भीमसेन थापाले बनाएका ‘भीमविरेश्वर’ बुङ्कोटघाटमा चेतनाको अभावमा अलपत्र

You are currently viewing भीमसेन थापाले बनाएका ‘भीमविरेश्वर’ बुङ्कोटघाटमा चेतनाको अभावमा अलपत्र

गोरखा : नाम्जुङ- ९, बुङ्कोटघाटमा रहेको पुरातात्त्विक स्थल भीमसेन थापाको सत्तल (भीमविरेश्वर महादेव मन्दिर) अलपत्र अवस्थामा छ । धादिङको ज्वालामुखी गाउँपालिका र गोर्खाको सहिद लखन गाउँपालिकाको सीमानास्थित बुढीगण्डकी नदि किनारमा रहेको यस सत्तल संरक्षण चेतनाको अभावमा अलपत्र परेको हो ।

नेपालको इतिहासको प्रथम प्रधानमन्त्री (मुख्तियार) भीमसेन थापाले वि.सं. १८८८ मा लालमोहर लगाई निर्माण गरेका भीमविरेश्वर मन्दिरको खण्डहर स्वरूपले हाम्रो ऐतिहासिक एवम् पुरातात्त्विक चेतलाई गिज्याइरहेको छ । थापाले मन्दिरको चारैतिर बनाएका सत्तल घरहरू, पूजा गर्नका लागि बनाइएको मठ- मन्दिर, घाट एवम् आँप बगैंचाको ज्यादातर हिस्सा इतिहासको गर्तमा बिलाइसकेको छ भने रहिबसेका कलाकृतिहरूको रेखदेख भएको देखिँदैन ।

स्थानीयवासीहरू मन्दिर परिसरबाट कलाकृति चोरी हुने क्रम बढिरहेको बताउँछन् । सरोकारवाला निकायले गरेको बेवास्ताका कारण ऐतिहासिक स्थलको संरक्षण हुन नसकेको आरोप स्थानीयहरू लगाउँछन् ।

२०७८ दशैं आसपास खिचिएको तस्बीर, तस्बीर : राजु झल्लु प्रसाद

मन्दिर परिसरका लावारिस कलाकृतिहरू

सत्तल परिसरमा रहेको त्रिशूल भाँचिएको छ । शिलास्तम्भहरू झाडी पन्छाएर खोज्नुपर्ने अवस्थामा पुर्याइएको छ । करिबन ढल्ने अवस्थामा पुगेको घण्टाको आकार समेत निकै सानो देख्न सकिन्छ । पुराना पुराना ढुङ्गामा कुँदेर बनाइएका कलात्मक मूर्तिहरू सबैजसो फुटिसकेका छन् । एउटै ढुङ्गाले बनाएका लामा लामा खम्बाहरू सबैजसो भाँचिएका छन् । बुढीगण्डकी नदी वारीपारी रहेका ठुलाठुला आँपका केहि वृक्षहरू यस विध्वंसका साक्षी हुन् ।

मन्दिर परिसरलाई झाडीले ढाकेको पछिल्लो अवस्थालाई चिर्दै गत माघ-फागुनमा गाउँपालिकाको सहयोगमा भीमवीरेश्वर महादेव मन्दिर गुठी व्यवस्थापन समितिले जिर्णोद्वारको नाममा रंगरोगन र मन्दिर क्षेत्रमा सरसफाई गरेको थियो । जुन सुखद कुरा हो तर, त्यसबाहेक थप कार्यहरू भएको पाइँदैन । मन्दिर परिसरका पुरातात्त्विक उसैगरी वस्तुहरू यत्रतत्र छरपस्ट अवस्थामा रहेका छन् ।

थापाले साविकको बुङकोट गाविस, नाम्जुङ गाविस, फुंजेल गाविस लगायत क्षेत्रहरूबाट कूत उठाई मन्दिरको पूजाआजा चलाउने, पुजारीहरूको खर्च टार्ने, साधु-सन्तलाई भोजन गराउने एवम् विशेष पूजाहरू सञ्चालन गर्ने परिपाटी बसाएका थिए । हाल सो परम्परा रहेको पाइँदैन । गुठी समिति अन्तर्गत नै रही नाम्जुङका पुजारीले नित्य पूजा भने गर्दै आइरहेका छन् ।

