घनश्याम अस्तित्वका तीन कविता

You are currently viewing घनश्याम अस्तित्वका तीन कविता
  • सल्लेरी कोलाज नामक शनिबासरीय अंक अन्तर्गत ‘तीन कविता’ स्तम्भ

पिता शिवराम आचार्य र माता सुमित्रा आचार्यको सुपुत्रको रुपमा वि.सं. २०५१ साल भदौ १५ गते स्वर्गद्वारी- ५, प्यूठानमा जन्मिएका घनश्याम अस्तित्वले अंग्रेजीबाट स्नातकोत्तर गरेका छन् । ऋृषि-लक्ष्मी साहित्य पुरस्कार (२०७२) बाट सम्मानित उनको  राप्ती साहित्य परिषद् दाङबाट प्यूठानी कोसेलीहरू (२०६७), गजल संग्रह राप्ती (२०६८) साथै संयुक्त गजल संग्रह प्रकाशनमा आइसकेको छ । हाल उनी शिक्षण पेशामा आवद्ध छन् ।

प्रस्तुत छ, सल्लेरी कोलाजका लागि कवि घनश्याम अस्तित्वसँग सल्लेरी खबरका राजु झल्लु प्रसादले गरेको साहित्यिक चर्चाको संक्षिप्त अंश:

राजु- एक्लोपन कत्तिको प्रिय लाग्छ ? एक्लै हुँदा रंगमञ्च बृहत हुन्छ, आफूमात्रै देखिन्छ । आफैलाई नै खोजिन्छ । अरुको निम्ति पुर्णतः अगोचर र अदृश्य । कविता सृजन गरिरहँदा आफैसँग टड्कारो स्वरले कत्तिको कुरा गर्नुहुन्छ ? र, फेरि कविताले कोलाहल गर्नु जरुरी कि शान्त रही बस्न ? तपाईंको लागि कविता के हो ? आत्मसंवाद कि स्वैच्छिक स्वैर कल्पना ? या अर्थोक नै केही ?

अस्तित्व- त्यसो त म कवितालाई जीवन, समय र समाजसँग कविले गरेको संवाद भन्ठान्छु । संवादहरुले अक्षरको रुप धारण गर्नु देखिने, लेखिने कविता बन्नु हो । यस्तो संवाद एकान्तमा मात्रै सम्भव हुन्छ । यसकारण पनि एकान्त प्रिय छ, मेरा लागि ।

जीवन, समय र समाजमा नै कविले आफुलाई साक्षात्कार गर्दछ । कविले आफुलाई यहीं भेट्दछ । त्यसकारण पनि यो आफैसँगको संवाद पनि हो । कल्पनाको स्रोत अनुभव हो । अनुभवसँगको आत्मसंवाद कविता । कविता लेखिरहँदा बेलाबेला म निकै आक्रोशमा पुगेको हुन्छु । कुनै बेला म रोएको पनि छु । कुनै बेला म बेसरी हाँसेको पनि छु । यसकारण मानवीय संवेगको प्रस्तुती पनि हो- कविता ।

राजु- कविता विचार देखी कति टाढा छ ? भाषा, शैली र अभिव्यक्ति देखी कति टाढा/नजिक रहन्छ- कविता ? यो वर्णन, चित्रण या अनुभूति के हो ? समकालीन कविहरु कपोलकल्पित संसार, इन्द्रेणी, क्षितिज, जुन-तारा जस्ता कुराहरुमा घुँडा धसेर लागिपरेका देख्छौं । यो कत्तिको निको लाग्छ ? कविताले समेट्न सक्ने उत्तरोत्तर बौद्धिक कहाँसम्मको हो ?

अस्तित्व- कविता, विचार भन्दा पर रहन सक्दैन । विचार बिनाको कविता मृत हुन्छ ।

हामीले बोल्ने प्रत्यक वाक्यले केही न केही विचारको प्रतिनिधित्व गर्दछन् । भाषा, शैली र अभिव्यक्ति नै कविता भएपछि यी कुराहरुबाट कविता कसरी टाढा रहनु ? कबिता चिन्ने र कविता बन्ने आधारहरु नै यिनै हुन् । एउटा चित्र मौन कविता हो र कविता आवाज सहितको चित्र । यसकारण कविता बढी चित्रण र कम वर्णन हो ।

