- सुमित्रा सुमी
मैधी, धादिङ (ज्वालामुखी-३) जन्मनुभई हाल कलंकी (नैकाप), काठमाडौं स्थायी बसोबास गर्दै आउनुभएको साहित्यकार, अनुसन्धानकर्ता राजु झल्लु प्रसाद ७० को दशकदेखि साहित्यमा कलम चलाउँदै आउनुभएको छ । इतिहास र दर्शनका विद्यार्थी झल्लुप्रसाद साहित्य अलवा पुरातात्त्विक, ऐतिहासिक, सांस्कृतिक, धार्मिक, पर्यावरण एवम् सामाजिक विषयवस्तुहरूमा विगत ७ वर्षदेखि रिपोर्टीङ गर्दै आइरहनुभएको छ ।
शब्द नेपालमा २०७३ सालमा पहिलो रचना प्रकाशित गर्नुभएको राजु झल्लु प्रसादको कवितासंग्रह एवं कथासंग्रह प्रकाशोन्मुख छ । यसअलावा, कविताहरूको सगरमाथा (संयुक्त कविता संग्रह, २०७७) शारदा पत्रिका, अरबिक कविता अनुवाद अंक, २०७९, शारदा पत्रिका, हिन्दी कविता अनुवाद अंक, २०७७ (७७ औं अंक), शारदा पत्रिका, १०० औं अंक, संयोजन, २०७९ टूर न्यूज (जनकपुर, बर्दिया अंक), मुकाम न्यूज (बागमती अंक) लगायत विभिन्न समयमा रचनाहरू प्रकाशित छन् । उहाँको खनियावास गाउँपालिका एवम् सिद्धलेक गाउँपालिका ऐतिहासिक, सांस्कृतिक एवं धार्मिक मठमन्दिरको अध्ययन प्रतिवेदन समेत प्रकाशित छ ।
पुरस्कार/सम्मान:
- Nepal Top-7 Young Poet’s, 2017, Ntv Plus, Winner
- सगरमाथा साहित्य प्रतिष्ठान, विश्वब्यापी कविता प्रतियोगिता – २०७६, सान्त्वना
- IOE Poetry Champ-2,0, 2019. Second.
- देशसञ्चार प्रेमपत्र प्रतियोगिता २०७६, उत्कृष्ट लगायत
- लघुकथा चौतारी, मकवानपुर, लघुकथा प्रतियोगिता-२०८० (उत्कृष्ट), (कथा शिर्षक: एक आदिवासी)
सहभागिता:
- Nepal India Wrestling Championship, Jungle Festival, Pokhra, 2015, Host.
- Santosh Shah Foundation, National Youth Consulting Team, , 2018.
- क्याफे कविता, सडकमा कविता, अतिथि कवि, २०१८
- मूलबाटो प्रतिष्ठान नेपाल, लैंगिक हिँसा विरुद्ध कविता तथा चित्रकला प्रदर्शनी, २०७५,
- अतिथि कवि शीतल चौतारी दोस्रो वार्षिक उत्सव विशेष रचना वाचन एवम् सम्मान कार्यक्रम,२०७६, अतिथि कवि
- Crew of Dreams (COD NEPAL), निर्णायकको भूमिका, २०७६
- सबैखाले प्रतिगमन विरुद्ध स्रष्टा आन्दोलन,२०७७, सहभागी
- ओपनमाइक, कफीशाला, २०२१, Guest Poet.
- चौपारी (प्रथम परिच्छेद), अतिथि कवि, २०२१
- Indo-Nepal Poet Meet and Greets, 2021, Guest Poet.
- रमिते, जेसन कुँवर (First Aniversary), Programme Host.2021
- बुकाहोलिक्स, ७३ औं चकटी बहस, नयनराज पाण्डेको जियारा, Speaker, 2021.
- Green Commando Earth Tikapur, निर्णायकको भूमिका, २०७८
- CNRM, Tikapur, Mental Health Matter, Guest Performer, 2022
- सुनिल स्मृति साहित्य महोत्सव, कार्यक्रम सन्चालन,अतिथि कवी २०७८
- बेहोसीको यादमा (Theatrical Poetry Performance), Kunja Theatre, 2022, Performer.
- वृहत नागरिक आन्दोलन, न्यायको लागि कविता- २०७८, अतिथि कवि
- नेत्रावती-डबजोङ गाउँपालिका, नेपालका प्रथम कवि सुवानन्द दासको प्रतिमा अनावरण, २०७८
- स्रष्टा प्रतिष्ठान नेपाल, नवौं वार्षिकोत्सव, २०७९, अतिथि कवि
- बुकाहोलिक्स, ८४औँ चकटी बहस (सनेश र ग्र्याबियले, Speaker, 2022)
- Poetry Recitation, Aarambha Community, 2022, Host
- पृष्ठभूमिमा कविता-२०८०, अतिथि कवि भएर सहभागिता जनाउनुभएको छ ।
उहाँसँग ” सुसन्देश”को लागि नुवाकोटबाट सुमित्रा सुमीले तयार पार्नु भएको साहित्यिक कुराकानी :
१) तपाई साहित्य लेखनमा लाग्नुभएको कति समय भयो ?
