जब फार्मका जनावर कौसीमा उक्लिए !

You are currently viewing जब फार्मका जनावर कौसीमा उक्लिए !

जनआन्दोलन (०४६) बाट प्रजातन्त्रको पुनःस्थापित भएपश्चातको पहिलो पहिलो आमनिर्वाचनमा आफ्नी श्रीमती मंगलादेवी सिंह र पुत्र प्रकाशमान सिंह चुनावमा हारेपछि नेपाली जनताले नेपाली कांग्रेसका सर्वोच्च नेता गणेशमान सिंहबाट प्राप्त गरेको पदवी हो- ‘भेडो’ । ‘भेडो’ अर्थात् ‘जनावर’ । नेता सिंहले रिसको झोंकमा राजधानीबासीलाई दिएको पदवी ‘भेडो’ अर्थात् ‘जनता’लाई उतिबेलै राजधानीवासी कवि भूपी शेरचनले एउटा कविता पढाएका थिए ‘हामी वीर छौँ तर बुद्धु छौँ, हामी बुद्धु छौँ र त वीर छौँ ।’ फेरि, अर्कोपटक धुमिल लाईटमुनि जनतालाई ‘अडियन्स’ बनाएर रातो बत्ती मुनि आफू बसेर कथाघेरा भन्दैछ- “एनिमल फार्ममा तपाईंलाई स्वागत छ । अर्थात्, पशुहरू ! तिमीहरूलाई तिमीहरूको संसारमा स्वागत छ ।” 

यो बताइरहँदा केपोलियन र चाप्लुसहरू पंक्तिकारको घाँटी अठ्ठाउन आइपुग्लान् तर, हामी नेपालीले नेपाल (आफ्नाकै लागि लडाइँ लडेको निकै समय भइसक्यो । सायद सन् १८५५/५६ मा भोटसँग लडेको लडाइँ हामीले आफ्नो लागि लडेको लडाइँ थियो । त्यसपछिका लडाइँहरू त फगत ‘पशुवाद’ अर्थात् ‘राष्ट्रवाद’, ‘प्रजातन्त्रवाद’, ‘जनवाद’ ‘बहुदलवाद’, ‘गणतन्त्रवाद’ या ‘साम्यवाद’को नाममा सर्वहारा वर्ग (गाई) वा कामदार वर्ग (घोडा) लाई सत्ता उक्लने भर्यांग बनाएर सुँगुर (केपोलियन, चाप्लुस र एसबी)हरूले लडेका हुन् । राष्ट्रवादको नाममा ‘भेडो’ बनिरहेका हामीहरू, ‘सुखी नेपाल र समृद्ध नेपालको’ नाममा ‘बुद्धु’ बनिरहेका हामीहरू, दैनिन्दीन वीर गोरखाली र संसारकै ‘अग्लो छानो’को तक्मा छातीमा झुन्डाएर तानाशाही शासनको जुत्तामुनि कुल्चिरहेकै छौँ । 



नाट्यकर्मी आकांक्षा कार्कीको नेपालीकरण र निर्देशनमा कथा घेरामा चलिरहेको जोर्ज औरवैलकृत एनिमल फार्मको नेपाली संस्करणले यही कुरा त भनिरहेको छ- “गुतपाक हिमाल (सभ्य संसार)को कल्पनामा भुतुक्कै भइ नालीमा जाकिइरहेका ए पशुहरू हो ! उठ नालीबाट र प्रश्न गर । आज हामी यहाँ किन छौँ ? विदेशी भूमिमा बाह्रबुँदे सहमति गरेर आउनेहरूसँगस ‘पानीजहाज र रेलको सपना बाँड्ने’, स्वीटजरल्याण्डको आश’ देखाउँदै शासकीय दम्भको नशामा झुटको पुलिन्दा फलाकिरहने सत्ताधीशहरूसँग जवाफ त माग- हामी कहिलेसम्म दाम्लोमा बाँधिइरहने हौँ ? प्रश्न गर, प्रश्न । विदेशी भूमिमा बसेर ‘यो देशमा केही नहुने’ निर्क्यौलमा कतिपटक पुग्छौँ ? एमालेले हल्लाएको लट्ठीको भरमा हुल बाँधेर मेची–महाकाली यात्रामा कतिपटक सहभागी हुन्छौँ ? सप्तरीमा प्रहरीको गोली खान लट्ठी बोकेर कतिपटक मोर्चाबन्द हुन्छौँ ? आफ्नो प्रतिनिधिसँग मेरो पेट किन भोको छ, सोध । निर्वाचनको खोल ओढेर आफूलाई कट्टर प्रजातन्त्रवादीरलोकतन्त्रवादी ‘साबित’ गरिरहेका तानाशाहहरूसँग आफ्नो सार्वभौमसत्ता, मौलिक अधिकार कहाँ छ, सोध । सोध..,सोध…., र सोध ।’

