वराहक्षेत्र, सुनसरीकानगेन्द्र बजगाईँसाहित्य साधना र आध्यात्मिक खोजमा रुचि राख्छन् । बिएसम्मको अध्ययन गरेका बजगाईँ राष्ट्र सेवक बहुमुखी सहकारी संस्थाबाट आयोजित खुल्ला कविता वाचन प्रतियोगिता (२०७५) मा प्रथम भएका थिए । पूर्वेली साहित्यिक मञ्च, वराहक्षेत्रका महासचिव रहेका बजगाईँका ब्लाष्ट टाइम्स राष्ट्रिय दैनिक पत्रीका र स्थानीय पत्रपत्रिकाहरूमा रचना प्रकाशित हुँदै आएका छन् ।
प्रस्तुत छ, दियो पोस्टका लागि नगेन्द्र बजगाईँसँग राजु झल्लु प्रसादले गरेको ‘स्रष्टा संवाद’
सुरु यसरी नै गरेँ, हरेक साल आउने र जाने मजदुर दिवस हरेक पटक भूकम्प नै बनिरहेको छ, मजदुरलाई नै हल्लाइरहेको छ। यस परिपक्ष्यमा कस्ता कविता लेख्दै/पढ्दै हुनुहुन्छ ? सङ्ग्रहको तयारी पनि गरिरहनु भएको हो ?
प्रश्नको निम्ति हार्दिक धन्यवाद ।
मूलतः हामी पछिल्लो समय दिवस र औपचारिकतामा बढी तल्लीन हुन थालेका छौँ । मजदुरका समस्या एकातिर पन्छाएर वास्तविक सत्यलाई ढाकछोप गरेर तथा कथित कर्मकाण्डमा अल्झिएका छौँ हामी । मलाई लाग्छ, मजदुर दिवस मजदुर वर्गको लागि ‘कागलाई बेल पाक्यो हर्ष न विस्मात’ साबित भएको छ । र, यो मजदुर दिवस परम्पराको सनातनी अनुकरण मात्रै हो ।अझ मजदुर दिवस मजदुरका नाउँमा यो राज्यले गरेको उपहास हो ।
‘भिडदेखि निस्कनेहरूको भिड’ मेरो प्रिय कविता हो । मलाई सोध्न मन लागेको, मान्छे एक्लो किन हुँदै छ र एक्लाहरू भिड यसप्रकारले किन बढिरहेको छ ? प्रिय लेखक बनार्ड शाह भन्थे, “एक दिनमा आधा दिन हामीलाई आफ्नै आवश्यकताले दास बनाएको हुन्छ ।” के यस्तै हो ?
संसारमा एक्लाहरूको भिड बढ्नु त्यति अस्वाभाविक होइन । देख्नलाई मान्छे एक्लोजस्तो देखिन्छ । तर ऊ एक्लो हुँदैन । भौतिक रूपले एक्लो भएपनि भिडभित्र मान्छेले आफूलाई एक्लो महसुस गर्ने नै हो । जहाँसम्म विचारको कुरो आउँछ, मान्छेको स्वभाव मूलतः भिडभाड भित्र एक्लो र एक्लो भित्र भिड हुनु नै हो । मान्छे चाहे भिडमा होस या एक्लो, मान्छेको मस्तिष्क भित्र विचारको असङ्ख्य भिडहरूको भागदौड हुन्छ ।
आजका मान्छे कस्ता भइरहेका छन्, के गरिरहेका छन्?
