रोल्पा डायरी : रातो रङ रातमा कालो हुन्छ (भाग-१)

You are currently viewing रोल्पा डायरी : रातो रङ रातमा कालो हुन्छ (भाग-१)

‘पशुपतिनाथले रक्षा गरुन्’ लेखिएको बसबाट ओर्लिएपछि ‘मादले झोला’लाई काँखीमा च्याप्दै कलङ्कीतिर बत्तिएको बसलाई एकतानले हेरिरहेँ । सोचेँ, “ रोल्पा (रोल्पाको बस) पशुपतिनाथतिर हानियो । दर्शन गरेरै फर्किओस् ।’

***
पुस २३ । सुलिचौर साहित्य महोत्सवका लागि ढुंगेधाराबाट राजकुमार दाइ (बानियाँ)लाई र कलङ्कीबाट श्यामल दाइ (अधिकारी)लाई भित्र हालेर सेतो हाइस थानकोटतर्फको अँध्यारो क्षितिजतर्फ दौडियो । श्रावण दाइ (मुकारुङ) सहितको हाम्रो टोली बिजी मलदेखि नै हाइसमा बसिसकेको थियो । 

असमावेशी भएको बताउँदै बहिष्कार समेत खेपेको यस महोत्सवको स्टेजतर्फ हाम्रो टोली ओमिक्रोनको गाइँगुइँबिच कलङ्कीदेखि फुत्किएको थियो । टोली अगुवा थिए- युग सर्वनाम जी । तर, उनले मलाई चाहिँ खुब पर्खाएँ ।

दिउँसोको ३ बजे बसपार्क पुगेर ३ कप चिया रित्ताएपश्चात् सर्वनामजी देखिनुभएको थियो ।  त्यसअघि करिब २ घण्टा नयाँ बसपार्कको नयाँ-पुराना घेराहरू नाघ्दै-उफ्रिँदै रहेँ । नवनिर्मित भवनहरूले पुराना भवनका रेस्टुराँ र दोकानहरूमा सटर लगाइदिएछन् । पुराना सटरहरू भुस्याहा कुकुर र ज्यालादारी गर्नेहरूको पुच्छर हल्लाउने र मुन्टो छिराउने ठाउँ भएको थियो। ती कुकुरहरूलाई झकिझकाउ रेस्टुराँका भुँइमा झरेका बफ म:मका चोक्टाहरूमाथि झम्टा मार्ने अनुमति एवं अधिकार थिएन । ज्यालादारी गर्ने मानिसहरू ? उनीहरू कुकरका अँगालोमा जस्तो देखिन्थे । 

नयाँ बसपार्क बारबार दुई कुरा गर्थ्यो । एउटा- ‘आफ्नो समानको ख्याल गर्नुहोला । अपरिचितको भर नगर्नुहोला ।’ तर, को अपरिचित भन्ने प्रश्नको जवाफ चाहिँ उसले दिइरहेको थिएन । र, दोस्रो चाहिँ, ‘कता जाने हो ? यता जाम न ।’ दशौँले दशौँ दिशातिर तानेर ‘जाने हो ?’ भनेर सोधेँ । सबैलाई ‘हो हो’ भन्दिएर ‘म कतै गइनँ ।’ 

बसपार्क जाने-आउनेहरूको थलो । हतारको हाटबजार ।  आवतजावतको भव्यताबिच मेरो ठिङ्ग उभ्याई । समय अगाडि बढ्दै बढेन, मेरो पछि लागेर हत्तो गर्‍यो । पछि लागेको समयलाई अगाडि धकेल्नै हम्मेहम्मे । यो ‘लुतो कन्याई’ चाहिँ साह्रो नमज्जालाग्दो हाउ, श्यामल दाइ ।

बसपार्कमा उभिएर समयको आङमा लागेको लुतो कन्याइरहँदा कहिलेकसो जनकजी बुटवलबाट आङ कन्याउनुहुन्थ्यो । उहाँको ‘टोली हिँड्यो ?’ नामको लुतो कन्याईमा ‘हिँडेको छैन । अब हिँड्ने भन्दै छन् । अब हिँड्ला कि त’ जस्ता औषधिजन्य लेपहरू लगाइदिन्थे । एकछिन सन्चो मान्नुहुँदो हो कि कसो ? केहीबेरपछी फेरी उहाँ पर्खाइका काँपहरू कन्याउँदै सोध्नुहुन्थ्यो, “हामी कता आइपुग्यौँ ?’ …यो सिलसिला चलिरह्यो । 

पर्खिन नसक्नेहरू पर्खाउन पनि जान्दैनन् । जनकजीमा यो गजब खुबी थियो । बुटवलबाट गाडी चढेपश्चात्, जनकजी लुतो फ्याल्दै भन्दै हुनुहुन्थ्यो, ‘रातभर सुतिएन । तपाईँहरू फ्याट्टै आइपुग्ने हो कि भनेर ।’ सबिनाजी (चितवन)लाई सोधिएन, ‘उहाँको केकस्तो अवस्था रह्यो ?’

***
श्रवण दाइ,  श्यामल दाइ र राजकुमार दाइ अघिल्ला सिटहरूमा, विक्रम दाइ (पवन परियार), उत्तमजी (लिम्बू) सहित म पछिल्लो सिटमा थियौं । दीपा (मग्राती) बहिनिहरू अलि अगाडि हुनुहुन्थ्यो । उमेरले अगाडि हुनु र सिट अगाडि हुनुबिच कुनै नातागत साइनो-सम्बन्ध एवं चिनापर्ची थिएन । संयोग भन्ने कुरा पनि हुन्छ । हो, भयो । यसमा थप लुतो नकन्याऔँ ।

साहित्यका अग्रणीहरूसँग यात्रा गरिरहँदा लाग्दो रहेछ, ‘यो गजब भयो ।’ हो, भयो । रोल्पा यात्रा सुखकर रहेको कुरामा सन्देह छैन । यात्रा सुखकर मात्रै भए के बताइरहनु ? फेरी, ‘सुख बताइहिँड्ने कुरा होइन, लुकाई राख्ने कुरा हो’ भन्ने दर्शन चाहिँ मेरो होइन । जसको हो, उसलाई सुखै होस् ।  होला त नि ?