मन्दिर संरक्षणका प्रयासहरू कागजमा सीमित :

बुढीगण्डकी जलविद्युत आयोजनाको डुबान क्षेत्रमा पर्ने भीमविरेश्वर महादेव मन्दिर गुठीको अगुवाइमा स्थानान्तरण गरी नाम्जुङस्थित चारचौतारेमा सार्ने भनी ०७४/०७५ मै बजेट छुट्याइएको भएता पनि कामले गति लिन सकेको छैन । गाउँपालिकाको नीतिगत निर्णय अन्तर्गत २०७६/०९/१७ गतेका दिन भीमविरेश्वर मन्दिरलाई उपयुक्त स्थानमा सार्ने भनेर गरेको निर्णय ‘निर्णयमै सीमित’ रहेको छ । पालिकाको ०७७/०७८को बजेट किताबको ‘संस्कृति तथा पर्यटन नीति’ शीर्षकमा मन्दिर संरक्षण गरिने भन्न छुटाएको छैन ।

‘त्रिवेणी मन्दिर, भीमविरेश्वर मन्दिर, मनकामना मन्दिर, वक्रेश्वरी मन्दिर, हिमालय माईको मन्दिर,अर्लाङ्दी माईको मन्दिर, कोटकालीको मन्दिर, जलकन्या मन्दिर, सन्तानेश्वर महादेव मन्दिर लगायतका विभिन्न मन्दिर, गुम्बा, मस्जिद र चर्चहरुको संरक्षण र संवद्र्धनमा जोड दिई धार्मिकतथा सांस्कृतिक पर्यटन विकासमा जोड दिने नीति तय गरिनेछ’, ५ नम्बरको बुँदामा भनिएको छ ।

राष्ट्रिय गौरवको आयोजनाले समयमै गति लिन नसक्दा पनि मन्दिर स्थानान्तरणको सवालमा थप विवाद निम्तिएको हो ।

बुङ्कोटघाट,तस्बीर : राजु झल्लु प्रसाद

यसैगरी, पुरातत्त्व विभागको आ.व. ०५८/०५९ को गतिविधिमा समेत यस मन्दिरको संरक्षण र जीर्णोद्धारको कुरा परेको थियो । सोभा श्रेष्ठको नाममा प्रकाशित सो आलेखले ‘बुङ्कोटस्थित भीमविरेश्वर तथा मन्दिर परिसर मर्मत जीर्णोद्धार तथा योजना तयार गर्ने’ शीर्षकमा उतिबेलै ६०० हजार (६० लाख) छुट्याइएको बताइएको छ । सो रकमको के-कति काम भयो, कस्तो काम भयो भन्नेबारेमा आधिकारिक जानकारी प्राप्त हुन् सकेको छैन ।

भीमसेन थापाका सन्ततिहरूले वि.सं. २०३० सालदेखि भीमवीरेश्वर महादेव मन्दिर व्यवस्थापनका लागि गुठी संस्थानलाई जिम्मा लगाएका थिए । त्यसयता पर्याप्त बजेटको अभाव तथा बेवास्ताका कारण मन्दिरको संरक्षण हुन नसकेको पाइन्छ । अर्कोतर्फ, ‘बुढीगण्डकी डुबानमा पर्ने भएकाले बजेट कार्यक्रम समेत नपरेको देखिन्छ । यद्यपि, पुरातत्त्व विभागसँग समन्वय गरी मन्दिर व्यवस्थित गर्ने सवालमा गुठी र पालिका चुकेको प्रस्ट देखिन्छ ।

