मौन आवाजलाई प्रश्न-  ‘ईश्वर मरेको हो या भुस्याहा कुकुर?’

You are currently viewing मौन आवाजलाई प्रश्न-  ‘ईश्वर मरेको हो या भुस्याहा कुकुर?’

थानकोटका मौन आवाज साहित्य साधना एवं सम्पादन कर्ममा सक्रिय छन्  । उनको ‘यो शताब्दीमा म पनि छु (२०७१- कविता संग्रह) प्रकाशित छ । चिहान मासिक, सुन्दर गोरेटो, प्रतिबिम्ब मासिक एवम् बलामी आवाजमा उनी सम्पादक एवं प्रधान सम्पादकको भूमिकामा रहेका छन्  । आवाज पछिल्लो समय कविताको माध्यमबाट आफ्नो हस्ताक्षर छाड्न सफल कवि हुन् ।

प्रस्तुत छ, द मार्जिनको साप्तहिक स्तम्भ ‘किनाराका साक्षी’का लागि राजु झल्लु प्रसादले तयार पारेको समाग्री;


मौन जी कसरी कुरा कसरी पो सुरु गरौँ भयो । म आजभोलि लेख्न सकिरहेको छैन, कारण तत् तत् भए । तर, खुसी के लाग्छ भन्दा, म बाँचिरहेको समयमा कोही लेखिरहेको छ  । ऊ यसरी लेखिरहेको छ कि म उसका कवितालाई ‘आफ्नो’ ठानेर पढि’राछु । ऊ कहिले ‘ईश्वर मरेको होइन, भुस्याहा कुकुर मरेको हो भन्छ, कहिले फेरी ‘हरेक कविको एउटा निरीह देवता र एउटा लाचार धर्म हुन्छ’ भन्छ ।…यति सिर्जनात्मक कसरी होइरहनु भएको छ ? 

मैले थाहा नपाएको र मैले मलाई सोध्ने गरेको यही एक चर्चित प्रश्न हो – मलाई कुन कुराले लेखाइरहेको छ ? 

हुन त जे भन्दा पनि हुन्थ्यो । तर, प्रश्न अनुसार उत्तर मिलेन भने त्यति राम्रो हुँदैन । म फुर्सदमा छु । मसँग प्रशस्त समय छ । काम छैन । के-के सोचिबस्छु । एउटा आम बेरोजगारको मस्तिष्क सित्तैमा उपलब्ध छ । जब तपाईँसँग यतिधेरै अनावश्यक कुराहरू हुन्छन् । तपाईँ स्वतः सिर्जनात्मक भइदिनुहुन्छ । 

तपाईँलाई कुन कुराले लेखाइरहेको छ ? कविताको स्विचिङ पोइन्ट के हुन्छ ?

कविताको स्विचिङ पोइन्ट के हुन्छ ? यो चाहिँ दिमाग दुख्ने प्रश्न हो । कसले भन्न सक्छ कतिखेर के हुन्छ ?

‘कविहरू मिहिनेती छन् । कविता पढ्छन् । छलफल गर्छन् । तर आफ्नै सर्कलका’ अरे । आजभोलि यस्तो सुन्न पाइन्छ । लोकतान्त्रिक देशमा ‘कविहरूको पञ्चायत’को कुरा नि ।  तपाईँको अनुभव कस्तो छ ? नेपाली कविताको सङ्ख्यात्मक भण्डार मात्रै बढाउने यस्ता कामहरूलाई तपाईँ कसरी हेर्नुहुन्छ ?  

तपाईँले नढाँटीकन भन्नू भएको भए राम्रो हुन्थ्यो – “कविहरू अल्छी छन् । कविता पढ्दैनन् । छलफल होइन, छलकपट गर्छन् । शक्ति पुज्छन् । स्तुति गाउँछन् । के-के जाति  मोल्छन् । पुरस्कार थाप्छन् । अर्काको चोर्छन् । (हालै मिलन समीर भन्नेहरूले मेरो कविता लगायत अन्यको पनि नक्कल गरेर – प्रमाणहरू छन्) पुरस्कार थाप्नेहरू पनि छन् ! यस्तो प्रवृत्ति पनि छ ।

हेर्नुस् – मानव जातिको स्वभाव विचित्रको हुने गर्छ । ढोङ, पाखण्ड हाम्रो मूलभूत चरित्र हो । तपाईँलाई थाहा भएकै कुरा हो – ‘राजनीतिमा भन्दा धेरै साहित्यमा राजनीति हुन्छ ।’

फेरि कतै न कतै समर्पित साधनारत गम्भीर साहित्यिक पुस्ता देखेर मन मुग्ध हुन्छ ।

राजनीतिक झुकावका दृष्टिले मार्क्सवादी रहेकाहरू साहित्यिक भाषामा आफूलाई ‘प्रगतिशील’ भन्छन् क्यार । उनीहरू आफूलाई ‘उदारवादी बौद्धिक’ हू पनि भन्दा रछन् । शब्दको के कुरा भयो र ? विचारले छ/छैनन् अलग कुरा भयो तर, तिनै ‘उदारवादी बौद्धिक’हरू आज कविहरू ‘आँसु लेख्छन्’ भन्दैछन् । उनीहरू सही छन् ?  

