१. हिजो आज कुन पुस्तक पढ्दै हुनुहुन्छ ?
मेरो छ्यासमिस छ । १० वटा जति सुरु भएका छन्, र कुनै पनि सकिएका छैनन् । नारायण ढकालको दुर्भिक्ष, Shehan Karunatilaka को Seven Moons of Maali Almeida, हर्क गुरुङको मैले देखेको नेपाल, नियात्रा समाजको ‘नेपाली प्रतिनिधि नियात्रा’, लोकप्रसाद शर्मा भट्टराईको ‘धार्मिक,सांस्कृतिक र पर्यटनतीर्थ मनकामना: ऐतिहासिक एवं मानवशास्त्रीय अध्ययन’, प्रा. शेषराज शर्मा रेग्मी व्याख्याता रहेका ‘श्री ५ पृथ्वीनारायण शाहकालिक संस्कृत साहित्य’ पनि आधि अधुरै छ । यता, शेषराज शिवाकोटीको सम्पादनमा छापिएको ‘जनकलाल शर्मा: स्मृति र स्पन्दन’ पनि आधाउधि मात्रै भएको छ । मैले कमलेश्वरको ‘कितने पाकिस्तान’ पनि सुरु गरेर तुर्न सकेको छैन । भारतका प्रसिद्ध लेखक एवं हास्यव्यङ्ग्यकार हरिशंकर परसाईको ‘वैष्णव की फिसलन’ को ‘हालत-ए-हाल’ पनि उस्तै छ ।
२. कस्ता पुस्तक बढी मन पराउनुहुन्छ ?
तत्कालका लागि यसो भन्न सकिएला- जता घुम्न/डुल्न वा कुनै विषयसँग आबद्ध रहेर अध्ययन गर्न जाँदै छु, सोसँग सरोकार राख्ने आख्यान, गैरआख्यान, रिपोर्टस, नियात्रा, अभिलेखसंग्रह, ई-बुक आदि मनपराइरहेको छु । नढाँटी भन्दा नेपाल सरकार मातहतका पुस्तकालय, प्रकाशन गृहहरू एवं पुराना पुस्तक पसल चहारेर धमिराले खाएको, धुलोमा पुरिएका पुस्तकहरू पछिल्ला वर्षदेखि पढिरहेको छु । दैनिकजसो पुस्तकहरू सार्वजनिक भइरहेका छन्, यस्तोमा पुस्तक मनपराउने-नपराउने भन्दा पनि कति पढ्न भ्याइने भन्ने हुँदो रहेछ । मैले नेपाली पुराना लेखकहरूलाई बेसी पढिरहेको छु ।
३. पढ्ने पुस्तकहरू कसरी छान्नुहुन्छ ?
पढ्दै जाँदा यस कार्य आफैँ हुँदो जाँदो रहेछ । एउटा पुस्तक पढ्नु भनेको पढ्नुपर्ने थप १० वटा पुस्तक थाहा पाउनु रहेछ । यसैले छान्न भनेर छान्नै परेको छैन । मेरो ठेगाना खोज्दै पुस्तकहरू मकहाँ नै आइरहेका छन् । कहिलेकसो चाहिँ समीक्षक, बुक रिभ्यू वा बुक क्लबहरूको सहारा लिन्छु । यसो गर्दा केही घाटा अवश्य छ, म पुस्तक (विचार)हरूको एउटा ‘कम्फर्ट जोन’मा छु कि ? म सङ्कुचित हुँदै छु कि भन्ने चाहिँ लाग्छ । अनि, यसबाट निस्किनका लागि, कहिलेकसो पुस्तक विमोचन वा थिएटरतिर उक्लिएर आफ्ना पढ़ाकू दौंतारीहरूसँग एक-दुई राउन्ड ग्यास्ट्रिक उम्लने गरि चिया पिएर फर्किन्छु ।
४. किनेर पढ्न नभ्याएको पुस्तक ?
यो प्रश्न मेरै लागि हुनुपर्छ । म पाठक भन्दा बेसी पुस्तक सङ्कलन हुँदै छु कि भन्ने लाग्दछ । काठमाडौं आइपुग्दा इन्टरनेटमा र बाहिर रहँदा सोहीप्रकारका भेटघाट, वस्तुस्थिति अध्ययन र लेखनमा रहने हुनाले मसँग चानचुन २ हजार पुस्तक होलान्, जो मैले पढ्न भ्याएकै छैन । कहिलेकाहीँ लाग्छ, सबै छोडेर खुट्टा हल्लाउँदै पढी मात्रै बस्न पाए कस्तो हुने थियो ? तर, दैनिकी पनि स्याहार्नु छ । खैर, पढ्छु भनेरै लिएर आएको तर पढ्न नभ्याएको यी विधि पुस्तकहरूतर्फ पुलुक्क हेर्न पनि डर लाग्छ हो । ऐँठन धन्न परिसकेको छैन । हाहा..