आजका मान्छे मेरो विचारमा जानकारी अधिक र ज्ञान कम भएका मान्छेहरू हुन् । एउटा मान्छेमा जानकारी र ज्ञान दुवैको सन्तुलन हुनु आफैमा राम्रो कुरा हो । तर ज्ञान बिनाको जानकारीले मान्छेमा अहङ्कार भरिन्छ । यसलाई यसरी बुझौँ । नेपालको कुल क्षेत्रफल कति छ भन्ने कुराको जानकारी नहुँदा खासै फरक पर्दैन, जति फरक नेपाली माटो कला साहित्य र विविध कुराहरूको माया नहुँदा पर्छ ।
महेन्द्रीय मानक, ‘सबै पञ्च नेपाली सबै नेपाली पञ्च’ पाराका कविताहरू कत्तिको पढीरहनुभा’छ दाइ? कवितामा राष्ट्रवाद, आमा, परदेशका तथाकथित सेन्टिमेन्टहरू जोडेर हरेक वर्ष पुरस्कारको कुम्लोकुटुरो समाइराख्ने कवि र आयोजक संस्थाबारे बोल्ने मुड छ? मेरो इशारा ‘प्रज्ञा कविता महोत्सव’तर्फ मात्रै चाहिँ रहेन है।
खासगरी पढ्ने सन्दर्भमा म यो वा उ भनेर पुस्तक छनौट गर्दिन । ममा अधिक पुस्तक अध्ययनको अनुभव पनि छैन । मेरो अनुभवमा मान्छेको अनुहार भन्दा ठुलो पुस्तक अर्को छैन । मेरो निम्ति प्रत्येक नयाँ मान्छे प्रत्येक नयाँ पुस्तक हुन्, जसको सङ्गतबाट म भित्र नवीन सिर्जनाको आविष्कार हुन्छ ।
राजा महेन्द्रलाई राजनीति र कूटनीतिको चस्माबाट हेर्दा कस्तो देखिन्छ त्यो फरक प्रसङ्गको कुरा हो । तर राजर्षि सुख भोग र विलासबाट कस्ता सिर्जनाका जन्म भए मूल कुरा त्यो हो भन्ने कुराले भने मलाई सधैँ उत्प्रेरित गर्छ ।
आजभोलि ‘कविता कम, कवि धेरै भए’ भन्ने हल्ला छ। कुरा कसो हो ? समकालीन कविताहरूको गुणात्मकतालाई लिएर तपाईँलाई बोल्ने मुड छ? नेपाली कविताको भविष्यतर्फ पनि मेरो इशारा रह्यो।
हिजोआज ‘कविता धेरै, कवि कम’ भएको छ । यो एउटा लहर पनि हो र रहर पनि हो काव्यिक आकाशमा उडान भर्न निस्किएका तमाम मान्छे बिच कवि आफ्नो सिर्जनाले स्थापित हुने हो । कविता साधना भएकाले यो क्षेत्रमा साधकहरू मात्र स्थापित हुने हो
समकालीन कविताको गुणात्मकता आशालाग्दो छ । केही युवा कविहरू यस्ता छन् जसको सिर्जनाले गुणात्मक फड्को मारेको पाउँछु । यसर्थ पनि कविताको बर्तमन अवस्था लाई हेर्दा आशा र भरोसा दुवै लाग्छ ।
कला-साहित्यले वर्गीय स्वरूपको प्रतिनिधित्व गर्दछ, गर्नुपर्दछ। कवितासंग्रह, पुस्तक या कला प्रदर्शनतर्फ पनि मेरो इशारा रह्यो।
पक्कै साहित्य वर्गीय चेत बोकेर लेखिनु पर्छ । मेरा कविता कसैको समस्यामा मलमपट्टी नबन्न सक्छ । तर मेरो विचारको मानक हुनसक्छ । यो रहस्यमय संसारलाई निजत्व भावले हेर्न खोज्दा त्यहाँबाट जे जन्मन्छ, त्यो मेरो निम्ति साहित्य हो ।
सङ्ग्रहको जहाँसम्म कुरा छ । म यति पर पुगेको छैन । फलस्वरू:प सङ्ग्रह निकाल्न सकूँ । एकथान पुस्तक सङ्ग्रह निकाल्ने हेतु सङ्ग्रह निकाल्न खोज्नु कविताप्रतिको क्रूर व्यङ्ग्य सम्झन्छु म ।
हामीकहाँ ‘झरीबारे लेख्न झरीमा रुझ्नै पर्छ’ भन्ने महाशयहरूको हालीमुहाली छ। यस हालीमुहालीबिच समकालीन ‘दलित साहित्य’ या नेपाली साहित्यमा ‘दलित चेतना’ कस्तो पाउनुहुन्छ? दलित साहित्यमा समस्या/कमीकमजोरी पनि देख्नुहुन्छ? गैरदलित लेखकहरूका अनुसार, ‘दलित साहित्य वेदनाहरूको बिम्ब’ मात्रै बनिरहेको छ अरे..। के भन्नुहुन्छ?
