म न्यायको कठघरामा उभिएको छु
प्रकृति एवं मानिस मेरो पक्षमा बोलून्
त्यहाँबाट बोलिरहेको छु
जहाँ मोहनजोदाडोको तलाउको अन्तिम सिँढी छ
जहाँ एक आइमाईको जलेको लास फ्याँकिएको छ
र, तलाउमा मानिसका हाडखोरहरू तितरबितर पारिएको छ
यसप्रकारले एक आइमाईको जलेको लास
तपाईँलाई बेबिलोनियामा पनि मिल्नेछ
र, यसप्रकारकै मानिसहरूको छरिएका मानिसका हाडखोरहरू
मेसोपोटामियामा पनि
म सोच्ने गर्छु,
फेरि पनि सोच्ने गर्छु
कि आखिर के कुरा हो
कि प्राचीन सभ्यताको
मुहानमा एक आइमाईको जलेको लास मिल्दछ
र, मानिसका छरिएका हाडखोरहरू मिल्दछन्
जसको सिलसिला
सिथियाको चट्टानदेखि
बंगालको मैदानसम्म
सवानाको जंगलदेखि
कान्हाको वनसम्म फैलिएको छ !
एक आइमाई जो आमा हुन सक्छे
बहिनी हुन सक्छे
स्वास्नी हुन सक्छे
छोरी हुन सक्छे
म भन्छु-
तिमीहरू पर जाओ मदेखि
मेरो रगत उम्लिरहेको छ
मेरो कलेजो सुकिरहेको छ
मेरो शरीर जलिरहेको छ
मेरी आमालाई, मेरी बहिनीलाई, मेरी स्वास्नीलाई
मेरी छोरीलाई
मारिएको छ
मेरा पुर्खाहरू
आकाशमा आर्तनाद गरिरहेका छन् !
मित्र
म यस आइमाईको जलेको लासमाथि
आफ्नो शिर ठोकेर ज्यान दिने थिएँ
मेरी एक छोरी नहुँदी हो त
र, मेरी छोरी जो भनिरहेकी छे
कि बुवा तपाईँ बिनासित्ति नै
हामी छोरीहरूका बारेमा
यत्ति भावुक हुनु हुँदैछ
हामी छोरीहरू त काठका मुढा न हौँ
जो उमेरपछि चुल्होमा लगाइन्छौँ
‘मित्रहरू !
यी मानिसका तितरबितर पारिएका हाडखोरहरू
रोमनका गुलामहरूको पनि हुन सक्छ
र, बंगालका जुलाहाहरूको पनि
या अति आधुनिक
भियतनामी, फिलिस्तिनी बच्चाहरूको पनि
साम्राज्य आखिर साम्राज्य नै हुन्छ
चाहे त्यो रोमन साम्राज्य होस्,
ब्रिटिस साम्राज्य होस् या अत्याधुनिक अमेरिकी साम्राज्य
जसको एक मात्रै काम हुन्छ
कि पहाडहरूमा, पठारहरूमा,
नदी किनारमा
सागर तीरमा
मैदानमा
मानिसका हाडखोरहरू तितरबितर पार्नु !
जो इतिहासलाई तीन वाक्यमा
पेस गर्ने दावा गर्छन् कि हामीले धरतीमा आगो दन्काइदियौँ
कि हामीले धरतीमा डढेलो लगाइदियौँ
कि हामीले धरतीमा
मानिसहरूका हड्डी तितरबितर पारिदियौँ
तर म
स्पार्टकसको वंशज
स्पार्टकसको प्रतिज्ञा अनुसार नै जिउँछु,
गएर भनिदिनु
तिम्रो सिनेटसँग
कि म दुनियाँका सम्पूर्ण गुलामहरूलाई
एककठ्ठा गर्दै छु
त्यसपछि आउने छौँ रोम एक दिन जरुर
तर हामी कहीँ जानेछैनौँ
किनभने ठीक यसै समय
जब म कविता लेखिरहेको छु
ल्याटिन अमेरिकी मजदुर
महान साम्राज्यका लागि चिहान खनिरहेको छ !
र भारतीय मजदुर उसको पाल्तु मुसाको दुलोमा पानी भरिरहेको छ !
मित्र
एसियादेखि अफ्रिकासम्म
घृणाको आगो दन्किएको छ
यो आगो निभ्न सक्दैन
किनभने
यो आगो, एक आइमाईको जलेको शरीरको आगो हो
यो आगो, मानिसहरूको तितरबितर पारिएको हाडखोरहरूको आगो हो !
इतिहासमा पहिलोपटक स्त्री हत्या
उसको छोराले आफ्नो बाउको आदेश अनुसार गर्यो
जमदग्निले भने,
ओ परशुराम !