म काठमाडौँ छिरेपछि साहित्य लेखनमा लागेँ । ७१/७२ सालतिर ।
किन ? किनकि मसँग दुई/चार वटै फाल्तु बानी र फाल्तु समय थियो । एउटा म खुब फेसबुक चलाउथे अर्को मेरो डेरा-कलेजको दूरी लामो थियो । म फुपूसँग बाफल बस्थे । लगनखेलमा साइन्स कलेज थियो । मसँग एउटा ल्यापटप थियो र वाइफाई जोडिएको थियो । म फेसबुकमा स्ट्याटस लेख्थेँ, त्यसमा कसोकसो छन्द या भन्नुस् रदीफ/काफिया मिल्थ्यो । अर्को कुरा चाहिँ- मेरो एकोहोरो लब परेको थियो । अनि उहाँलाई कसोकसो सम्बोधन गरेर फेसबुकमै लेख्दै गएँ, जसमा कहीँ न कसो एउटा भावनात्मक आग्रह, आक्रोश या केही थियो । जो त्यसपछिका दिनहरू नयाँ प्रेमिकाहरूका लागि रहँदै गयो । र, म किटानसाथ भन्छु, मैले प्रेम र प्रेम कविता सँगसँगै लेखेँ । वा प्रेमिका र प्रेमपत्र दुवै मेरा लागि प्रिय थियो । मैले आफ्ना लँगौटी यारहरूका थुप्रै प्रेम कविताहरू लेख्दिएँ । ती अहिले विवाहबन्धनमा बाँधिएका छन् । र, मलाई जब पनि त्यो जोडीलाई देख्छु मिठो काउकुती लाग्छ ।
म अहिले सम्झिन्छु, मेरो फुपू ‘बहकिने मन’, ‘श्रुति संवेग’ आदि सुन्नुहुन्थ्यो । जसको म क्रमशः लत्ती भएँ । अहिलेको चक्रपथ (कलङ्की-कोटेश्वर खण्ड) निर्माणको क्रम थियो, मसँग चानचुन कलेज-घर गर्दा बाटोमा २/३ घण्टा फाल्तु समय हुन्थ्यो, सो समयमा श्रुति संवेग, बहकिने मन आदि सुन्न थालेँ । मैले जाँदा आउँदा गरेर एउटा उपन्यास नै भ्याउन थालेँ । यो क्रम बढ्दै गयो । प्लस-टू मा भोला नाम गरेका नेपाली शिक्षक थिएँ, उनले बडो प्रोत्साहित गरेँ । उनले मलाई पढ्नुपर्ने पुस्तकको सूची थमाइदिए र केही अडियोबुकहरू पनि पेन ड्राइभमा उपलब्ध गराइदिएँ । त्यसमा ताना शर्मादेखि रामकृष्ण शर्मासम्म र सुवानन्ददासदेखि चन्द्रवीर तुम्बाहाम्फेसम्म थिएँ । उनले मलाई निबन्धको लत्ती बनाइदिएँ, म हृदयचन्द्र र देवकोटालाई पढ्न थाले । अलि पछि पढ्न सकिनँ भनेर मिल्काएको शङ्कर लामिछाने नै मेरो सर्वप्रिय लेखक ठहरिए ।
जसै कलेज सकियो, मसँग तत्कालै गर्नुपर्ने केही थिएन । फेसबुकमा निरन्तर लेखन चलिरहेको थियो । उतिबेलै मैले ६० हजार शब्दको उपन्यास लेखेको थिएँ, जसलाई धारावाहिक रूपमा फेसबुकमा ‘आज राति जम्नुपर्छ है’ भनेर सुरु पनि गरेको थिएँ । फेसबुकमा राखेको त बचेका छन्, बाँकी उड्यो । त्यसबाहेक त्यतिबेला दिनहुँ हातैले लेखेका थुप्रा रचनाहरूको डुंगुर छ, जसलाई उठाएर पढ्ने जमर्को हालसम्मै गरेको छैन ।
र, यहीताका मैले केही साहित्यिक लँगौटीहरूको सङ्गत पाएँ । यसमा शिखर भट्ट, नवीन प्यासी, निर्भीकजङ्ग रायमाझी, विवश बाबु, कपिल मौन, आशिष् खनिया, अभिनव प्रत्यूष, अप्सरा केसी आदि आउँछन् । यसपछि कस्तो भएछ भने भृकुटीमण्डपमा लामो समय बिताउँदा अग्रज र अन्य समकालीनहरूसँग सङ्गत बढ्न पुग्यो । कोही कता कुन कार्यक्रम गरिरहेका हुन्थे, कोही कता के गरिरहेका हुन्थे । समय जति पनि थियो, म सराबरी जताततै पुग्न थालेँ । र, रसिक राज, सञ्जय देव विष्ट, योगेश घिमिरे, नवीन थापा, रोशन कोइराला, विपिन दाजु, विद्या दिदीहरूसँगको सङ्गतले आभा फर क्रियटीभिटीमार्फत अझ सक्रिय हुने मौका पाएँ । हामी हरेक महिना रचना वाचन कार्यक्रम गर्थ्यौँ, जहाँ सयौँ कवि/लेखक आउँथे । र, यो क्रमले निरन्तरता पाइरह्यो ।
यता, शब्द नेपालमा त्यतिबेला रहेका सागर लामिछानेले मेरा केही कविता छापिदिए र मोबाइल रिजार्चसम्म गरिदिए, जसले अझ उत्साहित बनायो । उनले एउटा भिडियो कविता रेकर्ड गरेपछि खाना खुवाएका छन् र त्यो मैले लेखेर पाएको पहिलो सम्मान थियो । र, म आफैँ त्यस अनलाइन पोर्टलमा जोडिएर साहित्यिक सामाग्रीहरू पस्कन थालेँ । जसमा ‘फलानोको तीन कविता’ भन्ने स्तम्भ सुरु भयो, जसले पछिसम्मै निरन्तरता पायो । ..पछि मैले १० वटै जस्तो अनलाइन पोर्टलमा नोकरी गरेँ, जहाँ म आफ्नै अडानका भरमा साहित्यिक सामाग्रीहरू पस्किरहन्थे । म तत्कालीन नेपालपाटीका सम्पादक दीपेन्द्र पाण्डे र सल्लेरीखबरका सुदर्शन मार्शल एवं राजनकेसी प्रमोदलाई सम्झन्छु ।
सुमित्रा जी, म अहिले चाल पाउँछु, मैले त्यतिबेला एउटा बठ्याइँ गरेछु । मलाई नेपाली साहित्यको भरपुर अध्ययन गर्नु थियो तर त्यसपहिले मलाई एउटा नोकरी अत्यावश्यक थियो । त्यो दुवै काम साहित्यिक पत्रकारितामार्फत हुन् पुगेछ । अनि मैले स-सना अनलाइन पोर्टलहरूमा आफ्नो रुचिअनुसारको साहित्यिक सामाग्री दिन साहित्यिक स्तम्भहरूको न्वारन गरेँ र सोहीअनुसार गर्दै गएँ, जसमा मेरा सम्पादकहरूले कहिल्यै रोकटोक गरेनन् । अहिले अचम्म लाग्छ, मैले चानचुन ४०० कवि/लेखकसँग अन्तर्वार्ता गरिसकेछु । आजभोलि धेरै अग्रजहरूसँग गरिएका अडियो रेकर्डलाई सुनेर उतार्ने काम पनि गरिरहेको छु ।
तपाइको साहित्य लेखनको प्रारम्भकाल सम्झनुपर्यो भने कसरी सम्झनुहुन्छ ?
