एम्बुलेन्स र स्कुटीवाली केटी (मनोवाद)

You are currently viewing एम्बुलेन्स र स्कुटीवाली केटी (मनोवाद)

सल्लेरी कोलाज

रक्तसञ्चार बन्द हुनु, श्वासप्रश्वास रोकिनु र पूर्ण रूपमा मस्तिष्क अचेतन हुनुलाई मात्रै विज्ञान आफ्नो भाषामा मृत्यु भन्छ । यी तीन मध्ये कुनै दुई पूर्ण रूपमा फेल खाए र एक स्वचालित रूपमा ठिकठाक नै छ भने पनि विज्ञान डेथ सर्टिफिकेट दिन मान्दैन । श्वास रोकिए भेन्टिलेसन छ, रक्तसञ्चार रोकिए मुटु ट्रान्सप्लान्ट गर्न सकिन्छ या मस्तिष्क अचेतन हुँदा सेरेब्रमको पनि उपचार सम्भव छ- ऊ भनिरहेको छ ।

मृत्यु र जीवनको बारेमा अध्यात्म सजिलो उत्तर दिन्छ । यिनीहरू एकअर्काको विकल्प होइन । जीवनसँग मृत्युका या मृत्युसँग जीवनको अविच्छिन्न सम्बन्ध छ । जहाँ जीवन छ, त्यहाँ मृत्यु पनि छ या जहाँ मृत्यु छैन त्यहाँ जीवन कदापि थिएन/हुँदैन ।

सधैँ लाग्छ, मर्नु छ । तर बाच्नुपर्छ, यो पनि सधैँ लाग्छ । मृत्यु रोकियो भने कत्रो दुर्घटना होला ? साथै जन्म भएन भने त्यसको परिणाम कस्तो होला ? यस किसिमको कल्पनाको शृङ्खला म तोड्न सक्दिन । यस्तै प्रश्नहरू अल्झिरहन्छु हरबखत ।

कोही बिरामी भए । कोही मर्ने लागे । कोही मरे । मलामी जान पर्‍यो ।…उफ् । कत्रो हाहाकार मच्चिन्छ ।
कोही जन्मियो । कसैको पास्नी भयो । कसैको व्रतबन्ध भयो । कसैको विवाह भयो ।.. उफ् । कत्रो कोलाहल हुन्छ ।

कोही बिरामी भए । कोही मर्ने लागे । कोही मरे । मलामी जान पर्‍यो ।…उफ् । कत्रो हाहाकार मच्चिन्छ ।
कोही जन्मियो । कसैको पास्नी भयो । कसैको व्रतबन्ध भयो । कसैको विवाह भयो ।.. उफ् । कत्रो कोलाहल हुन्छ ।


म मलामी जान पनि मन पराउँदिन । विवाह, व्रतबन्ध या जहाँ आफन्तजनहरूको जमघट हुन्छ, म त्यता पुग्न पन्छिन्छु । मलाई निको लाग्दैन, हाहाकार, कोलाहल, चिच्याहट, हतारो । अहँ होइन, मलाई निको लाग्दैन थियो । अब म यी सब घटना अपाच्य नै भए पनि स्विकार्दै जान थालेको छु । (हो पनि, जिन्दगी स्विकार्दै जानु नै बाच्नु पनि हो ।)

****
म त्यसताका भर्खर सहर छिरेको थिए । मलाई सहर नौलो लाग्थ्यो, तर सुन्दर कहिल्यै लागेन । उदाङ्गो लाग्थ्यो, नाङ्गो कहिल्यै लागेन । भिडमा छिर्थे, हराउँथेँ, र निस्कन्थे । सडकमा निस्किन्थे, विभिन्न गाडीका टिटी, पुइपुई, घुइघुई र हुइहुईले म बिरक्तिन्थे । त्यसै ताका एकथोकले म एकदमै डिस्ट्रभ होइरहन्थे – एम्बुलेन्स र एम्बुलेन्सको उदेकलाग्दो साइरन ।