कवितामा कपोकल्पित संसार, क्षितिज, जूनतारा आउनु अस्वभाविक होइन । प्रश्न यो हो कि, यी कुराहरुको उपस्थिति हुने कविताले जीवनको प्रतिनिधित्व गर्छन् कि गर्दैनन् ? कवि आफैमा बौद्धिक प्राणी हो । आइन्स्टाइनले कल्पना ज्ञान भन्दा पनि बढी महत्वपूर्ण भनेका छन् ।

मैले लेखिसकेको छु, अनुभव नै कल्पनाको मुख्य स्रोत हो ।

राजु- अलि रिसउठ्दो प्रश्न सोधौं ? तपाईँ कस्तो कवि हो तपाइको कविता बताउँछ कि तपाई आफै बताउनुहुन्छ- म यस्तो कविता लेख्छु भनेर ? तपाईले कविता नलेख्दा के हुन्छ र के छुट्छ ?

अस्तित्व- म कस्तो कवि यो बोल्ने विषय होइन । कविहरुको वर्गीकरण कतै गरिएको छ र ? बरु कविता कविलाई हेर्ने ऐना हुन सक्दछ । यो कवि भन्दा पनि कविताहरु बोल्ने विषय हो । मैले कविता नलेख्दा मैले लेख्ने कविता लेखिदैन । मैले कवितासँग साट्ने मेरो आयु अर्को कुनै आदतसँग साटिएला । म अलि कम रमाउने औषत मान्छे जस्तै हुन्थे होला ।

०००

प्रस्तुत छ, अस्तित्वका तीन कविता:

पहिलो कविता

कमजोरीहरुको उत्खनन्

तिम्रो अस्विकारको गैंती लगाएर
उत्खनन् गरिरहेछु म– मेरा कमजोरीहरुको

सोंचिरहेछु,
किन हिर्काइ रहन्छन्
तिम्रा आँखाले– रिसका झटाराहरु ?
संयोगले कुनै क्षण
तिम्रा आँखासँग आँखा जुध्दा
किन दुर्घटनामा पर्छ– मैले हाँकिरहेको प्रेमको गाडी ?

म त सपनाका लठ्ठिहरुले खेदिएर
सहरमा आएको मान्छे भएकाले हुनसक्छ
लागिरहेछ मलाई,
कतै छुट्यो कि पो तिम्रो पसिना
सोंच्दैमा– त्यो सहयात्राको उकालो बाटो

तिम्रो मुखारबिन्दु
‘इम्पोसिबल छ– इम्पोसिबल हुनसक्छ’ बोलेपछि
एउटै सम्बाद पश्चात डिलिट गरेको हुँ
तिम्रो नम्बर– मेरो मोबाइलबाट
तर पनि, कुन्नि कति बेला हो
मेरो मस्तिष्कमा गुँड बनाएर बसिसकेछ
०१२३४५ नम्बरको चराले
यसैले नै बोकिरहेछ अचेल
तिम्रा शब्दहरुले मेरो हृदयसंग
सिकार खेलेपछिका– आर्तनादहरु

तिम्लाई त लाग्दो हो
ढाका टोपी पोलेर– क्याप लगाओस्
च्याथेर लगाओस्– सग्लो जिन्स पाइन्ट
चुरोट च्यापोस्– कबिता गुनगुनाउने ओंठमा
कलम फालेर चक्कु समाओस्– तिम्रो सुरक्षार्थ
कपाल ठाडो बनाओस्– जेलको सनासोले समाएर
प्याटप्याट पड्काओस्– मुखबाट चुइगमको ताली
आँखामा लगाओस्– कालो चश्मा
दुनियालाई हेर्न हैन– दुनियाले हेर्ने बनाउन

जसरी आर्टिष्टले चाहे जस्तै बनाउन सक्छ
चाहनाको आकृति– क्यानभासको अगाडि उभिएर
त्यसरी बनाउन सक्दिन म आफुलाई
कैंची लगाएर मिलाउन सक्दिन– नाक, कानलाई
कुनै क्रिमदलेर फेर्न सक्दिन– छालाको रङ्ग
तन्काउन, खुम्चाउन सक्दैन– हाड, मासुको शरीर
त्यसो त तिमीले पनि बुझ्नु पर्ने हो
जुनी नै फेरिए पनि– चाहे जस्तो बनाउन सकिदैन आफुलाई

यतिबेला,
नीरस र उदासिन साँझको पिर्कामा
जून हेर्दै जूनको उज्यालो ओढेर बस्दै
रहस्य छोपेर बसेको पहाड जस्तो
जिन्दगीको गर्भभित्र लुकेका– आफ्नै कमजोरीहरुको
उत्खनन् गरिरहेछु म– तिम्रो अस्विकारको गैंती लगाएर ।