५. पुस्तक कुन समयमा बढी पढ्नुहुन्छ ?
म कहाँ छु र कुन मनोदशामा छु भन्नेले यसको निर्क्योल हुन्छ । यात्रामा रहँदा बसमा बेसी अडियो बुक सुन्छु । थकाई ठिकै छ र ठेकेदार नभागेको बाटोमा गाडीले धेरै हल्लाएनछ भने त्यस रात बसेको होटेलमा खाना खाइसकेपछि पढ्छु । डेरामा रहँदा बिहानीपख कालो चिया पिउँदै पढ्दा साह्रो मजा लाग्छ । झरी परेको दिन वा सेक्सपछि पढ्न साह्रो मन लाग्छ । कसैलाई पर्खँदा वा काठमाडौं वरपर स्लो हाइकमा हिँड्दा पनि पुस्तक पढिरहेको छु । ठ्याक्कै समय छैन, तर हरेक दिन थोरबहुत पढ्छु ।
६. पुस्तक नभए जीवन कस्तो होला ?
जीवनमा अनुभव वा अनुभूतिको व्यापकता रुचाउँछु, यसैले पुस्तक बहुपक्षीय रूपमा गुणकारी छ । पुस्तक बिनाको केही दिन वा हप्ता सम्भव होला, तर महिनासम्म पनि सम्भव देख्दिनँ । यस उमेरसम्म आइपुग्दा सामाजिक, सांस्कृतिक एवं मानिसिक विविधताको भ्याएसम्मका सबैतर्फ हामफ्यालियो । छुस छुस गर्न हुने-नहुने सबै गरियो । यसो गर्दा पनि पुस्तक साथमै थियो । अब त अलि जिम्मेवारीले गिजोलेको छ । जीवन भर्खर विभिन्न तानाबानामा फसेर चोइटिन सुरु भएको छ । जतिजति चोइटिँदै गइँदो छ, उतिउति पुस्तकको आवश्यकता बढ्दो छ । मैले पुस्तक, यात्रा एवं पुस्तकप्रेमी सहयात्रीको बेगरको जीवनको कल्पनै गरेको छैन । पुस्तक बिनाको जीवन शीर्षक बिनाको कविता जस्तो हो, जति भव्य भएपनि अर्थपूर्ण हुँदैन कि ?
७. एकपटक पढ्नैपर्ने पुस्तक ?
भोल्गादेखि गङ्गासम्म, मेरी नीलिमा, हाम्रो समाज एक अध्ययन, सर्पदंश, अनुराधा, शिरीषको फूल, चपाइएका अनुहारहरू, कारागार, शब्दातीत शान्तनु, कट्टेल सरको चोटपटक, पागल बस्ती, हिट्लर र यहुदी, कथैकथा, तान्या, इन्द्रकमल र अन्धकार, वैकुण्ठ एक्सप्रेस, मैले देखेको नेपाल, आकाशमुखी, मान्ठा डराएको जुग, नेपाल- सिल्वा लेभी, जनकलाल शर्माका प्रबन्ध, प्रकाश (भवानी भिक्षु), ईश्वर वल्लभको कस्मै देवाय, देवकोटाको सुम्निमा र शकुन्तला, काफ्का अन द शोर, प्लेग (कामु), धनबज्रका अभिलेखहरू, शङ्कर लामिछाने र राममणि रिसालका निबन्धहरू, पिटर जे कार्थक र गोविन्द गोठालेका कथाहरू । सम र विजय मल्लका नाटकहरू । मन्टो, प्रेमचन्द, जौन एलिया र निर्मल वर्माहरूलाई पनि नछुटाउँदा बेस । यो सूचीमा थप १०० पुस्तक थप्न सकिएला । अहिले सरसर्ती यिनै सम्झिएँ ।
८. दोहोर्याएर पढेको पुस्तक ?
शिरीषको फूल, एब्स्ट्रयाक्ट चिन्तन प्याज, परेवा र कैदी, भूपी शेरचनका केही कविताहरू (कवितासंग्रह), लक्ष्मी निबन्ध सङ्ग्रह, भोल्गादेखि गङ्गासम्म, सबै जातका फूलबारी, मेरी नीलिमा, प्राचीन नेपाल र नेपाली संस्कृतिका अङ्कहरू आदि । यसबाहेक कथासङ्ग्रह र कविता सङ्ग्रहहरू बेसी दोहोराएको रहेछु, तिनको नाम लिइनँ ।
९. पुस्तक किन्न कति खर्च गर्नुहुन्छ ?
