वार्सन सियरका ६ वटा दमदार अनुदित कविता

You are currently viewing वार्सन सियरका ६ वटा दमदार अनुदित कविता

वार्शन सियर (१ अगस्ट १९८८) एक दुर्लभ कवि हुन्, जो अफ्रिकाको युरोप बसाइँसराइबारे खुल्लम्खुला लेख्न आँट गर्छिन्, भिएच वान (VH1) रियालिटी सो ‘प्रेम र हिप-हप : एटलान्टा’को बारेमा हास्यास्पद ट्विट गर्छिन् ।

लेखक एवं पाठकहरूको प्रत्येक पुस्ताले हाम्रो जीवनमा कवितामार्फत आदर्शको चित्रण गरिरहने गर्दछन् । तर संकुचनमा पारिएको क्षेत्रहरूको बारे ऊ शोकसम्म व्यक्त गर्ने साहस गर्दैन । र, त्यहीँ एक यस्ती कविको अनुहार प्रष्टसाथ विश्वसामू आउँछ, जो सोमाली-ब्रिटिस महिला हुन् तर उनको कविता लेखनको छुट्टै अन्दाज-ए-बयाँ छ ।

सियर सन् २०१४ मा लन्डनको वास्तविक युवा कवि पुरस्कार (Young Poet Laureate of London)  विजेता हुन् । सोमालियाका बाबुआमाको सन्तानको रुपमा केन्यामा जन्मिएकी सियर लन्डनमा हुर्किन् । युरोपको रंगीचंगी वातावरणमा बसेर उनी अफ्रिकाको अँध्यारो समाज र परिस्थितिलाई आफ्नो मनमगजमा सँगालिरहकी छन् । आफ्नो देश र आफ्ना पुर्खाहरूको संस्कृतिप्रति उनी झ्याम्मिरहन्छिन् ।

उनले एक अन्तर्वार्तामा भनेकी पनि छन्, “हरेक आप्रवासीको जीवन अतियथार्थवाद जस्तो हुँदोरहेछ । एक दिन तपाइँ आफ्नो देशमा हुनुहुन्छ, रमाइलो वातावारणमा झुमिरहनु भएको छ । आँपको जुस पिएर रमाइरहनु भएको छ तर अर्को दिन नै तपाइँ लन्डनमा भूमिगत जीवन बिताइरहनु भएको छ र तपाइँका बच्चाहरू एउटा नबुझिने भाषामा बोलिरहेका छन् । यो कति दुर्भाग्यपूर्ण छ !”

उनको ‘घर’ शीर्षकको कविताले हरपाठकलाई उत्तेजित पार्ने गर्दछ- एक उदासीन उत्तेजना । उनको आफ्नो विगत पनि सोही कविताजस्तो छ । उनका आमाबाबु, हजुरबा‑हजुरआमा, काका-काकी, अझै पनि त्यही जीवनचर्या बाँचिरहेका छन् ।

पचास हजार ट्विटर फ्लोअर्स र त्यस्तै संख्याका टम्बलर पाठकहरूको माया सँगालिरहेकी एक प्रशंसनीय युवा कवि सियर आफ्नो पुर्खा र जन्मभूमिको कल्पनामा हराइरहकी हुन्छिन् ।

सन् २०११ मा शायरले टिचिङ माइ मदर हाउ टु गिभ बर्थ (Teaching My Mother How to Give Birth) प्रकाशित गरिन् । जहाँ कविताका अतिरिक्त कामुकता, बुद्धिमत्ता र शोकको छ्यासमिसे कोलाजहरू छन्।

“मसँग मेरी आमाको मुख छ र मेरो बुबाका आँखा छन्,

मेरो अनुहारमा तिनीहरू अझै एकसाथ छन्।” – उनले संग्रहमा लेखेकी छन् ।

‘सौन्दर्य’ नामक कवितामा  उनी कसैकी दिदीको बारेमा बताउँछिन्:

