सुरकिशोर दासलाई चिनाइरहेकी जानकी

You are currently viewing सुरकिशोर दासलाई चिनाइरहेकी जानकी
  • (साहित्यपोस्टको स्तम्भ: मिथिलाङ्ग)

पौराणिककालको एक वृहत् दार्शनिक केन्द्रलाई आकाशदेखि नियाल्नु साह्रै नजाती कुरा रहेछ । माथिबाट देखिएको तालैतालको सुन्दरतालाई भुँइमा अवतरित हुनासाथ देख्न पाइनँ । जनकपुरधाम विमानस्थलमा लगेज आई पुग्नको लागेको समय, त्यहाँको अव्यवस्थापन र साँझको साढे ६ बजे आसपासको २६ डिग्री गर्मी; मलाई कसोकसो उकुसमुकुस लाग्यो । तर, कौतुहलता थियो कि जनकपुर के-कस्तो होला ? कति होला ? कहिलेदेखि होला ?

४/५ वर्ष अघि आभा फर क्रियटीभिटीको सदस्यको हैसियतले म टिमसँग जनकपुर पुगेको थिएँ । ऊ बेला हामीले ५ दिन ४ रात वसन्तपुर, भक्तपुर र पशुपतिमा केही साथीहरू भेला पारी कविता सुनाएर साँढे ४ लाख हाराहारी पैसा उठाएका थियौँ । सो रकम कोशीले विस्थापित गरेको मुसहर बस्ती (रामपुरामल्हानीया लगायत) मा राहत सामाग्री उपलब्ध गराउन खर्च गरेका थियौँ । सो समय त्यस्तै थियो, घुमघाम भन्ने कुरा कसैको मन-मस्तिष्कमा थिएन । यद्यपि हामीले राहत सामाग्री वितरण गरिसकेर फर्किएको रित्तो ट्रकलाई ढल्केवरदेखि जनकपुरधामतर्फ मोडेका थियौँ । हतार-हतारमा जानकी मन्दिरको भव्यता नियालेर दङ्ग र फोहोरको गन्ध देखेर खिन्न भएको थिएँ । र, जनकपुरको तातो साँझमा बडो हतारमा कसैले किनेको आइसक्रिमको एक चुस्की खाँदै सोचेको थिएँ, “मैथिली संस्कृतिको भावुकतालाई बुझ्न, पान-मखान खाँदै मिथिलाको मिथिलांगमा नाच्न, उफ्रन फेरि आउनेछु ।”

र, त्यो समय यसपाला घटित भयो । हो, यो एक वृहत् घटना हो, जसबाट म अभिभूत भएको छु, एउटा मिठो दुःखद्वारा सताइएको छु । मिथिलाको अबिर, गुलाल र गुलाफी रङ्गमा निथ्रुक्क भिज्नुको सुअवसरले मलाई झिझिया, समाचकवा, झुलन महोत्सव, जितिया, कोजगरा, मिथिला मध्यमा परिक्रमाजस्ता सांस्कृतिक उत्सवबारे चासो र खोजिनीति गर्ने बनाइदिएको छ । मैथिली लोकगीत र लोककथा खोज्दै-सोध्दै मिथिलासँग कसोकसो हप्तादिन जसो म त्यतै बरालिएँ । म बरालिँदा मसँगै बरालिने प्रेम बास्तोला दाइ हुनुहुन्थ्यो । उहाँ चार वर्षपछि आफूले ८ वर्ष बिताएको जनकपुरधाम टेक्दै हुनुहुन्थ्यो । र, सहजता कहाँनेर भइदियो भने- उहाँ जनकपुरसँग पूर्णतः परिचित हुनुहुन्थ्यो तर मसँग हुनुहुन्थेन । जनकपुर पुगेर जनकपुर मात्रै होइन, प्रेम दाइलाई पनि चिन्न पाएँ । मान्छेको तारिफ मान्छेले गर्ने हुँदा यसलाई अनेकार्थी अर्थले बुझ्नु हुँदैन । तर, यो मेरो पक्का दाबा हो- मिथिला नाट्य परिषद्का रङ्गकर्मीको रूपमा एवम् मैथिली रेडियो नाटक ‘सङ्गोर’मा सफलतापूर्वक निर्देशकीय छवि बनाएका दाजुमा राम-सीता सभ्यता-संस्कृतको सतत प्रवाह थियो । जसको कारण मैले बारबार यो के हो, त्यो के हो, त्यसो किन हो भनेर सोधिरहन पाएँ ।