कसले के भन्छ, यो गौण विषय हो । मुख्य विषय त नेपाली समाजको रूपान्तरणको प्रक्रियामा कसले के कति भूमिका निर्वाह गर्‍यो – गरेन भन्ने हो । राजनीतिक चेतनाको आलोकमा गइरहेको भूकम्प साहित्यले मात्रै थाम्न सक्दैन ।

साहित्यले स्थापना गर्ने भनेको ‘मूल्य’ हो ! कुनै अमूर्त आरोपको पछि लागेर साहित्य कुद्नु हुँदैन । साहित्यका पनि मान्यता र
सीमाहरू छन् । ती सघन छन् । बहुआयामिक छन् । प्रत्येक क्षण घटिरहने घटनाहरूको साक्षी बस्नु मुस्किल कर्म हो ।

साहित्यले धेरै कुरा सहनुपर्छ । केवल घाउ/चोट र पीडा खप्नेहरूको आत्माबाट कहिले आँसु चुहिन्छ । कहिले रगत !
– आँसु संसारको सबैभन्दा शक्तिशाली काव्य हो – दर्शन हो । तर. आँसु रोएर लेख्नु हुँदैन ।

आज हामी के लेखिरहेका छौँ, के छुटाइरहेका छौँ ? आजको कविता भोलि ‘अकविता’ ठहरिने स्थिति कत्तिको देख्नुहुन्छ ?

हामीले लेखनमा छुटाइरहेको मौलिकता हो । हाम्रो आफ्नै परम्परा/शिल्प – सौन्दर्य र इतिहास कतै छुटेका छन् । भविष्यतिरको समुन्नत कल्पनाशीलता पनि यसमा जोडिन्छ ।

रह्यो – आजको कविता भोलि अकविता ठहरिने पो हो कि भन्ने चिन्ता ! यदि, कविता कविता नै हो भने केलाइ चिन्ता ?

तपाईँकै एउटा कवितांश याद आयो, ‘हामी हिँडिरहेका त छौँ तर, कतै पुगिरहेका छैनौँ ।’ आज पुस्तकहरू छापिएका छन्, बिकेका छन् । प्रविधिको साथ होला, पठन संस्कृतिको विस्तार पनि होला । तर, हाम्रा कविताहरू ‘पुगेनन्’ भन्छन् अग्रजहरू । समकालीन कविता र काव्य चेतनाबारे बोल्ने मुड छ ? यतिबेला नेपाली साहित्य कुन अवस्थामा छ ? 

‘पठन संस्कृति’ कामचलाउ शब्द भइसक्यो ! त्यो भन्दा अलि गम्भीर शब्द हामीले खोज्नुपर्ने बेला आएको छ ।
मुलुकको राजनीतिमा, समाजमा, अनेकखाले अन्तर्विरोध छन् । तिनले विविध समयको एकैपटक समाधान चाहेका छन् । 

प्रविधिको विकास निश्चय पनि अहिलेको आश्चर्यजनक उपलब्धि हो । तर , मानवीय चिन्तनको सामञ्जस्ययता मिलिरहेको छैन ।किताबहरू सङ्ख्यामा छापिनु – बिक्री हुनु व्यावसायिक हिसाब किताबको एउटा पाटो हो । साहित्यिक किताबहरूले उठान गर्नुपर्ने र बहस चलाउनुपर्ने असङ्ख्य अन्य पाटोहरू छन् ।

अग्रजहरूले सङ्ख्यामा कविता ‘पुगेनन्’ भनेका होइनन् । बरु, कविताको शक्ति पुगेको छैन भनेका होलान् ! समकालीन कविता र काव्य चेतनाबारे मेरो गम्भीर आग्रह छ । कवितालाई मुक रूप र आकारमा मात्रै ग्रहण नगरौँ । यसको सर्वव्यापी संरचनागत उद्देश्यलाई बुझेर हिँडौँ !

