‘शैनशाह-ए- ठूलो-फोन’ भर्सेस छोटे-शैनशाह (बाल्यकालीन संस्मरण, मोबाइलबारे)

You are currently viewing ‘शैनशाह-ए- ठूलो-फोन’ भर्सेस छोटे-शैनशाह (बाल्यकालीन संस्मरण, मोबाइलबारे)

मेसेन्जरको रिङ बजिरहेछ- ‘पुट्या….पुट्या..पुट्या..ट्वाङ्ग.., पुट्या….पुट्या..पुट्या..ट्वाङ्ङ.. ।’ मलाई यो रिङ कत्ति पनि मन पर्दैन । एक गेडो, एक चिम्टी, एकरत्त्ति पनि मन पर्दैन । मन पर्दैन भनेर भा’छ र ? काम सबै यहिबाट गर्नुपर्छ । दैनन्दिनको एक सरो हिस्सा यसैबाट सञ्चालित छ । काम विशेषले मैले फेसबुक र मेसेन्जरलाई ‘बाइ..बाइ’ गर्न विगत ५/६ वर्षदेखि एकछिन, एक दिन पनि सकिनँ । धेरै प्रयास गरेँ, धेरै तौर-तरिका अपनाएँ तर हातमा लाग्यो शून्य- जीरो ।

शनिबारीय अंकका लागि कसैसँग कथा माग्नुपर्‍यो, कसैसँग आर्टिकल माग्नुपर्‍यो- यही रिङ बज्छ, बजाउनुपर्छ ।  कसैसँग कविताका कुरा गर्नुपर्‍यो, कतै कसैलाई कुनै समारोहमा निम्तो दिनुपर्‍यो (कहिलेकाहीँ आफूले पनि पाउनुपर्‍यो)..यही रिङ प्रवेश बिन्दु हुन्छ । आफ्नाहरूसँग कुरा गर्दा, भिडियोच्याटको रूपमा यही प्रयोग हुन्छ ।  भनौँ न, मेसेन्जरबाटै मेरो आधाउधी काम फत्ते हुन्छ । मेसेन्जरकै रिङ सरह भाइबर, टिकटक र क्लब हाउसको नोटीफिकेसन साउण्डले ल्यांगल्यांग गरिराख्छ । बेसी चाहिँ मेसेन्जरकै रिङ हो । यसले चाहिँ मलाई चुरचुर नै पार्दिराख्छ । ठिस..ठिस..महाठिस नै बनाइदिराख्छ ।

मोबाइलमा चाहिँ म रिंगटन चेन्ज गरिराख्छु । कहिले गुलजारका गजल, कहिले हरिहरणका भजन । कहिले कागको का..का, कहिले स्यालको हुइया..हुइया । कहिले तिब्बतियन च्यान्ट त कहिले टर्किस फ्ल्युट । कहिलेकाहीँ चाहिँ अति बोर हुन्थे र दुर्गेश थापालाई ‘बीच बीच..’ गाउन दिन्छु । कहिलेकसो भिटेन ‘सहि हो. सहि सहि हो’ गरिरा’हुन्छन् । फेरि कहिले चाहिँ, पवन गोले, वार्तिका एम राय, लुइस आर्मेस्ट्रोङ, डीयन मार्टिन र दिवस गुरुङ । ‘म त त्यस्तो होइन हजूर पिरतीले जोगी बनायो’ बोलको लेकाली समूहको गीत पनि महिनौँ राखे । अनी छोइङको ‘बटुवा हु म, बटुवा’ले पनि लामै अन्तराल मेरो मोबाइलको रिंगटोन बनेर बस्ने सौभाग्य पायो ।

तर जे-जति कुरा गरे पनि, जत्तिकै उम्दा गीतहरू राखे पनि मोबाइल तारन्तार बजिरहँदा झिँझो लाग्छ, लाग्छ । म्यासेन्जरमा कल आइरहँदा दिक्क लाग्छ, लाग्छ । टिभीमा आफ्ना प्रिय आरजे, भिजेका आवाज सुन्दा पनि रिङटा छुटीराख्छ । क्लबहाउस तिर कराइराख्ने स्याल-फाउराहरू (म पनि एक हूँ) लाई सुनेर पनि वान्तै छुट्छ ।.. भनौं न, प्रविधिको चंगुलदेखि जसरी हो फुत्की भागौं जस्तो मात्रै हुन्छ । बरू अक्टोपासलाई औलो चुसाएर बस्छु, पेन्गुइनसँग डान्स सिकेर बस्छु..तर यो नाथे मोबाइल, कम्युटर, बत्ति र गाडीका आवाजदेखि दूर..दूर कहिँ भाग्न चाहन्छु । बरू आइल्याण्डीक चिकेन तारेर खान्छु, अफ्रिकन सोमब्यला उसिनेर पिउँछु तर मोबाइल टावर र सञ्चार नेटवर्कको सम्पर्कमा कुनै पनि हालतमा रहन्न ।

मन न हो, मन लाग्छ । र, वास्तविकता खुट्टो गाडेर बसिरहेकै छ । यति बेला मैले गर्न सक्ने भनेको  फोन अफ हो, नभए  रिंगटन चेन्ज हो । बरू यतै लाग्छु, आइल्याण्डीक चिकेन कुनै दिन जरुर तारौँला । पेन्गुइनसँग डान्स सिक्न कुनै दिन अन्टार्टिका जरुर झरौँला ।

तपाईंलाई यो पनि मन पर्न सक्छ

एक अलिखित आख्यान : काैशिला दिदी – गगन याेक्पाङ्देन

 साउन ६, २०७८

चिखता है – राजु झल्लु प्रसाद

 असार ३१, २०७८

सन्ध्या आचार्य

सन्ध्या आचार्यका दुई लघुकथा

 असार ३१, २०७८

‘सवा कट्टु पौने पोँइठ’ – राजु झल्लु प्रसाद

 असार २९, २०७८

केही पहिलेसम्म मलाई थाहा थिएन कि मेसेन्जरको रिंगटोन चेन्ज गर्न पनि मिल्छ । त्यसअघि सम्म म ‘पुट्या… .पुट्या.. पुट्या..ट्वाङ्ग.., पुट्या….पुट्या..पुट्या..ट्वाङ्ग..’ आतंकबाट शिथिल भइसकेको थिएँ । यो आवाज सुन्यो कि मस्तिष्कमा टुटुल्को मात्रै उठ्दिराख्थ्यो । कन्पारो तात्दिराख्थ्यो । आँखाको माख्लो भाग दुख्दिराख्थ्यो । यसपछि हृदयले मुख फुलाउनु र ठुस्किनु स्वभावतः व्यावहारिक नै हो, यो सब होइराख्थ्यो ।..यो सिलसिला विगतकालीन दिनहरूको लामो शृंखलादेखि चलिआएको छ, चलिरहेको छ । …