अँ, कुनै पनि यात्रालाई चस्मा मान्दिने हो भने एउटा आँखामा सुख र अर्को आँखामा दुःख थपक्क..थपक्क बसिजान्छ । यात्रा अवधिभर दुःखसुख, सुखदु:ख बरोबर भेटिइरहन्छ ।  रोल्पा यात्रा नामक यस चस्मामा पनि सुख-दुःख दुवैथरि ग्लास थिए । सुखद दृश्यको दुःखद कथा र दुःखद दृश्यको सुखद व्यथा- दुवै, दुवै आँखामा थिए । र, यो संस्मरण चाहिँ सोही चस्मा उतारिफ्याँक्ने मनोदशा । सायद आवश्यकता  ? सायद रहर । र, सायद ? ..सायद । 

***

श्रवण दाइ भन्दै हुनुहुन्थ्यो, ‘तपाईँको त नामै गजब । किन राख्नुभयो ?’ ‘कथा छ’ भनेर दाइलाई टार्दिएँ । ‘रोल्पा रातो छ कि छैन’ जत्तिकै यो प्रश्न पनि धेरैपटक सोधियो-  ‘तपाईँको त नामै गजब । किन राख्नुभयो ?’ । 

पछि भावनाजी (थारु) ‘मलाई तपाईँको नाम उधुमै मनपर्यो भन्दै हुनुहुन्थ्यो ।’ तर, उहाँलाई पनि ‘नामको रचनागर्भ चाहिँ सुनाइन ।’ मदन भाइ (नेपाली)लाई चाहिँ बताएँ, ‘राजवल्लभ कोइरालाको अपवाद फिल्मबाट प्रभावित भएर राखेको ।’ तर कारण अर्कै थियो, ‘सम्पूर्ण राज्य संयन्त्र झल्लु होइरहँदा मैले आफ्नो नाम झल्लु राख्नको पछाडि खासै कारण के नै हुन्छ र ?’

कारण नै खोतल्ने हो भने त अझ यो पनि हो-  आफूलाई चिन्ने-खोज्ने १५/१६ को उमेरमा साहित्यतर्फ घोत्लिइरहँदा समाजले मलाई हेलाहितो गरेर बोलाएको नाम हो- झल्लु । तर, अब यतिखेर समाज ‘मलाई त्यस नामले बोलाउन’ मजा मान्दैन किनभने उसले मप्रति देखाएको उपेक्षा मैले चुपचाप स्विकारिदिएँ ।  समाज जान्दछ- ‘त्यसैलाई चिमोट्नु पर्छ, जसले आत्था आत्था गर्छ ।’

सायद यसैकारण अनन्त दाइ (अनुराग)ले लेखेका होलान् – 

‘लगाउनेलाई धन्यवाद 
तिनै दाग बुट्टा भएका छन् ।’

‘झल्लु’ दाग थियो, बुट्टा मैले नै बनाएको हुँ । 

***
अघिल्लो सिटका श्रवण दाइलाई पछिल्लो सिटबाट सोधेँ, ‘तपाईँले बिसे लेखेपछि कविहरूले कविता लेख्न छाडेर साह्रो प्रश्नवाजी गर्न पो थाले । आज साथीहरू कविताभरि प्रश्नवाचक चिन्ह झुन्डाइरहेका छन् । कविताले प्रश्न मात्रै गर्ने हो र ?’
दाइको छोटो उत्तर थियो, ‘कविताले प्रश्न त गर्ने हो तर, प्रश्न मात्रै गरिरहने होइन ।’ 

‘माथि माथि सैलुङेमा’, ‘तिमी तारे भीर म त लहरा’ जस्ता गीतका रचनाकार श्रवण दाइ हाम्रो समयका माइलस्टोन कवि हुन् । कसैले बुढेसकालमा तेरो समयमा के थियो र भनेर सोधेमा ‘त्यतिबेला श्रवण मुकारुङ कविता लेखिरहेका थिए’ भन्ने पाइने सुन्दरतम स्थिति छ । यो भन्दा सुन्दर कुरा के हुन् सक्थ्यो ? तर, यिनै कविवरसँग मलाई ठाडै स्वरमा एउटा प्रश्न गर्नु थियो । अग्रजलाई प्रश्न गरेर नै अनुज ‘अग्रज’ बन्ने हो । आज अग्रजलाई प्रश्न गर्न नसक्ने अनुज भोलि अनुजलाई पनि प्रश्न गर्न दिँदैन । यो कुरा समकालीन राजनीति जति कसले बताइरहेको छ र ?

‘कविता भनेको केटीहरू जस्तै हो । कसैलाई बाहुनी मनपर्छ, कसैलाई लिम्बुनी ’ यो स्क्रिन सर्ट सामाजिक सञ्जालमा हिट थियो । मलाई यही प्रसङ्गमा टेकर प्रश्न गर्नु थियो,  ‘दाइले पनि के यस्तो नचाहिँदो कुरा गरेको ?’

‘मैले त्यो कुरा त्यसरी भनेकै होइन । मैले भनेको कुराको छेउ टुप्पो फ्याँकेर बिचको कुरा मात्रै झिकिएको हो ”, दाइ भन्दै जानु’भो- “कविता सौन्दर्यचेत कुरा पनि हो । त्यस हिसाबले मात्रै त्यसो भनेको । अब त्यहाँ ल्याएर लैङ्गिक चेत र सौन्दर्यबोधको अनेकन् कुरा झिकेर बहस गर्छन् भने गरुन् । मलाई एकपटक कसैले सोधेको छैन, त्यो कुरा मैले कुन प्रसङ्गमा कहाँनेर भनेको थिएँ भनेर । सोध्नेछन् भने म भन्नेछु ।” दाइको जवाफपश्चात् टिकटक जस्ता काँटछाँट र सिँगारिएको गरिएको स-साना क्लिपे बहसहरू बहसयोग्य नहुने निचोडमा त्यसपछि हामी पुगेका थियौँ । 

दाइको जवाफले मलाई शमीभन्ज्याङ स्कुल पुर्‍यायो, जहाँबाट मैले एसएलसी दिएँ । प्रसङ्ग अप्रसांगिक पनि ठहरिएला । तर सुनाइहालूँ ।  

विद्यालय शिक्षाअन्तर्गत कक्षा १० मा तासबारे पढ्नुपर्छ । हरेक तासका पत्तीहरू चिन्नुपर्छ- एक्कादेखि दहलसम्म, गुलाम, मिस्सी र बास्सासम्म । गणितका शिक्षक (नाम नभनूँ) ‘तास’सँग सम्बन्धित एउटा हिसाब गर्दै थिए । उनी कालो बोर्डमा ‘कालो गुलाम’ लेख्दै थिए तर अन्तिम अक्षर लेख्नुपूर्व नै विद्यार्थीको हाँसो बढ्यो । बढ्दो हाँसोबिच उनी पनि विद्यार्थीतर्फ फर्केर हाँसिदिए । अन्तिम अक्षर ‘म’ मरिगए लेख्दिँदै लेखिदिएनन् किनभने लेखेकै खण्डमा पनि विद्यार्थीहरूले ‘म’ झिकेरै पढ्ने वाला थिएँ । यसो पनि भन्न सकियो, हरेक विद्यार्थीको ‘म’ साह्रो हतारिएको थियो । अधकल्चो थियो । ‘तातै खाऊँ जल्दै मरूँ’को अवस्थामा थियो । त्यस दिन, हतारिएर हामी नहाँस्दिएको भए ‘म’ लेखिन्थ्यो । तर, ‘म’ नलेखीकन क्लास तुरिएको थियो । पछि गणित सरलाई ‘सेक्सीस्ट’ बताइयो तर, वास्तवमा उनी त्यस्ता थिएनन् । 