सुदाम सिकेको सहायतामा तयार भएको एनिमल फार्मको नेपाली स्क्रिप्ट पशु अर्थात् ‘नेपाली जनता’को हैसियत रैतीभन्दा माथि उठ्न नदिइरहेका केपोलियनहरूमाथि खरो उत्रिएको छ । शक्तिको दुरूपयोग गरेर शक्तिहीनहरूलाई दबाउन खोज्ने अहिलेको राजनैतिक माहोलमाथि कटाक्ष गरेको छ । नेतृत्वमा पुगेकाहरूले शक्तिको मोह (गाईको दूध)मा क्रान्तिलाई कसरी बिर्सिए भन्ने कुरा देखाएको छ । आफूलाई पढेलेखका/जानेबुझेका ठान्नेहरूले कसरी होचा-पुड्का, वर्ण, जात र विचारलाई थिचोमिचोमा पारेर फाइदा उठाउँछन् भन्ने कुरालाई ‘जनावरको भूमिका’मा रहेका मानिसहरूद्वारा देखाइएको छ ।



नाटकबारे केही कुरा….

१. कार्कीको निर्देशन तथा अनुवाद रहेको ‘एनिमल फार्म’ नाटकमा १६ जना कलाकारहरूको अभिनय छ । नाटकमा आयुष निरौला, इंगीहोपो कोइच सुनुवार, ओजश्वी भट्टराई, ऋपिकेश बस्याल, प्रयास बान्तावा राई, रोशनी स्याङ्बो, रिजोन परियार, अभिषेक शर्मा, सेविता अधिकारी, विनिता लामा गुरुङ, मारुती सापकोटा, कवि राई, आषिश काफ्ले, निर्भिक भट्टराई, विशाल क्षेत्री र धिरज थापा मगरले विभिन्न जनावरको रूपमा अभिनय गरेका छन् । प्रकाशमा क्षितिज पराजुली रहेका छन् भने नाटकमा प्रयोग भएको संगीत स्त्रोतम सांगीतिक समूह (शिव कँडेल र मनिश नौबाघ)ले निर्माण गरेका छन् । त्यस्तै, नाटकमा प्रयोग भएका हेडगियरहरू (कलाकारले लगाएको जनावरका टाउको) क्रिपा खड्की, जेनी सुनुवार, साकिरा थापा र सजन थापा मगरले निर्माण गरेका हुन् । ‘क्रान्तिको गीत’, ‘जिन्दगी उपहार भो’, ‘हाम्रो क्रान्तिको भविष्य’ कविता आयुष निरौलाको सिर्जना हो भने ‘एउटा गीत गाउनै बाँकी छ’ सौरभ कार्कीकाे सृजना हो । 