“कति कति रात मैले उनको कोठामा चिच्याहट सुन्ने गर्थें,

हामी त्यो आवाज भुलाउन ‘सुरा अल बकरह’ खेल्थ्यौं,

उनको मुखबाट आउने जुनसुकै कुरा यौन जस्तो लाग्छ,

हाम्रो आमाले उनलाई प्रतिबन्धित गरिसक्नुभयो ‘परमेश्वर’को नाममा ।”

[भावार्थ : ‘सुरा अल बकरह’- कुरानको दोस्रो र सबैभन्दा लामो  च्याप्टर]

‘तिम्री आमाको पहिलो चुम्बन’ मा उनी लेख्छिन्,

“तपाईंकी आमालाई चुम्बन गर्ने पहिलो केटाले

पछि उनैलाई बलात्कार गरे

जब युद्ध सुरु भयो।“

प्रस्तुत छ, वार्सन सियरका कविताहरू

१. घर 

घर किन छोडोस् कोही व्यक्ति

तबसम्म जबसम्म घर विषालु सार्कको जिब्रो नलागोस् ?

तिमी बस्, भागिहाल्छौं सीमापारि

जब पत्तो पाउनेछौ तिमीले

सम्पूर्ण शहर नै भागिरहेको छ

टाउकोमाथि आ-आफ्नो पैताला राखेर

तिम्रो छिमेकी भागिरहेको छ, तिमीभन्दा रफ्तारमा

रगतमा लात्पिएर अड्किएर रहेको छ उसको श्वास, उसकै घाँटीमा

त्यो केटा जसको साथसाथ तिमी स्कुल आउ-जाउ गर्थ्यौ

जसले लिएको थियो विवाहको घुम्टो भाँती तिम्रो चुम्बन

जस्तापाताको त्यो पुरानो कारखानाको पछाडि

उसले समाएको छ स्वयं हातमा एक लामो बन्दुक

तिमी बस्, भाग्न सक्छौ

जब घर स्वयं तयार छैन तिमीलाई आश्रय दिनका लागि भने

कोही यसै घर किन छोड्छ  ?

तबसम्म जबसम्म घर स्वयं तिम्रो पछाडि नलागेको होस् !

पैतालाले आगोको ज्वाला नभेटेको होस् !

तातो रगत तिम्रो पेटदेखि नबगेको होस्  !

तिमीले सपनामा पनि कहाँ सोचेका थियौं र

कि कुनै दिन यस्तो पनि आउला !

अनन्तसम्म फैलिरहनेछ तिमीविरुद्ध सन्देहहरू

र, रहिरहनेछ तिम्रो घाँटीमा आरनको रापमा पोलिएर रातो भएको छुरा

र, त्यतिखेर पनि जतिखेर तिमी लैजानेछौ लुकाउँदै

आफ्नो फोक्सोभित्र आफ्ना मौलिक गीतहरू

त्यतिबेला टुटेफुटेको तिम्रो पासपोर्ट

कुनै हवाईअड्डाको शौच क्षेत्रमा

कागजात भरिएको मुखदेखि चित्कार ओकल्नेछ

यो पक्का गर्दै कि अब कहिल्यै

जान पाउनेछैनौं तिमी फर्किएर फेरि आफ्नो घर

तिमीलाई सम्झना होला

कि कोही आफ्नो कलेजोको टुक्रालाई

तबसम्म यसै धकेली दिँदैन कुनै नौकामा

जबसम्म पानी सबैभन्दा सुरक्षित नलागोस् उसलाई

पैताला मुनिको जमिनमा भन्दा

कोही पनि खप्नै नसक्ने गरी सेक्न चाहँदैन आफ्ना हत्केलाहरू

रेलका डब्बाहरूभित्र, गाडीका छतहरूमा

कोही बिताउन चाहँदैन, आफ्नो रात र दिनहरू भोकभोकै

भोको पेटहरूले भरिएको ठूला-ठूला ट्रकहरूमा

अखबारहरूमा खाना चपाउँदै माइलौं लामो यात्रामा निस्कन चाहँदैन कोही

– यो एक यात्रा मात्र कदाचित होइन ।

कोही पनि रुँघ्न चाहँदैन काँडेतारको बार फेरिफेरि

कुटाइ खान चाहँदैन कोही

कोही चाहँदैन कि दया देखाओस् कसैले उसमाथि

शरणार्थी शिविर कुनै मतदान केन्द्र होइन

कोर्रा कसैलाई ठिकठाक लाग्दैन

यो खोज्दै कि आफ्नो जीउमा

अब कहाँ कहाँ चोट लाग्न बाँकी छ ?

