पठन-संस्मरण : ग्याब्रियले र सनेस

You are currently viewing पठन-संस्मरण : ग्याब्रियले र सनेस

यसलाई पठन संस्मरण भनौँ, पठनयात्राको लिपिगाथा ।अ रिडीङ ट्राभ्लग ।

समालोचना, समिक्षा जस्ता शब्दहरूले मलाई मनपराउँदैनन् ।मन नपराउनेहरूको अगाडी आफ्नो छायाँ घिसार्ने झन्झट व्योहोर्न मलाई अल्छी लाग्छ  ।

दुई कथा संग्रह छन् ।

पहिलो ग्याब्रियले (हरिश कल्पित) । प्रकाशन: २०७७

दोस्रो सनेस (रेनुका जि सी) । प्रकाशन: २०७९

१. कथाको कालविभाजन: 

ग्याब्रियलेको हकमा : वि.सं. २०४९- वि.सं. २०७६ सम्म

सनेसको हकमा : करिब यहि हुनुपर्छ भन्ने अनुमान छ ।

(यसकारण भन्न सकियो, दुवै कथासंग्रहको कालविभाजन विक्रमको ५० देखि ८० संवत सम्मकै छ ।)

२. कथाको पृष्ठभूमि

मैले बाँच्न नपाएको परिवेश, म हुर्किएको समाज, मैले किशोरवास्थामा देखेका सपना/कल्पना/भावना, संगाल्न खोजेका हार्दिकता/बौद्धिकता/करुणा/प्रेम आदित्यादीको अनुभव एवम् दृष्टिकोण र  म जवान भएपश्चात् जेलिएको विसंगत प्रसंगहरू, विकृत साहित्यिक, सामाजिक एवम् राजनैतिक इतिहासका कैयन् अँध्यारा छायाँहरू कथा संग्रहद्वयमा बरोबर भेटेको छु । खोजिपसेर नै भेटेको, सरसर्ती पढ्दा भने कम महसुस हुन्छ । यो लेखकद्वय र ममध्ये जो कसैको कमजोरी पनि हुनसक्छ । पाठक त्यो हो, जो खोजिपस्छ र लेखक त्यो खोजिपस्ने ठाउँ छोडिदिन्छ । ‘यसो, यसो अनि त्यसो’ भन्ने लेखकहरूलाई म ‘अँ अँ’ गर्दिन्छु तर पढ्दिनँ । आफ्नो कविता/कथाको व्याख्या वा थेसिस गर्ने लेखक साह्रो गनाउँछन् । र, यी कथाकारद्वयले त्यसो गरेका छैनन् । आफ्ना कुरा सलल राखेका छन् । बुझिने गरि भनेका छन् । ‘बिम्ब-प्रतिक कवितामै सुहाउँछ’ भन्ने उनीहरूलाई लागेको हुँदा यी कथासंग्रहहरूले धेरै बसाइ वा अल्छिलाग्दा ‘हाइ’हरूको माग गर्दैनन् । यी कथाहरूले चानचुन ३० वर्षको नेपालका बहुआयामिक सजिला-असजिलाहरूलाई हुबहु राख्ने प्रयत्न गरेका छन् ।

म यी कथाहरूमा आफूलाई भेट्छु, आफ्नो अतित पाउँछु, आफ्ना वर्तमानकालीन उल्झनहरूको अनुहार देख्छु । तर, यी कथाहरूले मलाई निष्कर्ष दिँदैनन्, उन्मुक्तिको बाटो देखाउने काम भने कमै गरे । यसो भनौँ,  फरक महसुस भएन । बस्, डिजार्भु जस्तो भयो । कथाको काम डिजार्भु गराउनु हो कि, त्यसबाट फुत्त निकालेर कल्पनालोकमा पुर्याउनु ? यो प्रश्न यद्यपि मुल्तबीमै छ । भन्नाले, भोलीतर्फ यी कथाहरूले कम डोराउछन्, आज र बेसि हिजोतिर धकेल्छन् । तर, यी कथाहरूले तपाइँलाई एकै ठाउँमा अडेसिन भने दिँदैनन् । भनेको पात्रगत, चरित्रगत एवम् परिवेशगत एकाकीपन छैन, शिल्पगत र विचारगत भने छ ।  जे होस्, कथाका पात्रहरूसँग दायाँबायाँ टहलिन, तिनीसँग वार्ता गर्न, चिया खान वा एउटा लामो यात्रा भने गर्न सकिन्छ । अझ यसो भन्न सकियो, पात्रहरूमा प्रौढता देखि बालसुलभ गुणहरू छन् । उमेरगत हिसाबले यथोचित सम्बन्ध राख्दै तिनका अन्तरकथाहरू, सपनाहरू, गुनासाहरू, रोदनहरू सुन्दा झिँझक लाग्दैन । कथाले उठाएका परिवेशहरूमा फुत्त पस्न सकिन्छ । कमबेसी, यस यात्राले तपाइँलाई फरक व्यक्ति बनाउन खोज्दछ । एउटा संवेदनशील व्यक्ति, एउटा बहुमुखी व्यक्ति । हामी भन्न सक्छौँ, यी २५ थान कथाहरू माओवादी द्वन्द्व सुरु हुनु अगाडिदेखि एमसीसीको विरोध गरिरहेको हाम्रा सामाजिक मनोदशाहरूका म्युरल चित्रण हो । विषयवस्तुहरूसँग समर्थन-असमर्थन भनेको चाहि ‘इट्स योर कप अफ टी’ हो ।

