महिनावारी अर्थात् रजस्वला (नेपालमा प्रचलनमा रहेको शब्दहरू: नछुने हुनु, परा सर्नु, छुई हुनु इत्यादि) महिलाहरूमा हुने प्राकृतिक प्रक्रिया हो । पाठेघर र अण्डाशय लिएर जन्मिएका व्यक्तिहरु अपवादमा बाहेक सबै महिनावारी हुन्छन्, जुन अनिवार्य जैविक प्रक्रिया हो । चिम्पाञ्जीको उदयसँगै वा चार खर्ब वर्षदेखि महिनावारी विद्यमान भएको रेकर्डमा देखिन्छ ।
सामान्यतया स्वस्थ बालिका १० वर्ष पुगेपछि कुनै पनि समयमा रजस्वला हुन्छिन् । बालिका १० देखि १५ वर्ष हुँदा पहिलो पटक रजस्वला हुनु स्वास्थ्यको दृष्टिकोणमा राम्रो मानिन्छ । नेपालमा धार्मिक, सामाजिक कारणले गर्दा महिनावारिको खासै कुराकानी हुँदैन । शहर वा विकसित देशमा पनि महिनावारी विभेद फरक नाम, स्वरुप वा बहानामा अभ्यासमा छन् । कतिपय ठाउँमा सजिलै देखिन्छ भने कतिपय ठाउँमा देखिँदैन ।अन्य सामाजिक अवस्थाका कारण तरिकाहरु फरक होलान् । आयाम फरक हुनसक्छन् । धेरै थोरै होलान् । तर, केही न केही विभेद जहाँसुकै छ । पुरुष मात्रै हैन नेपालमा स्वयम महिलाहरू पनि यस विषयमा खुलेर बोलेको एकदमै कम पाइन्छ ।
रजस्वला हुँदा हुने शारीरिक दुखाइ, मानसिक तनाव र हार्मोन परिवर्तनहरू महिलाको स्वास्थ्यसँग सम्बन्धित विषय हो । महिलाहरूको प्रत्यक्ष स्वास्थ्यसँग सम्बन्ध राख्ने यस विषयमा खुलेर कुरा नहुँदा महिलाहरूले धेरै प्रकारको शारीरिक र मानसिक समस्याहरू भोग्नु परिरहेको छ । महिनावारिकै कारण लज्जित हुनुपर्ने, जागिरमा खटपट हुने, सम्बन्धमा दरार आउने, अमर्यादित व्यवहार नहुने, हीनताबोध हुने आदि अवस्था निस्तेज हुनुपर्छ । त्यसैले मर्यादित महिनावारी नीतिगत तहमा आई मूलप्रवाहीकरण हुनु आजको आवश्यकता हो ।
यहि कुरालाई मध्यनजर गर्दै भिजन न्यूज नेपालले आफ्नो नियमति साप्तहिक स्तम्भ ‘महिनावारी बहस’ पुन: सुरु गरेको छ । प्रस्तुत छ, भिजन न्यूज नेपालका लागि राजु झल्लु प्रसादले तयार पारेको सामाग्री:
सुषमा तिमल्सिनासँग ‘महिनावारीका कुरा’
महिलाहरू महिनावारी हुँदा धेरै खर्च हुने देशको सूचीमा नेपाल पाकिस्तानपछि दोस्रो स्थानमा रहेको बीबीसीले बत्ताइसकेको थियो । यस्तो बेला सरकारले प्याडको मूल्य अझ बढायो । तपाईँले ‘सरकार प्याड महँगो भयो’ भने लेख्नुभएको स्ट्याटसले सामाजिक सञ्जालमा तरङ्ग ल्याएको छ । सरकारको नालायककीलाई कसरी हेरिरहनु भएको छ ?
