“हाम्रो पुस्ता राजनीतिबाट अधिक पीडित पुस्ता ठान्छु म । यसको जवानी भसक्कै राजनीतिले खाइदियो । युद्ध र आन्दोलनले खाइदियो । ” – कला अनुरागी

You are currently viewing “हाम्रो पुस्ता राजनीतिबाट अधिक पीडित पुस्ता ठान्छु म । यसको जवानी भसक्कै राजनीतिले खाइदियो । युद्ध र आन्दोलनले खाइदियो । ” – कला अनुरागी

बलेफी-६, माङ्खा, सिन्धुपाल्चोकका कला अनुरागी साहित्य लेखन सँगसँगै पत्रकारिता पनि गर्दै आइरहेका छन् । अङ्ग्रेजी साहित्य र राजनीतिशास्त्रमा स्नातक, पत्रकारितामा स्नातकोत्तर गरेका अनुरागीले सिन्धुपाल्चोकको स्थानीय पत्रिकाबाट आफ्नो पत्रकारिताको जीवन सुरु गरेका हुन् ।

काठमाडौँ आइसकेपश्चात लालरक्षक, रेडियो नेपाल, तराई टेलिभिजन, समाचार दैनिक, नयाँ पत्रिका दैनिक, शैक्षिक म्यागजिन नुवागी, रातोपाटी, अन्नपूर्ण पोस्टको म्यागजिन अन्नपूर्ण टुडे र कान्तिपुर साप्ताहिकमा विभिन्न सम्पादकीय भूमिकामा उनी देखिए । हाल अनुरागी ‘जिन्दगानी डटकम’ नामक अनलाइनमा ‘आइडिएटर’को भूमिकामा छन् ।

कवितालाई निसर्त आफ्नो पहिलो प्रेम मान्ने अनुरागी साहित्यका अन्य विधामा पनि बरोबर रुचि राख्दछन् । अनुरागी  साहित्यसम्बन्धी अभियान ‘काव्यशिविर’, ‘उन्मुक्त पुस्ता’ र ‘प्रतिबद्ध पुस्ता’ को संस्थापकमध्ये एक हुन् ।  संयुक्त कविता-सङ्ग्रह ‘हामी ब्यूँझेको बिहान’ (२०६४) प्रकाशित गरेका अनुरागीको फुटकर कविता र निबन्धहरू पत्रपत्रिकाहरूमा निरन्तर छापिँदै आइरहेका छन् ।

प्रस्तुत छ, शब्द सोपानका लागि राजु झल्लु प्रसादले तयार पारेको सामाग्री :

कला अनुरागीसँग ‘पुस्तक वार्ता

१. पुस्तकसँग तपाईँको प्रथम साक्षात्कार कसरी हुन गयो ? पढाइको विकल्प ‘पढाइबाहेक अर्को थोक छैन भन्दै गर्दा पढाइको औचित्य कसरी स्थापित गर्नुहुन्छ ?

०४६ सालको एक शारदीय साँझ । मौसममा दसैँको माहोल मिसिन थालेको थियो । बर्खाका सबै काम सकेर दसैँ–खर्च जुटाउन भनी काठमाडौं जानुभएको बुबा घर आइपुग्नुभयो । बुबाको थाप्लोमा नाम्लो थियो र ढाडमा स–सानो भारी । भारी बिसाउनेबित्तिकै म अव्यक्त खुसी बोकेर उहाँनजिकै पुगेँ । बुबाले आटमा भारी बिसाउनुभयो र धोक्रो फुकाउँदै ‘सरस्वती’को फोटो भएको एउटा किताब मलाई दिनुभयो ।

त्यसको नाम के थियो, त्यतिबेला त मलाई थाहा हुने कुरै भएन । पछि थाहा पाएँ, त्यस किताबको नाम ‘ठूलो वर्णमाला’ रहेछ । अर्को वर्ष मेरो स्कुलमा नाम लेखाउने उमेर पुग्दै थियो । त्यसैको तयारीका लागि बुबाले अघिल्लो वर्ष नै मलाई वर्णमाला चिनाउन पाठ्यपुस्तक ल्याइदिनुभएको थियो ।

