एउटा जिउँदो इतिहास, जसलाई राष्ट्रले चिनेन…
गोलो अनुहार, हँसिलो मिजास अनि आकर्षक ‘वाक शैली’ ९० वर्षीय वरिष्ठ नृत्यगुरु भैरवबहादुर थापाको विशेषता हो । नेपाली लोक नृत्यलाई संस्थागत गरेर विधाको रूपमा विकसित गर्न उनको महत्त्वपूर्ण योगदान रहेको छ । नेपाली लोकनृत्यका प्रवर्तक थापा लोक संस्कृतिका अन्यान्य पक्षमा समर्पित साधक, स्रष्टा, शिल्पी एवं अध्येता समेत हुन् ।
९० वर्ष पुगेका उनी अझै फुर्तिला देखिन्छन् । नाच्न छोडेको धेरै भइसकेतापनि उनले नृत्य विधालाई भने छोडेका छैनन् । आइग्लास लगाएर भए पनि उनी लेखपढ गरिरहेका छन् । नृत्य विधामा दीर्घकालीन योगदान दिन तत्पर छन् । नाचलाई उनी संस्कृति र सभ्यताको विकसित रूप मान्दछन् ।
थापा सैनिकमा जागिरे (२००७ सालमा) हुन् भारततर्फ लागेका थिए तर उनी आफ्नो जागिरबीचमै छाडेर पुनः देश फर्किए ।
पहिलो नृत्यको अनुभव
थापा १० कक्षामा पढ्दै गर्दा भारततर्फ हानिए, त्यतिबेला मिनपचासको छुट्टी चल्दै थियो । पहलवानी गर्ने साथसाथै तबेला पनि बजाउने आफ्ना ठूला दाइको साथ् लागेर उनी बनारस पुगेका थिए । समयक्रममा, पहलमानहरूको अखडा भएको गोरखपुरमा दाजुको साथ लागेर उनी पनि पुगे । सोही यात्राको क्रममा गोरखपुर रेल्वे स्टेशनमा उनको भेट एक गोर्खाली हवल्दार (हरिकान्त राई) सँग भेट भयो । उनै राईले थापाका दाजुसामू थापालाई ‘क्लर्क’ बनाउने प्रस्ताव राखे । १७ वर्षको उमेरमै उमेर मिलाएर थापा आर्मीमा भर्ती भए । आर्मीमा भर्ना भएपछि कर्मथलो (सिंगापुर) जान जहाज चढ्नुपर्थ्यो । थापा उनै राईको पछि लागेर गएका थिए । थापा, राई र राइका दाजुका छोरीहरू पनि जहाजमा थिए । जहाजको लामो यात्रामा उनीहरूले सांगीतिक माहोल जमाए । थापा गीत गाउँदै जान थाले भने राईका भतिजीहरू नाच्न थाले ।
थापा स्कुलपढ्दादेखि नै डम्फू बजाउने गर्दथे । उनले जहाजमा पनि डम्फू बजाए । डम्फू मात्रै बजाएनन्, नाच्ने-गाउने सबै गरे । “त्यही नै हो मैले पहिलोपटक नाचेको । जहाजको एकनासता चिर्नको लागि नृत्य उपयुक्त विकल्प भएर आइदियो”, थापा भन्छन्, “मैले तिनै भतिजीहरूबाट नाच्ने प्रेरणा पाएँ । उनीहरूलाई सदैव सम्झिरहनेछु ।”
जहाजमा विभिन्न खेलहरू हुने गर्दथे । समुन्द्रको एकनास शान्तपन र वरपर सबैतिर एकसरो पानीले निस्सासिएकाहरू त्यसबाट फुत्किभाग्न ब्याडमिन्टन लगायतका खेलहरू खेल्ने गर्दथे, ति खेलहरूको नाम बताउन थापा सक्दैनन् । “नाम त केके जति पो थियो खै ? तर मलाई ती खेलहरूले तानेन । म नाच्ने-गाउनेमै रमाइरहे,” थापा भन्छन् । यसरी नाच्दै गाउँदै तीन साताको यात्रा टुंगियो ।
त्यसपश्चात उनी आफ्नो काममा फर्किए । एकपटक, तालिमको समयमा राइफल समाउँदा चञ्चले भएको भनेर नाइकेको गाली पनि खाएछन् । मलायामा भएको ब्रिटिश गोर्खा आर्मीको फर्स्ट सिक्स बटालयनमा नेपाली टार्जन, नेपाली बाबु र डान्सर तीन उपनामले चर्चित राइफलम्यान अफिस क्लर्क थापा ६ महीने घरछुट्टीको बिदा नेपाल आएका थिए । “२०१० सालको असार पहिलो हप्ता नेपाल आएको हुँ,” उनी भन्छन् ।
त्यसपछि उनी नेपालमै बसे,
संयोगवश, काठमाडौँ पुगेको केहि दिनपश्चात् (८ गते) नै नेपाल नाटक संघका संस्थापक नाटककार भीमनिधि तिवारीसँग उनको भेट हुन् पुग्यो । तिवारीले २००६ सालमा नेपाल नाटक संघ खोलेका थिए ।
“असार १५ गते दहीचिउरा खाने दिन कमिटि मेम्बरहरूलाई पनि बोलाउछु, त्यही नै तपाईंंलाई कलाकार घोषित गर्छौँ’ तिवारीले उनको कलाकारिताको जाँचकी गरिसकेपश्चात भने । आज याक एण्ड यति रहेको लाल दरबारमा त्यतिबेला नाटक संघको कार्यालय रहेको थियो । “लाल दरबारसँगैको चउरमा उहाँले मेरो लागि कार्यक्रम गराउनुभयो ।
दहीचिउरा र जुल्फी (पेड-लड्डु) सबैको व्यवस्था गरिएको रहेछ । साहित्यकार सुन्दरप्रसाद शाह ‘दुखी’, प्राध्यापक त्रैलोक्यनाथ उप्रेती लगायत दिग्गज व्यक्तिहरूको उपस्थिति थियो,” थापा भन्छन् ।
“म कलाकार घोषणा भएको ७२ दिनपछि अर्थात् ३ असोज २०१० का दिन अखिल नेपाल किसान संघको वार्षिक सम्मेलनको अन्तिम दिन भुरुङखेलको चउरस्थित डबली मञ्चमा अकस्मात् आफ्नो एकल भाव लोक सांस्कृतिक नृत्य एक घण्टासम्म प्रस्तुत गरे,” थापा भन्छन् । यस दिनपश्चात उनी समाजको आँखामा पनि ‘कलाकार’को रूपमा घोषित हुन् पुगे ।
भुरुङखेलको त्यो नृत्य..
