- राजु झल्लु प्रसाद (राजेन्द्र भट्ट)
पूर्वकथन:
वसन्तपुर (हनुमान ढोका दरबार स्क्वायर) पुगिरहनेहरूलाई एउटा कुरा थाहा हुनुपर्दछ, यहाँ टिकटक बनाउन निषेध छ । खैर, वसन्तपुर टिकटक बनाउन मात्रै पुग्नेहरूलाई यो एउटा सुझाव मात्रै।
कङ्क्रिटको घरहरू, अनधिकृत चिया पसल र फुटपाथ पसलहरू, दिशा-पिसाबको गन्ध, महानगरको ध्यान नपुगेर हैजा ओकलिरहेका फोहोरका डुङ्गुर, अनावश्यक होहल्ला र अनौपचारिकता निभाउनका खातिर गरिएका तमाम नित्य पूजा, जात्रा, पर्वका हर्ताकर्ताहरूले वसन्तपुरलाई न बुझ्न सकेका छन्, न बुझाउन सकेका छन् । प्राचीन ऐतिहासिकताको एक खण्डहर संग्रालयको नाममा भित्तामा किलाकाँटी सहित झुन्डिएको छ, र क्यामराको झल्याक्क-झुलुकबीच गुमनाम छ । त, लुकिछिपी बियरका क्यान रित्ताउने, टिकटक बनाउने, मन्दिरका भित्ताहरूमा अडेसिएर धाराप्रवाह मूत्र विसर्जन गर्ने सभ्य एवं भद्रभलाद्मी मनुवाहरूलाई आग्रह छ, वसन्तपुर ‘विश्व सम्पदा सूचीमा समावेश’ गरिनुका पछाडिका कथाहरू पनि खोज्नुहोस् ।
‘तलेजु मन्दिर, जगन्नाथ मन्दिर, शिवपार्वती मन्दिर, ठूलो घण्टा, कालभैरव, कुमारी घर, वसन्तपुर दरबार, गद्दी बैठक, काष्ठमण्डप’ बाहेक वसन्तपुरमा धेरै कुराहरू छन् । पङ्क्तिकार वसन्तपुर ‘वसन्तपुर’ हुनुका पछाडिका कथाहरू आगामी अङ्कमा भन्दै जानेछ, यस अङ्कमा वसन्तपुरलाई उराठपुर बनाइरहेको एउटा कथालाई अगाडि सार्दछ । ठ्वास्स गन्हाइरहने, नाकका भित्री रौँहरू पनि ठुसुक्क ठुसुक्क रिसाउने – काल भैरवलाई भाकल स्वरूप चढाइएका (बली दिन होइन) काला बोकाहरूको अँध्यारा/अप्ठ्यारा र असजिला कथाहरूलाई अगाडी बक्ने अनुमति चाहन्छ ।
कथन:
देशको शासकीय वर्गसँग जोडिएका यस क्षेत्र मूलतः किम्बदन्तीहरूको थलो हो । यस्ता किम्बदन्तीहरू जसले, प्राचीनकालको तात्कालिकतालाई हुबहु हाम्रोअघि राखिदिन्छन् । मल्लकालदेखि शाहकालसम्मका भौतिक सांस्कृतिक संरचना र स्थानीय परम्परा, सम्पदालाई एकैपटक अवलोकन गर्न पाउनु भनेको चानचुने कुरा होइन, यसको मर्म बुझियोस् । सपनामा आई प्रताप मल्ललाई दुःख दिएकी जीवित देवी कुमारीको दर्शनका लागि मात्रै वसन्तपुर पुग्ने लोकतान्त्रिक देशका ‘मृत सत्ताधीस’हरूले पनि यस क्षेत्रको तमाम धार्मिक, सांस्कृतिक, साम्प्रदायिक तथा प्राकृतिक मूल्यमान्यताहरूलाई आत्मसात् गर्न ढिलाइ नगरुन् । (यो भन्दा धेरै गाली गर्दा लेखकहरूलाई बलीको बोका बनाएर काल भैरव अगाडी उभ्याउने बढ्तै चान्स छ । यहाँनेर काल भैरव हाँस्नु पर्ने हो । अतः भूमिका अस्तु !)