मैले सोधेर दिक्दारै बनाएपछि उनी कहिले दिग्गज पत्रकार प्रफुल्ल घिमिरेकहाँ मलाई पुर्‍याइदिन्थे, घरी संस्कृतविद् श्यामसुन्दर शशीसँग भेटाइदिन्थे भने कहिले एकाबिहानै शिवचोकमा इतिहासविद् रोशन जनकपुरीलाई बोलाएर ‘लु त’ गरिदिन्थे । प्रेम दाइसँग यो यात्राको मिठास के रह्यो भने उनको कर्मभूमि भएका कारण यस नगरी, यस सभ्यता र यस संस्कृतिलाई बुझेको, भिजेका स्थानीय विद्वानहरूसँग मैले दारुपानी, मिथिला थाली, पान-मखान, चनाको सातु, माछाको परिकार र चिया बरोबर पिउन पाएँ । प्रेम दाइले ऊ बेला ८ वर्ष बिताउनुले हप्ता दिनको जनकपुर बसाइमा मलाई फलिफाप भयो । मिथिला नाट्य परिषद्का अध्यक्ष परमेश झा सरसँग उहाँकै कार्यालय (जनकपुरधाम उपमहानगरपालिका, राजश्व फाँट) मा गएर मिथिला नाट्य परिषद्बारे बुझ्न पाउनु पनि सुखद कुरा रह्यो । होटेल व्यवसायी सङ्घ, मधेस प्रदेश प्रमुख विजय झुनझुनवालासँग मिथिलाको पर्यटकीय सम्भावना र होटेलका अवस्थाबारे बुझ्नु एवम् प्रदेश सभा संसद् रामआशिष यादवसँग गङ्गा सागर र सहरीकरणको मारमा परी नासिएका आम, कपुरका गाँछीहरूबारे गफिनु पनि उत्तिकै फलदायी रह्यो । सरसरती यी कुरा यसरी बताएर मलाई पुगेकै छैन, अतः फेरि फेद समाएर मेसैसँग सलल बग्नु छ । त, यहाँ अब सोही गरौँ;

पौराणिक दार्शनिक यस भूमि समय कालमा धार्मिक नगरी बन्न पुग्यो । पूँजिवादी समाजको ‘आर्थिक अराजकता’का कारण निकै कठिनतम गोहोमा हिँडिरहेको यस नगरीलाई ‘तँ कति पुरानो होस्’ भनेर सोधेको थिएँ । जवाफमा उसले बृहत् विष्णुपुराणको उल्लेख बताउँदै भन्यो, “पूर्वमा कोशीदेखि पश्चिममा गण्डकीसम्म र उत्तरमा हिमालयदेखि दक्षिणमा गङ्गासम्म म थिएँ । ”

‘अहिले पनि छस् ?’ , मैले फेरि प्रश्न गरेको थिएँ ।

“प्राचीन बौद्धग्रन्थ सुरुचि जातक र गान्धार जातक कथाहरूले त मेरो क्षेत्रफल १२०० कोश रहेको बताउँछ, खोजिखबर पस्छस् भने पस् । के कति भेट्छस्, भेट् । ”