यस दिन थापाले भुरुङखेलको चउरस्थित डबली मञ्चमा आफ्नो एकल भाव लोक सांस्कृतिक नृत्य एक घण्टासम्म प्रस्तुत गरे । थापा भन्छन्, “कमरेड पुष्पलाल श्रेष्ठको नेतृत्वमा रहेको नेपाल किसान संघको वार्षिक सम्मेलनको अन्तिम दिन रहेछ । १५०० सय जति मानिस जम्मा भएका थिए । साहित्यकार कृष्णचन्द्र प्रधान सिंह एनाउन्सर रहेछन् । प्रधानले कर गरेपश्चात नाच्न के थालेको थिए, ए तालिका तालि तालीका ताली पो पाएँ । मलाई छोड्नै मन गरेनन् । (लामो हाँसो) ।”
“तपाईंंले देखाउनुभएको नाचको नाम के हो ?,’ नृत्य सकिएपश्चात प्रधानले थापालाई प्रश्न गरे ।
“यो मेरै आफ्नै भैरव कल्चर डान्स हो । भैरव सांस्कृतिक लोकनृत्य,” थापाको जवाफ थियो ।
“तपाईंंले कहाँदेखि यस्तो नृत्य सिक्नुभयो ?”, प्रधान ।
“हेर्नुस्, मैले सिकेको त कोहीबाट पनि होइन । मैले अरूअरूले गरेको देखेर नै अनुकुरण गर्दैगर्दै मैले आफैँलाई कम्पोज गरेको हुँ,” थापा ।
यसपश्चात, मलाया डान्सर भनेर ‘भैरवबहादुर थापाको लोक सांस्कृतिक प्याखँः’ उपत्यकाबासीले नै हेर्न पाउनुपर्छु भनी माग गरिएको एक हात लामो लिखित नेपाली कागज मञ्चका उद्घोषक प्रधानले पढे । उक्त कागज पढ्दै प्रधानले भने, “जनताको माग भए बमोजिम भोलिदेखि ६ दिनसम्म मलाया डान्सरको लोक सांस्कृतिक प्याखँः हुने भएको छ ।”
“दिउँसोको ४ बजे उहाँ यहाँ आइपुग्नुहुन्छ,” थापाको स्वीकृतिमा प्रधानले अगाडि बोले ।
प्रधानको घोषणाबमोजिम नै ६ दिनसम्म मलाया डान्सरको लोक सांस्कृतिक प्याखँ चल्यो । भुरुङखेलको चउरमा बास बस्ने गरी दाल-चामल, गुन्टा बोकेर आएका जनसमुहको भीड लाग्यो । सँगै, मलाया डान्सरको लोक प्याखँः सिक्ने भन्दै आउने जेबी स्कुल र दरबार स्कुलका विद्यार्थीहरूको झुण्ड पनि उस्तै थियो । अझ, आफ्ना बच्चाहरूलाई लोक प्याखँः जसरी भए पनि सिकाइदिनुहोस् भन्दै आउने अभिभावकहरूको समूह पनि ठुलै थियो ।
“४ बजेदेखि नै मानिसहरू आए पनि ६ बजेदेखि कार्यक्रम सुरु हुन्थ्यो । २ घन्टा जति कार्यकम हुन्थ्यो । घर (कमलपोखरी) फर्किदा कहिले साँढे आठ त कहिले नौ बज्थ्यो ।’, थापा भन्छन्, ‘त्यतिबेला काठमाडौँमा गाडी-रिक्सा केही थिएन ।’
“जीवनमा पहिलो पटक आफ्नो नृत्य कलाको प्रशंसकको नयाँ माहोल बढ्दै गएको देख्दा प्रत्येक दिन भुरुङखेलको डबलीमा हर्षले म फुर्तीले नाचेको पनि छु । साथै ‘स्कूलमा नृत्य सिक्ने व्यवस्था मिलाउनुभएमा म आएर सिकाइदिन्छु’ भनेर भन्दै पनि छु,” थापा भन्छन् ।
तर, स्थिति सोही रहीदिएन ।
‘गाईजात्रे नाच सिकाउन दरबार स्कूल खोलेको हैन, प्रजातन्त्र आयो भन्दैमा भाँडभैलो नाच गर्न पाइँदैन’ भन्दै शिक्षकहरूले विद्यार्थीहरूलाई हप्काई-दप्काई गरेछन् । थापा भन्छन्, “विद्यार्थी आएर आँसु पुछ्दै ‘अब के गर्ने भैरव सर ?’ भन्दै प्रश्न गर्न थाले । मलाई के भनूँ-भनूँ भयो ।”
काठमाडौँमा कसाइ, पोडे आदिले यस कामको जिम्मा लिएका थिए भने तराइतर्फ पानी नचल्ने अछुत जातिहरू जस्तैः डुम, चमार, पहरिया, तेली आदिले नाच्ने गाउने गरेर पेट पालिरहेका थिए । बाहुनक्षेत्रीले नाचगान गरेमा उसको जातच्यूत हुने सामाजिक व्यवस्था थियो ।