महिनावारी जस्तो गम्भीर विषय माथि पनि सरकारले खेल खेलेको देखेर अचम्म लाग्छ । यस्तो लाग्छ हामी नेपाली सरकारको विरोध गर्नकै लागि जन्मिएको हौँ र सरकार आफूमाथिको विरोध हेर्न । सेनेटरी प्याडलाई हरेक क्षेत्रमा सर्वसुलभ तवरले उपलब्ध गराउनुको सट्टा सरकार झन् यसलाई महँगो बनाउन उद्धत छ भने यो भन्दा लज्जास्पद विषय अरू केही हुन सक्ला र? सरकारले गरेका यस्ता गतिविधिलाई टुलुटुलु हेरेर बस्नुको सट्टा हामीले हरेक क्षेत्रबाट आवाज उठाउनु जरुरी छ । जसले गर्दा सरकारले हामी माथि गर्ने यस्ता नालायककीकरण लामो समय टिक्न नसकोस् ।
अध्ययनअनुसार, नेपाली महिलाहरूले आफ्नो जीवनमा झन्डै २,१०,५६५ रुपैयाँ महिनावारी हुँदा खर्च गर्छन्। तपाईँको आफ्नो भोगाई के छ ? पेनकिलर ट्याब्लेट (यदि प्रयोग गर्नुहुन्छ भने), प्याड लगायतका लगायताका सामग्रीहरू प्रयोग गर्दा तपाईँको महिनावारी खर्च कति पुग्न जान्छ?
यति बेला म पहिलोपटक आफ्नो महिनावारिको घटना सम्झन्छु, जतिबेला मलाई सानीआमाले दुइटा फरियाको टालो बनाएर दिनु भएको थियो- म एउटा धुन्थेँ त अर्को लगाउँथेँ । त्यसको लगभग दुई वर्षपछि होला- मैले प्याडको प्रयोग गर्न थालेँ । त्यतिन्जेल मलाई न प्याडको ज्ञान थियो, न त मैले यसको प्रयोग गर्न नै जान्दथेँ । अझै पनि म गाउँमा जाँदा यसरी नै कपडाको प्रयोग गर्छु किनकि गाउँघरमा सजिलै प्याड उपलब्ध छैन ।
मेरो महिनावारीको खर्च सरदर रु.५०० सम्म हुन पुग्दछ । दुईवटा प्याड त जसरी नै चाहिन्छ । खानपिनमा पनि ध्यान दिनै पर्यो । अझै पेट दुख्ने र रगत धेरै बग्ने समस्या हुँदा औषधी समेत खानुपर्ने अवस्था हुन्छ । यो बाहेक पनि पढ्न सकिन्न, काममा जान सकिन्न- जसले गर्दा समय पनि धेरै खेर गएको महसुस हुन्छ ।
प्याड महँगो भएपश्चात् प्रयोग कम हुने भयो नि, होइन ? स्वास्थ्यको दृष्टिकोणमा कमसल विधि अपनाइनु राष्ट्रकै लागि घाटाको कुरा होइन र ?
रजस्वला सुरु भएपछि रजोनिवृत्त नहुन्जेल हरेक महिना हुने रक्तस्रावलाई व्यवस्थित गर्न प्रयोग गरिने कीटाणुरहित साधनाका रूपमा प्याडलाई लिने गरिन्छ । प्याडको चलन आउनुभन्दा अगाडी पुराना कपडा च्यातेर लगौंटीका रूपमा प्रयोग गरिन्थ्यो । जो एक त असहज किसिमका हुन्थे भने दोस्रो यौन सङ्क्रमण हुने प्रबल सम्भावना रहन्थ्यो । जब प्याडको चलन आयो तब महिलालाई ठुलो राहतको अनुभव भयो ।
यदि प्याड महँगिने हो भने अवश्य पनि त्यसको प्रयोगमा कमी आउँछ । किनभने आर्थिक रूपले विपन्न वर्ग प्याड किन्नका लागि खाईनखाई केही पैसा जोहो गरेर भएपनि पुर्याउ’थ्यो तर प्याड महँगो भयो भने उनीहरूलाई गार्हो हुन्छ र पुनः पुरानै पद्धतिमा फर्कनु पर्ने अवस्था आउँछ । जो सहजता र सङ्क्रमण दुवै हिसाबले उपयोगी छैन । यसरी एउटा महिला सङ्क्रमणको चपेटामा पर्दै जानु भनेको राष्ट्रले महत्त्वपूर्ण मानव संसाधन गुमाउनु हो ।
महिनावारीसँग जोडिएको मानसिक चिन्ता, हैरानी र उत्पीडनका बारेमा पाठ्यपुस्तक, सम्बन्धित निकायहरूको बेवास्ता के-कति कारण होला ?
