कवि दिपा मेवाहाङ राई आफ्नो पहिलो एकल कविता सङ्ग्रह ‘यादको सन्दुक’ लिएर आउदैछिन् । यसअघि उनको कविता सङ्ग्रहमा ‘इतर कविता (सन् २०२०)’ र समकालीन कथाकारहरूको सङ्ग्रह ‘छकालै’ प्रकाशित भइसकेको छ ।
प्रस्तुत छ, द मार्जिनको साप्तहिक स्तम्भ ‘किनारका साक्षी’ लागि राजु झल्लु प्रसादले तयार परेको सामाग्री;
दिपा मेवाहाङ राईलाई प्रश्न- यादको सन्दुक किन उघार्नुभयो ?
पहिलो एकल कविता संग्रह ‘यादको सन्दुक’का लागि बधाई । उघ्रिएको सन्दुकका के-कस्ता यादहरू छन् ? यो पनि सोधेँ, ‘सन्दुक किन उघार्नुभयो ? यादहरू नअटेर या पुन: भण्डारका खातिर ?’
धन्यवाद राजुजी ।
बाँच्ने क्रममा धेरै थोक छुट्दै जाँदो रहेछ । सँगै हुने भनेकै यही याद रहेछ । समयसमयमा यसलाई नउघार्ने हो भने मानिसमा संवेदना मर्दै जान्छ । म पनि घरदेशबाट परदेशमा जिविका चलाउन आएकी छु । यहाँको उही र उस्तै दैनिकीबाट अलिक पर भाग्न न मसँग समय छ न बहाना । यस्तोमा तिनै याद उघ्राउँदै बस्छु । र आफूलाई भोलीको लागि ताजा बनाउँछु । यही उघ्राईहरुको सँगालो नै अहिले “यादको सन्दुक” को रुपमा तयार भएको हो । म अभिसप्त छु, यो सन्दुक उघार्न ।
आज लेख्नेहरूभन्दा पढ्नेहरू ज्यादा मर्मज्ञ छन्, यतिबेला सङ्ग्रह निकाल्नु भनेको अवसर रहेछ कि चुनौती ? सँगै, उपन्यासको बजारमा कविता लिएर आउनु कत्तिको चुनौतीपूर्ण रहला ?
कुनै अवसरको लागि कविता लेखिन्न । कम्तीमा मेरो लागि होइन । बजारमा बिक्छ भनेर लेखिने पनि होइन । साहित्य मेरो लागि व्यापार होइन । बाँच्ने क्रममा संगालिएका अनुभूतिहरुको चाङलाई व्यवस्थित गर्न मैले रोजेको विषय हो साहित्य । साहित्यमा म कहिले कविता विधामा पोखिन्छु, कहिले कथामा । यो मेरो विषयले निर्धारण गर्छ । जहाँ सम्म चुनौतिको कुरा छ यो त हरेक क्षेत्रमा हुन्छ । अलिकति फरक के हुन्छ भने अरु क्षेत्रमा स्पर्धा अरुसँग हुन्छ । साहित्यमा आफैसँग हुन्छ । आफैलाई जित्न प्रयत्नरत रहनुमा मज्जा पनि छ ।
नसोधे नि हुने हो तर सोधेँ, ‘तपाइँका लागि साहित्य कि साहित्यका लागि तपाईं ?’ सजिलो यसरी होला, सिर्जनात्मक हुनु भनेको के हो ? यस उपक्रममा के-कस्ता परिस्थिति, मनस्थिति र वस्तुस्थितिहरू ठोक्किए/ ठोक्किदै छन् ?
यो त परीक्षा हलमा उत्तर दिन बसे जस्तो भयो । हा..हा.. । ठ्याक्कै यहि भन्ने उत्तर छैन मसँग । भावनाको कुरा पनि हो यो ।
दैनिक ८/१२ घन्टा कामले थाकेको बेला आफुलाई ताजा बनाउन निस्केका भावहरु हुन् । अब यसैलाई सृजनात्मक भन्न पनि सकियो । किनकी यो नितान्त मेरो अनुभूति हो । कतिपय अवस्थामा काम गर्दागर्दै पनि भावहरु सल्बलाउँछ । फुसर्दमा टिपौला भन्दा भागिदिएको अनुभव पनि छ ।
मेरो व्यक्तिगत अनुभवको कुरा है दिपा जि, ‘कहिलेकाही म कविता लेख्ने निहूँमा कमसल लेखेर कवितालाई नै दु:ख दिइरहेको हुन्छु । फेरी कहिलेकाही चाहिँ कविताले लखेट्छ, खेद्नु खेद्छ ।’ मलाई कविताले खेदेको साह्रो मनपर्छ । तपाइँको अनुभव सुनाउनुस न ।
कविताको मापन कसले कसरी गर्छ भन्नेमा पनि भर पर्ला । हेर्ने आँखा, अनुभूति गर्ने मन यावत कुराले पनि निर्धारण गर्ला । नत्र कुन कविता कमसल, कुन अब्बलको लेखाजोखा गर्ने आधारहरु कसले तयार पार्ने ? यो त लेखक स्वंयले स्वमूल्याङ्कन गर्ने होला । मेरो हकमा भन्नुपर्दा म जहिल्यै राम्रो लेख्ने प्रसायमा हुन्छु । अघिल्लो भन्दा पछिल्लो लेख रचनामा त्रुटी कम होस् भनेर सचेत हुन्छु । यसको अर्थ मेरो अघिल्लो रचना कमसल थियो भन्ने आफूलाई लागिरहेको हो भन्ने बुझ्नुपर्ला ।
यता (झापा)का सार्किनी बोजुहरू दुखेसोको बुट्यान आज पनि काट्दै छन् । उता (दक्षिण कोरिया)का सार्किनी बोजुहरू के गर्दै छन् ? ‘दक्षिण कोरिया’ दक्षिण कोरियामै बसेर लेख्नेहरूका लागि कस्तो ‘बिम्ब’ हो ?