कलेज मेरो लगनखेल थियो । बाफल बस्थे- दिदिभिनाजुसँग । कलङ्की पुगेर नै प्राय: गाडी चढ्थे । त्यस दिन हतार थियो । ११ बजे कलेज पुगिसक्नु पर्ने हुन्थ्यो । १०: १५ भइसकेको थियो । आकाशे पुल चढ्ने होस् नै आएन ।..तल सडकबाट नै बाटो काट्दै थिए । अकस्मात मेरो कान लिएर केही चिज तल पुग्यो । दुई मिनेट जति मैले केही सुनिन । बस् मेरा आँखाहरू चाक प्ल्याकप्ल्याक बनाउँदै बाबा पेट्रोल पम्प तिर बत्तिइरहेको एम्बुलेन्सलाई घुरीरहेथ्यो । होला ऊ कसैको ज्यान बचाउन दगुरेको होला ? तर एउटा ज्यान बचाउन लाग्दा अर्कोको ज्यान गइसकेको थियो ।

त्यसयता विभिन्न बहानामा सडकमा एम्बुलेन्स र मेरो मुठभेड भइरह्यो । ऊ आफ्नो रवाफ छोड्दैन थियो । उसैसरि बत्तेर आउँथ्यो । मलाई पनि आफ्नो रवाफ छोड्नु थिएन । मलाई उसलाई बाटो छाड्दिन मन लाग्दैनथ्यो । यो सिलसिला निकै समय चल्यो ।  उसले आफ्नो रवाफ देखाइरह्यो । मैले आफ्नो अठोट छाडिन ।  एम्बुलेन्सलाई बाटो छोड्न मैले  छाडी सकेकै थिए । झन् बरु पर्खेर बस्न थाले । एम्बुलेन्स आइपुगेको मौका छोपेर कामै नभएता पनि म सडक वारपार गरिरहन थाले । प्राय: त ऊ रोकिन्थ्यो । र, मलाई बाटो छाड्दिन्थ्यो । म संसार जितेको सम्राट् झैँ मुख फुलाएर बाटो क्रस गर्थे ।

साथीहरूले कराए । “के गर्छ मुजी ? बाटो दिने गर् । नियर टू डेथ पुगेका बिरामीहरू हुन्छन । ”

दिदीले सम्झाउनुभयो । ” के मज्जा आउँछ तलाई त्यसो गरेर ? पिर्छ हो बिरामीले । रोगले । त्यसो नगर्नु ।”

नौं वर्षको भान्जो भन्थ्यो, “दाइ । एम्बुलेन्सलाई त बाटो छोड्नु पर्छ । मर्न लागेको मान्छे बोकेर हिन्या हुन्छ । तपाइले यसो गर्दा के थाहा कति बिरामी मरे पनि की ?”

भिनाजु पनि भन्थे, “बाबु यसो नगर्नु । एम्बुलेन्सलाई जति हतार हामीलाई कहिल्यै हुँदैन ।”

मेरो एउटै तर्क हुन्थ्यो, ”हतार कसलाई छैन ? मर्नु कसलाई छैन ? ढिलोचाँडो सबै मर्ने नै हो ।” मलाई लाग्थ्यो पनि आधा मिनेट ब्रेक हान्दा कुनै बिरामीको मुटु रोकिन्छ भने, मैले बाटो नकाटेको भए पनि सो बिरामी आधा मिनेट पछि मर्ने नै थियो । बाच्नेहरू मैले बाटो काट्दैमा मरिहाल्दैनन् ।

”हतार कसलाई छैन ? मर्नु कसलाई छैन ? ढिलोचाँडो सबै मर्ने नै हो ।” मलाई लाग्थ्यो पनि आधा मिनेट ब्रेक हान्दा कुनै बिरामीको मुटु रोकिन्छ भने, मैले बाटो नकाटेको भए पनि सो बिरामी आधा मिनेट पछि मर्ने नै थियो । बाच्नेहरू मैले बाटो काट्दैमा मरिहाल्दैनन् ।


म हैरान थिए त एम्बुलेन्सको हतार गर्ने प्रवृत्ति भन्दा पनि उसले निकाल्ने उदेकलाग्दो आवाजसँग । ‘मान्छे मरेको त छैन नि ? फेरी किन एकोहोरो शङ्खको जस्तो आवाज निकाल्न पर्‍यो ? सोघोषित रूपमा एम्बुलेन्स आफैँ पहिले नै बिरामीको मृत्युको कामना गर्छ ।’ मेरो यस्ता तर्क(कु)ले सब हैरान थिए । यस विषयमा प्लस टु सकुन्जेल नै विभिन्न समयमा विभिन्न व्यक्तिहरूसँग मेरो चर्का चर्की भइरह्यो ।