२. सुँगुर केपोलियन बनेर जनावरहरूको सत्ता हाँकिरहेका ईँगी होपो कोइँच सुनुवार, ‘भेडा’को भूमिकामा रहेर ‘चाप्लुस’को भूमिकामा रहेका ऋषिकेश बस्याललाई प्रश्न सोधेर र्‍याखर्‍याख्ती पारिरहेकी सबिता अधिकारीका अनुसार, “मानिसको भूमिकामा अभिनय गर्दा सीमा हुन्छ । तर, जनावर बन्दा त स्वतन्त्रता धेरै हुँदो रहेछ ।” उनीहरू भन्छन्, “मानिस हुँदा सभ्य हुनुपर्छ तर जनावर हुँदा उट्पट्याङ् गर्ने छुट हुँदो रहेछ ।”

३. यस नाटक दुई वर्षअघि नै मञ्चनको तयारीमा रहेको कार्की बताउछिन् । उनी भन्छिन्, “दुई साता रिहर्सल पनि गरिसकेको थियो कथाघेराले । एनिमल फार्म दुई वर्ष महामारीको सिकार भयो । कोरोनाले सबैतिर लकडाउन र निषेधाज्ञा भए । अन्य क्षेत्रभन्दा बढी प्रभावित रह्यो थिएटर । तयारीका बाबजुद नाटक मञ्चन हुन सकेन ।” 



नाटककै कुरा…।

“यो जर्ज ओर्वेलले लेख्नुभएको कथा हो, जो एउटा मान्छे हुनुहुन्छ । अनि आज हामी जे हेर्न भनेर आएका छौँ, यो नाटकै हो । यो नाटकमा तपाईंहरूले मान्छेहरू नै देख्नुहुनेछ तर जनावरको रूपमा ।” जनवारको झुण्डको नेतृत्व गरिरहेका सुँगुर भेषका बुढो मेजर रातो बत्तीमुनि बोलिरहेका छन् । रातो बत्ती अर्थात् क्रान्तिको रङ । मनोविदहरूका अनुसार रङले आँखाको तृप्ती मात्रै हैन मनमा गहिरो प्रभाव पार्छ । अडियन्स प्यानलको धुमिल प्रकाशमा गुम्सिरहेका दर्शक अर्थात् सर्वश्रेष्ठ हुनुको आत्मबोधमा रमाइरहेका कथित महान प्राणी मानिसहरूको जड मस्तिष्कमा एकपछि अर्को थप्पड मार्दै बुढो मेजर कम्पनमाथि पराकम्पन दिँदै जान्छन् । मनमा मात्रै होइन मस्तिष्कमा पनि । मस्तिष्कमा कम्पन छुटाउनु भनेको जडतामाथि रातो बत्ती बल्नु हो । रातो बत्ती बल्नु भनेको खतराको सूचाकक्षर पनि हो- परम्परावादी र रुढीवादीहरूका लागि । रातो बत्ती बल्नु भनेको यथास्थितिमा रमाइरहने प्रवृतिमाथि धावा बोल्नु हो । रातो बत्ती बल्नु भनेको उपभोक्ताबाट उत्पादक बन्न अभिप्रेरित गर्नु हो । चेतनाशून्य मस्तिष्कमा क्रान्तिको सूत्रपात गराउनु हो । रातो बत्ती बल्नु भनेको ‘हुनु’ हो । केही पनि हुन नसकिरहँदा ‘हुनु’ भनेकै क्रान्ति हो ।

प्रथम दृश्यमै दर्शकहरू सशंकित हुन्छन्, ‘अरे….रे, यो बुढो मजेर के अनसन्ट बोलिरहेको छ ?’ यो सुँगुर हामीमाथि बेफ्वाकका लान्छना र गाली किन बर्साइरहेको छ ? बुढो मेजर नाटक हेर्न पुगेका कथित मानिसहरूलाई जनवारहरूको हरियो-परियो उदार खेतमा स्वागत गर्छन् । उनको स्वागत मन्तव्य कहालीलाग्दो छ, उनी कहन्छन्, “यहाँ कुनै पनि जनावरलाई तिरस्कार गरिँदैन, जबसम्म कोही बुढो, अपांग, बिरामी वा घाइते हुँदैनन् । म झुटो बोल्दिन, एउटा जनवारको जीवन प्राय दुःख र गुलामीमै बित्छ । हामी जन्मन्छौँ, हामीलाई जीवित राख्नको निमित्त मात्रै खाना दिइन्छ, नमरुन्जेल बलजफ्ती अरूको सेवामा खटाइन्छ र आँखा झिमिक्क गर्न नपाउँदै मारिन्छ । के यो प्रकृतिको आदेश हो ? तर प्रकृतिले त भेदभाव गर्दैन । त्यसो भए हामी किन यस्तो दयनीय अवस्थामा बाँचिरहेका छौँ ? यसको जवाफ हो- मानिस ।” 