अहिले सम्झँदा स्कुलमा भर्ना भएर औपचारिक शिक्षा प्राप्त गर्ने अवसर नपाउनुभएका मेरो बुबालाई आएको त्यो चेतना मलाई अजीवको लाग्छ । छोरालाई धेरै पढाएर ठूलो मान्छे बनाउने सपना र ‘इगो’ थियो उहाँको । मेरो किताबको साक्षात्कार त्यहीँबाट सुरु भएको हो ।

अर्को सालबाट स्कुल पाठ्यक्रमका किताबसँग भेट हुन थाल्यो । तीन कक्षामा पुगेपछि ‘स्वस्थानीको कथा’सँग भेट भयो । माओवादी जनयुद्ध सुरु भइसकेपछि बुइँगलको कुनामा लुकेका कुनै अनाम छापामारले लि सिन तियानको उपन्यास ‘चम्किलो रातो तारा’ थमाए । त्यसले चाहिँ मलाई किताबले सिर्जना गर्ने रोमाञ्चक संसारसँग परिचित गरायो । तथापि एसएलसी पास गर्दासम्म मैले पाठ्यपुस्तकभन्दा बाहिरी किताबको कमै संगत गर्न पाएँ ।

आफैं काठमाडौं पसेपछि भने किताबसँग संगत बढाएँ, संगतमै हराउन थालियो, त्यससँग सम्बन्धित अनेक किस्सा जोडियो । अहिलेसम्म सो प्रक्रिया जारी नै छ ।

म हुर्केको समाज, जहाँ अझै पनि पत्रपत्रिका वा किताबलाई ‘लक्जरी’को रूपमा लिइन्छ । उसबेलाको त झन् के कुरा र ! ‘फलानोले सय रुपियाँको नोट साटेर पत्रिका किन्छ’ भन्ने किस्सा प्रचलित भएको थियो मबारे गाउँघरमा । ‘उपन्यास किन्न पैसा खर्च गर्छ, उँभो नलाग्ने भो’ भन्ने त्रासदी फैलिएको थियो परिवारमा । त्यसका बाबजुद पठन कसो–कसो मेरो लत बनिदियो । त्यसैले मलाई किताब कहिल्यै ‘लक्जरी’ लागेन, यो अनिवार्य साधन बन्यो । हामीजस्तो सीमित साधनस्रोतमा ‘जुगाड’ गरी–गरी बाँच्नुपर्ने परिवेशका मानिसलाई संसार डुलाउन सक्ने यही किताब न हुन्छ ।

मानिस सामाजिक–राजनीतिक प्राणी हो, यसलाई विशुद्ध आफ्नैमात्रै जीवन जिउने छुट छैन । समाजलाई बुझ्नु र त्यसलाई अघि बढाउने भूमिका निर्वाह गर्नु यसको अनिवार्य जिम्मेवारी हो । त्यो जिम्मेवारी पूरा गर्न अनुभवमात्रै पर्याप्त हुँदैन, अध्ययन पनि उत्तिकै जरुरी छ । जसले आफूले भोगिरहेको समाज निर्माणको ऐतिहासिक पृष्ठभूमिको ज्ञान दिन्छ र भविष्य–पथ निर्माणमा विश्व दृष्टिकोण प्रदान गर्छ । यसका लागि पढाइ नै त विकल्प हो नि, होइन र ? तर यस्तो पढाइ विशुद्ध किताबमा मात्रै सीमित भएर हुँदैन । त्यसको आयाम जीवनदेखि समाजसम्म फैलिनुपर्छ ।

२. मानिसहरूको समय र जीवन भूमिका वर्गीकृत छ  सामान्य जीविकोपार्जन र अनेकौँ प्रविधि इत्यादिले समय खाइरहेको सन्दर्भमा तपाईँले कसरी ‘म्यानेज’ गर्नुहुन्छ पढ्ने समय ?