सुमित्रा जी, तपाईँको दोस्रो प्रश्नले मलाई मेरो बाल्यकाल सम्झायो । साल त सम्झिन सकिनँ, तर कक्षा ८ मा बालदिवसको दिन म कविता प्रतियोगितामा दोस्रो भएको थिएँ । सायद पहिलो हो कि ? जे होस्, म पुरस्कृत भएको थिएँ । पुरस्कृत हुनुले फरक पार्दो रहेछ । पुरस्कार भनेको ‘तैँले गरेको ठिक छ है केटा’ भनेको भयो नि त । ठिक छ भन्दिएपछि त झन् ठिक गर्न मन लाग्ने भयो । यसपछि ठिकठाक हुँदै गयो । म लाइब्रेरीमा उक्लिन थालेँ । उतिबेला रुम टू रिड नामको संस्थाले शमीभञ्ज्याङ मा.वि.मा केही सय थान पुस्तक र लाइब्रेरी बनाइदिएको थियो । जहाँ म चेस पनि खेल्थेँ र पल्पसा क्याफे जस्ता पुस्तकहरू पनि पढ्थेँ । मैले पढेको पहिलो साहित्यिक पुस्तक पनि त्यहीँ हो । यो पुस्तक पढेका कारण मलाई मेरा सामाजिक शिक्षकले चुटेका छन् । मेरो हातबाट वाग्लेकृत सो पुस्तक थुत्दै उनले भनेको अहिले पनि सम्झिन्छु- ‘तेरो यो पुस्तक पढ्ने उमेर भाछैन ।” अहिले बुझ्छु, यता माओवादीले हतियार बुझाइसक्दा पनि मेरो गाउँ भयङ्कर त्रासमै रहेछ । पछि त्यो पुस्तक लुकिलुकी पढेँ र सिद्ध्याएँ । मेरो बालमष्तिस्कमा रहेको बस जलेको दृश्य आज पनि ताजै छ ।
भारतको नयाँ दिल्लीमा जन्मिएको मान्छे, म । उता ‘वान क्लास’ पढेर ६ वर्षको उमेर धादिङ आएँ । हजुरबुबाको मृत्युपश्चात् मेरै जिद्दमा हामी सपरिवार घर फर्किएको कुरा आजभोलि पनि ममी सुनाइरहनुहुन्छ । जसै धादिङ आएर म दहिली चौतारो स्कुल (प्रा.वि.) मा भर्ना भए, म हुनुसम्मको लठभुत ठहरिएँ । मसँग नेपाली उच्चारण थिएन । नेपाली लवज थिएन । म ७/८ वर्षको उमेरसम्म मस्तको हिन्दी बोल्दथे, अहिले भुलेँ बरु । अनि, म एक कक्षामा नेपालीमा फेल भएँ तर मलाई पास गराएर दुईमा लगियो । र, खुसीको कुरा यो प्रा.वि. (जो विद्यार्थी अभावका कारण ६/७ वर्षअघि नै बन्द भयो) मा पनि बाँदर र गोहीका रङ्गिन कथाहरू थिए । र, मैले नेपाली सिक्नका लागि त्यो पढ्न थालेँ । पछिपछि त म स-स्वर पढ्ने भएँ र शिक्षक (शान्ता मिस)हरूले पनि स्वीकारे । ५ कक्षासम्म पढ्दा मैले २/३ सय वटा जति यस्ता बालसाहित्यका पुस्तकहरू पढिसकेको थिएँ, जसले मलाई लेखनशील्प र कल्पनाशक्ति दियो कि भन्ने अहिले ठान्दछु । सँगै घरतिरको र मामाघरतिरको हजुरआमाहरू लोककथाले पनि काम गर्यो कि ? र, जहाँसम्म गाउँमा हुँदा पत्रिकासम्म नपढेको, उम्दा साहित्यिक किताबहरू नपढेको वा नसुनेको मैले, प्लस टू पछि भकाभक लेख्न थाल्नुमा यिनै कुराहरूको मनग्ये सहयोग रहेकै हुनुपर्दछ ।
२). साहित्य लेखनसँगै के मा व्यस्त हुनुहुन्छ अचेल ?
म घुम्दै छु, डुल्दै छु । र, सायद फेरी सोही चाँजोपाँजोमा छु ।
यस वर्षको ज्येष्ठको सबैभन्दा गर्मी दिनमा म चितवन राष्ट्रिय निकुञ्जभित्र वन कुकुर देखिन्छ कि भनेर खोज्दै थिएँ । त्यसअगाडि वैशाखको गर्मीमा धादिङको सिद्धलेक गाउँपालिकाको ऐतिहासिक र सांस्कृतिक अध्ययनका खातिर त्रिशूली किनारदेखि उँभो लागेको थिएँ । चराले गुड ल्याउने र चिरिबिराउने बेला (चैत) म ६१३ प्रजातिका चरा भएको बर्दिया निकुञ्जमा लौरो टेकेर हिँड्दै थिएँ । त्यसअगाडि म ४०० किमी साइकल यात्रा गरेर बुद्ध जन्मस्थल लुम्बिनीदेखि बुद्धको महापरिनिर्वाणस्थल कुशीनगर पुगेर आएँ । फागुनको मध्य दिनहरूमा कालिगण्डकी बचाऔँ अभियन्ता आरके अदीप्त दाइसँग स्कुटरमा बसेर पर्वत-बागलुङ डुल्दै थिएँ । माघको चिसो महिनामा म देवघाटका साथीहरूसँग माघी मेला नुहाउँदै थिएँ । त्यसअघिको मङ्सिर महिनामा म हेटौडा र न नुवाकोटका प्राचीन स्मारक र पुरातात्त्विक स्थलहरू चहार्दै थिएँ । त्यो भन्दा अगाडि, गणेश हिमाल फेदीको खनियाबास उक्लिएर सो गाउँको सांस्कृतिक र सामाजिक अध्ययन गर्दै थिएँ । अझ अगाडि, पूर्वमा प्रख्यात पत्रकार प्रेम बास्तोला दाजुसँग मधेस प्रदेशको धार्मिक मठमन्दिर र ऐतिहासिक वस्तुहरूको रिपोर्टिङ गर्दै थिएँ । र, त्यसअघि म एक अनलाइन पोर्टल (जसले हालसम्म मेरो तलब दिएको छैन)का लागि र त्योभन्दा बढी आफ्नै रुचिअनुसार काठमाडौँ उपत्यका वरपरका ऐतिहासिक, सांस्कृतिक र पुरातात्त्विक स्थलहरूलाई नियाल्दै थिएँ । र, त्यसअगाडि म ज जनक कार्की र विक्रम पवन परियार दाइसँग रोल्पाको लिस्ने भिर चहार्दै थिए । र, त्यसभन्दा अगाडि म अर्घाखाँची जिल्लाको कुनाकन्दरा डुल्दै थिएँ ।
सुमित्रा जी, यसो भनौँ, म अहिले अघिल्लो वर्षको यात्राको ह्याङओभरले लट्ठ भएर बसेको छु । त्यतिबेला मैले निकै Uछिटो-छिटो धेरै भू-भागको यात्रा गरेँ । एक वर्षमा मैले आफ्नो एक रुपैयाँ पनि खर्च नगरी ४० भन्दा बेसी जिल्ला पुगेँ । अघिल्लो वर्ष मात्रै मैले मेरो देशको एउटा प्रष्ट र गजबको चित्र देखेको छु, महसुस गरेको छु, सोहीअनुपातमा फरक विधा, फरक भाषा, फरक लगाइखुवाई र भूगोलका मानिसहरू भेटेको छु । यो महसुसहरू साच्चै अद्भूत छ । यो देश लागूऔषध जस्तो छ- सेवन गरिरहूँ, पिइरहूँ लाग्ने । जहाँ अडियो, त्यहीँ कल्पनातीत । त्यहीँ धुवाँदार । त्यहीँ मिजासिलो । हिँडुरहू लाग्ने, डुलिरहूँ लाग्ने । देश सेवन गर्न नजान्नु हामीहरूको भूल हो ।
यी गरिएका यात्राहरूले मलाई कसोकसो थकाएको जस्तो छ । पोहोरजति इनर्जी यसपालि महसुस गरिरहेको पनि छैन । र, त्यो उत्साह सहित यात्रामा होमिने आँट पनि बटुल्न सकिरहेको छैन ।
अहिले म आफ्नै टुरशाला नामको पर्यटन र वातावरण विषयक अनलाइन पोर्टल चलाइरहेको छु । पछिल्लो समय म वातावरणकर्मी र वैज्ञानिकहरूसँग उठबस गरिरहेको छु । र, नैकापको यस डेरामा कहिले खोकिरहेको हुन्छु, कहिले अनिदो बसेर साउने झरी नियालिरहेको हुन्छु । भन्नुस् म, बडो सुविस्तासँग बस्, लेखिरहेको छु । तपाईँलाई भनौँ, म एकासाथ दुई/तीन वटा विधाका पुस्तकहरूको तयारीमा छु, सम्पादन र लेखनकै क्रममै छु । म आफ्ना लेखनहरूलाई एकीकृत गर्नुपर्छ भन्ने सोचले साँचोरूपमा गाँजिएको छु ।
३). तपाईले साहित्य लेखनको क्रममा साहित्यका कुन-कुन विधामा कलम चलाउनु भएको छ ? यसरी अनेकौं विधामा कलम चलाउँदा तपाईंलाई सहज या असहज के महसुस हुन्छ ?
