नढाँटी भन्दा नेपाली किताब नपढेको निक्कै भयो- नवीन तिवारी

You are currently viewing नढाँटी भन्दा नेपाली किताब नपढेको निक्कै भयो- नवीन तिवारी

नवीन तिवारी पुस्तक, चिन्तन, फिल्म र सङ्गीतको लसपसमा रमिरहन्छन्। प्राध्यापन पेशा अंगालेका तिवारीको रुची रुचि राजनीतिक दर्शन, विश्व इतिहास र राजनीतिक अर्थशास्त्रमा छ।

प्रस्तुत छ, भिजन न्यूज नेपालको शनिबासरीय अंकका लागि राजु झल्लु प्रसादले तयार पारेको सामाग्री;

नवीन तिवारीसँग पुस्तक संवाद:

‘तपाईँलाई पढ्ने मुड, लेख्ने मुड कति बेला आउँछ ? कस्तो आसनमा पढ्नुहुन्छ ? दिनको कति घण्टा पढ्नुहुन्छ ?’ यी रुटिङ प्रश्नहरू भए, आवश्यक भएनन् ! तर यी कुराहरू चाहिँ सोध्छु- तपाईंको लागि पुस्तक के हो ? पुस्तकसँग तपाईंको साक्षात्कार कसरी हुन् पुग्यो ? 

पुस्तकसँगको मेरो सम्बन्ध फरक तरिकाले गाँसिन आयो। जिन्दगीको एउटा मोड थियो- जहाँ म एक्लै नै भए। न त साथी, न त अन्य कोही। समयक्रममा पुस्तकसँग मित्रता हुन पुग्यो। त्यही नै सुरुवात थियो पढ्ने यात्राको। फुर्सदको औसत समय म पढेरै बिताउँछु। कुदिरहेको गाडीमा होस् वा कुनै चिया पसलमा, खाली भयो कि पढ्ने गर्छु। अक्सर केही किताब झोलामा बोकेर हिँड्ने गरेको छु। जहाँ मिल्यो त्यही पढ्ने गर्छु।

तपाईँले खोजेका किताबहरू कत्तिको भेटिएका छन् ? तपाईँ कस्ता किताबहरू खोज्दै हुनुहुन्छ ? पुस्तक छनौटको आधार केलाई बनाउनुहुन्छ ? पढेकामध्ये सबैभन्दा मन परेका पुस्तकहरू? 

मैले खोजेका केही किताब बजारमा भेट्छु, केही अहिलेसम्म भेटेको छैन। मेरो रुचि राजनीतिक दर्शन, विश्व इतिहास र राजनीतिक अर्थशास्त्रमा छ। कार्ल मार्क्स, मिखाइल बाकुनिन, पिटर क्रोपोट्किन, रुडोल्फ रकर, नोम चोम्स्की लगायतका दार्शनिकबाट म प्रेरित छु। उनीहरुको पुस्तक प्राय: पढ्ने खोज्ने गर्छु। केही भेटेर पढिसकें, केही पढ्दै छु- केही भेटेकै छैन।

पुस्तक खोज्दा पहिला त कसले लेखेको हेर्छु। केही नयाँ किताब देखे भने जुन मेरो रुचि अनुसारको छ, म इन्टरनेटमा त्यसको बारेमा खोज्ने गर्छु। कति केसमा उज्ज्वल प्रसाईँ, युग पाठक, यादव देवकोटा लगायतका दाइहरूसँग सोधपुछ गर्छु। उहाँहरूले कति किताब पढ्न भनेर सिफारिस गर्नुहुन्छ। ती किताब पनि खोज्ने गर्छु र पढ्छु। मैले पढेका किताबमध्ये धेरै किताब छन्- जसलाई म औधी मन पराउँछु। मैले यही किताब सबैभन्दा मन पर्छ भनेर छुट्याउन गाह्रो पर्ला। तर नामै लिँदा नोम चोम्स्कीको ‘हेजिमोनी अर सर्भाइभल’, नाओमि क्लेनको ‘द शक डक्टृन’, ड्यानिल गुरिनको ‘अनर्किज्म’, हावर्ड जिनको ‘अ पिपल्स हिस्ट्री अफ द युनिटेड स्टेट्स’ लगायत छन्। यी पुस्तक मनपर्नुको एउटा कारण के हो भने यिनीहरूले मलाई संस्कार हेर्न र बुझ्न सिकाएजस्तो लाग्छ। अन्य पनि निक्कै पुस्तक छन्।