“गाईजात्राको दिन नेपालमा लोग्नेमान्छे मारुनी भएर नाच्ने चलन थियो, त्यो नाच देखियो भनेचाहिँ साइत मानिन्थ्यो”, उनी भन्छन् । त्यतिबेला जातविशेषले आ-आफ्नो आँगन पर्वहरूमा नाच्ने गर्दथे तर अर्काको आँगनमा गएर नाच्न पाइँदैन थियो । त्यसो गरेको खण्डमा त्यो ‘पेशागत’ ठहर्थ्यो र जातिच्यूत गरिन्थ्यो ।
तिनै दिनहरूमा तीन महिना स्काउटको तालिम पाएका ज्यापू भनेर चिनिने एक सज्जनसँग थापाको भेट भयो । उनले लोक सांस्कृतिक नृत्यलाई यहाँ गाईजात्रे प्याखँः भनिने र त्यस्ता प्याखँःहरू विना चाडपर्व जथाभाबी नाचिने चलन नभएको बताए ।
पुरानो रीतिरिवाजको डबली मञ्चमा पुरुषको भेषमा आफूले नाच्दा प्रत्येक दिन हजारौँ-हजार मानिसहरू विना विरोध हेर्न झुम्मिरहनुलाई थापा ‘रूढिवादी सोचमा नै अचानक परिवर्तन’ देखिएको बताउँछन् । पुष्पलालको प्रभावले होला ६ दिन सम्म कसैले विरोध गर्न सकेनन् तर समाजले थापाको प्रसिद्धिमाथि निरन्तर कुर्दृष्टि भने राखिरहेकै थियो ।
थापा समयको बडो असजिलो घुम्तीमा थिए । एकातर्फ उनको नृत्यले मानिस लोभिइरहेका थिए भने अर्कोतर्फ केटामान्छेले गाईजात्राको दिन मात्रै नाच्न पाउने सामाजिक व्यवस्था थियो । तात्कालीन सामाजिक व्यवस्थाले पुर्ख्यौली पर्वको सन्दर्भमा पारेर नारीको भेषमा नै मारुनी भएरै पुरुषले नाच्नपर्ने थिति बसालेको थियो । त्यतिबेला लोग्ने मानिसको नाच देखियो भने बिरालोले बाटो काटे झैैं अशुभ मानिन्थ्यो । अझ, उनीसँग नाच सिक्न आउने विद्यार्थीहरूको बिलौना पनि सँगसँगै थियो ।
यस असहज स्थितिमा तीन महिना स्काउटको तालिम पाएका ज्यापूले थापालाई एउटा उपाय बताए । उपायअनुरूप, विद्यार्थीहरूको इच्छा पुर्याउन स्काउटको ट्रेनिङ गराउने भनेर भुरुङखेलको चउरमा आर्मी ड्रिलको ट्रेनिङ सँगसँगै नृत्यको पनि तालिम गराउने । यसो गर्दा दुईवटा फाइदा भयो । एक विद्यार्थी खुसी भए । दुई स्काउट सँगसँगै परिचालन भएको सङ्गीत र नृत्यलाई स्काउटकै प्रचलन भएको अङ्ग ठानिने भयो । यसप्रकार, त्यसबेला गाईजात्रे भनिने नाचलाई मानिसले स्काउटको नाममा स्वीकारे । पछि पछि स्काउटमा साँस्कृतिक कार्यक्रम गर्ने चलन नै बस्न पुग्यो ।
राजनीतिज्ञहरूको भाषण र मलाय डान्सरको तालमेल
नृत्य सिक्न आउने प्रायः विद्यार्थीहरूको खुट्टामा जुत्ता थिएन । ‘दरबार स्कुल पढ्ने विद्यार्थीहरूको खुट्टामात्रै जुत्ता थियो अरू कि त नांगै पैताला थिए या चप्पलमा थिए । कोही जामामा थिए, कोही लवेदा थिए । यस्तोमा स्काउट ट्रेनिङको स्वाद आउने भएन ,’ थापा बताउँछन् । जुद्ध पब्लिक स्कूल, नन्द स्कूलका ६०-६५ जना विद्यार्थीहरू त्यतिबेला थापासँग नृत्य सिक्न आएका थिए ।
“चार जना असमर्थ विद्यार्थी रुन थालेपछि दुई जनाको पोशाक खर्च ज्यापूजीले व्यहोर्ने वचन दिनुभयो । अर्को दुई जनाको मैले व्यहोर्ने गरी इन्द्रचोकको दर्जीलाई सिलाउने अर्डर गरियो ।” थापा ती दिनहरूलाई सम्झदै नोस्टाल्जिक हुन्छन् ।