हाँस्न हतार गरेका तिनै विद्यार्थीहरू आज टिकटकमा भेटिन्छन् । ‘सामाजिक सञ्जाल’का हतारा र हतासाबारे  यत्ति नै ।

***
श्यामल दाइको आग्रहबमोजिम केबलकारमा खाना खाइयो । कुरिनटारमा । मलाई माछा खान झिँझक लाग्छ । बाँकीले माछा खाए क्यार ।  खाना ठिक थियो । ठिक मात्रै होइन धेरै ठिक थियो ।

राजमार्गको खाना ठिक हुनु भनेको धेरै नै काइदाको कुरा हो । चानचुने कुरा होइन । 

गाडीमा चढिसकेपश्चात् पनि ‘सफा र मिठो खाना’को गुणगान गाइरह्यौँ । कठै, मनग्य पैसा तिरेर मिठो खाना पाउनु सुखद संयोग मान्नुपर्ने । 

राजमार्गमा खाना खाने क्रममा ठगिएका हरेकसँग आ-आफ्ना किस्सा थिए । माहौल यस्तो बनिदियो कि, ‘म पनि यसरी ठगिएको छु’ भन्नु पनि आत्मगौरवको कुरा हुन् पुग्यो । पालैपालो सबैले ‘तँ भन्दा म गजबले ठगिएको थिएँ’ भन्दै सुनायौँ । 

चिसो खाना, पातलो दाल, नुन चर्को तरकारी, बासी रोटी, महँगो मूल्य, फोहोर, होटलको दुर्व्यवहार, भिडभाड र अखाद्य वस्तुको मिश्रण राजमार्गका होटेलहरूका विशेषता हुन् । यात्रुहरूलाई त्यही ओराल्ने र ‘खाए खा, नखाए घिच्’को प्रवृत्ति देखाउने गाडीचालक र होटेल साहूहरूको चारित्रिक गुणहरूका लामालामा व्याख्या-उपव्याख्याहरू भए । 

***

उत्तमजी र  म सँगै थियौँ । विक्रम दाइ पल्लो झ्यालतिर ढल्किनुभयो । हामी अगाडि श्रवण दाजु घुर्दै हुनुहुन्थ्यो । अलिपछि दाजु भन्दै हुनुहुन्थ्यो, ‘निदाइएछ ।’ अलिपछि ‘निदाइएछ’ विक्रम दाइको मुखबाट पनि निस्कियो । र, अलिबेरपछी उत्तमजीले पनि भन्नुभयो – ‘निदाइएछ ।’ 

तर, यी निदाई पन्ध्र-बिस मिनेट लामा निदाई थिएनन् । राजमार्गमा बिछ्याइएको ‘स्पिड ब्रेकर’का कारण गाडी थरर्र थर्रर पर्न थालिहाल्यो । ड्राइभर ननिदाउन भनेर यसो गर्दा प्यासेन्जर निदाउन सकेनन् । निद्रा लागिरहेको प्यासेन्जर (म)लाई यो कुरा गतिलो लागेन । 

निन्द्रा नपर्नुको मुख्य कुरा चाहिँ- नारयणघाट- मुग्लिङ सडकखण्डमा बर्सेनि बिछ्याइने कनिका । कनिका अर्थात् काम चलाऊ काम । यही कनिके प्रवृत्तिका कारण यस भेगको यात्रा कहिल्यै सुखद हुन् पाएको छैन । हुँदाहुँदै ५/७ जना दुलाहाहरूको जम्काभेट समेत यतै भएको दृश्य यसैपालिका वर्खायाममा देखिए । ‘समृद्ध नेपाल, सुखी नेपाली’को चरितार्थ । गजब..बडा गजब ।

दाउन्ने-बुटवल सडकखण्ड पनि उस्तै रहेछ । सडकको अवस्थाका कारण दाउन्नेका होटेलमा पनि ग्राहक घटेछन्, झ्यालबाटै प्रस्ट देखिन्थ्यो । यो भेग शान्त निन्द्रामा सुतिरहेको भान हुन्थ्यो ।  एक मन त लाग्यो, ‘ठिकै भयो, यता पनि कौन्सा गतिलो खाना खुवाउने गर्थे र ?’ अर्को मन लाग्यो, ‘राजमार्ग आयस्रोतसँग जोडिएको कुरा हो । हामीले भात नखाइदिँदा धेरैको चुल्हो बल्दैन ।’ तर, अर्को एउटा ‘मन’लाई चाहिँ लागेछ, ‘यस्ता गल्फते कुरा छोड, पिसाब फेर्ने जोहो गर् ।’  

लामो यात्रा होस्, पिसाबले च्यापोस् र फ्याट्टै विसर्जन क्रिया खत्तम होस् । यस्तो कहिल्यै भएको छ ? यस्तो होइदिए यात्राको माधुर्यता नै रहेन नि?.. खैर, मध्यरातमा यतातर्फ काम पनि फत्ते भयो । अर्को एउटा मन खुसी भयो । 

***

चितवनबाट सबिनाजी र बुटवलबाट जनकजी चढिसकेपश्चात् हामी सुस्ताएका थियौँ । सबिनाजी नारायणघाट, नारायणी नदी, सिजीका कुराहरू सुनाउँदै हुनुहुन्थ्यो क्यार । तर, म एकतमासले एकोहोरिएको थिएँ । रातले कुन्नि के गर्छ ? यात्राको क्रममा झ्यालमा टास्सिन आइपुग्ने रातका हरेक छिटा-वाछिटाहरूले मलाई हरदम भिजाइदिन्छ । यसैगरी भिजिरहँदा कुनै बेला लेखेको थिएँ, 

‘रात यसकारण मलाई प्रिय लाग्छ
ऊ आफ्नो छायाँ कहिल्यै देखाउँदैन ।”

एकछिनसम्म बानियाँ दाइ र श्यामल दाइको खासखुस सुन्दै थिएँ । अलिपछि निदाइएछ क्यार । 

सबिनाजीले ‘आँखा खुल्लै’ गरेर सुतेको मेरो फोटो लिग्नुभएछ ।  ब्युँझिएपछि भन्दै हुनुहुन्थ्यो, ‘तपाईँको त निदाई पनि झल्लु यार ।’ आँखाको कचेरा फ्याल्दै भने, “गाडी रोकियो । जाऊ, चिया खाऔँ ।’