यहाँनेर अब अलिकता नबोली नहुने भयो । प्वाक्क बोल्नुपर्ने आवश्यकता जो देखियो ।

करिब एकै कालखण्डको कथाहरू भएता पनि परिवेशगत, पात्रगत, चरित्रगत पुनरावृत्ति कमै (३/४ विशय समान छन) भेटिन्छन् । लेखकद्वयहरू फरक-फरक जन्म, हुर्काई र बुझाइ लेपित भएकाले हुँदो हो, यस्तो भएको । हरिशजीले नेपाली सहरका र जापानी शहरका पात्रहरूलाई समाएका छन्, रेणुकाजीले पहाडी परिवेश (पर्वत) र तराइको परिवेश (रौतहट) पात्रहरूको चरित्रांकन गरेकी छन् ।

यद्यपि, लेखकद्वयमा चिन्तनगत पुनारावृति भने छ । त्यो भनेको-  सम्बन्धहरूको चिरफार, सामाजिक रुढता या परम्परागत मनोदशाहरूको निष्कर्ष पस्किने सवालमा कथित राजनीतिक तथा सामाजिक विशेषाधिकारहरुलाई धावा बोल्न भने सकेका छैनन् । दुवै कथाका चरित्रहरू तत्कालिन परिवेश, सामाजिक मान्यता, अनुत्पादक (पछौटे) मनोदशासँग जुध्छन्, र तिनैलाई आत्मसात् गर्छन् । यसो भनौँ, हरेक पात्रहरू समस्याग्रस्त सामाजिक विविधता(मर्यादा, परम्परा, भविष्य, भूतकाल) सँग जुध्छन्, लड्छन्, तर, त्यसलाई नाघ्न सक्दैनन् ।

फेरि, कहिलेकसो सोच्दा पाउने गर्दछु कि,  सामाजिक, सांस्कृतिक उपजहरूलाई नाघ्न नसक्नु नै पछिल्लो ३० वर्षको नेपाली चिन्तन हो । मार्क्सवादीहरू भन्छन्, निर्यात घट्दै जानु र आयात बढ्दै जाँदा नेपालीहरूएक कैयन् सम्झौता पटक-पटक गरेका छन् । लेखकहरूले पनि त्यो गरेका होलान्, तर नगर्दा बेस हुन्थ्यो । भनौँ, कथाहरू अतीत र वर्तमानको मेमोइर्स मात्रै नभइदिँदा हुन् त झन् दामी हुँदा हुन् । बबाल हुँदा हुन् । यसो हुँदा गजब भइजाने थियो ।

जस्तो: हरिशजी प्रेम र यौनका रुमानी कल्पनाहरूमा बेसी हराएका छन् भने रेणुकाजीले महिलाकै समवेदना, उल्झनहरू कोट्याउनमा नै बढी शब्द खर्चिएकी छन् । एक युवा लेखकले प्रेम-बिछोडका अनेकन् आयामभन्दा माथि वा फराकिलो जान सक्छ भन्ने कुरा हरिशजीले देखाएका छैनन् भने भने एक महिलाले ‘महिलाबारे नै धेरै लेख्छे’ भन्ने समकालीन वाक्यलाई रेणुकाजी काट्न सकेकी छैनन् ।

यसकारण यो भन्न सकियो, कथामा बहुल चाखहरू खोज्नेहरूका लागि यी दुई कथा संग्रह उति सान्दर्भिक नलाग्न सक्छन् । मानवीय अस्तित्त्वको खोजी गर्नेहरू, अवचेतन-चेतन मनका प्रसंगहरू पढ्न चाहनेहरू, जीवनमूल्य र शाश्वत मृत्युबारे चिन्तन गर्नेहरूलाई यी पुस्तकहरू आकर्षित गरिहाल्दैन कि  भन्ने जिज्ञासाले म कोपरीन्छु । किनभने कथासंग्रहद्वयमा त्यो विधि औपन्यासिक प्रस्तुतिकरण, चामत्कारिक एवम् कवितामक शैलीहरू कम छन् । विषयवस्तुका हिसाबले नवीनता मध्यमखालको छ ।  यद्यपि, पछिल्लो ३० वर्षको नेपाली समाजको विविध आयामलाई सिक्न/बुझ्न चाहनेहरूका लागि भने यी पठनीय कृति साबित हुन् सक्छन् ।

र, हामी अब विषय प्रवेश गरौं ।

एकछिन, बिरालो नबाँधी श्राद्ध गर्नहुँदैन भन्छन् क्यार । अत:  यस पठन संस्मरण दुई कथासंग्रहको विषयवस्तु मात्रै केन्द्रित भएको हुँदा समिक्षाजीवीहरूलाई नमस्कार छ । साष्टंग दण्डवत छ ।

३. कथाको विषयवस्तुहरू : 

३.१. बाँझोपन: 