मैले सुरुमा मुक्तक लेखेँ क्यार । मुक्तक लेख्नमा ‘बहकिने मन’कै हात थियो । सो कार्यक्रममा बज्ने २/४ वटा मुक्तक चोरेर म आफ्नो मुक्तक लेख्थेँ । तर, त्यहाँ मेरो मुक्तक वाचन भएझैं मलाई लागेको छैन । तर, खुब मुक्तक लेखियो त्यो बेला । मुक्तक पुरस्कृत भयो, विपिन सलामी र सुबिन भट्टराईको सिग्नेचर देख्छु सो प्रशंसापत्रमा । हाइकु भनेर उसैगरी लागियो । अहिले मेसो पाउँछु, झुक्किएर कुनै कुनै हाइकु भएछन्, बाँकी त टुक्का मात्रै !
म सँगसँगै जस्तो गजलमा पनि आएँ । गजलमा मलाई पछि कुन्नि के अल्झो लाग्यो, मन बसेन । म अनन्त अनुराग, दिनेशराज ज्ञवाली, हुकुम धड्कन, अमला अधिकारि, ठाकुर चुरे र कहिलेकसो कृष्णप्रसाद अर्यालको गजलको लती भएँ, अर्कोतिर जौन एलिया र निदा फाजलीको अत्याधिक गजल सुन्न थाले । उहाँहरूको जस्तो लेखिरहेको छैन भन्ने बोध हुनासाथ म गजलबाट हटे । मैले गजल नलेखेकैले राम्रा गजल पढ्न सकें कि भन्ने पनि लाग्छ । यहाँ एकसाथ गजलको शास्त्रीयता नबुझेको र नेपाली गजलमा जुँगाको लडाई चलिरहेको चाल पाएपछि नेपाली गजलकारका मनोविकारदेखि अलि पर रहे । आजभोलि जीवनपानी दाइ र लालकाजी दाजुको संगतमा रहेर दुवैखाले गजलहरूलाई बुझ्न खोज्दैछु । र, म नित्य ‘केही यस्तै’ नाममा शेर वा फर्दहरू लेख्दै छु । पछिल्लो समय हुकुम धड्कनले मेरा ती ‘केही यस्तै’मा साह्रो रुचि देखाउनुभएको छ ।
र, मुक्तक र गजल लेखिरहँदा पनि म गद्य लेखिरहन्थे । कथा, निबन्ध, मनोवाद या प्रेमील टिप्पणी या डायरी लेखन वा यात्रा संस्मरण सबै लेखिरहेको हुन्थे/छु । म उपन्यास पनि लेखिरहेको हुन्थे/छु । जे होस्, म एकासाथ सबै लेख्थेँ/लेख्दै छु । तर, मैले छन्द कविता कहिल्यै लेखिनँ । एकताका लेख्नुपर्छ क्यारे लागेर मनोज भण्डारी दाजुको युट्युब पनि चहारेँ, कुन्नि के भो सकिनँ । म गीतको बोल र संगीतको धुन सम्झिन नसक्ने मनुस्से हो, यसकारण छन्द मेरा लागि होइन कि ? तर, म छन्द कविता रुचाउने मान्छे हो, पढ्न/सुन्न आउँछ, लेख्न र वाचन गर्न आएन ।
अब, तपाईँले सोध्नुभएको छ कि, धेरै विधामा लेख्नुको सहजता-असहजता केकस्ता हुन्छन् ? सहजताको हकमा- एउटा मनोदशा वा मनोभावलाई विधागत सौन्दर्यअनुसार फरक- फरक विधामा एकसाथ व्यक्त गर्न पाइयो । पानीलाई बरफ बनाउने कि बाफ बनाउने कि वा मनतातो मात्रै बनाउने वा त्यसमा कुनै रङ मिसाउने त्यो व्यक्तिको क्षमताको कुरा भयो । म चाहिँ सबै गर्दिराहुन्छु- कवितामा आएन भने कथामा, कथामा आएन भने ‘केही यस्तै’मा । र, त्यसमा पनि म अटाइनँ भने सबैले ‘झल्लु स्टाइलको लेखन’ भनेको एकप्रकारको निबन्ध, एकाङ्की एवं मनोवादको मिश्रणमा म गद्य लेखिरहेको हुन्छु । यति गर्दा नि मेरो भाव निख्रिएन भने एउटा साहित्यिक टिप्पणी गरेर शान्त भइबस्छु ।
सुमित्रा जी, मैले पछिल्लो एक दशक लेख्ने बाहेक अर्कोथोक नगरेकाले प्राय: विधालाई अपनाएँ । र, मेरा हत्केला साह्रो दुख्छन् आजभोलि, म जान्दछु यो पछिल्लो १० वर्षदेखि दैनिक ५/६ घण्टा टाइप गर्नुको असर हो । मलाई लेख्नु निकै सहज लाग्छ, सानोमा पनि खुब बान्की र भाषा मिलाएर चिठीहरू लेख्थें । मैले असहजताको सवालमा भन्नै जानिनँ । सायद मलाई हालसम्म कुनै पनि विधामा लेख्न असहज लागेको छैन, छन्दको हकमा भनिहालेँ । यसबाहेक मैले गीत पनि लेखेको छु, लघुकथा पनि मसँग छन् । पुस्तक समीक्षाहरू पनि गरेको छु, जसलाई म ‘पठन संस्मरण’ भन्ने गर्छु । यसबाहेक तपाईँ जान्नु नै हुन्छ, म निरन्तर आर्टिकल लेखन र साहित्यिक अन्तर्वार्ताहरू पनि गरिरहन्छु । आजभोलि पुस्तक सम्पादन, घोष्ट राइटीङ र साइन्स जर्नल एवं अमुक व्यक्तिका मास्टरका थेसिस पनि सघाइरहेको हुन्छु । म आफ्नो आर्थिक संकटलाई थुमथुम्याउनका लागि लेखनका हरेक विधालाई आत्मसात् गरिरहेको छु । मैले त्यहिँ नेपाली कागजमा मालपोत अड्डामा बसेर लेख्न बाँकी छ, अरू सबै गरें होला ! ‘साहित्य निःशुल्क’ भइदिनाले म जस्तो लेख्न मात्रै जान्ने व्यक्तिले र लेखन बाहेक अर्को इलम नभएको मनुवाले कहिलेकसो अमुक नेताको भाषण र घोषणापत्र पनि लेखेको छ । म एउटा नाटक लेखन र फिल्म लेखनको चरणमा पनि छु । म अङ्ग्रेजी भाषामा लेखनको प्रयास त छँदै छु, कविताकोशतिर भेटिने हिन्दी कविताहरूको नेपाली रूपान्तरण पनि गर्दैछु ।
४) साहित्यलाई किन रोज्नु भयो ? जीवन र साहित्यको अन्तर सम्बन्ध कस्तो देख्नुहुन्छ ?