बिहानीपखको तुलसीपुरले हामीलाई चिया खुवायो । झिसमिसेमै चिया खाँदा चियाको रङ्ग अझ कालो देखियो । ‘रातो रङ रातमा कालो हुन्छ’ भन्ने हाम्रातिर उक्ति छ । मलाई यो उक्ति साह्रो ‘कालो’ लाग्छ । रोल्पा नजिकै भएकाले पनि हुँदो हो, मलाई यो उक्ति ‘अझ कालो’ लग्यो । भन्नेहरूका अनुसार, ‘कालो मिस्टिक कलर हो ।’ रोल्पा पनि कम मिस्टिक छैन । साहित्यमा रोल्पा मिस्टिक बिम्बको रूपमा स्थापित भएको दुई दशक नाघिसक्यो । अब सोही रोल्पाको रङ्ग कस्तो छ थाहा पाउनु थियो । 

भिमरुक र माण्डवी (माडी) नदिका मनमोहक फाँटहरू नियालिरहँदा गाडीमा गाइँगुइँ चल्यो- ‘स्वर्गद्वारी उक्लने त ?’ तर, दिलीपजी (कुँवर) हाम्रै पर्खाइमा हुनुहुन्थ्यो । यहिकारण बा ४ ख २९७४ नम्बरको सेतो हाइस प्युठानको दरवान, वडडाँडा, चकचके, भिंग्री हुँदै रोल्पातर्फ बत्तियो, बत्तिदैरह्यो.. ।

(क्रमशः…) 

लालटिन बाल्दै मुकुन्द दाइले भन्नुभयो, “रोल्पा अँध्यारो मात्रै होइन, चिसो पनि लाग्यो !” (भाग-२ )

रोल्पाको सिमानाका टेक्दा बिहानको साढे सात हुँदै हुँदो हो। ‘सुनिल स्मृति गाउँपालिका, शहीद स्मृति गाउँपालिका प्रवेशद्वार’ले नेपालीमा ‘स्वागतम’ र अङ्ग्रेजीमा ‘Welcome’ गर्‍यो। गेटमा रातो रङ पोतिएको थियो । ‘रोल्पा रातो छ कि छैन’ भन्दै गएका हामीहरूलाई रोल्पाले प्रवेश बिन्दुमै ‘एसियन पेन्ट’मार्फत भनिहाल्यो, ‘म रातै छु।’

परिवर्तन भोगेको रोल्पाको रातो रङमा आएको परिवर्तन देखेपश्चात् बलराम तिमिल्सिनाको कवितांश याद आयो;

‘पहिले पो
पाखा पखेरामा रगत बग्थ्यो
र रातो थियो रोल्पा
पहिले पो
महिलाहरू पनि बम पड्काउँथे
र तातो थियो रोल्पा
एउटा महाख्यानको
गौरवशाली पातो थियो रोल्पा
अहिले रोल्पा रातो छैन
अहिले रोल्पा तातो छैन।’

तर, तिमिल्सिनाजीको भन्दा फरक अनुभव भेटिहाल्छ कि ? यसकारण पाँचै इन्द्रियहरूलाई खुला छाड्नुथियो। के थाहा आँखाले नदेख्दा नाकले सुँघ्छ कि ? या कानले नसुन्दा छालाले महसुस गर्छ कि ? मेरो एउटा कुलत छ, यात्राक्रममा कुन चरो करायो भन्नेसम्म मलाई याद गर्नुपर्छ। यसकारण रोल्पाको वास्तविक रङ थाहा पाइ छाड्छु भन्ने कुरामा म निश्चिन्त थिएँ नै । 

मेरो पनि बालविवाह हुन्छ हो, कवि अंकल?

साँघुरो बाटो। अर्कोपट्टीबाट कुनै गाडी आएमा साइड दिनुपर्ने । रोल्पा सुगम छैन भन्ने कुरा हाइसको ढलपल ढलपल वाला चालढालबाटै थाहा पाइन्थ्यो।  भन्नलाई बाटो पिच हो तर, पिच थोते हाँसो ङिच्च ङिच्च हाँसिरहेको थियो। बाटोमा उबडखाबडकै जात्रा।  बिहानीपख शौचालयको खोजीमा रहेको पेटलाई बाटोको कारण ‘पर्नु पीर परेको थियो’, तर कसले बुझ्ने ? 

यहीँ प्रसङ्गमा, सुनिल स्मृति गाउँपालिका अध्यक्ष गुणेन्द्र घर्ती मगर र सुनछहारी गाउँपालिका अध्यक्ष आश बहादुर पुन ‘रक्तिमलाई पत्रकार काशिरामी डाँगीले प्रश्न गर्न बाँकी नै थियो- ‘जनप्रतिनिधिद्वय गाउँ जाने बाटो कुन हो ?’ यसको उत्तर भोलिपल्ट (२५ गते) को सेसनमा मागिएको थियो।

जवाफमा जनप्रतिनिधिद्वयले ‘फोन र बत्ती घर-घरमा पुगेको, बालविवाह न्यूनीकरण गर्ने एवम् होम डेलिभरीलाई शून्यमा झार्ने दिशामा आफूहरू लागिरहेको’ बताइदिए। ‘रोल्पामा राजनीतिक चेतना बढेको भएता पनि सामाजिक चेतना बढ्न अझै बाँकी रहेको, युद्धका कारण विस्थापन भोगेकाहरूलाई गाउँ फर्काउन बाँकी नै रहेको’ पनि बताइयो । पहिलो उत्तरले सन्तुष्ट नभए पनि दोस्रो उत्तरले मेरो असन्तुष्टि केही हदसम्म सन्तुष्ट भएको थियो।

कार्यक्रम सकिएको भोलिपल्ट (२५ गते) हामीलाई गाउँपालिकाको गाडीमा कोचकाच पारेर दिलीपजीले खड्केभिर, तेवाङ (जहाँ, युद्धरत माओवादी लडाकुहरु गोप्य तालिम चलाउँथे) तर्फ लानु’भएको थियो ।


May be an image of 5 people, people standing, outdoors and tree

यसक्रममा लिस्ने लेकको फेदका राता घरहरू सुन्तला टिपेर खाने बेलामा एउटा सानी बालिकामा नजर गयो,  जसको काखको बच्चाको आँखाले सोधिरहेको थियो, “मेरो पनि बालविवाह हुन्छ हो, कवि अंकल?’ १४-१५ वर्षकी बालिकाको काखमा रहेको बच्चोको आँखामा हेरेर मैले भन्न सकिन, “सानी, हिजो मात्रै तिम्रो गाउँपालिका अध्यक्षले बालविवाह शून्यको दिशामा झारिरहेको बताएका छन्, तिम्रो उमेर पुगेपछि नै विवाह होला।’

होला ?.. मैले आफैँलाई प्रश्न गरेँ। तर, उत्तर मसँग थिएन। जीवन ‘भोगाइ र यात्रा’का अनगिन्ती प्रश्नहरु हुन्, उत्तरहरू होइनन् ।