नेपाली समाज बाँझोपनका अनेकन् घटनाहरू र त्यसले निम्ताउने दुर्घटनाको साक्षी हो । दुवै कथाकारले यसलाई विषयवस्तु बनाएका छन् । बाँझोपन पुरुष वा महिला दुबैका कारण देखा पर्न सक्छ तर, महिलालाई सधैं दोषारोपण गरिन्छ । प्रदूषित वातावरण, तनावपूर्ण र अव्यवस्थित जीवनशैलीका कारण पुरुषको वीर्य उत्पादन कम हुनु र महिलामा डिम्ब उत्पादन कम हुनु दुवै बरोबरी मात्रामा हुन्छन्, तर बाँझोपनका कारण महिलाहरू ज्यादा अपहेलित हुन्छन् । यस वास्तविकता दुवै कथाकारले आ-आफ्ना परिवेश, कथाप्रसङ्ग र पात्रमार्फत प्रष्टसाथ् सम्बोधित गरेका छन् ।

हरिशजीको  मोहभंग नामको कथामा सन्तानविहिन दाजु गोपाल र भाउजु लक्ष्मीले, देवर गोविन्द, (मास्टरसाब) र देउरानी सुभद्रासँग इर्ष्या गर्दै आफूलाई पीडा दिइरहेका हुन्छन् । आफ्नै छोरासरह हुर्काएर गोविन्दलाई मास्टर बनाउनमा लक्ष्मीले जुन मिहेनत गरेकी छन, त्यो अवर्णनिय छ तर देउरानी सुभद्राको आगमन र उसमार्फत बच्चा जन्मिएसँगै त्यो घरमा दाजु-भाउजुले जुन मनोवैज्ञानिक अपराधबोध गर्छन, यसको चित्रण हुरुक्क बनाउने खालको छ ।

  • “बच्चालाई नलिनुस भन्न सकिनस त् तैंले ?”, गोविन्द भन्दै थियो । यो काँडारुपैयाँ वाक्यले तिनको हृदयलाई छियाछिया बनाइदियो । सुभद्रा फेरी भन्दै थिइन्, “थाहा छ त्यस्ती ‘बाँझी’हरूले छोयो भने केटाकेटीहरू कहिल्यै सप्रिदैनन् । हेर विचरो…। कति दुब्लो भइसक्यो ।” सुभद्रा अगाडि खेल्दै गरेको छोरो सुम्सुमयाउन थाली । (मोहभंग, पृ. २४)
  • यस कथामा लक्ष्मी निरह छिन्, उनी विद्रोह गर्दिनन् । यसमानेमा लक्ष्मी कम्जोर ठहर्छिन् ।

रेणुकाजीको ‘सनेस’ नामको शीर्षकथामा सन्तोषीले उसैगरी देवर-देउरानीसँग इर्ष्या, जलन व्यक्त गर्छिन् । सन्तोषीको श्रीमान् उसलाई वास्ता नगरी अर्को मगर्नी श्रीमतीसँग रमाउछ । सन्तोषी १३ वर्षदेखि सिन्दुर हालेर श्रीमती तुल्याई आफ्नी आमाको लागि बुहारी भित्राइदिएको लोग्नेको घरमा नोकर्नी सरह काम गरिरहेकी हुन्छिन् । यस्तैमा एकदिन देवर घर आइदिन्छन् । हुबहु दाजुजस्तै देखिएको उसले भाउजुलाई छुँदा भाउजुमा जसप्रकार यौन भाव प्रकट हुन्छ, त्यसले विजय मल्ल/विपी कोइरालालाई सम्झाइदिन्छ ।

  • माइतीमा धमाधम बैनीहरूको बिहे हुन् थाल्यो ।..चाडबाडमा बैनीज्वाई घर जिस्कदै माइती आउथे । म उनीहरूको व्यवहारले लोभिन्थे । ..बैनीहरू भेला भएर आ-आफ्ना लोग्नेका कुरा अर्थे । उनीहरूका कुरा सुनेर म आफैँ तात्तिन्थें  । आफैँ सेलाउथें । ब्यारेका बैनीहरूको पेट उस्कन थाल्यो । मलाई आफ्नै बहिनिहरूको पेट देखेर आरिस लाग्थ्यो । बेचैन हुन्थें ।
  • यस कथामा सन्तोषीलाई आफू बाँझो नभएको प्रमाणित गर्न ४५ वर्षको धनि वयस्कसँग बिहे गरेर छोरो जन्माउछिन् तर, यसरि पनि सन्तोषी कम्जोर नै देखिन्छिन् ।
  • दुवै कथाहरूले बाँझोपनको कारण पुरुष पनि हुन्छन् भनेर बोल्न खोजेको तर बोल्न नसकेको पाइन्छ । यसमार्फत नारीलाई यौनको सन्दर्भमा सधैँ त्रास देखाउने र पुरुषलाई यौन स्वच्छन्दताका लागि उकास्ने काम कतै हुन् पुग्यो कि भन्ने लाग्दछ ।

३.२. कन्डम (परिवार नियोजन, एचआइभीएड्स र सामाजिक यौन मनोविज्ञानका प्रसंगहरू)