संसारभरिका मानिसहरुमा अपवादलाई छोडेर हेर्ने हो भने उस्तै संवेदनाले ग्रसित हुन्छन् । प्रेम, घृणा, लोभ, क्षोभ, अंहम यस्तै यस्तै अनुभूतिबाट गुज्रिने त हो । श्रम सबैले गर्नैपर्छ । फरक प्रविधिले पार्ला । त्यो मेसिनरी कुरा भयो । नत्र त के नेपाल के दक्षिण कोरिया सबै ठाउँका मानिसले उस्तै भावभङ्गी र दौरबाट नै सृजना गर्ने हो । बिम्ब त साहित्यको लालिमा न हो । विषयले निर्धारण गर्ने न हो ।
‘रचनागर्भ सुनाउनुको मूल प्रयोजन रचनाको व्याख्या गर्नु हो’ भन्ने कुरा छ, जे होला । अलि अप्ठ्यारो-असजिलो खालको कुनै रचना गर्भ छन् ? अविस्मरणीय भन्छन् नि, त्यही ! सुनौं न ।
अवस्य छ । त्यसको त एउटा कथै बन्छ । म पछि लेख्नेछु । एउटा घटना भने म अहिले पनि सम्झिराछु । एकपटक मेरै कविता मेरो इन्बक्समा खस्यो । खसाल्ने लेखेको थियो , ‘आज हस्पिटलमा आमालाई भेट्न आइसियुमा कक्षमा गएँ । १५ मिनेट सम्म मौन हेरेर फर्किए। आमा संग एक बात पनि हुन सकेन ।’ त्यो म्यासेज पढेर भावुक हुन पुगेँ ।
‘सजनाको कोखमा लात बर्साउने दलबहादुर’लाई सम्झिरहेको छु । सजनाको आमाछोरी कता पुगे होलान् भन्ने प्रश्न पनि जीवित नै छ । कथा संग्रहबारे विचार गर्नुभएको छैन ?
कथा लेखनमा त्यो मेरो पहिलो प्रयास थियो। कविता लेखी रहेको मान्छे एक्कासी कथा लेख्न पर्ने भयो । फेरी त्यो विषयलाई मैले कवितामा न्याय गर्न सक्दिन भन्ने पनि लाग्यो । र तयार पारेकी थिएँ त्यो कथा । सजनाको आमाछोरीलाई मैले निवार्ध बाटो दिएकी छु । पाठकले आफ्नो तवरबाट त्यसलाई जोड्दै जाने छुट छ ।
जहाँसम्म संङ्ग्रहको कुरा छ, त्यस्तो कुनै योजना बनाएकी छैन । मेरो जीवनमा धेरैथोक बिना योजना घटेको छ ।
अलिक रमाइला कुरा गर्छु, ‘कविहरू मिहिनेती छन् । कविता पढ्छन् । छलफल गर्छन् । तर आफ्नै सर्कलका’ अरे । आजभोली यस्तो सुन्न पाइन्छ । लोकतान्त्रिक देशमा ‘कविहरूको पञ्चायत’को कुरा नि । तपाइँको अनुभव कस्तो छ ? नेपाली कविताको संख्यात्मक भण्डार मात्रै बढाउने यस्ता कामहरूलाई तपाइँ कसरी हेर्नुहुन्छ ?