“फेरि दर्जीले कमिज सिलाउदो रहेछ तर पाइन्ट सिलाउन जान्दो रहेनछ । पाइन्टको नमूना पनि मैले नै लगेर दिए । टाईको पनि नमूना दिए । यसपछि उसले सबै विद्यार्थीहरूको नाप लियो ।” थापा अगाडि भन्छन्, “कसरी सिउने रहेछ भने थाहा पाउनका लागि दर्जीले पाइन्टको नक्कल गर्नका लागि मेरो एउटा पाइन्ट उधार्यो । यसरी दुई हप्तामा लुगा तयार भयो ।”
थापाका अनुसार त्यसअगाडि भारत (पटना, कलकत्ता)को सिलाइकटाइमार्फत केही व्यक्तिहरूले पाइन्ट लगाएर आएको भए अलग कुरा भयो तर अरूले लगाउँदैन थिए । ‘पुष्पलाल पनि लवेदा सुरुवालमै थिए, अरूलाई पनि मैले लवेदा सुरुवालमै देखेको छु । पाइन्ट लगाउने म एउटा थिएँ,’ थापा भन्छन् । टुँडिखेलमा सबै लवेदा सुरुवाल या धोती-कुर्तामा हुँदा थापा भने पाइन्टमा हुने गर्दथे । “पाइन्ट लगाएको भएर कोही मलाई दिलिप कुँवर भन्थे, कोही राज कपुर भन्थे,’ थापा ती दिनहरू सम्झन्छन् । त्रिचन्द्र कलेजमा २०१२ सालमा सांस्कृतिक कार्यक्रम सुरुवात गर्ने व्यक्ति पनि थापा नै हुन् ।
पोशाक तयार भएपछि २२ असोज २०१० का दिनदेखि २३ मिनेट आर्मी ड्रिल, २३ मिनेट नृत्य, फेरि २३ मिनेट आर्मी ड्रिल अनि २३ मिनेट नृत्यको मिश्रित तालिम शुभारम्भ भयो । यसरी काठमाडौँको भुरुङखेल चउरमा पहिलो पटक विदेशी ड्रम प्रयोग नगरेर केवल मगखीं (मगर बाजा) को तालमा स्काउट सँगसँगै नृत्यको तालिम सुरु भयो । हेर्न आउने बालबालिका, युवायुवती र बुढाबुढीको संख्या पनि दिनानुदिन बढ्दै गयो ।
यसपश्चात उनको नामले चर्चा कमाउँदै गयो । हुँदाहुँदा यति हुन् पुग्यो कि राजनीतिज्ञ विश्वेश्वरप्रसाद कोइराला, कृष्णप्रसाद भट्टराई, ऋषिकेश शाह, कामरेड पुष्पलाल श्रेष्ठ, कामरेड पीएन राणा, कामरेड निर्मल लामा, कामरेड तुलसीलाल अमात्य लगायत नेताका भाषण कार्यक्रममा पनि सर्वप्रथम मलाया डान्सरको नामले (भैरवबहादुर थापा)को लोक सांस्कृतिक प्याखँः प्रस्तुत गर्नुपर्ने एक नियम जस्तै हुन पुग्यो । उनको नृत्य मानिसहरू भेला गर्ने एउटा उम्दा तरिका बन्न पुग्यो ।
“कुनै बेला राजनीतिक नेताले राज्य व्यवस्था विरुद्ध भाषण गरेको अवस्थामा अचानक पुलिसले झम्टिन खोज्दा मञ्चबाट भागेका नेता सँगसँगै आफूलाई पनि गल्ली-गल्ली लुकेर भाग्नुपरेको भोगाई समेत खूब सहनुपर्थ्यो मैले,” थापा भन्छन् ।
त्यसपछिका प्रायःजसो दिनहरूमामा राजनीतिक मञ्च, धार्मिक मञ्च र साहित्यिक मञ्चमा थापा आफ्नो नृत्य प्रस्तुत गर्ने गर्दथे । तर, यति व्यवस्तताका बाबजुद पनि उनले साँझपख भुरुङखेलको स्काउट तालिममा पुग्न भने कहिल्यै छुटाएनन् किनकि उनलाई नेपालको लोकनृत्यको भविष्य पर्खीरहेको थियो । विद्यार्थीहरू थापालाई कुरिबसिरहेका हुन्थे ।
दुई लाख रुपैयाँँ मासिक भत्ता गुमाएर भैरव दलको अध्यक्ष
यता भैरवको व्यस्तता बढ्दै थियो भने उता, उनको छ महिने बिदा सकिन लाग्दै थियो । त्यतिबेला उनको तलब दुई लाख हाराहारी थियो, जबकी तत्कालीन मन्त्रीहरू नेपालमा १२,००० रुपैयाँँ मासिक भत्ता थियो ।
विद्यार्थीहरू कुनै पनि हालतमा थापालाई सिंगापुर पठाउन चाहँदैन थिए । उनीहरू थापालाई रोक्न चाहन्थे तर कसरी ?