म आफू हुर्कदै गर्दा चाल पाउँछु कि, एचआइभी एड्सको डरको जबर्जस्त बोलवाला थियो । स्कुलकालीन दिनमा रेडियोमा बज्ने ‘ढाल नै हो’ भन्ने विज्ञापनलाई बडो रुचिपूर्वक सुन्ने र सुनाउने गर्थ्यौं । तर, दुर्भाग्य  समवयस्ककी केटि साथीलाई जिस्काउन हामीले सो वाक्य दोहोर्याउन थाल्यौं । भनेको प्रत्युत्पादक भइदियो । मातृ तथा वाल स्वास्थ्यमा उल्लेखनीय सुधार ल्याई जिवनको गुणस्तरियतालाई सुदृढिकरण गर्नका लागि नेपाल सरकारवाट परिवार नियोजन सेवा निशुल्क रुपमा सर्वसाधरण जनताहरुमा पुर्याउन सरकारले गरेको एउटा गतिलो प्रयास लाग्छ मलाई यो । सुखि परिवार निमार्णका लागि प्रजनन उमेरका महिला तथा पुरुषमा जनचेतना फैलाउने उदेश्यले रेडियोले फुकेको सो विज्ञापनलाई तत्कालिन समाजले बुझाउन भन्दा लुकाउन खोज्यो र, त्यसले थोरबहुत उत्तेजित बनाई बालक दिमागलाई दु:ख पनि दिएको म अहिले चाल पाउँछु ।

यो प्रसंग सम्झिनुको कारण कन्डम, परिवार नियोजन र एड्स तीनै कुराले एकसाथ मेरो बाल्य मस्तिष्कमा प्रवेश पाएका थिए । मलाई लेखकद्वयले सोही मनोदशामा पुर्याई अनेकन् प्रश्नहरू बोकाइदिएका छन् ।

हरिशजीको ‘बिहे’ शीर्षकको कथाले दुई दिदिबहिनि (असिमा र अमिना) लाई मूल पात्र बनाई अमेरिका बस्ने धनाढ्य केटासँग भएको एड्स रोगलाई सम्बोधन गरेर कथानाक अघि सार्छ । सामान्य आयस्रोत भएका मध्यमवर्गीय दिदि-भिनाजु आफ्नी सलाईको धनाढ्य केटासँग बिहे हुन् लागेको खबरले उत्साहित छन् । तर, कालान्तरमा केटोलाई एड्स भएको खुल्न आउँछ । धन भन्दा स्वास्थ्य ठुलो भएको म्यासेज यहाँ छ ।

  • “हामीले दुई-तीन ठाउँमा छेक गराईसक्यौं । सबैतिर उही रिपोर्ट छ । त्यति मात्रै होइन, हामीले अमुको पनि छचेक गराइसक्यौं । अमुलाई पनि एड्स सरिसकेको छ ।..” (बिहे, पृ. ३२)
  • यस कथाले हरेक एचआइभी सङ्क्रमितहरू एड्स लागेका हुँदैनन् भनि भन्न बिर्सिएको छ । संसार हाल एचआइभीलाई रोगभन्दा सङ्क्रमणको रूपमा हेरिरहेको छ । अहिले एचआइभी सङ्क्रमितहरू अन्य सरह सहज र लामो जीवनको सुनिश्चितता प्राप्त गरिरहेका पाइन्छन् । एचआइभी सङ्क्रमितहरूको विपक्षमा यस कथामा उभिएको प्रतित हुन्छ, अन्यथा कथा प्रवाह रुचिकर र कथाशील्प प्रशंसनीय छ ।
  • रेनुकाजीको ‘प्रश्न’ शीर्षकको कथामा ‘कन्डम’ मूलपात्र (कथानक) छ । चन्द्रे नामको सहपाठी चन्द्रेमार्फत बेलुन भनि दिलाइएको ‘कन्डम’ले  म पात्रको मनमा हठात् उत्पन्न उत्साह, कौतुहलता र दाईमार्फत पाएको चड्कनलाई अनेकन् प्रश्न सहित सम्बोधित गरेको छ । जस्तै: एकै उमेरको केटालाई ‘कन्डम’ के हो भनेर थाहा हुनु तर, सोही उमेरकी केटिलाई थाहा नहुनुले नेपाली लैंगिक समाजमा ‘कन्डम’ एक विभेदकारी प्रतिकको रुपमा चित्रित भएको  दर्शाउँछ । साथै, यौन सचेतताको प्रसंगमा किशोरीहरू किशोरहरूभन्दा कम्जोर छन् भन्ने वास्तविकतालाई उजिल्याएको छ ।
  • “वर्षौपछी । आज पनि म गला सुम्सुमाउदै कहिलेकाही सोच्छु, “गल्ती कसको थियो ? मेरा या जानाजान म र सावित्रिसित त्यस्तो भद्दा मजाक गर्ने चन्द्रकान्तको ? अथवा मेरो बालसुलभ क्रियाकलापमा छोरी मान्छेले अनुशासनको सीमा नाघेको भनेर पुरष अहम बोकेका देवन्द्र दाइ या बाको ?” (प्रश्न, पृ. १५)

यी दुवै कथाले एड्स र एचआईभी भनेको  डरलाग्दो रोग हो, यौन हाउगुजी हो या कन्डम जस्ता परिवार नियोजनका साधनहरूबारे सोच्नुसम्म हुँदैन भन्ने मानिसिकता बोकाउने सामाजिक संस्कारलाई प्रश्न गरेको छ । यद्यपि, नेपाली समाजलाई यौन स्वतन्त्रता र अधिकारको बारेमा सचेत गराउन पूर्णत सकेको छैन । पुरुषसत्ताको अभ्यास र त्यसको मलजलमा उम्रेर, हुर्केको सामाजिक यौन मनोविज्ञानका विविध आयामहरू अझ सम्बोधित भइदिएको भए गजब हुने थियो भन्ने लागेको छ । (लाग्न त पायो नि । )

