- राजु झल्लु प्रसाद
सहरका घर अग्ला अग्ला भए । सिमेन्टका ढलान तातेर बसिनसक्नु भयो । मोटरका आवाजले एकछत्तै लखेटिरहन्छ । कहाँ पो जानू ? सहर नजिकै गाउँ नै छैनन्, पर..परसम्म कसरी पुग्नु ? गाउँतिर जाऊ भने धुलो, धुवाँ, अनियन्त्रित घर, बिजुलीका खम्बामा लत्रिएका तारहरूसँग जोगिएर त्यो उडान लिनु चानचुने कुरा पनि होइन ।
फेरी, गाउँका छ्वाली र खरले छाएका घरहरू पनि भूकम्प प्रतिरोधी घर निर्माणको क्रममा निमिट्यान्न पारिए । घर छाउँदा प्रयोग गरिने बाँसका भाँटा र चिलाउनेका खाँबाहरू माटोमा मिसिए । चोया, दारको काठ र डोको-थुन्से समयको गर्तमा बिलाइगए । मानिसले घर छाउन पनि छाडे, भीर पखेराका खरहरू पनि डढेलोको सिकार भइरहन्छन् ।”
स्वयम्भू, वसन्तपुर र पाटनका छानाहरूलाई निहारिरहँदा सामाजिक पक्षी परेवाहरू एकापसमा मानवकेन्द्रित सामाजिक गतिविधिको विरुद्ध बोल्दै छन् मानव सभ्यताको दोहोलो काढ्दै छन् जस्तो लाग्छ । टाउको घरि माथि, घरि भुईँतिर फर्काउँदै, शरीर दायाँबायाँ पार्दै एकै रटानमा ‘गुडुरगुडुर र घुरघुर’ गरिरहेका सम्पदास्थलका छानामाथिका परेवाहरूलाई नियाल्नु कम्ता सकसको विषय होइन । जसै उनीहरूको घुराइको कम्पनले घाँटीका प्वाँख थर्थाएको देखिन्छ, उनीहरूमा निरन्तर छटपटी बढिरहेको प्रस्टै देखिन्छ । घुरघुर ‘घुरघुर’ मात्रै होइन, आक्रोश हो भनेर बुझ्नका लागि ‘मन भएका’ मान्छेलाई कत्ति बेर लाग्दैन ।
उसो त, मलाई एकसमय यी परेवाहरू उडाउन खुबै रुची लाग्थ्यो । यिनीहरू एकसाथ उडेको बखत घाम नै छेलिने गर्दछ भने भुईँमा देखिने गतिशील छायाँ साह्रो कलात्मक हुने गर्दछ । तर, आजभोलि म यिनको खाद्य सुरक्षाको चिन्ताबारे सोच्न पुग्दो रहेछु । यस लेखमा यसकारण थोरबहुत भावुकता भेट्न सकिन्छ, तथ्य खोज्नहरूका लागि यो अगतिलो पठन सामग्री रहन सक्छ ।
परेवाहरूको मृत्युको कारण के हो ?
सहारा मरुभूमि र एन्टार्कटिका बाहेक अन्यत्र सबैतिर पाइने, मधुरो आवाज निकाल्ने शान्तिदुत कहिएका यी पंक्षीहरूलाई दाना खुवाइरहेका (मकै बेचिरहेका स्थानीय)का अनुसार परेवाहरू मर्ने क्रममा घटबढ भइरहन्छ । कहिले दिनमा नै १०-१५ वटा परेवा मरिरहेका हुन्छन् भने कहिले २- ३ वटा मात्रै । परेवाको मृत्यु कारणबारे हामीकहाँ उति खोजीनिती भएको पाइँदैन । यस्ता घटनालाई ‘बर्ड फ्लू’ भनेर अत्याधिक सामान्यीकृत या भयावह बनाइने काम धेरै भएका छन् । नेपालमा बसाइँसराइ गर्ने चराहरूबाट परेवाहरूमा बर्ड फ्लुको भाइरस सरेको कुनै औपचारिक तथ्याङ्क छैन, तर प्रभावित क्षेत्रबाट बसाइँसराइ गरी आउने चराबाट यो रोग सजिलै सर्न सक्छ भन्ने अनुमानहरू भने उपलब्ध छन् ।
वसन्तपुरमा मृत अवस्थामा रहेको परेवा केहिबेरपश्चात् कुकुरको आहारा भयो
