ऊ सोधिरहने गर्छे, म उसलाई प्रेम गरिरहन्छु ?
डुंगाले नदीलाई सोधेजस्तो, ‘ए ! बगीरहन्छस् ?’
~
हासिरहेको थिएँ, उसले सोधिहाल्यो- दु:खी छस् क्यारे ?
अँ, विशाल समुन्द्र आसपास नै त विशाल मरुभूमि हुन्छ !
~
गोरेटाभरि बम, बारुद बिच्छाइएका रहेछन्,
बच्चाहरूले सँगाले, उनीहरूको पोल्टा भरिएको छ !
~
तिमीलाई थाहा छ, यी अक्षरहरू किन खुसि छैनन् ?
किनकी- तिमि लेखिरहेका छैनौ, म पढीरहेको छैन !
~
बोल्नेहहरूको पिठो धमाधम बिक्दै गएपछि
नबोल्नेहरूले थालेका हुन्- चामलको कविता लेख्न !
~
बाँदरले ऐना हेर्यो, र कोतारेर फुटाइदियो
सोच्यो होला, म मान्छे झैँ किन देखिरहेछु ?
~
चितुवाहरूको झुण्डमा पनि एउटा बाख्रा हुन्छ,
जसरी बाख्राको बथानमा एउटा चितुवा भेटिन्छ !
~
सधैँ भोका बाख्राहरूको आन्द्रा चपाएको छ,
यसैले आजसम्म कुनै चितुवा अघाएको छैन !
~
माछाहरू चपाएर आफ्नो तिर्खा मेटीरहेछ,
मरुभूमि नाघेर समुन्द्र आइपुगेको थियो- उँट !
~
बाघ मरेको थियो, भोकले छटपटिएर झाडीमा
अहिले त्यहाँ एउटा हरिण चरिरहेको छ !
~
सुमुन्द्रमा चन्द्रमा गुलाबी देखिएको छ,
उचाई र गहिराइको पनि क्षितिज हुँदो रहेछ !
~
आकाशले धर्तीलाई कोट्टाउदै सोध्यो,
“म त्यता आउँ कि मैचाङ, तिमि यता आउने ?”
~
बडो खुसिसाथ नाच्दै, गाउँदै, रमाउँदै थियो जुनकिरी
जबसम्म उसले लाटोकोसेरोको आँखा देखेको थिएन !
~
कुवासँग उत्तर हुनुपर्छ,
प्रश्न नदीलाई सोधेको थिएँ !
~
पृथ्वी नदीहरूको पदचाप हो,
यति भनेर माझि डुंगाबाट उत्रियो !
~
हैन, हैन; म ठिक छु ! तिमी ?
यार.. तिमीले पनि साँचो बोलेनौं !
~
एकादेशको कथा ? अनि यस्तो ?
कस्तो आफ्नै अनुहार र ऐना जस्तो ?
~
सरकार धामी बनेको छ, कन्दमुल खोजिरहेछ
देश लम्पसार छ, वर्षौदेखि ब्रम्हनालमा !
~
आँगन साँघुरो भयो भन्दै पर्खाल लगाएछ ?
पक्का छ, ऊ सरकारको ठेकेदार होला !
~
सम्झन्छु, कहिले हाँस्छु; सम्झन्छु, कहिले रुन्छु
कसैले सोधेको थियो मलाई ‘देश सम्झन्छस् ?
~
जबजब आँगन डुबाउन थाल्छ बाढीले
सरकार पहिरो बनेर खासिदिन्छ कर्सामा !
~
छन्, देशमा सिंहदरबार र सगरमाथा दुवै छन्
यिनीहरूको कद मिल्दैन, यसैले जात्रा छ !
~
जबसम्म जनता हृदयलाई तोरीबारी बनाइरहनेछन्
तबसम्म सरकार भमरा बनिरहेनछ, चुसीरहनेछ !
~
लागेथ्यो एकमन, छोडौं देश, जाउँ कतै
गइनँ, किन जानु ? मेरो रिस देशसँग होइन !
~
यसो गर्नुहोस् यार, मसँग एउटा उपाय छ
तपाई राम्रो मानिस हो, घरको ऐना फुटाइदिनुस् !
~
त्यसैले रिसाएको ऊ ? होइन, कारण अर्कै छ
खोज्न निस्केको थियो कसैलाई, पायो आफैंलाई !
~
त्यस्तो केहि छ ? जो आएपछि कहिल्यै जादैन ?
छ यार, जो कहिले आएन, त्यो कहिल्यै जादैन !
~
हृदय टुटेको छ अरे, किन सुनाएको त ?
मलाई खुसि लाग्यो, तिम्रो पनि उहि हालत रहेछ !
~
म यो देशको होइन, यो देश मेरो होइन
होइन, यो गजलको एउटा शेर मात्र होइन !
