महिनावारी अर्थात् रजस्वला (नेपालमा प्रचलनमा रहेको शब्दहरू: नछुने हुनु, परा सर्नु, छुई हुनु इत्यादि) महिलाहरूमा हुने प्राकृतिक प्रक्रिया हो । पाठेघर र अण्डाशय लिएर जन्मिएका व्यक्तिहरु अपवादमा बाहेक सबै महिनावारी हुन्छन्, जुन अनिवार्य जैविक प्रक्रिया हो । चिम्पाञ्जीको उदयसँगै वा चार खर्ब वर्षदेखि महिनावारी विद्यमान भएको रेकर्डमा देखिन्छ ।
सामान्यतया स्वस्थ बालिका १० वर्ष पुगेपछि कुनै पनि समयमा रजस्वला हुन्छिन् । बालिका १० देखि १५ वर्ष हुँदा पहिलो पटक रजस्वला हुनु स्वास्थ्यको दृष्टिकोणमा राम्रो मानिन्छ । नेपालमा धार्मिक, सामाजिक कारणले गर्दा महिनावारिको खासै कुराकानी हुँदैन । शहर वा विकसित देशमा पनि महिनावारी विभेद फरक नाम, स्वरुप वा बहानामा अभ्यासमा छन् । कतिपय ठाउँमा सजिलै देखिन्छ भने कतिपय ठाउँमा देखिँदैन ।अन्य सामाजिक अवस्थाका कारण तरिकाहरु फरक होलान् । आयाम फरक हुनसक्छन् । धेरै थोरै होलान् । तर, केही न केही विभेद जहाँसुकै छ । पुरुष मात्रै हैन नेपालमा स्वयम महिलाहरू पनि यस विषयमा खुलेर बोलेको एकदमै कम पाइन्छ ।
रजस्वला हुँदा हुने शारीरिक दुखाइ, मानसिक तनाव र हार्मोन परिवर्तनहरू महिलाको स्वास्थ्यसँग सम्बन्धित विषय हो । महिलाहरूको प्रत्यक्ष स्वास्थ्यसँग सम्बन्ध राख्ने यस विषयमा खुलेर कुरा नहुँदा महिलाहरूले धेरै प्रकारको शारीरिक र मानसिक समस्याहरू भोग्नु परिरहेको छ । महिनावारिकै कारण लज्जित हुनुपर्ने, जागिरमा खटपट हुने, सम्बन्धमा दरार आउने, अमर्यादित व्यवहार नहुने, हीनताबोध हुने आदि अवस्था निस्तेज हुनुपर्छ । त्यसैले मर्यादित महिनावारी नीतिगत तहमा आई मूलप्रवाहीकरण हुनु आजको आवश्यकता हो ।
यहि कुरालाई मध्यनजर गर्दै भिजन न्यूज नेपालले आफ्नो नियमित साप्तहिक स्तम्भ ‘महिनावारी बहस’ पुन: सुरु गरेको छ । प्रस्तुत छ, भिजन न्यूज नेपालका लागि राजु झल्लु प्रसादले तयार पारेको सामाग्री:
सृजना मरासिनीसँग ‘महिनावारीका कुरा’ :
महिलाहरू महिनावारी हुँदा धेरै खर्च हुने देशको सूचीमा नेपाल पाकिस्तानपछि दोस्रो स्थानमा रहेको बीबीसीले बताइसकेको थियो । यस्तो बेला सरकारले प्याडको मूल्य अझ बढायो । सरकारको यस्तो कार्यलाई कसरी हेरिरहनु भएको छ ?
महिनावारी महिलाहरूमा हुने प्राकृतिक प्रक्रिया हो। १० देखि ५० वर्ष उमेर समूहका महिलाहरूमा प्रत्येक महिना तीन देखि सात दिन रजस्वला हुने गर्छ। महिलाहरूले यस समयमा प्याड, ट्याम्पुन र मेन्स्ट्रुअल कप आदि साधनहरूको प्रयोग गर्छन्। हाम्रो देशको परिवेशमा हेर्नुपर्दा अझै पनि महिलाहरूमा यी साधनको पहुँच पुगेको छैन। कति किशोरीहरू त अझै पनि कपडा, टालो, पात, इत्यादि प्रयोग गर्न बाध्य छन्।
महिलाहरूको लागि सहज सुलभ स्यानेटरी प्याड उपलब्ध गराउनुको साटो प्याडको मूल्य अभिवृद्धि गर्नु निकै नै आपत्तिजनक विषय हो। सामान्य महिलाहरूको प्याड खरिद गर्न सक्ने अवस्थासम्म पनि छैन। प्याडको मूल्य वृद्धि गर्नु र कर लगाउनु भनेको किशोरी तथा महिलाहरूलाई मर्यादित महिनावारीबाट वञ्चित गर्नु र उनीहरूको स्वास्थ्यसँग खेलबाड गर्नु हो।
अध्ययनअनुसार, नेपाली महिलाहरूले आफ्नो जीवनमा झन्डै २,१०,५६५ रुपैयाँ महिनावारी हुँदा खर्च गर्छन्। तपाईँको आफ्नो भोगाई के छ? पेनकिलर ट्याब्लेट (यदि प्रयोग गर्नुहुन्छ भने), प्याड लगायतका लगायतका सामग्रीहरू प्रयोग गर्दा तपाईँको महिनावारी खर्च कति पुग्न जान्छ?