मन्दिरको इतिहास

यस मन्दिरमा सुनको गजुर रहेको एवम् मन्दिरको चारैतिर दुई तले सत्तलहरू रहेका थिए । सत्तलमा भारतदेखि आएका जोगीहरू धुनी बालेर बस्ने गर्दथे । गोरखकाली मन्दिरमा जस्तै गरी मङ्गला बजाउने गर्दथे । नगर्चीहरूले पूजा अगाडी नगरा बजाउथे । बुङकोट, नाम्जुङ, घैरुङ्ग, फुंजेल लगायतका भेगका बासिन्दाले लगाएका अन्नबाली (धान लगायत) यस मन्दिरलाई जाने गर्दथ्यो । यसरी जम्मा भएको धान सत्तलको माथिल्लो भागमा राख्ने गरिन्थ्यो । र यसैबाट मन्दिर सञ्चालन एवम् अन्न अभावको जोहो टार्ने गरिन्थ्यो ।

स्थानीयवासीका अनुसार यस क्षेत्रमा घाट एवम् ब्रह्मानालहरू रहेका थिए । तत्कालीन समयमा थापाले बुढीगण्डकी वारी र पारी दुवैतर्फ १०० भन्दा बढी आँपका बिरुवाहरू समेत लगाएका थिए । ज्वालामुखी गाउँपालिका अन्तर्गत पर्ने साविकको खरी गाविसमा त्यतिबेला लगाएका आँपहरू ठुला ठुला रुखहरू आज पनि देख्न सकिन्छ । तर, ती आँपका रुखहरूलाई संरक्षण गरि एतिहासिक महत्त्व झल्काउने सन्दर्भमा ज्वालामुखी गाउँपालिकाको समेत तत्परता देख्न पाइदैन । ज्वालामूखी गाउँपालिकामा गठबन्धनको उम्मेदरवारहरुले आफ्ना प्रतिवद्धता पत्र सार्वजनिक क्रम गर्ने क्रममा गत चुनावमा ‘खरी-बुङ्कोटघाट सडक कालोपत्रे गर्ने’ बताएपनि ‘भीमसेन थापाको आँप बगैँचा’ संरक्षण गर्ने बुँदा त्यसमा परेको पाइँदैन ।

भनिन्छ, मन्दिरको चारैतिर रहेका सत्तलहरूमा ठुला-ठुला सिँढी थिए । मन्दिर परिसरमा भक्तजनहरूको भीडभाड लागिरहन्थ्यो । नेपालको इतिहासमा अभिलिखित वि.सं. १८९० साल भदौ १२ गते र १९९० साल माघ २ गतेका ठुला भुईँचालोहरूमा यी सत्तलहरू भत्किएका बताइन्छ । २०४५ साल भदौ ५ गते र २०७२ वैशाख १२ गतेको भूकम्पले मन्दिरलाई थप जीर्ण बनाएको र त्यसपश्चात् मन्दिर पुनर्निर्माणको कामले गति लिन सकेको छैन ।

राजासँगै काशी पुगेपश्चात् बोर्लाङ फर्किएका थापाले जर्नेली पौवा (जागेश्वरी महादेव एवम् हिटी) निर्माण समेत गरेका थिए । तत्कालीन समयमा उनले यस भेगमा ८०० रोपनी खेत किनेको विश्वास गरिन्छ ।

पातलो मानववस्ती रहेको यस ठाउँमा खरी-धादिङवेशी गाडी लाग्ने गर्दछ, तस्बीर : राजु झल्लु प्रसाद

सत्तल जोगाउनु पर्ने माग

बर्सौँ पुरानो छुट्टै इतिहास बोकेका यस्ता स्थलहरूको संरक्षण गर्नुपर्ने धादिङ र गोर्खाका स्थानीयहरूको माग छ । यसको संरक्षण र संवर्द्धन गर्न सकेको खण्डमा आन्तरिक एवं बाह्य पर्यटकहरूका लागि आकर्षणको केन्द्र बन्न सक्ने स्थानीयको विश्वास छ । यति मात्र नभई इतिहास अध्ययनकर्ताहरूका लागि यो अनुसन्धान गर्ने ठाउँ समेत बन्ने देखिन्छ ।

यस मन्दिर परिसरमा महाशिवरात्रि, हरिबोधिनी एकादशी र महास्नान पूर्णिमामा विशेष मेला लाग्ने गर्दछ । मन्दिरमा गोरखा शहिदलखन र धादिङका ज्वालामुखी गाउँपालिकाका सयौँ भक्तजनको भिड लाग्ने गर्दछ । (तल भिडियो हेर्नुहोस्)