यसपछाडि, दृश्यमा नाट्यसम्राट बालकृष्ण समको इन्ट्री हुन्छ । सम थापाको बाटो छेक्न आइपुगे । नाच्दा र अरूलाई नचाउँदै जाँदा भुरुङखेलमा थापाको समसँग परिचय भइसकेको थियो । दरबार पनि थापाको नाम र काम दुवै जान्दथ्यो । यसैले त थापा आज पनि भन्छन्, “महेन्द्र होइदिएको भए मलाई केही हेर्थे होला, मेरो कलाकौशलता उनले नजिकबाट चिनेका थिएँ ।”
थापा अगाडि भन्छन्, “मबाट चार महिना स्काउट र नृत्यको तालिम लिएका विद्यार्थी मलाई बालसखा दलको अध्यक्ष पदमा राख्नका लागि सल्लाह लिन नाटककार बालकृष्ण समको निवासमा पुगेछन् । त्यतिबेला समको नाटक अमरसिंह लाग्ने भएको थियो । समले त्यतिबेला विशेष नृत्यको रूपमा थापाको नृत्यलाई देखाउने सुर गरे । नाटकको दृश्य समाप्त भएपछि पर्दा लाग्छ र त्यही पर्दा अगाडि मात्र नृत्य देखाइने चलन थियो त्यतिबेलासम्म ।”
समले भनेछन्, “लोक सांस्कृतिक नृत्यको प्रचारले गर्दा सांस्कृतिक कार्यक्रम भनेर छुट्टै नृत्य मात्र देखाउने चलन ल्याउनुभयो भैरवजीले । त्यसकारण भैरवजीकै नामबाट भैरव नृत्य दल संस्था किन नखोल्ने रु यो नाम नृत्य विधाका लागि उपयुक्त पनि हुन्छ । एक त भैरवजीको नृत्य सबैले मन पराएको बेला कसैबाट विरोध आउन सम्भव पनि छैन ।”
यसपछि थापाको सिंगापुर यात्रा टुंगियो । १० फागुन २०१० का दिन उनी ‘भैरव नृत्य दल’ को अध्यक्ष बन्न पुगे ।
“भैरव नृत्य दलको स्थापना भएपछि ब्रिटिश गोर्खा आर्मीको सम्झना हुँदाहुँदै पनि माया मार्नुपर्यो मैले । भविष्यमा सुविधास्वरूप आर्मीबाट पाउने अन्दाजी दुई लाख रुपैयाँँ मासिक भत्ता समेत गुमाउन बाध्य भएँ । आफ्नो रहरले बाध्य भएँ वा कसैको आवश्यकताको खाँचो पूरा गर्न बाध्य भएँ, मेरो बयली उमेरले गर्दा मलाई थाहा नै भएन । गुनासो गर्ने फुर्सद पनि भएन,” थापा भन्छन् ।
थापाले पानी खाने धारो नपाएको दिनहरू….
‘सब पैदल हिँड्नुपर्थ्यो । करिब करिब एउटा जिल्ला घुम्न एक वर्ष लाग्थ्यो’, थापा देशका जिल्ला,जिल्ला पुगेर लोकनाचहरू संकलन गर्दाताकाको समय सम्झन्छन् । त्यतिबेला उनी आफू पनि नाच देखाउँथे र गाउँलेहरूलाई पनि नाच देखाउन भन्थे । नर्तकहरूको ठूलो टोली लिएर देश-देशावर डुल्नु र संयोजन गर्नु चुनौतीपूर्ण कुरा थियो ।
‘मगन्तेहरू कहाँबाट आयो गाउँ भाँड्न आयो पो भन्थ्यो त’, थापा भन्छन् । गाउँलेहरूले बास बस्न नदिएको र यियस्ता आरोप-प्रत्यारोप लागेका अनगिन्ती अतीतका नमीठा पलहरू उनको मस्तिष्कमा ताजै छ ।
उनी काठमाडौँकै एक घटना सम्झन्छन् । ०१३ सालमा राजा महेन्द्र राज्यभिशेक हुँदै थियो । त्यहाँ उनको पनि प्रस्तुति थियो ।
पोखरादेखि ‘गाईने’हरू आएका थिए । “गाईनेहरूलाई पैसा दिँदाखेर टाढाबाट दिने गरिन्थ्यो’ थापा तत्कालीन काठमाडौँकालीन समाजको कालो अध्याय अगाडि सारीदिन्छन्, “हामीहरूले नाचेको गाएको मन नपराउने कारण पनि यहि थियो । दमाई-कामीको पेसा समायो भन्थे ।”
“भैरव नृत्य दलमा आबद्ध दमाइ, कामी, गाईने विद्यार्थीहरूलाई जब मैले घरमा पालेर राखेँ, अनि टोलले विरोध गर्यो । उपाध्याय बाहुन (भट्ट, भटराई, दुवाडी लगायत), थापा क्षत्रीहरू लगायतको टोल रक्षा संघले ‘हाम्रो धाराको पानी छोइदिए भन्न थाले । तपाईंं कि आफैँ आफ्नो प्राइभेट धाराको व्यवस्था गर्नुस् नत्र यो त राम्रो भएन । नत्र तपाईंंको हामी हुक्का-पानी कटाउछौँ ।” संघको मिटिंग अखडा कृष्ण पाउरोटी भण्डार नजिकैको चिया पसलमा थियो ।
संघले यसप्रकार थापाको विरोध गर्दा कृष्ण पाउरोटी भण्डारका मालिक ‘कृष्णबहादूर’ले आफ्नो संघको निर्णयमा आफ्नो समर्थन नभएको बताए । थापाको बाबु डिठ्ठा पदमबहादुर थापाको जग्गामा दोकान गरिबसेको हुनाले कृष्णबहादूरले त्यसो गरेको हुनसक्ने थापाको अनुमान छ ।
