मनोज बोगटीलाई प्रश्न- ‘दाजु, कपाल तिलचामले भएछ है?’

You are currently viewing मनोज बोगटीलाई प्रश्न- ‘दाजु, कपाल तिलचामले भएछ है?’

भारतीय मूलका मनोज बोगटी नेपाली भाषाको सशक्त कवि हुन् । पश्चिम बंगालको दार्जिलिङमा बसी साहित्य साधना गरिरहेका उनी लेखनमा फरक विषयको खोजी गर्छन् । उनका कविता संग्रह एवम् कथा संग्रहहरू प्रकाशित छन् । कवितामा भिन्न उचाइ बनाइसकेका बोगटीको नेपाली कविता क्षेत्रमा बलियो हस्तक्षेप छ ।

पश्चिम बंगालका नेपाली भाषीहरूलाई अझै पनि त्यहाँको सरकारले विभेदमा राखेको छ । यही विभेदको अन्त्य गर्नका लागि पनि बोगटी लगायत कवि लेखकहरूको आन्दोलन सक्रिय छ ।

काफरे अमेरिकामार्फत मालिकहरूको विपक्षमा उभिएर नयाँ डिस्कोर्ष निम्ताउने बोगटीको एकै वा एक मात्र परिचय छैन । उनी  कहिले रिपोर्टिङ गर्छन् । कहिले प्रकाशन संस्था खोल्छन् । कहिले बेरोजगार बस्छन् । कहिले पत्रिका चलाउँन पुग्छन् । कहिले कार्यक्रम-गोष्ठी गराउँछन् । कहिले मात्छन् । कहिले सद्दे हुन्छन् । कहिले बौलिन्छन् । कहिले पोलिटिकल लिडरहरूलाई झसंग(झसंग तर्साउँछन् । र, कहिले लेखकहरूको प्याच्चप्याच्च कुरा काट्छन् । ‘तपाईं कति साह्रो अस्थिर हाउ, दाजु ?’ भन्दा भनिहाल्छन्, “स्थिर हुनु भनेको त लाश हुनु न हो । म लाश छैन, यसकारण अस्थिर छु । अर्थात जिउँदो छु ।”

प्रस्तुत छ, द मार्जिनको साप्तहिक स्तम्भ ‘किनाराका साक्षी’का लागि राजु झल्लु प्रसादले तयार पारेको सामाग्री:

‘मिसुजा’ भनिरहेकी छिन्, ‘च्याङ्बा, कविता त नलेखिएकै सुन्दर हुन्छन् ।’ च्याङ्बाले कविता लेख्न छोडेको हो र? छोडौं दाजु यी कुरा, कपाल तिलचामले भएछ है ?

मिसुजाले झुट बोलेकी छैनन् भन्ने कुराको विश्वासमा छपक्क बसेको बेला राजुको प्रश्न अचानक इक्को भयो ।

हेल्लो, हेल्लो तिलचामले कपालवाला च्याङबा कविता लेख्न छोडेको हो ?

हत्केलाको क्याप बनाएर आकासतिर हेरें, घाम कता मुन्टियो मुन्टियो । जाडोले मुटु कुटुकुटु खाइरहेको छ । हिउँ परेको छ । दार्जिलिङको अनुहार सेतो छ । जुनको सेतोजस्तो । (तिमीलाई थाहा छैन राजु, भारत सरकार र बङ्गाल सरकार दार्जिलिङको लागि घामजस्तो हो, दार्जिलिङको आफ्नो राप छैन, दार्जिलिङ जुनजस्तै हो ।)

त्यसै जमेको छ दार्जिलिङ, अब झन जम्ने भो । आमाले रक्सी पारिरहेको अगेनुमा औंलाहरू सेकाउँदै सोचेँ, घाम त लागेकै होला, तर त्यो छेलिएको होला । ब्राह्म्ण्डको सबैभन्दा ठूलो शक्तिलाई त छेक्ने हुँदोरहेछ, च्याङ्बाको कविताको त के कुरा र ?

यतिखेर मिसुजा छेउमा हुँदी हो, पक्कै पनि माकुराका बच्चाहरू झुण्डिरहेको रातो फ्याल्टरको एकफेर समातेर भन्थी होलिन्, ‘च्याङ्बा घाम छेलिँदैन, कुइराबादलहरूले जब छोड्नुपर्ने हुन्छ, बाटो सर्लक्क छोडिदिन्छ । तिम्रा कविता त्यही घाम न हो, राजुलाई भन्दिनु, कविले कविता लेख्न छोडेको दिन पृथ्वीले सास फेर्न छोड्छ । एक दिन बादलहरूबीच घाम देखापर्छ ।’

राजु, रहर के लागेको छ भने ‘फुल और काँटे’ फिल्मवाला अजय देवगनले दाहिने झुकेर देब्रेतिर जुल्फी हुत्याउँछ नि क्या, त्यसरी जुल्फी हुत्याएर मिसुजाको कुरा सुनिबसुँला । त्यसपछि ६० प्रतिशत फुलेका लामालामा कपाल सपक्क बाँधुँला र भारी स्वरमा यस्तो कविता सुनाउँला कि सुन्नेहरूले सोचुन्, ‘यसको कविता मऱ्यो भने हामी पनि मर्छौं है गाँठे ।’

तिमी हेरिबस राजु, तिम्रोजस्तो दाह्री त गाह्रो छ, कपाल चैं त्यस्तै बनाएरै छाड्छु ।

तर थाह छ ? त्यो तिलचामले केशमा तिम्री भाउजुको ‘गिद्धेनजर’ छ । म त्यही गिद्धेनजरसित असाध्य डराउने प्राणी हुँ । यो तिलचामले केशको आयु कति छ, मलाई थाहा छैन ।

राजा पुनियानीको एउटा कमेन्ट सम्झिराछु, “एक ठाउँमा स्थिर बस्दैन ऊ । कहिले रिपोर्टिङ गर्छ । प्रकाशन संस्था खोल्छ । कहिले बेरोजगार बस्छ । कहिले पत्रिका चलाउँछ । कहिले कार्यक्रम(गोष्ठी गराउँछ । कहिले मात्छ । कहिले सद्दे हुन्छ । कहिले बौलिन्छ । कहिले पोलिटिकल लिडरहरूलाई झसंग(झसंग तर्साउँछ । कहिले लेखकहरूको प्याच्चप्याच्च कुरा काट्छ ।” केही छुट्यो दाइ रु तपाइँको ‘अस्थिरता’ यतिबेला कता-के गर्दैछ ?

