महिनावारी बहस: नियमित महिनावारी हुनु भनेको हामी स्वस्थ हुनु हो, अपवित्र हुनु होइन

You are currently viewing महिनावारी बहस: नियमित महिनावारी हुनु भनेको हामी स्वस्थ हुनु हो, अपवित्र हुनु होइन

महिनावारी अर्थात् रजस्वला (नेपालमा प्रचलनमा रहेको शब्दहरू: नछुने हुनु, परा सर्नु, छुई हुनु इत्यादि) महिलाहरूमा हुने प्राकृतिक प्रक्रिया हो । पाठेघर र अण्डाशय लिएर जन्मिएका व्यक्तिहरु अपवादमा बाहेक सबै महिनावारी हुन्छन्, जुन अनिवार्य जैविक प्रक्रिया हो । चिम्पाञ्जीको उदयसँगै वा चार खर्ब वर्षदेखि महिनावारी विद्यमान भएको रेकर्डमा देखिन्छ ।

सामान्यतया स्वस्थ बालिका १० वर्ष पुगेपछि कुनै पनि समयमा रजस्वला हुन्छिन् । बालिका १० देखि १५ वर्ष हुँदा पहिलो पटक रजस्वला हुनु स्वास्थ्यको दृष्टिकोणमा राम्रो मानिन्छ । नेपालमा धार्मिक, सामाजिक कारणले गर्दा महिनावारिको खासै कुराकानी हुँदैन । शहर वा विकसित देशमा पनि महिनावारी विभेद फरक नाम, स्वरुप वा बहानामा अभ्यासमा छन् । कतिपय ठाउँमा सजिलै देखिन्छ भने कतिपय ठाउँमा देखिँदैन ।अन्य सामाजिक अवस्थाका कारण तरिकाहरु फरक होलान् । आयाम फरक हुनसक्छन् । धेरै थोरै होलान् । तर, केही न केही विभेद जहाँसुकै छ । पुरुष मात्रै हैन नेपालमा स्वयम महिलाहरू पनि यस विषयमा खुलेर बोलेको एकदमै कम पाइन्छ ।

रजस्वला हुँदा हुने शारीरिक दुखाइ, मानसिक तनाव र हार्मोन परिवर्तनहरू महिलाको स्वास्थ्यसँग सम्बन्धित विषय हो । महिलाहरूको प्रत्यक्ष स्वास्थ्यसँग सम्बन्ध राख्ने यस विषयमा खुलेर कुरा नहुँदा महिलाहरूले धेरै प्रकारको शारीरिक र मानसिक समस्याहरू भोग्नु परिरहेको छ । महिनावारिकै कारण लज्जित हुनुपर्ने, जागिरमा खटपट हुने, सम्बन्धमा दरार आउने, अमर्यादित व्यवहार नहुने, हीनताबोध हुने आदि अवस्था निस्तेज हुनुपर्छ । त्यसैले मर्यादित महिनावारी नीतिगत तहमा आई मूलप्रवाहीकरण हुनु आजको आवश्यकता हो ।

यहि कुरालाई मध्यनजर गर्दै भिजन न्यूज नेपालले आफ्नो नियमति साप्तहिक स्तम्भ ‘महिनावारी बहस’ पुन: सुरु गरेको छ । प्रस्तुत छ, भिजन न्यूज नेपालका लागि राजु झल्लु प्रसादले तयार पारेको सामाग्री:

दीपिका खतिवडासँग ‘महिनावारीका कुरा’

महिलाहरू महिनावारी हुँदा धेरै खर्च हुने देशको सूचीमा नेपाल पाकिस्तानपछि दोस्रो स्थानमा रहेको बिबिसीले बताइसकेको थियो। यस्तो बेला सरकारले प्याडको मूल्य अझ बढायो । सरकारको यस नालायककीपनलाई कसरी हेरिरहनु भएको छ?
सरकारको यो निर्णय सुन्दा दुःख सँगसँगै अचम्म पनि लाग्यो। महिला राष्ट्रपति रहेको विकासोन्मुख देशमा महिलाको शारीरिक विकासमा अति आवश्यक पर्ने वस्तुमा नै कर लागिरहेको छ। जुन वस्तु सजिलै उपलब्ध गराइनुपर्ने हो त्यसको भाउ झन् झन् आकासिँदै छ। विषयको संवेदनशीलतालाई सरकारले सरासर बेवास्ता गरेको छ। प्याडको कर हटाउने जस्ता विषयमा युवा समूह सडकमा उत्रिरहनुपर्ने अवस्थाको सिर्जना हुन्छ भन्ने उदाहरणले नै हामी कस्तो नेतृत्वमा हुर्किरहेका छौँ भन्ने नमिठो आभास गराउँदछ। अब विरोध गर्नु बाहेक हामी जनतासँग अरू उपाय पनि छैन। सरकारले उचित निर्णय नगरुन्जेलसम्म यसको चौतर्फी विरोध गरिनुपर्छ।