केही वर्षअघि इलाम नगरपालिकाले इलाम बजार र माइस्थान मन्दिरको आकर्षण मानिएका परेवामा जुका र झिँगाको प्रकोप देखिएको थियो । परेवाहरू भकाभक मरेका खबरहरू सार्वजनिक भएका थिए । सुरुमा झोक्राउने, चारो नखाने र केही समयपछि मर्ने लक्षण ती परेवाहरूमा देखिएका थिए । त्यतिबेला नगरपालिकाले परेवालाई सफा पानी, विषादी नमिसिएको तोरी, गहुँका दाना र मकैको च्याँख्लामात्र दिन आग्रह समेत गरेको थियो । तर, पंक्तिकारले त्यस घटनाबारे आधिकारिक प्रमाण प्राप्त गर्न सकेन ।
अर्कोतर्फ, पशुपति र स्वयम्भूतर्फ बाँदरहरूले परेवा खुबै रुचाइरहेका छन्, दिनमा ५/१० वटा परेवाहरू बाँदरको आहारा बनिरहेका छन् । बाँदर एवम् कुकुरहरूले पनि परेवा रुचाइरहेको देखिन्छन् । र, ती पनि परेवा सरह नै बिरामी परिरहेका देखिन्छन् । बाँदर र कुकुरहरूलाई काठमाडौंका फोहोरको थुप्रोमा, नालीमा एवम् मलिलो र गन्ध भएको ठाउँ वरपर पङ्क्तिकारले पटकपटक देखेको छ । जहाँ-जसरी जुन अवस्थामा देखे पनि उनीहरूमा छाएको खाद्य सङ्कट र खाद्यान्नमा आएको फेरबदल चिन्ताजनक छ ।
स्वयम्भूमा फोहोर खोतलेर खाना खोजिरहेको बाँदर
काठमाडौंका परेवाहरू के खाइरहेका छन् ?
यस प्रश्नको उत्तरमा ‘हामी के खाइरहेका एवम् उब्जाइरहेका छौँ?’ भन्ने प्रतिप्रश्न सहि ठहर्दछ । फेरिँदै गएको खाद्य मेन्यू र खानपान शैलीको प्रत्यक्ष असर पृथ्वी एवम् यहाँ आश्रित हरेक जीवजन्तुमा पर्दछ नै । जलवायु परिवर्तनका कारण खाद्य उत्पादन कम हुने र खानेकुराको मूल्य ह्वात्तै बढ्न पुग्दा वैकल्पिक रुपमा जङ्गली अनाजतर्फ आकर्षित हुनेछौँ । आज परेवा, बाँदर र कुकुरको खाद्य सामाग्री छिनिरहेका या दूषित गराइरहेका हामीहरूले भोलि आफूसहित अन्य पशुपंक्षीका खाद्य स्रोत पनि बिटुलाउनेछौँ ।
खैर, हामी हाम्रो विषयमा आऊ !
विश्वका सबै धर्मावलम्बीहरू आ-आफ्ना धर्मस्थलहरूमा परेवालाई आहारा खुवाउनुलाई धार्मिक कार्य मान्ने गर्दछन् । मक्कामा परेवा मार्नु त परको कुरा तिनका अण्डालाई छोए/चलाएमा पनि कानून लाग्छ । मुस्लिम समुदायमा यसप्रकार परेवालाई अन्य पंक्षीको तुलनामा ज्यादा महत्त्व दिनुका पछाडि ३ वटा विश्वासहरू भेटिन्छन् ।
एक, मक्का नजिककै रहेको ‘हिरा गुफा’मा पैगम्बर मुहम्मदले ग्राबियलबाट ईश्वरका सन्देशहरू प्राप्त गरेको समयमा परेवा पनि सोही गुफामा हुने गर्थे । मोहम्मद स्वयं परेवा संरक्षक थिए ।
दुई,अब्राहको आक्रमणको बेला काबाको रक्षा गर्ने परेवाहरूको सन्तानहरूको स्वतन्त्रताको चिन्ता मुस्लिम समुदायमा देखिन्छ ।
तीन, प्रोफेट नोहालाई बाढीको समयमा दिशा बताउन् सहयोग गर्ने पनि परेवा नै थियो ।
(हिन्दू सहित अन्य धर्मतर्फ पनि यसप्रकारका विश्वासहरू उपलब्ध छन्, त्यता नजाऔँ ।)
स्वयम्भूमा देखिएका सेता परेवाहरू
वसन्तपुर, स्वयम्भू र पशुपति क्षेत्रमा भक्तजनले मन्दिरमा चढाउने चाम अक्षता, फूलपाती, किनेर खुवाउने मकै, गहुँजस्ता खाद्यपदार्थ नै यी परेवाहरूको प्रमुख खाद्य स्रोत हो । व्यापारिक थलो, असन क्षेत्रका पुराना घरहरूमा गुड बनाएर बसेका परेवाहरूले पनि सोही कर्म गरिरहेका छन् ।