~
नभन्नुस, यो धुवाँ हो, त्यो खरानी हो
एउटा मान्छे जिउँदै थियो-अघिसम्म !
~
कसले भन्यो, बाच्नेहरूले सपना देख्नुपर्छ ?
म हररात सपनामा आफू मरेको देख्छु !
~
बाँदर हाम्रा पुर्खा हुन् भन्ने बताएदेखिन
डार्बिन ! तिम्रा मान्छेहरूले मान्छे हुनै छाडे !
~
तिमी भेटियौँ अँगाल्यौं, यार गलत भयो
अब म यै छाती बोकेर मलाइ प्रेम गर्न सक्दिन !
~
यो विज्ञानको कुरा हो, जो हजुरआमा सुनाउनुहुन्छ
‘तिमारको चिल्लो मोबाइल, हाम्रो फुस्रो हातले सर्दैन !’
~
आजसम्म घर परिवार मन परेन मलाई
अब आफ्नाहरूको मृत्युको खबर बाक्लिएको छ !
~
जबजब म तिम्रा-मेरा पुरानो तस्बिर हेर्छु,
आह यार ! कति नयाँनौला भइसकेछौँ हामी ?
~
उसको जीवनको प्रारम्भ इर्ष्या लाग्ने नै थियो
कविता के लेख्यो, देख्छु- हालत खराब छ !
~
देखिहाल्नुभयो, जीवन त्यति सहज कहाँ छ ?
तर भट्टी ऊ.. नजिकै छ, त्यति गाह्रो पनि छैन !
~
हेर्नुहोस त, यी ताराहरू चम्किरहेका छन्,
तपाइँ हास्नुस् यार, नत्र ती अझ खुसि हुनेछन् !
~
के रे नभन्दै कुरा बुझ्नुभयो रे ?
बधाई छ, हामी एक रहेछौं !
~
नदिले बगाउँदै किनारामा ल्याई मिल्कायो,
यति लामो यात्रापछि बगर भेट्नै पर्थ्यो, भेटेँ ।
~
को कहाँ पुग्यो ? कहाँ को पुग्यो ?
प्रश्न झै उत्तरको पनि चेहरा अलग छ ।
~
बादलहरू मिलाएर घर बनाइरहेछू,
म किन अँगेनोमा तारा खसाइरहूँ ?
~
खरेटो ल्याउँ, मिल्काइहाल्नु छ,
एउटा कसिङ्गर हृदयमा पुगेको छ ।
~
तिमी ‘अहिंसा’ भन्छौ, ‘मानव धर्म’ भन्छौ ! कहिलेसम्म ?
गीता उसैको सुनिनेछ, जसले सुदर्शन चक्र समाएको छ ।
~
दशौं हात बनाएर, दशौं हतियार भिराएर
तिमी भन्छौ, ‘आह..कति सौम्य देवी हाम्री !’
~
ए, अनि उसले त भन्थ्यो- ‘विश्व साँघुरो छ !’
अँ, ऊ कविता लेख्न मन गर्छ, भन्यो होला ।
~
बाघ मरेको थियो, भोकले छटपटीएर झाडीमा
अहिले त्यहाँ हरिणहरूको झुन्ड चरीरहेको छ ।
~
‘पृथ्वी जम्मामा नदीहरूको बाटो हो’
यति भनेर माझि डुंगाबाट उत्रियो ।
~
‘नदिको दायाँबायाँ बगर छन्’, कति भनेको ?
‘दुई बगरको बीच्चमा नदी छ’, खै भनेको ?
~
म आफूलाई अनुवाद किन गरिरह्यौं ?
तिमीले बुझ्नै पर्छ, यो जरूरी पनि छैन ।
~
उज्यालोले सोधिहाल्यो, ‘ए ! के गर्दैछस् ?’
भनिनँ ‘एउटा् छायाँ खसेछ, टिप्दै छु ।’
~
यो शहरलाई यो आकाश मन नपरेको हुँदो हो,
र त, पाइलैपिच्छे अग्ला घरहरू उभिएका छन् ।
~
मनमनै हाँस्नेहरूसँग मलाई अगाध प्रेम छ
धुलोले कहिलेसम्म जानेको पदचाप कुरोस् ?
~
गद्गगद्हरूलाई कसले काउकुती लगाइदेला?
आफू नहुनुको बोध मलाई चिमोट्दै सोध्छ !
~
जीवनभन्दा सुदूर पनि त जीवन छ,
मृत्यु कुनै चिठी हो, ठेगाना हराएको ।
~
पूर्णरूपले विश्वस्त हुने कारणहरू छैनन्,
हृदय भनिरन्छ, ‘तँसँग पनि एउटा हृदय छ ।”
~
असंख्य औँलाहरूले लेखेका छन, असंख्य कुरा
हृदय भन्छ, “मैले लेखेको !” एक सनातन झुट ।
~
सजिलोसँग सजिलो कसलाई छ ?