अध्ययनअनुसार, ‘नेपाली महिलाहरूले आफ्नो जीवनमा झन्डै २,१०,५६५ रुपैयाँ महिनावारी हुँदा खर्च गर्छन्।’ तपाईँको आफ्नो भोगाई के छ? पेनकिलर ट्याब्लेट (यदि प्रयोग गर्नुहुन्छ भने), प्याड लगायतका सामग्रीहरू प्रयोग गर्दा तपाईँको महिनावारी खर्च कति पुग्न जान्छ?
महिनावारी हुँदा मलाई खाना त्यति रुच्दैन। त्यसबेला आफूलाई मीठो लाग्ने अन्य खानेकुरा खाने इच्छा बढेर जान्छ। किनेर खाई पनि हाल्छु। शरीर कमजोर भएको हुन्छ, फलफूल/जुस खाने गरेको छु।

२ वटा प्याड महिनामा अनिवार्य चाहिन्छ। निरन्तर २ देखि ३ घण्टासम्म पेट तथा ढाड दुखिरहने भएकाले हट वाटर ब्याग किनेर राखेको छु, त्यही प्रयोग गर्छु। दुखाइ असह्य भएतापनि पेन किलर खान रुचाउँदिन। इमर्जेन्सी अवस्थामा काम लाग्छ भनेर बोकेर चाहिँ हिँड्छु। महिनावारीकै लागि भनेर हुने खर्च लगभग यिनै हुन्। यति जुटाउनका लागि महिनामा  रु. ५०० देखि रु. ६०० को हाराहारीमा खर्चिनुपर्छ। ५०० को दरले हिसाब  गर्ने हो भने एक वर्षमा रु. ६००० खर्च हुने रहेछ।

महिनावारी नियमित हुने भएकाले औसतमा रु.५०० खर्च निस्किएको छ। नियमित नभइदिने हो भने अस्पताल र औषधिको खर्च छुट्टै हुन जान्छ।

प्याड महँगो भएपश्चात् प्रयोग कम हुने भयो नि, होइन ? स्वास्थ्यको दृष्टिकोणमा कमसल विधि अपनाइनु राष्ट्रकै लागि घाटाको कुरा होइन र ?
मूल्य बढ्नु भनेको प्रयोगमा कमी हुनु पक्कै हो। तर हामीसँग वैकल्पिक तरिका नभएको पनि होइन। कपडाले इन्फेक्सन हुन्छ भनिन्छ तर सही तरिकाले प्रयोग गर्ने हो भने बजारमा उपलब्ध रसायनयुक्त प्याडभन्दा कपडा अझ उत्तम लाग्छ मलाई। कपडालाई राम्ररी धुने र घाममा सुकाउने हो भने यसलाई फेरिफेरी प्रयोग गर्न सकिन्छ। सहजताका लागि भनेर हामीले स्यानीटरी प्याडको प्रयोग गर्न थालेका हौँ। अहिले बजारमा फेरी कपडाकै प्याड बनाएर बेच्न थालिएको छ। त्यसैले यो पनि विकल्प छ है भनेर हामी प्रयोगकर्ताले पनि भुल्नु हुँदैन।

तर यसो भनिरहँदा बजारको प्याड प्रयोग गर्नै हुँदैन भन्ने मेरो आशय विल्कुलै होइन। आफूलाई के सजिलो लाग्छ सोही अनुरूप बिना कुनै टाउको दुखाइ छनौट गर्न पाउनु महिलाहरूको अधिकार हो। महिनावारीका बारेमा जनचेतना फैलाएर प्याडलाई सर्वसुलभ बनाइनुपर्ने ठाउँमा उल्टै यसको भाउ बढाउनु भनेको लज्जास्पद कुरा हो। महिलाहरूको स्वास्थ्यसँग यसरी खेलबाड गर्नु भनेको घाटाको सौदा गर्नु नै हो।

