिलाइरह्यो । मैले पनि पुरस्कारमा एउटा फाउन्टेन पेन र दुईचारवटा बाक्ला कपीहरू कुम्लाइरहेँ ।
मेरो समग्र बाल्यकाल राजनीति, विश्व जगत् र समसामयिक घटनाक्रमदेखि धेरै पर..पल्लो छेउमै रह्यो । ममीसँग हुर्केको हुनाले गाउँघरका बुढापाका र साथीभाइहरूसँग मेरो दोस्ती जम्न सकेन । त्यो दोस्ती जमेको खण्डमा छिटफुट रूपमै सहि मलाई ति कुराहरू त्यतिबेला थाहा हुने थ्यो कि ? हो, यी कुराहरू थाहा नभएकाले मसँग समाजको बहुआयामिकतालाई देख्ने, निहार्ने र चिन्ने एउटा अलग आँखा छ । त्यस अलग आँखाको आजसम्म काम आइरहेको छ तर त्यससँगसँगै राजनीतिक र सामाजिक चरित्रको यथार्थ रूप पनि हुँदो हो त अलग बात होइजान्थ्यो । तर अवस्था बिल्कुल फरक होइदियो । बाहुनको घर, बाहुनको जात, बाहुनको काम, बाहुनको गोत्र र बाहुनको आनीबानी लगायतका ‘टपरटुइँया प्रवृत्ति’ले मलाई गाँज्न छाडेन, न्याक्न छाडेन । तिनै विचारधाराको जगमा निर्मित मनस्थितिसहितको कुम्लोकुटिरो बोकेर म तथाकथित प्रेमका आख्यान-ए-व्याख्यान लेखिरहेको थिएँ । तिनैको चर्चा-ए-परिचर्चा गरिरहेको थिएँ, शहरमा ।
समग्रमा म परनिर्भार्ताको वाछिटाले लिछुप्प भिजेको गाउँले परिवेशको सिमानामा बाख्रा चराइरहेको म बाहिरी दुनियाँका तमाम खबर-ए-खाबरदेखि बेखबर थिए । पाठ्यपुस्तकबाहेक मसँग बाहिरी दुनियाँ निहारने स्रोतसाधन केही थिएन । र, आज पाउँछु- ति पाठ्यपुस्तक मलाई संकुचित बनाउने प्रमुख अम्मल रहेछन् ।
मसँग सम्झिन सक्ने मानिसक खुबी थियो-जसले मलाई क्लासकै उत्तम विद्यार्थीको पदभार दिइराख्यो । काक्रा चोर्ने, आलु उखल्ने, बाँदर धपाउने, वन-घर गर्ने कामहरू ‘पढनदास-घोकन्ते विद्यार्थी’ हुनाका कारण एकदम सीमित भए । मलाई आज लाग्ने गर्दछ सन्तुले बाउलाई खोलाबाट बचाएको आदर्शको कथा पढ्नु (रट्नु) भन्दा साथीसँग काक्रा चोर्न बारम्बार गइराखेको भए म ज्यादै परिपक्व र सामाजिक यथार्थतालाई छाम्न सक्ने हुन्थेँ ।
तर बात अलग भइदियो, फर्स्ट आउनु र क्लासमा नम्बर एक दहरिनुको बोझभारले मलाई पाठ्यक्रममै केन्द्रमा फनफनी रिँगाइरह्यो । यत्तिसम्म कि एक थोपा आलोचना गर्न नसक्ने भएँ । आलोचनात्मक प्रवृति नहुने मानिस गधा हो, मलाई आजभोली यस्तै लाग्छ । कोहीसँग दोहोरो संवाद गर्नै नसक्नु गधाको चारित्रिक विशेषता हो । पाठ्यक्रमको भारी बोझले म बस थिचिइरहेँ- गधा झैँ । र, अन्ततोगत्वा म त्यो गधा बनेँ- जसले न खेतिकिसानी गर्न जान्यो, न कोहीसँग दोहोरो संवाद गर्न सक्यो, न जातपातले गाँजेको गाउँलाई निहार्न सक्यो, न धर्म र आर्थिक हैसियतले न्याकेको परिस्थितिबाट आफ्नो मुन्टो उठाउने चेष्टा गर्न सक्यो ।
जसै काठमाडौँ आए, म यो सबदेखि उम्किन चाहन्थेँ । प्लस टूसम्ममा म अर्कै भइसकेको थिएँ । मलाई बस समाज चिन्नु थियो, देख्नु थियो । सिन्धुपलान्चोकभन्दा फरक थियो काठमाडौँ । यसको विरानो व्यक्तित्व थियो । र, यो विरानो व्यक्तित्व चरित्रधारी काठमाडौँसँग पौठेजोरी खेल्नका लागि मसँग साइकल थियो । म सोही साइकल चलाउँदै, डोर्हाउँदै, धकेल्दै, घचेट्दै शहरका तमाम भीड र किनाराहरूसम्म पुग्न थाले । र, तिनै यात्राको क्रममा भेटेका, देखेका, भोगेका आफ्नो अनुभवलाई लिपिबद्ध गर्दै गएँ । तिनैबाट ‘वाहवाही’ पनि बटुल्दै गए । मलाई आजसम्म हास्यास्पद लाग्छ, त्यतिबेला म देशको प्रधानमन्त्रीको नाम सम्म भन्न सक्दिन थिएँ । यसप्रकारको ‘जिरो नलेज’को आधरस्तम्भमा उभिएर म ‘प्रशंसाको फेटा’ गुथ्दै थिएँ । छ्या..
