दर्जन हिमाल देखिने पञ्चकोट

You are currently viewing दर्जन हिमाल देखिने पञ्चकोट

Raju Jhallu Prasad

समुन्द्री सतहदेखि एक हजार १०० मिटरको उचाइमा अवस्थित पञ्चकोटबाट गुर्जा, अन्नपूर्ण, धौलागिरि, निलगिरीलगायतका दर्जन बढी हिमशृङ्खलाहरू अवलोकन गर्न सकिन्छ । यहाँबाट कालीगण्डकी नदीसँगै बागलुङ बजारको मनोरम दृश्यावलोकन गर्न सकिन्छ । 

बागलुङ । बागलुङ कालिका मन्दिरपश्चात् जिल्लाको ख्यातिप्राप्त स्थलको रुपमा बागलुङ नगरपालिका वडा नम्बर – ६ स्थित विश्वशान्ति सर्वसिद्धिधाम पञ्चकोट परिचित हुँदै छ । यहाँ निर्मित धार्मिक संरचना, सिसमहल, हनुमानको मूर्ति, गरुडशिलाको दर्शन एवम् दर्जन बढी हिमाल अवलोकनका लागि दैनिक रूपमा सर्वसाधारणहरू पञ्चकोट उक्लिने गरेका छन् ।

समुन्द्री सतहदेखि एक हजार १०० मिटरको उचाइमा अवस्थित पञ्चकोटबाट गुर्जा, अन्नपूर्ण, धौलागिरि, निलगिरीलगायतका दर्जन बढी हिमशृङ्खलाहरू अवलोकन गर्न सकिन्छ । यहाँ हिउँदमा हिउँ पर्ने गर्दछ । यहाँबाट कालीगण्डकी नदीसँगै बागलुङ बजारको मनोरम दृश्यावलोकन गर्न सकिन्छ । यसबाहेक खेतीयोग्य फाँट, भूइचालोबाट जोगिएका ढुंगे छानाका नेपाली घर आदिले प्राकृतिक रसस्वादन गराउँदछ । सूर्योदय र सूर्यास्तमा समयमा हिमालमा पोतिने रातो रङ पनि यहाँको मनमोहक दृश्य हो ।

पञ्चकोटबाट गुर्जा, अन्नपूर्ण, धौलागिरि, निलगिरीलगायतका दर्जन बढी हिमशृङ्खलाहरू अवलोकन गर्न सकिन्छ

पञ्चकोट नाम कसरी रह्यो ? 

बागलुङ नगरपालिकाभित्रका ताराजालकोट, राङराङकोट, माझकोट, कारिकोट र संसारकोट मिलाएर पञ्चकोटको नामकरण गरिएको यस क्षेत्रमा बाइसे-चौबिसे राजाहरूले देवीको पूजा-आराधाना गर्ने इतिहासमा उल्लेखित छ ।

कारिकोट मन्दिर क्षेत्रमा भुरे टाकुरे राजाहरूले चढाएको तरबार र दाउहरू देख्न पाइन्छ । कारिकोटमा भगवतीको मन्दिर समेत रहेको छ ।  यसैगरि, संसारकोटमा उतिबेला धान कुट्ने ढिकी, ओखल आदि देख्न पाइन्छ ।

संस्कारकोट जिल्लाको दोस्रो अग्लो डाँडा हो, जहाँबाट पर्वतको कार्कीनेटा, म्याग्दी-गुल्मीका पहाडी गाउँहरू, कास्की एवम् मुस्ताङ समेत देख्न सकिन्छ । दुरबिन साथमा बोक्ने हो यहाँबाट पोखराको फेवाताल समेत नियाल्न सकिन्छ ।

पञ्चकोट पुग्दै गर्दा देखिने ग्रामीण घरहरू

१. ताराजालकोट

पाँचवटा कोटहरुमध्ये अहिले तीर्थाटन पर्यटकहरुका लागि सबैभन्दा धेरै पूर्वाधार निर्माण भएको ताराजालकोट हो । ताराजालकोटमा गरुडको ठूलो मूर्ति, हनुमानको मूर्ति, रेलिङ सहितको पदमार्ग, गण्डकी माताको मन्दिर, सिसिमहल, सत्संग भवन, गणेश मन्दिर, हरियाली र रमणीय पार्क, गुफा, अतिथि आवास गृह रहेका छन् भने यसै ठाउँमा ५५५५ केजीको घण्ट र १०८ फिट अग्लो विश्व शान्ति कलश निर्माणको चरणमा रहेका छन् ।