मलाई पनि ११ बजे कलेज पुग्ने पर्ने हुन्छ । (एक मिनेट ढिलो हुँदा दिनभर ट्वाइलेट छेउमा नाली सुँघ्दै भाले बन्नुपर्छ ।) एम्बुलेन्स सँगसँगै आफू चढेको लोकल बस जामबाट मुक्त हुन नदिएको देख्दा प्रथमतः: म ट्राफिकसँग रिसाउँथे । त्यसपछि बसको ड्राइभरसँग अनि लगत्तै निकै अघि कान चिर्ने आवाज निकाल्दै कुदिरहेको एम्बुलेन्ससँग पनि । मलाई ‘एम्बुलेन्सीयन प्रवृत्ति’ राजतन्त्रको हैकमवाद भन्दा कम लाग्दैन थियो । एम्बुलेन्स जति नै कुदेर अस्पताल पुगे पनि डाक्टर नहुन सक्छ । डाक्टर भए पनि उपचार शुरु गर्नुअघि त्यत्रो लामो प्रोसेस लाग्छ । मैले आधा मिनेट एम्बुलेन्स रोक्दा त्यस्तो विपत् नै के हुने हो र ?  किन मलाई चिन्नेहरू सधैँ मेरो यस प्रवृत्तिको भर्त्सना गरिरहन्छन् ? सत्तोसराप गरिरहन्छन् ?

***
भर्खर भर्खरै मैले प्लस टु सक्काएको थिए । कीर्तिपुरको घडी घर अगाडी बसेर चाउचाउ खाइरहेको थिए । अकस्मात आएको ममीको फोनले मलाई १० मिनेटमा बल्खु स्थित वयोधा हस्पिटल पुर्‍यायो । सानिमालाई गजुरीमा गाडीले ठक्कर दिएछ । फर्केर आएर किच्न पनि खोजेछ ।बसका अरू यात्रुले कराएछन्, त्यसो हुन् पाएनछ । वयोधा पुग्दा उहाँलाई इमर्जेन्सी वार्डको ३०४ नम्बर बेडमा सुताइएको थियो । गाडीको खलासी, एम्बुलेन्सको ड्राइभर र केही नर्सहरू सानीमालाई रुगीरहेका थिए । मलाई ती कसैसँग सहानुभूति या रिस थिएन, त्यतिखेर मलाई बस् सानीमा अनुहार हेर्नु थियो । हतार हतार काउन्टरमा ‘.. खनाल’ भने । लगत्तै मेरा पछाडि डाक्टर र नर्सको झुण्ड आइपुग्यो । त्यै झुण्डसँगै म इमर्जेन्सी वार्ड छिरे ।

गाडीले हानेको भन्ने बित्तिकै मैले उहाँको अनुहारको एक प्रकारको नक्सा बनाइसकेको थिए । आफूले बनाएको नक्सा भन्दा निकै भयानक अनुहारको नक्सा देखेर म थचक्कै बसेँ । ओठ तालु सुक्यो । आँखा खुलेको खुल्यै भयो ।.. बाथरुम छिरेर मुखमा पानी फ्यालीरहें । कुनै नर्स आएर मलाई उठाइन । बिरामी दर्ताका क्रममा मेरो नाम ठेगाना, सम्बन्ध, सम्पर्क नम्बर साथै सानीमाको नाम, ठेगाना, काम र उमेर सोधियो, मैले बताए । बल्ल उहाँको उपचार शुरु भयो । कपाल काटियो । कन्चटबाट बगिरहेको रगत रोक्न नर्स र डाक्टरको झुण्ड क्रियाशील थियो । कैँचीजन्य औजारहरू सानीमाको अनुहारमाथि दर्जनौँको सङ्ख्यामा निरन्तर चलिरहेका थिए । ब्यान्डेज लगाउने कामले निरन्तरता पायो । तर रगत बग्न रोकिएन ।..बगिरह्यो ।..बगिरह्यो ।

निकै बेर पछि बाहिर निस्किएर आफन्तजनहरूलाई फोन लगाए । साढे १० मा वयोधा हस्पिटल पुगेको म १२ बजे सिटी स्क्यानको लागि एम्बुलेन्स चढेर बि एण्ड बि हस्पिटल, ग्वार्को पुगेँ ।

