एउटा नाटक पहिलो प्रदर्शनमा नै फ्लप भयो । नाटकको समाप्तिमा पत्रकारले नाटककारको प्रतिक्रिया बुझ्नको लागि सोधे, ‘भन्नुस्, कस्तो रह्यो तपाईंको नाटक ?’ नाटककारले पुरा आत्मविश्वसले मुस्कुराउदै भने, ‘नाटक त एकदम सफल भयो तर दर्शक असफल भए ।’
ती नाटककार थिए- आयरिश कवि,लेखक एवं नाटककार ओस्कार वाइल्ड । वाइल्ड त्यो व्यक्ति हुन्, जसले विश्वभर आफ्नो लेखनद्वारा हलचल मच्चाइदिए । सेक्सपियरको उपरान्त सर्वाधिक चर्चित वाइल्ड उपन्यासकार, कवि तथा नाटककार होइनन्, एक संवेदनशील व्यक्ति पनि हुन् । उनको लेखाइमा जीवनको गहिरो अनुभूति छ, सम्बन्ध एवं सौन्दर्यको व्याख्या त छँदै छ, मानवीय धड्कनको स्पन्दन पनि छ ।
वाइल्डको पुरा नाम लामो थियो, तर दुनियाँभरमा उनी ओस्कर वाइल्ड नामले नै परिचित छन् । उनको वास्तविक नाम ,ओस्कर फिङ्गल ओफ्लाहेर्टी विल्स वाइल्ड (Oscar Fingal O’Flahertie Wills Wilde) थियो । उनको पिता सर्जन थिए भने माता कवि थिइन् । कविताको संस्कार उनले आफ्नो माताबाटै पाएका थिए । क्लासिक्स कवितामा उनको विशेष अभिरुचि थियो ।
१९ औँ शताब्दीको अन्तिम दशकमा उनले सौन्दर्यवादी आन्दोलनको नेतृत्व गरेका थिए । यस आन्दोलनले उनको कीर्ति फैलाउने काम गरेको थियो । विलक्षण बुद्धि, विराट कल्पनाशीलता र प्रखर विचारको स्वामी वाइल्ड उद्भट वक्ता समेत थिए । ‘द पिक्चर अफ डोरियन ग्रे’ उनको प्रथम र अन्तिम उपन्यास थियो जो, १८९० मा प्रकाशित भएको थियो ।
विश्वको कयौँ भाषामा उनको कृतिहरू अनुवादित भइसकेका छन् । ‘द बैलेड अफ रिडीङ गोल’ र ‘डी प्रोफनडिस’, उनको सुप्रसिद्ध कृतिहरूको नाम हो । ‘लेडी विन्डरमर्स फेन एन्ड द इम्पोर्टेन्स अफ बिइङ अर्नेस्ट’ जस्ता नाटकबाट उनले लोकप्रियताको खुड्किला उक्लिएका थिए । उनले ‘परिकथा’हरू लेखेका छन् । उनको एक नाटक ‘सलोमी’को प्रदर्शनको लागि इंग्ल्याण्ड सरकारले लाइसेन्स दिएको थिएन । पछि सो नाटक, प्यारिसमा प्रदर्शन गरिएको थियो ।
वाइल्डले कला, पुस्तक एवं जीवनका मूल्यमान्यताका बारेमा सारगर्भित टिप्पणीहरू गरेका छन् । उनले भनेका छन्, “पुस्तक नैतिक या अनैतिक हुँदैन । पुस्तक कि असल नियतले लेखिएका हुन्छन् कि खराब नियतले ।” उनले अर्को ठाउँमा भनेका छन्, “विपद्हरू झेल्न सकिन्छ किनभने यी बाहिरबाट आउँछन् । तर, आफ्नो गल्तीहरूको दण्ड आफूलाई दिन सक्नु नै जीवनको दर्शन हो ।”
उनको जीवनका मूल्याङ्कन गर्नु भनेको उनको जीवनको फैलावटमा हराउनु हो । आफ्नो जीवनमा घाम छायाँ बेहोर्ने क्रममा अनेकौँ उथलपुथल र सङ्घर्ष समेट्दै ४६ वर्ष पुरा गर्दै उनको देहावसान भयो ।
मलाई लाग्छ, यतिखेर एउटा किस्सा सुनाउनु उपयुक्त हुन्छ;
वाइल्ड ‘कीरो’को समकालीन थिए । एकपटक भविष्यवक्ता ‘कीरो’ले कुनै सम्भ्रान्त महिलालाई भोजमा निमन्त्रण गरेका थिए । भोजमा प्रतिष्ठित व्यक्तिहरूको उपस्थिति थियो । कीरो उपस्थित होउन् र भविष्यको लेखाजोखा नहोस्, यो कहाँ सम्भव थियो र ? कीरोको उपस्थितिपश्चात् दिलचस्प अन्दाजमा भविष्य दर्शनको एक कार्यक्रम आरम्भ हुन् पुग्यो । एउटा रातो मखमली पर्दा लगाइयो । पर्दापछाडिबाट कयौँ हातहरू अगाडि सारियो । यो यसकारण कि, कीरोलाई थाहा हुन् नसकोस्- यी हातहरू क-कसका हुन् ?