यसपछि तबेला बज्छ, जोडले, तोडले । स्टेज थर्रर काम्छ । यो पराकम्पनले दर्शकदीर्घाका हरेक मानिस आफूलाई प्रश्न गर्न विवश हुन्छन् । काठको दुई ऊर्ध्वमुखी, बेलनाकार, छालाको खरी जस्तै मुख भएको यस बाजा भारतीय उपमहाद्वीपको शास्त्रीय सङ्गीतको महत्त्वपूर्ण बाजा हो । यही महाद्वीपअन्तर्गतको नेपालको राजनैतिक स्खलनको कथा भन्नको लागि यस लोकबाजा छनौट गर्नु नाटकको सबल पक्ष हो । शास्त्रीय तथा लोकसङ्गीतमा प्रयोग हुने तबेलालाई विद्रोहको सूचकको रूपमा देखाउनु निर्देशक कार्कीको सचेत मस्तिष्कको कमाल हो । नाटकमा प्रयोग भएको ‘कलर थेरापी’ र ‘म्युजिकल फ्यूजन’ ले पंक्तिकार डगमगाएको कुरा पनि उत्तिकै साँचो हो । जत्ति बुढो मेजरको यो भनाइ साँचो हो- “मान्छेमात्र एउटा यस्तो प्राणी हो जसले केही उत्पादन गर्दैन, उपभोग मात्रै गर्छ । न दूध दिन्छ, न फूल पार्छ, न खेत जोत्छ, न छिटो दौडिन सक्छ, न उड्न सक्छ । निच्च हाँस्छ र गफ दिन मात्रै सक्छ । यसको बाबजुद मान्छे हामी सबैको मालिक ? हाम्रो आफ्नो भन्नु चाहिँ केही छैन ?”



शताब्दीअघि विदेशी परिवेशमा लेखिएको कथालाई नेपालीपन दिलाएर, जनवारमार्फत उट्पट्याङ् शैलीमा साँचो कुरा बोलाएर, एउटा सफल लेखकको चर्चित कथामा स्थापित भाष्यलाई मोला घोडामार्फत भत्काएर, हरेक संवादलाई गफगाफको भाषामा ढालिनु नाटकको सबल पक्ष हो भने नाटक लामो बनाउनु र कहीँकतै दर्शकहरूलाई लोलाउने छुट दिनु नाटकको कम्जोर पक्ष  हो । वर्षौंदेखि लोलाईरहेका दर्शकको केही मिनेट बढी समय लिनु पनि कार्कीको चलाखी (जानाजानी) नै हो झैँ लाग्छ किनभने आ-आफ्ना महान नेतालाई आफ्नो मगजको साँचो सुम्पिएर ‘भुइँ अर्थात् तन्ना नहालिएको ओछ्यान’मा निदाइरहेका दर्शकहरूलाई आफ्नो केही मिनेट समय लुटिँदा के नै फरक पर्छ र ? आफूलाई ध्वंस पार्न कुनै जल्लाद, कुनै आदेश-घोषणापत्र-विधयेक, कुनै अतिक्रमणकारी, कुनै सैनिक, प्रहरी, न्यायिक, प्रशासनिक केन्द्र, कुनै शिविर, कुनै इतिहास र कुनै समय हाबी हुँदा रत्तीभर बोल्न समेत नसकेकाहरूलाई कहिले पो परेको थियो र ?