आँगनमा कमिलाहरूको ताँती छ । कतिले अण्डा बोकेका छन् । कतिले बोकेका छैनन् । उनीहरू हिँडिरहेको बाटोमा मैले दाउराको चोइटा उभ्याएँ, उनीहरू हिँडिरहेको बाटो रोकेँ । बाटो छेक्ने चोइटाले उनीहरूलाई निक्कैबेर अल्झायो । अघि पूर्वतिर हिँडिरहेको उनीहरू फेरि दक्षिणतिर लस्करै हिँड्न थाल्यो । मैले सोचेँ, ‘चोइटाले बाटो नछेकेको भए उनीहरू हिँड्याहिँड्यै गर्थे होलान् ।’ अर्थात उनीहरू हिँड्छु भनेर हिँडेको बाटो त्यही थियो होला । त्यो बाटो छेकिने बित्तिकै कसरी पूर्वतिर हिँड्का कमिलाहरू दक्षिणतिर हिँडेका होलान् ।

मैले दक्षिणतिर हिँडिरहेका कमिलाहरूको बाटोमा सानो ढुङ्गा राखिदिएँ । केहीबेर उनीहरू अल्झिए र फेरि पश्चिमतिर हिँड्न थाले ।

मैले के बुझें भने राजु, रोकेन भने त उनीहरू ताकेको बाटो हिँडेको हिँड्यै गर्नेरहेछ । रोक्यो भने पनि बिसाउने होइन रहेछ । एउटा बाटो छेकियो त के भो अर्को बाटो हिँड्दा भइगयो । जतैबाट हिँडे पनि पुग्नुपर्ने ठाउँ पुग्ने नै हो । हिँड्नेहरू नै त पुग्छन् नि ।

म र यी कमिलाहरूमा के फरक छ र ?

परबाट मलाई टुलुटुलु हेरिरहेको कवि राजा पुनियानीको कुरा सत्य हो, ऊ जे देख्छ, त्यही भन्ने कवि हो ।

स्थिर हुनु भनेको त लाश हुनु भनेकै न हो । म लाश छैन, यसकारण अस्थिर छु । अर्थात जिउँदो छु ।

त्यसैले झुर किताबले अकादमी पुरस्कार पाउँदा चर्कोस्वरमा कराउँछु । हिप्पोक्रेट सम्भ्रान्तहरूलाई लाग्दा हुन्, यो एक्लै कराएर के नाप्छ ? उनीहरूलाई थाह छैन, म केही नाप्न कराइरहेको होइन । म त भनिरहेको छु, ‘जिउँदो छौ भने कराउ, लाशजस्तो सङ्गीतहिन नबस ।’

मैले मेरो हिस्साको जिम्मेवारी निभाइरहेको छु ।

जहाँ जहाँ पनि विशृङ्खलता र अन्तरविरोधहरू छन्, जहाँ पनि असमानता छ, तलमाथि छ, हेलाहोचो छ, म बोल्छु । कहिले लाग्छ, युवाका स्वर काँतर भयो, त्यसैले उनीहरूलाई अलोचनात्मक बनाऔं, प्रश्न गर्न सक्ने पुस्तामा रुपान्तर गरुँ । कहिले लाग्छ, काइदाका किताबहरू छापिदिउँ, कहिले लाग्छ, लुकाइएका कुराहरू पर्दाफास गरिदिउँ ।

जिम्मेवारी निर्वाह गर्नुपर्ने लागेका जत्ति सप्पै काम गरुँ । र, त्यस्तै गरिरहेको पनि छु । अचेल गलत बाटो हिँडिरहेको राजनीतिलाई सिर्कुना हान्दैछु ।

राजु, यहाँ सिर्कुना लिएर बसेन भने नेताहरूले खुलेआम मानिसका सपनाको व्यापार गरिदिन्छन् । अचेल जनसपनाका व्यापारीहरूको ओमिक्रोन भेराइटी दार्जिलिङमा छिरिसकेका छन् । जनताको सवाल बोकेकोजस्तो देखिने तर सरकार र नेताहरूकै ‘हिडन एजेन्डा’मा काम गर्ने सुपारी खाएका गुण्डाहरू छन् । म रमिता हेरिबसुँ र ?

धेरैले मलाई रमिता हेरिबसोस् भन्छन्, जुन कुरा गर्न म सक्दिन केरे ।

अघि भनेनी क्या त, दार्जिलिङको लागि भारत सरकार र राज्य सरकार नै घाम हो । कहिले असाध्यै पोल्छ, कहिले हिँउजस्तो जमाउँछ । दार्जिलिङको आफ्नै भाषा छ, तर त्यसमा ऊ बोल्न सक्दैन, दार्जिलिङको आफ्नै विवेक छ, तर त्यसले ऊ सोच्न सक्दैन । दार्जिलिङको आफ्नै आँखा छ, तर त्यसले ऊ देख्न सक्दैन ।

त्यसैले ‘गोर्खाल्याण्ड’- नामको ब्राण्डलाई व्यापार बनाउने खेल चलिरहेको छ । यो चलखेल बुझाउने प्रयत्न निरन्तर गरिरहेको छु ।

जबसम्म म लाश बन्दिन तबसम्म त म ‘आफ्नै भाषामा बोल, आफ्नै विवेकले सोच, आफ्नै आँखाले हेर’ भनिबस्नेछु । मेरो भाषा नबुझ्नेहरूले अनेकौं अर्थ निकाल्लान् । निकालुन् पनि । र त मलाई उनीहरुको चेतनाबारे ज्ञान हुन्छ ।

मलाई मेरो अस्थिरताले सिर्जनात्मक बनाउँछ राजु, दार्जिलिङको राजनैतिक भौंप्वालबारे किताब लेख्दैछु, एउटा निबन्धको किताब पनि त रिराइट गर्दैछु । कविताहरू पनि लेख्दैछु । यो भन्दा धेर त गर्न सक्दिन ।

तर, म केही त गरिरहेकै छु प्रिय राजु ।

मेरो बुझाइको संकोचन पनि होला । गोर्खाल्याण्डको मुद्दालाई लिएर राज्यको एकाथरी, मिडियाको एकाथरी, साहित्यीक-बौद्धिक भलाकुसारीको एकाथरी ‘पोट्रे’ पाउँछु । भन्नुपर्दा, म यस मुद्दालाई लिएर साह्रो गिजोलिएको छु या मलाई ‘एज अ आउटसाइडर गिजलाइएको हो कि’ जस्तो पनि लाग्छ । तपाईं त्यहि हुनुहुन्छ, यसबारे ‘ब्ल्याक एण्ड ह्वाइट’मार्फत बोलिरहनु पनि भएको छ । गोर्खाल्याण्डको ‘एक्चुअल ईमेज अफ टुडे’ के हो दाइ ? बिंडी फुकिरहेको चिया बगानको किसानहरू कस्तो नेतृत्व खोजिरहेका छन् ? 