३.३. भ्रूणहत्या, जन्मान्तर र गर्भाधानका प्रश्नहरू

कानून (मुलुकी अपराध संहिता, २०७४, परिच्छेद १३) ले रोकेता पनि छोराको आसमा गर्भमै छोरीको हत्या गर्नेको संख्या ठूलो छ, नेपालमा पनि । गर्भपतनका प्रायः घटना भ्रूणको लिङ्ग पहिचानपछि हुने गरेका छन् । यस विषयलाई सम्बोधन गर्ने क्रममा दुवै लेखकले माथिझैँ विरोधाभाष देखाएका छैनन् । यस अपराधको विरुद्धमा दुवैले स्पष्टतासाथ् बोलेका छन् । जन्मान्तर र गर्भाधानका विषयमा महिलाको इच्छाको ख्याल राखिनुपर्ने जोडदार माग राखेका छन् । यसलाई चाहिँ निष्कर्ष पस्किएका कथाहरू भने मैले ठान्ने दुस्साहस गरेको छु ।

हरिशजीको ‘मेरी प्यारी छोरी’ नामको कथाले छोरी फ्याक्ने सामाजिक मनोरोगलाई विषयवस्तु बनाएको छ । आमा, पेटको बच्ची, ठुली छोरी, हजुरआमा गरि ४ पुस्ता मुख्य पात्र रुपमा देखिएका छन् । यसमा बाबू हिमांशु सहित ठुली छोरी भ्रूणहत्याको विरुद्धमा बोलिरहेका छन् । हजुरआमालाई गलत देखाउन कुनै कन्जुस्याई गर्रिएको छैन । यो अग्रगामी चेत पस्किने कथा हो तर, नेपाली समाज हिमांशु जस्ता बाउ आज कति होलान् ? आज थोरबहुत देखिएलान् तर ०५२ सालतिर यस्ता बाउहरूको संख्या ‘डाइनोसरोन्मुख (लोपोन्मुख)’ थियो । यसकारण भन्न सकिन्छ, कि हरिशजी कहिकतै समकालीन परिवेश र प्रभावबाट आफूलाई अछुतो राख्ने जमर्को गरेका छन्, जो झन् दामी कुरा हो । झन् दामी कुराका लागि हरिशजीलाई बधाई ।

“..हिमांशु भन्छ- “आमा पुरानो विचारधाराको होइसिन्छ । उहाँ बुझीसिन्न, तर हामी त एजुकेटेड हौँ । थाहा भयो, तिमीलाई के चिन्ता परेको रहेछ भनेर । हिजोदेखि नै तिम्रो अनुहारको रंग फुंग उडेको थियो । …छाडिदेउ यी छोराछोरीको भेदभाव । आजकलको जमानामा छोरो नै चाहिन्छ भन्ने होइन । छोरीले पनि सब गर्न सक्छ ।..” (मेरी प्यारी छोरी, पृ. ८८)

  • यस कथाले ‘छोराले वैतरणी तार्छ’, ‘गाई भए गोरस, छोरा भए भरोस’, ‘छोराले घरको कुल थाम्छ’, ‘छोरा सधैँ आमाबाबुसँग हुन्छ, तर छोरी पराईको घर जान्छे’, ‘छोरा बुढेसकालको सहारा, छोरी दायित्व हो’, ‘छोरा सुरक्षा हो’ जस्ता अनेक गलत मान्यता र धारणाकै कारण छोरी गर्भमै तुहिने वास्तविकतालाई प्रश्न गर्दछ । सामन्य भाषाशैलीमा अघि बढेको यस कथाको विषयवस्तुलाई छाड्ने हो भने मध्यमस्तरको कथा भन्न मिल्दछ, यसो हुनुको कारण- यो विषय मूलभूत रूपमा कथाकारले अघि नासारेकाले हो ।

रेणुकाजीको ‘अस्वीकार’ नामको कथाले हवल्दार्नी दिदिको जीवन वृतान्त कहने क्रममा भ्रूणहत्याको विरोध सँगसँगै महिला स्वाभिमानताको पक्षलाई अगाडि सारेको छ । कथामा हवल्दार्नी दिदि एक प्रेरक व्यक्तिको रूपमा चित्रित हुन्छिन् । नेपाली समाजमा यस्ता महिला पात्र निकै छन्, तर तिनलाई नायक बनाइदैन । नारिका दु:ख, आत्मस्वभाविक, बलिदानको कथाहरूलाई कि ‘बिग’ बनाइन्छ कि ‘स्याडो’मा राखिन्छ तर, त्यसलाई सलल प्रवाह छाड्न कन्जुस्याई गरिन्छ, तर लेखकले त्यो गरेकी छैनन् । मलाई लाग्छ, हरेक प्रेरक कथाको उज्यालो र अँध्यारो दुवै पक्ष हुन्छ । त्यो यस कथामा आएको छ । हवाल्दारनी दिदिजस्ता पात्रहरूको कथा लेखिए मात्रै नेपाली कथा ढुकुटीको ‘ग्यास्ट्रिक’ निको हुने थियो ।