उसको उत्तरमा हिन्नताबोध थियो । एक पीडादायी सुस्केरा । वर्तमान राजनीतिक भूगोलमा भारतका केही भाग र नेपालका केही भागमा तत्कालीन मिथिला सभ्यता परिवेष्टित छ तर ठ्याकै कति छ भनेर बताउनु ढुङ्गो चपाउनु जस्तो भएको छ । अनियन्त्रित शहरीकरण र असन्तुलित विकास निर्माणले कोपराकोपर गरिसकेको यस सभ्यताले आफू यति वृहत् रहेको बताएर आफू कति पुरानो रहेको बताउने मेसो नगरेको देख्दा रिस पनि उठ्यो । मेरो प्रश्न ‘तँ कति पुरानो होस् ?’ भन्ने थियो उसले ‘म यति विशाल थिएँ’ भनेर कुरा घुमाइदियो । यो उत्तर र जनकपुरधाम विश्व सम्पदा सूचीमा किन सूचिकृत भएन भन्ने प्रश्नमध्ये कुन ऐनाको आकृति र कुन वास्तविक आकृति हो भनेर छुट्टाउन गाह्रो पर्‍यो । यो त जम्मामा एउटा छेडखानी जस्तो पो हुन् पुग्यो । ‘प्रश्न नदीलाई सोधेको थिएँ, उत्तर कुवाँले दियो’ भनेजस्तो भयो ।

रोशन जनकपुरीसँग चिया खाइसिध्याएर

अतः मैले रोशन जनकपुरी सरलाई गुहारेँ । उनी एउटा धर्मपारायण वैष्णव हिन्दूको निम्ति यस प्रश्नको कुनै अर्थ नभएको बताउँछन् । जनकपुर सीताको जन्मभूमि भएकोले यसको अस्तित्व राम र सीताको जन्मदेखि मान्ने वा जनक, सीता, राम आदि मिथकीय पात्र हुन् भन्ने बताएर सो घटनाको ऐतिहासिक साक्ष्य नभएको बताएर पन्छिने भन्ने दोधार अझै पनि रहेको बताउँछन् । जनकपुरी सरसँग नवनिर्मित शिव मन्दिरलाई ढड्नेसो फर्काएर एक खिल्ली चुरोट र एक कप चिया सुर्काउँदा मैले एउटा उत्तर चाहिँ भेटेँ । उत्तरअनुसार, ‘बौद्धकालमा हालको अयोध्याको नाम साकेत थियो र भारतमा मौर्यवंशको शासनको अन्तपछि पुष्यमित्र नामक राजाले शासनकेन्द्र पाटलीपूत्रबाट साकेतमा सारेर त्यसलाई अयोध्याको नामकरण गरेको साक्ष्यहरू पाइन्छन् ।’ जनकपुरी सर चिया सकेर राममन्दिरतर्फ लाग्नै लाग्दा भन्नुहुन्छ, “मिथकीय आग्रहहरूलाई एक कुनामा थन्क्याएर ऐतिहासिक स्रोतहरू खोतल्ने हो भने आधुनिक जनकपुरको इतिहास सामान्यतः जानकी मन्दिरका संस्थापक सन्त सुरकिशोर दास मान्नु न्यायोचित हुन्छ ।” इतिहास त्यो पनि न्यायोचित, यो प्रश्नमा केहिबेर म अलमलिएको जरुर हो तर, त्यसभन्दा पछि म ‘सुरकिशोर दास को हुन् र कुन समयमा उनी यहाँ आइपुगे ? उनलाई यहाँ ल्याउने कारक तत्त्व के थियो’ लगायतका फुर्माइसे खालको प्रश्नको दलदलमा ङ्याकिएँ । जनकपुरी सर ‘जनकपुर कति पुरानो ?’ नामको आफ्नो एक आर्टिकल पढ्न अनुरोध गरेर फुत्किजानुभयो, म राममन्दिर अगाडि सुरकिशोर दास नामक नामलाई सम्झेर ठिङ्ग उभिइरहे । उभिँदै थिएँ, प्रेम दाइ काँधमा हात राख्दै भन्छन्, “राजु, रामजानकी मन्दिरका आदि पुरुष चतुर्भुज गिरीबारे तिमीलाई थाहा छ ?” नाम त सुनेको बढ्ता केही जानेको होइन, मुन्टो हल्लाएर ‘अँ’ र ‘अहँ’ दुवै जताए । दाइ खिस्स हाँस्दै भन्छन्, “आऊ मुला, चनाको सातु खुवाउँछु ।”