मैले भनि गएँ, पढाइको दायरामा किताबमात्रै पर्दैन । त्यसैले हामी हरेकपल पढिरहेकै हुन्छौँ । तर, किताबकै प्रसंगमा भन्ने हो भने मेरो हकमा चाहिँ यसको लागि समय ‘म्यानेज’ गर्नुपर्दैन । जसरी हामी खाना खाने समय ‘म्यानेज’ गर्छौं, त्यसरी नै ज्ञानको भोकले यसको लागि समय ‘म्यानेज’ गरिदिन्छ । ज्ञानको भोक किताबबाटै मेटाउने बानी परेपछि त्यो कुनै न कुनै प्रकारले ‘म्यानेज’ भइहाल्छ । लतीले आफ्नो तलतल मेटाउने समय र साधन कसैगरी जुटाएजस्तै ।

तर पढ्नैपर्छ भन्ने बोझ लिएर हिँड्दिनँ । भोक लागेपछि मात्रै खाने हाम्रो बानी जो छ, त्यसरी नै किताबको भोक अनुभव भएपछि पढ्छु ।

३. पुस्तक छनौटको आधार केलाई बनाउनुहुन्छ ? पढेकामध्ये सबैभन्दा मन परेका पुस्तक ? तपाईँको ‘प्रिय पुस्तकहरूको सूची शाश्वत र सनातन छन् ? छन् भने ती कुन–कुन हुन् ?

कला–साहित्य, समाज र राजनीति । मेरो सन्दर्भमा यी तीन क्षेत्रको पेरिफेरि नै पुस्तक छनोटको आधार हो । नेपाली साहित्यमा वर्तमान समयमा लेखिइरहेका पुस्तक आफ्नो पुस्ताको आवाज भएकाले उपलब्ध भएसम्म पढ्न खोज्छु । नेपाली गैरआख्यान र राजनीतिसँग सम्बन्धित पुस्तक पनि समयको पदचाप बुझ्न र समाजको स्पन्दन सुन्न पढ्नुपर्छ भन्ने ठान्छु । त्यसबाहेकको ‘स्पेस’ हिन्दी र अंग्रेजी पुस्तकले लिन्छ ।

मैले आफूले पढेका पुस्तकलाई कहिल्यै सबैभन्दा मन परेको मानकमा चुनाउ गरेको छैन । हरेक पुस्तकले आफ्नो विशिष्टता र सन्दर्भमा प्रभाव पार्छ । पुस्तक वार्ताका लागि तपाईँले मलाई पनि छनोट गरे पनि मलाई लाग्छ– म थोरै किताब पढ्नेमा पर्छु । त्यसैले ‘यो किताबले चाहिँ मेरो जीवन नै परिवर्तन गरिदियो’ भन्ने प्रकारको किताब मेरो सूचिमा छैन । तर, जति किताब पढेँ, ती सबैले जीवनको कुनै न कुनै मोडमा बलियो सारथिको भूमिका निर्वाह भने अवश्य गरेका छन् ।

यति भनिसकेपछि मैले ‘प्रिय पुस्तकहरू’को सूची बनाउनु पर्दैन होला । र, त्यो छैन पनि । त्यो नहुनुमा शायद मेरो छरिएको अध्ययन प्रणालीले पनि होला । मैले कहिल्यै पनि एउटै मियोमा रहेर पुस्तक पढिनँ । कहिले उपन्यास नै उपन्यास पढेँ । कहिले कविता नै कविता । कहिले ‘राता किताब’हरूप्रति मोह देखाएँ, कहिले समाज–विज्ञानप्रति । अर्को खराब बानी के भइदियो भने म आफ्नो स्मरणमा धेरै कुरा ‘स्टोर’ गरिराख्दिनँ । तत्क्षणलाई त्यसले दिने ज्ञान र प्रभावमा मुग्ध हुन्छु र फेरि अर्कोतिर दौडिन्छु । यसैले यस्तो सूची बनाउनु मेरो लागि निकै कठिन र अनावश्यक कार्यभार बन्न जान्छ ।

४. सूचना र जानकारीको बमवर्षा भइरहेको वर्तमान समयमा उपयुक्त पठन सामाग्री फेला पार्नु निकै चुनौतीपूर्ण छ  पुस्तकबाहेक तपाईँको पठन सामग्रीका स्रोतहरू के–के हुन् ? ती स्रोतहरूप्रति तपाईँको विश्वसनीयता कसरी बढ्यो ?