शहरमा भइरहने आन्दोलन, विरोधका स्वरदेखि निकै पर म बस साइकल डोर्हाउँदै कोइली र चिबे चराको उडान नियालिरहन्थेँ । जंगलका कुहिरो र जमेका झ्याउहरू कोट्टाइरहन्थेँ । आफू जस्तै शिलस्वभावकी प्रेमिकाहरूसँग लठ्ठारिरहन्थे । उनीहरूको वक्षस्थलमा मुन्टो जोतिरहन्थे ।
गाउँले वान्ता छुटाउने गरी नियमबद्ध गरि तय गरिदिएको आफ्नो मानसिक संरचनाका सब सीमा र तगाराहरू नाघ्न चाहन्थ्यो- त्यो केटो । म बस..आफू आफैँ मात्रै हुन चाहन्थेँ । आफूबाहेक मलाई कसैको प्रवाह थिएन । ..मेरो भोक..मेरो सपना..मेरो यात्रा..मेरो स्वतन्त्रता ।..यसप्रकारले स्वतन्त्रताको चरम उपयोग (दुरुपयोग?) गर्दा म एक कट्टर पुरुष, कट्टर बहुलठ्ठी, कट्टर डकुलन्ठू भएछु । व्यवाहरत: मैले आफ्ना सम्पूर्ण जिम्मेवारी र दायित्व बिर्सिएछु ।
***
यस उपक्रममा यही शहरमा उसँग भेट भयो । उसको र मेरो हुर्काइमा जमिन-आकाशको फरक थियो । ऊ माध्यामिक लेभेल पढ्नेक्रममै पाँचभन्दा माथि स्कुल र स्थानमा पुगिसकेकी थिई । हिमालको हिउँदेखि तराईको लूसम्म उसले भोगिसकेकी थिई । त्यसै अनुरूपको संस्कृति, सामाजिक, राजनीतिक र मानोवैज्ञानिक सोचबुझ उसले बनाउन भ्याई । यसक्रममा पुरुषवादी समाजको खटनपटन भोगी र त्यसबाट निस्किभाग्ने अनेक उत्कण्ठाबाजीबारे पनि सोच्न थाली । उसै पनि हाम्रो समाजले दबाएर राख्छु भन्दा किशोरीहरूलाई ज्यादा विद्रोही र व्यवहरगत हिसाबले पनि निपुण बनिरहेका छन् । र, ऊ त्यो मध्येकी एक किशोरी थिई, जो घरपरिवार र समाजसँग बरोबर विद्रोह गर्दै हुर्किएकी थिई । समाजको बहुआयामिकता देखेकी, बुझेकी उसँग प्रखर आलोचनात्मक प्रवृति थियो । प्रखर वक्ता थिइ ऊ । खुंखार खुसमिजाज मान्छे तर उदास अनि लाचार थिई । ऊकन गलत र सहि जाँच्ने सुझबुझ थियो, गलतलाई गलत भन्ने हिम्मत थियो तर भन्दा सुनिदिने कोही थिएनन् । उकन निकै असल र वाचाल हृदय थियो, जो असाध्यै मितव्ययी थियो । तर ऊ आफूले भोगेका/भेटेको पुरुषवादी समाजका झापड र निलडामहरूले अत्तालिइरहन्थी । यद्यपि ऊ यति आँटिली थिई कि- ऊ त्यसविरुद्ध हरबखत भुनभुनाइरन्थी । मकन ऊ ठोक्किदाखेर उसको यो भुनभुनाहाट अत्याधिक नै थियो । प्रथमतः म त्यस भुनभुनाहटबाट अत्तालिएको थिएँ । तर मेरो तथाकथित साहित्यक हाइरार्की र जेठो उमेर एवम सम्पूर्ण मलाई पर्गेल्न नसकेका कारण ऊ चुप बसी ।
म उसको कुरा गर्दै थिएँ-