जेल कसैलाई ठिकठाक लाग्दैन

तबसम्म जबसम्म कि सुरक्षित महसुस नगरोस् जलिरहेको कुनै शहर भन्दा !

र, यदि शरण दिन्छ रातको समयमा भने पनि

खचाखच भरिएको ट्रकहरू भन्दा राम्रो लाग्नेछैन उसलाई जेल

जहाँ हरअनुहार उसको बाउको अनुहारसँग मिल्दछ भने पनि

कोही यसलाई सहन सक्दैन

कोही यसलाई पचाउन सक्दैन

कसैको छाला यति मजबुत हुन सक्दैन

आफ्नो नाम र आफ्नो परिवारलाई गुमाएर

वर्षभरि, दुई वर्ष या दश वर्षका लागि

खोज्दै कुनै आश्रयस्थल या बासस्थान

नाङ्गोबाङ्गो यताउता भड्कदै गर्दा

हर कहीँ बाटोमा भेटिनेछन्- जेलहरू

र, यदि बाँची पनि हाल्यौ जिउँदो भने

कुन शब्दहरूले सत्कार हुनेछ तिम्रो ?

‘निस्क, निस्किहाल…,

आ-आफ्नो घर जाओ-

अश्वेतहरू,

शरणार्थीहरू,

गन्हाउने आप्रवासीहरू,

यी आश्रय खोज्दै हिँड्नेहरूले

चुसिसकेका छन् हाम्रो देशलाई

यी कंगालहरू,

यी हब्सीहरू,

एक अजीव दुर्गन्ध बोकेर आउने जंगलीहरू,

तिमीहरूले तहसनहस पारेर छोड्यौ आफ्नो देश,

के अब तहसनहस पार्न चाहन्छौ हामीहरूलाई पनि  ?’

‘ढेंडुहरू,

सोहोरेर जाऊ,

आफ्ना काला चाक र पुट्ठाहरू यहाँदेखि !’

उनीहरूको आवाज तब पनि मुलायम हुनेछैन

जब उनीहरूको आवाजको थर्काहटले चोइटिओस्,

तिम्रो-हाम्रो कुनै पनि एक अंग ।

के यी आवाजहरू अधिक चिसा छन् ?

ती चौध व्यक्तिको मृत शरीर भन्दा ?

जो च्यापिएका थिए तिनीहरूकै तिघ्राको चेपमा

या यसप्रकारको अपमानलाई चुपचाप घुट्काउनु अधिक सजिलो छ,

सडक-एवं गोरेटामा तितरबितर भएका पत्थरहरूभन्दा  ?

वा हाडखोरहरू भन्दा ?

या हाम्रा बच्चाहरूको शरीर भन्दा,

जो बाँडिएका छन् टुक्रा-टुक्राहरूमा ?

म घर जान चाहन्छु;

तर घर त कुनै विषालु सार्कको जिब्रो हो

बन्दूकको नाल हो घर ।

र, कोही पनि तबसम्म घर छोड्दैन

जबसम्म घर स्वयं खेद्दै आउनेछैन उसलाई

समुद्रको आखिरा किनारासम्म

जबसम्म घर आदेश दिन विवश हुने छैन;

‘आफ्नो पैतालाको रफ्तार तेज गर,

छोडेर भाग आफ्नो लत्ता-कपडाहरू,

चार हातपाउले घिस्रँदै पार गर मरुभूमि,

महासागरहरूमा हाम्फ्याल,

डूब त्यहीँ,

पौडेर बाहिर निस्क,

भोकभोकै मर,

भीख माग,

बिर्स- आत्मसम्मान, मान-सम्मान,

यतिबेला तिमी जिउँदोरहनु नै सबैभन्दा जरूरी छ ।’