राजु भाइ, दार्जिलिङमा  छुट्टै राज्य गोर्खाल्याण्ड भन्ने मुद्दा छ, त्यो मुद्दालाई फत्ते गराउने चेतना छैन । नारा छ, रणनीति छैन । अहिले बाह्र लाख होला, दार्जिलिङको जनसंख्या, १९८६ मा त त्यति पनि थिएन । राज्य र केन्द्र सत्ता अघि बाह्र लाखको आवाज भनेको हात्तीको मुखमा जिरा हो, यही कुरा त मलाई बुझाउनु छ ।

आन्दोलन दार्जिलिङमा मात्र भयो, त्यसैले समाधान पनि दार्जिलिङकै लागि भयो । दागोपाप वा जिटिए । आन्दोलन राष्ट्रीय हुन्थ्यो भने समाधान दार्जिलिङमा नै भए पनि त्यो छुट्टै राज्य गोर्खाल्याण्ड बन्न सक्थ्यो । दार्जिलिङमा छुट्टै राज्य हुनुको लागि आन्दोलन ‘राष्ट्रीय’ हुन अनिवार्य छ । तर दुर्भाग्य यही हो, आन्दोलन ‘क्षेत्रीय’ छ, त्यसकारण अल्पसंख्यक दार्जिलिङको आवाज बहुसंख्यक केन्द्र र राज्यले दबाउँछ ।

सानोलाई दबाउँछ, त्यसैर ठूलो बनौं, म यति मात्र भनिरहेको छु ।

राष्ट्रीय रणनीति बनाउने नेतृत्वको अभावको कारण दार्जिलिङको आन्दोलनले हरेक ‘आउट साइडर’लाई गिजोल्ने न्याराटिभ दिन्छ नै । तिम्रो केही दोष छैन प्रिय राजु ।

संविधानको आठौं अनुसूचीमा नेपाली भाषा गाभ्नलाई आन्दोलन दार्जिलिङबाटै भएको थियो, तर दार्जिलिङमा मात्र आन्दोलन हुँदा केन्द्र र राज्यसत्ताले त्यसलाई दबाउन सजिलो भयो । त्यसैले भाषा आन्दोलनको ‘एपिसेन्टर’ दार्जिलिङबाट उक्काएर देहरादुन पुऱ्याइयो । र सिक्किमका सांसद दिलकुमारी भण्डारीहरूलाई सदनका सदस्य सांसदहरूमा सहमति बनाउन सहज बन्यो । र मात्र भारतमा नेपाली भाषाले संवैधानिक मान्यता पायो ।

छुट्टै राज्य गोर्खाल्याण्ड पनि ‘टेरिटोरियल डिमान्ड’ होइन, तर सुबास घिसिङले राज्य हुने ठाउँ ‘दार्जिलिङ’ नै हो भनेर बसाएको चेतनालाई रणनैतिक हिसाबले ग्रहण गर्ने ज्ञान नेतृत्वमा पटक्कै आएन । वास्तवमा यो भारतभरि बस्ने गोर्खाहरूको राष्ट्रीय पहिचान सुनिश्चित गर्ने मुद्दा हो ।

भारतमा गोर्खाहरूको राज्य हुनु भनेको नजिकै नेपाल रहेकोले लाग्ने ‘विदेशी’को लाञ्छनाको जवाब दिनु पनि हो । ‘यहाँका गोर्खा १९५० को सन्धीको बाटो छिरेर आएको होइन, भारत बनिँदै यहीँ थिए’ भन्ने इतिहासलाई प्रामाणिक तौरमा प्रस्तुत गर्नु पनि हो । किन गोर्खाल्याण्ड हुनुपर्ने ? त्यसका थुप्रै कारणहरू छन्, प्रमुख यिनै हुन् ।

यो केवल दार्जिलिङको मुद्दा होइन, तर नेतृत्वले यसलाई केवल दार्जिलिङको मुद्दा बनायो । थाहा छैन, केन्द्र र राज्य सरकारसितको सुझबुझमा यसो गरिएको हो वा नेतृत्व असक्षमताको परिणाम हो, त्यसलाई केलाइदिने बौद्धिक पनि त छैनन् ।

जतिजनालाई बौद्धिक भनिन्छन्, प्रायजसो नै ‘सरकारी इन्टेलेजेन्सिया’ छन् । दार्जिलिङ र भारतीय गोर्खाहरू उनीहरूसित बारम्बार झुक्किरहेका छन् ।

यो केवल दार्जिलिङको मुद्दा हुँदो हो, बङ्गाल बाहिरका गोर्खाहरूलाई ‘चिलाइ न कनाइ’ हुनुपर्ने हो । तर, चिलाइ पनि छ, कनाइ पनि छ । उनीहरूको चिलाई र कनाईलाई सम्बोधन गर्ने रणनीति चाँही छैन ।

आन्दोलनलाई बङ्गाल राज्यले आफ्नो राज्यभित्रको समस्या देख्छ, र राज्यभित्रै व्यवस्थापन गर्ने व्यवस्था बनाइन्छ । मिडियाले यो चुरो कुरो कहिल्यै बाहिर निकाल्दैन । साहित्यिकहरूले पनि ‘असफलताका कारण केवल नेतृत्वको असक्षमता’ सम्झन्छन् र नेताहरूलाई गाली गर्छन् । वास्तवमा ठूलाठूला सत्ताशक्तिमुनि भुसुनाजस्तो दार्जिलिङ र यहाँका नेताहरूले ‘सम्झौता’ बाहेक अर्को गर्नै के सक्छन् र ?

गोर्खाल्याण्डको ‘प्रपर एड्रेस’ कसरी सम्भव छ ?

ठूलाठूला सत्ताशक्तिमुनि नेत्तृत्वलाई ‘सम्झौता’ गर्नदेखि रोक्ने रणनीति बोकेर कुनै नेतृत्व नआइञ्जेल गोर्खाल्याण्डको ‘प्रपर एड्रेस’ सम्भव नै छैन ।

सन् १९८६ मा आन्दोलन दार्जिलिङमा नै भयो, यसकारण समाधान ‘दागोपाप’ दार्जिलिङमा नै भयो । सन् २००८ मा आन्दोलन दार्जिलिङमा नै भयो, यसकारण समाधान ‘जिटिए’ दार्जिलिङमा नै भयो । सन् २०१७ मा आन्दोलन दार्जिलिङमा नै भयो, यसकारण समाधान ‘बङ्गालकै परामर्शमा कुनै संवैधानिक ग्यारेन्टी भएको बङ्गालभित्रैको व्यवस्था अथवा पिपिएस’ दार्जिलिङमा हुने अहिले तय छ ।

जबसम्म भाषाको आन्दोलनको ‘नेचर’ छुट्टै राज्य गोर्खाल्याण्डको आन्दोलनलाई दिइँदैन, तबसम्म गोर्खाल्याण्डको ‘प्रपर एड्रेस’ सम्भव छैन राजु भाई, यसैले ‘व्ल्याक एण्ड वाइट’(मा निरन्तर यही कुरा राख्दै आइरहेको छु ।

बुझ्ला कि कसैले न कसैले त । आशा त मरिकाँट्टे पनि मार्दिन म ।

तपाइँ ‘भ्यागुताले कुवाँलाई भारत देश मान्छ’ भन्दै हुनुहुन्छ । गोर्खेहरूको मतले नै विजय प्राप्त गरेको राजु विष्ट सरकारको उग्र रूपलाई केन्द्रिय सरकारकै ‘ग्रान्ड डिजाइन’ भएको बताउन खोज्नुभएको हो या गोर्खाल्याण्डका अगुवाहरू ‘कन्फ्युज’ छन् भन्न खोज्नुभएको हो ? मलाई यो पनि भनिदिनुहोला- निरन्तर आन्दोलनले जन्माएका नवधनाढ्य (केन्द्र सरकारका गधा, राजनीतिक पार्टी र नेता, संवैधानिक बौद्धिक)हरूले आज कुन रङको चिया खाइरहेका छन् ?