उनीहरूले संघीयता कार्यान्वयन भएपछि जिल्लामा भौतिक संरचनाको अभाव रहेको र भौतिक संचना एवं कर्मचारीको अभाव हुँदा सेवा प्रवाहमा समस्या भएकाले यतातर्फ चाहिँ काम भइरहेको बताए। राम्रोसँग नियाल्न पाइएन, तर सुलिचौर आसपास शिक्षा र स्वास्थ्यसँग सम्बन्धित भवनहरू चाहिँ देखिएका थिए । देखिएका भवनभित्र सेवा प्रवाहको गुणस्तरियता कस्तो थियो/रहदैछ रोल्पाले बताउँदै जाला ।

जिल्लाको विकासका लागि ल्याइएको ‘सुन्दर रोल्पा, समृद्ध रोल्पा’ भन्ने अवधारणा  दैनिक चार ओटा तरकारी बोकेका गाडी जिल्लामा भित्राइ बसिरहेको रहेछ । मैले खाना बेलामा सोधेको थिएँ, ‘दिदी वरपरी तरकारी लगाएको त देखिन्न, सुलिचौरले कहाँदेखि तरकारी ल्याउँछ ?’ ‘गाडीले ल्याउछ,’ उनको जवाफ थियो ।

जनप्रतिनिधिद्वयले सडक कृषि, पर्यटन, विद्युत्, जडीबुटी, विमानस्थल, उद्योगले समृद्ध रोल्पाको कल्पना गर्न सकिने बताए । तर, कल्पना न हो, गर्दा कसको के जान्छ र ? जनप्रतिनिधिद्वयले पनि गर्दिएँ, पड्काउने ताली पनि पटकाइदिए – परर । बाँकी कुरा त, बालै फरर..!  

वास्तवमा रोल्पा जिल्लाबाट निर्वाचित भएका नेताहरू पटक–पटक देशको नेतृत्व तहमा पुग्दा पनि रोल्पाको युद्ध पर्यटन, जलजला ढोरपाटन, स्वर्गद्धारी लगायतका पर्यटकीय क्षेत्रको भ्रमण खाकाहरू त्यसै कुहिएर गइरहेकै थिए । २०३६ साल बैशाख १६ गते रोल्पाकै तत्कालिन पर्यटन, नागरिक तथा उड्डयन मन्त्री बालाराम घर्तीमगरले उद्घाटन गरी सञ्चालनमा ल्याएको विमानस्थल,  रोल्पा सिमेन्ट उद्योग कता के गर्दै थिए कसैलाई थाह खबर भएको देखिएन । यस हिसाबमा ‘गाउँ जाने बाटो साह्रो खतरनाक’ रहेको भेउ पाइयो ।

***

अब फेरी अघिल्लो दिनमै आऊ। 

प्युठानका घनश्याम अस्तित्वजीको मुस्कानसँग ठोकिएपश्चात् दिलीपजीले ‘स्वागत छ’ गर्नुभयो। विष्णु बड्डा (सन्यास)ले जुल्फी मिलाउँदै भने, ‘कीर्तिपुरमा मातेको युगै बितेछ है झल्लु ?” 

दाउन्ने-बुटवलको कच्ची बाटोले ‘भाते निद्रा’ सखाप पारेकाले हरेकका आँखामा निन्द्राको कचेरा थियो । त्यो टिपेर मिल्काउनु कि ‘लुङ्ग्री -फगाम खोला दोभानतिर झर्नु’ भन्ने कुरा चल्यो। हामीले दोस्रो विकल्प रोज्यौँ।  हामी अर्थात्, जनक जी, विक्रम दाइ, उत्तम जी, मदन भाइ र युग सर्वनाम जी।  

हात-हातमा तातो चिया समाउँदै हामी लुङ्ग्री -फगाम खोला दोभानमा चलिरहेको चिसो हावामा बयेलिन पुग्यौँ। नाक समाउनु पर्ने कुरा, बगरमा एकप्रकारले ‘हगनगौडी’ पनि रहेछ। काँचा दिसाहरू नाघ्दै लुङ्ग्री खोलामा खुट्टा डुबायौँ। नदीहरूको हकमा एउटा रमाइलो कुरा हुन्छ, जुन नदीमा पानीको बहाव बढी हुन्छ, सोही नदीको नाममा नदीको नाम अगाडि बढ्दै जान्छ। फगाममा पानीको बहाव कम थियो, यसकारण अब अगाडि बढ्ने खोलाको नाम पनि लुङ्ग्री नै भयो।  लुंग्री खोला जलविद्युत् अध्ययन टोली यस खोलाबाट विद्युत सम्भावना भएको बताएको रहेछ ।

सर्वनामजी रोल्पाकै। जनकजीको प्रश्न झैँ लाग्छ, “लुङ्ग्री भनेको के हो ?”

‘लुङ भनेको ढुङ्गा हो।’, सर्वनाम जी। 

‘ढुङ्गे नदी’, हामीले पालैपालो दोहोर्यौं। यतिबेला मदन भाइ लुङमा पिठ्युँ अडाएर क्यामरामार्फत हामीलाई कैद गर्दै थिए। 


No description available.

‘नदी छेउमा बसेका मानिस खतरनाक हुन्छन्, कविहरू अझ खतरनाक हुन्छन्’ काठमाडौँको साहित्यिक गल्लीहरूमै कतै सुनेको सम्झना भयो। कविहरूले खतरा मोल्न उचित ठानेनन् क्यार, टोली फर्किने मनाशयमा पुग्यो। तर, फरक्क फ़र्किएन्। बदलामा उँभोतिर बटारियो। उँभोतिर अर्थात्- रुइनिबाङतिर।

***

रोल्पा जिल्लाको प्रमुख बजार केन्द्र सुुलिचौर र रुइनिबाङ बजार रहेछ। यहाँ साँझपख कीर्तिपुर या बल्खु तरकारी बजारमा देखिने भीड नै देखिँदो रहेछ। लुङ्ग्री खोलाको किनारमा बडो असजिलोसँग अडिएको यस बजारको नाकैबाट ठुलो पहाड उचालिएको रहेछ। यस पहाडको नाकमा पाकेको डन्डीफोर रहेछ – रुइनिबाङ । स्थानीयवासीले केही पहिले पहिरो आउँदा यहाँका १०/१२ घर पहिरोको चपेटामा परेको बताए। नपरोस् पनि कसरी ? पिँधबाट लुङ्ग्रीले माटो काट्दै छ, माथिबाट पहिरोले ‘अबै खसूँ कि अहिल्यै खसूँ’ गरिरहेको छ। सम्भावित दुर्घटनालाई वास्तै नगरी आफ्नो व्यस्ततामा निर्धक्कसाथ चलायमान भइरहेको यस बजार क्षेत्रलाई म अपलक हेरिरहेँ..बस्, हेरिरहे। जब हेर्न नसकिने दृश्यहरू आँखाहरू ठोक्किन आइपुग्छन्, त्यतिबेला हेरिरहनुको बाध्यता बाहेक हामीसँग के नै उपलब्ध हुन्छन् र ? 