एउटा समय हुन्छ । उस्तै विचार भएकाहरु एकै ठाउँमा जम्मा हुन्छन् । यसलाई अप्रजातान्त्रिक भन्न मिल्दैन । यसले साहित्यलाई नै मलजल गर्ने हो । अब्जेक्सन त त्यतिबेला हुन्छ जतिबेला तिनीहरु आफू इतरकाहरुलाई तिरस्कार गर्छन् । हाम्रोमा आफू इतरलाई अस्वीकार गर्ने परिपाटी चै गलत लाग्छ । फेरी यसमा त्यति धेरै चिन्तित हुनु जरुरी पनि छैन । समयको छालसँगै हल्लामा बाँचेकाहरु किनारा लाग्दै जान्छन् । नत्र त पारिजात, भूपिका पालामा पनि त कति गुट थिए होलान् । खोइ त अहिले हामी तिनीहरुको कविता त पढिरहेका छैनौ । समयले आफै छनौट गर्दै ल्याउँछ ।
राजनीतिक झुकावका दृष्टिले माक्र्सवादी रहेकाहरू साहित्यिक भाषामा आफूलाई ‘प्रगतिशील’ भन्छन् क्यार । उनीहरू आफूलाई ‘उदारवादी बौद्धिक’ हूँ पनि भन्दा रछन् । शब्दको के कुरा भयो र ? विचारले छ/छैनन् अलग कुरा भयो तर, तिनै ‘उदारवादी बौद्धिक’हरू आज कविहरू ‘आँसु लेख्छन्’ भन्दैछन् । उनीहरू सहि छन् ? आज हामी के लेखिरहेका छौं, के छुटाइरहेका छौं ? आजको कविता भोलि ‘अकविता’ ठहरिने स्थिति कत्तिको देख्नुहुन्छ ?
आ–आफ्नो सोच हो । स्कुलिङले निर्धारण गर्छ यस्तो सोचको । कोही फूल पातको कविता लेखेरै बस्छु भन्छ भने त्यसमा आपत्ति नगरौं । सबैले एकै ढङ्गले सोचिदिनुपर्छ भन्ने छैन । विविधता नै संसारको विशेषता हो । समाज रुपान्तरणको लागि लेख्छु भन्नेलाई मेरो सम्मान छ । यसको अर्थ प्रेमको कविता लेख्नेलाई म घृणा गर्छु भन्ने पनि होइन । म आफै धेरै जसो संवेदनाले भरिएको कविता लेख्छु । जस्तै चियालाई लिउँ । कसैलाई कालो चिया मन पर्छ । कसैलाई दूध हालेको । कसैलाई चिनी नराखेको कसैलाई एकदमै गुलियो । यो सापेक्ष हुन्छ ।
स्थानीय चिया पसलमा छिरेर चिया खान मन लाग्छ । ४/५ दिनदेखि डढेको चियापतिको स्वाद मनपर्ने, दुई चार कप नै खाएर निस्किन्छु । ‘च्या खादा देश हाक्ने कुरा गर्छन् । घर पुगेर खा’को थाल नि माझ्दैनन्’ साहुनीहरू भनिरहेका हुन्छन् । पपुलर टपिकहरू (नारीवाद, दलित, सीमान्तकृत, आतंकवाद, रोबर्ट-एआई)बारे टेबलटक्सहरू त भएको भयै छ । तर, यी बहसहरूले ‘थाल माझिरहेका छैनन् कि जस्तो लाग्ने के ।’ तपाइँ कत्तिको चिया खानुहुन्छ दिपा जि? हेहे..
तपाईँको प्रश्न कुनै निश्चित इन्टेन्सनले उब्जेको जस्तो लाग्यो । यो चियासँगको सन्दर्भले घुमाउरो पारामा ‘तँ मुद्धामा केन्द्रित भएर कविता लेख्छस् कि लेख्दैनस्’ भने जस्तो लाग्यो । यसको उत्तर मैले भन्दा मेरा कविताका पाठकले राम्रोसँग दिनुहुन्छ भन्ने मलाई लाग्छ ।
तपाईंले खोजेका किताबहरू कत्तिको भेटिएका छन ? तपाईं कस्ता किताबहरू खोज्दै हुनुहुन्छ ? पुस्तक छनौटको आधार केलाई बनाउनुहुन्छ ? पढेकामध्ये सबैभन्दा मन परेका पुस्तकहरू ?
प्राय: सिफारिस गरिएका पढ्छु । कुनै कुनै चै आफै छनौट गर्छु । नेपालमा हुँदा खोजेको पुस्तक फेला पार्न झन्झट थिएन । अहिले चै अनलाईनबाट मगाउँछु । मूल्य भने दोब्बर तेब्बर कहिलकाहीँ चौब्बर नै पर्न जान्छ । कविता मेरो मुख्य रुचिको विधा हो । पछिल्लो समय अत्यधिक आख्यान पढियो । अब विस्तारै गैर आख्यानका किताबमा चाख बढ्दैछ । मन परेको किताब थुप्रै छन् । त्यसमध्ये शिरिषको फूल विशेष मन परेको थियो । जुन मैले ४/५ पटकसम्म दोहोर्याएकी छु ।
मैले सक्काएँ, तपाइँको केही प्रश्नहरू छन् कि ?
तपाईले सोध्नु भएको प्रश्नको उत्तर पाएर कस्तो महसुस गर्नु भयो ?