पुरुषवाद र भ्रष्ट राजनैतिक चरित्रले गाँजेको सत्तासँग हरबखर भिड्न ऊ आफ्नो पाखुरा सुर्काइरहन्थी । उसलाई क्रान्तिका तमाम चरण र असजिला-असजिला घुम्तीहरूबारे थाहा थियो । क्रान्तिमा होमिएका मानिसका मनोदशाहरू पनि थाहा थियो । र, त्यसलाई ठीक पार्ने तरिकाहरू पनि । ‘आमा’ लगायातका पुस्तकहरू पाँच कक्षा नप्ढ्दै पढिसकेको बताउँथी । तर उसको पनि परिवार थियो, समाज थियो । जो हुबहु मेरो जस्तै थियो, म जस्तै थियो । म अर्थात्, कट्टर पितृसत्तालाई प्रश्रय दिने पुरुष । र, उसको लडाइ मजस्ताहरूसँग नै थियो । तर उसको दुर्भाग्य उसको बसउठ मसँग हुन पुग्यो । उसको हृदय मेरो हृदयसँग बज्रन पुग्यो । अर्थात्, ऊ आफ्नो यात्राको पर्खालसँग प्रेम गाँस्न पुगी । उसको लक्ष्यभेदको कम्जोर तीर-वाणसँग माया साट्न पुगी । दिल लगाउन पुगी । समग्रमा आफ्नै यात्राको ठेसलाई उसले हृदयमा बास दिई ।
अँ, एक्कासी हामी दुईको भेट भएको थियो । र, मलाई लाग्छ यो भेट एक घटनाभन्दा बेसी दुर्घटना हो । यस्तो दुर्घटना जसले कायापलट ल्याउँछ । उथलपुथल ल्याउँछ-दुवैको जिन्दगीमा..सम्पूर्ण सेरोफेरोमा । हामीबीचको दुर्घटनाले पनि त्यो काम गर्यो । हाम्रो जोडी केहीका लागि ‘प्रेमको नमुना जोडी’ समेत सिद्ध भयो । तर यस नमुना जोडीको भित्री कथा असाध्यै बाङ्गोटिङ्गो र बक्र छ, असाध्यै छिस्मिसिएको र अफ्ठ्यारो छ । यसै यस जोडीको कथा वियोगान्त भएको छैन, राजू जी ।
ऊसँग ठोक्किनुपूर्व मैले केही दर्जन साहित्यिक, गैर-आख्यान एवं अन्तराष्ट्रिय किताबहरूको स्वाद चाखेको थिएँ । केही वाद-दर्शन र चलनचल्तीहरूको चंगुलमा परिसकेको थिएँ । र, तिनै विचारधाराहरूको प्रभावसहित म ऊकन पुगेको थिएँ । अनि, तिनै कुराहरूलाई कल्पना एवं अनुभूतिको घोलमा मिसाएर प्रेमिल गन्थन-मन्थनमा उसलाई साझेदार बनाइरहेको थिएँ । ओशोको अनुयायी थिएँ, नविन के.भट्टराईका गीतको पारखी थिएँ । भर्खर-भर्खर साउथ इन्डियन फिल्मको चंगुलदेखि पर भाग्दै थिएँ । बेस्ट सेलर र लोकप्रियताको पन्जामा अझै पनि जकडिइरहेको थिएँ । समग्रमा झट्ट कसैबाट प्रभावित होइरहने र आफ्नो मनमौजी चलाइरहने विसंगतिपूर्ण स्थितिमा थिएँ ।
एकातिर साहित्यिक गन्थनमन्थनका कारण प्रसिद्धि पाउँदै थिएँ, अर्कोतिर आफूले लेखेका कुराहरूको म आफैँ भेउ पाउन नसक्ने स्थितिमा पुग्दै थिएँ । कम्जोर जगसहितको घर जस्तो..म क्रमशः खोक्रो हुँदै थिएँ । जसोजसो दिनहरू बित्दै गए, मेरो प्रसिद्धि बढ्दै गयो- मैले आफ्नो लेखनलाई निरन्तरता दिइरहनुपर्ने बाध्यात्मक वातावरण तय हुन पुग्यो । र, लेख्नेहरूको एउटा कमजोरी कसैले तारिफ गरिदियो भने बेलुका अर्को लेख/रचना लेखिदिइहाल्छन्, भलै त्यसका लागि आफू तयार होस्/नहोस् ।
अत: मैले त्यतिबेला कदाचित सोचविचार गर्न भ्याइनँ- चोरेर हुन्छ कि सारेर हुन्छ; म लेख्दै गएँ । कसैको गफ सुनेर हुन्छ कि कसैबाट प्रभावित भएर हुन्छ; म बस,..लेख्दै गए । लेखिरहेँ । लेख्दै गरेँ ।..बस, आफ्नो अनुभूति-भोगाई र सुझबुझबिना नै म शब्दहरूको थुप्रो तयार गर्दै रहेँ ।