यसको कारण एउटै छ । अझै पनि हाम्रो समाजमा महिनावारीसँग जोडिएर शिक्षित वर्ग नै खुलेर बोल्न सक्दैनन् । स्कुल पढ्ने उमेरदेखि अथवा महिनावारी हुनु भन्दा अगाडीदेखि नै हरेक महिलालाई महिनावारीसँग सम्बन्धित रहेर सचेत गराउनु आवश्यक हुन्छ तर हाम्रो समाजमा त यसलाई गलत तरिकाले लिने गरिन्छ । सकेसम्म यस सम्बन्धी लुकेर कुरा गर्नुपर्छ । सम्बन्धित निकाय नै महिनावारीसँग सम्बन्धित रहेर खुलेर बोल्न, लेख्न, बहस गर्न सक्दैन भने हाम्रो समाज यस्ता विषयमा अड्किएर कहिले अघि बढ्न सक्छ होला त?
रगत लाज, भेदभाव, अपवित्र फोहोर, प्रदूषित रगत जस्ता भाष्यहरूको पछाडि के-कस्ता अर्थहरू लुकेको भेट्नुहुन्छ ?
वास्तवमा यी सबै बेकारका भाष्यहरू हुन् । हो एउटा यस्तो समय थियो- जतिबेला न प्याडको प्रयोग हुन्थ्यो न त कपडाको नै । त्यतिबेला महिनावारी भएको समयमा महिलाहरूको रगत यताउता खस्ने हुँदा उनीहरूलाई भान्साकाेठा, पूजाकाेठा, तरकारी, फलफूल छुन ओर्न रोक लगाइन्थ्यो । तर पछि यति विकृति फैलँदै गयो कि जनै लगाएका पुरुष छुन हुँदैन । हो, आरामको हिसाबले त ठिकै छ- आवश्यक पर्दा पनि भान्सामा जान पाइँदैन । हाम्रो समाजमा एउटा भेदभावपूर्ण व्यवहार सहेर अझै पनि महिला बस्नु पर्ने अवस्था छ त? लाज, भेदभाव, अपवित्र फोहोर, प्रदूषित रगत जस्ता भाष्यहरू हाम्रो समाजको पितृसत्तात्मक सोचको उपज बाहेक अरू केही होइन
महिनावारीको विषयमा नेपालमा भएका बहसहरू कत्तिको प्रभावकारी देख्नुहुन्छ?
महिनावारीको विषयमा नेपालमा कति नै बहस हुन्छन् र प्रभावकारी हुनलाई ? यहाँ दुईचार जना खुलेर बोल्दैमा वर्षाैंदेखि चल्दै आएको अन्धविश्वास हट्छ र? त्यसैले यहाँ हर कोही महिनावारीको विषयमा बोल्नु पर्छ । हरेक पुरुष बोल्नुपर्छ । हरेक महिला बोल्नुपर्छ । हरेक क्षेत्रका मानिस यस विषयमा शिक्षित हुनुपर्छ । महिनावारिको समयमा ‘यो नगर, त्यो नगर’ भनेर आफ्नै परिवारमा छोरीलाई एउटा विभेदपूर्ण व्यवहार गरिन्छ । सोच्नुस् त यो विषयमा कति छोरीहरू बोलेका छन् होला ? कति परिवार बोलेको छ होला ? पहिले बहस गर् कै निम्ति सहज वातावरण निमार्ण गरिनुपर्छ, अनि पो यस्ता बहस कुन-कुन क्षेत्रमा कति मानिसका लागि प्रभावकारी भयो देख्न सकिन्छ ।
महिनावारीको पहिलो अनुभव कस्तो थियो ? कति वर्षको हुनुहुन्थ्यो ? महिनावारी भएको हो कि होइन भनेर झुक्किनु पनि भयो कि ?