‘पुस्तक पढ्नेहरू ज्यादा सहानुभूति पाल्छन्’ अरे ! हो ? सँगै, ‘हाम्रो पठन रिङरोड ‘पैदल यात्रुमैत्री’ भएनन्’ भनिन्छ, हो र ?

यो प्रश्न अलिक जटिल नै लाग्छ। नेपालमा पठन संस्कृति भर्खरै सुरु भएकाले यसमा अहिले नै बोलिहाल्नु अलिक हतार होला। किताब असाध्यै महँगो छ नेपालमा, त्यही भएर पढ्ने इच्छा भएकालाई अलि सकस नै पर्छ। साथै गतिला पुस्तकालय पनि थोरै भएकाले पनि सबैको पहुँचमा पुस्तक छैनन्।

सभ्यता, साहित्य, इतिहास, दर्शन, भूगोल, संस्कृतिका के-कस्ता किताबहरू छन् तपाईँकहाँ ?

मलाई मन पर्ने विधा गैर आख्यान हो। विशेषगरी इतिहास, राजनीतिक दर्शन र अर्थशास्त्र। मार्क्सवाद र अराजकतावादमा मेरो विशेष रुचि छ। मैले केही किताब भेला परेको छु। केही सहजै बजारमा पाइन्छौ केही भेट्न निक्कै साह्रो। विदेशमा बस्ने केही साथीहरूले यता नपाइने किताब उपहार पनि पठाउनु भएको छ।

तपाइँ किताब किन्न कता पुग्नुहुन्छ ?
प्राय: म किताब लिनलाई एजुकेसनल बुक हाउस, मण्डला बुक पइन्ट र ठमेलको सगुन बूक्समा जाने गर्छु।

तपाईँसँग भएका दुर्लभ किताबहरू ? 
मसँग केही किताब छन् जुन अहिलेसम्म बजारमा मैले देखेको छैन- जस्तो कि मिखाइल बाकुनिनको ‘गड एन्ड द स्टेट’, विल्हेल्म भोन हम्बोल्टको ‘द लिमिट्स ओफ द स्टेट एक्सन’, मिल्टन फ्रायडम्यानको ‘क्यापिटलिज्म एन्ड फृडम’ लगायत ।

परीक्षामुखी शिक्षा प्रणालीले गर्दा पाठ्यपुस्तकमा सीमित भएका विद्यार्थीहरूलाई कस्ता पुस्तकहरू सिफारिस गर्नुहुन्छ ?या सत्तामुखी नेता/कार्यकर्ता/प्राध्यापकहरूलाई कस्ता पुस्तकहरू पढ्न सुझाव दिनुहुन्छ ?

यसै यो पुस्तक पढ्नु भन्न साह्रै पर्छ। तर मेरो भनाई एउटै रहन्छ जसलाई जेमा रुचि छ, त्यही अनुसार जाने हो। तर यी सबतिर लागिरहँदा हामीले समाज कस्तो छ र कता जाँदै छ भन्ने बारेमा पनि अध्ययन गर्नै पर्छ। समाजको नागरिक भैसकेपछी राम्रो र नराम्रो दुवैको भागिदार हामी नै बन्छौँ। तसर्थ समाजबारे अध्ययन गर्न छाड्नुहुन्न।

हाम्रो शैक्षिक संस्कारको मोडेलबारे तपाईँलाई बोल्ने मुड छ ? नेपाली छापाहरू, नेपाली लेखकहरू, नेपाली पाठकहरू के छाप्दै, लेख्दै र पढ्दै छन् आजभोलि ? हामी पढ्ने मामलामा कता छौँ ? साथै,  उनीहरूको अन्तरसम्बन्ध कस्तो पाउनुपर्छ ? कस्तो हुनु पर्ने थियो ? 