त्यसभन्दा अगाडी याद भएसम्ममा म एम्बुलेन्समा चढेको थिइन् । मैले अठोट गरेको थिए – यमदुतहरूको वाहान, यो झ्याक्ने एम्बुलेन्समा म कहिल्यै बस्ने छैन ।

उसैगरी एम्बुलेन्स दगुरेको थियो । सोही उदेकलाग्दो साइरन बजिरहेको थियो । म चढेको एम्बुलेन्स पनि उस्तै हतारोमा थियो । म सँगसँगै भएका दुई वटी नर्स सलाइन पानीको बोतल र स्ट्रेचरको पोजिसन मिलाउन, ठिक बनाउन लगातार लागिरहेका थिए । एम्बुलेन्स चालक जाम छिचोल्न स्टेरिङ र गियर सक्दो तोडमोड गरिरहेका थिए । चालक, नर्स र एम्बुलेन्स सबै निकै हतारमा थिए । र ती सबै भन्दा कयौँ गुणा बढी म हतारमा थिए । हो, त्यस दिन मलाई निकै हतार थियो ।

टाउकोबाट रगत बग्न रोकिएको थिएन । बिहान ८: १७ मा दुर्घटना भए पश्चात् १०: २३ मा अस्पताल ल्याइपुर्‍याएको लेखिएको कार्ड म आफै समाइरहेको थिए । ‘मुलाहरू एम्बुलेन्स हो की ट्रयाक्टर ? ६० किलोमिटरको बाटो २ घण्टा कसरी लाग्छ ? प्रतिघण्टा ६० किलोमिटरको दरले त जुनसुकै यात्रुवाहक बस पनि त दौडिन्छ ।’ मलाई त्यस बेला यो सम्म पनि ख्याल भएन कि बाटोमा जाम पर्न सक्छ, जामबाट एम्बुलेन्स फुत्कन नपाएको हुन् सक्छ । मेरो जस्तै प्रवृत्ति भएका अरू पनि हुँदा हुन् । तिनीहरूमध्ये कहिँलाई साँच्चै हतारो पनि हुँदो हो । ५ जनाले आधा आधा मिनेट रोकेकै भएता पनि साढे दुई मिनेट रोकियो । अहँ…, म कसैगरी शान्त हुन् सकिरहेको थिइन् त्यतिखेर । मलाई बस् हतारो थियो ।

बल्खुबाट निस्केर २ मिनेटमा बागडोल पनि पुर्‍याउन नसक्ने एम्बुलेन्स चालकसँग म रिसले आगो थिए । मैले एक शब्द ऊ सँग त्यतिबेलासम्म बोलेको पनि थिइन् । उसले एक नख्खु पुग्दा जेब्रा क्रस गरिरहेका व्यक्तिहरूलाई हातको इसाराले बाटो काट्न भन्यो । मेरो रिस गोली भएर बोलीमा निस्कियो, ” यार एम्बुलेन्स हो, बाटो काट्नेहरू पनि रोकिन्छन् । के स्वादले उनीहरूलाई बाटो काट्न दिनुभएको ? ” त्यसपछि उसले म तिर एकफेर पुलुक्क हेर्‍यो अनि सानिमा तिर एकफेर । सानिमाको रगत बग्न रोकिएको थिएन । सँगै आएका दुई नर्समध्ये एकलाई सलाइन पानीको बोतल समाउँदा नै ठिकै थियो । अर्की रगत रोक्न अनेक प्रपञ्च रच्दै थिई । ती दुवैमा कुनै हतारो थिएन । जस्तो की यति रगत बग्दैमा केही भई हाल्दैन । रक्तश्राव भएर सानिमा रहिनन् भने पनि केहि हुने छैन ।

“कस्ता मु*हरू हुन् ? आधा मिनेट पर्खिएर बाटो काट्दा कुन चाहिँ काम बित्छ ? को भोकै मर्छ ? कसको निन्द्रा टर्छ ? कसले आराम पाउँछ ? कसको जिन्दगी बच्छ ?” कुनै भयावह हाइड्राले मेरो दिमागमा जरा गाडेको थियो । र उसका लामा लामा ट्यान्टकलसले सहरवासी सबैको घाँटी निमोठ्दै थियो । हो त्यतिखेर, हतारो गर्ने हरकोहिको म घाँटी निमोठ्न चाहन्थे ।