उसले थाहा पाएकी थिई कि म किन र कसो गरी लेखिरहेको छु भनेर तर उसले मलाई रोक्न सकिन । ऊ ‘फलानो किताबको उद्दरण दिएर चोरेको हो ?’भनेर सोध्थी । म बनिबनाउ बहाना अघि सारेर उम्किभाग्थेँ । ऊ ‘फलानो व्यक्तिको अन्तर्वार्ता हेरेर लेखेको हो ?’ भन्थी…म ‘आफैँले अनुभूत गरेको हो’ भनेर झुटा बहानाबाजी अघि सार्थेँ । ऊ जति जति मलाई आफू हुन, आफू भएर लेख्न आग्रह गर्थी, म उति उति कराउथेँ, सूत्र सिकेर आएको समालोचक नबन्न आग्रह गर्थेँ । ‘टिप्पणीकार’ त मैले उसको उपनाम नै राखेको थिएँ । ..यसक्रममा न ऊ, ऊ रही, न म, म रहेँ । बस..ऊ मलाई म बनाउन नसकेको सन्तापमा पिल्सिरही र म उसलाई मजस्तै बनाउन (नबोल्न, मेरो लेखाइबारे कुरै नगर्न,..) लागिरहेँ । नमानेको खण्डमा धम्काइरहेँ .. । जे होस्, तर एउटा तोरीलाहुरे हर्कत–मैले लेख्न कसैगरी पनि छाडिनँ । बरू म हामी दुईकै यात्रा र गफगाफलाई आधार बनाएर लेख्न थालेँ ।
यी करिबन ६ महिनाजतिका कुराहरू थिए होलान् । त्यसपछि ऊ सफल भई । मैले लेख्न छाडेँ । मैले लेख्न पटक्कै सकिनँ । मेरो साहित्यिक सेरोफेरोले मलाई लेख्, लेख् भनिरह्यो । ..मैले लेख्न सकिनँ.. । साहित्यिक सेरोफेरोले पनि मलाई बिर्सिँदै गयो । मैले पनि उसलाई बिर्सदै गएँ । कारण हो- म ऊप्रति अचाक्ली नजिक भइसकेको थिएँ । लेखेर पाएको झुटो प्रशंसाबाजीभन्दा उसँगको बसाउठीमा नै मन रमाउन थालेको थियो । कहिलेकसो लेखेर कमाएको तथाकथित ख्याती गुमेको पीरले मलाई चिमोटीरहन्थ्यो । त्यतिबेला केही लेख्न पनि खोजिरहेँ तर लेख्न बिल्कुल नसक्ने हुँदै गएँ । अर्को २/३ महिना उसँग शहरका तमाम दारूलय र पुस्तकालय छिर्न भ्याएपछि मैले आफूले लेखेर कमाएको ख्याती झुटो थियो भनेर बुझेँ । भनौँ न, नलेखेर नै सन्तोकी हुँदै गएँ । नलेख्दा पनि खुसी हुन थालेँ ।
अर्को २/३ महिनामा त म आफ्नो लेखनको कमजोरीहरू औल्याउँन थाल्ने भइसकेको थिएँ । अघिअघि लेखेका मनोवाद, कविता, लेख-रचनाहरूलाई ओल्टाई-पल्टाई गर्न थाल्ने भइसकेको थिएँ । तर कदाचित तिनलाई पुनर्लेखन गर्ने आँट र हिम्मत भने आएन । बरू, त्यतातर्फ लाग्नुभन्दा उसँग कामवासनामा लिप्त हुँदै असली स्वादका फिल्म, गीत, चित्र र किताबहरू पढ्नु आन्नददायी ठहरियो । यतातर्फको मज्जा र सुख त्यता कदाचित थिएन । शहरमा हुनेगरेका साहित्यिक कार्यक्रम र भेटघाटमा पनि मेरो उपस्थिति पातलो हुन थाल्यो । बरू हामी दुवै नाटकघरका गुप्त सिट, भट्टीका गुप्त कोठाहरू र चिहानघाट चिसा सिँढीहरूमा बसेर जिन्दगीका असली मज्जा लुट्न थाल्यौँ ।