जीवन फूलबारीको भ्रमण पनि त होइन ।
~
‘यो शहर निकै पुरानो हो’, जात्राहरू बताउँछन्,
‘नयाँ जात्राहरूले शहरको आयू छोट्ट्याए ।’
~
नभने पनि त हुने थियो । भनेनौँ ? हत्तेरी !
मुटु रोकिन्छ, यसरी चुपचाप नजिक नआउ ।
~
खै यार, यार के हुन्छ के, हो नि यार !
यी आवाजहरू हराए, ती यारहरू हराए ।
~
सधैँजसो, सबैजसो, यसोउसो, जसोतसो
जिन्दगीको परिभाषा कसोकसो यै त हो ।
~
सुनेकी छैन होला ? नत्र आउथी, बोल्थी ऊ !
आफ्नै मुटुको कुरा सुनिन, फर्केर हेरी मलाई !
~
एउटा झिँगा थियो, अर्को लामखुट्टे थियो
एउटा रात हत्केलोमा थियो, अर्को पैतालोमा ।
~
अम्खोराको पानी रित्तियो ? आकाशमा बादल छ ।
पैतालामा नङ पलाए त हिँडिन्छ, तिमी कुरा गर्छौ !
~
एउटा छायाँ त खोजेको हुँ, भेट्दिन हाउ !
रात पनि बिरक्तिदो हो, अत्तालिँदो हो नि ।
~
जिब्रोले नाक छुन सक्छौँ ? उसले सोधेकी छ,
उसलाई थाहा छ सक्छु, मलाई थाहा छ सक्दिनँ ।
~
कति उचो छौँ ? कति गहिरो छौँ ? तब थाहा पाएँ
जब तिमि एउटा कमिलाको बाटो छेकिरहेका थियौ ।
~
यसै भनेको थिएँ, भन्नु जरूरत थिएन
‘मलाई आराम छ ? सबै ठीक छ नि ।’
~
मेरो नराम्रो बानी छ, म मान्छेहरू पढ्ने गर्छु
तिमी पुस्तक पढिरह्यौँ, मैले तिम्लाई पढिनँ ।
~
तुफान आएको थियो, तहल्का मच्चिएको थियो
मैले यति भनेको थिएँ, ‘मलाई कविता लेख्नु छैन ।’
~
फूल छन, बासना छन्, भमरा छन, पुतली छन्
तिमी छौ, म छु, ऊ छ अनि उनीहरू पनि छन् ।
~
तिमी कपिल शर्मा शो हेरेर खित्का मार्दै थियौँ
मैले तिम्रो गिँजामा अड्किएको बासी आँसु देखिहालेँ ।
~
हातमुख जोड्ने आधुनिक दैनिकले सखापै पारेछ
मलाई मेरा खेतले चिन्दैन, कविताले चिन्दैनन् ।
~
खोइ को हो कुन्नी ? आएको छैन तर आइरहन्छ
चील हो कि गिद्ध वा हो लोकतन्त्र र समृद्धि ?
~
‘संसारलाई मानवविहिन बनाउँ’ भन्ने प्रस्ताव मेरो पनि हो
तर यो मानवनिर्मित तर्क हो, मलाई आफ्नै भर छैन ।
~
एक कप चिया पिउनु थियो यार ।!कहाँ आउँ ?
छोड, तिमी डिभी भर्ने लाइनमा छौ, म पेट्रोलको ।
~
केही भएकै छैन, यहि भएको छ
मध्यरात भएको छु, घाम अस्ताएको छैन ।
~
उसले सुनेको रहेछ मेरोबारे, मैले पनि सुनेँ
म ढुङ्गा टिप्दै थिएँ, ऊ ईश्वर खोज्दै रहेछ ।
~
सायद, मलाई तिम्रो याद आएको हुनुपर्छ
सिरानी च्यापेर निदाएछु, तिमी ठानेको हुनुपर्छ ।
~
उसले बाटो सोधेको थियो, मैले बताइदिएँ
मलाई पनि बाटो नै सोध्नु थियो, ऊ गइहाल्यो ।
~
हो त, एउटी चरी थिई, अर्को चरा थियो
सोचिरहेछु, त्यो समय कति हराभरा थियो !
~
पुनरावृत्ति छ, जहिँ पनि, जहिले पनि
फेरि युद्ध, फेरि शान्ति, हरे राम, हरे राम !
~
छातिको पखेरोमा डोको अडाएर पर्खिरहेछु
तिमी आइसक्नु पर्ने हो, धारिलो मुटु लिएर ।
~
दन्त्यकथाहरूमा धमिरो लागे, बुढा दाँतहरू झरे अरे ?
ती कथाहरू कसले भन्ला, बच्चाहरू कसरी निदाउलान् ?