भलै, यस् कथामा हरिशजीको कथाको हिमांशु जस्तो बाबू पात्र छैन । यहाँ उल्टो लोग्नेले “छोरीको अनुहार त तिम्रो अघिल्लो हाकिमको जस्तो पो छ” भनिदिने लोग्नेमानिस छ। सायद एक महिला भएर हेर्दा महिलाले त्यस्तो लोग्ने मान्छे नदेखेकी हुन् । त्यस्ता लोग्नेमानिसहरू पनि छन् भन्ने काम चाहिँ हरिशजीले गरेका छन् । मलाई यो दुई कुरालाई नियालेर हेर्न मजा लागेको हो । पूरुष कथाकारले देखेको ‘त्यस्ता लोग्नेमान्छे’ महिला कथाकारले किन नदेखेको होला भन्ने ‘भीमकाय प्रश्न’को उत्तर नेपाली समाजले खोज्नुपर्छ, खोजिहालोस् ।

यसैगरी, रेणुकाजीले कथामा छोरी पात्रलाई पुरुष अहंकारविरुद्ध बोल्न प्रेरित गरेकी छन् । छोरी फ्याल्ने पुरुष अहंकार विरुद्ध जेठी छोरीको उद्घोषण गजब लागेको हो । आजका मेरा बहिनिहरू र महिला साथीहरूलाई भेटें मैले यहाँ ।  तर, मेरा दिदि/भाउजुहरू यस्ता थिएनन्/छैनन्, यो अर्को समस्या छ ।

“दिदिकी जेठी छोरीले मेरो हातमा चिया थमाउँदै भनि, “आन्टी, कानुनले बराबरीको हक दिएको छ । आमाकै एक्लो प्रयास हाम्रो पढाइ र घर चलेको छ । अब पनि आमाले किन हिँसा सहनु ?” (अस्वीकार, पृ. ३५)

= कथाकारद्वय आआफ्नो वैचारिक धरातल सहित एकै विषयमा प्रष्टसाथ् बोलेका छन् ।  पितृसत्तात्मक सामाजिक संरचना, लैंङ्गिक, सामाजिक, सांस्कृतिक र आर्थिक विभेदका शृंखलाहरूले आमा, हजुरआमा र दिदि/भाउजुहरू शोषित एवम् जोखिमपूर्ण स्थितिमा रहेको र, अबका बालिकाहरू यसबाट उम्किउन र बालिकाको विकासको मूल अवरोध सामाजिक विभेद, सांस्कृतिक तथा हानिकारक परम्परावादी प्रचलन हटोस् भन्ने आग्रह दुवैमा पाइन्छ ।

३.४ समकालीन विविध विषयहरूको उठान

‘कथा सङ्क्षिप्त एवम् प्रभावपूर्ण रूपले विषयलाई प्रस्तुत गरिएको आख्यानात्मक गद्य रचना’ भएकाले मुन्तिर पनि मैले विषयवस्तु (केन्द्रीयकथ्य वा उद्देश्य) उठानलाई हेरेको छु; भाषाशैली, दृष्टिबिन्दु,पात्र, परिवेश, कथानक मुल्तबीमा छँदैछ । पाठकका मनमा आशङ्का, भ्रम तथा संशय उठाउने प्रयास गरेका छन्, तर त्यसमा  क्षीणता वा  पन्यालोपन देखिन्छ । प्रारम्भको विषयको प्रस्तुति, पात्रपरिचय र परिवेश कथाको गतिमा अगाडि बढ्दै जाँदा अशिथिलता  वा ह्रासोन्मुख हुँदैनन्, यो मलाई कृतिद्वयमा मनपरेको अर्को घतलाग्दो कुरा हो । कथाहरूमामा विपरीत कोणबाट कार्य गर्ने प्रतिकूल पात्रहरूको कमिले ‘एक्साइटमेन्ट्स’ भने मागेको छ । अन्यत्र देखिने देश र कालको अनर्थिकरण भने यहा छैनन् ।   समाख्यानात्मक लेखन हुनाले कथाहरू दृश्यात्मक नै छन् । नीतिचेतना र सुधारवादी भावना भएका कथाकारद्वयले यथार्थबोध, मनोवृत्तिको वर्णनमा भने के कागताली आइपरेर कन्जुस्याई गरेका हुन्, थाहा पाउन सकिएको छैन ।  साथै, युगसापेक्ष विचार, मनका तहको विश्लेषण, प्रगति वा व्यङ्ग्य प्रस्तुत गर्ने काममा कथाकारहरू लोभी भएका छन् । यसप्रकार, मध्यम पाठकलाई लागि यी कथाहरूले  स्पष्ट र मिठासपूण गफसफ गर्ने कुरामा सन्देह नै रहेन ।

यो प्रष्ट छ कि हरिशजी प्रेम, यौनको रोमान्टिसिजममा बेसी लागेका छन्, रेणुका जी महिलावादको स्वर उचो बनाउन । फेरी पनि,  कथाकारद्वयले सम्बन्धको सामाजिकीकरणकै अनेकन् आयामलाई आ-आफ्ना कथावस्तु बनाएका छन् ।

  • ग्याब्रियलेतर्फ:

१.  प्रगाढ प्रेम चाहना भएर पनि एकार्काको हुन नसकेको युवाजोडीको दुर्दशाको कथा हो  ‘पुष्पलता’ । पठनयोग्य छ ।