“के बाटो खनेको ? यो घर भत्काएर सिधै त्यो घरसम्म लान सकिन्नथ्यो ? यो घुम्ती किन बनाएको ? सडक बनाउन नजान्नेहरू के खान इन्जिनियर भई टोपलेका ? खाल्डो पुर्दा तिनीहरूले कुन चाही छाक भोकै बस्नुपर्थ्यो ? यति जाबो खाल्डो पुर्दिएको भए पनि त रोकिएको रगत फेरी बग्दैनथ्यो ?”


“के बाटो खनेको ? यो घर भत्काएर सिधै त्यो घरसम्म लान सकिन्नथ्यो ? यो घुम्ती किन बनाएको ? सडक बनाउन नजान्नेहरू के खान इन्जिनियर भई टोपलेका ? खाल्डो पुर्दा तिनीहरूले कुन चाही छाक भोकै बस्नुपर्थ्यो ? यति जाबो खाल्डो पुर्दिएको भए पनि त रोकिएको रगत फेरी बग्दैनथ्यो ?” रगत चिउँडोबाट झरेर स्ट्रेचरमा जम्मा हुन् थालेका थिए । आँखा बन्दको बन्द थियो । कान माथि लागेको चोटले अनुहार पुरै रगतमय बनाइदिएको थियो । झन् बाटोका पाइलै पिच्छेका खाल्डाखुल्डीका कारण बगिरहेका रगतले मनपरी दिशा समाएका थिए ।

“किच्दे हुन्छ मुलाहरूलाई । के गर्‍या के ? कतिन्जेल लाग्या हुन् बाटो काट्न पनि ? ” मेरो चर्को आक्रोशको आवाजपश्चात चालकले  बल्ल एम्बुलेन्स अगाडी बढाए । एम्बुलेन्सको आवाज अझ चर्को बनाउन भने । एम्बुलेन्स बल्ल एकान्तकुना तर्फ लाग्यो । जावालाखेल तर्फ जाने गाडी छुटिरहेका थिए । एम्बुलेन्स पुन: रोकियो ।

ट्राफिक रेस्पोन्स नै गरिरहेको थिएन । “११ बज्दासम्म नि मु* जाम पन्छाउन सक्दैन ? के-को ट्राफिक भई खान्छ यसले ? एम्बुलेन्स हो यार, बाटो बनाइदिन पर्छ नि । के मजाले जावालाखेल जाने गाडीहरूलाई छोडीराछ ?”… एक्कासि मोबाइल करायो । मैले एकान्तकुना भनेर राखिदिए । कसको नम्बर थियो, फोनमा को थियो ? मैले हेरिन ।

डेढ मिनेट जति रोकिएपछि एम्बुलेन्स अघि बढ्यो तर सामुन्ने एक स्कुटीवली आइपुगी । एम्बुलेन्समा घ्याच्च ब्रेक लाग्यो । सानिमाको हात जोडले समातिरहेको थिए । छुट्यो । रगत चिउँडोमा तप्प खसेर मेरो सेतो जुत्तामा पर्‍यो । रिसले अगाडी हेरे । देखे, ऊ थोरै पछाडि हटेर आफ्ना हातको चोर औँला र माझी औँलाले छाती छोएर निधार छुँदै छे । एम्बुलेन्स अगाडी बढ्दा सम्म उसले यो क्रम तीन चोटि गर्न भ्याइसकेकी थिई । ‘त्यो केटी कस्ती थिई, के लगाएकी थिई, कस्तो रङको स्कुटीमा थिई, ऊ देख्नेथी कस्ती ?’ मलाई याद रहेन ।

कुसुन्ती पुग्दासम्म म यहिँ सोचमा हराए ? त्यो केटीले अघि त्यो के गरेकी हो ? त्यहाँ कुनै नदी थिएन, मन्दिर थिएन । फेरी उसले ईश्वरलाई सम्झेर भक्तिभाव व्यक्त गरे झैँ त्यो के गर्दै थिई ?