भीमसेन थापाको विवादास्पद अन्त्य:

नेपालको दोस्रो तथा सबैभन्दा लामो समयसम्म पदमा रहेका थापा नेपालका मुख्तियार (प्रधानमन्त्री सरह) तथा राष्ट्रिय विभूति हुन् । राजा रणबहादुर शाहका हजुरिया (शाही सचिव तथा सल्लाहकार) भएपछि भीमसेन थापाको उदय भएको हो । सन् १८०० मा रणबहादुर अधित्याग गरेर निर्वासित जीवन बिताउन भारत को वाराणसी जाँदा भीमसेन थापा पनि सँगै गएका थिए । यसै कृतज्ञताका कारण, रणबहादुर शाहले भीमसेन थापालाई नयाँ विस्तारित सरकारमा काजी (मन्त्री सरहको पद) को पदमा नियुक्त गरे । सन् १८०६ मा रणबहादुर शाहको हत्या उनकै सौतेनी भाइ शेरबहादुर शाहद्वारा भए पश्चात् भीमसेन थापाले ९३ जनाको हत्या गरेर स्वयं आफू मुख्तियार (प्रधानमन्त्री सरहको पद) बने ।

३१ वर्षसम्म नेपालमा शासन गरेका मुख्तियार जनरल भीमसेन थापाले १८९६ साल साउन ८ गते आत्महत्याको असफल प्रयास गरेका थिए । जेलभित्र घाँटी काटेर आत्महत्या प्रयास गरेका भीमसेनको प्राण जेलभित्रै गयो या जेलबाहिर विष्णुमती किनारामा गयो भन्ने सम्बन्धमा इतिहासकारहरूबीच मत बाझिएको छ । साथै थापाले आत्महत्याको प्रयास गरेको र प्राण गएको मितिमा समेत एकरूपता पाइँदैन । (सन्तोष खडेरी, हिमाल प्रेस)

पछिल्लो पटक मन्दिरमा रंगरोगन लगाएर छानाका झार उखाले पनि वरिपरीका सत्ताल पुनर्निर्माण एवम् छरिएका कलाकृतिको जगेर्ना भएको छैन

इतिहासकार बाबुराम आचार्यका अनुसार भीमसेनले साउन १५ गते जेलमा घाँटी काटेर आत्महत्याको असफल प्रयास गरेका थिए। रगतले लतपत भएको यिनको अर्धचेत शरीरलाई तत्कालीन राजा राजेन्द्र तथा जेठी महारानी सम्राज्यलक्ष्मीको आदेशअनुसार विष्णुमती नदीको बगरमा लगेर बेवारिस अवस्थामा फ्याँक्न लगाइएको थियो। मध्यवार्षाको झरी भिज्दै जीवनमरणको दोसाँधमा स्याल, कुकुर तथा गिद्धद्वारा घेरिएर नौ दिनसम्म जीवित रहेर २३ साउनमा यिनको प्राण गयो। (भीमसेन थापा : उत्थान तथा पतन, बाबुराम आचार्य, २०७५)

अर्का इतिहासकार ज्ञानमणि नेपालका अनुसार भीमसेनले १८९६ साउन ८ गते राति अँध्यारो छिँडीमा खुकुरीले आफैँले घाँटी सेरे। भुत्ते खुकुरी भएर हो वा ठिकसँग हात नलागेर हो, उनले पूरा गला रेट्न सकेनन् र अलिकति काटेर लडे। रगतको धारो लाग्यो। यसरी ढलेका भीमसेन पिप, रगत, फोहोरमा मुछिएर घ्यारघ्यार गरी नौ दिनसम्म बाँचेर कन्तबिजोगसँग प्राणमुक्त भए। राजारानीसमेत सबै आएर उनको लास हेरे पनि दाहसंस्कार गर्न अनुमति दिइएन । डोरीले बाँधेर घिसार्दै विष्णुमतीपारि पुर्‍याएर फाल्न लगाइयो। (नेपालको महाभारत : ज्ञानमणि नेपाल, २०७६)