कोही पनि घर छोड्दैन तबसम्म

जबसम्म घर कानमा साउती मार्दै सानो स्वरमा पिल्पिलाउँदैन

‘जाऊ,

म बाट निकै टाढा जाऊ,

मलाई पत्तो छैन के बनिसकेको छु म,

तर यत्ति चाहिँ मलाई थाहा छ कि

दुनियाँको कुनै पनि किनारा

सुरक्षित नै होला म भन्दा ।’

२. कुरुप 

तिम्रो छोरी कुरूप छे,

ऊ जान्दछे कि यस वास्तविकतालाई नजिकबाट,

जो सम्हालिरहेकी छे सम्पूर्ण शहरलाई आफ्नो कोखमा ।

एक निर्दोष बालिका भाँती

आफन्तजनले अँगालोमा लिएनन् उसलाई,

उसले दुई टुक्रा बनाइदिएकी थिई,

जंगल एवं समुद्रको नुनिलो पानीलाई

उहाँहरूबाट हुकुम भएअनुसार उसले,

ताजा गरिदिएकी थिइन् स्मृतिहरू युद्धको

उसको पन्ध्रौँ जन्मदिनको अवसरमा

तिम्ले सिकाएका थियौ उसलाई,

कि कसरी गूँथ्नु पर्छ आफ्नो कपाललाई डोरी भाँती

र, सुवासित गर्नुपर्छ लोबान (धूप)को धुवाँ जसरी

तिमीले गिल्गिलाएर रुझायौ उसलाई

गुलाबको थुङ्गोको शीत जसरी

र, जब उसलाई खोकी लाग्यो, तब भन्यौ,

“तँ जस्तो पतौरी केटीबाट

आउन हुँदैन गन्ध – एकाकीपनको, खालीपनको ।”

तिमी त आमा हौ उसकी,

फेरि किन चेतावनी दिँदैनौ उसलाई

उसलाई थुम्थुमाउँदै, ढलपलाई रहने नौका भाँती

र, सम्झाउँदैनौ कि पुरुषहरू उसलाई मन पराइरहेका छैनन्,

यदि ऊ अदृश्य रहनेछे भने पनि महाद्वीपहरूमा,

यदि उसका  दाँतहरू रहनेछन् भने पनि उपनिवेशहरू भन्दा छोटो,

यदि उसको पेट रहनेछ भने पनि कुनै टापू जस्तो,

यदि उसको जाँघ बनेको छ भने पनि कुनै सिमाना जस्तो ?

के चाहन्छन् पुरुषहरू कि बस् सुतिरहोस्  ऊ

र, देखिरहोस् यस दुनियाँलाई ज्वालासरह

उसको आफ्नो शयनकक्षबाट ?

तिम्रो छोरीको अनुहार

एक छोटोमोटो विप्लव हो !

उसको हात जस्तो कुनै गृहयुद्ध,

शरणार्थी शिविरको

दुवै कानहरूको पछाडि,

लडखडाइरहेछ- एक भद्दा शरीर ।

तर हे ईश्वर,

उसले किन पहिरिएकी छैनन्

ठिकठाक तवरले यस दुनियाँलाई ?

३. के छ हामीसँग ?

हाम्रा पुरुषहरू हाम्रा होइनन्

यहाँसम्म कि मेरो आफ्नै पिता पनि,

जो एक मध्याह्न मलाई छोडेर कहीँ हिँडे,

मेरा होइनन्

मेरो भाइ जेलमा छ,

ऊ पनि मेरो होइन

मेरा काका, जो घर फर्की आएका छन्

टाउकोभरि गोलीले खोपेको प्वालहरू बोकेर,

उनी पनि मेरा रहेनन्

मेरो मामा भान्जा, भाइबहिनी

जसको गर्धनहरू उखालियो गल्लीहरूमा,

निकै धेरै कारण या निकै कम कारण

उनीहरू पनि मेरो रहेनन्

त्यो पुरुष पनि जसलाई म प्रेम प्रस्ताव राख्न चाहन्छु,

भन्छ ऊ, ‘सर्वनाश आफूसँगै लिएर हिंड्छु म,

हरबखत बोकेर हिँड्ने गर्छु म निकै गाढा अँध्यारो आफ्नोसाथ,

बहुत भद्दा लाग्ने गर्छु जब हुने गर्छु म उसको आसपास,

हद भन्दा गएगुज्रिएको छु म प्रेम गर्नका लागि ।’

ऊ छोडेर जान्छ मलाई,

र, म शोकमा डुबिरहन्छु उसका लागि ।

के हामी सिर्फ यत्तिका लागि बाँचिरहेको हौँ ?

