‘हागिया सोफिया’ विवाद: गिर्जाघर, मस्जिद, संग्रहालय र फेरि मस्जिद  (भाग-१)

You are currently viewing ‘हागिया सोफिया’ विवाद: गिर्जाघर, मस्जिद, संग्रहालय र फेरि मस्जिद  (भाग-१)

(अन्तराष्ट्रिय मामला)

टर्कीको इस्तानाबुलस्थित विश्व प्रसिद्ध धार्मिक एवं प्राचीन सम्पदा ‘हागिया सोफिया’ मस्जिदमा परिणत भएसँगै नमाज पढिएको छ ।

कोरोना कहरको बीच टर्कीका राजधानी आंकरासहित विभिन्न ठूला शहरबाट यस ऐतिहासिक क्षणको साक्षी बस्न हागिया सोफिया पुगेका तुर्कीहरू अजान (अल्लाहू अकबर.. ला इलाहा इल्लाह) को लागि प्रतीक्षारत थिए। यसका लागि हागिया सोफिया परिसर आसपास कडा सुरक्षा व्यवस्था खडा गरियो ।

शुक्रबार (२४ जुलाई) हागिया सोफियाको घाँसे मैदानमा नमाज पढियो । यस धार्मिक समारोहमा हजारौं नमाजीहरू सँगसँगै टर्कीका राष्ट्रपति  रेचेप तैथ्यप अर्दोआनको पनि उपस्थिति रह्यो । समारोहको शुरुवात निलो गालैचा (कालीन) मा गरिएको थियो, जसले प्राचिन स्मारकमा नमाजको महत्वलाई पुनारागमनलाई  संकेत गर्दछ ।

सन् २०१३ पश्चात आफ्नै कुर्सी मोहको कारण निम्तिएको राजनीतिक अस्थिरतालाई दिशानिर्देश गर्ने उद्देश्य हेतु राष्ट्रपति अर्दोआनले चुनावी नाराको रुपमा इस्लामी भावनाको समर्थन गर्दै हागिया सोफियालाई म्यूजियम बनाउने सन् १९३४ को फैसला ‘ऐतिहासिक गल्ती’ भएको  बारबार बताउँदै आइरहेका थिए ।

यसैबीच १० जुलाईमा राष्ट्रपति अर्दोआन निर्देशित टर्कीको अदालतद्वारा हागिया सोफिया संग्रालयलाई मस्जिदमा परिवर्तन गर्न फैसला सुनाइयो ।

यसप्रकार १५ सय वर्ष पहिले एक गिर्जाघरको रूपमा निर्मित हागिया सोफिया सन् १४५३ मा मस्जिदमा परिणत भई सन् १९३४ मा  टर्कीस मन्त्रिपरिषदले मस्जिदलाई संग्रहालयमा विश्वको लागि खुला गरिएकोमा पुनश्च: मस्जिदको रूपमा रूपान्तरित भएको छ ।

हागिया सोफियाको इतिहास :

हागिया सोफियाको ल्याटिन भाषामा अर्थ हुन् आउँछ- होली विडस्डम (Holy Widsdom) अर्थात् पवित्र ज्ञानस्थल या पवित्र पूजास्थल !

डोमयुक्त करिब ९०० वर्षसम्म ऐतिहासिक गिर्जाघर (पूर्वी अर्थोडक्स चर्चको हेडक्वाटर) को रुपमा रहेको उक्त संरचना टर्कीमा ‘उस्मानिया सल्तनत (आटोमन एम्पायर)’ उदयसँगै मिनारयुक्त  मस्जिदमा रूपान्तरित गरिएको थियो । त्यतिबेला अहिलेको भ्याटिकन चर्च(पश्चिमी चर्च) बराबरको हैसियत यस हागिया सोफियाले पाएको थियो । यो संरचना करिब ९ सय वर्षसम्म इस्टर्न अर्थोडक्स चर्चको मुख्य कार्यलयको रूपमा रह्यो। तर, पछि यसलाई लिएर इसाइहरू बीचमा नै विवाद छेडियो । १३ औं शताब्दीमा यसलाई यूरोपेली इसाइहरूले हमलामार्फत कब्जा गरि केही समयका लागि हागिया सोफियालाई क्याथोलिक चर्च समेत बनाए ।