दोस्रो कविता

गाँठाहरू

जिन्दगी बुन्ने
यो धागो जस्तो हृदय
बनेको छ- गाँठैगाँठाहरूले ।

मित्रता बुझ्नु भन्दा पहिल्यै
धुलो र माटोमा जीवन टुकुटुकु गर्ने उमेरमा
आफ्नै अनुहार, ऐना जस्तो- एउटा मित्र थियो
पहाडमै बसेर उम्किन नसकेपछि
दु:ख र अभावको पहाडले थिँचेको – उसको परिवार
ऊसँगै मधेस लखेटियो – दु:खको एउटा गाँठो पारेर

प्रेम बुझ्नु भन्दा पहिल्यै
फिरफिरेसँग जीवन नाचिइरहने उमेरमा
फिरफिरे झैं आँखा र मन आँगनमा नाँचिरहने
एउटा काली केटी थिई
दशैं मान्न आएको लाहुरेको बास्नाले लठ्ठिएर
बाउआमाबाट लखेटिइ ऊ दिल्लीतिर
आँशुको एउटा गाँठो पारेर

बाउको समय र पसिना जम्मा हुने
फाटेको पेन्टको खल्तीको ओजनले
किन्न नसकेपछि कालोपाटीका अक्षरहरू
आफ्नै छाँती र काँध जस्तो ठूले
मुग्लान भासियो- अभावको एउटा गाँठो पारेर

सन्तानका आँखाका सपनाहरू बिझाएर
हरेक छाक आधा भोक पेटको कुनामा लुकाउँदै
आँशु र अन्नको मूल्यले पारेको
आमाको पटुकाको गाँठाले
किन्न नसकेपछि लगनगाँठो र दाइजो
चिन्तीले बिहे तोकिएकै दिन- बग्दिई माडीमा
कहरको एउटा गाँठो पारेर

घरदेखी अस्पतालसम्मको
एम्बुलेन्सको एक यात्रा किन्न नसकेर
छिमेकी काका निस्किए महान यात्रामा
छुटे जिन्दगीको स्टेसनबाट
रोगको एउटा गाँठो पारेर

न फुकाउन सकिने / न चुँडाउन सकिने
यी गाँठाहरूले बाँधेर राखेका छन् – खुशी र मुश्कान
भित्र… भित्र…भित्र… कतै भित्र
ओहो ! महाशय, यही भूगोलको तपाई चाँही
कुन जादुले हरदम मुश्कुराइरहनु भएको छ ?

तेस्रो कविता

गाउँको बस

रूखो आचरणमा
यात्रुहरू ओहोरदोहोर गराउने
बस मात्रै होइन- गाउँको बस ।

बिहान भालेसँगै बास्छ
र ब्युँझाउछ – डोको, नाम्लो र अगेनोलाई
बच्चाबच्ची कक्षा छिर्नु अघि
छोडि फर्किने आमालाई बोलाइरहे जस्तो
घरीघरी बोलाउछ – हिँड्नु अघि सदरमुकाम

बाटोका खाल्डाखुल्डीको लयमा
ब्रेक डान्स गर्दै हिँड्ने उसले
बुढा बाआमाको प्राण
छ, छैन सोध्छ – दम, प्रेसरको औषधी

बरू फेरि दिउला रूप्पे
‘भाडा छैन त गाडीमा नचढ’ भन्दैन
बिचबाटोमै ‘झर’ भन्दैन

हर भान्साकोठाको अभावले
उसैलाई पोलिरहन्छ,
उसैलाई हुन्छ- नुन-भुटुन या तिहुनको चिन्ता

झोला फाट्यो
या सिध्यियो कापी-कलम
उसैलाई चिन्ता हुन्छ
स्कूल नगइदिए बच्चाबच्ची

जब बसको हर्न सुन्छु
तब सोंचिबस्छु म,
यो सरकारले यसै सोचिदिने भए गाउँहरूलाई
के यो देश स्वर्ग बन्न समय लाग्थ्यो र ?

०००

०००

राजु झल्लु प्रसाद

‘सल्लेरी कोलाज’ ब्युरोका झल्लु प्रसाद गजल, कविता, कथा साथै मनोविश्लेषणात्मक लेख लेख्दै आइरहेका छन् ।

प्रकाशित मिति : 26 July, 2019, सल्लेरी खबर

Leave a Reply