म अलिकता आफूकेन्द्रित कुरा गर्छु, मैले काठमाडौँ छिरेपछि पर्याप्त मात्रामा जीवनभोग गरें । १७/१८ वर्षको केटाले गर्न सक्ने र उसको बुताले भ्याउने सामाजिक उज्याला र अँध्याराहरूसँग ऊ ठोक्कियो । अलि बेसी आफूकेन्द्रित पनि थिएँ । एकपटक म डेरामा मेरा पाहुनालाई बस्दै गर्नु दुनोट लिएर आउंछु भनेर चोकमा साइकल लिएर निस्किएको थिएँ । त्यो बिहान अत्यन्त सुन्दर लाग्यो, म मोबाइल अफ गरेर शंखमूल पुगीदिएँ । म यो लेबलको हरामी थिएँ ।मैले ०७५ सालसम्म घर-परिवार वा इष्टमित्रलाई याद गरेको होइन ।
म भुइँचालोपश्चातको ३ वर्षको समयमा साहित्यकै खातिर कुदिहिँडे । कसैले भट्टीमा बसेर कविता सुनाउँछ भने म भट्टीमै पुगेँ । कसैले चियाचमेनामा गजल सुनाइरहेको छ भने दिनमा २४ कपसम्म चिया खाएर गजल सुने । कसैले आफ्नो नवप्रकाशित साहित्यिक कृतिको पट्यारलाग्दो लम्बेतान भाषण गरिरहेको छ भने, मैले त्यो पनि नबिराई सुनें । समकालीन साहित्यकार (जो काठमाडौँ आउँछन्) तिनीसँग मैले सदैव एक मिठो सम्बन्ध बनाइरहे, उनीहरू पनि बरोबर सुनिरहें । मैले साहित्यिक गल्लीहरूलाई खुब चियो गरें, त्यता चल्ने हल्ला र मिठासहरू दुवैसँग नजिक भइरहें ।
कुन्नि किन हो साहित्यप्रति उधुमै मोह बस्यो । मेरा उमेरका केटाहरू जिम जान्छन्, ड्राइभिङ सेन्टर जान्छन्, आफ्नै क्याफे वा बिजनेश हाउस सञ्चालन गर्छन् अर्थात् उनीहरूले आफ्नो साहित्यप्रतिको लगावलाई लत्त्याएर अर्को पेशा-व्यवसाय अपनाएका छन् तर म छु, म यसैमा लिडिढिपी गरिरहेकै छु । ममा कहिँ न कहिँ इमान्दार लेखन पनि व्यवसायिक हुनुपर्छ भन्ने जिद्द छ ।
र, जहाँसम्म तपाईँको प्रश्न छ, मैले साहित्य किन रोजेँ ? साहित्यले मलाई रोज्यो कि भन्ने पो लाग्छ । जब उसले नै मलाई रोजेको छ भने मेरो जीवन साहित्यमय नै भइजाने भयो ।
सुमित्रा जी, जुन दार्शनिक प्रश्न उठान गर्नुभएको छ, म दर्शनको पनि विद्यार्थी भएकाले के मात्रै भन्छु भने, साहित्य र जीवन अन्तरसम्बन्धित भएकाले नै यिनीहरूको अस्तित्व छ । एक-अर्कोबाट अलग रहनासाथ दुवैको अस्तित्व गयल हुनेछ । र, त्यो एक भयावह र कोलाहलपूर्ण अवस्था हुनेछ । साहित्यबिनाको समाज वा मानवजीवनको कल्पना मैले गरेको छैन । र, म इतिहासको पनि विद्यार्थी भएका नाताले ठोकुवासाथ भन्न सक्छु, साहित्यबिनाको मानव सभ्यता इतिहासमा पनि छैन । हामी घोरिएर हेर्छौँ भने इतिहास आफैँमा एक साहित्यिक विधाजस्तो प्रतीत हुन्छ ।
५) समाज रूपान्तरणमा साहित्यको भूमिका कस्तो रहला ?
म तपाईँका प्रश्नहरूको क्रमबद्ध उत्तर दिँदैछु तर सुमित्रा जी म के पाइरहेको छु भने माख्लो प्रश्नको उत्तरमै म तल्लो प्रश्नको पनि जवाफ लेखिसक्दो रहेछु । यस प्रश्नको उत्तरले समाज रूपान्तरणको अनिवार्यतालाई जनाउँदछ र रूपान्तरण समाजको दैनिकी हो । जब हामी यही समाजको एक छेउमा बसेर सर्वाङ्ग सामाजिक अवयवहरूलाई नियाल्छौँ र त्यसको प्रगतिशीलता वा गतिशीलताको कामनासहित साहित्य लेख्दछौँ भने साहित्यको भूमिका आफैँ प्रष्टिन आउँछ । र, जहाँसम्म यस प्रश्नको अर्को पाटो छ, साहित्यले समाज रूपान्तरण गर्यो/गरेन वा गर्दैछ/गर्दैछैन भन्ने, यो खाँटी कुरा हो ।
म के महसुस गर्दछु भने, समकालीन या तत्कालीन नेपाली साहित्य र विश्व साहित्यले समाज रूपान्तरणमा यथेष्ट भूमिका निभाउन सकेको छैन जति सिलिकन भ्यालीका आइटीविज्ञ वा झुटा खबरहरूले गरिरहेका छन्, यदि यसलाई पनि रुपान्तरित समाज मान्ने हो भने । आजको विश्व समाजमा भ्रष्ट नेताहरूको पछाडी व्यापारी, वैज्ञानिक र सल्लाहकार लागेको देखिन्छ । साहित्य अगुवा हुनु पर्ने हो, तर ऊ च्याट जिपिटीसँग कविता लेखिमागिरहेको छ । यो देख्दा दुख्छ हो सुमित्रा जी !