अहिले लेखिरहँदा पनि मेसेन्जर मेसेन्जरको रिङटोन बज्दीराछ । यसले हैरान-ए-परिसान नै बनाएर छाड्छ । वाईफाइ अफ गर्ने, मोबाइल बन्द गर्ने र चुपचाप लेख्ने विकल्प मसँग छ, तर कामले सदैव अनलाइन बसिराख्न माग गर्दछ । भन्नुस् न, अफलाइन भएर लेख्न सकिरहेकै छैन, बाँच्नै नसकिने स्थितिमा आइपुगेको छु ।

यतिखेर मेरो मेसेन्जरको रिङ टोनमा ‘डग बार्क’ अर्थात् ‘कुकुर भुकाइ’को आवाज छ- ‘भ्वाङ..भ्वाङ’ वाला । जोसुकैको म्यासेज आओस- कुकुर भुक्छ, बुक्छ । हाकिम होओस् कि प्रेमिकाज्यू हुनुहोस् । दोस्त हुन् कि दुस्मन… । मेरो मोबाइलमा प्रथमत: उनीहरू भुक्छन् । त्यसपछि मात्रै भुकाइको शाब्दिक अर्थ पढ्ने गर्दछु अर्थात् म्यासेज पढ्ने हेर्ने गर्दछु । यसो गर्नुको खास्सा कारण केही पनि छैन, रमाइलो मात्रै हो । कुकुर भुकाइसँग मानिस प्राचिन समयदेखि जोडिएको छ । कुकुर र मानिस प्राचीनतम संगीसाथी हुन् । उनीहरूको नैतिकता र बफादारिता अनेकन् मिसायल कामयमुकायम छन् । र, कुकुर भुकाइ नै राख्नुको कारण चाहिँ, मेरो खाँचो परेर नै कसैले मलाई मेसेज, कल गरिरहेको हुन्छ । यसप्रकार म र मलाई मेसेज गर्नेहरू एकप्रकारको नैतिकता र बफादारिता निभाइरहेकै छौँ । ..तर कहिलेकाहीँ चाहिँ बढी नै हाँसो पनि उठ्छ, या यसरी त म सबलाई तथाकथित रुपमा कुकुर बनाउन लागिपरिरा’छु (कुकुर हुनु भनेको नराम्रो कदाचित् होइन) भने जस्तो पनि लाग्छ ।  हृदयले आफ्नो हो भनेको, आफ्नो ठानेको अनेकन् प्रियतम मानिसहरूको खबर  यसप्रकार कुकुरको आवाजमा आउँदा चाहिँ मन साह्रो दुख्ने पनि गर्दछ । कहिलेकाहीँ प्रेमिका ज्यूलाई ‘कुकुर भुकाइ’ को हालतमै छाडेर म घन्टौँ म्यासेज नगरिरहेको हुन्छु,..उहाँ दिन बिराई जस्तो भुकिरहनु पनि हुन्छ ।  थाहा पाउनुभयो भने उहाँको मन साह्रो दुख्दो हो । (अब यो छापिएपछि दुख्ने पक्का नै छ) ।

अब चाहिँ अत्ति भयो लागेर, भर्खरै रिंगटन चेन्ज गरेँ । कारण केही होइन, धेरै दिन भइसकेको थियो । कुकुर भुकाइ सुनेर पनि वाक्क-ए-दिक्क भइसकेको थिएँ । ‘पुट्या..पुट्या..पुट्या’ बाट ‘भ्वाङ.. भ्वाङ.. भ्वाङ..’सम्मको यस यात्रालाई यही बिर्सजन गर्दिऊँ लाग्यो, र भखरै गर्दिएँ पनि । अँ, रिंगटोन चेन्ज गरेँ । …सुसिला हालेको साउण्ड राखेँ ।..यो ठीक छ ।..अब  केही दिन यही रहोस्- ‘सुइयाँ..सुइयाँ.. ।’

अब कुरा निस्किहाल्यो । रिङटोनसँगको सबैभन्दा प्राचीन सम्झनालाई सम्झिल्याऊँ । तर.. वर्तमानदेखि अतीतको आँखीझ्याल नियाल्नु भनेको साह्रो झिँझकलाग्दो काम हो । भेटिए पो त ?..भेट्ने साँच्चै साह्रो गाह्रो । दाम्लो फुस्किएर कुदेको बाछोजस्तो कता-कता दगुरेको हो,..हो । भेट्न खोज्यो, समात्न खोज्यो..सक्ने होइन । माम्पाखा ! यो स्मरणशक्ति पनि यो मुसलधारे झरीमा छाता ओढेर कता रुझ्न मुन्टया छ कुन्नि ? यो स्याल..यसैगरी बेलामौका लापता होइदिन्छ । खबरखाबर नगरीकन कुन दुलोमा के खोज्न दौडिदिन्छ कुन्नि ? यता मेरो बिल्लीबाठ उठ्छ अनि ।..कहिलेकाहीँ त उसलाई (स्मरण शक्तिलाई) भेट्न, अँगाल्न ठूलै कस्ट व्यहोर्नुपर्छ । आ, जतासुकै जाओस्, जहिलेसुकै आओस् ।..  ऊ नआउन्जेल बरु गीत सुन्छु । तर कुन गीत सुनूँ ? मलाई झट्ट कुनै पनि गीत सम्झना भएन ।

उठेर बार्दलीमा गए । झरी दर्कीरहेकै छ । र, संयोग भन्नु कि के, आज असारको दिन । असारको पहिलो दिनदेखि नै झरी बेस्मारी झर्किरहेछ (होइन दर्कीरहेछ) ।  बार्दलीमै थिएँ, मोबाइलले सुसिला हाल्यो..नकचरो मोरो..एकादिउँसै लाइन मारिरा’छ । म्यासेज आएको रहेछ । संकल्प भाइको ।  भाइले एउटा गीत मेसेन्जरमै ठेलिदिएको रहेछ । मेरो गीत च्वाइससँग ऊ परिचित छ । तर उसलाई कुन कुत्कुतीले कुत्कुताएछ कुन्नि- एक्कासि रत्न दासको गीत ठेल्दिएछ । ठेल्दिएर दामी नै गर्‍यो । उसलाई साधुवाद छ ।

‘झम..झम.., झम झम पानी पर्‍यो असारको रात.. ।

बारीबाट बज्न लागे मकैको पात.. । झम..झम..’

रत्न दासले मुड यत्ति फ्रेस गरिदिए । अब  के गर्नु ? प्रफुल्लताको पालकीमा पलेटी मारेर बसेपछि कतैबाट पुतलीहरू आइपुगेर पैताला सुम्सुमाइदिए हुन्थ्यो नि जस्तो लाग्ने । त्यही,.. औँलो दिँदा डुँडुलो निल्ने प्रवृत्ति । मान्छे हुँ नि त, नाथे प्रवृति कहाँ जान्थ्यो र ?