अवश्य पनि ‘सूचनाको आँधी’को समय हो यो । तर पठन चाहिँ ज्ञानको खोजसँग एकाकार हुँदै जान्छ । त्यसैले सूचनाको बाढीबाट ज्ञानको सागरतिरको यात्रा अलिक दुरूह लाग्छ । तर मानिसले आफ्नो लक्ष्य र स्वाद पहिचान गरेपछि अहिले पठन सामग्रीको उपलब्धता अझ सहज छ । त्यसका लागि इन्टरनेट अत्याधिक उपयोगी साबित भएको छ । यसमा ‘फ्रि सोर्सिङ’भन्दा पनि आधिकारिक सामग्री खोज्नतिर लागियो भने विश्वसनीय पठन सामग्री प्रशस्तै पाइन्छ । श्रव्य–दृश्य सामग्रीको उपलब्धताको क्रान्ति इन्टरनेटको माध्यमबाटै भएको हो । ‘रिकमेन्डेसन’भन्दा पनि यसमा आफ्नो आवश्यकतासँग जोडेर खोज गर्न सकियो भने पठन सामग्रीको दुःख छैन ।

५. हाँसोको व्यापारबारे त तपाईँले लेख्नुभयो  आँसुको काँसबारे नलेख्ने दाइ ? रुवाइबारे तपाइँको बुझाइ के छ ? रुनुहुन्छ ? किन पो रोइँदो रहेछ ? के ले रुवाउँदो रछ, दाइ ? साँच्चै, रुवाइ के रहेछ ?

पत्रकारिताको मेलोमेसोमा के–के लेखियो, सम्झँदा कहिले लाज लाग्छ, कहिले दिगमिग लाग्छ, कहिले ठीकै लाग्छ । पत्रकारिताको औपचारिक अध्ययन गरे पनि म मूलधारको पत्रकारिताको किनारै–किनार भागिरहेँ । मैले पत्रकारिताको सीप र सहुलियतलाई मान्छे पढ्ने मोहमा खर्च गरेँजस्तो लाग्छ । यसै मेसोमा ‘हाँसोको व्यापार’ पनि लेखियो, आँसुबारे पनि लेखेको छु । ‘श्रीमान पर्खिरहेका श्रीमती’ जस्ता ‘स्टोरी’मा आँसु नै आँसु छ ।

रुवाइको प्रकृति अनेकन् छ । यो कहिले नितान्त व्यक्तिगत भएर आउँछ, कहिले सामूहिक हुन्छ । जस्तो, आमाको मृत्यु हुँदा म गहिरोगरी रोएँ । त्यो व्यक्तिगत रुवाइ थियो । तर त्यसमा एउटा सार्वजनीन भावना पनि जोडिएको थियो । आमा गुमाउनु कुनै पनि सन्तानको लागि एउटा अडेसको अन्त्य हुनु हो । एउटा कहालीमा बानी पर्नु हो लागेर रोएँ । आँधी चलिरहेको मरुभूमिका एक्लै कुद्नुजस्तो अत्यासले रोएँ ।

अर्कोचाहिँ, ‘मास्टर्स’ सकिने ताका कलेज जाँदै गर्दा रोएको सम्झन्छु । त्यसअघि स्थानीय राजनीतिमा सक्रिय थिएँ । चुनावको समयमा नेताको अघिपछि लागेर निकै दंगाबाजी गर्दै हिँडेको अनुभव बटुलेको थिएँ । नेताले दिएका आश्वासनलाई ‘बुस्ट’ गर्दै दलित, दमित, गरिब जनताको बस्ती पुगेको थिएँ । त्यस क्रममा ‘ब्रेक’ भएको पढाइ पूरा गर्न म कलेज भर्ना भएको थिएँ । चिसोको मौसम थियो, बिहान ठाँटिएर कलेज जाँदै थिएँ । बबरमहलस्थित कलेज नजिकै पुग्दा मैले देखेँ– जीवन–कायापलटको भाषण सुनेर चुनावमा अमूक नेतालाई जिताउन जीउज्यान फालेर हिँड्न मलाई साथ दिएका तामाङ युवाहरू सडकको नाली बनाउन चिसोमा गैंती बजारिरहेका थिए । उनीहरू कति मेरै उमेरका थिए, कति मभन्दा पनि कम उमेरका । मैले उनीहरूलाई बोलाउने साहस गर्न सकिनँ । किनकी उनीहरूको जीवन पहिलेभन्दा पनि कठिन भएको थियो, त्यसो किन भयो, त्यसको जवाफ मसँग थिएन । अनेकन् संघर्षको भेल–पोखरी नाघेर नै सही, म पत्रकारितामा मास्टर्स गर्न प्राइभेट कलेज गइरहेको थिएँ । तर, मलाई साथ दिने साथीहरू त्यसरी एकाबिहानै रगत–पसिना बगाइरहेका थिए । त्यसले मलाई निकै छोयो । म कलेज जान सकिनँ । आर्ट काउन्सिलको छेल पारेर निकैबेर रोएँ । त्यही आँसुसँगै मेरो बँचेखुचेको राजनीतिको झोँक पनि बग्यो । नजाने अहिलेसम्म त्यस्तै राजनीतिमै रहेको भए कति रुनुपर्थ्यो वा रुनै नसक्ने निर्मोही प्राणीमा बदलिइसक्थेँ कि !