ताराजालकोटबाट वरिपरि रमणीय डाँडाकाँडाका साथै खुलेका हिमालको दृश्यावलोकन पनि गर्न सकिन्छ । यहाँ विभिन्न भौतिक संरचनाहरू निर्माणाधीन अवस्थामा रहेका छन् ।

ताराजालकोटमा रहेको हनुमानको मूर्ति

२. कारिकोट

ताराजालकोटमा रहेको हनुमानको मूर्तिभन्दा माथिल्लो डाँडाको थुम्कामा रहेको कारिकोट मन्दिरमा प्रत्येक वर्षको नवदुर्गामा विशेष पूजाआजा लाग्ने गर्दछ । मुडुला कार्की थरका पूजारी रहेका छन् । यहाँ सत्तल एवम् मन्दिर निर्माण हुँदै छ ।

यहाँ बलिका लागि ल्याइएका जनावरलाई बाँध्नका लागि जमिनबाट एउटा सुनको अंकुश निस्कने किंवदन्ती रहेको छ । कारिकोट मन्दिरमा परम्परागत समयदेखि राखिएका विभिन्न तरवार र दाउहरु पनि देख्न पाइन्छ ।

डाँडाको थुम्कामा रहेकाले यस मन्दिरको वरिपरिबाट विभिन्न हिमाल र अन्य रमणीय दृश्यहरुअवलोकन गर्न सकिन्छ ।

३. माझकोट

कारिकोट भन्दा १५ मिनेट माथिको थुम्कालाई माझकोट भन्ने गरिन्छ । भुरे-टाकुरे राजाहरु बसेको विश्वास गरिने यस ठाउँमा पनि देवी भगवतीको मन्दिर रहेको छ । यस मन्दिरमा पनि हरेक वर्ष दशैैंको नवरात्री भर विशेष पूजा आजा र बलि दिने गरिन्छ । ब्राह्मण पूजारीले पूजा संचालन गर्ने यस मन्दिरमा पछिल्लो समय सत्तल र अन्य पूर्वाधारहरु निर्माणको चरणमा रहेको देख्न सकिन्छ ।

४. राङराङकोट

माझकोटबाट ४०–५० मिनेटमा पुगिने राङराङकोट (रायंरायंकोट) मा ढुंगामा घण्टी र ध्वजा पताकाहरू देख्न सकिन्छ ।

किंवदन्तीअनुसार, बाह्रौँ र तेह्रौँ शताब्दी ताकाका कुनै एक भुर्रे राजा शिकार खेल्न जंगलमा बस्दा उनले मानिसको रुप बदली दरबारमा आउने गर्दथे । यसरी भेष बदली आउँदा रानीले जल, अक्षता र पानी आदि मन्त्रेर छर्किदिएपछि आफ्नो पहिलेको स्वरुपमा परिणत हुन्थे । एकचोटी राजा पुनः शिकार खेली दरबारमा फर्कंदा राँगाको रुपमा सिंगौरी खेल्दै आफ्नो सिङले जमिनका ढिस्काहरू उधिनी हाई–हाई गरी कराउँदै आइरहेको अवस्थामा रानी डराई दरबारको एक कुनामा लुकेको र राँगारुपी राजा दरबार वरपर निकै समयसम्म घुम्दा पनि रानीले पूर्ववत् रुपमा अक्षता–पानी नछर्कि दिएकाले अन्तमा राँगारुपी राजा ओडारमा अलप भएको र पछि रानी पनि सोही ओडारमा हराएको भनिन्छ । राजा राँगोको रुपमा अलप भएकाले यस ठाउँको नाम रोयंरायंकोट रहन गएको किँवदन्ती छ ।

५. संसारकोट

पञ्चकोटको अन्तिम कोट संसारकोट हो । बागलुङ जिल्लाको दोश्रो अग्लो पहाड मानिएको संसारकोट सिमले गाउँबाट करिब ८,००० फुट उचाईमा रहेको छ । संसारकोटमा पहिले पहिले भुरे राजा रजौटाका दरबारका केही भग्नावशेष, धान कुट्ने ढिकी, ओखलहरू झाडीमुनि दबिएर रहेका छन् ।

पञ्चकोटबाट करिब ९० मिनेट उकालो हिँडेपश्चात पुगिने संसारकोटको चुचुरोबाट हेर्दा वरिपरी हरिया पहाडहरु, पाखा पखेरा, झरनाहरु र खोलाहरुका साथै उत्तरमा रहेका धवलागिरी, नीलगिरी, माछापुच्छ्रे, अन्नपूर्ण जस्ता सुन्दर हिमश्रंखलाहरु देखा पर्दछन् ।