अहिले चाहिँ दर्किरहेको झरीमा म ‘झम.. झम..’ भइरा’छु । म ‘झम..झम’ भएको देख्दो हो त संकल्प पनि खुसी नै हुन्थ्यो । खैर, ऊ आजभोली कोरोनाको लङ होलीडे मनाउन बुटवल झर्या छ । भन्दै थियो- ‘उता पनि बेस्मारी झरी परिरहेको छ ।’ ऊ सुरक्षित रहोस् र चाडै काठमाडौँ फिरोस् । त्यसपछि संकल्पमार्गमा पसेर दाजुभाइ चिया पिउनुपर्छ- कान्छा ।

हो, देशभर झरी दर्किरहेछ । अवस्था..दयनीय पनि छ । धेरै ठाउँबाट बाढी र पहिरोको खबर आइरहेको छ । त्यो भन्दा बेसी चाहिँ  टिकटकमा ‘मे पानी पानी हो गया..’ चलिराछ । यसको आतंक अर्कै छ..रिसउठ्दो ।.. खैर, जे सुकै होस्, म यतै फर्किन्छु । यसरी गइराखे भने म कता..कता..पुग्छु, मेसो पाउँदिनँ । उता..मेरो स्मरणशक्ति उसै पनि लापता छ । ऊ नआउन्जेल मलाई केही त गर्नु नै छ । मोबाइललाई चार्जिङ प्लगमा घुसाएर म फेरि पनि बार्दलीतिरै रुमल्लिरहन्छु ।

दिन त यसैउसै धुम्मिएकै छ । आकाश देखिएको छैन । एक सरो छ दृश्य । कुहिरोले दृश्य । नजिकैका घरहरू चाहिँ अलि प्रष्ट छन्, बाँकी सब कुरा कुहिरोमय छ । पारी.. पारीका मेरो ‘माइ डियर हिल कलाइम्बिङ डाँडा’हरू तुँवालोको बाक्लो तर चिसो सिरक ओढेर कुन्नि के गरिरहेछन् ..मेरो आँखाले भेउ पाउँदैन । एकछिन त्यसै बार्दलीमा उभिएर ‘झम..झम..’ भइराख्छु । झरीले ब्याकग्राउण्डमा ‘झर..झर..’को आवाज दिइरहेछ- ‘झम..झम..झर..झर,…झम..झर..झर, …झम..झर..झर.. ।’

एक्कासि पुन: सुसेली हालेको आवाज आइपुग्छ ।..ए ला,..कता कता पो पुगेछु । त्यो मेसेजले मलाई फेरि थुपथुपाउँदै बोलाएर थपक्क कुर्सीमा बसाइदिन्छ । सामुन्ने ल्यापटप छ, मोबाइल छ, पानीको गिलास र एस्ट्रे छ । मेरो आँखा मोबाइलतिर झर्छ । मोबाइलमा मेसेज आइपुगेको छ । कसको पो हो ? यति मजाको गुड मुडको गुडुल्काएर सत्यानाशै पार्दिने को होला  ? जो होला, म्यासेज हेरेसी थाहा होला ।

मेसेज रोशन तिमिल्सिना भाइको रहेछ ।  भाइको म्यासेज के थियो भन्नुपूर्व, अलिकति भूमिका बाँध्यौँ ।

बिहान मैले  टिकटकमा एउटा शेर पढेर राखेको थिएँ । शेर यसप्रकार थियो;

‘शहरमा जमिन भेटिएन, मोलभाउ पनि पाएनौँ- भन्थ्यौँ

आकाशमा बादलहरू देखिएका छन्, ठेकेदारी सुरु गर ।’

अत: रोशनको म्यासेज थियो कि, “दाइ हामी ‘हरू’ अलि बढी प्रयोग गर्छौ जस्तो लाग्यो कविता (गद्यकविता) मा । बादल‘हरू’, पानी‘हरू’ त अलि  गाह्रो भएन र शुद्धतामा ? आकाशमा ‘बादल’ देखिएको छ, ठिक हुँदैन र दाइ ?”

म्यासेज पढेपछि एकछिन त म खंग्रंग भएँ । कुरा शतप्रतिशत मनासिव थियो उसको । सोर्है आना सहि थियो । यसप्रकारको व्याकरिणीय अशुद्धता कतिपटक कति ठाउँमा गर्दै आएको हुँदो हु मैले ? मैले मात्रै होइन लेखनकर्ममा लागेका मेरा समवयस्क मित्रहरूले ?.. । म यी-यस्तै कुरा सोच्दै थिएँ, मोबाइलले फेरि सुसेली हाल्यो । म्यासेज फेरि पनि उसैको थियो । लेखेको थियो, ‘यी आँखाहरू लेख्छौँ, तर दाइ आँखा आफैँमा बहुबचन हो फेरि । यो चाहिँ सबैले ख्याल गर्नुपर्छ कि ?’

अन्तत: उसलाई यसबारे खोजबिन गर्नु आवश्यक रहेको भन्ने म्यासेज गरेर म फेरि यही आइपुगेँ । आई त पुगे तर अब के गर्ने हो मेसो नै पाइनँ । के लेख्न बसेको थिएँ, कताकता पुगेँ..मेलोमेसो केही भेटिन । ..एकफेरि सरर लेखिएको जत्ति पढेँ- माथिदेखि तलैसम्म ।

कुरा, मेरो स्मरण शक्तिको प्रतीक्षाको रहेछ । छाता बोकेर डुलिहिड्याँ ऊ कता पुग्यो होला भन्ने रहेछ । त्योभन्दा पनि मुख्य कुरा चाहिँ, मेसेन्जरको रिङ मलाई झिँझक लाग्छ भन्ने रहेछ । ..यार, के लेख्दै छु भन्ने थाहा नपाइकन म लेख्दै गइरहेछु । बडो ठिस पारा हो यो । हाहा..सेरेब्रमको नाजुक अवस्था । मस्तिष्क’जी पनि बेलाबेला ‘झम..झम’ होइदिइराख्नुहुन्छ…र, त जिन्दगीमा रमाइलो बच्या छ ।

..भर्खरै एक कप चियाले हृदय न्यानो बनाएँ । एस्ट्रेले पनि एक खिल्ली खरानी पाएर आफ्नो पेट फुलायो ।..बाहिर झरी अझ..अझ..अझ गर्दै कम हुँदै छ । ‘झम..झम..झर..झर,…झम..झर..झर, …झम..झर..झर..’ मा अब सुस्थता छाएको छ । यस्तैमा मस्तिष्कको बलेँसीमा कोही आइपुगे जस्तो लाग्यो । दैलो खोली ढोका उघार्दा उही मेरो प्राचीन दिनहरूको हुलमूल रहेछन्, अतीतका हिलाम्मे पदचापहरू रहेछन् । ..तर यी मुलाहरू यो झरीमा छत्री ओढेर आइपुग्दा नि भिजेको बिरालो (मायालु बिरालोसँग माफी चहान्छु, म यस जीवलाई बिछट्ट प्रेम गर्छु) जस्तै भएछन् । उनीहरूको आतिथ्यमा कुनै कसर बाँकी राखिनँ । हालखबर, सन्चो-बिसन्चो आदानप्रदान सबै भयो । अत: यसप्रकार म रिङटोनसँगको आफ्नो प्रथम सम्झनाको अँगालोमा लपेटिन पुगेँ ।

प्रथम रिगटोनसँगको आलिंगन :