यतिबेला जाडो छ । सर्वत्र भुईँ कुहिरो व्याप्त छ । तुषारो छ । हिउँ छ ।  यतिबेला नेपाली साहित्य न्यानोको खोजीमा छ । 
– यतिबेला नेपाली साहित्य हातमा मोजा लगाएर हिँडिरहेको छ !

नेपाली कविताले विकासक्रममा कडा-कडा सेन्सरसिप पनि झेल्यो, राणा या राजाबाट या कुनै दलीय सरकारबाट । फेरी आजभोलि ‘पोलीटिकल करेक्टनेस’को कुरा चलिरहेको छ, ‘पुनर्विचार’ कुरा चलिरहेको छ । यी कुराहरूलाई सेन्सरसिप भन्न मिल्ने कि नमिल्ने भन्ने कुरा पनि होला तर, मलाई सोध्न मन लागेको- जातीय, लैङ्गिक, धार्मिक बिम्बहरू उठान, विस्तार या प्रयोग तपाईँ कसरी गर्नुहुन्छ ? 

कवितामाथि मात्रै नभई समग्र साहित्यिक विधा वा चेतना प्रवाह माध्यममाथि समय – समयमा बन्देज  लागेकै छ । राणा – राजा –  दल – वा  केही अरू जे भने पनि स्वतन्त्र चिन्तनमाथि सार्वकालिक शक्ति प्रहार निरन्तर जारी छ । 

यहाँ सेन्सरसिप पनि छ । गुट पनि छ । उठ् पनि छ । सुत् पनि छ । 

अझ, त्यसमाथि नेपाली अखबारहरू तथा साहित्य विषयका सम्पादकहरू अत्यन्त दयनीय अवस्थामा छन् । उनीहरू यति
कायर र डरछेरुवा छन् कि भनेर साध्य छैन । उनीहरू कि त / पक्षपाती छन् / कि त खुराफाती छन् । जाती / वर्ग र लिङ्गका
विषयहरूमा सिधा – सिधा लेख्ने र छाप्ने स्थिति छैन । जबरजस्ती बिम्ब निर्माण गर्नुपर्छ ।

राजु जी,
विचार प्रयोगका अनेक तरिकाहरू हुन्छन् । त्यसैले, कहिलेकाहीँ म ‘चोरलाई सरकार’ भनेर सम्बोधन गर्छु !

‘कहिलेकाहीँ पुतली झुसिल्किरा सम्झेर रुन्छ ।’ यो लाइनले मलाई हिर्काइरहन्छ । कत्तिको नोस्टाल्जिक हुनुहुन्छ तपाईँ ? कवितासँगको तपाईँको सबैभन्दा पुरानो नोस्टाल्जिया के हो ? पहिलो कविता कुन थियो ? त्यो उपलब्ध हुन् सक्छ ? 

जो, बाल्यकालमा टुहुरो भएको छैन । जसले अभाव र विभेदको सीमान्त छोएको छैन । जसले अर्काको जुठो भाँडा माझेको छैन
। जसले भैँसीको कुहिएको गन्हाउने छालामा नुन ढल्ने काम गरेको छैन ।

जो, भर्याङ्गमुनि सुतेको छैन । जसले ट्वाइलेटको सेप्टी ट्याङ्की सफा गरेको छैन । जसले यौनिक हिंसा भोगेको छैन । जो भोक र
तिर्खाले छटपटाएको छैन । जससँग जिउँदै मरेको अनुभव छैन । जसको निरन्तर सपना लुटिएको छैन । जो निरन्तर खण्डित
छैन – ऊ कसरी कवि हुन सक्छ ?
यदि, कविहरूसँग मैलो – घुर्मैलो स्मृति छैन भने कविताको जन्म सम्भव छैन । 
मेरो पहिलो कविता सम्भवतः : २०५४ – ५५ सालतिर गोर्खाबाट प्रकाशित हुने फूलको डोली भन्ने हवाई पत्रिकामा छापिएको थियो शीर्षक अहिले बिर्सेँ ! त्यतिबेला मेरो साहित्यिक नाम ‘अर्ध पागल’ थियो !
– अहिले म सद्दे छु ।

मानिसको जीवन गतिशील छ, उसका विचार र मान्यताहरू पनि परिवर्तनशील छन् । आफैँले लेखेका कविताहरू ‘आफैँलाई मन नपरेको’ त्यस्तो कुनै घटना पनि छन् कि ? 

मन नपरेको भन्ने छैन । चित्त नबुझेका धेरै छन् । मुख्यतः जीवन सम्बन्धी भावुक कविताहरू !