वा भन्नुस्, जलवायु परिवर्तन र एआई आतङ्कले मानवीयतलाई डसिसक्दा पनि आजको साहित्य हुँदै नभएको प्राकृतिक सुन्दरताको महिमामान वा भक्तिमा छ । नेपाली कविहरू अझै पग्लिरहेको सगरमाथाप्रति गर्व गर्दै कविता कोरिरहेका छन्, जबकि त्यो लाजको कुराहो । हाम्रा हिमाल पग्लनु कतैव सौन्दर्यशास्त्र भित्र अट्ने कुरा होइन । म चिन्तित छु कि, हप्ता दिनअघि मुस्ताङमा ठुलो बाढी पसेको छ, चितवन राष्ट्रिय निकुञ्जभित्र नारायणीले प्लास्टिक हुल्दिएको छ । म चिन्तित छु, मूल चोकमा केही रोपनी जग्गा भएका सार्वजनिक पुस्तकालयहरूको छानोमा व्यावसायिक घरानाको गन्हाएको मोजा थुप्रिन थालेको छ । म पीर मान्दछु कि, चुङबा दाइले हुम्लामा खिचेका याकको ‘संरक्षण कार्ययोजना’ अझै बनेको छैन । बागमती किनारमा विष्णुविक्रान्त अझै पनि ढलमुनि मिल्किरहेकै छन् । बौद्धकालीन निपोनियाको पुरातात्त्विक इनार दानव नदिले कटान गरिरहेकै छ ।
सुमित्रा जी, आजको साहित्य साह्रो पछौटे र निकम्मा हुँदै छ । प्रेमिकाको उठेको छाती र सुलुत्त परेको चिउँडोबारे नै कति लेख्नु हाउ, जब उनी आज पनि प्याड किनेर आउँदा पत्रिकामा बेह्रिरहेकी छन् वा पब्लिक बसमा मिस्युज भइरहेकी छन् । वा भन्नुस्, प्रेम नै ट्वाक्क महसुस हुन् पाएको छैन भने । नेपाली साहित्यमा यौनजन्य मनोविज्ञानका कथा/कविताहरूको कमि देखेर हैरान हुन्छु, यो किन हल्लाअगाडिको चुपचाप हो ? खैर, म त हाम्रा कवि/लेखक/साहित्यकारहरूको उदेकलाग्दो र पुराना बिम्ब/प्रतीक एवं भाषा-शिल्प देखेर साह्रो दिक्क मान्दैछु । म कमसेकम सचेत हुँदैछु कि मैले के लेख्नुहुँदैन । अन्त्यमा यति भन्छु, आजको साहित्यले के लेख्नुहुँदैन भने थाह मात्रै पाइदिने हो भने त्योभन्दा ठुलो सामाजिक रूपान्तरण अर्कोथोक केही हुने सक्दैन । बरु सुमित्रा जी, तपाईँ के लेख्दै हुनुहुन्छ ?
६) अचेल साहित्यमा अत्याधिक कलम चलाउनेहरु भेटिन्छन् तर परिमाणात्मक रूपमा जति लेखिएका छन गुणात्मक रूपमा त्यति साहित्य विकास हुन सकेका छैनन किन होला?
पहिलो कुरा नेपाली साहित्यिकारहरूकै कारण कलम उद्योग (ल्यापटप उद्योग) मालामाल भएको कुरामा शंकै रहेन । हाम्रा वनजंगल ‘कठोर संरक्षण नीति’का कारण प्रयोगमा आएनन्, अन्यथा साहित्यकारहरूले वन पनि मास्ने थिएँ- कागजको प्रयोगका खातिर ! हाहा…
सुमित्रा जि, गुणात्मक साहित्य लेखन छँदै छैनन् भन्ने पनि साँचो त होइन नि । रमेश शायन ‘अन्तर’ मार्फत लैंगिक तथा अल्पसंख्यक समुदायको मुद्दामाथि स्वर उचो बनाइरहेका छन् । दोस्ताज महेश आफ्नो अडियो बुकबाट कति सुन्दर कथा भन्दैछन् । नविन अभिलाषीले मौलामा बाँधिएको राँगोमार्फत गुणात्मक कविताको छनक दिएका हुन् । वा, तपाई जेसन कुँवरको रमितेलाई लिनुस्, एउटा संगीतकारले त्यो विधि फरक शैलीसहित डार्क कथा ओकलिरहेको छ, त्यो गुणात्मकता होइन र ? अझै पनि धुर्वचन्द्र गौतमको कलमले गुणात्मकता छोडेको छैन, नयनराज पाण्डे अझै उही पेसमै लेख्दैछन् । भीष्म उप्रेती र युवराज नयाँघरेले नियात्रा वा निबन्ध विधालाई खस्किन दिएका छैनन् । प्रमोद प्रधान गुणात्मक बालसाहित्य नै लेखिरहेकै छन् ।
हो, बुकाहोलिक्स र कुमार नगरकोटीले परिमाणात्मक साहित्य लेखनलाई बढवा दिइरहेका छन् । इन्डीगो, कलम, सांग्रिला, फाइनप्रिन्ट लगायतका प्रकाशन गृह र सोसम्बन्धका लेखक/साहित्यकारहरूले सोही काकतालि गरिरहेका छन् । यिनीहरू तत्कालै सच्चिन जरुरि देख्छु ।
म त कसोकसो साझा र रत्नसँग पो सहानुभूति पालिरहेछु, यिनीहरूसँग साच्चै राम्रो पाठक छन् । चितवनका लेखराम सापकोटा, नेपालगन्जका विपी अस्तु र पोखराका गणेश पौडेल दाइको लाइब्रेरी प्रोजेक्टसँग पो नतमस्तक भइरहेछु । तपाइँलाई भनु सुमित्रा जि, नेपालमा उदय अधिकारि, सगुना शाह, गणेश खनिया, अच्युत कोइराला, सौगात मल्ल, राम लोहनी, नविन तिवारी, महेश पौड्याल जस्ता केहि खुंखार पाठक एवं पठन अभियन्ताहरू छन्, जसले नेपाली साहित्यको गुणात्मकतालाई धराशायी बनिहाल्न दिनेछैनन् ।
७). साहित्यकारलाई दिने र साहित्यकारले लिने सम्मान, पुरस्कारको सम्बन्धमा तपाईं के भन्नुहुन्छ ?
यसबारेमा त मैले न्यूजकास्ट नेपालमा परार सालै ‘एकेडेमीमा रमिता छ’ शीर्षकमै सबै लेखिसकेको छु । त्यसबाहेक एक दुई वटा कुराहरू भन्न मन लागेको छ । आज हरेक पुरस्कार संस्थान र पुरष्कृत साहित्यकार बदनाम छन् । यो उनीहरूले नै स्थापित गर्दै गइरहेको नजिर हो । उनीहरू आफैँ आफ्ना पोल खोल्दैछन्, गुप्त रहस्यहरू साहित्यिक गल्लीमा चुहाउदैछन् । म देख्छु, पुरस्कारको होडबाजीले नेपाली साहित्यकारहरूलाई असनमा विक्रीमा राखिएको एक किलो मुसुराको दालको हैसियतमा पुर्याइदिई सकेको छ । यस्ता दालहरूका कारण भविष्यको नेपाली साहित्यलाई अपच एवं अजीर्ण हुने खतरा बढ्दो छ । अनुज एवं समकालीन पाठकहरूले तत्कालै कागती र मह सेवन सुरु गरौँ भन्न चाहन्छु । अर्को चाहिँ साहित्यिक जात्रा-पर्व, मेला-उत्सवहरूलाई सच्चिन आग्रह गर्दछु ।
८) अब नयाँ कृति कहिले पढ्न पाउँछौं हामीले ?