तर, कृष्णबहादूरको अडानले पनि काम गरेन, अर्को धारा पर्योग गर्ने पर्ने भयो । वीर शम्सेरको धारा (सबै जातको लागि प्रयोग गर्न मिल्ने वीर धारा, अहिले सडकले मासेको), तुरतुरे धारा (एकेडेमीसँगैको गणेश मन्दिर नजिकै) या टुकुचाको धारा विकल्पको रूपमा प्रयोग गर्ने निर्देशन आयो । गाईवस्तुले पानी खाने ‘तुरतुरे धारा’मा पुगेर थापा विद्यार्थीहरू पानी ल्याउने-लाने गरे ।
“कहाँबाट भैरवबहादुरले दमै-कामी बटुलेर गाईवस्तु पनि पानी खान पालो पर्खिन पर्ने भयो । कलाकार नै आज पनि जातीय विभेदमा परिरहन्छ,” थापा भन्छन्, “कलाको सम्मान गर्ने परिपाटी समाजमा अझ आइसकेको छैन ।”
खानेपानीमा छुवाछुतको समस्या यसैगरी बढी नै हुँदै गएपछि उनले आफ्नो तालिम टुँडिखेलमा सारे । एकदिन शताब्दीपुरुष सत्य मोहन जोशीले ‘भैरव नृत्य’ टुँडिखेलमा ‘गाईजात्रा’ जसरी किन देखाइरहेको भनेर प्रश्न गरे । यसपछि भैरव दलकै मनोज रिमालमार्फत थापा पाटनस्थित जोशीको घरमा रिहर्सल एवं तालिम दिन थाले । तर, यहाँ पनि उनी ९/१० दिन भन्दा अडिन सकेनन्, कारण थियो- पाटन पुगेपश्चात नृत्य सकिने विद्यार्थीहरूको चाप अझ बढेको थियो र ठाउँ साँघुरो हुँदै थियो ।
यसपछि उनी विभिन्न ठाउँमा पुगिरहे । विद्यालयका वार्षिक उत्सवहरूमा पनि उनको माग हुने गर्दथ्यो । “पाटनमा पनि सांस्कृतिक कार्यक्रम भन्ने चलन थिएन । भैरव नृत्य दलले नै त्यहाँ पनि सुरु गरेको हो,” थापा भन्छन् ।
महिनौँ-महिनौँसम्म निस्वार्थपूर्वक दुर्गम स्थानमा जानुपर्थ्यो…
थापाले २०१८ सालमा लोकसेवा आयोगबाट परीक्षा उत्तीर्ण गरी सांस्कृतिक संस्थानमा (राष्ट्रिय नाचघर) नृत्य-निर्देशक पदमा रही सेवा गर्न थालेका थिए । यसबारे उनी भूमिकामा लेख्छन्, “नेपाल सरकारले यस रचनाकारलाई बेलाबेला करार सेवामा हाजिरी गराएर काममा खटाउथे । कुनै बेला त स्वयंसेवकका रूपमा नै महिनौँ-महिनौँसम्म पनि निस्वार्थपूर्वक दुर्गम स्थानमा समेत जानुपर्ने हुन्थ्यो । निरन्तर सरकारी आदेशको पालना गर्दै जिल्लाजिल्लामा गइरहनु पर्दा आफ्नो अनुसन्धान (नृत्य लिपि)को क्रम भंग हुन्थ्यो । फेरि मूलधारलाई समात्नु पर्दा मगजको नशा नै चुडिएला जस्तो हुन्थ्यो ।”
गाउँ-गाउँका लोक नृत्यहरूलाई परिमार्जन गरेर विधिपूर्वक मञ्चनीय पद्धतिमा प्रस्तुत गर्ने काम थापामार्फत भयो । देशभर हिँड्दै जाँदा उनले थुप्रै किसिमका लोकनृत्यहरू देखे र सिके ।
“झ्याउरे लोक नाच पनि धेरै किसिमको हुन्छ”, उनी भन्छन्, “लिम्बूले नाच्दा अर्कै हुन्थ्यो । बाहुनले नाच्दा अर्कै । गुरुङले नाच्दा अर्कै । जातै अनुसारका फरक फरक भावभंगिमा हुन्थे ।” तिनै भावभंगीमा बटुलेर, भजन चुड्का सबै मिलाएर उनले आफ्नै शैली तयार गरेको बताउँछन् ।
विदेश भ्रमणका सिलसिलाहरू..
उनी चीन र माओबाट ‘माओपेन’लाई सम्झन्छन् (जसको चर्चा अघिल्लो अंकमा गरिएको छ) ।
उनको सम्झनामा, सन् १९५७ नोभेम्बर महिनातिरको एक घटना ताजै छ । भारतीय राष्ट्रिय कांग्रेसको ६३ औँ महाधिवेशनको उपलक्ष्यमा असम राज्यको गुहावटीस्थित प्रागज्योतिषपूरको खुला मन्चलाई सम्बोधन गर्ने क्रममा भारतमा पहिलो प्रधानमन्त्री जवाहारलाल नेहरूको शुभकामना सन्देश पनि ताजै छ । “नेपाल के भैरव पार्टी ने ‘ECHO (कथात्मक नृत्य)’ नामका पोएटिक ब्याले डान्स कला कि सुरुवात किए हुए देखकर मेरी राय बदल दी । नेपाल के पवित्र नृत्य कि उचाइको देखकर आज मै बहुत खुश हूँ । फिर आपलोगाैँ से मुलाकत होगी ।”
यसपछि भारतमा आफ्नो दोस्रो कार्यकम लिएर थापा भैरव दलको नेतृत्व गर्दै सन् १९५९ मा देहरादुन पुगे । स्थानीय गोर्खा छात्र संघको तत्वावधानमा प्रदर्शन गरिएको सो नेपाली कार्यकम यसकारण पनि उल्लेखनीय छ । त्यस कार्यकममा उनले महिला सहभागितालाई ध्यानमा राखेका थिए । थापाको अनुसार, हिन्दुस्तान पुग्ने नेपालका पहिलो महिलाहरू पाटनका हुन् । महिलाहरू सार्वजनिक रूपमा नाच्ने सुरुवात थापामार्फत् हुन् पुगेको हो ।
प्रथम चेली भुवनचन्द्र..