यो चनाको सातु भन्ने जिनिस पनि कहिल्यै नखाएको रहेछु, खाँदै गर्दा बोध भयो । काठमाडौंमा बिहानबिहानै चना-अण्डा हसुर्ने आदत एकाबिहानै (७ बजे आसपास) स्वास्थ्यको पर्याप्त ख्याल राखिएको सातु खाएर डम्म अघाउनुपर्दा किञ्चित दुखी पनि भएको कि भन्ने मेरो अनुमान थियो, तर भुँडीले ‘म टम्म छु है सोल्टी’ भन्दिहालेकाले त्यो टन्टो आइपरेन । अन्यथा, मिथिलाको पारम्परिक, सांस्कृतिक एवं मौलिक बिहानी भोजन ‘चनाको सातु’ मैले छुटाउने । धन्न छुटेन । तेलमा झानेको चना भन्दा भुटेर पिँधिएको अनि कसौँडीमा मज्जाले घोली कागतीसहित सर्भ गरिएको सातु कता हो कता अब्बल ।

मिथिला क्षेत्रमा वैशाखको पहिलो दिन (अक्षया तृतीया) मनाइने जुड–शीतलमा नयाँ अन्नको सातु बनाएर प्रसादका रूपमा ग्रहण गर्ने चलन रहेछ, जो (इम्युनिटी) वर्द्धक त छँदै छ, सर्वथा हितकारी पनि हुँदो रहेछ । दिउँसो १२ बजेसम्म भोक भन्ने प्राणीले पेटमा म्वाउ गर्न पाएन । तर, चनाको सातुबारे रमाइलो कुरा के रहेछ भने, यसलाई ‘गरिबको खाना’ पनि भनिँदो रहेछ । मलाई लाग्यो यो गरिबको खानाको हर्लिक्स, बर्नभिटा, बुस्ट, सेरेल्याक, ओट्स जस्ता व्यापारिक संस्करणहरूले मनग्य पैसा कमाउन हुने तर, मौलिक यो चाहिँ एक कुनामा थन्किएर बस्नुपर्ने । क्या बोर कुरा नि । ज्यादै नजाती । कटक्क मन दुख्ने । आत्थो । विश्वकै प्रचीनतम् आहार (वैदिक कालदेखि प्रयोगमा रहेको) सँग यो भेटघाटले मैथिली भोजनमा नआएको फेरबदल देखेर दङ्ग भएँ । अनि फ्याट्टै मुखबाट निस्कियो, “मौसम अनुसारका परिकारको संस्कृतिले मिथिलाको समुन्नत सभ्यतालाई सङ्केत गर्दछ ।”
सातु खाइसिध्याएपछि प्रेम दाइ लखरलखर जानकी मार्ग हुँदै अगाडि-अगाडि लखर्किए । म चतुर्भुज गिरि र सुरकिशोर दास को हुन्, के हुन् भन्ने मनस्थितिमा जकडिएको थिएँ, त्यही सोधुँला भनेर पछाडि-पछाडि दौडिएँ । प्रेम दाइ एउटा पान पसल अगाडि रोकिए, पान दिँदै भने, “‘माछ, पान आ मखान स्वर्गमे सेहो नही भेटैत छै ।” पछि बुझेँ, उनी भन्दै रहेछन्- ‘माछा, पान र मखाना स्वर्गमा समेत पाइँदैन ।’ बुझिसकेपछि भन्नु मन थियो- ‘अपना बारी के पतुआ तीत ।’

***

गत राति जानकी मन्दिरको भव्यता नियाल्न पाइएकै थिएन, उही ४/५ वर्ष अघि आउँदाको जस्तो झल्याक-झुलुक जस्तो मात्रै थियो । एकाबिहानै जानकी मन्दिरको त्यो भव्यतासामु खडा हुनु र निर्निमेष उसलाई नियालिरहनुको हर्षतिरेक क्षणलाई बयाँ गर्नु ‘छछुन्दरको सिरपर चमेली के तेल’ हुन् पुग्छ । अतः यहाँ त्यो काम नगरौँ ।

