लामो समय पूजारिबिहीन रहेको नलाङको बलदेवी मन्दिर !

You are currently viewing लामो समय पूजारिबिहीन रहेको नलाङको बलदेवी मन्दिर !

नलाङ ।  सिद्धलेक गाउँपालिका वडा नम्बर एक स्थित नलाङमा रहेको बलदेवीको महिमागान नलाङ सहित समग्र धादिङका हिन्दु धर्मावलम्बीहरूले सुन्ने गरेका छन् । सुन्ने मात्र होइन दर्शनका लागि पनि हजारौँ मानिस यहाँ पुग्ने गरेका छन् । माओवादी द्वन्दका कारण लामो समय बन्द रहेको यस पुरानो मन्दिरमा विगत ३ वर्षदेखि नियमित पूजाआजा हुँदै आएको छ ।

मन्दिरमा दैनिक पूजा बाहेक मङ्सिर पञ्चमी र धने पूर्णिमामा विशेष मेला लाग्ने र जात्रा हुने गर्छ । बलदेवीथानको जात्रामा मैधी, खरी, ढोलादेखि मान्छेहरू मान्छे जाने गरेको पंक्तिकारलाई मैधीका प्रेमनाथ भट्टले बताएका थिए । मैधीकोटको सरह नै यहाँ पनि ठुलो जात्रा लाग्ने गर्दथ्यो भन्ने कुरा भट्टले पंक्तिकारले बताएका थिए, तर हाल सो जात्रा यहाँ देख्न पाइदैन ।

स्थानीय विष्णु प्रसाद भट्टले पछिल्लो दुई वर्षदेखि यस मन्दिरमा पुजारीको भूमिका निभाइरहेका छन् । प्रेमनाथ सिलवाल पालिका अध्यक्ष रहँदा उनले जुटाइदिएको एक लाख रुपैयाँ र विभिन्न स्रोतबाट व्यवस्थित रकमपश्चात् कुल ४ लाखको अक्षय कोष स्थापना भएको छ । सो रकम साना किसान कृषि सहकारी संस्थामा राखिएको छ । सो रकमको ब्याजबाट मन्दिरमा दैनिक रूपमा हुने पूजाआजामा सहयोग पुगिरहेको भट्ट बताउँछन् ।

विष्णु प्रसाद भन्दा अघि उक्त मन्दिरमा विष्णु थपलियाले पूजा गर्ने गर्थे । उनलाई वर्षको ५० हजार दिने शर्तमा मन्दिरमा पूजाआजा गर्न लगाइएको थियो । तर उनले पुरा पैसा नपाएको भनी पूजा गर्न छोडेपछि विष्णुले नियुक्ति पाएका हुन् । माओवादीकालमा मन्दिर बन्द हुनुअघि एकजना पोख्रेल थरका पण्डितले पूजा गर्ने गरेको विष्णु सम्झिन्छन् । पोख्रेलले छाडेपछि निकै लामो समयसम्म बलदेवी थान मन्दिर पूजारीबिहिन अवस्थाबाट गुज्रिएको छ, यसो हुँदा मन्दिरका बारेमा यथेष्ट जानकारीहरू संकलन गर्न कठिनाइ परेको हो ।

पुजारीसँग मन्दिरको उत्पत्ति बारे बुझ्न खोज्दा मन्दिर निकै पुरानो रहेको तर मन्दिरका किम्बदन्ती एवं इतिहासका बारेमा आफूलाई राम्रोसँग थाह नभएको बताए । श्रद्धालुबिच निकै चर्चा कमाएको मन्दिर भूकम्पपछि पुनर्निर्माण गरिएको हो । पहिला ढुङ्गाको गारो लगाएर बनाइएको थियो भने अहिले नयाँ संरचना देख्न सकिन्छ । 

मन्दिर छेउमा ठुलो पिपलको रुख समेत रहेको छ भने मन्दिर छेउ भएर एक कच्ची सडक ठाटी भन्ज्याङतर्फ गएको छ । हाल मन्दिर क्षेत्रलाई फलामे रेलीङ लगाइएको छेकबार समेत गरिएको छ ।

मन्दिरको गुठी पनि छ । बिहान-बिहान मन्दिरमा नगरा लगाइन्छ । नगरा  लगाउनेलाई खेत दिइएको छ तर उक्त खेत ८/१० वर्षबाट बाँझो छ । नगरा  लगाए पनि दुई खेती लाग्ने खेत बाँझो छोडिएको छ । विष्णु भन्छन्, ‘आठ नौ मुरी धान हुने खेत हो तर बाँझो छ ।’  पुजारीको तोरीबारी भन्ने खेत पनि रहेको तर कालान्तरमा बेचिएको सुनेको विष्णुले बताए । 

धादिङकै लोकप्रिय धार्मिक स्थल बलदेवी मन्दिर पुनर्निर्माण र पुनः पूजा सुरु भएसँगै श्रद्धालु भक्तजनका लागि खुला गरिएको छ । मन्दिर भएको स्थानबाट केही तल वनदेवीकी बहिनीको मन्दिर पनि रहेको छ ।

(स्थानीय रामहरी अर्यालसहित राहुल भट्ट, सिजन भट्टको सहकार्यमा यस स्थलगत समाचारसामाग्री तयार पारिएको हो । )

Leave a Reply