गिर्जाघरको रूपमा हागिया सोफिया :

प्रथमत: सन् ३६० र सन् ४१४ गरि अहिले हागिया सोफिया रहेको स्थानमा दुईपटकसम्म गिर्जाघर निर्माण गरिएको थियो । तर ती दुवै भवन आगोको लपेटामा परेर खत्तम भएका थिए । त्यसपश्चात रोमान साम्राज्य अन्तर्गतकै बाइजेन्टाइन सम्राट जस्टिनियनद्वारा छैठौं शताब्दी (सन् ५२३, रोमान साम्राज्य विस्तारको चरम समय) मा यस विशाल संरचनाको जग खनियो । ५ वर्ष मात्रको समयमा उत्तम कालिगढ़, उत्कृष्ट शीलशैली एवं इन्जिनियरिङ कलाकौशलताको मिश्रणको रूपमा हागिया सोफिया विशाल डोमयुक्त गिर्जाघरको रूपमा स्थापित भएको थियो । यो अर्थोडक्स इसाइयतप्रति आस्था राख्नेहरूको केन्द्र त बन्यो नै साथसाथै बाइजेन्टाइन साम्राज्यको तागतको प्रतीक समेत बन्न पुग्यो ।

सन् ५५८ मा गुम्बद खस्नु, सन् ५६३ मा लगाइएको गुम्बद फेरी खस्नु, सन् ९८९ मा भूकम्पको कारण केही भाग क्षतिग्रस्त हुनु लगायतका अनेकन भौतिक क्षतिको बाबजुद हागिया सोफिया एक ऐतिहासिक गिर्जाघरको रूपमा इस्तान्बुल नजिकैको बास्फोरस नदीको पश्चिमी किनारमा अवस्थित रहिरह्यो । बास्फोरस त्यस्तो नदी हो, जसले एशिया र यूरोपको सीमा छुट्ट्याउने गर्दछ । यो नदीको पूर्वतिर एसिया र पश्चिमतिर यूरोप पर्दछ ।

मस्जिदको रूपमा हागिया सोफिया :

सन् १४५३ मा उस्मानिया सुल्तनतले बाइजेन्टाइन साम्राज्यको राजधानीको रूपमा रहेको तत्कालिन कान्सटेनटिनोपोल या कस्तुनतुनिया (हालको इस्तान्बुल)  माथि आक्रमण गरी कब्जा गरेपछि यस गिर्जाघर मस्जिदमा परिणत भयो । यसपश्चात बाइजेन्टाइन साम्राज्य सधैका लागि समाप्त भयो ।

उस्मानिया सल्तनत (सुल्तान–ए–उस्मानिया पनि भन्ने गरिन्छ)ले तत्कालिन कुस्तुनतुनियालाई आफ्नो केन्द्र बनाएर मुस्लिम धर्म विस्तारको एजेन्डाहरू अघि सार्दै जान्छ । कुस्तुनतुनिया सन् १९३० सम्म अहिलेको टर्कीमा प्रमुख व्यापारिक थलो इस्तानाबुलकै नाम थियो ।

युद्धसंस्कार अनुसार यो एक अव्याहारिक प्रचलन रहेको छ । कुनै एक साम्राज्यले कुनै अर्को साम्राज्यमाथि विजय पाउँदछ भने ऊ पराजित साम्राज्यका माटोमा मिलाउँछ नभए त्यस साम्राज्यलाई आफ्नो कपडा भिराइदिन्छ । कुस्तुनतुनियामाथि उस्मानिया सल्तनतका सुल्तान मेहम्म्त(दोस्रो) त्यही काम गरे । इस्तानबुल नजिकै रहेको यस ऐतिहासिक चर्चमा  ३ दिनसम्म भीषण लुटपाट जारी राख्दै गिर्जाघरलाई मस्जिदको आधिकारिक रूपमा मस्जिदमा रूपान्तरण गर्ने काम मेह्म्मत(दोस्रो)बाट भयो । र, त्यतिखेर नै उनले नमाज पढेर यसलाई मस्जिदको दर्जा दिलाए ।

