महिनावारी बहस: निकै समय पछिसम्म पनि मैले प्याड प्रयोग गरिनँ- विना थिङ तामाङ

You are currently viewing महिनावारी बहस: निकै समय पछिसम्म पनि मैले प्याड प्रयोग गरिनँ- विना थिङ तामाङ
  • महिनावारी बहस दियोपोस्ट र भिजन न्यूज नेपालको स्तम्भ हो ।

महिनावारी अर्थात् रजस्वला (नेपालमा प्रचलनमा रहेको शब्दहरू: नछुने हुनु, परा सर्नु, छुई हुनु इत्यादि) महिलाहरूमा हुने प्राकृतिक प्रक्रिया हो । पाठेघर र अण्डाशय लिएर जन्मिएका व्यक्तिहरु अपवादमा बाहेक सबै महिनावारी हुन्छन्, जुन अनिवार्य जैविक प्रक्रिया हो । चिम्पाञ्जीको उदयसँगै वा चार खर्ब वर्षदेखि महिनावारी विद्यमान भएको रेकर्डमा देखिन्छ ।

सामान्यतया स्वस्थ बालिका १० वर्ष पुगेपछि कुनै पनि समयमा रजस्वला हुन्छिन् । बालिका १० देखि १५ वर्ष हुँदा पहिलो पटक रजस्वला हुनु स्वास्थ्यको दृष्टिकोणमा राम्रो मानिन्छ । नेपालमा धार्मिक, सामाजिक कारणले गर्दा महिनावारिको खासै कुराकानी हुँदैन । शहर वा विकसित देशमा पनि महिनावारी विभेद फरक नाम, स्वरुप वा बहानामा अभ्यासमा छन् । कतिपय ठाउँमा सजिलै देखिन्छ भने कतिपय ठाउँमा देखिँदैन ।अन्य सामाजिक अवस्थाका कारण तरिकाहरु फरक होलान् । आयाम फरक हुनसक्छन् । धेरै थोरै होलान् । तर, केही न केही विभेद जहाँसुकै छ । पुरुष मात्रै हैन नेपालमा स्वयम महिलाहरू पनि यस विषयमा खुलेर बोलेको एकदमै कम पाइन्छ ।

रजस्वला हुँदा हुने शारीरिक दुखाइ, मानसिक तनाव र हार्मोन परिवर्तनहरू महिलाको स्वास्थ्यसँग सम्बन्धित विषय हो । महिलाहरूको प्रत्यक्ष स्वास्थ्यसँग सम्बन्ध राख्ने यस विषयमा खुलेर कुरा नहुँदा महिलाहरूले धेरै प्रकारको शारीरिक र मानसिक समस्याहरू भोग्नु परिरहेको छ । महिनावारिकै कारण लज्जित हुनुपर्ने, जागिरमा खटपट हुने, सम्बन्धमा दरार आउने, अमर्यादित व्यवहार नहुने, हीनताबोध हुने आदि अवस्था निस्तेज हुनुपर्छ । त्यसैले मर्यादित महिनावारी नीतिगत तहमा आई मूलप्रवाहीकरण हुनु आजको आवश्यकता हो ।

यहि कुरालाई मध्यनजर गर्दै भिजन न्यूज नेपालले आफ्नो नियमित साप्तहिक स्तम्भ ‘महिनावारी बहस’ पुन: सुरु गरेको छ । प्रस्तुत छ, भिजन न्यूज नेपालका लागि राजु झल्लु प्रसादले तयार पारेको सामाग्री:

बिना थिङसँग ‘महिनावारीका कुरा’ :

महिलाहरू महिनावारी हुँदा धेरै खर्च हुने देशको सूचीमा नेपाल पाकिस्तानपछि दोस्रो स्थानमा रहेको बिबिसीले बताइसकेको थियो। यस्तो बेला सरकारले प्याडको मूल्य अझ बढायो । सरकारको यस नालायकीपनलाई कसरी हेरिरहनु भएको छ?

अहिले पुनः प्रयोग गर्न सकिने प्याड पनि उपलब्ध छ । देशभित्रै उत्पादन हुन्छ । त्यो प्रयोग गर्न सके आर्थिक मारमा पनि परिँदैन । विकल्पहरू छन् । विद्यालय उमेरका किशोरीहरूलाई पनि स्थानीय सरकारले यस्तै प्याड उपलब्ध गराउँदा हुन्थ्यो।

जहाँसम्म सबैलाई निःशुल्क उपलब्ध गराउनुपर्छ भन्ने आवाज पनि उठिरहेको छ, त्यसमा मेरो अलिक फरक मत छ । निःशुल्क भन्दा पनि महिलाहरूलाई प्याड खरिद गर्न सक्ने हैसियतमा पुर्‍याउनुपर्छ भन्छु । महिलालाई आत्मनिर्भर बनाउन सके महिनाको दुई प्याकेट प्याड खरिद गरेरै प्रयोग गर्नेछन् ।