महिनावारीसँग जोडिएको मानसिक चिन्ता, हैरानी र उत्पीडनका बारेमा पाठ्यपुस्तक, सम्बन्धित निकायहरूको बेवास्ता के-कति कारण होला ?
केही समय अगाडी भन्दा आजका दिनहरूमा केही हदसम्म यस विषयमा खुलेर कुरा गर्न थालिएको छ। इन्टरनेटले यसमा धेरै सघाउ पुर्‍याएको हो। त्यसलाई एक सुखद पक्ष नै भन्नुपर्छ। तर अझै पनि बोलिनुपर्ने जति बोलिएको छैन र बोलिए जति गरिएको छैन। घर बाहिर महिनावारीका समस्या र समाधान छलफल गरेर आफ्नो घरभित्र फेरी उही समस्या दोहोर्‍याउने महिला तथा पुरुषहरू अझै पनि छन्। पाठ्यपुस्तक लेख्ने र सम्बन्धित निकायमा रहेका पुस्ताहरू जब आफैले महिनावारीलाई पापको रूपमा हेर्छन् भने यसको निचोड कसरी निस्कियोस्? महिनावारीको उत्पीडन गलत हो भन्ने विश्वास बोकेका केहीले यसबारे खुलेर बोल्न रुचाउँदैनन्। बोल्ने र गर्ने भनेको यस विषयमा जानकार हुँदै गएका अहिलेका युवाहरूले हो। यो गतिले परिवर्तन त आउँछ तर समय लाग्ने निश्चित देखिन्छ।

रगत लाज, भेदभाव, अपवित्र फोहोर, प्रदूषित रगत जस्ता भाष्यहरूको पछाडि के-कस्ता अर्थहरू लुकेको भेट्नुहुन्छ ?
महिनावारीलाई छोडौँ, के अरू बेला महिला र पुरुषका योनीबाट फोहोर निष्कासन हुँदैन र? रगतको रूपमा निष्कासन हुँदा चाहिँ अपवित्र फोहोर भनेर ट्याग भिराइन्छ। रगत, लाज, अपवित्र फोहोर, प्रदूषित रगत जस्ता भाष्य प्रयोग गरिरहनुपर्ने आवश्यकता नै देख्दिन म। यो एउटा प्रजनन प्रक्रिया हो र यसलाई सामान्य रूपमा लिँदा हुन्छ। यसलाई धर्मसँग जोडेर यी भाष्यहरूको प्रयोग गर्दै विभेद गर्नेहरूमा पुरुष भन्दा पनि महिलाहरू नै बढी उद्धत देख्छु।  हो, उनीहरूले सानै देखि त्यही सुने त्यही सिके र त्यसै गरे। तर चाहिने कुरालाई निरन्तरता दिँदै अनावश्यक कुराहरूलाई त्याग्न र बदल्न पनि महिलाहरू यस विषयमा अघि सर्नुपर्ने देखिन्छ।  एउटा डाक्टरले महिनावारी भएको बिरामीलाई जाँचेर जनै फेर्न दौडिनुको कुनै तुक छैन।  त्यसैले विभेदको पनि कुनै अर्थ छैन। यो छुनु हुँदैन र त्यो गर्नु हुँदैन भन्नु भन्दा पनि सरसफाइमा कसरी ध्यान दिने भन्ने कुरा सिकाउनुपर्छ जस्तो लाग्छ मलाई।

महिनावारीको विषयमा नेपालमा भएका बहसहरू कत्तिको प्रभावकारी देख्नुहुन्छ?
महिनावारीका विषयमा पर्याप्त बहसहरू नै भएका छन् जस्तो लाग्दैन मलाई। केही व्यक्तिहरूले मिडियामा बोलेका छन्। केही छलफलहरू हुने गरेका छन्। तर त्यी बहसहरू खासै प्रभावकारी भएको जस्तो लाग्दैन। वर्षौँदेखिको विश्वासलाई परिवर्तन गर्न त हरेक सचेत व्यक्ति यस विषयमा बोल्नुपर्छ। परिवर्तन आफ्नै घरबाट सुरु गर्नुपर्छ। छाउपडीले निम्त्याउने नकारात्मक असरहरूका बारेमा सबै ठाउँका मान्छेहरूलाई शिक्षित बनाउनतर्फ लाग्नुपर्छ। जब सम्बन्धित निकायहरू बोल्छन्, जनचेतना पर्याप्त मात्रामा फैलिन्छ तब मात्र सम्बन्धित व्यक्ति सोच्न बाध्य हुन्छन् जस्तो लाग्छ मलाई।