दार्जिलिङमा अचेल फेरि भ्यागुताहरू टर्टराउन थालेका छन् । म अचेल उनीहरूलाई बिजेपीको खेताला गर्ने ‘नयाँ भेरियन्टको ओमिक्रोन खेताला’ भन्ने गरेको छु । १९८६, २००८ र २०१७ मा जस्तै दार्जिलिङकै कुवाँमा ट्याँरट्याँर गर्ने भ्यागुताहरू । जो उफ्रेर ‘राष्ट्रीय’ बन्नै सक्दैनन् । भुराभुरी भ्यागुताहरूको एक एक दर्जन आवाज गोर्खाल्याण्ड गोर्खाल्याण्ड भन्दै ट्याँरट्याँर गर्छन् । यस्ता भ्यागुताहरूले दार्जिलिङलाई नै भारत देश मानेका छन् । उनीहरूलाई कुवाँबाट निकाल्नै गाह्रो ।

२०१९ को लोकसभा चुनाउमा भारतीय जनता पार्टीले ‘गोर्खाल्याण्ड’ नाम मुद्दाबाट हटायो । र मुद्दाको नाम राख्यो- ‘स्थायी राजनैतिक समाधान (पिपिएस)’ । भाजपाले यही मुद्दा राष्ट्रीय मेनिफेस्टोमा हाल्यो । र, राजु विष्टहरूले मत माग्दा त्यसैलाई ‘गोर्खाल्याण्ड’ भनियो । दार्जिलिङले पत्यायो । र, भारीमतले जितायो ।

भाजपाको मेनिफेस्टोमा परेको त्यो पिपिएस गोर्खाल्याण्ड हो भने त देशको संसदमा त्यसको विधेयक पारित गर्नु पऱ्यो । र विधेयक पारित गर्नु मात्र अन्तिम काम हो, अरू जम्मै काम भइसकेको छ । तर आफ्नो मेनिफेस्टोमा हालेको मुद्दाबारे देशका गृहमन्त्री अमित शाहले ‘बङ्गाल सरकारको परामर्श’ चाहिन्छ भन्दैछन् । आफ्नो दलको मेनिफेस्टोमा मुद्दा हाल्दा बङ्गालको परामर्श चाहिएन, जब त्यो मुद्दालाई सम्बोधन गर्ने बेला भयो तब बङ्गालको परामर्श चाहिन्छ भन्दैछन् । मतलब साफ छ, भाजपाले लन्ड्याउने खेल शुरु गरिसक्यो ।

भाजपासित गठबन्धन गर्ने दार्जिलिङका दलहरू लन्डिसके । उनीहरू पत्याउनै मान्दैनन् ।

मुद्दा सर्वभारतीय गोर्खाका हुन्, यसैले यसका ‘स्टेकहोल्डर’ पनि राष्ट्रीय हुनुपर्ने हो । तर बङ्गालको परामर्श माग्न ‘त्रिपक्षीय वार्ता’ शुरु गऱ्यो । जसमा बङ्गालका गोर्खा स्टेकहोल्डर, केन्द्रका प्रतिनिधि र बङ्गालको अधिकारीबीच पहिलो भयो ।

पहिलो बैठक हुनुभन्दा अघि नरेन्द्र मोदी र बङ्गालकी मुख्यमन्त्री ममता व्यानर्जीले धेरैपल्ट बैठक गरिसकेकी छन् । पहिलोपल्ट ममता व्यानर्जीले त्रिपक्षीय वार्ताको विरोध गरिनन् । गोर्खाल्याण्ड राज्यबारे बैठक भएको हुँदो हो बङ्गालबाट दार्जिलिङ चुँडाउने योजना ममता व्यानर्जीले थाहा पाउँथिन् र बङ्गाल विभाजनको विरोध गर्थिन् । विरोध नगर्नुले एउटै कुरा साबित भयो- त्रिपक्षीय वार्तामा छुट्टै राज्य होइन, अरु कुनै व्यवस्थाबारे बङ्गालका गोर्खा स्टेकहोल्डरहरूले सहमति दिइसक्यो ।

ममता व्यानर्जी बाठी छन्, उनकै परामर्शमा बङ्गालभित्रै अर्को व्यवस्था भाजपाले दिने हो भने ममता व्यानर्जी बङ्गालको मुख्यमन्त्री भएको के अर्थ ? त्यसैले उनले भनिन्, ‘पिपिएस भाजपाले दिँदैन, म दिन्छु ।’

अब लडाईँ ममता व्यानर्जीको पार्टी तृणमूल भर्सेस मोदीको पार्टी भाजपा भइसक्यो ।

यस्तोमा दार्जिलिङका इमान्दार र जिम्मेवार नेतृत्वले गर्नुपर्ने के त ?

कि त भाजपालाई सदनमा बिल ल्याउन दवाब दिनुपर्ने हो कि त त्रिपक्षीय वार्तामा देशभरिका स्टेकहोल्डर समावेश गर्नुपर्ने हो । यसको लागि रणनीतिक खेल चालु हुनुपर्ने हो । समयले भन्दैछ, ‘आवाज राष्ट्रीय बनाउ, नेतृत्वले आवाजलाई फेरि पनि खुम्च्याउँदैछ दार्जिलिङमा नै ।’

केन्द्र र राज्यको ‘ग्रान्ड डिजाइन’को भेउ नपाउनेहरू भ्यागुता नभएर के हुन्छन् त ?

यतिखेर नै राज्य र ‘केन्द्रको इन्टेलेजेन्सिया’हरू सक्रिय छन् । कि त राज्यको पक्षमा कि केन्द्रको पक्षमा दुनो सोझ्याइरहेका छन् । कोही पनि बङ्गालदेखि माथि उक्लेर जाने विचारमा नै छैनन् ।

छुट्टै राज्यको लागि दार्जिलिङ केवल ‘एक स्टेकहोल्डर’ हो, बाँकी स्टेकहोल्डर त बङ्गालबाहिरकै गोर्खा बाहुल क्षेत्रहरू हुन् । यी क्षेत्रका गोर्खा नेतृत्व र बौद्धिकहरू हुन् ।  उनीहरूलाई गोलबद्ध गर्ने प्रयत्न शुन्य छ ।

आन्दोलनले जन्माएका नवढनाढ्य नेतृत्व आफ्नै मलामीमा डिस्को नाचिरहेका छन् र आफ्नै रगतको चिया पिइरहेका छन् ।