त्योबेला हामी स्कुलमा ‘कहिल्यै नपाक्ने धान कुन हो ?- संविधान ।’ गर्दै थियौँ, पढ्दै थियौँ । त्यो बेला हामी, हवाईजहाजलाई ‘हवाईजात्’, ड्रमलाई ‘डड्याम’, हेड मास्टरलाई ‘हेद मास्तर’ र ‘भकुण्डो’लाई ‘भक्कु..भक्कु’ भन्थ्यौँ । उमेर आलाकाँचै थियो, ८/९ वर्ष । तोते बोल्ने उमेर चाहिँ घर्किएको थियो, यद्यपि जिब्रोले सोही लवज पछ्याइरहेको थियो । ’..आदत एक बुरी चीज है, बाबुमोसाये ।’ हाहा.. हाइपोथ्यालेमसको करामत ।

गाउँ (उखुबारी) कथित माओवादको चंगुलबाट उम्कन खोज्दै थियो । तर तर, त्यो दर्शनले गाउँको नलिहाडमा सुम्लाएको डोबहरू भने जीवित नै थियो । गाउँ सिधा-सिधा उभिन सकीरहेकै थिएन । मेरो विचारमा ०६४/०६५ साल हुनुपर्छ, यिनैताका मोबाइलहरू घरगाउँतिर पुगेको थिए । पिँढी लिपिरहेकी हजुरआमा अघिल्लो वर्ष अरब भासिएको ‘छोरा अर्थात् मेरो बाउ’को फोन कल कुरिरहेकी हुन्थिन् । ममी चाहिँ बहिनीलाई काखमा राख्दै बुबाको फोन कलको प्रतीक्षामा बसिरहेकी हुन्थिन् । फोन हामीसँग थिएन । पल्लो घरमा थियो । पल्लाघरे जमानाका मास्टर थिएँ- प्राथमिक तहसम्मको (हेद मास्तर नै) । उनीकहाँ ‘ठूलो फोन’ थियो, सीडीएमएको सिम । गाउँभरका विदेशिएका छोरा/नातिहरू सोही फोनमा रात-बिरात कल बर्साउथे ।

पल्लाघरे बर्सिएको फोन कानमा टाँस्थे, ‘को हो ?’ सोध्थे । फलानोले आफू ‘फलानो हो’ हो भनेपछि पल्लाघरे नजिकै जो भुरो(बच्चो) छ, उसलाई फलानोको जहानलाई खबर गरिदिन लखेट्थे । लखेटिखानेले खबर पुर्‍याएवापत ठाउँ (दूरी) हेरेर दुई रुपियाँदेखि पाँच रुपियाँसम्मको नगद प्राप्त गर्दथ्यो । सो रकम खबरीको लागि यो समयअनुसारको राम्रो ज्याला थियो । पाँच मिनेटमा पाँच रुपियाँ पाउनु भनेको चानचुने कुरा कदाचित् होइन (आज म आफैँ कमाउन सक्दिनँ) ।  बेलामौकामा मैले पनि पाएको छु तर यसमा पनि व्यापक राजनीति थियो । सकभर पल्लाघरेले खबरीको भूमिकामा आफ्नै बालबच्चा या खानदानका बच्चाहरूलाई नै सो काम सुम्पिन्थे । यसो गर्दा रकम आफैँकहाँ रहिरह्यो ।..गाउँघरका ढुकुटीमा छरिन पाएन ।

त, यसप्रकारको गाउँको त्यो एक मात्रै (एक्लो शैनशाह) कालो रंगको टेलिफोनवाला टेलिफोन (जसलाई हामी ‘ठूलो फोन’ भन्थ्यौं) ले आफ्नो सत्ता चलाइरहेको थियो । बलिउडका ‘शैनशाह’ बच्चन बराबरको हैसियत पाएको ‘‘शैनशाह-ए- ठूलो-फोन’ को राजशी रवाफ चाहिँ ज्यादै चर्को थियो । भनौँ न, ‘शैनशाह-ए- ठूलो-फोन’ले उखुबारी टोलमा त्यस  समयको एक हिस्सा नै कब्जा गरेको थियो । उखुबारीमा सबैभन्दा बेसी मानभाउ र इज्जत उसैको थियो । उसको सामुन्ने सब झिंगा, सब मुसा, सब गोब्रे किरा, सब घाँसपात बराबर ।

त, ‘शैनशाह-ए- ठूलो-फोन’को हुकुमियत यसप्रकार थियो कि, आजका ओली त्यसको सामुन्ने केही पनि होइनन् । ‘शैनशाह-ए- ठूलो-फोन’को अघि ओली पनि उही झिंगा, मुसा, गोब्रे किरा र घाँसपात  बराबर.. । त्यसप्रकारको तानाशाही रवैया खिलजी, चंगेज खाँ या मुसोलोनीले पनि देखाएनन् होला ।

समय कुइनेटो लागेर फिस्लिँदै गइरहेका गाउँका पन्च र उपाध्याय (पण्डित) हरू पनि ‘शैनशाह-ए- ठूलो-फोन’ सँग गोता खाइसकेका थिए । बडे-शैनशाह अर्थात् ‘शैनशाह-ए- ठूलो-फोन’का धनी ‘पल्लाघरे’, अब नयाँ पन्च या पण्डित बन्दै गइरहेका थिए । उनका लागि बाटोहुँदो हिँड्दा दुई चार थान सलामी, नमस्कार, ढोगभेट र साष्टाङ्ग दण्डवतको सौगात-कुम्लो भेट्नु भनेको नाथे कुरा थियो, मामुली कुरा थियो । उही झिंगा, मुसा, गोब्रे किरा र घाँसपात.. । बाफरे..बाफ.. । क्या रौनक थियो बडे-शैनशाहको । सान, सौहरत र इज्जत.. । आज सम्झी ल्याउँदा बङ्गारा उछिट्टिने गरी हाँस्न मन लाग्छ (…तर हाँस्दिनँ- यो महामारीको दन्त चिकित्सकलाई मेरो मुखभित्र छिराएर के दु:ख दिइराखूँ ? उसैपनि दाँतमा चुरोटको काँस जमेर हालत खराब छ । दन्त चिकित्सकले काँस सफा गरुन् कि बङ्गारा पुनस्थापना गरुन् ?) ।

त, आज मलाई त्यो ‘शैनशाह-ए- ठूलो-फोन’को असिमित याद आयो । ‘शैनशाह-ए- ठूलो-फोन’को अपार सम्झना भयो । अझ ‘शैनशाह-ए- ठूलो-फोन’को ‘राजशी रिङटोन’को पनि सम्झना भयो । राजशी रिंगटोन चाहिँ यस अर्थमा कि उसको डांक साँच्चै ठूलो थियो । ‘शैनशाह-ए- ठूलो-फोन’को डांक खास्सा (त्यस्तो उल्कै) नै त केही होइन, उही क्लासिक टेलिफोन रिङटोनको आवाज- ‘.टीरिरीङ..,टीरिरीङ..’ । तर ‘शैनशाह-ए- ठूलो-फोन’ मुखारबिन्दुबाट गाउँभर नै गुन्जायामन हुने ‘टीरिरीङ..,टीरिरीङ..’ को अदब चाहिँ बड्तै थियो । गाउँमा सबको घरमा नाथे रेडियोसम्म थिएन, अब त्यस्तो समयमा (त्यतिबेला) बडे-शैनशाहको भित्री शयन कक्ष ‘शैनशाह-ए- ठूलो-फोन’को डांकले गुन्जायामन हुनु भनेको कत्तिको आदरभाउजन्य अवस्था हुँदो हो, तपाईँहरू किञ्चित् अनुमान समेत गर्न सक्नुहुँदैन । माइकल ज्याक्सनले आइभोरी कोस्टमा गुथेका राजाको पगरीभन्दा ज्यादा मानभाउ, शिष्टाचारजन्य माहोल थियो त्यो..अहिलेलाई यत्ति बुझ्नुस् ।