झरीबारे लेख्न झरीमा रुझ्नै पर्छ भन्ने मान्यता आंशिक सत्य हो पूर्ण होइन । हुन त, अनुभव सहितको लेखन परिपक्व हुन्छ। पछिल्लो समय नेपाली साहित्यमा दलित चेतना ह्वात्तै बढेको देखिन्छ । मैले पनि जानेसम्म आफ्ना सिर्जनाहरू वर्गीय चेत र जातीय उत्पिड्नलाई केन्द्रमा राखे र लेख्ने गरेको छु । जहाँ दलन छ त्यहीँबाट प्रतिकारको रूपमा सिर्जना जन्मिने हो । दलित साहित्य ‘वेदनाको बिम्ब’ मात्र देख्नु काव्यिक चेतनाको आँखामा ‘रतन्धो’ लाग्नु सरह हो । मूलतः यति भन्दाभन्दै पनि लेखनमा प्रवृत्ति मूल कुरा हो भन्ठान्छ ।
‘साहित्यमा राजनीति हुँदैन वा हुनुहुँदैन’ भनिराछन्, के भनिरहेका हुन्? त्यस्तो हो?
गम्भीर प्रश्न उठाउनु भो । वास्तवमा साहित्यमा राजनीति नहुनुपर्ने । हुनुपर्ने चाहिँ राजनीतिमा साहित्य हो तर भएको छ- साहित्यमा राजनीति । साहित्यमा राजनीतिको हस्तक्षेपले सिर्जनाको गुणात्मकतामा ठुलो असर पर्छ ।
समयका लागि धन्यवाद !
धन्यवाद !
प्रस्तुत छ, उनका तीन कविता :
१.चिन्ता नगर्नुस्
चिन्ता नगर्नुस्
गर्न नजानेर
गर्दागर्दैको व्यापार टाट पल्टियो !
चिन्ता नगर्नुस्
ओरालो लागेर नेप्से परिसूचक
सेयर बजार घाटामा गयो !
चिन्ता नगर्नुस् !
गाउँको
मुरीका मुरी धान फल्ने खेत
बाडीले बगाएर लग्यो
चिन्ता नगर्नुहोस् !
भरपर्दो
र / माल आउने ठाउँ जागिर थियो
खोसुवामा पर्नुभो – चिन्ता नगर्नुस् !
सकिएपछि रुपियाँ
मरेको बाख्रीलाई उपियाँले
छाडेजसरी स्वास्नीले छाडी –
चिन्ता नगर्नुस् !
अरू
केही गर्न सीप छैन हातमा
चिन्ता नगर्नुस् !
सम्भावनाका
जम्मै ढोका बन्द भए
चिन्ता नगर्नुस् !
अब
यसो गर्नुस्
नयाँ व्यापारको सुरुवात गर्नुस्
सर्वप्रथम
पार्टी खोल्नुस्
त्यसपछि
दुईचार महामानवका चित्र अङ्कित तस्बिरहरू
भित्तामा झुन्ड्याउनुस्
उनीहरूका टाउका भजाउनुस्
राजनीति गर्नुस् …..
र
बिस्तारै
गुमेका जम्मै कुराहरू
आर्जन गर्नुस् ………!!
( १० आश्विन २०७८)
२. घर तयार भएपछी:
तपाईँको घर
तयार हुनुअघि
आफ्नो
भएभरको सीप लाएर मैले
भान्सा कोठा – तयार गरेँ !