म तँलाई आदेश दिनेछु कि तँ आफ्नो आमाको हत्या गरिदे,
र परशुरामले गरिदिए !
यस प्रकारले पुत्र पिताको भयो र, पितृसत्ता सुरु भयो
पिताले आफ्ना पुत्रहरूलाई मारे
जाह्नवीले आफ्नी पतिसँग भनिन् तिमीलाई भन्दैछु कि
मेरा सन्तानहरूलाई मैँमा डुबाइदेऊ
र, राजा शान्तनुले आफ्ना सन्तानहरूलाई
गंगामा डुबाइदिए
तर शान्तनु जाह्नवीको भएन
किनभने राजा कसैको हुँदैन
लक्ष्मी कसैको हुँदैन
धर्म कसैको हुँदैन
तर यी सब राजाको हुने गर्छ
गाई पनि, गंगा पनि, गीता पनि र, गायत्री पनि
र, ईश्वर त खैर राजाको घोडाका लागि घाँस काटिरहेको छ
बडो इमानदार थियो बिचरो
राजाको स्वामीभक्त थियो
तर अफसोच छ कि अब ऊ यहाँ रहेन
धेरै दिन भइसक्यो- ऊ मरेको
‘र जब मर्यो तब राजाले उसलाई कफन पनि दिएन
दफनाउ लागि दुई गज जमिन पनि दिएन
कसैलाई थाहा खबर छैन कि ईश्वरलाई कहाँ दफनाइएको छ
अन्ततोगत्वा ईश्वरको मृत्यु भयो
र, उसको मृत्यु ऐतिहासिक साबित भयो
यो इतिहासकारहरूको भनाइ हो,
इतिहासकारहरूको यो पनि भनाइ छ कि
राजा पनि मर्यो, उसकी रानी पनि मरी
र उसको छोरा पनि मरी गयो
राजा लडाइँमा मर्यो
रानी कराईमा मरी
र छोरो ?
छोरा पढाइमा मर्यो
तर राजाले दिएको धन
धन रहेन
धन वचन बन्यो
र, फेरि उही कुरा
हर सभ्यताको मुहानमा
एक आइमाईको जलेको लास
र मानिसहरूको तितरबितर पारिएका हाडखोरहरू
यो लास जलेको होइन
जलाइएको हो मित्र
यी हाडखोरहरू तितरबितर भएका होइनन् तितरबितर पारिएको हो
यो आगो लागेको होइन
लगाइएको हो
यो युद्ध ?
सुरु गरिएको होइन, सुरु गराइएको हो
तर, कविता पनि लेखिएको होइन
लेखाइएको हो
र जब कविता लेखाइन्छ तब आगो दन्किन्छ
म भन्दैछु तिमीहरूसँग
उसलाई यो आगोबाट बचाऊ मेरा मित्रहरू
पूर्वका मित्रहरू !
मलाई यस आगोबाट बचाऊ
जसको सुन्दर खेतहरू
तरबारको धारद्वारा जोतियो
जसको अनाजलाई रथका पांग्राहरूले पेलियो
तिमी पश्चिमको मित्र !
मलाई यस आगोबाट बचाऊ !
जसका स्त्रीहरूलाई बजारमा बेचियो
जसका बच्चाहरूलाई चिम्नीमा बालियो
तिमी उत्तरका मित्र !
मलाई यस आगोबाट बचाऊ
जसको पुर्खाको पिठ्यूँमा पहाड ल्याएर तोडियो
तिमी सुदूर दक्षिणको मित्र !
मलाई यस आगोबाट बचाऊ
जसको बस्तीलाई दावाग्निमा जलाइयो
जसको नाउलाई गहिरो जलराशिमा डुबाइयो
तिमीहरू सब मिलेर मलाई बचाऊ
जसको रगतको गारोले
पिरामिड बन्यो, मिनार बन्यो
पर्खाल बन्यो
किनकि मलाई बचाउनु त्यो आइमाईलाई बचाउनु हो
जसको लास
मोहनजोदाडोको तलाउको अन्तिम सिँढीमा मिल्काइएको छ
मलाई बचाउनु
ती मानिसहरूलाई बचाउनु हो
जसका हाडखोरहरू तलाउमा तितरबितर पारिएको छ
मलाई बचाउनु
आफ्नो पुर्खालाई बचाउनु हो
मलाई बचाउनु आफ्ना बालबच्चालाई बचाउनु हो
तिमी मलाई बचाऊ
किनकि म तिम्रो कवि हुँ !
(भारत, उत्तर प्रदेशका कवि रमाशंकर यादवद्वारा रचित कविता ‘मोहनजोदड़ो के अंतिम सीढ़ी’लाई राजु झल्लु प्रसादले नेपालीमा अनुवाद गरेका हुन् । )