शैनशाह-ए- ठूलो-फोन’ र बुबा:

बडे-शैनशाहको दरबार (घर) र मेरो घरबीच अन्दाजी ५० हात जतिको दूरी होला (आज अलि नजिक भा’छ, भूकम्पपछि घर दायाँबायाँ बजेका छन्) । यसकारण जब पनि ‘शैनशाह-ए- ठूलो-फोन’ डांक सुनिन्थ्यो, म खाँदाखाँदैको भातै छाडेर त्यस ‘टीरिरीङ..,टीरिरीङ..’ तर्फ आफ्ना दुवै लाम्चा कान सोझ्झाउँथे । मुख हाल्न लागेको गाँस हत्केलामै हुन्थ्यो, औँलाका कापकापबाट तरकारीका रस चुहिरहेका हुन्थे । हाउ.. अचाक्ली नै पो लोभिने गर्दथे- म त्यो ‘.टीरिरीङ..,टीरिरीङ..’ सँग । कुन्नि किन हो, ‘शैनशाह-ए- ठूलो-फोन’को डांक – निलिरहेको सासजत्तिकै प्यारो थियो । ओकलीरहेको सास जत्तिकै पियारो थियो । हाडबेगरको जिब्रोजस्तो अचाक्ली चपाइने गर्दथे म ‘शैनशाह-ए- ठूलो-फोन’बाट ।

बडेशैनशाह ‘शैनशाह-ए- ठूलो-फोन’लाई आफ्नो शयन कक्षको ढोका सामुन्ने राख्दथे । जब पनि कसैको फोन आउथ्यो (उसो त फोन कमै आउथ्यो, आए पनि बोलावटको लागि आउथ्यो । कारण- विदेशदेखि नेपाल फोन गर्दा महँगो पर्थ्यो । यसकारण बोलावट पाएको व्यक्तिले यताबाट आफैँ फोन गर्नुपर्थ्यो । यसो गर्दा पैसा कम लाग्छ भन्ने  लालसा थियो ।) बडे-शैनशाहको शयनकक्षको नमिठो गन्ध मस्तिष्कको प्वारासम्म भर्दै सोही ढोकामा अढेसिंदै फोनमा बोल्नुपर्थ्यो ।..मानौं, ढोका बाहिर ‘शैनशाह-ए- ठूलो-फोन’को पाउ-कमल पर्‍यो मात्रै भने पनि सब चौपट हुन्छ । ‘शैनशाह-ए- ठूलो-फोन’को पाउँमा खील बिझ्छ । यसकारण बडे-शैनशाह’जी आफ्नो छोरा भाँती ‘शैनशाह-ए- ठूलो-फोन’ जी’लाई बडो माया-ममता र वात्सल्य प्रदान गर्नुहुन्थ्यो । मुटुको टुक्रा मान्नुहुन्थ्यो, कलेजोको चोक्टा भन्नुहुन्थ्यो, मृगौलाको चौटो ठान्नुहुन्थ्यो ।

बडे-शैनशाहलाई ‘शैनशाह-ए- ठूलो-फोन’ जी को अपहरणको डर पनि थियो । बेफ्वाकमा आफ्नो सानोतिनो लापरवाहीले ‘शैनशाह-ए- ठूलो-फोन’को कुमारित्व नष्ट होइदियो भने बडे-शैनशाहले गाउँघरमा कसरी मुख देखाउने ? समाजहुँदो रहेको त्यो विधि शान-सौबतको के हुन्छ ? यसकारण उहाँले हामी सबै (फोनमा बोल्न आउने) लाई आफ्नो शयनकक्षको नमिठो (कुहिएको भांतजस्तो) गन्ध सुँघाइरहनुहुन्थ्यो । गन्ध के को होला भनेर आ-आफ्नो विज्ञता छाँट्ने चलन पनि व्याप्त नै थियो । तर कसैले पनि यही कुराको गन्ध हो भनेर बताउन सकेका थिएएनन् ।

पछि थाहा पाएँ, त्यो गन्ध बाथ रोगको औषधिको रहेछ । नसर्ने प्रकृतिको दीर्घ रोग- बाथ रोगबाट बडे-शैनशाहको जहान ग्रसित होइसक्नु भएको रहेछ । र, यो कुरा केही महिनासम्म गाउँमा लुकाइएको रहेछ (बडे-शैनशाह आफ्नो जहानको दीर्घरोग लुकाएर के सिद्ध गर्न चाहन्थे कुन्नि ?) । जे होस्, बडे-शैनशाह  बाथ रोगले सिथिल भएकी आफ्नी जहानको भन्दा ‘शैनशाह-ए- ठूलो-फोन’ को ज्यादा स्यार-सुसार गर्दथे । बुढ्यौली कायाले छपक्कै छोपेर गु-मुत एकै ठाउँमा गरिरहेकी आफ्नी आमालाई भन्दा ‘शैनशाह-ए- ठूलो-फोन’को उनलाई ज्यादा प्रवाह थियो । त्यहि, नपाउनेले के पायो, बोक्रे सुद्ध चपायो ।..उनले बडो चपाए ।..चपाइरहें । अन्दाजी एक/डेढ वर्ष जत्ती ‘शैनशाह-ए- ठूलो-फोन’ सत्ता ढल्न सकेन । विपक्षी सत्ताधिकारीको आगमन नै हुन सकेन ।

‘शैनशाह-ए-ठूलो-फोन’को सत्तालिप्सा पनि बडो विचित्र नै थियो । नेपालबाट इन्डिया फोन गर्दा, २७/२८ रुपियाँ (ठ्याक्कै बिर्सिएँ) लाग्थ्यो । अरेबियन पेनिन्सुलाका देशहरू- अरब, कुवेत, दुबईतिर फोन गर्दा चाहिँ दुई थरी मूल्यसूची थियो । नम्बर डायल गर्नुपूर्व १४२५ डायल गरेमा अलि बढी (सायद ७० रुपियाँ) र नम्बर डायल गर्नुपूर्व ०० डायल गरे अलि कम (सायद ४०/५० रुपैयाँ) लाग्ने गर्थ्यो । बुबा साउदी हुनुहुन्थ्यो, यसकारण +९६६ कन्ट्री कोड अनिवार्य डायल गर्नु नै पर्थ्यो । कन्ट्री कोद डायल गर्नुपूर्व प्रयाश: हामी ०० डायल गर्ने गर्थ्यौं (यसमा केकति साचो थियो कुन्नि  ?) । तर, मलाई एउटा कुरा चाहिँ याद छ,  बुबा विदेशबाट दुई महिना बिराई पैसा पठाउँदा फोन खर्च बापत भनि मासिक ३,५०० देखि ४,००० सम्म पठाउने गर्नुहुन्थ्यो ।