~
यथार्थहरू यथार्थमा नै देखिन्छन्, किन आँखा चिम्लुँ ?
तिमीलाई हिमाल देखेको छु, सागरसम्म पुगेको देखूँ ।
~
उपरोक्त कुराहरूको सक्कलबमोजिम नक्कल ठीक छ
अब हस्ताक्षर गर्नुपर्छ ? मेरो औठाँछाप फर्काइदेऊ ।
~
जिन्दगी बिरालो हो, दूध माग्छ, म्याउ.. म्याउ..
आजको दिन पनि आफैंलाई दुहेर सकियो !
~
एका-अर्कालाईलाई भन्नू थियो- छुट्नु पर्छ
के पत्तो, अँगालोमा यसरी पनि बाधिँनेछौँ ?
~
को हो ? कसले ढिकी चलाइरहेको हो, यो छातीमा ?
यो श्वास कसले निल्यो ? त्यो श्वास कसले ओकल्यो ?
~
आकाश न हो, त्यहिँ त छ
डाँडा पो पर छ, चढूलाँ नि !
~
छोड, जिन्दगीका कुरा, आफ्ना कुरा
चप्पल भेटिएको छ, खुट्टाहरू खोइ ?
~
नाक कोट्याउ, बरू सिँगान आउला
मलाई नकोट्याउ, यार म पहिरिन्छु..।
~
देखेको थिएँ तिमिलाई, छोएझैँ पनि लाग्छ
म शीत बनिरहेँ, तिमी बिहानै झुल्कियौँ ।
~
भन्थेँ, भनिरहन्थेँ- ‘तँ हुनु, तँ भइरहनु’
ऊ सागरमा हाम्फ्यालेको छ कट्टु लगाएर ।
~
एउटा कथा सुनेको थिएँ, सुन्छौ?
मान्छेहरू थिए, कथा सुन्थे अरे !
~
कविता भनौँ ? नाटक लेखौँ ? चित्र बनाउँ?
तिमी आयौँ र भनेउ, ‘छोड, चुम्बन गर न ।’
~
अनि त्यो लाटोकोसेरो कहाँ होला ?
जुनकीरीहरूले प्रश्न गरिरहेका छन् ।
~
सुन न, ए ! तिमीले आकाश देखेका छौं ?
छातीमुनिको आकाश, हृदयनेरको आकाश ?
~
आकाशमा ताराहरू छैनन्, कता हराए ?
यार.. मैले आफूलाई आकाश किन ठानेको ?
~
डाँडाहरू आकाश छुन लम्किरहेछन्
मैले पनि त आफ्नो कुर्कुचा उचाल्नु पर्छ ।
~
खासखुस सुनेँ, ‘कसैले केही भन्यो र ?’
रातले जुनकीरीलाई प्रश्न गरिरहेछ ।
~
आकाश न हो, त्यहिँ त छ
डाँडा पो पर छ, चढूलाँ नि !
~
छोड, जिन्दगीका कुरा, आफ्ना कुरा
चप्पल भेटिएको छ, खुट्टाहरू खोइ ?
~
एउटा कथा सुनेको थिएँ, सुन्छौ?
‘मान्छेहरू थिए, कथा सुन्थे अरे !’
~
सबैलाई जानुछ, सबैलाई पुग्नु छ
मसँग ठोक्किएर के पाउँछन् उनीहरू ?
~
को हो ?, कसैले सोधिरहेको हो भने
प्रश्न सोध्ने को हो ? मेरो उत्तर हुनेछ ।
~
झरिमा रुझ्ने एक थान छाताको इच्छा थियो
नाङ्गै निस्किएको दुई जोडी पैतला अझ लापता छन् ।
~
म विरुपाक्षलाई उखेल्नेछु र आफू गाडिनेछु ।
शिव खरानीमा तान्डव नाचुन्, म ताली पिट्नेछु ।
~
बालुवा तिर्खाएको छ, नदिले पानी पिएको छ
जस्तो आकाश निदाएको छ, चराहरू ब्युझिएका छन् ।
~
कविता भनौँ ? नाटक लेखौँ ? चित्र बनाउँ?
तिमी आएउ र भनेउ, ‘छोड, किस हान यार ।’
~
गन्तव्य भन्दा लामा राजमार्गहरू छन्
यात्रा यो जिन्दगीको, कति छोटो भयो ?
~
सबैलाई जानुछ, सबैलाई पुग्नु छ
मसँग ठोक्किएर के पाउँछन् उनीहरू ?
~
ताँदो सरह तानिएको छु, खिँचिएको छु
तिमी जोड गर, बल गर र चुडाउँ मलाई ।
~
एकान्तै छ, कुकुरहरू भुकेका छैनन्
हाम्रा आँखाहरूमा मध्यरात जमिसक्यो र ?