किन रोइन्छ, केले रुवाउँछ भन्ने प्रश्नका यस्तै–यस्तै जवाफ छन् मसँग । रुवाइ अभिव्यक्ति हो जस्तो लाग्छ । कहिले त्यो आत्मबोधको, कहिले पीडाबोध । कहिले क्षमाबोधको, कहिले विद्रोहको ।

६. ‘मार्क्सकै देशबाट कुकुर ल्याएर पाल्ने कमरेडहरूको आनीबानी कस्तो पाउनुहुन्छ दाइ ? आजसम्म पनि ‘कुकुरदेखि सावधान’ भनिरहेकै छन् कि कसो ? वर्तमान राजनीतिक वृत्तलाई तपाईँ कसरी निहार्नुहुन्छ ? ‘मखमली फुल्ने माटो’ निर्माणतर्फ हामी छौँ ?

हाम्रो पुस्ता राजनीतिबाट अधिक पीडित पुस्ता ठान्छु म । यसको जवानी भसक्कै राजनीतिले खाइदियो । युद्ध र आन्दोलनले खाइदियो । चिन्तन गर्ने, प्रश्न गर्ने र लक्ष्य पहिचान गर्ने समय नै पाएन । अवश्य पनि, हामीभन्दा अघिल्लो पुस्ताले राजनीतिमा निकै कठिन चुनौती सामना गर्‍यो, सपनाहरू निर्माण गर्‍यो । त्यसका लागि आन्दोलन आँट्यो, युद्ध गर्‍यो । हाम्रो पुस्ताको उर्जाशील समय उनीहरूको त्यही यात्रामा खर्च भयो । तर, आज त्यो नेतृत्व पुस्ता थकित छ, भ्रमित छ । ‘मार्क्सकै देशबाट कुकुर ल्याएर पाल्न’ थाल्यो, ढोकामा ‘कुकुरदेखि सावधान !’ लेख्न थाल्यो । र, नयाँ पुस्तालाई आफ्नो विरासतको बलमा फरमान जारी गर्न थाल्यो– विनाप्रश्न लुरुलुरू पछि लाग । अहिलेको राजनीति त्यही पुस्ताले हाँकिरहेको छ । जसबाट निर्माण भएको व्यवस्था र पात्रहरूको रजगज हामी भोगिरहेका छौं । यसबारे धेरै टिप्पणी गर्न जाँगर पनि छैन ।

जहाँ समता र न्यायको घाँटी रेटिन्छ, जहाँ जात व्यवस्थाको आधुनिक घट्टले मान्छे पिसिन्छ, त्यहाँ मखमली कसरी फुल्न सक्छ ? त्यसैले हामी र हामीभन्दा पछिल्लो पुस्ताले गहिरोगरी सोच्नु र जिम्मेवारी लिन आफ्नो काँध बलियो बनाउन जरूरी भइसकेको छ ।

७. लकडाउनका दिनहरूलाई कसरी बियाल्दै हुनुहुन्छ ? ‘गाउन बाँकी गीतहरू’ मलाई अझ सुन्न–पढ्न मन छ  सिर्जनाकर्म कस्तो चल्दै छ दाइ ?