हाउ, पुस्तक किन्नु ‘खर्चिनु वा खर्च गर्नु’ नै होइन पो भन्ठान्छु । पुँजीवादी समयमा पुस्तक किन्नलाई पुगिरहेको छ । हालसम्म कमाएको या जोगाएको पैसाले यात्रा गर्न र पुस्तक किन्न पुगेको छ । खँदिलो पुस्तक प्रकाशन गर्ने सिनास, पुरातत्त्व विभागका अभिलेख सङ्ग्रहहरू, संशोधन मण्डलका पत्रिकाहरूमध्ये केहीलाई भने महँगो मूल्य तिरेर पनि लिएको छु ।
१०. मनपर्ने लेखक ?
नेपालतर्फ, शङ्कर लामिछाने, मदनमणि दीक्षित, ईश्वर वल्लभ, हरिभक्त कटुवाल, लक्ष्मीप्रसाद देवकोटा, सम, विपी कोइराला, भिक्षु, मैनाली, मल्ल दाजुभाइ, डोरबहादुर विष्ट, हर्क गुरुङ, जनकलाल शर्मा, धनबज्र बज्राचार्य, योगेश राज, महेशराज पन्त, बानिरा गिरि, तारिणीप्रसाद कोइराला, पारिजात, प्रेमा शाह, बेन्जु शर्मा, तोया गुरुङ, मञ्जु काँचुली, गोतामे र गौतम, शैलेन्द्र शाकार, नारायण ढकाल, अविनाश श्रेष्ठ, नयनराज पाण्डे, दिनेश अधिकारी, सुमन पोख्रेल, मोहन मैनाली, सुजित मैनाली, रोशन शेरचन, अभय श्रेष्ठ, मनोज बोगटी, राजा पुनियानी, विजय हितान, जीवनपानी, मौन आवाज, प्रभात तिमिल्सिना, कुशल न्यौपाने, राधिका कल्पित, रेणुका जिसी, सागर गैह्रे आदि ।
मन्टो, कामु, कमलेश्वर, प्रेमचन्द, मुराकामी, टैगोर, बशीर बद्र, जौन एलिया, जोर्ज अरवेल, एलेन पो, भर्जिनिया वुल्फ़, एलियट, ओस्कार वाइल्ड, चेखभ, काफ्का, हेमीङवे, नेरुदा, डीएच लरेन्स आदि अहिले सम्झिएँ ।
११. लेखकलाई के–ले राम्रो बनाउँछ ?
लेखकलाई राम्रो पाठकले नै बनाउने हो । आलोचनात्मक रवैया अध्ययनशील पाठकहरूले नै लेखकलाई राम्रो बनाउँछ कि लाग्छ । त्यसबाहेक लेखक स्वयंमा अध्ययनशील हुनुपर्छ । यात्रारत हुनुपर्छ । आफ्नै समीक्षक पनि हुनुपर्छ ऊ । त्यसपछि बाँकी सिँगारपटार आवश्यक छैन । कथित ‘राम्रो’ पनि भइरहन पर्दैन ।
१२. नेपालमा लेखेर बाँच्न सकिन्छ ?
हालसम्म मैले लेख्ने बाहेक अर्को उद्यम गरेको छैन । प्रकाशन संस्थाको तानशाही रवैया, लेखनबाट विमुख इन्टरनेट र भिडियो मेकरको जगजगी र च्याट जिपिटिको बिगबिगीमा पनि म बाँचिरहेको छु । जीवन जिउन र लेख्नकै लागि हो भन्छु म । लेखेर बाच्नु पो बाच्नु ! नत्र त के बाँच्नु ?
१३. ई बुक राम्रो कि प्रिन्ट ?
दुवै राम्रो । ई बुकको चाहिँ अझ लत्ती भइसकेको छैन म, यद्यपि यसले मलाई धेरै फेर सरकारी कार्यलयहरूमा झिँगा धपाएर घन्टौं बस्नुपर्ने यातनाबाट मुक्ति दिएको छ ।
१४. अन्त्यमा ?
सुरु गर्न जति मुस्किल छ र बिट मार्न अझ मुस्किल । यसकारण यसलाई अन्त्य नमानौँ । अब बल्ल गफ सुरु भएझैँ लाग्दैछ । यस गफलाई फेरिफेरी निरन्तरता दिनुपर्छ । त्यतिबेला म सुरुवाती प्रश्न गरौँला !
नोट: (यस जवाफलाई बिन्दुकेशराले परिवर्तन गरि छापेको छ)
(१० वर्षभन्दा बढी समयदेखि धादिङबाट साप्तहिक रूपमा प्रकाशित हुँदै आएको विन्दुकेशरा साप्तहिकमा छापिएको ‘पुस्तकवार्ता’ । यस पत्रिकाको प्रधान सम्पादक अर्जुनप्रसाद खतिवडा हुन् भने कार्यकारी सम्पादक बद्री अधिकारी रहेका छन् । धादिङका मिडियाकर्मी तथा साहित्य साधाक विनोद तमुले यो अन्तर्वार्ता लिएका हुन् । प्रकाशित मिति: २०८१, वैशाख ६ गते बिहिबार )