रिसाहा काल भैरवको हँसमुख चेहरा :
अत्यन्त कालो, विशाल अजङ रूप, अँगार जस्तै आँखा, कालै वस्त्र, रुद्राक्षका मोटा-मोटा माला, हातमा फलामको भयानक दण्ड बोकेर कालै कुकुरमाथि सवार हुने मृत्युभय युक्त देवता महाभैरव अर्थात् कालभैरव वसन्तपुर पुग्नेहरूको सेल्फीमा अटाइरहेका हुन् । (भित्री मन्दिरका फोटोहरू खिच्न नदिने पुजारीहरूका अनुसार देवीदेवताको तस्बिर खिचेर आफूकन राख्नु भनेको देवीदेवताले मागेबमोजिम (आधिकारिक पूजाविधि सहित) उनीहरूको खातेदारी गर्न सक्नु हो, त्यसो गर्न नसक्नेहरूले फोटो खिच्नु भनेको आफूलाई पिरोल्नु मात्रै हो ।)
पौराणिक कालदेखि नै भैरवलाई मृत्युभन्दा कठोर र उग्रस्वभावका देवताका रूपमा पूजा गरिँदै आएको कुरालाई सुनाइराख्नु भनेको अक्षर बढाउनु मात्रै हो । भैरवको पूजा तन्त्र विद्याद्वारा मात्रै सम्पन्न गरिन्छ र तन्त्रका साधकहरूले आफ्नो अन्तिम लक्ष्य भैरवभाव प्राप्त गर्नु हो भन्दछन् भनेर भन्नु भनेको पनि लेख लामो बनाउनु मात्रै हो ।
जति पनि रोग, मृत्यु, प्रलय तथा आपत्ति विपत्तिका प्रकृति र प्रवृत्तिहरू छन्, ती सबैको अन्तिम नेतृत्व शिवजीले गर्दछन् । शिवजीका र भूत, प्रेत, पिशाच सहितका सबै कठोर गुणयुक्त सैन्यदस्ता थिए (छन् ?) र तिनका सेनापति काल भैरव थिए । यस्ता भैरवको फोटो खिचेर तकियामुनि मोबाइल च्यापेर निदाएकै कारण एक्काइसौँ शताब्दीका मनुवाहरू नीद हराम भएको हो भनेर भन्दिएर पङ्क्तिकार बाँकी कुरा अघि सार्ने जमर्को गर्नेछ । यो एउटा मजाक थियो, तपाईँलाई गुड नाइट । सुखद सपनाको कामना !
शिवपुत्र भैरव भगवान् शिवका विभिन्न आठ रूप मध्ये एक रूप हो । । मङ्सिर कृष्णपक्षको सप्तमी तिथिको अन्त्य भएर अष्टमी (काल भैरवाष्टमी) लागेकै बखत भैरव ‘थपक्क’ जन्मिएका थिए । ‘कलियुगका जागा देवता’ भैरवको स्मरण गरे मात्रै पनि मानिसका समस्याहरू हटेर जाने विश्वास गरिन्छ । नेपालतर्फ चाहिँ मल्लकालमा काठमाडौंका बासिन्दाले नागार्जुन पहाड उत्खनन गर्दा काल भैरवको मूर्ति भेटेर काठमाडौको वसन्तपुर दरबार क्षेत्रमा ल्याई प्रतिस्थापन गरेका थिए ।
पहिले पहिले कुनै कसुरमा दसी प्रमाण नभेटिएमा कालभैरवको पाउँ छुवाएर क्रिया खुवाउने चलन थियो । अपराध गर्नेहरूले गलत बयान दिएमा भैरव मूर्ति अगाडि रगत छादेर मृत्यु हुने डरलाग्दो जनविश्वासमा पछि ‘आमाले-छोरीलाई दूध चुसाएको प्रसङ्ग’ जोडिएको छ । यो प्रसङ्गले रिसाहा स्वभावका काल भैरवलाई ‘हँसमुख चेहरा प्रदान’ गरेको छ, यो आफैँमा ‘घचक्क परेको’ रमाइलो कथा प्रसङ्ग हो, त्यतातिर नजाऔँ ।
काल भैरवको पूजाआराधना भोग बलिद्वारा मात्रै गरिँदै आएको छ । तर, पछिल्ला दिनमा जस्तोसुकै भए पनि बलि दिनु अमानवीयता भएको भन्दै भैरवलाई नरिवल फोडेर पूजा गर्ने चलन बढेको छ । यद्यपि काल भैरवलाई बली दिने परम्परा जीवितै छ, यसमा ‘भाकलको बोका’ भनेर काला बोकाहरूलाई यसै ‘भैरवस्थान’ वरपर त्यत्तिकै छाडिदिने चलन भने बढेको छ । माथि, कतै काला बोकाहरूको अँध्यारा/अप्ठ्यारा र असजिला कथाहरूलाई अगाडी बक्ने कुरा गरेको थिएँ । बकूँ ?