रुइनिबाङबाट फर्कँदै गर्दा लुङ्ग्री -फगाम खोला दोभानको शिव मन्दिरमाथिको पुल काटेपश्चात् कार्यक्रमस्थल (सुलिचौर) आइपुगिन्छ । सोही पुल हुँदै एउटा एम्बुलेन्स दगुर्‍यो। एम्बुलेन्सको पिठ्यूँमामा लेखिएको थियो- “परमेश्वरको कृपाले।” सोही पुलको मुखमा एउटा बुलेरो रोकिइराखेको थियो, जसको पिठ्यूँमा राजारानीको तस्बिर छापिएको थियो। पछाडि कुनै गाडीमा लेखिएको थियो – “शत्रुको आशीर्वाद ।” रोल्पाको शत्रु को हो?, प्रश्न जीवितै रह्यो ।

रोल्पा नेपालको ऐतिहासिक राजनीतिक पृष्ठभूमि बोकेको ठाउँ हो। यहाँ देखिने (एवं देखाइने) हरेक बिम्बहरूको अर्थलाई लिएर म घोत्लिइरहेको थिएँ । मगर बाहुल्य रहेको रोल्पामा ‘शिव मन्दिर, परमेश्वरको कृपा र राजारानीको तस्बिर’ एकपछि अर्को क्रमबद्धरूपमा देख्दा कता के नमिलेजस्तो लाग्यो। 

दोस्रो जनआन्दोलनपछि नेपाल सङ्घीय र धर्मनिरपेक्ष बनेको हो। सङ्घीयताको सवालमा सैद्धान्तिक चर्चा-परिचर्चाहरू भएता पनि धर्मनिरपेक्षताको सवालमा चुपी साँधियो। सोही चुपीका बिच धर्मनिरपेक्षताको सैद्धान्तिक चर्चा-परिचर्चा बेगर नयाँ संविधानमा ‘धर्म निरपेक्षता’ जुकोझैँ चिप्कियो। त्यतिबेला माओवादी धर्म निरपेक्षताकै पक्षमा, एमाले चुपचापमा र काँग्रेस करकापमा जस्तो देखिएका थिए । पछि, सबै करकापमा रहेछन् जस्तो हुन् पुग्यो। स्थितिहरूमा जसप्रकारका फेरबदलहरू देखा परे, त्यसले नेपाल व्यवहारिकरुपमा अझै पनि धर्म निरपेक्ष मुलुक भई नसकेको देखाइदियो ।

र, यस समयमा रोल्पामा यो दृश्य देख्दा मनमा प्रश्न उब्जियो, “रोल्पामा पनि धार्मिक सत्ताको पञ्जा उस्तै हो, उसैको हो ?’ यो आज दिउँसोकै बहसको सेसन थियो। बहसमा उत्तर भेटिएला भन्ने आश गरेँ। 

नेपाल मगर सङ्घको लुम्बिनी प्रदेशको इन्चार्ज, सुनछहरी गाउँपालिका नेकपाको सदस्य धनबहादुर पुन ‘कीर्तिमान’ ले राजकुमार बानियाँसँग भने, “सत्ता सञ्चालन गर्नेहरूले धर्मलाई नै हतियार बनाइरहेका छन्। धर्म गुरु या धार्मिक अभियन्ताहरूले धार्मिक व्याख्या मात्रै गरेका हुन् तर राजनीतिक नेताहरूले धर्मलाई हतियारको रूपमा (धार्मिक सत्ता) प्रयोग गरिरहेका छन्।” 


May be an image of 3 people and people sitting

उनले बहसमा हिन्दु धर्मावलम्बीहरूले गाई काटेमा उनीहरूलाई जेल हाल्नु जति नीतिसंगत छ, उत्तिकै नितिसंगत मगर/तामाङहरूले गाई काटेर खानु पनि रहेको बताए । उनले स्टेजबाट ‘गाई खानेहरूले गाई खान पाउनुपर्छ’ भन्दै गर्दा मेरो मन लुङ्ग्री -फगाम खोला दोभानको शिव मन्दिर र मन्दिरमाथि रोकिरहेको बोलेरोमा अङ्कित राजारानीको तस्बिरमा बारम्बार गइरह्यो । तर, गइरहेन पनि। 

किन ?  किनभने लिस्ने लेकमा ‘शिव लिङ्ग’ रोपिरहेका कमरेडहरू पनि कार्यक्रमस्थलमै थिए ।  

यस्ता विसङ्गतिहरू खोज्नलाई रोल्पा नआएकै भए नि हुन्थ्यो जस्तो पनि लाग्यो। रातो झन्डा देखाएर कम्युनिस्ट सिद्धान्तको नामसँग भोट साटेर सत्तामा पुगेपश्चात् फलानो दलका प्रधानमन्त्री र राष्ट्रपतिले नै धर्म निरपेक्षताको मर्म समाउन नसकेको हास्यास्पद स्थिति उतै राजधानीमै पनि देखिरहेकै हो। 

कीर्तिमानले धर्मको राजनीतिमार्फत एक धर्ममाथि अर्को धर्म ओभरल्याप हुन् नहुने बताए तर ‘रोल्पामा यसो किन होइरहेको छ?’ छ भनेर चाहिँ भनेनन्। बानियाँको सोही प्रश्नमा ‘सत्ताको कुर्सीमा बस्नु भनेको दिने ठाउँमा पुग्नु हो । म त्यहाँ पुग्न पाएको छैन, तसर्थ मेरो परीक्षा बाँकी छ’ भन्ने उत्तर दिए। दिने ठाउँ पुगेका दिन उनले यस परीक्षा पास गरुन्, शुभकामना! 

जे होस्, रोल्पाको रातो रङ धर्म निरपेक्षताको सवालमा फुङ्ग उड्दै गएको (एसियन पेन्ट बनिरहेको?) कुरामा भने कुनै शङ्का रहेन। ‘धर्म निरपेक्षता अझै पनि राजनीतिक भ्रम नै हो त ?’ भन्ने प्रश्न रोल्पा पुगेपश्चात् झन् जीवित भइदियो ।

***

प्युठान जिल्लाको विकट कालाशेष थुप र बाइस खुवा थुम तथा सल्यान जिल्लाको दार्मा थुम र रोल्पा थुम गरी ४ वटा थुमलाई मिलाएर रोल्पा जिल्ला स्थापना गरिएको भन्ने पढ्न पाइन्छ । सल्यानको रोल्पाकोट थुम यतै आएकाले जिल्लाको नाम पनि ‘रोल्पा’ रहनुपर्ने तर्कलाई जायज ठहर्‍याई जिल्लाको नाम रोल्पा राखिएको रहेछ । रोल्पा जिल्ला साबिकको राप्ती अञ्चलका ५ जिल्लाहरूमध्ये नयाँ जिल्ला हो । प्युठानको दुर्गम भूभाग कटाएर बनेको रोल्पाको ठुलो भूभाग अझै दुर्गम रहेछ। अर्पण (उत्कर्ष)जीको फोटोग्राफीले पछिल्ला दिनहरूमा यो कुरा बताउँदै थियो। 