‘शैनशाह-ए- ठूलो-फोन’मा सवप्रथम ममी बोल्नुहुन्थ्यो । सन्चो-विसन्चो । कामको सहजता-असहजता । अनि त्यसपछि ऋणपान र साहुको हुँकारका बग्रेल्ती कथानकहरू । म याद गर्दथे ‘शैनशाह-ए-ठूलो-फोन’को सहहृदयताका कारण बुबासँग बोलिरहँदा ममीका आँखाहरू ओभानो चाहिँ हुँदैन थियो । हामी स-सना क्लासमा थियौँ, उमेरले आलाकाँचा । घरको सम्पूर्ण रेखदेख ममीको पोल्टामा सुम्पिएर बुबा अरब हानिएका थिए । गाउँमा आर्थिक हैसियतको सवालमा हामी निम्छरो नै थियौं । खान लाउन पुग्ने तर जोगाउ, संचिति गरौँ भन्ने कुरा चाहिँ कुरामा नै सीमित । यिनै आर्थिक जटिलताहरू ममीका आँखादेखि बर्सिदा हुन् र बुबाको हृदयलाई लुछुप्प भिजाउदा हुन् । यसप्रकार ममी र बुबाको अन्दाजी १०-१२ मिनेट जतिको कुराकानीपश्चात बुबाले रोलक्रमअनुसार आफ्ना सबै (३ वटा) छोराछोरीसँग कुरा गर्नुहुन्थ्यो । र, बुबासँग कुरा गर्न पाउनु भनेको गाउँको अग्लो सालको रुखमा चढ्नुबराबरकै सफलता थियो, लब्धांक पत्र थियो ।

त्यसमाथि ठूलो छोरो भइखाएकाले सर्वप्रथम मेरो पालो आउथ्यो । रोलक्रममा आफू प्रथम आइपुग्दा किन पो खुसी नलाग्दो हो र ?..लाग्थ्यो । ‘शैनशाह-ए-ठूलो-फोन’ मेरो हातमा त पर्थ्यो तर मलाई धेरै  केही सोध्नु नै हुँदैन थियो । उही सन्चो-विसन्चो सोध्यो,.. त्यत्ति । बरू बुबाले सोधिरहनुहुन्थ्यो- पढाइका कुरा, मार्क्सका कुरा, घरका कुरा, खेतका कुरा,..र आउने मान्छे कोही भेटिए एउटा फोन पनि पठाइदिने कुरा ।

‘शैनशाह-ए- ठूलो-फोन’मा यसपछि भाइको रोल आउँथ्यो । ऊ अलि चेपारे थियो, यसो-उसो भनेर अनेक माग पनि गरिहाल्थ्यो-घडीको पछाडि ऊ परेको थियो । त्यसपछि बहिनि, बहिनी चाहिँ सानी थिई- तोते बोली नै बोल्थी । बुबा हामी चार जनासँग चार चोटी ‘सन्चै छु, तिमीहरूको के छ’ गर्नुहुन्थ्यो । आज सोची ल्याउँदा लाग्ने गर्दछ, विचरा बुबालाई कति झर्को लाग्दो हो । तर..हामीलाई आउने नै त्यही थियो । उमेर सानो हुँदै बुबा विदेशीएकाले त्यसकिसिमको नजिकपन पनि थिएन ।  अनि ‘शैनशाह-ए- ठूलो-फोन’को खर्च पनि ज्यादा थियो । जस्तो पायो त्यस्तै गफ गर्दा मिनेटकै ४०/५० रुपियाँ बुझाउनुपर्थ्यो । भनौँ न, त्यतिबेला सन्चो भएको खबर एकाअर्काबीच आदान-प्रदान हुनु भनेको नै चरम सुखको स्थिति थियो । बुबाले सोधेका प्रश्नहरू, बुबाले सम्झाएका उखानबखानहरू म व्यवहारमा उतार्ने प्रयास गर्थेँ । ‘हाम्रै लागि विदेश हानिएका हुन् बुबा’ भनेर ममीले पनि बारम्बार सम्झाइराख्दिन, भावनात्मक ब्ल्याक मेल गरिरहन्थिन् । यसले मलाई क्लास टप गर्न उक्साइरह्यो । फलत: मैले क्लास टप गर्दै पनि रहेँ ।

भाइबहिनी भर्खर हुलेको भातलाई पेटतिर धकेल्दै बडो लम्बेतान लेघ्रो तानेर भन्ने गर्थे- ‘स..सन्चै…  हुनु..हुन्छ…बु..बा ?” उताबाट बुबा पनि उस्तै लेघ्रो तानेर ‘सन्चै..छु..बा..बु…’ भन्नुहुन्थ्यो । (बुबालाई आजभोलि मेसेन्जरमा कुरा हुँदै गर्दा त्यसै गर्नू न भन्छु, उहाँ पटक्कै मान्ने होइन । त्यो नाटक-साटक म गर्दिनँ दिनुहुन्छ । हाहा..यसप्रकार धेरै पछि थाहा भयो- बुबाले त्यत्ति मिठो बोलेको हाम्रो बाल्यवयको मान राख्नलाई थियो ।)

फोन पठाइदिने कुरा :

फोन पठाइदिने कुराले मलाई कम्ता खुसी दिएन त्यस दिन । नाथे, त्यो ठूलो सालको टुप्पोमा पुगेर चिच्याएको त के नै पो हो र ? त्यो गाउँभरिकै अग्लो रुख चढेर कमाएको इज्जतको सामू फोन खल्तीमा राखेर गीत बजाउँदै हिँडेको कल्पनामा म मन्त्रमुग्ध होइजान्थे । त्यो कति मज्जाको कुरा हुने थियो होला । म मनचिन्ते बनिदिएँ । कल्पनाको लोकका कता-कता भौतारिएँ ।

ध्रुव केसीको गीत गुनगुनाउथे नाच्न थाले ।

‘साहिँली फेरि..है है..साहिँली फेरि..है..है..

साहिँली फेरि भेटुला धारैमा..होइ..’

एक्कासि ममीले प्याट्ट दिँदा पो थाहा भयो, म पर्खालमा उभिएर एक्लै नाचिरा’रछु । पछि रित्तो गाग्री दिएर पधेरोतर्फ लेखेट्नु भयो । लखेटीदै गर्दा पनि मैले गीत गुन्गुनाउन छाडीन ।

मनमा राखीईई..त्यो तिम्रो माया

आँखामा राखीईई..त्यो तिम्रो छायाँ

‘साहिँली फेरि..है है..साहिँली फेरि..है..है..