त्यसपहिले, बली प्रथाबारे केही कुरा
‘जन्मदिनमा केक काट्ने चलन स्वास्थ्यका लागि हानिकारक छ’ भन्नेहरूले ‘भगवानको नाममा बली दिनु स्वास्थ्यको लागि फाइदाजनक छ’ भनेकै कारण बली प्रथाले मुन्टो उठाइरहेको हो, अन्यथा बली प्रथालाई सही ठहराउनुमा उत्ति साह्रो कारणहरू पङ्क्तिकार देख्दैन । पशु बलिका पक्षधर पशुको मुक्तिका लागि विधिपूर्वक बलि दिनु शास्त्रसम्मत रहेको बताउँछन् क्यार ।
नेपाल वायुसेवा निगमद्वारा वोइङ्ग खराब हुँदा पाइलट, एरोनटिकल इन्जिनियर र निगमका उच्च पदाधिकारीद्वारा संयुक्त रूपमा बोकाको बलि दिएको घटना, प्रधानमन्त्री जस्ता राज्यका उच्च पदाधिकारीद्वारा प्रधानमन्त्री निवास प्रवेश गर्नुपूर्व कालो बोको बलि दिएको एवं राँगा काटेका घटनाहरूलाई ‘बाल मतलब’ नदिई भगवान् शिवतर्फ लम्कौँ । (ए, कैलाश पुग्न पर्दैन हो, काला पत्थर लुगा छान्न नजानुस् ।)
बलि प्रथा सुरुवात याने ‘श्री गणेश’ भगवान् गणेशबाट भएको हो भन्नेहरूका अनुसार शिवले गौरीपुत्र गणेशको टाउको काट्नु र आफ्ना वाहन नन्दी भृन्दिलाई आदेश दिएबमोजिम हात्तीको टाउको जोड्नु (सन्जिविनी विद्या ?) पहिलो घटना हो । ‘कहाँ त्यस्तो हुन्छ, यस्तो पो हो त’ भन्नेहरूका अनुसार, सतीदेवीले आफ्ना पिता दक्ष प्रजापतिको यज्ञमा आत्मदाह गरी प्राण परित्या भएपश्चात् शिवले यज्ञ ध्वस्त गर्न आदेश दिएबमोजिम वीरभद्र लगायत शिवगणले यज्ञ ध्वस्त गर्दै दक्षको वध गरी बाख्राको टाउको जोड्नु पहिलो बली हो । पहिलो दोस्रो त कुन्नि तर, दुवै घटनामा शिव मुछिएका छन् र रमाइलो के भन्दा वसन्तपुरको पशुपति मन्दिरका पुजारीहरू (ज्योतिषहरू, पटाङ्गिनीमा टिका लगाइदिने पण्डितहरू पनि) ‘शिवलाई बली चल्दैन’ भन्छन् । जे होस्, दक्ष प्रजापतिको समयताका नै बली प्रथा चलनचल्तीमा थियो भनेर यस उदाहरणपश्चात् भन्न सकिन्छ ।
अझ, देवासुर सङ्ग्राममा जगत् जननी माता पार्वती (दुर्गा) बाट महिषासुरको वद भएपश्चात् सम्पूर्ण भूमण्डलवासीले खुसीयालीमा दुर्गालाई राँगा, बोका पशु बलि दिएर विजयको हर्षोल्लास मनाएको बताउने पौराणिक कथाहरू रत्न पुस्तक भण्डार (थापाथली) ले आफ्नो विक्री कक्षमा राखेकै छ ।
‘उँट बाहेक एकातिर दाँत भएका सबै किसिमका पशुहरू खाने योग्य हुन्’ भन्नेहरूका अनुसार, ‘बोका, भेडा, रूरूमृगको मासु अर्पण गर्दा क्रमशः सात, आठ र नौ महिनासम्म मानव-पितृहरू तृप्त, सन्तुष्ट रहन्छन् भने सुँगुर र राँगोको मासुले पितृहरू १० महिनासम्म तृप्त रहँदा खरायो र कछुवाको मासुले एघार महिनासम्म पितृहरू तृप्त रहन्छन् ।’ (मनु० , ३ – २६९,२७०, २७१)