महिनावारीको पहिलो अनुभव कस्तो थियो ? कति वर्षको हुनुहुन्थ्यो ? महिनावारी भएको हो कि होइन भनेर झुक्किनु पनि भयो कि ?
म १२ वर्षकी थिएँ। स्कुलबाट नृत्य कक्षा सकेर घर फर्किएर पनि म नृत्यमा नै तल्लीन थिएँ।  त्यसैबीचमा महिनावारी भइसकेको रहेछ।  वासरुम जाँदा मात्र थाहा पाएकी थिएँ। महिनावारी बारे थोरबहुत त थाहा थियो। त्यसैले आत्तिनु र झुक्किनु परेन। तर आमालाई पहिलो पटक भन्न भने निकै लाज लागेको थियो। आमालाई सुनाएपछि मलाई नजिकैको मेडिकलबाट प्याड किनेर ल्याइदिनुभयो र लगाउन सिकाइदिनुभयो। त्यसपछि सानो महिनावारी बहस चल्यो घरमा। आमाबुबाले बार्न लगाउनु भएन। यसलाई सामान्य रूपमा लिनुभएकाले मलाई खासै कुनै अप्ठ्यारो भएन।

तपाईँमा ‘प्रि–मेन्सट्रुअल सिन्ड्रम (पेट, कम्मर दुख्नेदेखि मुड खराब हुने लगायत समस्या)’ देखिन्छ कि देखिँदैन ? त्यसलाई कसरी ट्याकल गर्नुहुन्छ ?
महिनावारी हुनुभन्दा ३ -४ दिन अगाडी देखि जीउ दुख्न थाल्छ। मुड स्विङ हुन्छ, धेरै भावुक हुन्छु, रिस उठ्छ। महिनावारीको पहिलो दिन ३ घण्टा जति पेट दुखेर उठ्न सकिँदैन। हट वाटर ब्यागले सेकेर बस्छु। तातो पानी खान्छु। अरू केही रुच्दैन। बान्ता आउला जस्तो हुन्छ। पेट र ढाड धेरै दुख्छ, चक्कर लाग्छ। त्यसैले आराम लिनुको विकल्प छैन। मनपर्ने गीतहरू सुन्छु, फिल्म हेर्छु, किताब पढ्छु। अरू बेला दौडधुप हुन्छ, त्यस बेला सोचाइलाई टाढाटाढासम्म फैलने मौका दिन्छु। अन्य नियमित कामहरू चलिनै रहन्छन्। कहिलेकाहीँ जाँच लेख्ने बेला वा बाहिर जहाँ आराम गर्न सकिने ठाउँ छैन भने चाहिँ पेन किलर खानुपर्ने अवस्था आउँछ।

महिनावारीलाई गौरवपूर्ण रूपमा व्यवस्थापन गर्न के गर्नुपर्ला ?
महिनावारीलाई गौरवपूर्ण रूपमा हेर्ने व्यक्तिहरू अल्पसंख्यमा छन्। सर्वप्रथम त यो एक गौरवपूर्ण विषय हो भन्ने कुरा नै सिकाइनुपर्छ। हामी महिलाले अन्धविश्वासका पछि लागेर आफैँलाई पछि धकेल्दछौँ भन्ने कुराको बोध गराउनु जरुरी छ। नियमित महिनावारी हुनु भनेको हामी स्वस्थ हुनु हो, अपवित्र हुनु होइन। यस्ता कुराहरूमाथि बहस हुनु जरुरी छ। प्रभावकारी रूपमा सक्दो जनचेतना फैलाउनुपर्छ। आजकाल ‘इन्फ्लुएन्सर मार्केटिङ’को जमाना छ। इन्टरनेट धेरै जनासम्म पुगिसकेको छ। सचेत गराइनुपर्ने उमेर समूहलाई मनपर्ने इन्फ्लुएन्सरहरूमार्फत यस विषयमा बोल्न दिइयो भने अझ प्रभावकारी हुन्छ जस्तो लाग्छ। पाठ्यपुस्तकहरूमा पनि महिनावारी बारे खुलेर लेखिनुपर्छ साथै सञ्चार माध्यम, महिला सङ्घहरू, सम्बन्धित निजी तथा सरकारी निकायहरूले यस विषयमा छलफल गरेर विद्यमान समस्याहरूको समाधान गर्नतर्फ लाग्नुपर्छ।

  • (भिजन न्यूजमा २०७८, आश्विन १४ गते प्रकाशित)

Leave a Reply