साहिँली फेरि भेटुँला धारैमा..होइ.. ।’

दिनहुँजसो ‘शैनशाह-ए- ठूलो-फोन’मा  बुबासँग बोल्न पाइन्नथ्यो । कारण तीनवटा थिए ।

पहिलो चाहिँ- बुबा ओभरटाइम ड्युटी पनि गर्नुहुन्थ्यो र थकान ज्यादा हुन्थ्यो ।

दोस्रो चाही,. उता (अरब) बाट नेपाल फोन गर्दा धेरै नै महँगो पर्थ्यो, यसकारण एक दिन बिराई हामी नै यताबाट फोन गर्थ्यौं । तर यसो गर्दा पनि मिनेटको ३५-४० जति भेट्थ्यो । करिबन १५-२० मिनेट कुरा हुन्थ्यो । चानचुन ५००-६०० जति एक दिन झ्वाम ।

तेस्रो चाहिँ- फोन गर्ने अरू पनि हुन्थे । गाउँका हुर्केबढेका छोरानाति सब विदेश पुग्दै थिए, यस्तोमा सबैको जहान-परिवार थियो र सबैले बोल्न पाउनु पर्थ्यो । भनौं न, ‘शैनशाह-ए- ठूलो-फोन’को व्यस्तता भरपूर थियो । नहोस् पनि किन, उहाँ कायममुकायम शैनशाह हुनुहुन्थ्यो । देश-विदेश पुगेका छोरा-नातिका आवाजलाई घर-दैलोमा ल्याइपुर्‍याउनुहुन्थ्यो ।

त्यसबाहेकका एक दुई कारण चाहिँ, कहिले ‘शैनशाह-ए- ठूलो-फोन’को स्वास्थ्य अवस्था नाजुक हुन्थ्यो, धामीझाक्री बोलाउन आइपुग्न भ्याईसकेका हुँदैन थिए । कहिले बडेशैनशाहको मगज सड्किन्थ्यो, कहिले पानी परिदिन्थ्यो र फोन लाइन डिस्टर्ब आउथ्यो (गाउँमा त्यतिबेला बत्ति आइसकेको थिएन) ।

त, एक दिन बिराई जस्तो बुबासँग बोलिन्थ्यो । कहिलेकसो मलेसिया पुगेका मामासँग पनि । तर जसै बोलावटको लागि ‘राजिन्द्रे..’ भन्ने आवाज कानमा पर्थ्यो..मेरो त खुसीको सीमा नै हुन्नथ्यो । एकप्रकारले म ‘शैनशाह-ए- ठूलो-फोन’को डांक र त्यसपछिको बोलावट सुन्न हरप्रहर तयार रहीबस्थे । फेरि फोन गर्ने बुबा र मामा मात्रै । अरु त कोही थिएनन् । (आज जस्तो दिक्कै लाग्ने गरी दिनमा १२/२० फोन कल आउँदो हो त त्यो बेला म साह्रो खुसी नै हुन्थे होला । तर सब समयको देन; आज फोन, मेसेन्जर, केहीको रिङ चित्त बुझ्दैन । )

नोक्या १११०’ मोडल र ‘छोटे-शैनशाह’को सत्ता:

करिब ४/५ महिनापश्चात बुबाले फोन पठाउनुभयो- ‘नोकिया १११०’ मोडल । मोटोमोटो, पुड्कोपुड्को.. ।  हत्केलामा राखेर मुठी पार्दा हत्केलामै हराउने ।

जसै नोकिया १११० ले हाम्रो घरको दैलोमा आफ्नो पावन पाउ राख्यो, मेरो खुसीको सीमा नै रहेन । मुटु जाठो त भक्कानिएरै मर्ला जस्तो भयो । प्लास्टिकले सिल गरिएको प्याकेटबाट मोबाइल निकालीरहँदा खुसी र हर्षले मेरो हात लग..लग.., थर् थर्..कामिरहेको थियो । एकप्रकारको उन्माद जस्तो, नशाले लट्ठ भइ लट्ठिए जस्तो । मात चढेको जस्तो, देउता चढेको जस्तो.. । कस्तो..कस्तो.. । एक विछटटको उन्मतत्ता । एक नशालु अवस्था । भावशुन्यता छाएको क्षण..सोचबुझ गयल भएको पल.. ।

फोन जसै प्लास्टिकदेखि बाहिर निस्किएर मेरो हत्केलालाई चुम्न पुग्यो, अचाक्ली खुसीको अनुभव गरे मैले । मोबाइलले हत्केला छुँदा छाएको आद्रता आज पनि महसुस गर्न खोज्छु तर स्क्रिन टच अनेकन मोबाइलका ताप र रापले डामेको मेरो खस्रो हत्केला मात्रै फेला पर्दछ । उही हातमा आयो शून्य- जिरो ।

यसप्रकार हम्रो घरमा मोबाइलको तमकधमक सुरु भयो । घमन्ड जस्तो पनि आउँदो रहेछ, आयो । धन, मान, यौवन, इज्जत..सब कुरा सोही ‘नोक्या १११०’ भइदियो ।

गाउँतिर निस्कँदा अब खासखुस सुनिन थाले-

‘राजिन्द्रेको घरमा पनि मोबाइल आ’छ रे.. ।’

‘कसैको नभाको मोबाइल. कुन दिन फुटेर झर्छ अनि ठीक पर्छ.. ।’

‘मोबाइल मात्रै भएर हुन्छ, चार्ज गर्न परेन ? हेरौँला नि का चार्ज गर्दा रछन् ? अगुल्टोमा हालेर चार्ज हुन्न होला क्यारे.. ।’

‘तर..जे सुकै होस्, हाम्रो छोरालाई पनि उसकी फोनमा फोन गर्न चाहिँ भन्नुपर्छ । पल्लाघरेजस्तो ऊ त्यति भाउ नखाला.. ।’

‘नाथे.मोबाइल आयो रे भन्दैमा त्यो विधि नाक लाम्चो बनाउन चाहिँ पर्‍या थिएन के, हाम्रो छोराले पनि अर्को महिना पठाइदिन्छु भन्या छ नि.. ।’

यी-यस्तै आवाजहरूको हुलमुहलबीच मेरो दैनिक चल्न थाल्यो । बुबासँग दिनहुँ जस्तो कुरा हुन् थाल्यो । बुबाले पनि समय निकाल्नुभयो (आफ्नै घरमा फोन भए’सी बोलाइदिन भन्न परेन, बोलाइदिनेले कति बेर लगाउने हो भनेर कुर्न परेन । यसप्रकार समय र मनस्थिति दुवैको बचत पनि भयो होला) । अनि हामीलाई पनि बाथ रोगको औषधिको दुर्गन्ध सुँघ्नु परेन । बलेँसीबाट झरिरहेको पानीले ढाड हिर्काएको दुखाइ सुमसुमाउँदै फोनको लागि पर्खिन परेन ।