त्यो भन्दा पनि सीप लाएर मैले
बैठक कोठा – तयार गरेँ
मलाई थाह छ
तपाईँको घरका
जम्मा पाँच वटा कोठाहरू हुन्
जसमध्ये
पूर्व तिर – शयन कक्ष छ
इशानमा – पूजा कोठा छ
बायब्यमा – स्नान र शुचि कक्ष छ
दक्षिण तिर -अन्न राख्ने ढुकुटी छ
यस्तै यस्तै
विभिन्न प्रयोजनका खातिर
तत्सम्बन्धी तत्तत् कोठाहरू छन्
यसलाई यसरी बुझ्नुस्
कि एउटा सुव्यवस्थित
घरको निम्ति जे जे हुनुपर्छ
ती – सबै / सबै तयार छन्
तयार गर्न बाँकी त
अहिलेसम्म तयार गर्दागर्दै
तयार हुन नसकेको
मात्र त्यो एउटा मूल दैलोको पल्ला छ
र / आँङ्नामा तुलसीको मठ छ
मलाई थाह छ
बनाउँदै जाँदा एकदिन
तुलसीको मठ तयार हुनेछ
त्यसपछि
बुट्टेदार मूलदैलोको पल्ला तयार हुनेछ
र / त्यसपछि ।
म
तपाईँको घरभित्र
कहिल्यै पस्न पाउने छैन ….!!
त्यतिखेर
तपाई भन्नू हुनेछ
नो इन्ट्री पूछरघरे काइँला / नो इन्ट्री …….!
किनकि यो बाहुनको घर हो !
३. नक्कलीदेखि सावधान !
अब, तपाईँ
पटक्कै नझुक्किनुहोला !
मार्क्सको एकथान तस्बिर देखेर
लेनिनको एकथान तस्बिर देखेर
माओत्सेतुङको तस्बिर
पुष्पलालको तस्बिर
मनमोहनको तस्बिर
मदन भण्डारीको तस्बिर
र मञ्चमा केही थान
सहिदका चित्ताकर्षक तस्बिरहरू देखेर
अब तपाईँ नअलमलिनु होला !
हेर्दै ल्याउँदा
हात हातमा घोषणा पत्र हुनसक्छ
साथमा हँसिया हथौडा
र सूर्य चिन्ह अङ्कित झन्डाहरू गाडेर
अग्रगमनका ठूल्ठूला कुराहरू हुन सक्छन्
यी र यस्ता बहसहरू देख्दा
अब तपाईँ अचम्मित नहुनुहोला !
ती मान्छेहरू
जो देख्दा काटिकुटी
तपाईँ जस्तै: देखिन्छन्
तर
यथार्थमा, अन्तर्यमा
यताकाहरूले उताकाहरूलाई – मुर्दावाद भन्छन् !
उताकाहरूले यताकाहरूलाई — मुर्दावाद भन्छन् !
कम्युनिस्ट इतर
र कम्युनिस्ट खेमा भनेर
– आफू आफैँमा कित्ताकाट गर्छन् !
कुर्सीमा बसेका छन् भने
बाहिर बसेकालाई सराप्छन् !
बाहिर बसेका छन् भने
कुर्सीमा बसेकालाई सराप्छन् !
आफ्नो इतरकालाई नक्कली
आफ्नो खेमाकालाई सक्कली
घोषित गर्न
सिपालु मान्छेहरू छन्
अब तपाई भुलभुलैयामा नपर्नुस् !
पार्टी भित्र
सिद्धान्तको धरोहर थियो
जो बरमजियाको पेडा बेच्ने
असली बूढो जस्तै असली मान्छे थियो
त्यो मरेपछि …
हिजोआज नक्कलीहरू
बूढो बाजेको असली पेडा पसल –
अर्थात्
सच्चा कम्युनिस्ट केन्द्र
यही हो—
यो नै हो —
यही नै .. हो भन्दै
मोलमोलाइ गरिरहेछन् !!
अब
तपाईँ नझुक्किनुहोला !
गुहुलाई गुँदपाक भनेर
विज्ञापन गर्ने कम्युनिस्ट
कम्युनिस्ट हुनै सक्दैनन्
….. नक्कलीदेखि सावधान !!
(दियोपोस्टमा शुक्रबार, मंसिर १०, २०७८ | १७:२४:४२ मा प्रकाशित)