यसै दिनहरूमा हो, हामीले वधशालाको विचरण गरेको । टेकु आसपास निकै पैश्विक हालतमा राँगा र बुढ्यौलीले गाँजीसकेको भैँसीहरूको संहार गरिन्थ्यो (सायद आजभोली नै गरिँदो हो) । ऊ त्यहीँ आसपास बस्थी । र, हाम्रो भेट्ने-छुट्ने थाँतथलो त्यहीँ हुन्थ्यो । तर त्यहाँ भेटिइसकेपछि हामी कहाँ कहाँ पुग्थ्यौँ र के-के उटुङ्ग्या गर्थ्यौँ- त्यसको कुनै लेखाजोखा थिएन । ऊ हरेक दिनजसो भन्ने गर्थी- ‘प्रिय, संसार एक मायावी वधशाला हो ।’ हामी घुमन्तेहरूको बिहान ३ बजेदेखि साँझ ९ बजे र राती १० बजेदेखि बिहान ७ बजेसम्मको घुमघामको निष्कर्ष वाक्य थियो त्यो । जुन, आजसम्म पनि साँचो छ ।
वसन्तपूरका हर भित्री चियाअड्डा र दारूमहलहरूमा हामी कविता पाठ गर्थ्यौँ । निकै राम्रा कविताहरू थिएँ ती । हो, ती दिनहरूमा पनि हामीबीच वैचारिक मतभेद बरकरार नै थियो तर त्यसबेला हामी चुपचाप एक-अर्काको रिसराग र नकारात्मकतालाई घुटुक्क निल्थ्यौँ (यो धेरै हदसम्म ऊ नै गर्थी, ममा यो गुण अझै पनि भ्रूण अवस्थामा नै थियो.. । बस, अंकुरण हुन बाँकी थियो) । दारूमहल र चियाअड्डाहरूमा एक-अर्काको पोल्टोमा घोप्टो परेर सुनेका कविता, कथाले हामीलाई साहित्यप्रति अझ लगनशील बनाइदियो । अझ श्रदावान् बनाइदियो । दिनहुँ पुस्तकहरू किन्थ्यौँ र दिनहुँ त्यसकै कुरा गरिरहन्थ्यौँ । एक-अर्काले किनेका पुस्तकहरू एक-अर्कालाई दिँदा बीचका पानाहरूभरि प्रेमपत्रहरू हुन्थे । प्रेमका साउती र कानेखुसीहरू हुन्थे । उसो त हामी दुवैले लेख्न छाडेका थियौँ तर असली कविता के हो, असली कथा कस्तो हुनुपर्छ हामीलाई थाहा थियो । निरन्तर पुस्तकालय पुगिरहने र खाजा नखाएर पुस्तक किनिरहने आदतको हामी यतिसम्म दास भएका थियौँ भरे फर्कँदा भोको पेट हामी आ-आफ्नो डेरामा आइपुग्थ्यौँ । त्यसअलवा उसको र मेरो डेरामा हामी एक्ला-एक्लै रहेको हुँदा हामी एक-अर्काको डेरामा बरोबर जाने-आउने गरिरह्यौँ । कामवासनाको अलावा पनि कोठाको रंगरोगन, भान्छा, किताबहरूको स्याहार-सम्भार, फिल्महरूको ह्यांगओभर र दारूको भरमार दिवाना हामी महिनौँ एक-अर्कामा होश गुमाएर बस्यौँ ।
आफू दुई भए कोही नचाहिने, आफू दुई भए जे पनि गर्न सक्ने, त्यसप्रकार आत्मविश्वास र बहादुरीले हामीलाई हामी बनायो ।…. सहयात्री बनायो । एकै लक्ष्य, एकै सपना र एउटै गन्तव्यको वाचा-बन्धन समेत गर्न पुग्यौँ ।……. तर यो धेरै दिन चल्न सकेन । टुप्पोमा पुगेपछि झर्नु आवश्यक थियो । खस्नु अनिवार्यता थियो । लड्नु स्वाभाविक थियो । पछारिनु यथार्थता थियो । चोटपटक लाग्नु वैज्ञानिक थियो ।..र त्यही भयो..जुन पूर्णत: व्यवहारिक थियो,..जैविक थियो,..प्राकृतिक थियो ।