****

त्यो एनिमल फार्म र यो एनिमल फार्म….

पुरानो मेजर, स्नोबल, नेपोलियन, स्क्वलर, बक्सर, मोली, बेन्जामिन, मोसा जोन्स, फ्रेडरिक र पिल्किङ्ग्टन आदिलाई मुख्य पात्र बनाउँदै ओरवैलद्वारा लिखित लघुउपन्यासले १९१७ को रुसी क्रान्ति र सोभियत सङ्घको शुरुका वर्षहरूको वर्णन मात्रै गरेको छैन पशुवाद, भिड नियम, वास्तविकताको विकृति, झुट्टा निष्ठा, राजनीतिक भ्रष्टाचारविरुद्ध कटु आलोचना समेत गरेको विश्लेषक दीपेन्द्र पाण्डेको मत छ । उनी अगाडि लेख्छन्,  “मानोर फार्म रुसको रूपक हो र किसान (गोठाले) ‘जोन्स’ रुसी जार हुन् । पुरानो मेजर भनेको भ्लादिमिर लेनिन हो, र स्नोबल नामको सुँगुरले बौद्धिक क्रान्तिकारी लियोन ट्राटस्कीलाई प्रतिनिधित्व गर्दछ । नेपोलियन स्टालिनको पक्षमा छ, जब कि कुकुरहरू उसको गोप्य पुलिस हो । घोडा बक्सर सर्वहारा वर्ग वा कामदार वर्गको लागि खडा छ ।” रुसमा १९१७ को कम्युनिस्ट क्रान्तिपछि पुँजीवादी वर्ग प्रणालीलाई उखेल्नुको सट्टा क्रान्तिले यसलाई अर्को पदानुक्रमको साथ बदल्यो । सत्तामा रहेका मानिसहरूले भाषालाई आफ्नै फाइदाका लागि चलाउँछन् भन्ने ओर्वेलको मान्यता विशिष्ट ढङ्गले स्थापित हुन पुग्यो । सोही स्थापित मान्यता रुसमा मात्रै नभएर नेपालमा पनि देखिएपश्चात नै यो नाटक मञ्चन हुन् आइपुगेको हो । 



कुरा इतिहासको जुन कालखण्डबाट शुरु गरे पनि हुन्छ । पंक्तिकार एउटा कालखण्डलाई उदाहरणस्वरूप अघि सार्दछ । झापापारि दार्जिलिङले यो किताब पढिसकेको हुनुपर्दछ, यसैले त्यहाँ ‘चारुको किसान आन्दोलन’ चलेको थियो । सोही आन्दोलनको हावा लागेका आलाकाँचा झापाली कमरेडले ‘सामन्ती’ काटेर ‘साम्यवाद’ ल्याउने सपना देखे । झापा आन्दोलनको झिल्को अर्थात् ‘बुर्जुवा शिक्षा’लाई बहिष्कार गर्ने बताउँदै जनताको घरआँगनमा विद्यार्थी र गायककारहरूको भिड थुपारेर गीत गाएः

‘हाम्लाई बान्नी, दास ठान्नी
हाम्लाई पाल्नी, मारी बाल्नी 
मान्छे जन्तु रुनु नै छ
यो जो जमिन हाम्रो नै हो, 
एक दिन हाम्रो हुनु नै छ ।’
….
‘सपना हाम्रा सुनौला छन्
आशाका बादल छरिँदैछन्
हाम्रो गोडाको चाल हेर 
स्वतन्त्रतातर्फ लम्कदैछन्
एउटा गीत त गाउनै बाँकी छ 
हो… विधिको शासन ल्याउनै बाँकी छ ।’