सरकारको नालायकीपनबारे बोलेर शब्दको वजन किन कम गर्नु भन्ने लाग्छ ।

अध्ययनअनुसार, ‘नेपाली महिलाहरूले आफ्नो जीवनमा झन्डै २,१०,५६५ रुपैयाँ महिनावारी हुँदा खर्च गर्छन्।’ तपाईँको आफ्नो भोगाई के छ? पेनकिलर ट्याब्लेट (यदि प्रयोग गर्नुहुन्छ भने), प्याड लगायतका सामग्रीहरू प्रयोग गर्दा तपाईँको महिनावारी खर्च कति पुग्न जान्छ ?

प्याड आएको निकै समय पछिसम्म पनि मैले प्याड प्रयोग गरिनँ । घरेलु विधिमै निर्भर रहेँ । धनाढ्य अथवा सहरी युवतीहरूले मात्र प्रयोग गर्ने जिनिस हो भन्ने धारणा थियो । पछि–पछि एकदमै सस्तो प्याड किनेर प्रयोग गर्न थालेँ । तर सस्तो प्याड प्रभावकारी हुन्थेन । कमसल कच्चा पदार्थ प्रयोग गरेर बनाइने भएकाले  छालामा एलर्जी उत्पन्न गर्थ्यो । आफ्नै आम्दानी हुन थालेपछि स्तरीय प्याड खरिद गर्न थालेँ । हाल मासिक २५० छुट्टाउँछु । अहिलेसम्म पेन किलर प्रयोग गर्नुपरेको छैन ।

प्याड महँगो भएपश्चात् प्रयोग कम हुने भयो नि, होइन ? स्वास्थ्यको दृष्टिकोणमा कमसल विधि अपनाइनु राष्ट्रकै लागि घाटाको कुरा होइन र?

– महिनावारी नियमित प्रक्रिया हो । प्याड अत्यावश्यक हुन्छ । महँगो भनेर पन्छाउन पनि मिलेन । बरु कमसल नै भए पनि प्रयोग त गरिन्छ । त्यसले पार्ने असर त छँदै छ । महिलाको स्वास्थ्य राज्यको सरोकारको विषय भएको भए यतातिर गम्भीर ध्यानाकर्षण हुन्थ्यो नि ! त्यस्तो त भइरहेको छैन ।  सस्तो महँगो जुन प्रयोग गरेपनि त्यसबाट कर त उठाउँछ नै । कसरी घाटा हुनु राष्ट्रलाई ?

महिनावारीसँग जोडिएको मानसिक चिन्ता, हैरानी र उत्पीडनका बारेमा पाठ्यपुस्तक, सम्बन्धित निकायहरूको बेवास्ता के-कति कारण होला?

– पाठ्यक्रम विकास केन्द्रमा संलग्नहरू प्राय पुरुष नै छन् । जो व्यक्तिले कहिल्यै महिनावारी हुनुको अनुभव लिन पाएकै छैन (अभागीहरू)। तिनीहरूले त्यसको हैरानी, मानसिक चिन्ताबारे कसरी सोचुन् ?

भोगाई, छटपटीले नै मानिसलाई खोजी गर्न सिकाउँछ । खोजीले आविष्कार हुने हो । त्यो भौतिक वा वैचारिक दुवै हुन सक्छ । अर्को कुरा जुन राष्ट्रमा महिलालाई दोस्रो दर्जामा राखिएको छ, त्यहाँ उनीहरूको स्वास्थ्यलाई यति मसिनोसँग सम्बोधन गर्ने खप्परहरू उत्पादन नहुनु नौलो होइन ।

रगत लाज, भेदभाव, अपवित्र फोहोर, प्रदूषित रगत जस्ता भाष्यहरूको पछाडि के-कस्ता अर्थहरू लुकेको भेट्नुहुन्छ?

–हामी विरोधाभासमा बाँचिरहेका छौँ । यो राज्यमा बलि दिइएका पशुका रगत पवित्र हुन्छ । देव प्रतिमामा रगत छर्केर भक्ति प्रदर्शन गरिन्छ ।  युद्धमा वीरताको प्रतीकको रूपमा रगतको टिका लगाउँछन् । तर स्त्रीको योनीबाट बग्ने रगत अपवित्र हुन्छ । योनीबाट निस्केकै कारण अपवित्र हुने भए यो संसारमा मान्छे जत्तिको अपवित्र को होला ?