चित्तरञ्जन नेपालीले छापेको जनरल भीमसेन थापा र तत्कालीन नेपाल पुस्तकमा भीमसेनको आत्महत्यासम्बन्धी एक पत्रमा उल्लेख छ, ‘एकदेव वैद्यले अघिपछिको सबै कुरा बक्याको थाहा पायेछ र आफूले गर्याको अघिको र पछिको कुकर्म प्रकाश हुन लाग्यो भन्या डरले कसैले थाहा नपाई हतियार मगाई ९६ साल श्रावण महिनाको दिन ८ जाँदा हतियारले आफ्नु गला आफैँले काटी अपहत्या गरी ९ दिन बची श्रावण १६ दिन जाँदा भीमसेन थापा मर्यो। (जनरल भीमसेन थापा र तत्कालीन नेपाल : चित्तरञ्जन नेपाली, २०७६)

सन्तोष खडेरीको संकलन अनुसार कलकत्ताबाट प्रकाशित पत्रिका ‘इङ्लिसम्यान’ को सन् १८३९ अगस्ट १२ को अंकमा छापिएको समाचारले ‘नेपालबाट प्राप्त भएको पत्रअनुसार भीमसेन थापाको शवको अन्त्येष्टि गर्न र उनलाई सम्मान दिन अस्वीकृत गरियो । उनको शव नदी किनारामा फ्याँकिएको छ र शवको आधा अवशेष स्याल र गिद्धले खाइसकेका छन्’ भनेर लेखेको थियो । सो समाचारले अगाडि लेखेको छ, ‘‘जेलमा रहेका भीमसेन थापाको आत्माले सहनै नसक्ने किसिमको आक्रोशित यातना दिइएकाले उनले जेलभित्रै आफ्नो घाँटी काटेर आत्महत्याको प्रयास गरे । त्यही घाँटीको पीडाका कारण छ्टपटाउँदै दुई दिनपछि २९ जुलाईमा उनको निधन भयो । उनी नेपाल–अंग्रेज युद्धताका गोरखपुरको नजिकै पाल्पाका बडाहाकिम रहेका अमर सिंह थापाका छोरा थिए ।’ इङ्लिसम्यानमा मात्र होइन त्यतिबेला छापिएका अन्य समाचारले समेत दुई दिनपछि नै थापाको निधन भएको उल्लेख गरेका छन् । (सन्तोष खडेरी, ऐ.)

अन्त्यमा,

भीमसेन थापाको मृत्यु भएको ठाउँबारे इतिहासकारहरू एकमत नभएता पनि थापाको निधनपछि उनको अन्तिम संस्कार गर्न नदिइएको, शवलाई नदी किनारामा फालिएको एवम् उनको शवलाई स्याल तथा गिद्धहरुले लुछेर खाएको कुरामा भने इतिहासकार सहमत देखिन्छन् । भीमसेन थापाको कारुणिक अन्त्य सम्झाउने अवस्थामा नै उनले निर्माण गरेको भीमसेन सत्तललाई पुर्याउन पुरातत्व विभाग, पालिका एवम् राज्य लाग्नु उपयुक्त कुरा होइन । यस कुरामा सबैलाई चेतना भया !

अस्तु !

नेपाल टिभी अनलाइनका लागि शिव सिलवाल खिचेको तस्बीर

मन्दिर परिसरमा मिल्किरहेको अवस्थामा शिलालेख र ढुंगे धारो, तस्बीर : राजु झल्लु प्रसाद

भिडियो : 

https://youtube.com/watch?v=pqz8JG8xAGU%3Fstart%3D398%26feature%3Doembed

 हिमाल दर्पणकालागि राजु झल्लु प्रसादले तयार पार्नुभएको  यो स्थलगत रिपोर्ट उहाको अनुमतीमा  जस्ताको तेस्तै  प्रकाशित गरिएको छ  । 

(प्रकाशन: २०७९, ३ भाद्र शुक्रबार ०६:४०, भिजन न्यूज नेपाल)

Leave a Reply