भैतिक संरचनामा फेरबदल ल्याउन समय लाग्यो । अहिले हागिया सोफियाको चार कुनामा देखिने मिनारहरू त्यसपछि निर्मित संरचनाहरू हुन् । मेहम्म्त(दोस्रो)ले इस्लामी वास्तुकारहरूको मद्दतले इसायतको निशान वा छापलाई बिगारेर त्यसमा प्लाष्टर गरेर मेटाए । पहिले यो केवल गुम्बदवाला संरचनामा मात्रै थियो । मस्जिदमा रुपान्तरित गर्ने सिलसिलामा इसाई धर्मसम्बन्ध कलाकारिता, एवं शिल्पशैलीहरूलाई मेटाउने प्रयास भएता पनि हागिया सोफियाका भित्री संरचनामा आज पनि इसाई धार्मिक एवं रुढीवादी चिह्नहरू देखिने गर्दछन् ।

संग्रलायको रूपमा हागिया सोफिया :

पहिलो विश्वयुद्धका कारण  करिब ६०० वर्ष लामो (सन् १२९९-१९१९) उस्मानिया सल्तनतको अन्त्यपश्चात आधुनिक टर्की गणराज्यको स्थापना (सन् १९२२) भयो । आधुनिक टर्की गणराज्यको संस्थापक (उदार शासक) मुस्तफा कमाल अतातुर्क ‘पाशा’ले टर्कीमा धर्म निरपेक्षतालाई बढुवा दिँदै सन् १९३४ मा मस्जिदलाई एक संग्रहालयमा रूपान्तरण गर्नुपर्ने खाँचो औल्याए । अर्को वर्ष (सन् १९३५) देखि नै हागिया सोफिया संग्रालयको रूपमा आम जनताको लागि खुला गरियो । त्यही समयबाट यो संसारकाभरिका पर्यटकका लागि एक घुम्ने (पर्यटकीय) प्रमुख स्थलका रूपमा रहँदै आएको छ ।

सन् १९८५ युनेस्कोले हागिया सोफियालाई महत्वपूर्ण सांस्कृतिक संग्रालयको रूपमा विश्व सम्पदा सूचीमा सूचीकृत गर्यो । वार्षिक ३० लाख स्वदेशी एवं विदेशी पर्यटकमा यस स्थानमा आइपुग्ने गर्दछन् । सन् २०१४ मा वार्षिक ३३ लाख सर्साधरण हागिया सोफिया पुगेको टर्की सरकारले बताएको थियो । ग्रीक शैलीमा निर्मित यस संरचनालाई स्थापत्य कलाको अनौठा नमूना पनि मानिन्छ । १७ औं शताब्दीमा टर्कीमा बनेका ठूल्ठूला निला मस्जिदसहित संसारमा बनेका ठूल्ठूला संरचनाका यही हागिया सोफियाको डिजाइनबाट प्रभावित भएर निर्माण गरिएको बताइन्छ ।

हागिया सोफिया विवाद :

टर्कीमा मुस्लिम बहुमत जनसमुदाय छ । त्यहाँ सुन्नी इस्लाम अन्तर्गत ८१.५ प्रतिशत र सिया इस्लाम अन्तर्गत (अल्भिज्म-१०.६ प्रतिशत, जाफरी-३.९ प्रतिशत, अलावाइट्स- १प्रतिशत, ), १ प्रतिशत कुरानवादी मुस्लिम, अध्यात्मवादी सहित थोरै संख्यामा (०-१ प्रतिशत) इसाईहरूको बसोबास रहेको छ। इन्डोनेशिया, अजरबैजान, कजाकस्तान सहित टर्कीलाई विश्वभर मुस्लिम बहुमत रहेको धर्म निरपेक्ष देशहरूको सूचीमा राख्ने गरिन्छ ।