~
तिमी हिँड्ने प्राचीन गल्लीहरूमा पुग्दा सोच्ने गर्छु-
यो झ्यालैझ्यालको बस्तीले पनि तिमीलाई लखेट्दो हो !
~
सोध्न नहुने हो, मन मान्दैन, सोधूँ ?
‘तिमी कुनै रीतु हौँ, बसाइँ सरिरहने ?’
~
म तिमीलाई आकाश भन्थेँ, उचाई मान्थेँ
मेरो यहि गहिराई तिम्लाई सह्य भएन ।
~
स्याहर्नु थियो, हुर्काउनु थियो- सपनालाई
खरानी पनि डढ्छ, यो थाहा थिएन ।
~
देशमा लोकतन्त्र आयो, तपाईं भन्नुहुन्छ
बाटोहरू पर्खाल बनेको मैले देखेको छु ।
~
हरेक पटक देख्दा दुखेको छ, आत्थो..!
तिमी यति बिझाउने काँडा त थिएनौ यार !
~
एउटा हतियार छ छातीमा, खिया लागोस् सोच्छु !
तिमी एक्कासि झुल्किन्छौँ, धार लगाउछौँ र, जान्छौँ ।
~
छुट्नै लाग्दा सोध्यौ- ‘केही भन्नू छ ?’ थियो-
‘कुँदिएकी छौँ हृदयमा, आऊ देवी भएर बस’
~
को कहाँ पुग्यो ? कहाँ को पुग्यो ?
प्रश्न झै उत्तरको पनि चेहरा अलग छ ।
~
बादलहरू मिलाएर घर बनाइरहेछू,
म किन अँगेनोमा तारा खसाइरहूँ ?
~
खरेटो ल्याउँ, मिल्काइहाल्नु छ,
एउटा कसिङ्गर हृदयमा पुगेको छ ।
~
तिमी ‘अहिंसा’ भन्छौ, ‘मानव धर्म’ भन्छौ ! कहिलेसम्म ?
गीता उसैको सुनिनेछ, जसले सुदर्शन चक्र समाएको छ ।
~
दशौं हात बनाएर, दशौं हतियार भिराएर
तिमी भन्छौ, ‘आह.. ! कति सौम्य देवी हाम्री !’
~
ए, अनि उसले त भन्थ्यो- ‘विश्व साँघुरो छ !’
अँ, ऊ कविता लेख्न मन गर्छ, भन्यो होला ।
~
‘पृथ्वी जम्मामा नदीहरूको बाटो हो’
यति भनेर माझि डुंगाबाट उत्रियो ।
~
‘नदिको दायाँबायाँ बगर छन्’, कति भनेको ?
‘दुई बगरको बीच्चमा नदी छ’, खै भनेको ?
~
म आफूलाई अनुवाद किन गरिरह्यौं ?
तिमीले बुझ्नै पर्छ, यो जरूरी पनि छैन । (११७)
~
अँध्यारोले बोलाएको होला
उसको हृदय उज्यालो होला !
~
यो प्रश्न होइन, प्रतिप्रश्न होइन
कालो कति सेतो होला ?
~
मलाई आकाश कुल्चिनु छ
दुबो किन यसो भन्दो होला ?
~
सबै कमिला थाकेका छन्,
फटयांग्रो पक्कै हलुंगो होला ।
~
तिमी सोध्छौँ- ‘जिन्दगी के हो ? कहिलेसम्म हो ?’
के हुनु ? कात्रो त हो, बुनिराख, बेरिएर जाउलाँ ।
~
झरी र बाढी-पहिरो छन्, तिमी र म पनि छौँ
चर्को घाम र पुस पनि छन्, हामी कहाँ छौँ ?
~
खायौँ ? चुठ, पुछ, डकार, पेट मुसार, अब निस्क
मलाई तिम्रो थाल माझ्नुछ, तिमी क्रान्ति गर ।
~
जीवन र मृत्युबारे मेरो बुझाइ ? के भनौं ?
जिउँदो मान्छेसँग जिउँदो हुनुको भोगाई छ !
~
यो उसको भोगाई हो, यो उसको बुझाइ हो !
~
एउटा कुरा सोधु ? तिमीले आकाश देखेका छौं ?
छातीमुनिको आकाश, हृदयनेरको आकाश ?
~
आकाशमा ताराहरू छैनन्, कता हराए ?
यार.. मैले आफूलाई आकाश किन ठानेको ?
~
यो आकाशको उचाई कति छ ?
जति छ…मेरो गर्धनको झुकाव !
~
मान्छे को हो ? यो मेरो प्रश्न हो
उत्तर नभन, तिमि भएको हेर्न मन छ !
~
दिनभर जुत्ताभित्र लुकेका खुट्टाहरू बल्ल तन्कीएका छन् !