कुसुन्ती, थसिखेल, महालक्ष्मी स्थान, चापाँगाउँ दोबाटो, सातदोबाटो,….कतिखेर आएर कतिखेर गए मलाई होस् रहेन । मलाई यति लामो सडक र यति लामो समय कहिल्यै लागेको थिएन । बाटोमा थुप्रै आउँथे । एम्बुलेन्सलाई हात देखाउँथे । र बाटो काट्थे । मलाई एकफेर त लाग्यो पनि । यी व्यक्तिहरू तीनै हुन्, जसको मैले सयौँ पटक बाटो काटेको थिए । जो अहिले निको भएछन् । र, मेरो बाटो काट्न आइपुगेका छन् । या ती बिरामीहरूको आफन्त हुनुपर्छ, जसले मलाई त्यस बेला पनि निकै असभ्य गाली गरेका हुँदा हुन् । म यस सोचबाट तब बौरीए जब पुन: मोजा नलगाएको मेरो खुट्टाको कुर्कुच्चामा एक थोपा तातो रगत तप्प तप्कियो । “होइन रगत त रोकिनुपर्ने होइन भनेको ?”, मेरो प्रश्न र स्वरमा रहेको भारीपानाको कारण नर्सहरू मुखामुख गरे । म उनीहरूलाई घुरिरहेको नै थिए, दुवैले एक फेर पुन: मुखामुख गरेर आफ्नो आँखा तल झुकाए । उनीहरूको आँखाले के भन्यो, मैले बुझिन ।

कुसुन्ती पुग्दासम्म म यहिँ सोचमा हराए ? त्यो केटीले अघि त्यो के गरेकी हो ? त्यहाँ कुनै नदी थिएन, मन्दिर थिएन । फेरी उसले ईश्वरलाई सम्झेर भक्तिभाव व्यक्त गरे झैँ त्यो के गर्दै थिई ?


ग्वार्को नपुग्दै एम्बुलेन्स बायाँ मोडियो । बि एण्ड बि को गेट भित्रबाट एउटा कार बाहिर निस्किन खोज्दै थियो । जसका कारण एम्बुलेन्सको गति धिमा भयो । .. केही अरू सहयोगी पनि आए । सनिमालाई सिटी स्क्यानको लागि रेडियोलोजी रुममा छिराइयो । आधा घण्टा बाहिर रिगें । एम्बुलेन्स रित्तो छोडेर चालक र नर्स दुवै कतै गएका थिए । त्यहाँ मलाई चिन्ने कोही पनि थिएनन् । तर म हरएकलाई चिन्थे । यी हरएकको गल्ती छ- यो हुनुमा । यी हरएकले थोरै नै भए पनि मेरो समय बरबाद गरेका छन् । चाहे त्यो बल्खु देखि ग्वार्कोसम्म को बाटोमा हिँडेर हुन्, मलाई हेरेर हुन्, मसँग बोल्न खोजेर हुन् या मलाई ढाडस दिने बहानामा मेरो मथिंङ्गल खराब बनाएर हुन् । एक समय त म हस्पिटलका तमाम डाक्टरहरूलाई समेत गाली गरिरहेको थिए ।

बाहिर टेबलमा बसेको निकै बेर भइसकेको थियो । भित्र छिर्न नदिएर हस्पिटलले झन् म माथि ज्यादती गर्दै थियो । र, गोजीमा रहेको फोन बारबार बजिरहेको थियो । को सँग के-के बोले मलाइ याद छैन । यत्ति याद छ, “रगत रोकिएको छैन, मर्छिन् क्यारे ममी- सानिमा ।”

बेलुका रिपोर्ट लिने आउने सर्तमा हामी वयोधा फर्कियौँ । बाटोभरि मलाई हरथोक बाधक बनिरह्यो । सडकका घुम्ती, खाल्डाखुल्डी, बाटो नछोड्ने प्राइभेट क्यार, हुईय.. हुईय..गर्दै दौडिरहने मोटरबाइक र जेब्राक्रसिङ आफ्नै निजी सम्पत्ति ठानेर बाटो काट्ने ती पैदलयात्रीहरु । सबैलाई हतारो हुन्छ, तर सद्दे मान्छे भन्दा निकै हतार मर्न लागेको बिरामीलाई नै हुन्छ ।