संगीतकार उस्ताद ‘भैरवबहादुर थापा (एकै नाम)’ पनि थापासँगै थिए । हाम्रो एउटै नाम भएकाले हामी एक अर्कालाई मितज्यू भन्थ्यौँ,’ उनी बताउँछन् ।
‘भैरव नृत्य दलमा केटीको आवश्यकता पर्यो के गर्ने होला भन्दा मीतज्यूले धन्दा मान्नु पर्दैन । मेरै छोरीहरू छन् भन्नुभयो ।’ ती छोरी थिइन्- नेपाली चलचित्रकी प्रथम नायिका भूवनचन्द्र ।
आठ, नौ वर्षको उमेरकी भुवनलाई प्रथम चेलीको रूपमा नृत्य सिकाएको मिठो सम्झना पनि थापासँग नै छ । पछि उनले भुवनलाई मात्रै होइन, विमला श्रेष्ठ लगायतका वरिष्ठ नृत्यांगना र रानी ऐश्वर्य र उनका बहिनीहरू कोमल र प्रेक्षालाई पनि नृत्य सिकाए ।
रियालिटी शोहरूले लोकनृत्यलाई सम्बर्द्धन गर्न सक्दैनन्…
नेपाली पर्यटनको एउटा आधार लोकसंस्कृति पनि हो । नेपालका जात्रा, लोकनाच, लोकसंगीत आदिलाई प्रत्यक्ष रूपमा हेर्न र आफै सहभागी हुनकै लागि विदेशीहरू यहाँ आइरहेका छन् । यस सांस्कृतिक इतिहास, पहिचान र विशिष्टताका लागि जातिगत विविधताहरू मुख्य कुरा हुन् । कुनै पनि जातिले कुनै पनि नृत्य कसरी प्रस्तुत गरिरहेको छ भनेर सूक्ष्म अध्ययन गर्न सकेको खण्डमा मात्रै पुस्तान्तरण सम्भव छ । आधुनिकता र वैज्ञानिकताको दुहाई दिँदै लोकसंस्कृति पछाडि धकेल्नुपूर्व त्यहाँ निहित राम्रा कुराहरूको खोज-अनुसन्धान हुनुपर्दछ ।
लोकनृत्य लोकमा प्रचलित नृत्य हो । लोकनृत्य उहिलेदेखि जनजीवनमा प्रचलित सांस्कृतिक-धार्मिक लोकनाटक पनि हो । यसैले त थापा लोकनृत्यको तुलना र प्रतिस्पर्धा गर्नु नहुने बताउँछन् । ‘कुनै पनि लोकनाच यो भन्दा त्यो राम्रो त्यो भन्दा त्यो राम्रो भन्न मिल्दैन,’ उनी भन्छन्, ‘घाटु नाच आँखा खोल्नलाई नै एक डेढ मिनेट लाग्छ । उभिनलाई नै पाँच मिनेट लाग्छ । तर त्यसको पनि आफ्नै स्वाद छ । त्यस्तो मिठास पनि कहाँबाट पाउनु ?
नयाँ चेत अनुसार लोक नृत्य परिमार्जित र परिष्कृत हुँदै जाँदा मौलिकता नष्ट हुने थापाको मत छ । थापा हाल टेलिभिजनमा चलिरहेका रियालिटी शोहरूले लोकनृत्यलाई सम्बर्द्धन गर्न नसक्ने बताउँछन् । “उनीहरूमा ज्ञान नै छैन । फेरि नृत्य आज पनि अपहेलित अवस्थामै रहेको छ । जबसम्म सरकारले वास्ता गर्दैन तब यसलाई संस्थागत गर्न गाह्रो हुन्छ ।” आगामी पुस्तालाई मौलिक लोक संगीत र नृत्य हस्तान्तरण गर्ने ठूलो चुनौती आफूले देखिरहेको थापा बताउँछन् ।
नेपाली मौलिक लोक नृत्य विस्तारै लोप हुने अवस्थामा रहेको प्रष्टै देखिन्छ । कठघोरी, कर्मधर्मा, करहवा, करियाझुमरी, कुर्मी ख्याली, कौराहा, घसकट्टी, चण्डी जस्ता नृत्यहरूको नाम सुन्न पनि ‘धौ’ छ । जानकारहरूका अनुसार नेपालमा १६७ बढी लोकनृत्य रहेका छन् ।
थापाको सक्रिय समयमा साँस्कृतिक नृत्यको संस्कार बसाउनु र संरचना निर्माण चुनौतीपूर्ण थियो । तर काम थापा एक्लैले गरेर देखाइसकेका छन् । अब थापाको अनुभव र सीपलाई प्रयोग गरेर राष्ट्रले नृत्यको संरक्षण गर्नुपर्ने बेला आएको छ । विदेशी नृत्यहरू क्रमशः हावी हुन थालेको यस समयमा देशका विभिन्न लोकनृत्यहरू संकलन एवं नृत्य लिपी तयार गरेका थापालाई चिन्न ढिला गर्दा राष्ट्रले ठूलो क्षति व्यहोर्ने छ ।
थापा आफैँ भन्छन्, “नेपालमा कुनै संस्कृतिको बारेमा जानकार प्रशासक आयो भने सबै नियम कानुन फेरबदल हुन्छ । नत्र अहिलेसम्मको मेहनत खेर जान्छ । नृत्यको बारेमा ज्ञान भएका व्यक्तिले राजनीतिक रूपमा नेपालको लोकनृत्यलाई संस्थापन गर्नुपर्छ ।”
विपी र पुष्पलाल श्रीपेच मास्ने पक्षमा थिएनन्….