जानकी मन्दिर छेउमा मिठाइ बजार लाग्दै थियो । म त्यता केहीबेर अलमलिएँ । मिथिलावासीहरू मधुर छन् अर्थात् गुलियोप्रेमी छन् । उनीहरूलाई मिठाइ खाने कुनै बहाना चाहिँदैन । पहिलोपटक भेट हुँदा होस्, छुट्ने बेलामा होस् उनीहरू अतिथि सत्कारमा मिठाई टक्राइहाल्छन् । यहाँ मालपुवा जस्ता अन्य गुलिया परिकारहरू दैनन्दिन बनिरहेको हुन्छ । बजार अनुगमनको अभावका कारण अखाद्य सामग्रीको प्रयोग गरी बनाइएका लड्डुको बिगबिगी छ भनेर त बुझेको तर, खाइदिएँ । ‘मन चङ्गा त कठौती मे गङ्गा ।

प्रेम दाइ क्यामरामा जानकी मन्दिरलाई कैद गर्दै थिए, तर जानकी मस्किएकी नै होइन । ‘खै छाड्नु’ भनेर सेल्फी लिन खोजेँ, उसले पाउट बनाई । हामी दुई लास्ट हरामी फोटो आयो । प्रेम दाइको हेरेको हेर्यै । अनि हामी त हासेको हास्यै..।

हाँसिहाँसी उसले मसँग सुरकिशोर दासको आगमनको कथा सुनाई । सुनाइसक्दा हामी दुवै पिलन्धरे भएका थियौँ । दुवैका आँखा डम्म थिएँ, आँसुको गङ्गा र धनुष सागर जमिसकेको थियो । साथमा मेरो मनमा सुरकिशोरप्रति असीम श्रद्धाभाव थियो;

‘मौखिक सामान्य आख्यानको रूपमा रहेको रामकथालाई महाकाव्यीय रूप दिने काम ईसा पूर्व २००तिर वाल्मीकिद्वारा भयो । वाल्मीकिलाई शुङ्गवंशी शासनका संस्थापक पुष्यमित्रका आश्रित कवि मान्नुपर्ने दाबी रोशन जनकपुरी गर्दछन् । उनका अनुसार, ‘मगधमा मौर्यवंशको शासनको पतनपछि पुष्यमित्रले शुङ्गवंशी राज्यसत्ताको स्थापना गरे र अयोध्यालाई आफ्नो राजधानी बनाए ।’

यसपछि हाम्रो कथामा रामलाई त्रिदेव मध्येको एक विष्णुको अवतार र आराध्यदेवको रूपमा मान्ने रामानन्दीय वैष्णव सम्प्रदाय (१५-१६ शताब्दी) को उदय हुन पुग्छ । ईसाको सोह्रौँ शताब्दीमा गोस्वामी तुलसी दासले रामलाई ‘मर्यादा पुरुषोत्तम (रामचरित मानस)’ को रूपमा स्थापित गर्नुपूर्व नै यस सम्प्रदायको संस्थापक स्वामी रामानन्द देखिन आइपुगेको आङ्कलन गरिँदै आइएकै हो । रमाइलो के भन्दा, यस सम्प्रदायले रामचरित मानसलाई लोकप्रिय बनाउँदै आफू व्यापक हुने कर्म त गर्‍यो नै पछि गएर सीतालाई प्रधान मान्ने रसिक सम्प्रदायको उपशाखासमेत बनाउन सफल भयो । ‘जय सियाराम’ वा ‘जय सीताराम’को नामसंकीर्तन पछिल्लो रसिक सम्प्रदायको देन रहेको जनकपुरीको मत छ । रसिक सम्प्रदायका साधुहरूले आफ्ना परम आराध्य देवी सीताको जीवनसँग सम्बन्धित स्थलको खोजी गर्ने क्रममा सुरकिशोर दास जनकपुर आइपुगेका हुन् । साथै, उनकै समकालीन बद्रिकाश्रम ज्योतिर्मठका एकजना सन्न्यासी चतुर्भुज गिरी पनि जनकपुर आइपुगे (जसको चर्चा दोस्रो भागमा हुनेछ) ।