पानीको अभावमा फ्रुटी, नालीको पानी पिइरहेका छन् । परेवा लगायत बेवारिसे जीवजन्तुलाई दानापानी राख्दिने व्यक्तिहरू (भैंसेपाटीस्थित स्नेहाज् केयर लगायत) आक्कलझुक्कल नदेखिएका होइनन्, तर त्यस्ता व्यक्तिहरू औँलामा सीमित छन् ।
परेवाहरू कसैले ५० रुपैयाँ माना किनेर धर्म कमाउने नाममा छरेको मकै र गहुँ मात्रै खाइरहेका छैनन्, भुईँमा पोखिएका जङ्क फुर्ड र फोहोरको डङ्गुरमा चुच्चो जोतिरहेका छन् । खाद्य असुरक्षाका पनि परेवाको मृत्यु कारण बनिरहेको छ । ‘परेवालाई दाना खुवाउनुस्, धर्म कमाउनुस्’ भनिरहेकाहरूले बेच्न राखेको मकैको गुणस्तरीयताको सवाल उठेको छैन । अझ, भुईँमा झरेका अन्न-पानीको खाद्य गुणस्तरीयताको बारेमा कुनै मूल्याङ्कन उपलब्ध छैन ।
बांगेमुढामा क्षेत्रमा भरिया काम गर्ने उनी हरेक बिहान परेवालाई आहारा दिने गर्दछन्
खाद्य सङ्कटबाट मुक्ति पाउनकै लागि मान्छे धेरै भेला हुने ठाउँ मन्दिर, चैत्य, गुम्बा,हाटबजार र व्यापारिक थलो (सिभिल मल, असनका भित्री गल्ली) हरूमा परेवाहरू जम्मा भइरहेका हुन्छन् । ‘खानकै लागि दौडिरहेका मान्छेहरूको वरपर दौडिए भने आफ्नो पनि भेट भरिएला’ भन्ने मनोविज्ञान परेवाहरूमा परिसकेको देखिन्छ । जे होस्, परेवाहरूलाई खानाको स्रोत जुटाउन हम्मेहम्मे परिसकेको छ भने पानीका लागि छटपटिइरहेका छन् । यसपश्चात् वासस्थान, वातावरण र सन्तान उत्पादनका कुराहरूमा उनीहरूलाई सङ्कट परिरहेको छ ।
परेवालाई खाद्य सुरक्षा दिनु सही हो ?
यसको अर्को पाटो पनि छ, त्यो हो – परेवालाई खाद्य सुरक्षा दिनु सही हो कि होइन भन्ने ।
लकडाउनताका सार्वजनिक स्थलमा रहेका पशुपन्छीलाई दानापानी खुवाउनेहरूको चर्चा-परिचर्चामा लेखहरू लेखिएका थिए, जसको वातावरणकर्मीहरूले विरोधसमेत गरेका थिए । प्राणीशास्त्री प्रा. डा. मुकेश चालिसेका अनुसार ‘खासमा प्रकृतिमा रहने जनावरहरूलाई मानिसले खाना दिने नै होइन । उनीहरूलाई त प्राकृतिक रुपमा बाँच्न सिकाउनुपर्दछ ।’ पशुपतिका बाँदरहरू बाटोमा मानिस जस्तै मागिरहेका देखिनु ‘बाँदरको प्राकृतिक गुण’ नभएको उनको तर्क छ । बाँदरमाथि विद्यावारिधि गरेका चालिसेका अनुसार, मानिसले बानी लगाएकै कारण कैयौँ जनावर आश्रित बन्न पुगेका छन् । आश्रित बनाइनु वन्यजन्तु प्रेम होइन ।’
स्यम्म्भूमा देखिएका परेवाको जोडी, परेवाको जोडीलाई प्रेम जोडी भन्ने गरिन्छ
परेवाको हकमा पनि यो कुरा लागू हुन्छ । मानवले खाना उपलब्ध नगराइदिने (नपोख्ने, नफ्याल्ने, नछर्ने) हो भने परेवा र मानवबिच दुरी स्थापित हुन्छ कि ? तर, पङ्क्तिकारको आशय प्रासङ्गिक प्रयोजन मात्रै हो, जसको तल चर्चा हुनेछ ।
के परेवासँग दूरी आवश्यक छ ?