यसकारण मध्यरातमा आकाश अलि फराकिलो लाग्छ
~
मान्छेको हत्केलामा, मुठ्ठीमा रहँदा; संसार यति खुम्चियो
सोच्छु, डराउँछु; पैतालाले पनि मुठ्ठी कस्न जान्दो हो त?
~
जब पेटले भोक र आँखाले भकारी सम्झन्छ
मुटु निडर हुँदै भन्छ,अब जिम्मेवारी मेरो भयो !
~
अँ, झरी परिरहेछ, अहिल्यै रहला र ?
यो प्रश्न प्रेमिल छ, उत्तर किन चाहियो ?
~
मान्छेले भन्यो- बम बनाएको छु तलाई मार्न
छातिनेर उक्लदै भुसुनाले भन्यो – पड्काइहाल् ।
~
उसले भन्यो- मान्छेमा दया रहेन, माया रहेन
ठिक हो, कुरुक्षेत्रमा लामखुट्टेहरू देखिदैनन् !
~
सुनेँ, मलाई मरुभूमि भनी समुन्द्रसँग सङ्गत बढाएछौं
फेरि पनि मरुभूमि भेट्ने यात्रमा रहेछौँ, खुसी लाग्यो ।
~
‘गमलमा फूल सार्ने मै हुँ’, तिम्ले बतायौँ
मैले भमराबारे सोधेकै थिइन, चूप रहेँ ।
~
चिया गिलासमा झिंगा छिरेको थियो, निस्किएन, मर्यो
बुझेन उसले, ऊ अझै पनि झिंगा पन्छाएर चिया पिइरहेछ ।
~
क्या बात वाला कुरा गर्नुभयो यार, क्या बात
बात पो के थियो अरे? खैर छाड्नुस, क्या बात ।
~
‘एउटा कुरा भनीहाल्छु, भनौँ?’, म सोधिरहेको हुन्छु
‘सोध्’ भन्दिन, आफ्नो प्रश्नमा आफैँ अनुत्तरित छु, थाहा छ ।
~
‘शहरमा जमिन भेटिएन, मोलभाउ पनि पाएनौँ’- भन्थ्यौं
आकाशमा बादलहरू देखिएका छन, ठेकेदारी सुरु गर ।
~
तिमीलाई पो लाग्दो हो, काग आयो, करायो..,कति मिठो
मेरो घरको अगेँनो रित्तो छ, भकारी चिसो छ, तितो लाग्छ ।
~
सोधेँ’थे- दुबोहरू रुख झैँ ठडिए भने के होला?
शालिक र मूर्तिहरूको अनुहार हेर्नलायक छ ।
~
बादल गर्जेको आवाजदेखि डर लाग्छ भन्छौ,
तिमीले सायद भोको पेटको आवाज सुनेकी छैनौ ।
~
बाँसघारीमा भगेँरा पनि कराउन छाडेँ,
मेरो सुनसान गाउँबारे अरू के बताऊ ?
~
‘जबजब पैताला आकाशतर्फ फर्काउछु, काउकुती लाग्छ’
महाराज ! हजुर पनि हुटीट्याउँ हुनुभएछ, बधाइ हो ।
~
“यो देशमा यहीँ सरकार आवश्यक छ, सब ठिक छ”
ए ! उसलाई रक्सी लागेछ, सितान अलि बढाइदे ।
~
आलोचना गर्यो अरे, गालीबेइज्जती गर्यो अरे ?
ठिक छ त, दुईतीन पेगपछि म पनि क्रान्तिकारी हुन्छु ।
~
कस्तो छ तपाईंलाई ? आराम हुनुहुन्छ ?
जवाफ चाहिन्न, यो चिया पर्खने बाहना हो ।
~
हो, ऊ सोखीन विद्रोही हो, झटपट रिसाउँछ
अस्ति ऐना हेर्दै भन्दै थियो- मुला, आत्महत्या गर्दे ।
~
एउटा बेस्वादिलो स्वाद, हृदयले रुचाइरहने
तिम्रो बारे कविता लेख्ने, र गुनगुनाइरहने !
~
बाचुन्जेल मारिरहने, मारेपछि चिता चुमिरहने
दुनियाँ एक मसान हो, आफ्नो रीत चलाइरहने !
~
कोइलीले ‘कौ हौँ’ भनिरहेकै छ, के भनूँ ?
म ‘मैं हूँ’ भन्थे, हो कि होइन पो? मन डराइरहने !
~
तिमिलाई भेटेर खुसी लाग्यो यार, राम्रो गरिरहेछौं
चङ्गा उडाएको हो भनिरहने, चट्याङ समाइरहने !
~
जिन्दगी खुब संस्कारी छ, यसको चालचलन हेर्नुहोस्
हजारौं पाइला हिडाउँछ, दुई पैताला अडाउनको लागि ।
~
यसकारण ‘अकस्मात’, ‘एक्कासी’ सम्झिन लायक भए
त्यतिखेर यसो गर्ने उसो गर्ने कुनै पूर्वतयारी थिएन ।
~
म कस्तो देखिएको छु ? म कस्तो देखिउँ ?