यी सब त मामुली कुरा थिए । त्यसबाहेक अब ठूलो पल्टिन पाइएको थियो । गाउँका अंकल-दाजुहरूमध्ये कसैको फोन आयो भने सबभन्दा पहिले मै बोल्न पाउथे । र, अंकल-दाजुहरू पनि बडो मानभाउ दिएर ‘तिमी..तिमी..’ लगाएर कुरा गर्थे । मलाई याद छ उनीहरू गाउँघरमै हुँदा ‘जाठा, मुजी..झ्याँक्ने’ जस्ता उपसर्ग प्रयोग नगरी बातै गर्दैन थिएँ । एकाएक उनीहरूको बोलीमा आएको फेरबदली अरबी हावापानीको प्रभाव मात्रै होइन भनेर बुझ्न मलाई कत्ति पनि गाह्रो पर्दैन थियो । अझ, बोलावटको लागि खबरी भई म आफैँ कुद्ने गर्थे । यसो गर्दा दिनहुँ २०/३० रुपियाँको जोहो पनि भइजान्थ्यो । यसले पकेटखर्च भरमार पुग्थ्यो । त्यसबाहेक अरूका कुरा सुन्न पनि पाइन्थ्यो । गाउँघरका दुख-मर्का बुझ्न पनि पाइन्थ्यो । कसको कति ऋण रहेछ, कसको साहू को रहेछ, को कहिले बिरामी परेको रहेछ, कसको घरमा बाख्राले बोका पाएछ, कसको घरको भैँसी ब्याएछ, कसको घरमा आज खीर पाकेछ, कसको बारीमा कतिवटा काँक्रो फलेछ,..यावत् यावत् कुराहरू ।

यसप्रकार चिठी आदानप्रदानको युगको अन्त्य र मोबाइल युगको सुरुवाती क्षणताकाका ती दिनहरूमा म घरगाउँको अर्को ‘छोटे-शैनशाह’ बन्न पुगेको थिएँ । अब मेरो पनि इज्जत थियो, मानभाउ, सम्मान थियो । अब मलाई पनि मान्छेले मान दिन्थे, घरमा पुग्दा बस्नलाई चगटी दिन्थे, मोहीको गिलास टक्राउथे, हालखबर सोध्थे, पढाइको कुरा सोध्थे । जे हो..स्याबसी नै स्याबासीको माहोलमा उक्त छोटो खुट्टे ‘छोटे-शैनशाह’को रवाफी हुकिमियत गाउँघरमा भरमजदुर चलिरहेको थियो ।

अझ, बडे-शैनशाह र छोटे-शैनशाहको जुहारी जस्तो नै पर्थ्यो । छोटे-शैनशाह बडे-शैनशाहलाई फुटेको आँखाले पनि हेर्दैन थियो । बडे-शैनशाहको आँखामा पनि एकप्रकारको इर्ष्या हरबखत ढलपल..ढलपल..गरिरहन्थ्यो । बडे-शैनशाह आफ्नो घरदेखि छोटे-शैनशाहको घरतर्फ मोडिएको गाउँलेको लाम देख्दा आग-बगुला हुने गर्दथे । पैसाको सवाल थियो, बसीबसी महिनामा हजारौँ कुम्लाउँथे, त्यो अब छोटे शैनशाहले हातको थैली बन्न पुगेको थियो । अब त्यो राजशी ठाँटमा पानी फिरेको थियो । छोटे शैनशाहले बडे शैनशाहलाई पूरापूर भुँइमा सुताइदिएको अवस्था थियो । बाटोहुँदो हिँड्दा पनि बडेशैनशाहको मानभाउ र नमस्कारमा कमी छाएको थियो । तर यता छोटे-शैनशाहको भने दिन फिरेको थियो । उसको कदकाठी, जीउडाल, उचाइ, अग्लाइ, मोटाइ, डिलडाल..दिन दुगुना, रात चौगुना बढ्दो थियो । सफलताको नेप्से सूचक लगातार बढ्दो थियो । खुसीको ग्राफ निरन्तर माथि उक्लदो थियो । ऊ त हरबखत रमाइराख्यो, गाला फुलाइराख्थ्यो । हिँडाइमा लचक ल्याएको थियो । हात पनि गोजीमा हालेर बडो अदबसाथ् हिँड्ने गर्थ्यो । ..साँझकालीन समयमा रेडियो सुन्ने गर्थ्यो । तर उसलाई समाचार मन पर्दैन थियो । ऊ पुराना गीतहरूसँग नै तकिया च्यापेर निदाउने गर्थ्यो । घरमा उसका आमा, भाइ र बहिनी भने उसको फेरिएको चालामाला देखेर दिक्क-एक-दिक्दार भइसकेका थिएँ । फोन भएसी खाना समेत नखाने भएको थियो । तर परिवारमा खुसी के कुरामा थियो भएन, ऊ मोवाइलको अत्याधिक प्रेममा थियो । आफ्नोभन्दा मोबाइलको ज्यादा स्याहारसुसार गर्दथ्यो ।..छोटे शैनशाह खाँटीको मोबाइल सुसारे बन्दै थियो ।

तर यो सब अर्को छ महिना पनि चल्न सकेन । एकाएक एकदिन छोटे-शैनशाहको नजर आफ्नो प्रियतम साथी (केशव) को हातमा रहेको ‘नोकिया, आशा ३००’ पर्न पुग्यो । त्यस दिन उसको मुटुले ठाउँ छाड्यो । उसको कलेजोमा पहिरो गयो । फोक्सोमा कार्बनडाइअक्साइडको बाढी उर्लियो । हत्केलामा १० रेक्टर स्केलको भूकम्प दौडियो । जीउ शितांग भयो । हातपाखुरा लल्याकलुलुक भए । उसका नौनारी गले । फ्यात्त..फ्यात्त गर्दै झार्न थाले ।… नउम्रिएको दाह्री जुँगा हरहरी उम्रीए जस्तो..अनुहारभारी चिरा परे जस्तो । जीउभरि माकुराले डसेजस्तो । पैतालामा नानीझार बिझेजस्तो ।..कस्तो..कस्तो.. । एकाएक छोटे-शैनशाह एक निमिट्यान्न अन्धमुष्टि समयको छाँगोबाट खस्न पुग्यो । उसले आत्थोसम्म ओकल्न भ्याएन । ऊ दुखाइले चिच्याउन समेत सकेन । सास निल्ने गाह्रो भयो जस्तो भयो उसलाई । धड्कन मन्द गति ऊ चाल पाउन सक्थ्यो ।..यो सब भन्दा बेसी चाहिँ उसको हृदयमा आगो सल्किएको थियो-जलनको, ईर्ष्या र लालचाको आगो । अब उसलाई आशा ३०० भन्दा पनि राम्रो मोबाइल चाहिएको थियो ।..

यसप्रकार आधा वर्षकै उमेरमै छोटे-शैनशाहको साम्राज्य सखाप भयो । ऊ सत्ताच्युत भयो ।

अस्तु ।

लेखक परिचय

राजु झल्लु प्रसाद

राजु झल्लु प्रसाद

+ पोस्टहरु

धादिङका राजु झल्लु प्रसाद कविता, कथा, मनोविश्लेषणात्मक लेख साथै अखबारीय लेखनमा पनि सक्रिय छन् । अनलाइन पत्रिका न्युजकास्ट नेपालमा कलासाहित्य विधाका प्रमुख रहेर काम गरिरहेका झल्लु प्रसाद त्रि-चन्द्र कलेजमा बिएससी अध्ययन समेत गर्दैछन् ।

(शब्दसोपानमा असार ४, २०७८ मा प्रकाशित)

Leave a Reply