यसैक्रममा दुई सुस्पष्ट सुन्दर हातहरू कीरोको सामुन्ने आयो । ती हातहरूलाई देखेर कीरो हतप्रभ भइगए । हैरान बनिगए । दुवै हातमा आकाश-पातालको अन्तर थियो । बायाँ हात भनिरहेको थियो कि, “यो व्यक्ति असाधारण बुद्धि र अपार ख्यातिको मालिक बन्नेछ ।” त्यहीँनेर, दाहिने हात भनिरहेको थियो, “उसले देशनिकालाको सजाय पाउनेछ । र, कुनै अनकन्टार ठाउँमा आफ्नो एकाकीमा निसास्सिएर मित्रविहीन अवस्थामा मर्नेछ ।’ कीरोले यो पनि बताएका कि, ४१ देखि ४२ वर्षको बिचमा देशनिकालाको सजाय सुनाइनेछ र त्यसको केही समयपश्चात् नै सो व्यक्तिको मृत्यु हुनेछ । यी दुवै हात तत्कालीन समयका सर्वाधिक चर्चित व्यक्ति ओस्कर वाइल्डको थियो । संयोग, सोही रात एक महान् नाटक ‘अ वुमन अफ नो इम्पोर्टेन्स’ मञ्चित गरियो । नाटकको रचयिता वाइल्डले गरेका थिए ।
भनिहालौँ, वाइल्डको जन्म १५ अक्टोबर १८५४ मा भएको थियो । कीरोको भविष्यवाणीअनुरूप नै सन् १८९५ मा वाइल्डले समाजको नैतिक नियमहरूलाई उल्लङ्घन गर्छन् । फलस्वरूप, समाजमा रहेको आजसम्म आर्जित प्रतिष्ठा, मान-सम्मान र सम्पूर्ण उपलब्धिहरू ध्वस्त हुन् पुग्यो । दुई वर्षपश्चात् उनले कठोर कारावासको सजाय भोगे । तर, आफ्नो सजायलाई वाइल्डले धैर्यताले जवाफ दिए ।
आफ्नो गौरव र प्रभुताको साथ उनी समाजमा खडा रहन सकेन । हतासाको हालतमा उनी स्वयं देश छाडेर निक्लिदिए । प्यारिस पुगेर उनले आफ्नै एकाकीसँग गुमनाम जिन्दगी बाँचे । केही वर्षपश्चात्, ३० नोभेम्बर १९०० मा प्यारिसमै उनको मृत्यु भयो । कीरोको भविष्यवाणी जस्तै नै, वाइल्ड सघन एक्लोपनमा छटपटिएर त्यस समयमा सम्मानित व्यक्तिले देह त्याग गरेका थिए ।
वाइल्डले आफ्नो साहित्यमा कतै पनि आफ्नो पीडा, अवसाद र अपमानलाई व्यक्त/अभिव्यक्त गरेका छैनन् । तर, पनि उनको साहित्य कोमल छ । कयौँ अन्य साहित्यकारहरूले जस्तै उनले पनि विषपान गरे, नीलकण्ठ बने र चुपचाप रहे । विश्व साहित्यका यस तेजस्वी हस्ताक्षर ओस्कार वाइल्डको एउटा कविता पढौँ,
अन्ततः मान्छे उसलाई मारिदिन्छ, जसलाई ऊ प्रेम गर्छ
अन्ततः मान्छे उसलाई मारिदिन्छ,
जसलाई ऊ प्रेम गर्छ !
कोही तिखा आँखाले छेडेर मारिदिन्छन्
कोही चाप्लुसी भरिएका शब्दहरूले मारिदिन्छन् !
कायर छ यदि ऊ भने चुम्बनको सहारा लिन्छ,
र, यदि बहादुर छ भने तलवार प्रयोग गर्छ !
कोही आफ्नो जवानीमै आफ्नो प्रेमको हत्या गरिदिन्छन्
र, कोही आफ्नो बुढेसकाल आइपुग्दा-नआइपुग्दै,
कोही लालचको हात बढाएर प्रेमको घाँटी थिचिदिन्छन्
कोही आफ्नो सम्पन्नताको हात बढाएर!
सबैभन्दा दयालु हुन् ती, जो चक्कु प्रयोग गर्छन्
किनभने यसले जोकोहीलाई पनि चाडै मार्न सकिन्छ
कोही त अझ केही बेर प्रेम गर्छन्, कोही केहीबेर अझै गर्छन्..
कोही बेचिदिन्छन् प्रेम,
र अर्को किनी पनि हाल्छन् !
कोही आँसु बगाएर यो काम गर्छन्
र, कोही आँसु ननिकालीकन
आखिर हरेक मान्छे उसलाई मारिदिन्छ,
जसलाई ऊ प्रेम गर्छ
तर, यति गरेर पनि ऊ मरिहालेको छैन ।
(प्रस्तुति/अनु.- राजु झल्लु प्रसाद)