धादिङको गुफा पर्यटनको अग्रणी ‘साततले गुफा’ ओझेलमा

You are currently viewing धादिङको गुफा पर्यटनको अग्रणी ‘साततले गुफा’ ओझेलमा
  • राजेन्द्र भट्ट

जात्रा, पर्व, मन्दिरका अलावा झरना, खोला, गुफा लगायत प्रकृतिको अधिक सुन्दर रचनाहरूले पर्यटकहरूलाई बेसी लोभ्याउँछ । गुफा लगायतका प्राकृतिक बनावट वा भूसंरचना पर्यटकीय केन्द्र बन्ने गरेका उदाहरणहरू नेपालमै प्रशस्त भेटिन्छन् । 

हाम्रा सभ्यता, संस्कृति र जीवनसँग जोडिएका गुफाहरू सदैव आकर्षण र साहसिक प्रतीत हुन्छन् । यस्तै एउटा गुफा पछिल्लो समय धादिङस्थित सिद्धलेक गाउँपालिका वडा नम्बर ७ मा भेटिएको छ । गाउँपालिकास्थित भालेडाँडाको जङ्गलमा अवस्थित सात वटा तलामा विभाजित यस गुफाको उचाइ करिब १०० मिटर र चौडाइ २५ मिटर हाराहारीको रहेको छ ।

तर साततले गुफा प्रचारप्रसारको अभावमा ओझेलमा परेको छ । धादिङका अलावा सिङ्गै राष्ट्रले गुफा पर्यटनतर्फ गौरव गर्नुपर्ने एउटा इतिहास बोकेको धार्मिक तथा पर्यटकीय स्थान साततले गुफा यसको मौलिकता र महत्वको हिसाबले अपेक्षाकृत चर्चामा आउन सकेको छैन ।

गुफा प्रवेश बिन्दु साँघुरो भएतापनि करिब ३ मिटर भित्र गइसकेपछि गुफा फराक र उज्यालो प्रतीत हुन्छ ।  निष्पट्ट अँध्यारोमा पनि गुफाभित्र झिलिमिली हुने ढुङ्गाहरू रहेको स्थानीय बताउँछन् । “आकाशजस्तो टलल टल्किनछ’ गुफासम्म आउने सिँढी निर्माण कार्य सरिक एक स्थानीय भन्छन् ।   गुफा भित्र सयौँ चमेराहरू पनि बस्दै आएका छन् । 

हेर्दा आश्चर्य लाग्ने यस गुफा भित्र विभिन्न प्रकारका प्राकृतिक मूर्तिका आकृतिहरू देखिन्छन् । गुफा भित्र भगवान्का आकृतिहरू देखिनुका साथै विभिन्न जनावरका आकृतिहरू पनि अङ्कित रहेका छन् । यसकारण भन्ने गरिन्छ कि गुफा भौगर्भिक इतिहास बताउने प्रमुख कडी हो ।  गुफामा प्राकृतिक अवस्थामा निर्मित यस्ता आकृतिहरूले गुफाको प्राचीनतालाई पुष्टि गरेकाले यसबारेमा थप भौगर्भिक अध्ययन-अनुसन्धान आवश्यक छ । 

गुफा के हो ? कसरी निर्माण हुन्छ ?

हाम्रो देशका विभिन्न भागमा प्राकृतिक गुफा छन् । तीमध्ये कतिपय गुफा सर्वसाधारणले हेर्न मिल्ने गरी व्यवस्थित गरिएका छन् भने कतिपय ठाउँमा हाम्रो ध्यान पुग्न नै बाँकी छ । जे जति व्यवस्थित छन्, तिनीहरू कुनै न कुनै प्रकारले सांस्कृतिक र धार्मिक आस्थासँग गाँसिएका छन् । सोही अनुरूप तिनीहरूको देखभाल भइरहेको छ । तर प्राकृतिक गुफाहरूलाई हामीले बहुआयामिक प्राकृतिक सम्पदाको रूपमा विकास गर्नुपर्नेमा त्यसो भइरहेको छैन । गुफा आफैँमा भू–विज्ञान बुझ्ने एउटा सुन्दर प्राकृतिक सङ्ग्रहालय भएको हुनाले यसको व्यवस्थापन शैक्षिक पर्यटकीय दृष्टिकोणले पनि गरिनुपर्छ । यी गुफा कुनै एउटा कालखण्डमा त्यो ठाउँमा भएको भौगर्भिक वातावरणका ठूला प्रमाण हुन् । गुफाहरू प्रायः चुनढुङ्गा भएको ठाउँमा बनेका हुन्छन् ।

चुनढुङ्गामा ‘क्याल्साइट’ नाम गरेको खनिज हुन्छ, जो अम्लीय पानीमा बिस्तारै घुल्छ र पानीसँगै बगेर जान्छ । यसरी चुनढुङ्गाको सानो अंशलाई पानीले (खासगरेर भूमिगत जलले) आफैँसँग विलीन बनाएर लाँदा त्यहाँ बिस्तारै खाल्टो पर्न थाल्छ । यो क्रम लाखौँ–करोडौँ वर्ष चलेपछि त्यहाँ गुफा बन्छ । भूमिगत जल बग्ने बाटोमा बन्ने हुनाले गुफा पनि बगेको खोलाको एउटा भाग जस्तो देखिन्छ । कतिपय ठाउँमा अहिले पनि गुफाको सिलिङबाट भूमिगत जलका थोपा झरिरहेका भेटिन्छन् । नियालेर हेर्ने हो भने त्यो पानीको थोपा जहाँ खस्छ त्यहाँ भर्खर उम्रिएको बाँसको तामा जस्तो टुसो पलाएको देखिन्छ । पानीको थोपा चुहिने सिलिङको ठाउँलाई नियालेर हेर्‍यो भने गाईको थुन आकारको आकृति झुन्डिरहेको देखिन्छ । यस साततले गुफामा पनि गाईको थुन आकारका आकृतिहरू प्रशस्त मात्रामा झुन्डिरहेको पाइन्छ ।