यत्तीको निम्ती हो भित्तामा ऐना झुन्डाइएको ।
~
मन तलाउ छ, स्वभावतः मस्तिष्क ढुङ्गा बनेको छ,
अब यहिनेरबाट शुरु हुन्छ तलाउमा ढुङ्गा हान्ने क्रम ।
~
प्रश्नमै भेटिएको उत्तर एउटा यो पनि हो
जो मसँग थियो, मनेरै थियो, को थियो ?
~
मेरो छानो प्वाल परेको छ, आकाश देखिन्छ
गौथलीले गुँड भत्काएको बदला यसरी लियो ।
~
कारण छ – अगेनोमा चिसो माटो सेकाउनुको पनि
गाउँमा खेतला भेटिदा, बेसीमा पहिरो आएको हुन्थ्यो ।
~
ऐनामा लेखिएको हुने रहेछ भाग्यरेखा
मैले अहिलेसम्म हात हेराएर गल्ती गरे ।
~
हातहरू चलिरहेका छन्, चल्नुपर्छ अझै
माटो समाएको मुठ्ठीमा बीउ उम्रिएरै छोड्छ ।
~
बादलको छायाँ पर्दा मात्रै पनि बगर खुसी हुन्छ
अलिकति नियास्रो लागेर तिमीलाई सम्झिएको हूँ ।
~
तिमीले मलाई छेउ लगाएर ठिकै गर्यौँ
अहिले म आफ्नै मुटुनेर उभिएको छु ।
~
जुनकीरी बन्ने प्रयत्न के गरेथेँ ?
रातमा पनि मैले छायाँ भेट्टाए ।
~
तिमी गएपछि मैले आफूलाई भेट्टाए
ठिकै छ, पहिरो गएपछी पर्खाल लगाएँ ।
~
विकल्प बोकेर हिड्न थाल्नुभयो,
बधाई छ, अब बल्ल तपाईं यो देशको नागरिक बन्नुभयो ।
~
निधार छ ? भनेपछी अक्षता टाँसे भै’गो नि
के यार, ब्यानब्यानै राशीफल पढेर बस्नुहुन्छ ?
~
उड, हिँड, दगुर या निदाउ, म दोबाटो हुँ ।
तिमी चाहे पर्ख या जाउ, म दोबाटो हुँ ।
~
फटयांग्रो होइन, भ्यागुतो होइन, सर्प होइन
तिम्रो खाद्यचक्र, खाउ या नखाउ, म दोबाटो हुँ ।
~
कहाँसम्म हो ? कहिले फर्किँन्छौ ? भनेनौ,
तिमी बाडुल्की हौं, सताउ, म दोबाटो हुँ ।
~
कान थुन, मुख थुन, नाक समाउ, हुन्छ ।
तर, हृदय उघार, आँखा उजिलाउ, म दोबाटो हूँ ।
~
एक सन्यासी ढक्ढक्याइरहेछ पराइ ढोका
एक आफ्ना जो हराइगए, बटुवा जसरी
~
यसो गर्नुहोस् यार, मसँग एउटा उपाय छ
तपाई राम्रो मानिस हो, घरको ऐना फुटाइदिनुस् !
~
बाँदर हाम्रा पुर्खा हुन् भन्ने बताएदेखिन
डार्बिन ! तिम्रा मान्छेहरूले मान्छे हुनै छाडे !
~
तिमी भेटियौं, अँगाल्यौं, यार गलत भयो
अब म यै छाती बोकेर मलाइ प्रेम गर्न सक्दिन !
~
यो विज्ञानको कुरा हो, जो हजुरआमा सुनाउनुहुन्छ
‘तिमारको चिल्लो मोबाइल, हाम्रो फुस्रो हातले सर्दैन !’
~
आजसम्म घर परिवार मन परेन मलाई
अब आफ्नाहरूको मृत्युको खबर बाक्लिएको छ !
~
जबजब म तिम्रा-मेरा पुरानो तस्बिर हेर्छु,
आह यार ! कति नयाँनौला भइसकेछौँ हामी ?
~
उसको जीवनको प्रारम्भ इर्ष्या लाग्ने नै थियो
कविता के लेख्यो, देख्छु- हालत खराब छ !
~
देखिहाल्नुभयो, जीवन त्यति सहज कहाँ छ ?
तर भट्टी ऊ.. नजिकै छ, त्यति गाह्रो पनि छैन !
~
हेर्नुहोस त, यी ताराहरू चम्किरहेका छन्,
तपाइँ हास्नुस् यार, नत्र ती अझ खुसि हुनेछन् !