म समयको होस् नराख्ने मनुवा हो । ‘हमेशा देर कर्नु’ मेरो आदत भइसक्यो । म ‘आदतका मारा’ बबुरा हुँ । तर, के विश्वस्त हुनुस् भने मेरा पुस्तकहरू प्रकाशित हुनेछन् ।
९). तपाईँलाई लेख्न प्रेरणा दिइरहने तत्त्वहरू के के छन् ?
मलाई के लग्यो भने यस प्रश्नको उत्तर मैले माथि कतै दिइसकेँ । यत्ति हो, मैले २६/२७ वर्षको यो उमेरमा लेख्न बाहेक अरू व्यवहारिक काम कुनै जानिनँ । म बोलीबाट पनि शब्दबाट ज्यादा सम्प्रेषित हुन् सक्दो रहेछु, यसैले लेख्छु । वा भन्नुस्, म प्रेरणाले भन्दा पनि एउटा नित्यकर्म भाँती लेख्छु । र, अर्को चाहिँ लेखिरहँदा म आफ्नो हृदय वा मस्तिष्कमा परेको खिल उतार्न खोज्छु । मैले कुरा चपाउन नजानेको कारण वा ठाडै लेखेका कारण नेपालका साहित्यिक पत्रिकाहरूको वरिष्ठ सम्पादक, ठेकेदारी गरिरहेका प्रकाशन गृह, आफ्नै इलाकाका सांसद एवं नेतागण र मलाई उधुमै प्रेम गंरे प्रेमिकासँग समेत छोडपत्र भइसकेको छ । जब कोहि छैनन् र लेखन मात्रै छ भने त्यतिबेला प्रेरणाको मात्रै के कुरा र ?
एउटा कविता सुन्नु न त है;
नपर्नु झरी झरिगो,
नझर्नु चिस्यान परीगो !
परिसकेपछी,
झरिसकेपछी..
न्ओभाउनु जाति,
नउक्लनु जाति !
पैताला पखेटा हो, होला ?
पखेटा पैताला हो, होला ?
यताउता..
कता जानू ?
कसलाई भन्नू ?
कसले पो सुनिदिनु ?
एउटा बृहत आकाश मनमै छ
एउटा फराकिलो धर्ती मुटुमै छ ।
झरिरहेकै छ,
परिरहेकै छ..!
पैताला ओभाउनु, भो परेन
परेला ओभाउनु, भो परेन
शरीरलाई आराम, त्यस्तै हो
दिनागलाई सुख, त्यस्तै भो !
हुनु थियो, भइगयो
नहुनु थियो, भइगयो
अब खजुरो हौँ, चट्याङ सह्यौँ
अब गड्यालो हौँ, माटो खोतलौँ
यसै पनि धर्तिमा आगो छ
यसै पनि आकाशमा प्वाल छ
तिमि आऊ, समाऊ !
फुत्किनु नियति भयो,
छुटीजानु दैनिकी भयो
मनको के कुरा ?
मनमनै के भो र ?
एउटा मन त तिमिसँग पनि छ ।
एउटा मुसुलधारे वर्सात् तिमी पनि त हौ ।
सबैसबै भइरहँदा
तिमी र म एक हुनु के कुरा भयो र?
जम्मैजम्मै भरीइरहँदा
तिमी र म रित्तिनु के कुरा भयो र?
ए, छाता
भिज न ।
ए, आँखा
रुझ न ।
आउनु, आउनु र भिजाउनु तिमी
पाउनु, पाउनु र गुमाउनु तिमी
आउनु, पाउनु
भिजाउनु, गुमाउनु
ओत लागौँला केहीबेरमा
अँगालोमा कस्सिउला केहीबेरमा !
रात हुनु र उज्यालो हुनु
हिलो हुनु र ओभानो हुनु
यो पनि त जीवन हो
यो पनि त मरण हो !
१०) लेख्ने रहर हो कि बाध्यता हो तपाईँको ?
कस्तो नमज्जा, दुवै पो होइन नि । लेख्ने रहर लेख्न चाहने वा लेखक भइखानेलाई हुँदो हो । र, बाध्यता चाहिँ पुरस्कृत भइखाएको या अमुक प्रकाशक गृहले वर्षमा एउटा किताब चाहिन्छ किचाहिन्छ भनेकालाई । म दुवैतिर छैन । मलाई उता आफ्नै यात्राको तयारी र झोला कस्नमा फुर्सद छैन । र, म साह्रो भुलक्कड मनुवा हो, म सम्झिनको लागि पनि लेख्छु है । यसैले तपाईँले पाउनुहुँदो म आफ्नो लेखनमा साह्रो घरायसी कुरा पनि गरिदिन्छु ।
११) नेपाली साहित्यप्रति यूवापुस्ताको चासो चिन्ता कत्तिको पाउनुभएको छ ? बताइदिनुस न ।
यो प्रश्न कपाल फुलिसकेको, मस्तिष्क पनि चाउरीसकेको तर म युवा नेता हुँ भनिरहेको गगन थापा जस्तो छ । यो भनेर तपाईँलाई किन रिस उठाएको भन्दा, युवापुस्ताले चासो/चिन्ता भन्दा पनि ‘आफू वरिपरि भइरहेको के हो’ भनेरै मेसो पाएको छैन । मै रुमल्लिएको मान्छे हो । भन्नेहरू भन्छन्, नेपाली साहित्य गतिलो समीक्षक पाएन । किन पाउँथ्यो, जब यहाँ चोकचोकमा कुरौटे र गतिछाडाहरू मात्रै छन् । साहित्यपोस्ट वा कोसेली, मधुपर्क वा गरिमालाई युवापुस्तालाई आकर्षित गर्न नसकेको देखेर ताज्जुब लाग्छ । एकेडेमीकै रवैयामा घिसिपिटी ‘साहित्य सेवा’हो भनिरहने हो भने नेपाली साहित्यलाई युवापुस्ताले वास्तै गर्न छाड्दिनेछन् ।
यदि म वा मेरो समकालीनलाई तपाईँले अलि उमेर खाइसकेको युवापुस्ता मान्दिनुभयो भने हामीलाई पछ्याइरहेका अनुजहरू नै छैनन्, जसरी हाम्रो ठ्याक्कै माथि अग्रजहरू छैनन् । युवापुस्ता विश्व परिवेशलाई मोबाइल स्क्रिनबाट बुझिरहेकाले उसँग आफ्नो व्यक्तिक अनुभवको अल्पता पनि छ, जो तिनका साहित्यमा देखिन थालेका छन् । यसर्थ नेपाली साहित्यमा हाल युवा पुस्ता छैन भन्दा नै हुन्छ, यसैले प्राण पनि छैन । उत्साह पनि छैन । जोश पनि छैन । नेपाली साहित्य साह्रो खल्लो मोडमा पो देख्छु हो सुमित्रा जी । नेपाली साहित्य र युवाबीच एउटा ह्वाङ्ग परेको खाल्डो छ, त्यसमा को जाकिने यो थाहै छैन । म यहाँनेर प्रा.डा. एवं त्रिवीलाई भरपुर गाली बक्न चाहन्छु ।
१२). तपाईंको साहित्य यात्राका क्रममा भएका अविस्मरणीय पलहरू छन् होला, बताइदिनुस् न ?