‘लेख्नका लागि पढ्नुपर्छ’ या ‘पढ्नेले लेख्छन्’ भन्ने गरिन्छ । अझ ‘लेखन भनेको अध्ययनको सहउत्पादन हो’ भन्ने भाष्य पनि छ । यसमा तपाईँको मत ? 

संसारको सबैभन्दा प्राचीन पुस्तक कुन हो ? त्यस पुस्तकका लेखकले कुन पुस्तक पढे होलान् ?
पढ्नुपर्छ । अध्ययन आवश्यक छ । तर , त्यो भन्दा आवश्यक छ अनुभव र अनुभूति ! 
तपाईँलाई मैले यो भनिरहनु पर्दैन – प्रकृति र संस्कृति मानिसहरूका लागि  धेरै थोक हो ।
र / यो त झन् भन्नै पर्दैन – तपाईँको जीवन निर्माण तपाईँको दृष्टिकोणको उपज हो ।

कला-साहित्यले वर्गीय स्वरूपको प्रतिनिधित्व गर्दछ, गर्नुपर्दछ। यस हिसाबले तपाईँले रुचाउनुभएको कवि, लेखक या कलाकार या पुस्तक?

मलाई लाग्छ, कला साहित्य वर्गीय हुँदैन । वर्ग प्रेरित हुन्छ । वर्ग लक्षित हुन्छ । मलाई रुवाउने आँसु र / मलाई हँसाउने हाँसो लेख्ने सबै  कवि, कलाकार र / पुस्तक मलाई मनपर्छन्  ।

‘लेखक बजारमा त पुग्यो तर लेखकभन्दा बजार बलियो हुन् पुग्यो ।’ के म सही छु ? लेखक आफ्नो अस्मिता/नैतिकतामा बाँच्न नसकेको कि बजार तानाशाही हुँदै गएको ?

मलाई किन् भनेपछि बजारले तपाईँलाई बेच्छ !
– अर्थात् जुन चिज बिक्रीमा हुन्छ, त्यो बजारमा पाइन्छ । फरक यति हो / बजार भाउ तलमाथि भइरहन्छ । त्यसमा तपाईँ सजग हुनुपर्छ ।

मैले नभेटेको हुँला, तर तपाईँ साहित्यिक गल्लीहरूतिर पनि भेटिनुहुँदैन । तपाईँको मौनताबारे सोध्न खोजेको नि । कसो हो मौन जी, आजभोलि तपाईँ कस्ता कविताहरू पढ्दै हुनुहुन्छ ? दोस्रो कविता सङ्ग्रहको तयारीमा हो ?

संवेदना साँघुरिँदै गइरहेको सहर र गल्लीहरूमा एक अर्कालाई कुल्चेर किन हिँड्नु हौ राजु जी ? 
अँ , म आजभोलि कविता पढिरहेको छैन । कविता खोजिरहेको छु ! 
– हो । म दोस्रो कविता सङ्ग्रहको तयारीमा छु ।


प्रस्तुत छ, मौन आवाजका तीन कविताहरू :

१.अतिथि भ्रमण 

तपाईँ हाम्रो अतिथि हुनुहुन्छ 
अचानक यो लोकमा आउनु भो 
तपाईँलाई स्वागत छ !

तपाईँले केही हेर्छु भन्नू भो –
केही सुन्छु भन्नू भो –
केही बुझ्छु भन्नू भो – 

हेर्नुहोस् – 
त्यो मन्दिर/ मस्जिद / चर्च / गुम्बा / पापीहरूको क्रिडास्थल हो 
त्यहाँ धर्मको नाममा अनेक पाप हुन्छ !

हेर्नुहोस् –
त्यो सुन्दर देखिने कुरूप सहर 
त्यहाँ सम्बन्ध – भावना र / आमा बिक्री हुन्छ !

हेर्नुहोस्
– सबैथोक ध्यानपूर्वक हेर्नुहोस् – 

तपाईँले इतिहास हेर्छु भन्नू भो –
सभ्यता अवलोकन गर्छु भन्नू भो –
आधुनिक विकास हेर्छु भन्नू भो –

हेर्नुहोस् –
त्यो जर्जर खण्डहर हाम्रो इतिहास हो !

हेर्नुहोस् –
त्यो नग्नता र / अश्लीलता हाम्रो सभ्यता हो !

हेर्नुहोस् –
त्यो गतिहीनता र / जड्ता हाम्रो आधुनिकता हो !

हेर्नुहोस् –
उ … त्यो रातो झण्डा बोक्ने मान्छे पाखण्डी हो !

हेर्नुहोस् –
उ …. त्यो आन्दोलनकारी दलाल हो !

हेर्नुहोस् –
उ …..  त्यो नारा लगाउने व्यापारी हो !