दुइवटा आन्दोलन सत्ता-शक्तिमुनि परेर सम्झौतामा गइसकेपछिका प्रभावहरू हरेक नेतृत्वको अनुहारमा छ । संयुक्तरुपले लड्ने क्षमता छैन, त्यसैले दार्जिलिङमा मात्र एकअर्कासित १५ वटा भन्दा धेर राजनैतिक दलहरू लडिरहेका छन् । अब त्रिपक्षीय वार्तामा सम्झौता भइसकेको मुद्दामा तृणमूल र भाजपाले राजनीति गर्नेछ, दार्जिलिङका जम्मै दल त्यसैको सिकार बन्नेछन् ।

राजु, दार्जिलिङ बाहिरबाट देखेकोजस्तो छैन, दार्जिलिङको भविष्य अँध्यारो छ ।

भारतीय नेपाली पहिचानकै कुरामा, ‘ग्लोबल क्यानभास’ मा गोर्खाल्याण्डको मुद्दाकहाँ निर छ ? काश्मिर ग्लोबल मुद्दा बन्दा गोर्खाल्याण्डले त्यो स्थान किन पाउन सकेन ? नेपाली भाषामा मात्रै बोल्दा नसुनिएको (नपुगेको) पो हो कि?  कला-साहित्यमार्फत यतातर्फ कत्तिको काम भइरहेको छ ?

ग्लोबल क्यान्भसमा कहीँ पनि छैन र त दार्जिलिङ र भारतका गोर्खाहरूले दु:ख पाएका हुन् नि । कश्मीरले देशको मूलधारको राजनीतिमा ठूलो दखल राख्छ । कश्मीर अन्तराष्ट्रीय चासोको विषय बन्छ किन भने कश्मीरमा द्वन्द्वका अनेकौं रङ छन् । यहाँका द्वन्द्वका, मुद्दाका अनेकौं आयाम छन् । कश्मीरलाई पाकिस्तानले पनि उचाल्छ, भारतले पनि उचाल्छ, पाकिस्तान र भारतलाई उचाल्ने महाशक्तिले पनि कश्मिर उचाल्छ । कला, साहित्यमार्फत कश्मीर अन्तराष्ट्रीयस्तरमा डिस्कोर्स बन्छ । सैयौं भाषा र बोलीहरूमा कश्मीर टेबलगफ बन्छ । तर गोर्खाल्याण्ड ?

गोर्खाल्याण्डको मुद्दा देशभरिकै गोर्खाहरूले त समात्न सकेका छैनन्, राष्ट्रले कहिले समात्ला र ? अन्तराष्ट्रीय बहस त सपनाको कुरा ।

कश्मीरको धारा ३७० हटाएर भाजपा सरकारले कश्मीरलाई समेत अरु राज्यजस्तै सामान्य राज्यमा रुपान्तर गरिसकेको स्थितिमा गोर्खाल्याण्डको मुद्दालाई पिपिएसमा झारेर बङ्गालभित्रै राख्नु कुन ठूलो कुरा होला र ।

राजनैतिकरुपले ग्लोबल नबने पनि औध्यौगिकरुपले दार्जिलिङ (गोर्खाल्याण्ड राज्य प्रस्तावित क्षेत्र) ग्लोबल त छ, चियाको अन्तराष्ट्रीय मूल्य छ ।

तर,

चिया श्रमिकहरूले ‘मिनिमम वेजेज’समेत पाएका छैनन् । यहाँको कलासाहित्यले यसलाई सम्बोधन गर्नुपर्छ भन्ने हेक्का नै राख्दैन राजु । यहाँ दलीय द्वन्द्व, नेताहरूप्रतिको आक्रोस, राजनैतिक विचलनसमेत सही ढङ्गले साहित्यमा आउँदैन, दार्जिलिङको खास अनुहार र त्यसमाथि हुने राष्ट्रीय चलखेल, सत्ताले गिजोलेको घाउ, पहिचानको सवाल, सांस्कृतिक, भाषिक दोहनहरू कहिले पस्ने हो, हो साहित्यमा ।

गोर्खाल्याण्ड ग्लोबल गर्ने रत्तिभर काम भएको छैन ।

भाइले गोर्खाल्याण्डबारे लेखिएको भनेर प्रचार गरेका ‘दुइचार पपुलर फिक्सन र पपुलर ननफिक्सन’ पढ्नु भो भने दुर्गति थाहा पाइहाल्नुहुन्छ ।

अगमसिंह र राजा महेन्द्रको कुरा गर्न मन लाग्यो । दुवै लेख्थे, अनुहार पनि मिल्थ्यो भनिन्छ । तर, महेन्द्रको अगाडि गिरिको ‘कद’ होचो थियो, बनाइयो । यो प्रश्न सोध्दा यताकाले मलाई खेद्लान तर ‘दार्जलिङ, दार्जलिङ’ भनेर नेपाल आइडल, कमेडी च्याम्पियनदेखि ‘आभा काव्य लहर’सम्म उफ्रिनेहरूले दार्जलिङलाई कस्तो बिहेभ गरिरहेका छन्  ? ‘अगमसिंह र महेन्द्र’को बिम्ब थोरै तल झुकेको छ कि अझ बढ्दै गएको छ ? भाषागत समानताको नाममा नेपालले ‘गोर्खाल्याण्ड’माथि सहानुभूति या दयाको न्यारेटिभ देखाइरहेको त होइन ? उताका यहाँ आएर कला-साहित्यमा ‘भारतीय नेपाली राष्ट्रवाद’ पनि देखाइरहेका छन् । यी सब कुरालाई कसरी हेर्नुहुन्छ ? मेरो प्रश्न अपुरो रह्यो भने पुरा गर्ने जम्मा तपाइँलाई सुम्पिएँ ।

सबैभन्दा जटिल प्रश्न भनेकै यही त हो, भारतले महेन्द्र र अगमको अनुहार एउटै एउटै देख्नु । तर बङ्गलादेशकी खालिदा जिया र पश्चिम बङ्गालकी ममता व्यानर्जीको अनुहार भने भारतले (मेनसट्रिम) एउटै एउटै देख्दैन । 

म बेलाबखत सम्झिन्छु, नेपालले गुमेको भूभाग फर्काइलगेको भए ?

अब लाँदैन पनि त होला । पहिले जो हामी बसेको भूभाग नेपालको थियो, त्यो त भारतको भइसक्यो । भूभाग भारतको भयो भने यहाँ बस्ने नेपाली भाषी पनि त भारतको मूलधारमा देखापर्नु पऱ्यो नि । भारतमा गोर्खाहरूले आफ्नो पहिचान र अवस्थान खोज्नु भनेकै राजनैतिक कर्म हो, राजनीतिको चाँही सिमा हुन्छ । साहित्य, भाषाको त हुँदैन ।

राजनीतिको सीमा हुने हुनाले र नेपालसित छुट्टै राज्य गोर्खाल्याण्डको प्रस्तावित क्षेत्रको इतिहास जोडिएको हुनाले भाषागत समानताको नाममा नेपालले हाम्रो मुद्दामा ‘सहानुभूति’ देखाउने बित्तिकै हामीमाथि देशले ‘शङ्का’ गर्दिन्छ । त्यसै पनि ‘विदेशी’ को लाञ्छना लगाइन्छ ।

इतिहासको ह्याङओभरबाट मुक्त बन्न नसकेका अगमसिंह गिरीले ‘नौलाखे तारा’मा ‘माटोको माया बिर्सेर यहाँ किन पो आयौ नी’ भनिराखेपछि, हरिभक्त कटुवालले ‘प्रवासी’को पुच्छर झुण्डाइदिएपछि, इन्द्रबहादुर राईले आज रमिता छ मा ‘हामी त मुङ्गलान पस्यौं पस्यौं, पशूप्राणीहरू चाँही किन पस्नु ?’ भनिराखेपछि, अनि देउराली रुन्छमा मुट्ठीमा नेपालकै माटो मुठ्याएपछि त्यसै पनि देशले शङ्का गरिरहेको बेला ‘नेपालको सहनुभूति’लाई सरकारहरूले कुन अर्थले हेर्ला त भाइ ? र कस्तो  ‘विहेभ’ गर्ला ?