त्यतिबेला उनीहरूले यस्ता गीतहरू गाएका थिए, जनताले थप्पडी बजाएर स्वागत पनि गरेका थिए तर, पञ्चायत फाल्ने आन्दोलनको सफलतापश्चात कमरेडहरू संसदीय व्यवस्थामा उभिएर भन्न थाले- “सबै जनावर बराबर हुन् तर केही जनावर अरूभन्दा बढी बराबर हुन् ।” यसपछि जनताले वर्षौं लगाएर बनाएको ‘विन्ड मिल’ ढल्यो । जनता बुढा भए, थकित भए तर आश मारेनन् । एकै छानामाथि ‘कोही आफ्नो विगत सम्झिन सकिरहेका थिएनन्’ भने कोही ‘आफ्नो  सपना बिर्सन सकिरहेका थिएनन्- भक्ते घोडा र मालती घोडेनी झैँ । 



यसताका, ‘विन्ड मिल’ पुनःनिर्माणको खाकालाई ‘कथित जनयुद्ध’को नाम दिएर अर्काथरी कमरेडहरू आइपुगे । जनताले तिनलाई पनि विश्वास गरे । किनकि जनता कसरी विश्वस्त हुन्छन् भन्ने तिनलाई थाहा थियो । जनता मनाउने र बहलाउने तरिकाबारे उनीहरू रातरात जाग्राम बसेका थिए । यसपछि जनताले आफ्नो बाँकी गीत गाए, 

‘नाकका नथ्थी फ्याँकेर
आँखाको पट्टि उघारेर
निरंकुशताको यो पहाडलाई 
उखेली अब फ्याँक्नु छ 
एउटा गीत त गाउनै बाँकी छ
हो…. विधिको शासन ल्याउनै बाँकी छ ।’

तर, दुर्भाग्य- यसप्रकार गीत गाउँदागाउँदै उनीहरूले आफ्नो सम्पूर्ण सुझबुझ ‘विन्डमिल पुनर्निर्माणकर्ता’हरूकै हातमा सुम्पिदिए । अनि, पछिल्ला कमरेडहरूले अझ विदेशीको मोहरा बन्दै लुटपाट, हिंसा र हत्याको व्यापार थाले- भक्ते घोडाहरू हाड-मासुका लागि बेचिदिए । १७ हजार भक्तेहरू मारिएको इतिहास हिजोकै हो । 



यसपछि जे-जे भयो, त्यो देखेकै कुरा हो । सामन्तवादलाई समाप्त गरेको उन्मादमा ‘दलाल पुँजीवाद’सँग मितेरी गाँस्दै मञ्चमा बसेर हुक्का तानिरहेका नवसामन्तीहरू लस्कर हाम्रै आँखा अगाडि छन् । पटक-पटक यसो हुनुमा भक्त, सेवक र दासहरूको सञ्जालको पनि भूमिका हुने विश्लेषक पाण्डेको मत छ । उनी भन्छन्, “राजनीतिक परिवर्तनको नाममा लाखौँ युवाको सुन्दर भविष्यसँग गम्भीर खेलबाड गर्दै जनताका छोराछोरीलाई आन्दोलनमा प्रयोग गर्ने कमरेडहरू विश्व कम्युनिस्ट आन्दोलनबाट भन्दा सत्ताबाट सिक्न हौसिएका छन् । कमरेडहरूले भनेकै हुन्, ‘खेलपूर्व नियम बनाइनेछ । खेलको बीचमा नियम परिवर्तन गरिने छैन । तर, यो नियम मलाई लाग्दैन ।’

अक्टोबर क्रान्ति होस् या संसदीय क्रान्ति, यसले तबसम्म नतिजा दिँदैन, जबसम्म लोकतन्त्र (साम्यवाद) को सतीत्व हरण गर्दै पार्टीलाई एनिमल फार्ममा बदल्न कोसिसरत केपोलियनहरूको विरुद्ध घोडी बनेकी पात्र माला प्रश्न गर्दिन । मालाको प्रश्न छ, “तपाईंले मलाई कहिल्यै चिन्न सक्नुहुन्न । किनकि यस कथाका लेखक जोर्ज ओर्वेलले पनि मलाई चिन्दैनन् । उनका लागि म केवल एक कमजोर प्रतिनिधि पात्र हुँ । लेखकले आफ्नो भएभरको विवेक प्रयोग गरेपनि अन्त्यमा माथिल्लो वर्गको खोक्रो पात्रको रूपमा किन महिलालाई उभ्याए ? जसको कुनै दिमाग, धरातल र विचार नै छैन जसरी ।”