हाम्रो शिक्षा पद्धति त धेरै पछाडि छ जस्तो लाग्छ। विश्वमा निक्कै राम्रो शिक्षा पद्धतिको विकास हुँदै गर्दा हाम्रोमा तुलनात्मक रूपमा साह्रै परिवर्तन भएको छ। उदाहरणका लागि फिनल्यान्डको शिक्षा पद्धति हेर्न सकिन्छ। जसको शिक्षा सस्न्कारको सबैभन्दा गतिलो भनिन्छ। नेपालमा लेखन पठन भर्खरैमा मात्र गति लिएजस्तो देखिन्छ। तसर्थ लेखपढ गर्ने जो जति हुनुहुन्छ उहाँहरूले आफ्नो क्षेत्रबाट योगदान त गर्दै नै हुनुहुन्छ। तीव्रता लिन अझै केही समय लाग्छ। स्कुलमा प्राय परीक्षाका दृष्टिकोणले विद्यार्थीलाई पढ्न लगाइन्छ जुन गलत अभ्यास हो जस्तो लाग्छ। पढ्नु भनेको रटान मार्नु मात्रै हैन। रटेर परीक्षा त पास होला तर त्यसले दीर्घकालीन नतिजा गतिलो दिँदैन। कम्तीमा शिक्षकले विद्यार्थीलाई उत्प्रेरित गरेको खण्डमा उत्तर अलिक फरक आउला।

पछिल्ला किताबहरूलाई केवल ‘लेखकको एकाङ्गी अनुभूतिमा सीमित भएको’ आरोप लागिरहेको छ ! तपाईंको मत ? 

यो प्रश्न नेपाली पुस्तकलाई लिएर सोध्नुभएको हो। मैले नढाटी भन्दा नेपाली किताब नपढेको निक्कै भयो। पछिल्लो चरणमा मैले पढेको किताब  सुजित मैनालीको ‘सती’ हो। तसर्थ यस विषयमा म बोल्न सक्दिन।

‘लेख्नका लागि पढ्नुपर्छ’ या  ‘पढ्नेले लेख्छन्’ भन्ने गरिन्छ ! अझ, ‘लेखन भनेको अध्ययनको सह उत्पादन हो’ भन्ने भाष्य छ ! तपाईंको मत ? तपाईँ किन लेख्नुहुन्छ ? तपाईँ किन पढ्नुहुन्छ ?

पढ्नका लागि लेख्न वा लेख्नका लागि पढ्न मात्रै हैन। समाज बुझ्न र बदल्न पनि पढ्नै पर्छ। समाजमा रहेका सबैको क्षमता एक समान हुन्न तर एउटै समाजमा बसेपछि सबैले केही देन दिनुपर्छ जस्तो लाग्छ। त्यसको पहिलो चरण समाज अध्ययन हो, तसर्थ पढ्नुपर्छ। मेरो हकमा भन्नुपर्दा मैले लेख्न वा पढ्नु एउटा अध्ययनको क्रममा बुझ्दै जाँदाको अनुभूति हो। पठनको संसार अनन्त छ। मेरो आफ्नो व्यक्तिगत केही अनुभव छन्, जसले गर्दा पढ्ने बनायो। जब लत पर्‍यो- पढ्न-लेख्न रमाइलो लाग्न थाल्यो अनि म यतैतिर होमिन पुगे।

तपाईँ पढिरहने मान्छे ! कहिलेकाहीँ ‘कागजको नोक्सान गरे यार’ भन्ने पनि लाग्दो हो ! कुनै किताब ‘चिनी नपुगेको सर्बत’ जस्तो किन बन्दो रहेछ ? लेखकहरूले मन दुखाए दुखाउन्, केही यस्ता किताबका नाम लिनुहोस् न ! 