परेवाको बारेमा चिन्तित होइरहँदा हामीले मानव स्वास्थ्यबारे पनि बरोबर चिन्तित हुनु आवश्यक छ । परेवाहरू सकभर एकै स्थानमा बस्ने, त्यही मल गर्ने हुँदा परजीवीहरूले पनि हुर्कन पाउने भए । मानव जनसंख्या वरपर परेवाहरू हुनु भनेको माइट्स, फ्लीहरू र टिक्स जस्ता जीवाणुहरू पनि बढ्नु हो । परेवाको मलमा प्रायः हिस्टोप्लाज्मोसिस भनिने फङ्गल रोग हुन्छ, जसले मानिसमा श्वासप्रश्वासको समस्या निम्त्याउन सक्छ । यसैगरी, खाद्यस्रोतका लागि सार्वजनिक थलोमा जम्मा हुँदा आंशिक रुपमा पुरातात्त्विक स्थलहरूमा दक्खल पुगिरहेका रिसर्च पेपरहरू पनि सार्वजनिक भइरहेकै छन् । यसो भन्दैमा वसन्तपुरबाट ‘परेवा लखेट्छु’ भनेर अन्धाधुन्ध लागिपरेको वसन्तपुर हेरचाह अड्डाको बेहोरा हामीले देखाइहाल्न मिल्दैन । परेवासँग थोरै दूरी आवश्यक छ, तर, एकदमै टाँसिएर बस्नु मुनासिब छैन ।
परेवालाई आवश्यक प्राकृतिक वातावरण निर्माणतर्फ हामीले सोच्नुपर्ने हुन्छ किनभने तिनलाई घरबार विहीन र आहारविहार बिहिनको अवस्थामा हामीले नै पुर्याएको हौँ र, त्यसको दायित्वबोध हामीसँग हुनु नै पर्दछ । पहरामा बस्ने जंगली परेवाहरू मानव निर्मित खाद्य संकटका कारण घरपालुवा एवम् रैथाने हुन् आइपुगेका छन् । बढ्दो सहरीकरणसँगै मानिसको चाप सहरकेन्द्रित हुन् पुग्नु र मानिससँगसँगै परेवाहरू पनि शहरतर्फ बसाइँ सर्नु चिन्ताको विषय हो ।
परेवाबारे केही कुरा :
१. मानव पुर्खाहरू चट्टानी चट्टानमा बसोबास गर्दा परेवाहरू त्यतै रहन्थे । परेवा-मानव सम्बन्धको इतिहास ५ हजार वर्षभन्दा लामो रहेको पाइन्छ । परेवा-मानवले सँगसँगै खान्थे, सँगसँगै एकअर्काको दुःख-पीर बुझ्थे । दुवै जंगली थिए । विस्तारै मान्छेले समथर रोज्यो, परेवाहरू पनि घर-गाउँ हुँदै सहरमा भित्रिए । मनोरञ्जन, खेलका निमित्त परेवाहरूको नश्ल एकापसमा मिसाइए, जसले परेवाका प्वाँखहरूलाई अनेकन् रङ्ग दियो । आज हामी वरपर रहेका परेवाहरूको प्वाँखमा हामीले लगाइरहेका लुगाहरूको प्रभाव पनि परिरहेको हुनसक्छ । के थाहा, कुरकुरे खाने परेवाले हाम्रा लुगाहरू पनि नियालेका होलान् ?