‘हिन्दू धर्म ग्रन्थभित्र पशु बली, जीव हत्या र मांस भक्षण उल्लेख छैन’ भन्ने वर्तमान शाहकारीहरूलाई चकमा दिनेगरि बिबिसीले ‘आर्यहरू मासु प्रेमी छन्’ भनेर लेखिसकेको छ । यद्यपि यतातर्फ, तीन प्रकारका बलीहरूको चर्चा भेटिन्छ ,
१. चन्दन, अक्षता, फूल, अर्घ्य, पञ्चामृत आदिले पूजा गर्ने सात्त्विक बली,
२. पशुपक्षीको रगत, मासु दिएर सन्तुष्ट गराउने राजस बली र,
३. मासु नखाने (शाकाहारी)ले पनि बली दिएर सुँघेर छोड्ने तामस बली ।
अतः पङ्क्तिकार यहाँदेखि थप गन्थन केही पनि नगरी भैरवस्थान वरपर तमास बलीको सिकार भइरहेका काला बोकाहरूको कथा अगि सार्दछ,
काल भैरव वरपर गन्हाइरहेका भाकलका काला बोकाहरू :
वसन्तपुर वरपर हिँडिरहनेहरूलाई थाहा हुनु नै पर्दछ, काल भैरवस्थान वरपर पुग्दा बोका ठ्वास्स गन्हाउँछ । भोकले चुर भएका बोकाहरू फोहोर डुङ्गुरमा मुख जोतिरहेका देखिन्छन् । प्लास्टिक चपाइरहेका भेटिन्छन् । यति गर्दा पनि भोक नमेटिएपछि उनीहरू जगन्नाथ, छ्यासीन देगा, देगुतल्ले मन्दिर, माजु देगा, शिव पार्वती मन्दिर (नव योगिनी), हनुमानको मूर्ति, तलेजु मन्दिर, जगन्नाथ मन्दिर, पतल्ला शिव (?), कामदेवको मूर्ति र वसन्तपुरकै पशुपतिको मन्दिर वरपरका भित्ताहरू कोपरिरहेका हुन्छन् । भुईँचालो पश्चात् पुनर्निर्माण सम्पन्न भइसकेको बताइरहने पुरातत्त्व विभागको कन्सिरी ठानेर भत्किएका गाह्रोमा उम्रिएका गन्धे झारहरू उखेलिरहेका हुन्छन् ।
वसन्तपुरको पर्यटनको सुरक्षा व्यवस्थापनमा खटिएको काल भैरवकै दाहिनेपट्टि रहेको प्रहरीहरूलाई मातेर गएर ‘घोडा चढिरहेका’ हुन्छन्, सिङले उधिनेर पाइन्ट खोतलिरहेका हुन्छन् । फूल-प्रसाद र भेटी बोकेर आइपुगेका श्रद्धालु भक्तजनलाई ‘भ्वाक्क’ हिर्काएर प्रसादको थाली घोप्टाएर केरा र स्याउका टुक्राटाक्रीहरू चपाइरहेका हुन्छन् । त्यो भन्दा बढ्ता ‘नेपाली झन्डा बेच्ने’, ‘दियो बेच्ने’, ‘अगरबत्ती र इन्द्रधनुष माला बेच्ने’, ‘परेवाका लागि दाना (मकै) बेच्ने’ व्यापारीहरूलाई सताइरहेका हुन्छन्, उनीहरू नीद र चैन उडाइरहेका हुन्छन् । कुनै धर्मात्मा मनुवा उसको नजिक पुगेर उसलाई मुसार्न थाल्यो भने ‘भ्वाक्क’ हान्दिएर डङ्ग्रङ्गै पार्दिने गर्दछन् ।
बोकाहरूले यसै मान्छे हिर्काएका छैनन्..