लकडाउनका दिनहरू त्रासदीको चौघेरामा बित्दैछ । चारैतिर मृत्युको सन्त्रास छ । हामीजस्ता पहुँचविहीन नागरिकहरूले यस्तो बेला केही भइहाले कतैबाट भरथेग–साथसहयोग पाउने सम्भावना छैन । न त राज्यले स्वास्थ्य सुरक्षाको गतिलो उपाय अवलम्बन गर्न सकेको छ, न त स्वास्थ्य सुविधाको पहुँच सबैमा छ । यस्तो अवस्थामा वरिपरिका हरेक व्यक्तिबारे चिन्ता थपिँदोरहेछ । केही समयदेखि पत्रकारिताको जागिर–यात्रा स्थगन गरेको छु । त्यसैले जागिरको चाप छैन । तथापि यसबीचमा जीवनकथा प्रस्तुत गर्ने एउटा वेबसाइटको परिकल्पना गरेर जिन्दगानी डटकम नामको पोर्टल सुरु गरेका छौँ, त्यसको अलि–अलि काम भइरहेको छ ।

यसबीचमा मेरो सिर्जना–कर्मको हलो चाहिँ कतै अड्किएजस्तो भएको छ । जुन ‘स्कूलिङ’मा हुर्किइयो, त्यसले हरेक कुरालाई सामूहिकतामा जोड्ने स्वभाव बनेछ । त्यो स्वभाव सिर्जनात्मक सामूहिक अभियान चलेको बेला बढी सक्रिय हुँदोरहेछ र अघिपछि कम । पछिल्लो समय त्यस्ता सामूहिक अभियानको निरन्तर विघटन झेलिरहेका छ समयले । यसको प्रभाव मेरो सन्दर्भमा पनि परेको छ । विघटित समयको पदचापलाई पहिचान गर्न र त्यसमा पनि सिर्जनात्मक हुने अभ्यासमै छु ।

८. स्वतन्त्रता र पत्रकारिता कत्तिको निकटतम हुन् दाइ ? नेपालका अखबारहरूमा यसप्रकारको निकटता कत्तिको भेट्नुहुन्छ ? पत्रकारिता जनपक्षीय हुनुपर्ने व्यवसायिक हुँदै गयो भन्ने छ नि !

तपाईँको प्रश्नमा नै यसको उत्तर निहित छ । अभिव्यक्ति स्वतन्त्रतासँग सम्बन्धित भएकाले पत्रकारिता स्वाभाविक रूपमा स्वतन्त्रताकै निकट हुन्छ र हुनुपर्छ । तर जब यो बजारको पञ्जामा जकडिँदै जान्छ, त्यसको स्वतन्त्रता पनि उसैगरी कैद हुँदै जान्छ । पत्रकारितामा व्यवसायिकताको अर्थ त जनपक्षीय नै हुनुपर्ने हो, तर बजारको कैदलाई चाहिँ व्यवसायिकताको नाम दिइने विडम्बना पनि हामीबीच छ । हामी जुन समयमा बाँचिरहेका छौं, त्यहाँ यी दुई अवधारणाबीच संघर्ष अझ पेचिलो बनिरहेको छ ।

९. पछिल्लो ‘किताब जात्रा’ कस्तो रह्यो ? बाहिरफेर साहित्यिक महोत्सवहरूले आफ्नै वृत्तका साहित्यकार मात्रै बटुले भन्नेखाले हल्ला चाहिँ खुब चल्ने गरेको छ नि ? पठन संस्कृतिको विस्तारका लागि भइरहेका अन्य–अन्य बहस एवं कार्यक्रमहरूलाई कसरी हेर्नुहुन्छ ? 