२. नेपालमा परेवाहरू कहिलेदेखि छन् भन्ने कुरामा जानकारी प्राप्त गर्न सकिएको छैन । तर, काठमाडौंको हकमा भने, राणाहरूले सोखका रूपमा परेवा पाल्न र उडाउन थालेपछि परेवाहरू काठमाडौं उपत्यकाका सम्पदाहरूमा रहन थालेको कथ्य भेटिन्छ । यस कथ्यले परेवाहरू करिब १००-२०० वर्षदेखि सम्पदास्थलमा रहिबसेको कुरालाई सङ्केत गर्दछ । अर्कातिर काठमाडौंमा ‘परेवा मार्न पाइँदैन’ भन्ने मनोवैज्ञानिक त्रासले पनि राणाको हुकुमियतको पालना अहिलेसम्म भइरहेको हो कि भन्ने पनि बताउँछ ।
संकटा मन्दिरको छानामा देखिएका परेवाहरू
३. काठमाडौं बाहेकका जिल्लामा रहेका मन्दिरहरूमा पनि परेवाहरू चढाइन्छ, कतै काटिन्छ, कतै भाकलका नाम उडाइन्छ मात्रै । पङ्क्तिकारले ‘आइतबारे’ पूजाको नाममा आफ्नै कुलमा भाकलस्वरूप परेवा काटेको देखेको छ । ग्रहदशा काट्न, पूजा गर्न, मनोकांक्षा पूरा गर्न र भाकल गर्न नेपाली समाजले परेवाको प्रयोग गर्दछ । कसैले स्वर्गवास भएका आफन्तका नाममा पनि परेवालाई दाना खुवाउने गरेका छन् भने कसैकसैले परेवालाई मन्दिरमा जिउँदै छोडेर ‘काटमार’तर्फ आफ्नो पक्षधरता नरहेको देखाइरहेको भेटिन्छन् ।
४. परेवाहरूले आफ्नो गुँडको दिसा हटाउने प्रयास गर्दैनन् । यसकारण यिनका, गुँड बलियो एवम् माटो जस्तो हुन् पुग्छ,जो समयक्रमसँगै ठुलो पनि हुँदै जान्छ । अधिकांश परेवाहरू एकै स्थानलाई गुडको रुपमा प्रयोग गरिरहन्छन् तर, गुड छोडेर जान पनि उनीहरू स्वतन्त्र छन् । गुड छोडेर अन्यत्र बसाइँसराइ गर्ने परेवाको संख्या पनि छ । जंगली परेवाहरूलाई अनिच्छापूर्वक अन्यत्र बसाइसराइ गराएमा फेरी फर्किएर पुरानै थातथलोमा आउने गर्छन् । यो गुण मानिसमा पनि थियो, तर अब ‘गाउँ फर्क’ अभियान अलि सेलाइसकेको छ ।
६. परेवालाई दैनिक १ औंस (३० एमएल) पानी चाहिन्छ । तिनीहरू पानीको लागि हिउँको पनि प्रयोग गर्दछन् । चुच्चोले खोस्रेर पानी निकाल्ने परेवाहरूलाई नेपालमा हिमाल/लेकाली मलेवा भन्ने गरिन्छ । परेवाहरू आफ्नो वजनको १० प्रतिशत अर्थात् ३० ग्राम सुख्खा खाना खाने गर्दछन् ।
स्वयम्भू
अन्त्यमा, खाना, पानी र आश्रयको पर्याप्त पहुँच मानव र परेवा दुवैको खोजीको विषय हो । यी कुरामा मानव आधिपत्य स्थापना भएको बुझेर नै परेवाले मानिसलाई पछ्याउन् छाडेन । परेवालाई यसै बुद्धिमान पक्षी भनिएको होइन, उसलाई थाहा थियो ‘मान्छेको पछि लाग्यो भने खान, बस्नको चिन्ता हुनेछैन ।’ तर, यतिखेर परेवाहरूको अवस्था चिन्ताजनक छ । यसबारे सबैले सोच्न जरुरी छ ।
स्वयम्भू भगवान् पाउँ आसपास बाँसको चोयाले बुनेको पेरुङ्गोभित्र कोचारिएका परेवा, रङ्गीबिरङ्गी चराचुरुङ्गीहरूलाई एकसाथ झाम्टा मानिरहेका भुस्याहा कुकुरहरूको हालत पनि लगभग उस्तै छ । (यसबारे अर्को भागमा चर्चा गरिनेछ ।)
तस्बीर : राजु झल्लु प्रसाद
[हिमाल दर्पणमा २२ श्रावण २०७९, आईतवार १६:४९ गते प्रकाशित]