हेर्नुहोस् –
उ …….त्यो बर्दी लगाउने चोर हो !

हेर्नुहोस् – 
उ ….. त्यो बन्दुक समाउने डाँका हो !

हेर्नुहोस् –
उ …… त्यो ढाकाटोपी लगाउने भ्रष्ट हो !

तपाईँलाई आश्चर्य लाग्न सक्छ –
यो देशको शासक आतङ्ककारी हो !

हेर्नुहोस् –
हेर्दै जानुहोस् –

सुन्नुहोस् –
सुन्दै जानुहोस् –

बुझ्नुहोस् –
बुझ्दै जानुहोस् –

जुन लोकमा तपाईँ आउनु भएको छ –
त्यो नर्कलोक हो !


२. एउटा कविको स्वीकारोक्ति 

म कवि हुँ र / म स्वीकार गर्छु –
जाडोको कविता –
मैले सिरक ओडेर लेखेको हुँ !

म स्वीकार गर्छु –
आँसुको कविता रक्सी पिएर लेखेको हुँ !

म स्वीकार गर्छु –
टन्न अघाएको बेला –
भोकको कविता लेखेको हुँ !

मनमा घृणाका असङ्ख्य कुण्ठाहरू पालेर
प्रेमको कविता लेखेको हुँ !

छिमेकीको छानोमा पिसाब फेर्दै –
सदाचारको कविता लेखेको हुँ!

म स्वीकार गर्छु –
स्वार्थको उपल्लो भूभागमा उभिएर  
मित्रताको कविता लेखेको हुँ !

पापको पोखरीमा चुर्लुम्म डुब्दै
धर्मको कविता लेखेको हुँ !

पतित विचारको मसीबाट –
नैतिकताको कविता लेखेको हुँ !

अश्लीलताको पराकाष्ठाबाट –
शालीनताको कविता लेखेको हुँ !

म स्वीकार गर्छु –
राँगाको मासु चपाउँदै –
अहिंसाको कविता लेखेको हुँ !

-चुँडालेर फूलका थुँगाहरू 
सौन्दर्यको कविता लेखेको हुँ !

– रुखका हाँगाहरू भाँच्दै 
– अबोध चराहरू लखेट्दै 
प्रकृतिको कविता लेखेको हुँ !

– आत्मरतिको आवेगमा 
दर्शनको कविता लेखेको हुँ !

– स्थिर तलाउमा ढुङ्गा हिर्काएर –
शान्तिको कविता लेखेको हुँ !

म स्वीकार गर्छु –
चिन्तन र / विचारबाट स्खलित भएर –
मैले कविता लेखेको हुँ !

भित्र भित्र विद्वेष र / विभाजनको बिउ रोप्दै –
बाहिर बाहिर  सामाजिकताको कविता लेखेको हुँ !

म स्वीकार गर्छु –
न्याय / विधान साक्षी राखेर –
मैले अपराधीहरूको पक्षमा कविता लेखेको हुँ !

म स्वीकार गर्छु –
मैले घूस खाएर भ्रष्टाचार विरुद्ध कविता लेखेको हुँ 
कमिशन खाएर दलाली विरुद्ध कविता लेखेको हुँ !

कामुक कामुक शब्दहरू प्रयोग गरेर –
अमूर्त अमूर्त शब्दहरू प्रयोग गरेर –
क्लिष्ट क्लिष्ट शब्दहरू प्रयोग गरेर –

नजाने कति वर्षदेखि –
झूट बैमानी र / छलकपटको सहारामा –
कविता लेख्दैछु !

म स्वीकार गर्छु –
मैले विदेशीको हुण्डी खाएर –
देशभक्तिको कविता लेखेको हुँ  !


३. हस्तमैथुन 

– बेरोजगार छु ।

एकाबिहानै उदाउँदो सूर्यलाई
घाँस ख्वाउँछु
उत्ताउलो बतासलाई गोठमा थुन्छु 
र / हाफ पाइन्ट लगाएर बाहिर निस्कन्छु ।

नदीमा जान्छु 
मुत्छु
हग्छु
नुहाउँछु ।

अखबार पढ्छु 
नेताहरूको अनुहार देखेर दिगमिग लाग्छ
गाँजा सल्काउँछु ।

एउटा कुनामा 
अर्धनग्न युवतीको फोटो हेर्छु 
र /निरन्तर हस्तमैथुन गर्छु ।

“देश ” लेखेको भाग पट्याएर गोजीमा राख्छु
र / बाँकी रहेको अखबारले वीर्य पुच्छु !

(माघ ८, २०७८ शनिबार, द मार्जिनमा प्रकाशित)

Leave a Reply