म जान्दिनँ, त्यस दिन उसलाई के भएको थियो । ऊ एकाबिहानै मकहाँ आइपुगेकी थिई…
****
छद्म नामधारी सो व्यक्तिको आलेख(प्रेम कथा?) यहीँ सकियो । मैले पुन: पेज रिफ्रेस गरे…गरिरहेँ । तर केही हात लागेन । उसले यसभन्दा बढी केही पनि लेखेको थिएन । मैले पटकपटक रिफ्रेस गरे तर अहँ..यसपछि केही पनि लेखिएको छैन ।
म घोर निराशामा डुबेँ । चरम कष्टकर स्थितिमा पुगेँ । म सोच्न थालेँ, ऊ ऊकहाँ आइसकेपछि के भयो ? ऊ ऊकहाँ किन आएकी थिई ? त्यसपछि के भयो ? उसले मलाई सम्बोधन गर्ने क्रममा वियोगान्त कथा भनेको छ । एक-अर्कामा त्यसप्रकारले समाहित भएको त्यस प्रेमिल जोडीको कथा कसरी वियोग भयो ? के कारणले छुटि्टए उनीहरू ?
अझ त्यसभन्दा पनि महत्त्वपूर्ण प्रश्न, अनि उसले त्यसपछि लेख्यो कि लेखेन ? उसको कथाअनुसार उसले लेख्न चटक्कै छोडेको थियो,..फेरि उसले यति लामो कथा मलाई कसरी लेखेर पठायो ? उसको लेखन अब्बल छ, प्रवाह रुचिकर छ । अझ महत्वपूर्ण उसँग कथा लेखन शिल्प छ र उसले आफ्नो कथालाई सुरुचिपूर्ण बनाएको छ । उसको लेखनी नियाल्दा ऊ लेख्न सक्ने मान्छे हो । के उसको कुनै किताब बजारमा आएका छन् ? उसको असली नाम के हो ?
म त्यो छद्मनामको एक-एक अक्षरलाई घुरिरहेँ..घुरिरहेँ ।…तर आइडीमा उसको फोटो थिएन र जिमेल एड्रेस निकै अस्पष्ठ र नबुझिने थियो । बस अङ्ग्रेजी अक्षरहरूको हुलमुलजस्तो मात्रै । …… रातको घडी एकाएक समाहित भए । तीनवटै सुई एकअर्कासँग समागममा लिप्त भए । अब यो घडीका सुईँहरूको गर्भधारणको समय हो । यसपछि अर्को बिहान जन्मिनेछ । अर्को दिन र रात क्रमश: आउनेछन् । तर…,तर…,उनीहरूको वियोग कसरी भयो होला ? उनीहरूको त्यसपछि पनि भेट भयो होला ? उनीहरू अहिले सँगै होलान् ? उनीहरूलाई यतिबेला एक-अर्काको हालखबर थाहा होला ? र, ऊ आफ्नो कथा आधाअधुरोमै छाडेर कता गयो होला ?..के उसले बाँकी कथा फेरी लेखेर मलाई पठाउनेछ ? या बाँकी कथा अर्को छद्मनामबाट उसकी प्रमिकाले लेखी पठाउनेछे ?..के म अर्को भागको प्रतीक्षा गरौँ ? र, मेरो भोलिको साहित्यिक अंक ?..
म सम्भोगलीन अवस्थामा रहिरहेका तीनवटा घडीका सुईहरूलाई हेर्दै निरन्तर प्रश्न गरिरहेछु ।..गरिरहेछु ।
लेखक परिचय
राजु झल्लु प्रसाद
धादिङका राजु झल्लु प्रसाद कविता, कथा, मनोविश्लेषणात्मक लेख साथै अखबारीय लेखनमा पनि सक्रिय छन् । अनलाइन पत्रिका न्युजकास्ट नेपालमा कलासाहित्य विधाका प्रमुख रहेर काम गरिरहेका झल्लु प्रसाद त्रि-चन्द्र कलेजमा बिएससी अध्ययन समेत गर्दैछन् ।
(शब्दसोपानमा जेष्ठ १४, २०७८ मा प्रकाशित)