भान्छाको मेचमाथि बसेर

औंला भाँचेर हिसाब लगाउन ?

ती जो हाम्लाई एक्लै छोडेर मरे ?

ती जो छोडेर गए, जो आफ्नो भइसकेका पनि थिएनन्?

जसलाई उठाई लिएर गयो पुलिसले,

नशाको लतले लिएर गयो या बिमारीले

या कुनै दोस्री आइमाईले

यो सब कुराको कुनै अर्थ छैन अब ।

नियाल आफ्नो शरीरलाई, उसको अनुहारलाई,

यी ओठहरूलाई, ती आँखाहरूलाई,

हे ईश्वर, सुन त सही ती हाँसोहरूलाई

त्यो अन्तिम अन्धकारलाई,

जसलाई हामी प्रवेश गर्ने मन्जुरी दिनेछौँ,

त्यो पनि तब

जब चन्द्रमा हाम्रो मजेत्रोमा हुनेछ ।

४. प्रेम यस प्रकार गर्नु 

प्रेम यस प्रकार गर्नु

जस्तो केही पनि नरहोस् तिमीसँग

लुकाउनका लागि

यसप्रकार कि

जानेछैनौं तिमी कहिल्यै पनि छोडेर

पुर्याउनेछैनौ कहिल्यै पनि चोट

जसप्रकार पुर्याइरहने गर्छ दुनियाँ

नरहनु तिमी कहिल्यै ऋणी

एकलौटी, कष्टदायक

चीजहरूलाई लिएर पनि ।

५. दुःखी कदापि छैन म

दुःखी कदापि छैन म

तर त्यो केटो

जो खोजीमा निस्किरहन्छ

दुःखी केटीहरूको

हमेशा भेट्टाएरै छोड्छ मलाई

केटी होइन म, अब त म बिल्कुल होइन

र, दुःखी ? कदापि छैन म

तिमी देख्न चाहन्छौ मलाई

एक कारुणिक पृष्ठभूमिसहित

ताकि आफूलाई भेट्टाऔं तिमी

जाज्ज्वल्यमान, चैतन्य या ज्ञानी

र, देख्नेहरू तिमीले सुन्ने गरी यो भनून् कि,

‘क्या बात्, यो केटो हद भन्दा ज्यादा दयालु छैन ?

जो प्रेम गर्छ एक यस्ती केटीसँग

जो हरहमेशा दुःखी एवं कमजोर देखिन्छे ?”

तिमी चाहन्छौ कि बनूँ म

रातको गाढा अँध्यारो आकाश

ताकि तिमी बन्न सक चम्किरहने तारा ?

याद रहोस्,

निल्ने छु

तिमीलाई सम्पूर्णतः…।

६. त्यसपश्चात त्यो रात 

त्यसपछि त्यस रात

मैले आफ्नो काखमा एउटा नक्सा राखें

आफ्नो औंलाहरू दगुराए वरपर

दुनियाँको तमाम किनाराहरूसम्म

र, सुस्तरी फुस्फुसाउँदै सोधेँ उसलाई,

“कहाँ कहाँ घाउ भएको छ ?

कहाँ कहाँ दुखेको छ ?”

उसले जवाफ दियो,

हर ठाउँमा

हर ठाउँमा

हर ठाउँमा ।”

लेखकका अन्य सिर्जनाहरू पढ्न यहाँ क्लिक गर्नुहोस्…#राजु झल्लु प्रसाद

(साहित्यपोस्टमा २०८०, कार्तिक २, बिहीवार १८:०१ मा प्रकाशित)

Leave a Reply