कोरोना कहरले निर्माण गरेको विशिष्ट परिस्थितिमा पछिल्लो ‘किताब जात्रा’ गरियो । मूलतः यस्ता महोत्सव भौतिक उपस्थितिबीच नै प्रभावकारी हुन्छन् । किनकी यसको मूल आकर्षण नै लेखक–पाठकबीचको प्रत्यक्ष अन्तरक्रिया हो । तथापि कोरोना कहरले हामीबाट त्यो अवसर छिनिदियो । त्यसैले हामीले ‘मास मिडिया’मार्फत चुनिएका लेखकलाई पाठकसमक्ष प्रस्तुत गर्ने ‘हाइब्रिड अप्सन’ छनोट गर्‍यौँ, जसमा समग्र पाठकको प्रतिनिधित्व सहजकर्ताले नै गर्नुपर्ने भयो । त्यसलाई प्रभावकारी बनाउन हाम्रो पहुँच भएका पाठकसँग प्रतिक्रिया लिने प्रयत्न गरेर सकेसम्म भावनात्मक प्रतिनिधित्व गराउने प्रयास गर्‍यौँ । त्यस हिसाबले यसलाई सफल नै मान्नुपर्छ ।

अर्कातिर टेलिभिजनको भव्य व्यवसायिक मञ्च पनि साहित्यका लागि, किताबका लागि प्रयोग गर्न सकिन्छ भन्ने उदाहरण प्रस्तुत गर्न सक्यौं भन्ने लाग्छ । यसले किताबसँग सम्बन्धित कार्यक्रमहरू टेलिभिजनमा पनि प्रस्तुत गर्न सकिँदोरहेछ भन्ने आत्मबल यस क्षेत्रलाई प्रदान गरेको छ र केही अभ्यास पनि हुन थालेका छन् । यो सकारात्मक कुरा हो ।

साहित्यिक महोत्सवहरूले आफ्नै वृत्तका साहित्यकारमात्रै बटुले भन्ने कुरा मलाई लाग्छ, सापेक्षिक सत्य हो । यसलाई अर्को अर्थमा स्वाभाविक सत्य पनि भन्न सकिन्छ । किनकि यस्ता महोत्सवहरूमा राज्यको चासो र लगानी दुवै देखिँदैन । नीजि तवरबाट गरिएका प्रयत्न पनि सीमित छन् र निकै चुनौतीपूर्ण पनि । मूलतः आर्थिक चुनौतीको कथा चर्को नै छ ।

साहित्यिक महोत्सवहरूले आफ्नै वृत्तका साहित्यकारमात्रै बटुले भन्ने कुरा मलाई लाग्छ, सापेक्षिक सत्य हो । यसलाई अर्को अर्थमा स्वाभाविक सत्य पनि भन्न सकिन्छ । किनकि यस्ता महोत्सवहरूमा राज्यको चासो र लगानी दुवै देखिँदैन । नीजि तवरबाट गरिएका प्रयत्न पनि सीमित छन् र निकै चुनौतीपूर्ण पनि । मूलतः आर्थिक चुनौतीको कथा चर्को नै छ । यसबीचमा कुनै प्रकाशन गृहले वा कुनै संघसंस्थाले महोत्सव गर्दा त्यस गृह वा संस्थासँग जोडिएका–नजिक भएका मानिसहरूको संख्यात्मक रूपमा बढी देखिनुलाई अस्वाभाविक कसरी मान्नु ? त्यसका बाबजुद जे–जस्तो सहभागिताको प्रयत्न भइरहेको छ, त्यसमा त्यतिधेरै खनखोट लगाइरहनुपर्छ भन्ने मलाई लाग्दैन । त्यसो भनेर जनमतलाई प्रभावित पार्ने सार्वजनिक कार्यक्रमहरूमा समावेशिता र प्रतिनिधिमूलक प्रतिनिधित्व अन्यायपूर्ण नहोस् भनेर निरन्तर सचेत गराइरहनु पर्छ । त्यसो भइ पनि रहेको छ । यसमा उल्लेख गर्नै पर्ने कुराचाहिँ के हो भने यस्ता कार्यक्रम बजारको प्रभावबाट मुक्त छैनन्, भएका देखिँदैनन् । बजारको धारणालाई सकारात्मक बनाउन ‘सेलेबल फिगर’को खोजी गर्दा समाजले सम्बोधन खोजिरहेको ताजा मुद्दामा गरिनुपर्ने बहसले स्थान पाइहाले पनि साँघुरो स्थानमात्रै पाउने गरेको छ । त्यसका निम्ति आलोचना गर्ने सचेत तप्काले चुनौतीसँग जुध्ने र बहसको दायरा फराकिलो बनाउने दुवै कुरामा पहलकर्तालाई साथ दिन आवश्यक छ । साथविनाको सराप मात्रैले त भएकै प्रयत्न पनि कमजोर हुन्छ ।