चौधौँ शताब्दीमा छापकोटे राजा र सत्रौं शताब्दीमा रुकुमकोटे राजालाई घोडाबाट खसालेर राज्य विरोधी कित्ताका उभिएको थवाङको वर्तमानका चिसा-कठ्याङ्ग्रिँदा फोटोहरूले थवाङमा क्रान्तिको तातो सेलाएको उद्घोष गर्दै थियो। मैले फोटो हेरेरै अनुमान लगाएँ, “काठको फ्लेक र स्लेट ढुङ्गाले छाना छाएका गुजमुज्ज र बाक्ला घरमा प्राचीन कला संस्कृति झल्कने हस्तकला त बचेका रहेछन् तर, सहिद स्मृति क्याम्पस, सहिद स्मृति पार्क वरपर हिँडिरहेका जनताहरूले ‘पछिल्लो राजनैतिक परिवर्तनपश्चात् हामीले चाहिँ के पायौँ ?’ भनेर सोधिरहेकै छन्।


May be an image of 1 person, standing and outdoors

अर्पणजीलाई पनि प्रश्न सोधियो होला, उहाँले जवाफ पनि दिनुभयो होला। तर, के ? चे, माक्स, एँगेल्स, स्टालिन र माओको तस्बिर सामुन्ने उभिएर ‘थवाङबाट क्रान्तिकारी रातो सलाम’ गरेका अर्पणजीले बताउनु नै होला। 

रोल्पाबाट युद्ध सुरु गरेकाहरू राजनीतिक रूपमा लाभान्वित बनेपछि सुगमतर्फ झरेछन् । रोल्पाका ठुला-ठुला नेताहरूको प्युठान या काठमाडौँतिर घर छ भन्ने कुरा सुनियो । ठिकै हो। यसमा के अनौठो मानिरहनु ?  दुर्गमबाट युद्ध उद्घोष गर्न सकिन्छ, दुर्गमलाई युद्ध क्षेत्र बनाउन सकिन्छ तर दुर्गमलाई सुगम बनाउन सकिँदैन। यो कुरा १० मिनेट आइपुगेर कविता सुनाएर निस्किगएका महराले महोत्सव उद्घाटन सत्रमा अझ सिद्ध गरिदिए।  

***

द्वन्द्वका क्रममा जिल्लामा कुनै पनि विकास निर्माणको कामले गति लिन सकेन । भएका भौतिक संरचना पनि भत्काइए । शान्ति पक्रिया सुरु भए यताका दिनमा विकास निर्माण भए पनि पर्याप्त हुन् सकिरहेको रहनेछ । माओवादी आदर्शको बिउ रोप्ने क्रममा शाही सेना या माओवादी जो-जोबाट यो कृत्य (कू) भएता पनि, तिनलाई उठाउनु अबेला भइसकेको थियो । यिनै कुरा ‘बिर्सिएको युद्ध पर्यटन’ अन्तर्गतको सेसनमा उठिरहेको थियो । 


May be an image of 3 people

पछिल्लो पटकको राज्य पुनर्संरचना रोल्पालाई १० स्थानीय तहमा विभाजन गरिएको रहेछ । १ नगरपालिकासहित ९ वटा गाउँपालिका र ७२ वटा वडा रहेको रोल्पामा ७ वटा स्थानीय तह पूर्वमाओवादीले जितेको रहेछ भने २ पूर्व एमाले र १ काँग्रेसले जितेको रहेछ । माओवादीको प्रभाव रोल्पामा जीवित नै छ भन्ने कुरा यसबाट पनि पत्तो लाग्थ्यो । तर, माओवादीको आदर्श बाँकी छ कि छैन भन्ने कुरा खोज्नु, नियाल्नु र छाम्नु बाँकी नै थियो । 

***

युद्धका कारण पछाडि परेको रोल्पालाई भौतिक पुनर्निर्माणमार्फत अगाडि ल्याइरहेको गनगन जनप्रतिनिधिहरूको थियो, जुन मलाई खास्सा लागेन। कारण, सुलीचौर नामको भूतपूर्व गाउँले क्षेत्रमा मात्र बजार, विद्यालय र भौतिक सम्पदाहरू ठडिएका देखिए (पुरै रोल्पा त घुमिएन), सुलिचौरका कुनाकाप्चामा यद्यपी खरले छाएका घरहरू नै देखिरहेका थिए (तर यी घरमा गाउँ बचेको छ भन्ने प्रश्न जीवित छँदै थियो) ।



सुलिचौरमा देखिएका भवनहरूमा पनि रोल्पाको वासना देखिएन। बस्, होटेल साहुनीले हरेक पटक खानामा दिएको घिउमा भने रोल्पाको बास्ना मगमग थियो। श्यामल दाइको ‘टिमुरको रक्सी’मा पनि रोल्पाको वासना यथावत् थियो क्यार । 

बाँकी त उही- हिँड्न छाडेर ट्याक्टर चढिरहेको रोल्पा, कोदालोले डल्ला फोर्न छाडेर डोजरले पाखा फोरेको हेरेर रमाइरहेको रोल्पा, खेत खन्न छोडेर बोराको चामल ओसारिरहेको रोल्पा, क्लास हाँपेर नेपाल माविको स्कुल ड्रेसमा पब्जी खेलिरहेको रोल्पा। जीर्ण घरको पालीबाट कुरकुरे र मिनिरल वाटर बेचिरहेको रोल्पा ।..आदि इत्यादि रोल्पा..।

यस्तै रोल्पा मेरो धादिङतर्फ पनि छ। यस्ता रोल्पाहरू क्रान्तिकारी रोल्पा होइनन्, जुका रोल्पा हुन् । रोबर्ट रोल्पा हुन् । परनिर्भरता वास्तवमै नेपालभरकै समस्या हो। वास्तविक रोल्पा यस्तो देखिन्छ भने ठोकुवा गरेर भने हुन्छ, “रोल्पाको क्रान्तिचेतबाट प्रभावित सम्पूर्ण रोल्पा (नेपाल) विदेशबाट पैसा झिकाएर विदेशी रम निल्दै भनिरहेको छ-, “म दुई चार दिन सहर भएर आउँछु, वडा अध्यक्षलाई भेट्नु छ । रासायनिक मल कहिले आउने रहेछ सोध्नु छ । उताबाट आउँदा पफ किनेर आउला । दूधको पोको किनेर ल्याउला ।”

आधुनिकता, समय सापेक्ष विकास, अवसरबाट टाढा राखेर पुरानै पुरातनशैलीको गाउँको कल्पना त गरिनुभएन नै तर, सुलिचौरजस्ता निर्माणाधीन सहर (बजार क्षेत्र)माथि प्रश्न भने गरिनुपर्दछ, “आफ्नै मौलिक सुन्दरतामा हाँसिरहेको गाउँमा मोबाइल नेटवर्क, डिस होम, सडक, चाउचाउ, वाइफाई त पुर्‍याउने तर, गाउँको खाँटी कुराहरूको संरक्षण गर्ने कि नगर्ने ? गर्ने भए कसरी गर्ने ?”