२. मोहजाल नामको कथाले वैदेशिक रोजगारले विदेशिएका छोरा-छोरी र घर कुरिरहेका वृद्ध बा-आमाका कथा भन्छ । अंग्रेजी बोल्न नजान्ने नातिको प्रसंगले लेखकको नेपालप्रतिको माया देखाउँछ । हरिशजी जापानदेखि किन नेपाल फर्किए भन्ने कुरा यहाँ पाएँ ।

प्रथम विश्वयुद्ध पश्चात् नेपाली युवाहरू ब्रिटिस सेनामा भर्ती भएपश्चात् नेपालीहरूको वैदेशिक रोजगारीले पाएको व्यापकतामाथिको कठोर प्रश्न पनि हो- कथा मोहजाल । यद्यपि यस कथामार्फत नेपालको अर्थतन्त्र, राजनीतिक दुराग्रह, देशमा नयाँ रोजगारका अवसर सिर्जना नहुनुको यथार्थताहरूलाई सम्बोधन गर्न सकेको छैन । सामाजिक मूल्यका रूपमा वैदेशिक रोजगारले निम्ताएको पारिवारिक विखण्डन तथा पारपाचुके जस्ता समस्याहरूको सम्बोधन पनि यहाँ छैन । कथा पढीसक्दा यी कुरा कहिँकतै सम्बोधित हुनु पर्ने थियो भन्ने लाग्छ ।

३. उहाँहरू आउनुभयो ममी ?, कथाले विहेको दिन एम्बुसमा परि दुलाहा मारिएपछी दुलहीको एक्लो बर्बराहटलाई विषयवस्तु बनाएको छ । यो सामन्य विषयमा लेखिएको सामन्य कथा हो ।

४. मूल कथा ‘ग्याब्रियले’ले जापानी महिलासँगको वैवाहिक जीवन, जापानी महिलाहरूको सोचाइ, अवस्था र बाबुको छोरीप्रतिको स्नेह आदिलाई देखाएको छ । जापानमा नेपालीहरूको पनि आत्महत्या बढ्दै छ भन्ने तथ्यांकहरू छन् । यस कथा जापान जाने तरखरमा रहेका प्लस टू पछिका भाइबहिनिलाई आकर्षक सिद्ध हुन् सक्छ, उनीहरूलाई यो कथा पढाइनुपर्छ । कथामा लेखकले मेसिनको समाजमा मानव समवेदनाको खोजी गरेका छन् । साथै, ह्वात्तै बढेको पछिल्लो एकल पारिवारिक् संरचनामाथि पनि यहाँ प्रश्नहरू गरेका छन्  । एकल परिवारका कारण सबैभन्दा बढी लाभ चाहिँ व्यापारी वर्गलाई हुन्छ, नेपालमा त्यो देखिन थालेको छ (उदाहारण: संयुक्त परिवारमा डाइपर चाहिन्नथ्यो) । यसैगरि, एकल परिवारमा हुर्केको बच्चाको भविष्य केकस्तो होला भन्ने विस्मयकारी प्रश्न पनि यस कथाले उठाएको छ ।

५. ‘बधाई छ देवयानी’, ‘कृष्ण सर’, ‘अनिमाकेईको सेनसेई’ लगायतका कथाहरूले प्रेम, समर्पणका किस्साहरू भन्न खोजेका छन् ।

सरसर्ती भन्दा, यी कथाहरूमा अतिशय भावुकता छन्, तिनले पाठकलाई छुन्छन् तर कथा हृदयको लागि वा मस्तिष्कको लागि पनि हो भन्ने प्रश्न चाहिँ उब्जाइदिन्छ । म कुनै पनि कथाको विषयवस्तु के हो भन्दा पनि किन भनिरहिएको छ भन्ने महत्त्वपूर्ण ठान्छु । यी कथाहरू किन भनिएका हुन् प्रष्ट छैनन् । यद्यपि, वर्ग संघर्षका केहि पाटाहरूमा लेखकको बलियो उपस्थिति छ । साथै, हरिशजीले लैंगिक तथा अल्पसंख्यक समुदायको कथा भन्ने आँट गरेर गजब गर्नुभएको, अन्तिम कथा पठनयोग्य छ ।

  • सनेसतर्फ

१. सलमा म्याडम, मनपर्दो कथा छ । मूल पात्र अब्दाको सलमा म्याडम बन्नु सम्मको यात्रा वृतान्त हो यो कथा । यो एक आशावादी कथा हो । सामाजिक, पारिवारिक अप्ठ्याराहरू चिर्दै उनी यस यात्रालाई सम्पन्न गर्छिन् । अब्दाको घर र ससुराली दुवैतिरका पुरुषहरू छोरी/बुहारीलाई पढाउनुलाई सजिलोसँग लिइदैन तर अब्दाको आमा र सासु छोरी/बुहारीले पढून भन्ने चाहन्छन् । अब्दाको श्रीमान् सागिर भने अब्दालाई पढ्न अभिप्रेरित गर्दछ, वातावरण मिलाउँछ । अब्दाले बिहेपछि पनि पढ्न पाएकी छन् यसैकारण ।