सामान्यतः महिलाहरूमा तीनदेखि सात दिन रजस्वला हुने गर्छ। यो बखत आफ्नो प्रजनन अङ्गकोको सरसफाइ र इन्फेक्सन हुन नदिनको लागि प्रत्येक ६ देखि ७ घण्टाको फरकमा प्याड चेन्ज गर्नुपर्ने हुन्छ। एक प्याकेट प्याडको मूल्य ६० देखि डेढ दुई सय सम्म पर्न जान्छ र प्राय प्याकेटहरूमा ६ वटा प्याड मात्र आउँछ। सामान्य रक्तश्राप हुनेहरूको लागि प्रत्येक महिनावारीमा ३ वटा जति प्याकेट लाग्छ र अत्यधिक रक्तश्राप हुनेहरूलाई त्यतिले नपुग्न पनि सक्छ। प्याड मात्र पनि निकै खर्चिलो छ र झन् त्यसमाथि कतिलाई शारीरिक पीडा समेत हुने गर्छ। पीडा कम गर्नको लागि विभिन्न पेन क्लिर जस्तै कि मेफटलको प्रयोग गर्ने गरिन्छ। यसरी पिरियड्स प्रोडोक्टको लागि महिलाहरूले धेरै नै खर्च गर्नुपर्छ
प्याड महँगो भएपश्चात् प्रयोग कम हुने भयो नि, होइन ? स्वास्थ्यको दृष्टिकोणमा कमसल विधि अपनाइनु राष्ट्रकै लागि घाटाको कुरा होइन र ?
प्याड सुलभ सहज तरिकाले उपलब्ध नहुँदा अझै पनि महिलाहरूले पात, पेपर, टालो, आदिको प्रयोग गरिरहेको खबर र तथ्याङ्क सुन्नमा आइरहेको छ। यस्ता साधनहरूको प्रयोगले गर्दा उनीहरूमा स्वास्थ्य समस्या देखा पर्ने, प्रजनन अङ्गहरूमा इन्फेक्सन हुन आदि जटिलता देखिइरहेको छ। जसोतसो आफ्नो खर्च कटौती गरेर प्याड किन्नेहरूको लागि यस मूल्य वृद्धिले अवश्य असर पार्छ नै। यसले गर्दा महिलाहरूमा स्यानेटरी प्याडको उपभोग कम हुन्छ। मूल्य अभिवृद्धिको कारणले महिलाहरूमा अवश्य स्वास्थ्य जोखिम पर्न जान्छ। महिलाहरूको स्वास्थ्यसँग कदापि लापरबाही हुनुहुँदैन। महिनावारीलाई मर्यादित र स्वस्थ बनाउनु जरुरी छ।
महिनावारीसँग जोडिएको मानसिक चिन्ता, हैरानी र उत्पीडनका बारेमा पाठ्यपुस्तक, सम्बन्धित निकायहरूको बेवास्ता के-कति कारण होला ?
हाम्रो समाजमा अझै पनि महिनावारी लगायतका विषयहरूमा खुलेर कुरा गरिँदैन। महिनावारीलाई अपवित्र, अछुतो, फोहोरी, आदि दृष्टिकोणले हेरिन्छ। तर महिनावारी भनेको एउटा प्राकृतिक प्रक्रिया हो। महिलाहरूमा प्रत्येक महिना हुने रजस्वलाले नारी आमा बन्न तयार छिन् भनेर सङ्केत दिन्छ। महिनावारीको समयमा महिलाहरूले शारीरिक पीडा जस्तै कि: पेट दुख्ने, खाना मन नलाग्ने, ढाड कम्मर दुख्ने, वाकवाकी लाग्ने, आदि समस्याहरू देखा पर्छ भने अर्कोतर्फ इमोस्नल क्राइसीस जस्तै कि मुड स्वीङ्स , धेरै बोल्न मन लाग्ने, रिस उठ्ने, आदि फेजबाट गुज्रिनु पर्छ। तर यस्ता समस्या तथा हैरानीबारे पाठ्यपुस्तकहरूमा उल्लेख गरिएको छैन र किशोरी तथा उनीहरूको घरपरिवारमा जानकारी समेत छैन। सायद महिनावारी लगायतका विषयमा खुलेर कुरा गर्ने वातावरण र मानसिकता सिर्जना नहुनु मुख्य समस्या हो।
रगत लाज, भेदभाव, अपवित्र फोहोर, प्रदूषित रगत जस्ता भाष्यहरूको पछाडि के-कस्ता अर्थहरू लुकेको भेट्नुहुन्छ ?