अतातुर्कले ‘फ्रेन्च सेक्युलिरिजम’ बाट प्रभावित भई इस्लामिक विद्यालयको बन्देज साथसाथै महिलालाई विद्यालय पठाउने व्यवस्था, बहुविवाह बन्देज, महिला मताधिकारको व्यवस्था, सरकारी महिला कर्मचारीको लागि बुर्खा लगाउन बन्देज तथा अन्यलाई बुर्खा नलगाउन प्रोत्साहन, प्राथामिक शिक्षाको अधिकार लगायतको सुविधाहरू टर्कीमा उपलब्ध गराएका थिए । यही व्यवस्था अनुसार नै कुनै पनि सम्प्रदायले आफ्नो  धर्म प्रसार एवं पहिचान गर्ने/गराउने कपडा एवं प्रवृत्ति सार्वजनिक ठाउँमा देखाउन बन्देज लगाइयो । ‘नो रिलिजन सो अफ’ प्रावधानको कारण उनी विवादित भइरहे नै साथै टर्कीहरूमा एकप्रकारको संकुचन रहिरह्यो । मध्यपूर्वमा चलिरहेको इस्लाम जगतको नेतृत्वको लडाईलाई केहीबेर किनारा लगाउने हो भने टर्कीमा लिराको मूल्यमा भारी गिरावट आउनुको एक कारणको रूपमा अर्तातुकको यस नीतिलाई मान्न सकिन्छ ।

अर्तातुकको मृत्यु भएको केही समयपश्चात (सन् १९५०) टर्कीमा स्वतन्त्र निर्वाचन सम्पन्न गरियो। तर तुर्कीका जनताले इस्लामवादी राजनीतिक दललाई नै भोट गरिरहे र जिताइरहे । करिब ६०० वर्ष लामो उस्मानिया सल्तनत अन्तर्गतको इस्लाम विचारधाराबाट तुर्कीहरू एकाएक मुक्त भई धर्म निरपक्षेतालाई आत्मसात गर्नु आश्चर्यको कुरा थियो, र यो आश्चर्य टर्कीमा लगभग देखिएन । यसैको उपज आधुनिककाल (दोस्रो विश्वयुद्धपछिको समय)मा टर्कीको इस्लामवादी राजनीतिक दलले हागिया सोफियालाई संग्रालयको रूपमा नभई मस्जिदको रूपमा खोल्नु पर्ने माग बढ्यो । यसप्रकार, एक प्राचीन एवं ऐतिहासिक सम्पदाको राजनीतिकरण शुरु भयो । हागिया सोफियामा नमाज पढ्ने वा अन्य कुनै पनि धार्मिक आयोजनामा बन्देज लगाइएको सन् १९३४ मा बनेको कानुनको विरुद्ध लगातार प्रदर्शन भइरह्यो ।

टर्कीका संविधानको धारा ३५ अनुसार संविधानलाई दखल पुर्याउने कुनै पनि घटना हुन्छ भने त्यसमा सैनिकले आफ्नो सम्पूर्ण अधिकार प्रयोग गरी त्यसलाई दबाउन पाउँछ । टर्कीको संविधानप्रबद्ध हकअनुरूप सेना (टर्किस आर्म्ड फोर्स)ले सन् १९६०, १९७१, १९८०, १९९७ गरी चारपटक  इस्लामवादी सरकारलाई सत्तादेखि पर फ्याकेको छ, जसको प्रमुख कारण थियो- इस्लाम धर्मको विस्तार एवं संरक्षण र हेगिया सोफियामाथिको राजनीति ।

यता, टर्कीका धर्मनिरपेक्ष समूह संविधानको पक्षधर रहीरहेका छन् । उनीहरू टर्कीलाई एक मुस्लिम मुलुकको बाबजुद पनि धार्मिक निरपेक्षतालाई बढुवा दिनु गर्वको विषय भएको बताउँछन् । र, शुक्रबार एक सानो यही समूह मात्र इस्तानाबुलको उक्त समारोहमा देखिएको थिएन ।

करिब ७० वर्षदेखि चलिरहेको धार्मिक एवं राजनीतिक विवादको वर्तमान राष्ट्रपति अर्दोआन  छिनोफानो  गरिदिए । मुलुकमा बहुल सहमत पाएता पनि हागिया सोफियाको प्राचिनता एवं ऐतिहासिक महत्त्वको कारण अन्तर्राष्ट्रिय जगतमा राष्ट्रपति एर्दोनको यस कदमको लगातार विरोध भइरहेको छ ।

अन्तर्राष्ट्रियस्तरमा विरोध :

राष्ट्रपति एद्रोगानद्वारा हागिया सोफिया संग्रालयलाई मस्जिदमा रूपान्तरण गर्ने ऐलान गरेसँगै ग्रीस लगायत युरोपेली मुलुक र पश्चिमी देशहरूले लगातार विरोध गर्दै आइरहेका थिए, त्यो विरोध अब थप चर्किएको छ ।