यस कथाले मधेशी महिलाको शैक्षिक अवस्थालाई चित्रण गर्दै शिक्षाको पहुँचबाट वञ्चित रहेका किशोरीहरूको बोली बोलेको छ । शिक्षा, वैवाहिक स्वतन्त्रता तथा आर्थिक स्तन्त्रता एकार्काको परिपुरक हुन् भन्ने कुरा प्रष्ट साथ् राखेको छ । प्राचिन इतिहास हेर्दा, वौद्व शिक्षा प्रणाली होस् वैदिक नारिहरूको कुरा होस्, उनीहरू वेदाध्ययन, अध्ययनबाट वर्जित थिएनन् । ‘महिला अविवाहित अवस्थामा बाबु र दाजुभाइको नियन्त्रणमा,  विवाहपछि लोग्नेको र विधवा भएपछि छोराको नियन्त्रणमा’ रहनुपर्छ चेत (मनुद्वारा) विकसित भएसँगै त्यो परम्परा टुटेको हो । नेपालको हकमा बालविवाहको कुसंस्कारले महिलालाई शिक्षाबाट बन्चित राखेको थियो । यसक्रममा,  महिला शिक्षाको औपचारिक सुरुवात भने विरशमशेरको पालामा (वि.सं. १९४२–१९५८) भारतबाट ठमेल आई बसेकी गङगावाईको ‘BASIC PRIMARY EDUCATION’बाट भएको मानिन्छ । यसपछि, स्वभाविक रुपमा बालिकाहरू विद्यालय पठाइन थालिए तर, साक्षर हुनु र शिक्षित हुनु फरक कुरा हो, यो प्रश्न पनि यहाँ उठेको छ, जुन सुन्दर प्रश्न हो ।

२. अवाक :  यस छोटो कथाले एकसाथ धेरै कुरा भनेको छ । कथावस्तु सुरुदेखि अन्त्यसम्म अमूर्त, अस्पष्ट र प्रयोगात्मक ढाँचामा सरासर अगाडि बढेको छ । यसैकारण कथा सुन्दर र जीवन्त पनि हुन् पुगेको छ ।

धर्म, बलिप्रथा र महिलालाई एकसाथ गजबले चित्रण गरिएको छ । एकातिर दुर्गा नाम गरेकी बालिका छुइ भएर दशैँमा दुर्गाको प्रसाद (अक्षता) थाप्न पाइरहेकी छैन भने अर्कोतिर शान्ति नामकी कुमारी बालिकालाई बलि खुवाई (मनु पाठीको) देवी बनाइएको छ । यस कथालाई कुनै निर्देशकले फिल्ममा देखाउन पनि सक्छ, कथामा प्रस्तुत गरिएका घटनाहरू उत्तिकै दृश्यात्मक पनि छन् ।

यस कथाले ‘मर्यादित महिनावारी’ का अनेकन् आयाम, धर्म/संस्कृतिका रुढताबारे जबर्जस्त पाराले प्रश्न गरेको छ । महिनावारीकै कारण नेपाली हिन्दू समाजमा महिला हिँसादर बढेको हो भन्ने निष्कर्ष पंक्तिकारको छ, यसबारे फुर्सदमा गफ गरौँला ।

३. सनेसका अन्य कथाहरू: 

लेखक महिलाले राजनीतिक, आर्थिक, सामाजिक, साँस्कृतिक आकाङ्क्षाहरु परिपूर्ति गर्ने क्रममा व्यहोर्नुपरेका अनेकन्  शारीरिक, मानसिक, सामाजिक समस्याहरूमै केन्द्रित छिन् । बालमनोविज्ञान, यौन मनोविज्ञानका कथाहरू भन्न लेखकले जानेकी छन् । पहाडदेखि मधेसको परिवेशमा बसेर लेखिएको महिलाको अस्तित्व, पहिचान र स्वाभिमान कथाहरू हो- सनेस । बेलामौकामा पर्वत पुगिरहेकाले होला  आञ्चलिकताको स्वादलाई पनि मजा माने । रेणुकाजीले फरक विषयमा लेख्नुहुँदा कस्ता कथाहरू आउलान् भन्ने कौतुहलता मकन रहिरहेको छ ।

अन्त्यमा,

सामाजिकीकरणको जिम्मा सुम्पिएका (या लिएका ?) सामाजिक सञ्जाल, युट्युब, अनलाइन र पत्रपत्रिकाहरूले प्रेम र यौनलाई छरपष्ट पारिदिएका वर्तमान् परिवेशमा यी दुई कथाकारलाई पढ्दा नेपाली समाजसँग साङ्गोपाङ्गो उठबस् हुन् पायो । यो पठन संवादात्मक रह्यो, किनभने मकन यतिबेला अझ धेरै प्रश्नहरू छन् । मलाई प्रश्नहरूले भरिदिएको लेखकद्वयलाई धन्यवाद  ।

कथा, परिवेशको विश्लेषण एवम् पात्रको शैलीविज्ञानबारे केलाउन फुर्सद नै भएन, हुँदो हो त अलि बेसी बोल्थे होला ।

लौ त, अस्तु  !

(लेखकले यी दुई पुस्तकमाथि बुकाहोलिक्सको ८३औँ संस्करणमा पनि बोलेका थिए ।)#राजु झल्लु प्रसाद

(प्रकाशन: २०८०, बैशाख ९, शनिबार १३:०५, साहित्यपोस्ट)

Leave a Reply