महिनावारीको विषयमा नेपालमा भएका बहसहरू कत्तिको प्रभावकारी देख्नुहुन्छ ?

–खासै बहस भएको देख्दिन । जति पनि भएका छन् ती निष्कर्षमा पुगेको छैन । फेरी यो कहिल्यै टुङ्गिने पनि होइन । जबसम्म अपमानको भाष्यले थिलथिलो महिनावारी नियमित र सामान्य प्रक्रिया हो भन्ने स्वीकारिदैंन तबसम्म जत्ति बहस भएपनि त्यसले निर्क्योल दिन सक्दैन ।

महिनावारीको पहिलो अनुभव कस्तो थियो र? कति वर्षको हुनुहुन्थ्यो र? महिनावारी भएको हो कि होइन भनेर झुक्किनु पनि भयो कि?

– जनजाति परिवारमा महिनावारीलाई ठुलो घटनाको रूपमा लिइदैंन । हिन्दु समुदायमा जस्तो पहिलो रजस्वला हुँदा लुक्न पर्ने, घाम हेर्न नहुने, पुरुषलाई छुन नहुने भन्ने भाष्यले थिचिदैंन । कुनै विशेष घटना नभएकैले मलाई ठ्याक्कै यही समय पहिलो रजस्वलाको थियो भन्ने याद छैन । दश-बाह्र वर्षकी थिएँ हुँला । आमा, दिदीहरूको महिनावारी भएको थाहा पाउँथेँ । त्यसैले म झुक्किनँ ।

तपाईँमा ‘प्रि–मेन्सट्रुअल सिन्ड्रम (पेट, कम्मर दुख्नेदेखि मुड खराब हुने लगायत समस्या)’ देखिन्छ कि देखिँदैन ? त्यसलाई कसरी ट्याकल गर्नुहुन्छ?

–यस्तो चैँ किशोरवयमा बढी हुन्छ । पिरियडको एकाध दिन अगावैदेखि मुड स्वीङ हुन्थ्यो । तीन दिनसम्म अत्यधिक रक्तस्राव हुनाले म स्कुल जान सक्दिनँ थिएँ । मनतातो पानी प्रशस्त पिउँथेँ । तातोमा पल्टिन्थेँ । त्यसले आराम दिलाउँथ्यो । अहिलेजस्तो पेनकिलर प्रयोग गर्ने चलन थिएन । थाहा पनि थिएन ।

महिला कर्मचारीको हकमा ‘महिनावारी हुँदा बिदा चाहिन्छ कि चाहिँदैन’ भन्ने बहस पनि सुरु भएको छ, तपाईँको मत ?

–महिनावारीको पहिलो दिन असहज हुन्छ नै । तर त्यति कमजोर पनि होइन कि बिदा नै लिन परोस् । सरसफाई भने अत्यावश्यक छ । त्यसको लागि महिलाले काम गर्ने क्षेत्र महिलामैत्री हुनुपर्छ । प्याड व्यवस्थापन, पानीको उपलब्धतामा ध्यान दिनुपर्छ ।

महिनावारीलाई गौरवपूर्ण रूपमा व्यवस्थापन गर्न के गर्नुपर्ला?

– सिकाई घरबाट सुरु हुनुपर्छ । हाम्रा छोराहरूलाई उसको दिदीबहिनीको महिनावारीबारे जानकारी दिनुपर्छ । प्याड के हो? किन प्रयोग गरिन्छ ? भन्ने बताउनु पर्छ । महिनावारी हुँदाको मानसिक तनावबारे उसले दिदीबहिनीबाट थाहा पाउनुपर्छ । यो सामान्य प्रक्रिया हो । यो अपमानको विषय होइन भन्ने थाहा दिनुपर्छ । अति सामान्य ढङ्गबाट यसलाई लिन सिकाए उसले भोलिका दिनमा अन्य महिलासँग गर्ने व्यवहारमा भेदभाव देखाउँदैन ।

विद्यालयमा प्रजनन स्वास्थ्य पढाउँदा अझै पनि पाठ स्कीप गर्ने चलन छ  । प्रजनन प्रक्रियाबारे शिक्षकहरूले कक्षामा सामूहिक छलफल चलाउन पर्छ । यो संसारको नियमितता महिलाको सानो पाठेघरबाट सुरु हुन्छ भन्ने बोध गराउन सके महिनावारीलाई गौरवको रूपमा लिनेछन् ।

यो पनि हेर्नुहोस्;
सुषमा तिमल्सिनासँग ‘महिनावारीका कुरा’
दीपिका खतिवडासँग ‘महिनावारीका कुरा’

(प्रकाशन मिति: २०७८, २१ आश्विन बिहीबार २१:३५, भिजन न्यूज नेपाल)

Leave a Reply