माझी समुदायको ‘लदि पुजा’ अर्थात् पानीलाई पुजा गर्ने दिन

You are currently viewing माझी समुदायको ‘लदि पुजा’ अर्थात् पानीलाई पुजा गर्ने दिन

काठमाडौं  ।  फागुनमा माझी समुदायको प्रमुख पर्व मध्यकाे एक लदि पुजा अर्थात पानीलाई पुजा गर्ने दिन पर्दछ। पानीसँग सबैभन्दा निकट रहने माझीहरूले हरेक वर्ष फागुन महिनाकाे तेस्राे मङ्गलबार याे पुजा मनाउँछन् । केही माझीहरुले शिवरात्रीकै दिन लदीपूजा गर्ने गरेकाे पनि पाइन्छ ।

लदीपूजालाई काेसीपूजा भनेर पनि चिनिन्छ । माझी भाषामा नदीलाई ‘लदि’ भनिन्छ । माझी समुदायको सबैभन्दा ठुलो पर्वका रूपमा लदीपूजालाई लिइन्छ । माझी समुदायले नदीलाई मामा र माझिलाई भाञ्जाको नातासम्बन्धको रुपमा लिने चलन छ । त्यसैले पनि उक्त समुदायमा यो पर्वको विशेष महत्व छ ।

माझि समुदायको साँस्कृतिक पहिचानको रुपमा रहेको लदिपूजा दैवी विपत्तिबाट सुरक्षित रहनको लागि मनाउने प्रचलन छ । यो पर्वमा नदी, खोलामा पूजा गर्ने, कला र संस्कृति झल्कने झाँकी समेत प्रदर्शन हुने गर्छ ।

३३ कोटी देवी देउताहरू भाकेर नदी किनारमा नै यस दिन पूजा गरिन्छ । यसरी पूजा गर्दा कृषि औजार, माछा मार्ने जाल, नदी खियाउने औजार लगायत सबै राखेर पूजा गर्ने र बलि पनि चढाउने चलन छ ।

नदी किनारको असुरक्षित बसोबाससँगै नदीमा माछा मार्ने व्यवसाय नै मुख्य पेशा भएकाले उनीहरुले आफ्नो र आफ्नो समुदायको सुरक्षाको कामना गर्छन् । सो समुदायले आफ्नो संस्कृति र रीतिरिवाजको जगेर्ना गर्ने मूल उद्देश्यका साथ यो पर्व बर्सेनि मनाउँदै आइएको छ ।


सन्दर्भ स्रोत: पुरु लम्साल, सुयोग ढकाल लगायत

(हिमाल दर्पणमा १६ फाल्गुन २०७९, मंगलवार ०८:३३ प्रकाशित)

Leave a Reply