‘नयाँ जीवन प्राप्ति (जीवनदान)को खातिर भैरवलाई चढाइएका यस्ता बोकाहरू बिरामी भएर मरेका छन्, औषधि नपाएर मर्ने गरेका छन् । हाल वसन्तपुर परिसरमा ७ वटा बोकाहरू हामीले देख्यौँ, यो सङ्ख्या यस भन्दा बढी हुने सम्भावना छ ।
पछिल्लो बोका एकदिन अगाडी मात्रै कुनै धर्मात्मा (?)ले आफ्नो या परिवारको सुख सुविधा (बिघ्न काट्न) का लागि यहाँ ल्याएर छोडेका भैरवस्थानमै दियो बेचिरहेका सुवेदी दम्पतीहरू बताउँछन् । उनीहरूका अनुसार, यसरी बली दिनका लागि नभई भाकलका लागि मात्रै कालभैरवलाई चढाइएका बोकाहरूलाई काट्नु/मार्नु/लखेट्नु/पिट्नु या स्थानान्तरण गर्नु हुँदैन । तर, पछिल्लो २/३ वर्षमा मात्रै ७ देखि १० वटा तङ्ग्रिएका (डार्बिनको स्ट्रगल फर एक्जिसटेन्स) बोकाहरू एकाएक लापता भएका छन् (चोरी भएका छन्) ।
उनीहरूको यस भनाइको सोझो अर्थ मासुको लागी भैरवलाई चढाइएका बोकाहरू कसैले रातको समयमा आफ्नो घर लागि काटेको या मटन स्टेसनतर्फ पुगेको हुनुपर्छ । नभए, ‘यहाँ खसीको मासु पाइन्छ’ लेखिएको पम्प्लेट मुनि ढक तराजुमा चढिरहेको हुनुपर्दछ । “धर्म गर्नेले लाँदैनन्, पाप गर्नेले लान्छन् । यस विषयमा धेरै कुरा गर्नुहुँदैन’ भन्दैन श्रीमती सुवेदी तर्किइन् ।
यसपश्चात् उनले हामीलाई २/४ महिनाको पाठो ल्याएर छाड्ने गरेको र ती हुर्किएर २/३ वर्षसम्म हुने गरेको बताइन् । उनका अनुसार केही बोकाहरूले उमेर पुगेर मर्ने सौभाग्य पनि पाएका छन्, तर यो निकै कम छ । उही ‘मटन स्टेसन’कै कुरा ।
केही बोका (भेडा पनि) लाई बाँधेर राखिएको देखियो । बोका बाँधिएको ठाउँ नजिकै नेपाली झन्डा बेचिरहेका एक वृद्धले भने, “यो कालेलाई नबाँधे यसले मान्छे हान्छ । वसन्तपुरमा ५०/६० जनता त दिनकै ढल्छन् ।” उनी यसरी लावारिस छोडिएका बोकाहरूलाई दिनमा दुई पटक आफूले पानी पिलाउँदै आइरहेका छन् । उनी भन्छन्, “माया लाग्छ, यसको पनि जीउ हो लाग्छ । ऊ त्या गएर पुलिसहरूसँग पानी माग्छु र बाटामा खन्याएर खुवाउँछु । मर्न लागेको मान्छे बा म, छोड्नेले आफ्नो पाप काट्न यी बोकामाथि पाप गरे भन्दैमा मैले आफ्नो गति छाड्न कहाँ मिल्छ ? म हुन्जेल यी बोकाहरूले पानी खान नपाएर मर्नु चाहिँ पर्दैन ।”
“बली दिनेले बली दिने गरेको र छोड्छु भनेर भाकल गरेकाले छोड्ने गरेको’ भैरवस्थानका वर्तमान पुजारी (नाम भनेनन्) बताउँछन् । पुजारीका अनुसार, यसरी छाडिएका बोकाहरूलाई घाँस खुवाउन र पानी पिलाउन (हेरचाह) गर्न कहिलेकसो केही रकम भेटीबाट दिने गरिएको छ । बिहानीपख दर्शनार्थीको घुइँचोबिच यति बोलेर आफ्नै काममा व्यस्त भएका पुजारीको कुराबाट के बुझियो भन्दा ‘काल भैरवमा चढाइने दानदक्षिणाको सानो हिस्सा पनि यी बोकाहरूको स्वास्थ्योपचार, हेरचाह र लालनपालनमा खर्च हुने गरेको छैन ।