लगभग ५ किलोमिटरको बाटो १० मिनेटमा एम्बुलेन्स चालकले काट्दा पानी म चालकमाथि खनिइरहेको थिए । तर उसका ओठ मुस्कुराइरहन्थे । मेरो हर गाली, रिस र आक्रोश ऊ सजिलै पचाइरहेको थियो । बाटाभर निकै फोन आयो । मैले फोन उठाइरहे । के-के बडबडाइरहे ।

पुन: सानिमालाई इमर्जेन्सी वार्डमा राखियो । आइपुग्न पर्ने(सक्ने) जति आफन्त आइसकेका थिए । सोध्नु पर्ने प्रश्न जति मलाई सोधिरहेका थिए । र, मेरो आँखा बिल भर्न दगुरिरहेको बसको सह-चालक माथि खनिइरहेको थिए । ड्राइभर अझ सम्म आइपुगेको रहेनछ । सोही सह-चालकसँग नम्बर मागेर फोन गरे । भन्यो, ” कलङ्की आइपुग्न लागेँ । बिरामीको उपचार गर्न कुनै कसर नछोड्नु । यातायात सङ्घसँग कुरा गरिसकेको छु ।”

३८ दिनको हस्पिटल बसाइँ बिच ४ चोटि म बि एण्ड बि पुगे । एम्बुलेन्सको नै यात्रा थियो ती सबै । र, ती पछिल्ला दिनहरूमा म आफूलाई थुकिरहेको थिए । आफूलाई सयौँ मान्छेको हत्यारा बनाइरहेको थिए । चाहे ती जिउँदा नै हुन् । तर मैले निकै ज्यादती गरे । पश्चतापको घामले मलाई निकै लामो समयसम्म पोलिरह्यो । र, यी दिनहरूमा एकान्तकुनामा भेटिएकी त्यो स्कुटीवाली केटी र उसले गरेको त्यो हाउभाउ(आफ्ना हातको चोर औँला र माझी औँलाले छाती छोएर निधार छुनु) के थियो ? सोचेर नै व्यतीत गरेँ । मैले कसैगरी थाहा पाउन सकिन, उसले त्यस दिन गरेकी थिई ?

***
अलिक पछि कुनै दिन म रत्नपार्क जाँदै थिए । मसँगै सिटमा बसेको व्यक्ति अचम्मित पर्‍यो । घरी बाहिर हेर्‍यो, फेरी मलाई हेर्‍यो । अनि पुन: बाहिर हेर्‍यो । र हाँस्यो । म पनि हाँसिदिए ।

फेरी कुनै दिन । म कलङ्की पुग्दै थिए । सँगैको सिटका एक अङ्कलले भने,” कलङ्की मन्दिर अलि माथि हो बाबु । कहाँ अहिल्यै मन्दिर सम्झेर ढोग्नुभएको ?” म फेरी पनि हाँसिदिए ।

त्यस दिन म घर जाँदै थिए । माइक्रोले त्रिशूली नदीको पुल नाघेको ५ मिनेट जति भएको थियो । पल्लो सिटका आन्टीका आँखाले मलाई नियाले । र, उनको मुख चल्यो । “त्रिशूली नदी त अलि अघि नै कट्यो होइन र ? काँ अहिले सम्झिरहनु भाछ गङ्गामाईलाई ?” म पुन: त्यस क्षण पनि हाँसिदिए ।

त्यस्तै विभिन्न दिनहरूमा, विभिन्न ठाउँहरूमा म यस्ता थुप्रै प्रश्नको सिकार बनिरहे(छु) । हाँसोको कारण बनिरहे(छु)।
“मन्दिर नै छैन । होइन तँ के हातले यस्तो उस्तो गर्छस् हो ?”
“के गर्छ यो ? बेला न कुबेला केके जप ध्यान गर्छ ?”
“होइन थलाइ के भाछ हँ अचेल ? अस्पताल छिर्दा नि कसैले ढोग्छ ?”
“ए ! लौ तेरो मन्दिर आयो । हातले छाती छुँदै निधार छुँदैनस् ?”
“यार झल्लु । के पुरातनवादी सोच बोकेर हिडीराँ हो ? अहिलेको जमानामा यो सब गरेर सम्भव नै छैन यार ।”
“यार कवि । तिमी पनि भनेसी भगवान् मान्छौँ ?”
“मुला मन्दिर चाहिँ कहिल्यै छिर्दैन ? बाटोमा चाहिँ मन्दिर नै नदेखी पनि ढोग्छ । पातकी मुला ।”

“मन्दिर नै छैन । होइन तँ के हातले यस्तो उस्तो गर्छस् हो ?”
“के गर्छ यो ? बेला न कुबेला केके जप ध्यान गर्छ ?”
“होइन थलाइ के भाछ हँ अचेल ? अस्पताल छिर्दा नि कसैले ढोग्छ ?”
“ए ! लौ तेरो मन्दिर आयो । हातले छाती छुँदै निधार छुँदैनस् ?”