मलाई लाग्छ, हाम्रो समाजको सन्दर्भमा यस्ता बहसका कार्यक्रमहरू अझ धेरै हुनुपर्छ । त्यो स्थानीय तहसम्म पुग्नुपर्छ, त्यो सांस्कृतिक रूपमा समुदायसम्म पुग्नुपर्छ । शैक्षिक सत्र आधा सकिँदा पनि पाठ्यपुस्तक नपुगेको समाचार पढिरहनुपर्ने हाम्रो परिवेशमा पठनसंस्कृति निकै चुनौतीपूर्ण कुरा हो । त्यसैले पठनसंस्कृतिप्रति राज्यको ध्यानाकर्षण गर्न पनि यस्ता कार्यक्रमले दबाब सिर्जना गर्छ । आशा गरौं, यस वर्ष भौतिक रूपमै लेखक–पाठक उपस्थित भएर किताब जात्रा र अन्य साहित्यिक महोत्सव गर्न सकियोस् ।

१०. प्रसंग परिवर्तन गरेँ, तपाईँले लेख्नु भएको सबभन्दा पहिलो रचनालाई कसरी सम्झना गर्नुहुन्छ ? त्यो रचना उपलब्ध हुन सक्छ ?

मेरो सिर्जनात्मक लेखनको कदम कक्षा छबाट सुरु भएको हो । कक्षा छको नेपाली किताबमा कविताहरू पढ्नुपर्थ्यो । कविता पढिसकेपछि अभ्यास खण्डका सप्रसंग व्याख्या, विवेचनात्मक उत्तर र सिर्जनात्मक लेखनले मलाई लेखनमा अभिप्ररित गरे ।

कविता पढिसकेपछि कविता नै लेख्नुपर्थ्यो । मैले त्यसै मेसोमा कविता लेखनको अभ्यास थालेको हुँ । शीर्षक त अहिले सम्झना छैन, तर मैले पहिलो रचना तोरीबारीबारे लेखेको थिएँ जस्तो लाग्छ । र, त्योबेलाको दृश्य अहिले पनि म स्पष्ट सम्झन्छु । हिउँदको समय थियो । सारा फाँट तोरी फुलेर पहेँलपुर भएको थियो । म कापी–कलम लिएर घन्टौँ तोरी फुलेको खेतको गरामा बसेको थिएँ र त्यहीँ कविता लेखेको थिएँ । कविता लेखिसक्दा त्यसबेला आएको असीम आनन्द सम्झँदा अहिले पनि मन तरंगित हुन्छ । कक्षाका कविता सुनाउँदा शिक्षक र साथीहरूले पनि निकै तारिफ गरेका थिए । त्यसले मलाई बोध गराएको थियो कि यथार्थको नजिक भएर लेखिएको रचनाको प्रभाव बलियो हुन्छ ।

मेरो गाउँ माङ्खा (सिन्धुपाल्चोक)मा त्यतिबेला आठ कक्षासम्म पढाइ हुन्थ्यो । थप पढाइका लागि बजार (खाडीचौर, लामोसाँघु, बाह्रबिसे) झर्नुपर्थ्यो । म लामोसाँघुमा पढ्ने भएँ । डेरामा बस्दा कापी सँगै लगेको थिएँ, तर डेरा सर्ने क्रममा कापी हरायो, सँगै कविता पनि हरायो ।

०००

सधन्यवाद !

लेखक परिचय

राजु झल्लु प्रसाद

राजु झल्लु प्रसाद

धादिङका राजु झल्लु प्रसाद कविता, कथा, मनोविश्लेषणात्मक लेख साथै अखबारीय लेखनमा पनि सक्रिय छन् । अनलाइन पत्रिका न्युजकास्ट नेपालमा कलासाहित्य विधाका प्रमुख रहेर काम गरिरहेका झल्लु प्रसाद त्रि-चन्द्र कलेजमा बिएससी अध्ययन समेत गर्दैछन् ।

प्रकाशन मिति:  असार २३, २०७८, शब्द सोपान

Leave a Reply