केही किताबहरू चाहिँ त्यस्ता खाले पनि भेटेको छु। तर सबै विदेशी लेखक भएका कारणले उनीहरूलाई मैले भन्ने मौका पाउँदिन। र उनीहरुको मन दुखाई पनि थाहा हुन्न। तर केही गतिला किताब छन् भने चाहिँ म लेखकलाई स्वयं सन्देश पठाउँछु। यही सिलसिलामा केही लेखकहरूसँग अन्तर्वार्ता नै लिन पुगे- जस्तो कि नोम चोम्स्की, एन्ड्रयु फेइन्स्टाइन, रोबर्ट बार्स्की लगायत छन्। उनीहरूसँग बहस गर्न रमाइलो लाग्छ। आलोचनालाई पनि सम्मान नै गर्छन्। एकप्रकारको हौसला दिन्छन। जुन हाम्रोजस्तो मुलुकमा अलिक कठिन छ।

तपाईँले पढिरहने/सुनिरहने/हेरिरहने नेपाली/विदेशी स्तम्भ/पोडकास्ट/डकुड्रामाहरू ? यसमा फिल्म, सङ्गीत र चित्रकला पनि जोडौँ है ! 

फिल्म चाहिँ अति नै हेर्छु। मलाई लियम नीसन औधी मनपर्ने अभिनेता हुन। उनको चलचित्र प्राय भेट्दा हेर्छु। प्रायश: मैले चलचित्र हेर्दा मेरो समाजलाई जोडेर हेर्छु र अलिक फरक बुझाई भेट्छु। जस्तो कि जोकर फिल्म हेर्दा नेपाली राजनीतिलाई जोड्न पुगेको थिए। केही साथीहरूलाई त्यो व्याख्या सुनाए, जुन साथीहरूले मलाइ लेख्न नै भन्नुभयो तर किन हो लेख्न मन लागेन। दिनभरको फरक मुडमा फरक फरक गीत सङ्गीत सुन्दै हुन्छु र फरक अनुभूति पाउने गर्छु।

समकालीन नेपाली साहित्यले लेख्न छुटाइरहेको विषयवस्तुहरू के-के हुन् ? लेखिएकाहरूमा देखिएका समस्याहरू ? लैङ्गिकताको सवालमा, स्वतन्त्रता र समानताको सवालमा एवम् नारी/अपाङ्ग/प्रौढ/सीमान्तकृत समुदायको सवालमा हाम्रा लेखकहरू कता छन् ?

अहिलेको समयमा बजार निक्कै बलवान छ, तसर्थ लेखकले बजारलाई हेर्नुपर्ने नियति छ- यो राम्रो हैन। बजार दह्रो हुँदा लेखकले के लेख्ने-के नलेख्ने भन्ने कुरा बजारले तय गरिदिन्छ, जसले गर्दा लेखन बढी बनावटी बन्न जान्छ। साथै यस्तो अभ्यासले उठ्नु पर्ने मुद्दा पाखा लाग्ने काम हुन्छ।

तपाईँको ‘काव्यिक अभ्यास’बारे पनि जान्न मन भयो। आजभोलि के लेख्दै हुनुहुन्छ? तपाईँले लेख्नु भएको सबभन्दा पहिलो रचनालाई कसरी सम्झना गर्नुहुन्छ? त्यो रचना उपलब्ध हुन सक्छ?

रह्यो मैले लेख्ने, अहिले निक्कै लामै भयो- मैले केही नलेखी बसेको। केही प्लट त छन् तर विस्तारै काम गर्ने सोचमा छु। मैले यात्रा सुरु गरेकै नोम चोम्स्कीको अन्तर्वार्ताबाट हो। त्यस लगत्तै केही चर्चित विदेशी लेखका अन्तर्वार्ता गर्न थालेँ। अनि आफैँ लेख पनि लेख्न थालेँ।

  • (भिजन न्यूज नेपालमा, २०७८, १६ आश्विनमा प्रकाशित)

Leave a Reply