म पहिलो पटक महिनावारी हुँदा १४ वर्षकि थिएँ । ९ कक्षामा पढ्थेँ । घुमफिरको लागि सानीआमाको घर गएकी थिएँ । यससँग सम्बन्धित धेरथोर ज्ञान ममा भइसकेको हुँदा झुक्किन त म झुक्किन, तर पनि धेरै दुःख भने भोग्नु परेको थियाे ।
पूजापाठमा ध्यान दिने मेरो सानुबुवा बस्ने खाटमा म बस्न हुँदैन’थ्यो । उनले प्रयोग गर्ने पानी छुन हुँदैन’थ्यो । भुइँमा बस्नु पर्थ्यो । बुइँगलमा सुत्नुपर्थ्यो । मेरो निम्ति खाने भाँडा समेत छुट्टै हुन्थ्यो । हरेक बिहान चिसो पानीमा नुवाउनु पर्थ्यो । घर, दाजुभाइ हेर्न हुँदैन’थ्यो । यो सबैबाट दिक्क भएर म सातौँ दिनमा आफ्नो घर भागेर आएकी थिएँ, जबकि मलाई २१ दिनसम्म ‘तिमी यहीँ यसरी नै बस्नुपर्छ’ भनिएको थियो ।
त्यतिबेला परिवार, समाजले तपाईँलाई के-कस्ता कार्यहरू गर्न अह्रायो ? र, अहिले ? पूजाकोठा र भान्छामा छिर्ने वातावरण बनेको छ ?
त्यो बेला मैले जस्तो गर्नु पर्थ्यो, अहिले पनि घरमा हुँदा त्यस्तै नै गर्नुपर्छ । तर म सबैबाट लुकेर त्यस्ता क्रियाकलाप गर्छु, जुन मलाई महिनावारी हुने गरेकै कारण रोक लगाइने गरिन्छ । पूजाकाेठा भान्साकोठा छिर्ने वातावरण त बनिसकेको छैन तर पनि म घरमा झगडा गर्दै भए पनि छिर्ने गर्छु । मन्दिर जान्छु । तरकारी टिप्छु । छुन्छु । सबथोक गर्छु । यति सम्म कि मैले महिनावारी भएको बेला घरमा कसैलाई नभनी दसैँ, तिहारमा टीका समेत लगाएकी छु ।
तपाईँमा ‘प्रि–मेन्सट्रुअल सिन्ड्रम (पेट, कम्मर दुख्नेदेखि मुड खराब हुने लगायत समस्या)’ देखिन्छ कि देखिँदैन ? त्यसलाई कसरी ट्याकल गर्नुहुन्छ ?
महिनावारी हुनु दुईतीन दिन अघि देखि नै मलाई रिस उठ्न थाल्छ । मन विचलित जस्तो हुने गर्छ । एक्लो अनुभव जस्तो । टाउको दुख्न थाल्छ । मुड एकदम परिवर्तन भइरहन्छ । पेट, कम्मर, ढाड दुख्ने त छँदै छ । त्यसमाथि पनि यो बेला कसैलाई सुन्न मन हुँदैन । भिडभाड बाट टाढै बस्न मनपर्छ, त्यसैले पनि होला महिनावारीको समयमा म आफैँलाई समय दिन बढी मन पराउँछु । जस्तो कि आफ्नो रुचिको पुस्तक पढ्नु, लेख्नु, फिल्म हेर्नू, गीत सुन्नु कतै एकान्तमा गएर बस्नु यी सबै हर्कत गरेर सकेसम्म म सहजतापूर्वक महिनाको चार पाँच दिन बिताउने गर्छु ।
महिनावारीलाई गौरवपूर्ण रूपमा व्यवस्थापन गर्न के गर्नुपर्ला ?
महिनावारी महिलाहरूमा हुने नियमित प्रक्रिया हो । यसलाई किन गलत नजरले हेर्ने? किन विकृतिको रूपमा लिने? कति अन्धविश्वासको घेरो भित्र पसेर बसिरहने? अनि कतिन्जेल हामी महिलाहरू सबथोक रहेर बस्ने ? सर्वप्रथम त यस विषयमा खुलेर बोल्न सक्ने, आफ्नो समस्या राख्न सक्ने वातावरण बनिनुपर्यो । हामीले आमा, दिदीबहिनीलाई मात्र होइन बा, दाजुभाइलाई पनि आफ्नो समस्या भन्न सक्नुपर्यो । प्याडको सहजता पूर्वक उपलब्ध गराउनु पर्छ । हरेक ग्रामीण भेगमा महिनावारी सँग सम्बन्धित रहेर बहस गरिनु पर्छ । जनचेतनामूलक कार्यक्रम हुनुपर्छ । जो कोही यो विषयमा खुलेर बोल्न सक्ने वातावरण भयो भने पनि महिनावारी एक गौरवपूर्ण विषय बन्न सक्छ ।
(भिजन न्यूजमा २०७८, आश्विनमा प्रकाशित)