सुरकिशोर दास

विद्वान् जनकलाल शर्मा सुरकिशोरको जन्म राजस्थानको धनाढ्य ब्राह्मण परिवार विक्रमको अठारौँ शताब्दीको उत्तरार्द्धतिर भएको बताउँदै लेख्छन्, “सुरकिशोर दास उनको दीक्षा लिएपछि नाम हो । उनको पारिवारिक नाम के थियो ठम्याउन सकिएको छैन ।” शर्माको अनुसार दासलाई विवाहित सम्बन्धमा कुनै आकर्षण नभएको, घरबाट भागेर राजस्थानकै लोहारगलसीकर आश्रम पुगेको र त्यहाँ निकै समय बिताएको बताउँछन् । यो पक्का कुरा छ कि, दास जनकलाई आफ्नो दाजु र जानकीलाई आफ्नो पुत्री मान्दथे । शर्माको उल्लेखअनुसार लोहारगलसीकर आश्रममा जानकीको सानो पाषाण मूर्ति थियो, जसको वात्सल्यप्रेममा उनी अत्यन्त आत्मविभोर हुन्थे । कुनै पसलको अघि पुगे भने आफ्नो झोलीबाट जानकीको मूर्ति झिकेर तिमीलाई के मन पर्छ रोज भन्दै पसलमा राम्रा राम्रा चिज देखाउँथे । उनको यो चाला देखेर लोक हाँस्थ्यो, द्वेष र ईर्ष्या पाल्थ्यो । अन्ततः आश्रमकै सहवासीहरूद्वारा मूर्ति चोरेर लुकाइदिने काम भयो । यस घटनापश्चात् आह्लादित भएका दास रातदिन जानकीको वियोगमा पागलझैँ घुम्न थाले । मूर्ति चोरीको केही समयपश्चात् सपनामा जानकीबाट आकाशवाणी भयो- ‘मिथिलामा गए मेरो दर्शन पाउँछस् ।’ उनी सरासर जनकपुर लम्किए । मूर्ति खोजी गर्दै रहे, तर भेटेनन् । सपना र संयोग पारस्परिक हुन् सक्दो रहेछ क्यारे, अन्ततः जानकीको दोस्रो दर्शनद्वारा रुख (निम?) को फेदमुनि जानकीको मूर्ति भेटियो ।

मूर्ति भेटिएको हल्ला चारैतिर फैलियो । परिणामस्वरूप मकवानपुरका राजा मानिकसेन दर्शनका निम्ति जनकपुर आए । वि.सं. १७८४ मा जानकीको पूजाआजाका निम्ति निकै बिर्ता दिए । जानकीको ख्याति सँगसँगै सुरकिशोर दासको ख्याति पनि फैलिँदो रह्यो, जो आजसम्म बरकरार छँदै छ । सुरकिशोर दासकै समयमा एक भक्तले एउटा रत्नजडित सवा तोला सुनको नत्थ चढाउन जिद कस्यो र जानकीको नाकमा पैह्राइदिने विचार गर्‍यो । दुर्भाग्य के भयो भन्दाखेर, नाकको एकातिरको पारो भाँचियो । सुरकिशोरले आफ्नो छोरीको नाकबाट रगत बगेको कल्पना गरे र सो घाउ निको पार्न निकै समय लगाए । यसप्रकार उनी जानकीको सेवामा तल्लीन रहँदै गर्दा उनका घरका मान्छे उनलाई लिन आइपुगे । उनले जनकपुर नछोड्ने प्रयत्न त गरेका हुन् तर, आफ्ना मान्यजनको आदर गर्नु मुनासिब सम्झिए । यसपश्चात् १७८७-१८२९ मा उनको विवाह ब्राह्मण कन्यासँग भयो, तर उनी फेरि भागेर जनकपुर नै आइपुगे । उनी जानकी मन्दिरको पुजारी मात्रै होइनन्, अपितु सन्तकवि पनि थिए । उनले आफ्नो जीवनकालमा जनकपुरमा बसेर ‘सीतायान’ नामको महाकाव्य पनि लेखे । सीताको भूमिमा बसेर रामायण लेख्नु उनलाई अनुचित लागेको हुँदो हो । शर्माको अनुसार दासको यो कृति यद्यपि अप्रकाशित छ ।