छन् । यी बटुलिँदै जाँदा रहेछन् । एउटा, मेरो कविता सुनेर ममी पटकपटक रुनुभएको छ, बहिनी रोएकी छे । मैले कहिले नसोचेको कुरा, बुबा मसँग तेरो किताब कहिले आउँछ भन्ने प्रश्न गरिरहनुभाको छ । अर्को, मेरा साहित्यिक रचनाका कारण थुप्रै प्रेमिकाहरू आएका छन् र मलाई रचनाअनुरूपको नपाएर मेरो बिचल्ली पारेर छाडिगएका छन् । म एकताका आफ्ना रचनाहरूलाई ‘जार’ भन्ने गर्दथें । तपाइँलाई भनौँ, छाडिगएका प्रेमिकाहरू आज पनि मेरो रचना खुब चासोपूर्वक पढ्दैछन् ! अझ अर्को, मलाई एउटा अमुक व्यक्तिले रत्नपार्क अगाडि एक घण्टा जति उभ्याएर मेरा कविताहरू खरर सुनाएर, मेरो खतरा तारिफ गरेर आफ्नो नाम पनि नभनेर लापता भएको छ । मैले एकचोटि ट्याक्सीको भाँडा तिर्ने पैसा नहुँदा आफ्ना केही र भूपी शेरचन-हरिभक्त कटुवालका केही कविता सुनाएर डेरासम्म आएको छु । मबारे एक जनाले एउटा सुन्दर कविता लेख्नुभएको छ । र, मैले थुप्रैपटक आफूले गनिमानेका मेरा अग्रजहरूलाई रक्सीको मातले बेहोस भएपछि उहाँहरूलाई घरसम्म पुर्याइदिएको छु । र, यो करिब १० वर्षको साहित्यिक यात्राका क्रममा, मैले अपार माया र स्नेह पाएको छु, जो मेरा लागि अलौकिक र अनुपम छन् । सायद अविस्मरणीय पनि ।
१३) साहित्य लेखेर जीविका चल्दैन भन्छन्, तपाईलाई के लाग्छ ?
साहित्य मात्रै लेखेर त मैले जीविका चलाउन सकिनँ । खोजेको हुँ, सकिनँ । सायद जानिनँ । प्राकृतिक स्रोतसाधनको अत्यधिक खपत गर्ने पूजीवादी दुनियाँमा ‘साहित्य मात्रै लेखेर जीविका चलाउनु एउटा कला हो, जो मसँग छैन ।’ म देख्छु, विदेशी साहित्यकारहरू साहित्यबाटै अथाह कमाइरहेका छन् । एउटा सुखद जीवनयापन गरिरहेका छन् । चूडामणि शर्मा जस्ता करोडौँ रोयल्टी बुझ्ने लेखकहरू पनि त यही नेपालमै छन् । २५औँ हजार हो कि लाख, पुस्तक बेच्ने सुबिन भट्टराईहरू पनि यही छन् । अमर न्यौपानेहरू रोयल्टीबाटै घर-घडेरी जोडिरहेकै छन् । र, देवकोटा, अर्याल वा पारिजातको पुस्तक बेचेर अकुत कमाइरहेका प्रकाशन गृह र ती लेखकका छोरा-नाती पुस्ता पनि यही छन् । यसर्थ, मैले चलाउन सकिनँ भन्दैमा ‘साहित्य लेखेर जीविका चल्दैन’ भन्ने होइन । सुमित्रा जी, म वास्तवमै चाहन्छु, म साहित्य लेखेर जीविका चलाउन सकौँ ।
१४) साहित्यका हरेक विधामा उत्तिकै कलम चलाउनुहुन्छ, तर कुनै एक विधामात्र छन्नुपर्यो भने?
यसमा म मेरै शैलीको लेखन भन्छु होला । र, मलाई फसाद कहाँ छ भने, यसलाई मैले कुन विधा भन्ने हो । म यतिबेला आएर पक्का भएको छु कि, मैले सबैभन्दा धेरै लेखेको गद्य शैली निबन्ध, मनोवाद वा संस्मरण नभएर यी तीनवटैको कक्टेल हो । यसर्थ, म सोहि भन्छु । म आफ्नै लेखनशैलीलाई नै निखार्दै लैजानेछु । समय आएपछि त्यसको विधागत न्वारन पनि गरौँला ।
१५) लेख्ने समय कसरी छुट्याइरहनुभएको छ ?
यस्तो छ, दैनिकी संचालनमा क्रममा मलाई लेखनबाट समय छुट्याउनु परिरहेको छ । बस्, गाँठो कहाँ छ भन्दा, म साहित्य लेखन भन्दा पत्रकारिता या खोजमूलक लेखन वा अनुसन्धानमा बेसी केन्द्रित भइरहेको छु । यसर्थमा, त्यस्ता काममा मुड नचल्दा या त्यहाँ आफू पोखिन नसकेपछी म साहित्य लेखनमा आउँछु । भन्नुस्, मैले लेख्ने भन्दा पनि पढ्ने समय छुट्याउनुपर्ने भएको छ । म क्रमश: कमजोर पाठक बन्दैछु । या नन-अपडेटेड पाठक ।
१६ ) अहिले नेपाली भाषा साहित्यको अवस्था कस्तो छ ?
अलि पहिले फेसबुकतिर फोटोको क्याप्सन लेख्दा ‘हल्का हाँसेको अवस्था’ वा ‘यसो बुढीसँग बाहिर घुमेको अवस्था’ भन्ने चलन थियो । त्यो चलन नेपाली भाषा साहित्यमा देखिएको छ । नेपाली भाषा साहित्य फेस्बुकमा क्याप्सन लेखेर नबसोस् भन्ने हो ।
१७) अन्त्यमा तपाईलाई भन्न मन लागेको मैले सोध्न छुटाएको केही छ कि ?
छुट्नु पनि त अनिवार्य कुरा हो । यसर्थ म यसको अनिवार्यबोध सहित बिदा माग्छु ।
अस्तु !
(सुसन्देश (साप्तहिक), काभ्रेबाट प्रकाशित पत्रिकाको अन्तरंग यस अन्तर्वार्ता २०८० भाद्र, ०७ गते बिहिबार प्रकाशित भएको हो।)