एक दिन कोटेश्वर आसपास म:म: खाइरहेको थियौँ । साथीले भन्यो, “होइन के गर्छस् हो तँ ? तैँले यसो गर्दैमा बिरामी बाच्ने हो र?” म हाँसिदिए ।

फिल्म हेरिरहँदा पनि मेरा दुई औँला छाती हुँदै निधारसम्म पुगिसक्दा रहेछन्, साथमै रहेकी भूतपूर्व प्रेमिकाले भनिदिएपछी थाहा पाउँछु  । घरमा ल्यापटपमा फिल्म हेरिरहँदा पनि बहिनीको आँखाले बेलाबेला मलाई घुरिरहेका हुन्छन । म हाँसीदिन्छु ।

अहिले राजधानीमा दिनहुँ म साइकल चलाउँछु । जाम, धुवाँ, धुलो र ठुला गाडीको हाइ स्पिडको चपेटामा म सधैँ च्यापिई नै रहन्छु । यद्यपि यस्ता बेलामा पनि मेरा दुई औँला छाती हुँदै निधार छुन पुगिहाल्छन् ।

मूल सडकको यात्रा गरिरहँदा, राजधानीका फुटपाथमा डुलिरहँदा, चोकमा बसेर चिया पिइरहँदा, कोठामा बसिरहँदा, मलाई धेरैले कराए । धेरैले मलाई धेरै प्रश्न गरिरहेँ । अहँ, ..मैले आजसम्म पनि कसैलाई केही बताइन । म त्यस्तो किन गर्छु ? कहिलेदेखि गर्न थाले ? त्यो गरेर के हुन्छ ?..बस् म हाँसीदिन्थे(छु) ।

***

मलाई यतिखेर सोहि केटीको सम्झना भइरहेछ । को थिई ऊ ? जसले जानेर नजानेर मलाई एउटा बानी लगाईदिई । र, यो बानी मेरो अन्य नित्य कर्म जस्तै भइसकेको छ । चाहेर पनि म आफ्ना औँलाहरूलाई रोक्न सक्दिन ।

अस्ति भर्खर बहिनी एस. एल. सी(एसइई) सकेर काठमाडौँ आई । इङ्लिस ल्यांगोवेयजको क्लास बुझ्न बहिनी र म बालाजु आसपास थियौँ । बाटो क्रस गरेर पुल पट्टी जाँदै थियौँ । अलि पर देखि एम्बुलेन्सको आवाज सुनियो । मैले फेरी सोही कर्म दोहोराए । बहिनी मलाई र एम्बुलेन्सलाई बारबार हेरिरहेकी थिई । बाटो काटिसके पछि उसले सोधी, तैँले अघि के गर्‍या दाइ ?

म फेरी हाँसिदिए । ऊ मलाई हेरिरहेकी थिई । मलाई बोल्न करै लाग्यो । ‘बानी । मेरो एउटा बानी छ, म एम्बुलेन्सलाई ढोग्छु ।

००००००

०००

लेखकबाट थप:

कमिलोको समाधिस्थल

वापस आए गायतोन्डे !

झरी परेको दिनको सुर्यमुखी फुल

कानुनी चस्माको निगरानीमा घरबुना रक्सी

बलिउडको ‘ब्याड ब्वाई’ : मेरो ‘सन्जु बाबा’

सुर्य अस्त नेपाल मस्त

०००

००००००

राजु झल्लु प्रसाद

‘सल्लेरी कोलाज’ ब्युरोका झल्लु प्रसाद गजल, कविता, कथा साथै मनोविश्लेषणात्मक लेख लेख्दै आइरहेका छन् ।

प्रकाशित मिति : 13 September, 2019, सल्लेरी खबर

Leave a Reply