एउटा प्रसङ्ग सुनाइहालूँ । पोहोर साल कोरोनापश्चात् घर पुगेको थिएँ । कारण केही पनि थिएन । मलाई मकै, मोही र मुलाको साग चपाउनु थियो । ५/७ दिन गाउँघरमा बसेर गाउँका पत्कर र तुवाँलोहरूसँग जिस्कनु थियो । तिँदुको बोटमा सयेली खेल्नु थियो । घर पुगेँ । पुगेर जुत्ता खोलेको मात्रै के थिएँ, ममीले सेरामिक्सको कपमा दूध चिया र ‘पफ’ ल्याउनुभयो । नढाँटी भन्नुपर्दा, सोही ‘पफ’ सेरामिक्सको कपमा डुबाएर खाँदाखाँद वाक्कदिक्क भएर म घर पुगेको थिएँ । ‘तातो भए, लौन समा’ भनिरहनु भएको ममी एवम् थर्र थर्र गरिरहेको पफ र सेरामिक्सको कप नियाल्दै म सोचिरहेँ, ‘नेपाल गाउँ नै गाउँले भरिएको देश हो भनेर कहिलेसम्म भन्न पाइएला ?”

***

फेरी, हाम्रै कुरामा फर्किऊ । 

अब कुनै पनि गाउँको परिकल्पना गर्दा कसरी गर्ने ? अब मौलिक गाउँ खोज्न कहाँ जाने ? डोजरले कोपरेको कुरूप अनुहार लिएर गाउँ कहिलेसम्म हाँस्न सक्ला ?”

‘सिनेमामा छुटेको भूगोल’ नामक सेसनको सहजीकरण म आफैँ गर्दै थिएँ। ‘हाम्रो मौलिक सिनेमामा मौलिक भूगोलको सम्बोधन किन छुटिरहेको छ’ भन्ने प्रश्नमा छविलाल सर (कोपिला)को उत्तर कहालीलाग्दो थियो, “अबको १० वर्षमा वास्तविक थारु गाउँ भेट्न मुस्किल छ। थारुका मौलिक विषयवस्तुमा रहेर जति पनि फिल्म बनाउनुछ भने अबको १० वर्ष भित्र बनाइसक्नुपर्छ, अन्यथा हामीले लाखौँ खर्च गरेर थारु सेट निर्माण गर्नुपर्ने हुन्छ।” कोपिला सरले यसो भन्दा सुलिचौरको गाउँपालिकाको सिमेन्टेड ५ तले भवनले मुन्टो मोड्यो होला कि जिब्रो टोक्यो होला, मैले याद गर्न भ्याइनँ। 



सुदूर गाउँहरूको कथा बुनेर चलचित्र निर्माणमा सक्रिय चलचित्र निर्देशक मनोज पण्डितले कथालिकासँग भनेका थिए, “‘गाउँको आइडल अहिले सहर बनेको छ । सहरले भोग्ने सुख सुविधा भोग्न पाउँछौ कि पाउँदैनौ भन्ने गाउँलाई छ । वस्तु उपभोग गर्न पायौ कि पाएन भन्ने चिन्ता छ, सहरको कपी गर्ने अवस्थामा गाउँ छ। यस प्रक्रियामा परिचय, पहिचान, संस्कृति फ्युजनको अवस्थामा पुगेको छ । यसको निरन्तरता रहिरहे केही वर्ष भित्रमा गाउँको पहिचान र परिकल्पना भेट्न सम्भव हुने छैन ।”

***

अब फेरी अघिल्लो दिनमै आऊ । 

हामी रुइनीबाङबाट फर्किएका थियौँ । भानुभक्त मावि उवा, रोल्पाका स्थायी शिक्षक प्रेमप्रकाश सर (जीएम) एवं रोल्पाकै कवि एलबी सर (साथी) हरू पनि चिया पिउँदै हुनुहुन्थ्यो । उहाँहरू ‘आगो लिन गएकाहरू’लाई पर्खिएर उतै जेलबाङ-उवातिर रोल्पाको दुखसँग जुध्दै हुनुहुन्थ्यो । 

‘हिजोआज
म केवल एउटै चिन्तामा छु
आगो लिन गएकाहरू 
आगो भएर आगोसँगै फ़र्किएलान्
या उतै निभीजालान् ?’ 

आगो लिन गएकाहरूले प्रेमप्रकाश सरका कविताहरूको मर्म कहिले आत्मसात गर्लान् भन्ने प्रश्नमा घोत्लिदै उहाँले सुम्पिनुभएको तातो चिया घुट्काऊदै थिएँ एक्कासि मुकुन्द दाइ (खलपात्र), अञ्जन भाइ (प्रदीप)हरू पनि आइपुग्नुभयो ।

मुकुन्द दाइहरू र म हामी सँगसँगै आउने कुरा थियो तर, एउटा हाइसमा सबै अटेनौँ । उहाँहरू बसमा आउनुभयो, यसकारण अलि ढिला हुनुभयो । उहाँहरू आइपुग्दासम्म हामीले एक-डेढ घण्टा रोल्पाको भूगोल, रोल्पाको हावापानी, रोल्पाका सजीव चित्रहरू र रोल्पाको सुवास छाम्न, मुसार्न, निल्न पायौँ । प्रेमप्रकाश सर, दिलिपजी, सन्यास बड्डा, एलबी सरहरूलाई ‘आगो लिन गएकाहरू’ हरू किन आएनन् भनेर सोध्न पायौँ ।

मुकुन्द दाइहरू लालटिन बोकेर रोल्पा आउनुभएको थियो, यो आफैँमा डरलाग्दो बिम्ब रह्यो । ‘सम्पूर्ण देशमा परिवर्तनको उज्यालो छरेको रोल्पामा नाटकको यो टोली लालटिन बोकेर किन आएको होला ?, मनमनै यो प्रश्न गर्दै मुखमा हाँसो सोहोरेर भनेँ “रोल्पा अब उज्यालो हुने भयो हाउ दाइ।’ 

मुकुन्द दाइले हाँस्दै भन्नुभयो, “ मुला, त्यो सब छोड न । बरु एउटा चुरोट निकाल यार। रोल्पा अँध्यारो मात्रै होइन, चिसो पनि लाग्यो ।’ 

(द मार्जिनमा २०७८, माघ ६ गते प्रकाशित)

https://themargin.com.np/jajawar-eyes/4296/

Leave a Reply