भाषा, संस्कृति, जातले एकै छौं, भूगोल र राजनीतिले फरक छौं । यो फरक हामीले पनि छुट्याउनैपर्छ । भाइहरूले पनि छुट्याउनैपर्छ । जे जेले जोडिराख्नुपर्ने हो, त्यो त्योले त जोडिराखेकै छौं । जोडिन नसक्ने कुराहरू पनि छन्, त्यसैले त भारतमा गोर्खाहरूले छुट्टै राज्यको दाबी गरिरहेका छन् ।

हामी ‘सीमा’हरूबारे अब जान्ने भइसक्यौं होला नि है, राजु भाई ?

समाज पछाडि त जाँदैन । आफूले खोजेको लिडर उसले जन्माउँछ नै । तर, यता (नेपाल) को सिनारियो हेर्दा ‘खै ?’ भन्ने पनि लाग्छ । साह्रो उदासिन पनि छु । त्यताको ‘सिनारियो’ हेर्दा तपाईंलाई के लाग्छ भन्ने कुरा नि ? ‘गोर्खाल्याण्डको मुद्धा कि त बेचौं, कि त बँचाऔँ’ भन्दै हुनुहुन्छ । ‘पहाडको राजनीतिक भाषणको मुहान’ यतिबेला कुन दिशातर्फ मोडिएको हो ? पहाडले कस्तो एक्येबद्धता र रणनीति मागिरहेको छ ?

‘टोरेन्डो फिस’ भन्ने माछा हुँदारहेछन् । साना साना । समुद्रमा ती साना माछाहरू उनीहरूभन्दा ठूला जीवको शिकार त हुने नै हो । तर यसो भएपछि उनीहरूले बुझेछन्, हामी सानासाना एक्लाएक्लै भयौं भने त ठूला माछाले खान्छन् । तर सानासाना सब साथमा भयौं भने त त्यसरी खाइहाल्ने आँट त नगर्लान् । त्यसपछि टोरेन्डोजस्तो ठूलो समूह बनेर घुम्दारहेछन् । नेपाल होस् र दार्जिलिङले टेरोन्डो फिसबाट केही केही कुरा त सिक्नुपर्छ कि जस्तो लाग्छ ।

नेतृत्व असक्षम भयो भने उसले समाजलाई पनि त्यतैतिर लैजान्छ । देशलाई पनि त्यतैतिर लैजान्छ ।

दार्जिलिङको ‘बिगब्रदर’ दुइवटा छ- दिल्ली र कोलकाता । नेपालको ‘बिगब्रदर’ कतिवटा छ थाहा छैन । ठूला शक्तिले साना शक्तिलाई दबाउने नै हो । तर दब्न मात्र नियति हुँदैन । दब्नबाट बाँच्ने त रणनीति नै हो ।

नेपाल पनि अहिले फ्याट्ट नेपाल भएको होइन केरे, यो उहिल्यैदेखि थियो । दार्जिलिङ पनि अहिले फ्याट्ट दार्जिलिङ भएको होइन, यो पनि उहिल्यैदेखि थियो । भनेपछि युगौंदेखि हामीसित ‘अनुभवहरूको इतिहास’ छ । इतिहासले अर्को इतिहासको लागि स्पेस दिइराख्छ । त्यो स्पेसलाई कसरी प्रयोग गर्ने, त्यो जान्ने नेतृत्व हुनु पऱ्यो ।

दार्जिलिङले राष्ट्रीय एक्यवद्धता र रणनीति मागिरहेको छ । तर त्यो ‘स्पेस’ चिन्ने नेतृत्वको अभाव छ ।

स्थानीय चिया पसलमा छिरेर चिया खान मन लाग्छ । ४/५ दिनदेखि डढेको चियापतिको स्वाद मनपर्ने, दुई चार कप नै खाएर निस्किन्छु । ‘च्या खादा देश हाक्ने कुरा गर्छन् । घर पुगेर खा’को थाल नि माझ्दैनन्’ साहुनीहरू भनिरहेका हुन्छन् । पपुलर टपिकहरू (नारीवाद, दलित, सीमान्तकृत, आतंकवाद, रोबर्ट-एआई)बारे टेबलटक्सहरू त भएको भयै छ नि दाइ । तर, यी बहसहरूले ‘थाल माझिरहेका छैनन् कि जस्तो लाग्ने के ।’ तपाइँ कत्तिको चिया खानुहुन्छ दाइ? हेहे..

कवि राजा पुनियानीले कविताको किताब छाप्दैछ । किताबको नाम छ- औजार । सोच्छु, राजा पनि कसैको ‘औजार’ नै हो । एउटा औजारले औजारको बारेमा अरु औजारको लागि कविता लेखिरहेको समयमा रहेछु म ।

राजु भाइ, तपाईँ पनि त कसैको औजार (टुल्स) हुनुहोला । हामी कसै न कसैका टुल्स त जरुर हौं । यो दुनियाँ यति रहस्यमय छ कि कसले कतिबेला कुन उपदेयताको लागि आफूलाई औजार बनाइसकेको छ भन्ने कुराको हेक्का पाइन्न । यो जुन अदृश्य शक्ति छ, त्यसले हाम्रो जीवनको डिजाइन गरिरहेको छ । हरेकको जीवन भनेको त उसैको लागि ‘पाठ’ हो । हरेकले त्यो ‘पाठ’ छिचोलेर निकालेका अर्थ, चेतना र बोधहरू साटासाट गरिएन भने त हामी जड भइहालौंला । त्यसैले टेबलगफ अनिवार्य छ । थाल माझ्ने-नमाझ्ने त दृष्टिको कुरा न हो ।

हिजोले आज बनाउँछ । तर, हिजोले आज बनाउन समय लाग्छ । यो बीचको ‘ग्याप’ देखिँदैन । ग्यापै नदेखेपछि थाल माझेको कसरी देख्ने ?