कथाकारले देखाएको रुढिवादभन्दा माथि उठेर नाटकको मञ्च छोडेर अलप भएकी मालालाई अर्थाउनेहरूले ‘महिलावाद’को रूपमा मात्रै अर्थाउलान् तर पंक्तिकार यसलाई ‘नयाँ क्रान्तिको बिजारोपण’ भएको सम्झन्छ । नेपाली रूपान्तरणमा ‘ओर्जिनल’ प्लट अक्षरशः नआएको गुनासो गरिरहेका समकालीन तन्नेरीहरूलाई पंक्तिकार यस दृश्यलाई ‘गाउन बाँकी गीत’ माला घोडाद्वारा गाइएको अर्थमा हेरिनुपर्ने जिकिर गर्दछ । 

निर्देशक कार्की पनि भन्छिन्, “अन्यायपूर्ण एवं विभेदकारी प्रणालीविरुद्धको एउटा विचारधारात्मक आन्दोलन हो महिलावाद । यो केवल महिलामुक्तिको कुरा मात्रै होइन । महिलावाद दोस्रो दर्जामा रहेकाहरूको हकदाबीको कुरा हो । दोस्रो दर्जाको रूपमा रहेका हरेक तह र तप्का (चाहे त्यो कागजपत्र नभएको भनि गनगनाइरहने मुसा होस् या ‘प्राथना गर्नुस्’ एकोहोरो नारा रटिरहने ‘काग’ होस् या बेफ्वाँकमा दोषी करार भएको हाँस होस्)ले आफू कहाँकहाँ र कसरीकसरी ठगिएको छु भनेर बोध गर्दैनन् (सम्झदैनन्), तबसम्म केपोलियनहरूले पालैपालो हरेकको हाडमासुको व्यापार गरिरहनेछन् ।”



ह्यासट्याग क्रान्ति, ह्यासट्याग विद्रोहको दूर्भाग्य…!

शक्तिशाली समूहले गरिरहेको अत्याचारी शासनविरुद्ध आवाज उठाउन प्रेरित गर्ने यो नाटकले  ‘ह्यासट्याग क्रान्ति’ले केवल र केवल मालिक मात्रै परिवर्तन हुने कुरा उजागर गर्दछ । जनावरहरूको एउटा सानो समूहले आफ्नो मालिक अर्थात् ‘किसान’ विरुद्ध विद्रोह गर्‍याे । एउटा समुन्नत समाज सिर्जना गर्ने आशा राख्यो, जहाँ- हरेक पशुहरू उत्तिकै बराबर, स्वतन्त्र र खुसी हुने आत्ममुग्धततामा  मिठो निन्द्रासहित निदायो पनि । तर,  ब्युझिँदा ढिलो भइसको थियो । आफूहरू सँगै सुतेको आफूहरूमध्येबाट कोही झिसमिसेमै उठेर आफूले जनावरका बारेमा रातभर निकै सोचेको बतायो । आफूले अक्षर सिकेको, जानेबुझेको कह्यो । आफूलाई रातभर निदाएर बिहान ब्युझिएकाहरूको ‘नेता’ बतायो । अब आफ्नै बलबुतामा सबै पशुहरूको ख्याल राख्ने, मौलिक अधिकार हनन् हुन् नदिने लगायतका लम्बेतान भाषणबाजी मार्यो र भित्र छिरेर तिनै पशुको दूध चोरेर खायो, तिनै पशुको हाडाछालाको व्यापार गर्‍याे । हरेक प्रश्न-प्रतिप्रश्नलाई दरकिनार गर्दै रह्यो ।  प्रश्न गर्नु भनेको,  बिर्सेर पनि फरक देख्नेरबुझ्ने धृष्टता गर्नु भनेको, सत्य र यथार्थलाई पक्डनु भनेको- आफ्ना खुट्टामा आफैँले बन्चरो हान्नु हो, भन्यो । आफूलाई दलविरोधी, समृद्धिविरोधी, खुसीविरोधी, आतङ्कवादी, वितण्डावादी, अराजक र अन्ततः राष्ट्रद्रोहीको ठप्पा लगाउनु हो, भन्यो । आफैँलाई फसाउने र खसाउने भिरमा बाटो बनाउन आफैँले डोजर चलाउनु हो, भन्यो । यति भन्दा पनि प्रश्न-प्रतिप्रश्न आइरहे भने रोएर जितिदिने गर्‍याे । रोएर पनि पत्तो नचलेपछि प्रश्न गर्नेको पछाडि कुकुर छाडीदिने काम गर्‍याे । यतिले पनि काम गरेन भने प्रतिपक्षमा दोष थोपरेर आफू उम्कने बाटो गर्‍याे । यसप्रकार अन्ततः ‘ह्यासट्याग क्रान्ति’, ‘ह्यासट्याग विद्रोह’ले धोका पाउँछ र सुँगुरहरूको तानशाही शासन चल्दछ । सुँगुरको अनुहार मानिसको जस्तो बन्दछ । घुमिफिरी रुम्जाटार हुन्छ, नेपोलियनको फ्रान्सेली क्रान्तिजस्तै ।