पानीको थोपा कतै गाईको दूध मिसिएको जस्तो सेतो हुन्छ भने कतिपय ठाउँमा कञ्चन हुन्छ । भूमिगत जलले ‘क्याल्साइट’लाई आफूमा घोलेर ल्याउँदा पानी दूध मिसिएको जस्तो सेतो देखिएको हो । यो बाहेक, गुफामा अहिले पनि अरू भौगर्भिक प्रक्रिया चलिरहेका हुनसक्छन् या विगतमा क्रियाशील भएका प्रक्रियाले बनाएका आकर्षक आकृति हुन सक्छन् । त्यसैले विज्ञानका अध्येताका लागि र बालबालिकालाई विज्ञानमा चासो बढाउनका लागि गुफा निकै आकर्षणको विषय हो । तर हामीले गुफालाई अहिलेसम्म पनि वैज्ञानिक सम्पदाका रूपमा व्यवस्थापन गरी पर्यटकीय गन्तव्य स्थलको रूपमा विकास गर्ने सोच बनाएका नै छैनौँ। यो काम गर्न अब ढिलो गर्नुहुँदैन ।

हरेक गुफाको निश्चित आयु हुन्छ । गुफाको आयु अब कति होला ? गुफालाई बचाउन र गुफाको आयु लम्ब्याउन के–के गर्नुपर्ला ? गुफाको वास्तविकता पत्ता लगाउनका लागि गुफाको भौगर्भिक अध्ययन आवश्यक देखिन्छ । देशका अन्य भूभागमा पछिल्लो समय आएर मानवद्वारा पत्ता लागेको गुफामा अन्धाधुन्ध सिँढी निर्माण एवम् भौतिक पूर्वाधारहरू निर्माण गरिँदा गुफा चिरिने/भासिने लगायतका समस्याहरू देखिएका छन् । तसर्थ, हालसालै चर्चामा आई निर्माण कार्य थालिएको यस साततले गुफाले देशका अन्य गुफाको नियति नभोगोस् भनी पहिल्यै सचेतता अपनाउनु बुद्धिमत्तापूर्ण हुनेछ । 

पर्यटकीय दृष्टिकोणले महत्त्वपूर्ण यस गुफा संरक्षणका लागि ‘साततले गुफा संरक्षण’ कार्यक्रम अन्तर्गत भक्त बहादुर मगरको अध्यक्षतामा कुल लागत दश लाखको काम थालिएको छ, जुन स्वागतयोग्य कुरा हो । जसअनुरूप गुफा प्रवेशद्वारसम्म सिँढी निर्माणको काम अन्तिम चरणमा पुगेको छ । 

गुफामा मोटरबाटो, बिजुली बत्ती, खानेपानी आदीको व्यवस्था नहुँदा आन्तरिक तथा बाह्य पर्यटकहरूको गन्तव्य बन्न सकेको छैन । धार्मिक एवम् ऐतिहासिकताका साथै समयक्रममा आएर पर्यटकीय दृष्टिबाट समेत अत्यन्त महत्त्वपूर्ण स्थानको रूपमा परिचय साट्न आतुर यस गुफाको सबलीकरणका लागि थप कदमहरू चाल्नु आवश्यक देखिन्छ । 

नेपालजस्तो मुलुकले पर्यटन क्षेत्रलाई अब झन् महत्त्व दिएर अघि बढ्नुपर्ने निर्विवाद विषय हो । यस तथ्यको जगमा उभिएर भन्नुपर्दा यस साततले गुफालाई राज्य तहबाटै (केन्द्र वा प्रदेश सरकार) उपेक्षाको आहालबाट बाहिर निकाल्ने सत्प्रयत्न गरिनु पर्छ । यसो गर्दा यस महत्त्वपूर्ण स्थानविशेषको पहिचान चौतर्फी फैलिनुका अलावा पर्यटक भित्र्याएर आर्थिक उपार्जनको स्रोतसमेत खुल्दै जाने अपेक्षा गर्न सकिन्छ ।

गुफा कसरी पुग्ने ? 

पृथ्वी राजमार्ग अन्तर्गतको नवनिर्मित घाटबेसीको मोटर पुल काटेर पिपलटार हुँदै गाडीबाट  २० मिनेटको छोटो समयमा गुफा परिसर पुग्न सकिन्छ । गुफा तल रहेको चौतारामा गाडी बिसाई करिब पन्ध्र मिनेटको सिँढीको बाटो पैदल हिँड्ने हो भने गुफाको प्रवेशद्वारमा पुग्न सकिन्छ ।

अन्त्यमा,

भूगर्भशास्त्री या भौगर्भिक इन्जिनियरको सल्लाह र प्रत्यक्ष रेखदेखमा सात तले गुफालाई केन्द्रित गरि भौगर्भिक पर्यटकीय पदमार्गको विकास गरेको खण्डमा भौगर्भिक महìवका दृष्टिकोणले उपयुक्त पर्यटकीय स्थल साततले गुफाले पर्यटनमार्फत समग्र पालिका र देशकै भलो गर्ने निश्चित छ ।

अस्तु ! 

स्रोतसामग्री: स्थलगत भ्रमण, स्थानीयसँग अन्तर्क्रिया एवं गुफाको निर्माण पक्षका बारेमा भूगर्भका विद्यार्थी आश्विन दुवाडी, भूगर्भशास्त्री प्रा.डा. तारानिधि भट्टराई आदिसँग अन्तरक्रिया !

Leave a Reply