म सोच्छु, यो जाडोमा नेपालको नारायण ढकाल सिरकभित्र घुश्रिएर चिमामाण्डा अधिची पढिरहेका होलान् । सरिता तिवारी सिमोन बोउवा पढिरहेका होलान् । दार्जिलिङकी रेमिका थापा झारखण्डकी जेसिन्ता केरकेट्टा, कवि लेखनाथ छेत्री अनिल यादवहरू पढिरहेका होलान् । भोजपुरका राजेन मुकारुङ नामदेव ढसाल सुम्सुम्याइरहेका होलान् ।  के पाउँदा हुन् उनीहरूले त्यसरी फरक भूमि, फरक इतिहास, फरक संस्कृति, फरक भाषा पढेर ?

हिजो लेखनाथ छेत्री र म फोन छेउमा राखेर डा. हर्कबहादुर छेत्रीबारे कुरा गरिरहेका थियौं । कुरा सकेर फेसबुक खोल्यौं, जताततै हर्कबहादुरै हर्कबहादुर । फोनले कसरी थाहा पायो हाम्रो चासो ?

भाइसित चिया खान पाइएको भए हेर्नुस्, त टेबलमा राख्नुपर्ने कुराहरू कति ताँती रहेछ!

म पनि दार्जिलिङको चिया खाँदै, अहिले यो लेखिरहेको छु ।

म चिया खाइरहेछु कि ‘मिनिमम् वेजेज’ नपाएर विश्वस्तरमा ठगिइरहेका ती श्रमिकहरूको खुन ?

भाइ के भन्नुहुन्छ ?

म सक्छु अब । कविहरू दु:ख बेसाइरहेका छन् भन्ने कुरामा, कविहरू दु:ख लेखेर कहिल्यै थाक्ने चाहिँ भएनन् । अहम कत्रो नि ? दु:ख खोज्दै हिड्ने पनि उही, फेरी दु:ख भो नि भनिरहने पनि उही । अझ, रमाइलो कुरा के भने, ‘कोही कवि आउँछ र दु:ख सुनाउला भनेर जनता हामीलाई पर्खीबसेका छन्’ भन्ने उदघोष नि गरिराछन् । कविहरूको काम दु:ख खोज्दै हिडीरहने मात्रै हो कि दु:खबाट छुटकारा सम्भव छ भनेर देखाउने पनि हो ? आजभोली त कविता पढ्न नै मन लाग्दैन हो दाइ । अलि ठाडो स्वर गर्यो भने भन्छन्, ‘भात त खानु पर्यो नि ।’ तपाइँको के छ दाइ ? तपाइँ कसरी भात खाइरहनु भएको छ ?

पल्लव सिङ्घक दार्जिलिङका कवि पनि हो, फिल्मवाला पनि हो । ऊ सोध्छ, संसारमा सबैले केही न केही बेचिरहेकै छन् । कसले के बेच्यो त्यो बेच्नेहरूलाई नै थाहा होला, तपाईं के बेचिरहनु भएको छ ?

त्यो प्रश्न सोधेदेखि अहिलेसम्म म सोचिरहेको छु, म के बेचिरहेको छु ? ठ्याक्कै उत्तर पाइएन ।

मैले तिम्री भाउजुलाई सोधें, ‘औ भक्ति म के बेचिरहेको छु ?’

भक्तिले भनिन्, ‘तपाईँले तपाईँलाई नै बेचिरहनु भएको छ ।’

सरोकारका दुइचार कुरा युट्युबबाट सुनाउँछु, त्यहाँबाट पैसा आउँछ ।

मैले युट्युबबाट आफैलाई बेचिरहेको छु ?

म केही न केही विचार गरिरहन्छु । के म विचार बेचिरहेको छु ?

६ वटा कविताको किताब निकालें । के म कविता बेचिरहेको छु ?

कथाको किताब पनि निकालें, म कथा बेचिरहेको छु ?

सायद, म आफैलाई बेचेर भात खाइरहेको छु राजु । मलाई बेचेर क-कसले भात खाइरहेछ, त्यसको चाँही मलाई पटक्कै ज्ञान छैन । गाब्रियल गार्सिया मार्खेजलाई अमेरिकाले अमेरिका प्रवेश निषेध गऱ्यो । थाहा छ राजु भाई ? गार्सिया बित्ने बित्तिकै उसका किताबहरूको ‘राइट्स’ अमेरिकाले नै किन्यो ।

यो खरिदबिक्रीको पछिल्तिर ‘भात’ मात्र हुन्छ  र ? यस्तो झुर प्रश्न के गरिराको राजुले पनि ।

एक-दुई प्रश्नले ट्रिगर गरिहाल्यो । सोधौ है ? तपाइँलाई ‘ट्याबलेट कवि’ भन्दा रछन् । आभा काव्य लहरमा ‘काफरे अमेरिका’ सुनाइरहँदा एउटाले कुनाबाट च्वास्स बोलेको सुनेको नि, सर्वनाममा । हेहे।।

दार्जिलिङका एकजना कम्युनिष्ट नेता हुनुहुन्छ- उनको दलले भारतीय जनता पार्टीसित गठबन्धन गरेको छ- फोन नै बोक्दैनन् । चलाउन नजानेर नबोकेका होइनन् । अफिसमा चाँही फोन छ । बस, गोजीमा बोक्दैनन् ।

म पत्रकार, उनीसित कुनै विषयबारे प्रश्न गर्न पऱ्यो भने घरि छोराकोमा, घरि स्वास्नीकोमा, घरि उनका निकटका नेताकोमा फोन गर्नुपर्छ । मुस्किलले मात्र कुरा हुन्छ । यो जमानामा कति काइदाका कम्युनिष्ट नेतारु एक्सेस नै नहुने ।

मलाई कम्युनिकेसनमा सहज बनाउने सबै उपकरण प्रिय लाग्छ । भन्नेले जेसुकै भनुन् के फरक पर्छ र ?

मैले सर्वनामको त्यो कुनामा च्वास्स बोलेको सुनेको भए, सोध्ने थें- काफरे अमेरिका कविता चाँही बुझ्यौ कि बुझेनौ ?

‘कल्चर अफ साइलेन्स’को बारेमा तपाइँ र राजा दाइको गफ सुनेको थिएँ । ‘नबोल्ने, नसुन्ने, नपढ्ने, नभन्ने कल्चर’मा यति कुरा गरियो दाइ ।….छोडौँ दाइ, प्रश्न के थियो नै बिर्सिएँ यार । तपाइको कुनै प्रश्न छ र ? नत्र त मैले आजलाई सक्देको है ।

यसो गरौं, म अब एउटा कविता सुनाउँछु ।

मौनताबारे उनीहरू हल्ला गर्छन्
किनभने
हरेक मौनतासित डराउँछन् उनीहरू
उनीहरू, जो हल्लामा विश्वास गर्छन् ।

मलाई थाहा छ, चुपचाप बस्नु सबैभन्दा कुरूप बानी हो
चुपचाप बसेको हरेक दिन मर्छ एउटा विद्रोही हल्ला

 मलाई थाहा छ ।

 तर उनीहरूलाई थाहा छैन
विचार गर्भवती हुँदा
समय मौन हुन्छ ।

प्रस्तुत छ, मनोज बोगटीका तीन कविताहरू:

१. समाचारको शिर्षक छैन

अलैंचीको बोटमा ल्यापल्याप टॉंस्सिन्छ

बाजेको

सड़िएको सपनाको छाला।

छालारङ सर्छ दानातिर

फूलको सुगन्ध

गाउँले थाहा पाउँदैन

शहरले थाहा पाउँछ।

अलैंची टिप्ने हातमा, औंलामा लागेको काया पखाल्ने

साबुन बनाउँछ रामदेव साहु।र चड्छ पहाड़ एकवर्षदेखि थुप्रिएको राल।

हातभरि अलैंचीको दाना

पेटभरि कोदो

र संसारभरि त्यसको मूल्य केवल लुट।

अलैंची फुल्यो कि

सुरमानको पुरानो डायविटिज चल्मलाउँछ।

कमाण्डरको हुटमा बसेर डाक्टर देखाउनु गएको उसको विश्वास

नीलो अनुहार पारेर फर्किन्छ।

उसिनेको सुप पिउँदा त्यो कति कालो भइसकेको हुन्छ।

घरभित्ताको ध्वॉंसोलाई थाहा होला।

अलैंची फल्यो कि

दोकानको रातो खाताले हल्ला गर्छ र सातो लान्छ

जसबहादुर गुरूङको पौरखी नौनारीको।

धोती समातेर घरै आइपुग्ने

मुरलीधरलाई थाहा छ

कति चोटमा ढल्छ

अख्रॉंट चिलाउनेको रूख।

अलैंची टिप्यो कि हरहर्ती तिर्खा लाग्छ महाबीर भैयालाई।र छाम्छ शेर्पेनीको गाग्रोको कम्मर

र देखाउँछ झण्डु वाम

जहॉं दुखेको हो त्यी दल्न सिक्छे गुरूङनी

र बद्नाम हुन्छे सुब्बेनी।

बोराकोबोरा खप्परहरू भरेर फर्किन्छ ट्रक

बस्तीको खाल्डाखाल्डीमा हल्लिँदै।

अलैंचाको दाम यसपाली पनि खस्कियो

बस्तीको पेटपेटमा।

त्यो पाखा कति रात्तै

होइन कति रित्तै

त्यसपछि पो आउँछ दशैं।

म हेर्दैछुत्यही विल्डिङनेर थियो

बाजेको घर

जहॉं अहिले रमेश अग्रवालको राशिन दोकान छ।

र त्यही पाखा हो हाम्रो अलैंचीबारी

जहॉं पस्नअघि पढ्नुपर्छ-

भित्र पस्नु मनाही छ।

म अहिले शहरमा उनीहरूकै समाचार लेख्दैछु।

समाचारको शिर्षक छैन। अहिले।


२. इतिहास

जतै खने पनि पुर्खाकै हड्डी निस्कन्छ।

यो दॉंत हो

यसले युग चपाएको छ।

समय चपाएको छ र धुलो बनाएर घरको भित्ता टालेको छ।

‘यो नलीहड्डी

अशान्ति हुँदा यो फुकेर शान्ति ल्याउँछ गाउँको लामा।

यो बज्दैगर्दा जुलूस आउँछ नगरमा

जिन्दाबाद भन्छ

मुर्दावाद भन्छ।

समयको टाउको रेटिएको खबर आउँछ भोलिपल्ट

खबरकागजमा।

यो चॉंही मेरुदण्ड।

बॉंसको मेरुदण्ड लगाएका तिनका सन्तानको दन्तेकथा।

यो कुन हड्डी हो कुन्नी

ठ्वाक्क भॉंच्चिएको छ।

कुनै कुटनीतिको खोपिल्टामा परेर भॉंच्चिएको होला।

यो खोपडी

खुकुरीको दाग बोकेर गाडिएको रहेछ।

इतिहास केलाउनु भन्छन्‌ बुद्धिजीवीहरू

आँगन खनेको आफ्नै सालनाल निस्कियो।

खन्नु नजान्ने कृषक परें कि म ?


३. काफरे अमेरिका

डराउँछ अमेरिका।

बॉंसघारीमा लागेको आगोदेखि डराउँछ

कुनै उत्सवमा आकाश च्यात्दै पड्किने रकेट पटेकादेखि डराउँछ।

एक बटुको अँध्यारोदेखि डराउँछ अमेरिका।

जब मजदूरको टिपिन खोेलिन्छ र निस्किन्छ डड़ेको रोटी

अमेरिकाको सातो जान्छ।

रोटीको रङ किन कालोरु

रोटीको आकार किन गोलो ?

सोध्छ अमेरिका

सोधेर हैरान पार्छ अमेरिका।

नानीहरू स्कूल जान अघि व्याग खोतल्छ

हरेक पन्ना पल्टाउछ र उसले सिक्दै गरेको बाङ्गो वर्णलाई घोत्लिएर हेर्छ

क्याफेबाट जब निस्किन्छ युवक स्वास्नीलाई ईमेल गरेर

उसको भाषाको पछि लाग्छ गुप्तचर

‘के लेख्यो त्यसले ?’

सोध्छ अमेरिका।

कतै जोरले कुकुर भुक्यो भने सुत्न सक्तैन अमेरिका

कतै सुनसान भयो भने सुत्न सक्दैन अमेरिका

डराउँछ अमेरिका।

जब अमेरिका डराउँछ विचारमाथि नागरानी शुरु हुन्छ

गीतको पछि लाग्छ

कविताको भाषा केलाउँछ र निकाल्छ अर्थ र घन्टौं घोरिन्छ।

जब अमेरिका डराउँछ कुनै पनि घरको शान्ति हराउँछ

जब अमेरिका डराउँछ अँध्यारोमा चल्ने हावा संदिग्ध बन्छ

जब अमेरिका डराउँछ आफ्नै छोरीको भित्री लुगा छाम्छ

अगेनोमा आगो कराउन थाल्यो भने अमेरिकाको दिमाग सल्किन्छ

आँगनमा घाम विस्तारै हिँड्यो भने अमेरिकालाई लुगा बिझाउँछ

ठूलोस्वरमा कतै नानी रोयो भने अमेरिका गोजी छाम्छ

ठीक ठाउँमा छ कि छैन पिस्तोल ?

चित्रकारको क्यानवसमा किन रातो रङ धेर छ ?

कविले कविता वाचन गर्दा किन मुट्ठी उठाउँछ ?

गायकको सङ्गीतमा किन कर्कशता धेर छ ?

स्वास्नीको क्लिपमा क्यामेराजस्तो के हो त्यो ?

छोरीको बोइफ्रेन्डले बोक्ने लाइटरमा किन कम्पनीको नाम छैन ?

डराउँछ अमेरिका।

जब अमेरिका डराउँछ पृथ्वीको छाया हराउँछ।

काफरे अमेरिका

दिमागदेखि डराउँछ

मर्नदेखि डराउँछ

कि बॉंच्नदेखि डराउँछ ?

डराउँछ अमेरिका।

(पुस २८, २०७८ बुधबार, द मार्जिनमा प्रकाशित)

Leave a Reply