हुनुपर्ने यस्तै हो त ? यत्रो ‘संघर्ष र बलिदानु यही गन्तव्यको लागि थियो त ? यही नै उपलब्धिको लक्ष थियो त ? नाटकले यही प्रश्न गर्न सिकाउँछ । नाटकको अन्त्यमा गधाको आवाजमा सुनिन्छ, “कहिलेकाही तपाईंंहरूलाई लाग्दैन कि यो युग र यो भन्दा अगाडिको युगमा कुनै अन्तर छैन ? केही बदलेको छैन, छ भने हाम्रा आँखा मधुरा भएका छन्, शरीर कम्जोर भएका छन् र हामी बुढो हुँदै छौँ । तर जुन जोगी आए पनि कानै चिरेको, होइन त ? यस्तो मलाई मात्रै लागेको हो त ?” गधा अझ अगाडि भन्दछ, “अहिलेको तमाम युवापिढीलाई हाम्रो परिस्थिति यस्तै हो जस्तो लाग्छ । उनीहरूले जन्मेदेखि यस्तै हो भन्ठान्छन् । विद्रोह ताकाका पुराना दिन कोही पनि सम्झ्दैनन । उनीहरू योसम्म सम्झन सक्दैनन् कि कमरेड केपोलियनले कसरी मान्छेसँग भक्ते (घोडा) हाडमासुको व्यापार गरेका थिए । हाम्रो विद्रोहलाई लोप्पा खुवाईदिएका थिए ।”

जाँदाजाँदै…,

अब हामी उठ्ने बेला भएको छ । सिद्धान्तहीन एवम् विचारशून्य नेता र पार्टीको हाहामा लागेर ‘भेडो’ बनिरहने बेला छैन । जनतामाझ महान् क्रान्तिकारी देखिन जनताकै रगतको होली खेल्ने अनि सत्तामा पुगेपश्चात् तिनै जनतालाई भेडो देख्ने सिंहहरूलाई हामीले भन्नुपर्ने बेला आएको छ- ‘नेताज्यू, हामी भेडो होइनौँ ।’ तर यसो भन्नुपूर्व चार खुट्टा त्यागेर हामी आ-आफ्ना दुई खुट्टामा उभिनु जरूरी छ । 

अस्तु !


प्रकाशन मिति: मंसिर २१, २०७८ मंगलबार

https://themargin.com.np/shore-witness/3535/

https://themargin.com.np/shore-witness/3535/

Leave a Reply