“त्यतिबेलाका विपी, पुष्पलालको प्यारो र खाँटी कुरा बुझेको मलाई छुने आँट आजका केपी ओली, माधव नेपालहरू गर्नै सक्दैनन् । उनीहरूलाई मलाई छोएमा भन्डाफोर हुने डर पनि छ कि झैँ लाग्छ,” थापा अगाडि भन्छन्, “उनीहरू राजा मास्ने पक्षमा थिएनन् । पुष्पलाल श्रीपेच रहनुपर्छ भन्थे, बरू बेलाबेलामा विपी बाउ अरूको कुरामा लागेर भाडिँनुहुन्थ्यो ।”
“विशाल चीन र भारत हाम्रा पखेटा हुन् । हामीले आफ्नो पखेटा पलाएर उड्ने भन्दा पनि यी दुई पखेटा लिएर उड्नुपर्छ भनेर यी दुई जना (विपी र पुष्पलाल)ले बोलेको म अहिले पनि झल्झली सम्झिरहन्छु,” थापा भन्छन् ।
‘नेपाल एउटा शरीरको रूपमा र नेपालको पखेटा भारत र चीन हो’ भनेर नेताद्वयले पटक-पटक बोलेको जिकिर थापा गर्दछन् । यस कुरा केशरजंग रायमाझी, शैलेन्द्रकुमार उपाध्याय, डिबी अधिकारी, टंक प्रसाद आचार्यले पनि सुनेको थापा बताउँछन् । “यो कुरा आजका नेताहरू प्रायःलाई थाहा छ तर ‘म्लेच्छ धर्म’को पैसा पेटमा परेको हुनाले बोल्न सकिरहेका छैनन्,” थापा भन्छन् ।
एउटा जिउँदो इतिहास, जसलाई राष्ट्रले चिनेन…
“विपी, पुष्पलाल कामरेडहरूले आफ्नो भाषण सुरु गर्नुपूर्व मान्छेको बटुल्नको लागि मलाई बोलाए । एक हिसाबले उनीहरू मलाई जोताएँ नै भनौँ न”, थापा व्यंग्य कस्छन्, “पुष्पलालको कान्छो भाइ विजय लाल श्रेष्ठले त मलाई चिन्दैनन् भने यी अहिलेका नयाँ नेताहरू मलाई चिनेनन् भनेर के दुख मान्नु ?”
थापाले प्रम्परादेखि चल्दै आएको डबली नाचलाई समेत शिष्ट भाषामा सांस्कृतिक कार्यक्रमका रूपमा अगाडि बढाए । गीतिनाट्य, मूक नाट्य, वाणी नाट्य लगायत मयूर नृत्य, याक नृत्य, झाँक्री नृत्य, पद्मसम्भव नृत्य, प्रतिध्वनि नृत्य, एकता नृत्य, विद्या धनम् नृत्य रोइला, मछुवा, टप्पा, झ्याउरे, सोरठी, खुकुरी, डम्फे, सेलो, ताजिया, किम्बु-सुँताँ जस्ता अनेक नृत्यहरू सिर्जना गर्ने ऐतिहासिक कामहरूको पनि थापाले अभिभारा लिए । विदेशका विकसित नृत्यको दाँजोमा नेपाली नृत्यलाई प्रस्तुत गरे । तर, राज्यको तर्फबाट उनलाई केही प्रोत्साहन उपलब्ध भएन । यसैवर्ष ‘जगदम्बा श्री’ पुरस्कारले सम्मानित गर्यो तर यो थापाको उचित सम्मान होइन । थापा पुरस्कृत हुँदा उल्टै ‘जगदम्बा श्री’ पुरस्कार सम्मानित हुन् पुगेको छ ।
“यो सम्मान राष्ट्रलाई झक्झकाउने सम्मान हो,” थापा मदनपुरस्कारलाई धन्यवाद दिँदै भन्छन् । जीवनकालमै नृत्य पाठशाला हुने कलेज खुलेको र स्नातक र स्नातकोत्तरमा पनि विद्यार्थी नाचको बारेमा पढ्न थालेको हेर्ने उनको धोको जीवितै छ । “मेरो पुस्तक ती विद्यार्थीहरूलाई पनि उपयोगी होस् भनेर लेखेको हुँ नि, किताब र्याकमा थन्काएर राखेर र कामै भएन नि,” उनी भन्छन् ।
थापाद्वारा सिर्जित लोक नृत्यहरू राष्ट्रका सांस्कृतिक सम्पदाहरू हुन् । यिनको उचित जगेर्ना र संरक्षण गर्न राज्यले चासो देखाउनुपर्ने थियो । राज्यका सम्बन्धित फाँटहरू सर्जक थापा लाई सम्पदाको पङ्क्तिमा अङ्कित गर्नुपर्ने थियो । तर, उनको अनुभव र सीपलाई आर्काइभ गरेर राख्न सरकारले पहलकदमी चालिरहेको छैन ।
यसैले त थापा आफैँ भन्छन्, “नेपाल सरकारले वास्ता गरेको छैन । भन्सारबाट खटिएर आएको सचिवले संस्कृति के बुझ्ने ? कोही अर्थ मन्त्रालयबाट गएका हुन्छन्, मादलको आवाज सानो हुन्छ, हवाईजहाजको ठूलो । उतै लाग्छन् । हवाईजहाजको पाङ्ग्रामा धेरै पैसा आउँछ ।”
(पुस ६, २०७८ मंगलबार, द मार्जिनमा प्रकाशित)