यसपछि हामी पुरातत्त्व विभागतर्फ केही प्रश्नसहित हानियौँ । क्यामरासहितको हामीलाई गेटमै नानाभाँती प्रश्न तेर्साइसकेपश्चात् विभागले ‘हेर्नु त पर्ने हो’ भन्ने मुखाले जवाफ दिई फर्कायो । उसको जवाफबाट बुझियो, ‘यी बोकाहरूलाई काठमाडौंको कङ्क्रिटको जंगलमा सामान्य घाँसपात सम्म खुवाउने कोही छैनन् । यस कामको जिम्मेवारी लिनेतर्फ पुरातत्त्व विभाग, हनुमान ढोका दरबार हेरचाह अड्डा कोही पनि अग्रसर भएको पाइएन ।”
***
हामी भोकले पेट सुकेका, भुईँमा लम्पसार परिरहेका, आउने-जानेहरूको हातहातमा हेरिरहेका मासुम बोकाहरूलाई पछ्याइरह्यौँ । उनीहरू कहिले फ्यालिएका बोतलहरूको साँघुरो मुख सुँघिरहेका हुन्थे, कहिले कसैले फ्याँकेका तरकारीका बोक्राहरू चपाइरहेका हुन्थे । मन्दिरका छानाहरूमा घाँसपात उम्रिएका थिए तर उनीहरू त्यहाँ पुग्न सक्दैन थिए । गल्लीहरू पछ्याउँदै टुडीखेल या विष्णुमती खोला किनार ओर्लनु उनीहरूको वशको कुरा थिएन । उनीहरू ‘घाँसपानी’कै लागि सभ्यताको प्रतीक कान्तिपुर नगरीमा भोकभोकै मृत्यु पर्खिरहेका जस्ता देखिन्छन्।
आकाशको खाल्डोमा प्वाल पार्न तयार सुनका कलश लागेका अग्ला घर, दरबार र देवी मन्दिरहरूले सोभायामन वसन्तपुरले गिज्याउने गरी यी बोकाहरू बेलाबेला ‘भ्या भ्या’ गरिदिन्छन्, त्यतिबेला मलाई ‘कान्तिपुर महिमा’ का खातिर लेखिएका कवितांशहरू झुटा लाग्छन्,
१. श्री काष्ठमण्डपपुरी विमलातिरतम्या अर्थात् (श्री काष्ठमण्डपपुर सफा र अति राम्रो छ)
तस्मीन्नेव पुरे मनोहरतारे (त्यही अति राम्रो सहरमा)
ने.स. ४६२ (ई. १३७२) को सिम्भू अभिलेखमा काठमाडौ सहरको रमणीयताको वर्णन (रेग्मी ३, १९६६:२२)
२. थन देशवर्णणा
नगरलक्षण गण जी ओ थथिङ ।
तलेजु विज्याक थन कुमारी सहित
पशुपति गुह्येश्वरी जगतया हीत ।।
धरमस रस जुओ जन गुण ठूल
महानदि निषदुन पुण्यभूया मूल ।
अधिपति जयपरकाष सुधीर कविया
बचन भिङ धरसुथीर ।। (बज्राचार्य, नेपाल २०१४:२०)
(राजा जयप्रकाश मल्लले ने.स. ८८० (ई. १७६०) मा लेखेको रत्नेश्वर प्रादुर्भाव नाटकमा कान्तिपुरको महिमाको गरेको वर्णन )
३. शाहकालमा आदिकवि भानुभक्तले ‘अमरावती कान्तपुर नगरी’ कविता लेखेर कान्तिपुरीको स्तुति गएको सहर, मैथिली र संस्कृत पद्यहरूमा कान्तिपुरमाथि गरिएको सुललित तारिफ र पछिल्ला अनेकन् सांस्कृतिक उत्थानका एजेन्डाहरूलाई भोका बोकाहरू ‘म्या म्या र भ्या भ्या’ गर्दै व्यङ्ग्य गरिरहेका छन् । उता काल भैरव खिस्स खिस्स हाँसिरहेका छन् ।
अन्त्यमा,
भाकलका लागि जिउँदै चढाइने बोकाहरूको कुरा नै गर्नु थियो भने बलीप्रथाको लम्बेतान किन सुनाएको भन्नु होला । कारण एकै हो, वसन्तपुरको बिहानी रमणको क्रममा मलाई कहीँ न कहीँ यी बोकाहरूलाई हामी ‘बलीको बोका’ बनाइरहेका छौँ । यिनीहरूमाथि ज्यादती गरिरहेका छौँ ।
बली चढेका बोकाहरूलाई भन्दा बढी यातना दिलाएर यी बोकाहरूलाई जिउँदै मार्ने परम्पराको अन्त्यको लागि सम्पूर्ण पशु अधिकारकर्मीहरू र सम्बन्धित निकायको ध्यान जाओस् । उनीहरूको हेरचाह र लालनपालन होओस्, अन्यथा यसरी बोका छाड्ने परम्पराको अन्त्य होस् ।
अस्तु !
तस्बीर: राजु झल्लु प्रसाद
[हिमाल दर्पणमा ६ असार २०७९, सोमबार १८:०६ मा प्रकाशित]