ग्रीसले अदालतको यस फैसलालाई धार्मिक आस्थामा चोट पुर्याई राजनीतिक लाभ लिनका गरिएको राजनीतिको रूपमा अर्थाएका छन् । ग्रीसका संस्कृति मन्त्रीले हागिया सोफिया अर्थोडक्स इसाइयतलाई मान्ने लाखौंलाख मानिसहरूको केन्द्र भएको विगतका वर्षहरूदेखि नै बारबार दोहर्याउँदै आएका थिए ।

उस्तानीय सल्तनतद्वारा भएको अब्दुल्लाह बिन सऊदको हत्याको कारण साउदी अरेबियाको पनि टर्कीसँग उचित सम्बन्ध देखिएको छैन ।

अमेरिकी विदेश मन्त्रलायले यस सम्पदाको स्थितिमा ल्याइएको परिवर्तन ठीक नभएको बताएको छ । फरक–फरक धार्मिक आस्थाकाबीच एउटा पुलको काम गर्दै आइरहेको यस सम्पदाको यो नियति कदाचित स्वीकार्य नहुने  विदेशमन्त्री माइक पोम्पियोले बताएका थिए ।

पोप फ्रान्सिस तुर्कीको निर्णयको निन्दा गर्ने धार्मिक नेतामा परेका छन्। वर्ल्ड काउन्सिल अफ चर्चले तुर्की राष्ट्रपति अर्दोआनको यो निर्णय उल्टाउले आश गरेको टिप्पणी गरेका छ । यो रुसमा रहेको इसाई समुदायको महत्वपूर्ण धार्मिकस्थल हो ।

तुर्कीका चर्चित लेखक एवं नोबेल पुरस्कार विजेता ओरहान पामुकले यसको गौरव खोसिएको टिप्पणी गरेका छन् । टर्की एक धर्मनिरपेक्ष देश भएकाले यो निर्णय गलत भएको उनको टिप्पणी रहेको छ । ‘म जस्ता लाखौं तुर्की मुसलमानहरू जाे यो निर्णयको विरुद्धमा रहेका छौ,’ पामुकले भने, ‘तर हाम्रो आवाज सुनिने छैन ।’

यूनेस्कोले यस ‘चर्च’को भविष्यको फैसला एउटा उच्चस्तरमा हुनुपर्ने, जसमा अन्तर्राष्ट्रिय बुद्धिजीवी र धार्मिक अनुयायीहरूले दिएको कुरा पनि सुन्नुपर्ने बताएको छ । साथै युनेस्कोले टर्कीलाई यस विषयमा एक चिठी पठाएको तर टर्कीले कुनै जवाफ नदिएको संयुक्त राष्ट्रको ती प्रतिनिधिको भनाइ छ । टर्कीले भने यसलाई आफ्नो सम्प्रभुता अधिनस्थ कार्य भएको बताउँदै आइरहेको छ । तुर्कीका राष्ट्रपतिले यो निर्णय सरकारले परिपक्क रूपमा लिएको र यहाँ मुस्लिम, गैरमुस्लिम र अन्य विदेशी यात्रुहरूका लागि सधै खुल्ला हुने बताएका छन् ।

इस्तानबुलको विश्व प्रशिद्ध हागिया सोफिया संग्रहालयलाई टर्की सरकारले मस्जिदमा परिणत गर्ने रणनीतिलाई राजनीतिक, धार्मिक एवं जातीय अन्तरद्वन्द्वको रूपमा चित्रण गर्न सकिन्छ । यसले टर्की एवं राष्ट्रपति एर्दोनको भविष्य कतातर्फ सुनिश्चित गर्छ हेर्न बाँकी छ। यहाँ राष्ट्रपति एर्दोनको इस्लामिक जगतको नेतृत्व गर्ने हठ र उस्तानिया सल्तनतको मानसिक विरासतको कुरा पनि सँगसंगै जोडिएर आएको देख्न सकिन्छ । यसबारे अर्को शृंखलामा थप चर्चा गरिनेछ ।

(प्रकाशन: आइतवार, श्रावण ११ २०७७०३:४१:५१, कामना न्यूज)

https://www.kamananews.com/2020/07/41657

Leave a Reply