उनले मिथिलाबारे लेखेका छन्;

उद्योतन प्रेमकी, ‘सुरकिशोर’
उपासक सन्तनकी भूवी पेखी ।
का बहुकाल जिए जगमें
धिक् जीवन जो मिथिला नही देखि ।।

तत्कालीन भारत वर्षको उथलपुथलमा भारतीयले शरण लिने ठाउँ नेपाल नै थियो भन्ने कुराको छनक पनि सुरकिशोरको आगमनले जताउँछ । यद्यपि उनको मिथिलाप्रतिको लगाव अमूल्य छ ।

“वर्णाश्रम, धर्मविचार गर्‍यो, द्विज, तीर्थ, देव शिथिल भए, अरू कतै बस्ने ठाउँ छैन । त्यसै कारण मैले मिथिलामा बस्न रुचाएँ’ भन्दै उनले आफ्नो एउटा रचनामा भनेका छन्,

कह सुर किशोर विचार यही,
हिम आताप औँ वर्षा सहिये
चुवौं चबिकै फलवौं भखिकै,
मिथिला महं बाँधि कुटी रहिये ।।
वर्णाश्रम धर्म विचार गये,
द्विज तीरथ देव भये सिथिला ।
हरि और नठौर कहूँ जमगमें,
तब सुर किशोर तकि मिथिला ।।’

***

मलाई जानकीसँग बसेर त्रेता युगमा उत्कर्षमा रहेको मिथिला, द्वापर युगमा महाभारतको युद्धपछि लोप भएर पृष्ठभूमिमा पुगेको र कलियुगमा सोह्रौँ शताब्दीपछि पुनः प्रकट हुनुको कारण खोतल्नु छ । प्राचीन विदेह वा मिथिलाको राजधानी जनकपुर अहिलेको जनकपुर हो वा होइन भनी प्रमाणीकरण माग्नु छ । चिनियाँ यात्रु ह्वेन साङ्ग र वाङ्ग ह्वेन त्सेको यात्रा विवरणले बताएका कुराहरूबारे पनि खोजीखबरी गर्नु छ । अझ, मैथिली भाषा तथा लिपिको प्रयोग, मौद्रिक गतिविधि, धार्मिक र सांस्कृतिक पक्षहरूको जानकारी दिने प्रस्तर, धातु र काष्ठकलाका उत्कृष्ट प्रमाणहरू क-कसले कहाँ-कहाँ पुर्‍याए भनी प्रश्न गर्नु छ । टिकमगढकी महारानी वृषभानु, जानकी मन्दिरको वास्तु कलाकारिताको विलक्षण प्रतिभा, शिश गर्भगृह भ्रमण आदि कुराहरू पनि बुझ्नु छ/देख्नु छ/हेर्नु छ । तर, त्यस पहिले अग्रज पत्रकार एवम् संस्कृतिप्रेमी प्रफुल्ल घिमिरे र राजनीतिज्ञ सञ्जीव साहलाई अङ्गराज सर किनारमा आई पुगिसक्नु भएको छ । अतः उतै लागेर हामी उहाँहरूसँगै जानकी मन्दिर मूल महन्त एवम् छोटा महन्तसँग भेटघाट गर्नेछौँ, सो क्रममा यी कुराहरू त्यति आउलान् । सो त्यतै लागौँ !

तस्बीर: राजु झल्लु प्रसाद

________________________________________
सन्दर्भ स्रोत
जनकलाल शर्माका प्रबन्ध : जनकलाल शर्मा, पृ. ५३-५५
जनकपुर कति पुरानो, जनकपुर टुडे रोशन जनकपुरी
मैथिली संस्कृति, डा. रामदयाल राकेश
मिथिलाक सांस्कृतिक परम्परा, डा. रेवती रमण लाल

(प्रकाशन मिति : २०७९, मंसिर २, शुक्रबार ०८:०१, साहित्यपोस्ट)

Leave a Reply