~
यता बसेर त्यता हेरे, त्यता कोहि थिएन
त्यता पुगेर यता हेरे, यता पनि कोहि थिएन !!
~
उसले मलाई चिनेन, मैले पनि उसलाई चिनिनँ
एकअर्कालाई चिन्दाचिन्दै हामी अपरिचित भयौं !!
~
हृदय टुटेको छ अरे, किन सुनाएको त ?
मलाई खुसि लाग्यो, तिम्रो पनि उहि हालत रहेछ !
~
के भन्नुभयो ? अग्लो हुनुको दम्भ गर्छ अरे सगरमाथा ?
जानुस् चढ्नुहोस्, पैताला मुनि पार्नुस, कुल्चीदिए पुग्छ।
~
यहाँ रहरले को बाचेको छ र ?
तर पनि कोइ मर्ने रहर गर्दैन् !
~
सानघाट, चिहानघर दुखि हुन् नै किन ?
आफ्नो मृत्यु बिर्सेर यति खुशी छन् मान्छे यहाँ !
~
नदीले सागर भेट्टायो त के भयो ?
बगर पनि सँगसँगै सागर पुगेकै छ !
~
तपाइँ पनि त मेरो बारे बताउन सक्नुहुन्छ,
म आफ्नो अनुहार किन ऐनामा हेरुँ ?
~
धेरै खुसी थे हिजो, यसै उसै अनायसै
कारण यत्ती हो म आज दुखी हुनुको !
~
निभाउनै भए पनि त सल्काइदिन्छन्
आह ! यै त मज्जा छ टुकि हुनुको !
~
कोहि हिडेन भने पिच सडकमा त घाँस उम्रन्छ
यो त अझ मन हो, बोलचाल शुरु गरौं यार !!
~
ती पैतालाले सक्नेछैनन् कुल्चिन मेरो शिर
हो मालिक ! हुन त म तपाईंकै छायाँ हुँ !
~
म यसरी बाचेँ कि, मेरो आज हिजो जस्तै छ
यहीँ त हो मेरो हालखबर, अरु के बताऊ ?
~
हाँसिरहेको थिएँ, उसले सोधिहाल्यो-‘दु:खी छस् ?’
हो त, समुन्द्र आसपास नै मरुभूमि भेटिने गर्दछ ।
~
प्रियसिको ओठमा मेरो कविताले आत्महत्या गर्यो
कविले यसै भनेर महफिल सम्बोधन गरेको छ !!
~
वर्षौपश्चात् मेरि आमाको ओठमा मुस्कान भेटेँ
यस्तो लाग्यो, संसारमा सबैभन्दा सुन्दर फुल फुल्यो !!
~
बडो मिहिनेतले कमाएको हुँ मैले
मिहेनतै नगरी दुस्मन, रुपैयाँ भयो !
~
बाउले आफ्नो छोरोलाई निरक्षर बनाएन
यसैले इन्जिनियर बनाएन, डक्टर बनाएन
~
पक्कै त्यो सुचिकार डराउँछ मृत्युदेखि
नत्र किन उसले स्विटर बनायो, मफलर बनाएन
~
किला ठोकिएको थियो, अब निक्लिएको छ
यो समय हो, जो मसँगै फर्किएको छ !
~
मानेँ, गड्यौलाहरू आकाशबाटै झरेका हुन्
भुँईको भ्यागुतोले आफ्नो भोक सम्झिएको छ !
~
मरेको भनेछन् ? भनुन्, यो हाम्रो आदत हो
हाच्छ्यु गर्दाखेर पनि एउटा पाना पल्टिएको छ !
~
हिँडिसक्यो अरे ? ठिक छ, कहिँ पुगेर फर्कियोस्
यो बाटोले पनि धेरै पैतालाहरू कुल्चिएको छ !
~
ताल्चा ठोकिएको ढोका बाहिर चप्पल राखिएको छ
हैरान छु, भित्र को छ ? बाहिर को पर्खिएको छ ?
~
कुरुप हुनु पनि एक प्रकारले स्वतन्त्र हुनु रहेछ
जस्तो कि कागलाई कहिल्यै पिँजडामा राखिएन !!
~
बच्चा देखि बुढासम्म सबै डुब्ने रहेछन्
को बच्यो र म जोगिनु प्रेमको कहानीमा ?
~
आएकी रहिछौ, बतायौ ! दु:ख लाग्यो
बिर्सिँदै थिएँ, सम्झायौ ! दु:ख लाग्यो ।
~
यसप्रकार गतिवान छ समयको प्रवाह
बग्दा बग्दै डुबीजान्छ जिन्दगीको नाउँ ।
~
‘शहरमा जमिन भेटिएन, मोलभाउ पनि पाएनौँ’- भन्थ्यौं
आकाशमा बादलहरू देखिएका छन, ठेकेदारी सुरु गर । (२१८)
~