यस्ता अनुचित शब्दहरू कसरी प्रयोगमा आए भन्ने कुराबारे म जानकार छैन। यी शब्दहरू एकदम गलत छन्। महिनावारी पवित्र हो। यसले मातृत्वको सङ्केत छ र मातृत्व बिना यो पृथ्वीमा हामीहरूको जीवन सम्भव छैन। यी शब्दहरू वर्षैदेखि प्रयोगमा आइरहेका छन्। यसलाई हटाउनको लागि महत्त्वपूर्ण भूमिका हामीहरूको रहन जान्छ। सबैमा महिनावारी सम्बन्धी सचेतना र गलत अवधारणालाई हटाउन उचित भूमिको निर्वाह रह्यो भने यी शब्दहरू पनि आफैँ हटेर जान्छन्।
महिनावारीको विषयमा नेपालमा भएका बहसहरू कत्तिको प्रभावकारी देख्नुहुन्छ?
महिनावारीलाई लिएर बेलाबखत विभिन्न सङ्घसंस्था र।स्थानीय तथा राष्ट्रिय स्तरमै बहस हुने गरेको पाइएको छ। महिनावारीको समयमा महिलाहरूलाई घरमा राख्नुहुँदैन भनेर छाउपडी घर/गोठमा राख्ने चलन थियो, त्यस चलनको अन्त्यको लागि भनेर ठाउँठाउँमा स्थानीय र जनप्रतिनिधि मिलेर गोठहरू भत्काउने काम पनि गरियो। तर त्यसको केही समयमै छाउगोठहरू पुन खडा गरिएको पनि पाइयो। समस्याको जरासम्म पुगेर मात्रै समस्याको विकल्प निकाल्न वा अन्त्य गर्न सकिन्छ। त्यस्तै कर खारेजीलाई लिएर पनि विभिन्न प्रदर्शनी तथा बहस कार्यक्रमहरूको आयोजना गरियो। तर खासै उपलब्धिमूलक नभएको पाइयो। यसको लागि महिनावारी महिलाको प्रजनन स्वास्थ्य सँग सम्बन्धित विषय हो भनेर बुझ्न जरुरी छ। नेपालको संविधानमा प्रत्येक महिलालाई मातृत्व तथा प्रजनन अधिकार सम्बन्धी हक प्रदान गरिएको छ र यसलाई सुनिश्चित गर्नको लागि बहस तथा दबाबमूलक कार्यक्रम गर्न आवश्यक छ।
महिनावारीको पहिलो अनुभव कस्तो थियो ?
विद्यालयको पाठ्यपुस्तक र घरपरिवार, साथीहरूबाट नै महिनावारी सम्बन्धी ज्ञान केही हदसम्म पहिले नै थियो।
महिनावारीको समयमा आफूलाई सफा सुग्घर राख्नु पर्छ, स्यानेटरी प्याडको प्रयोग गर्नुपर्छ र पौष्टिक आहार लिनुपर्छ भन्ने थाहा थियो। तर यो समयमा भोग्नुपर्ने शारीरिक समस्यामा र अझ मानसिक बैचनी बारे कसैले बताएको थिएन। महिनावारीसँगै देखा पर्ने परिवर्तनहरूआफ्नै भोगाइले नै थाहा भयो। प्री मेन्स्ट्रुअल सिन्ड्रोम आदि बारे चाहिँ इन्टरनेटको माध्यबाट पछि मात्रै थाहा भयो।
यो पनि पढ्नुहोस्;
सुषमा तिमल्सिनासँग ‘महिनावारीका कुरा’
दीपिका खतिवडासँग ‘महिनावारीका कुरा’
बिना थिङसँग ‘महिनावारीका कुरा’
(भिजन न्यूजमा २०७८ कार्तिक २७ मा प्रकाशित)