यस ठाउँबाट दुरविनको मद्दतले पर्वतको कार्किनेटा, म्याग्दी, गुल्मीका केही पहाडी थुम्का, कास्की र मुस्ताङ्का केही गाउँहरुका साथै कास्कीको फेवाताल, पश्चिमको घुम्टेको लेक र शोलेको धुरी, ढोरपाटनको धुरी र दक्षिणको गाँजाको धुरी देख्न सकिन्छ ।

यहाँ बाघ, भालु, चितुवा, दुम्सी, मृग, मयुर र च्याखुरा, कालिज जस्ता जनावर पाइन्छन् ।

पञ्चकोटमा केकस्ता संरचना निर्माण हुँदै छन् ?

एक सय रोपनीभन्दा बढी क्षेत्रफलमा फैलिएको पञ्चकोटमा कमलनयनाचार्य संस्थापक रहेको अखण्ड ज्योतिबाबा स्वामी श्रीजी च्यारिटेवल ट्रष्टमार्फत काम भइरहेको छ । पञ्चकोटको विकाससँगै मुक्तिनाथ क्षेत्र, शालिग्राम, पवित्र कालीगण्डकी तथा यससँगै जोडिएका धर्म, संस्कृति र सभ्यताको संरक्षण हुने ठानिएको छ ।

स्थानीय महेन्द्र सापकोटा यहाँ होटल व्यवसाय सन्चालन गर्दछन्

स्वामी कमलनयन आचार्य (मुक्तिनाथ बाबा)को पहलमा पञ्चकोटमा विभिन्न धार्मिक तथा पर्यटकीय संरचना निर्माणका लागि विसं २०७१ देखि बर्सेनि महायज्ञ सञ्चालन गरी आर्थिक सङ्कलन गरिँदै आइएको छ । महायज्ञ अवधिभर भूमिपुजन, श्रीमद्भागवत पाठ पारायण, प्रवचन लगायतका कार्य गर्ने गरिन्छ । रारायीकोट देखि केही तल पर्ने पञ्चकोट स्वामी कमलनयानचार्यको जन्मथलो समेत हो । वि.सं. २०२३ साल ज्येष्ठ ११ गते बाग्लुङ जिल्लाको भान्सा गाउँमा माता कौशल्यादेवी र पिता जयनारायण आचार्यको पुत्रका रुपमा जन्मिएका कमलनयनाचार्यको नेपालको विभिन्न देवस्थल, तीर्थस्थलहरुको संरक्षण, संवर्धन, सनातन वैदिक धर्म–संस्कृतिको नवजागरण एवं नेपाल राष्ट्रियताको उद्बोधनमा मनग्ये योगदान रहेको छ ।

पञ्चकोटमा संसारकै अग्लो विश्व शान्ति कलश निर्माण गरिने लक्ष्य रहेको छ । कलश निर्माणका लागि मात्र रु ६० करोड खर्च हुने विस्तृत परियोजना प्रतिवेदनमा उल्लेख छ । पञ्चकोटको मुख्य आकर्षण नै यही कलश बन्ने बताइन्छ ।

पञ्चकोटलाई पूर्णता दिन भने अझ केही वर्ष लाग्ने बताइन्छ । पञ्चकोटमा साना संरचना निर्माण भइसके पनि ठूला संरचनाका लागि सहयोग सङ्कलन गर्ने अभियानलाई तीव्रता दिइएको छ । पञ्चकोटको विकासका लागि वार्षिक रूपमा महायज्ञसमेत आयोजना हुँदै आएको विश्व शान्ति सर्वसिद्धिधाम पञ्चकोट विकास समितिका अध्यक्ष एवं स्वामी मुक्तिनाथ बाबाका उत्तराधिकारी ऋषि प्रपन्नाचार्यले बताए । “नेपाल सरकारको पर्यटन मन्त्रालयले समेत पञ्चकोटलाई पर्यटकीय गन्तव्यका रुपमा सूचीकृत गरी सकेको छ”, उनले भने ।

दक्षिण भारतीय शैलीमा निर्माण भएका मन्दिर र पूर्वाधार निर्माणका लागि हालसम्म २० करोडको संरचना निर्माण भइसकेका एवम्  मुख्य संरचनाका रुपमा निर्माण हुने विश्व शान्ति कलशको विस्तृत परियोजना प्रतिवेदन (डिपिआर) तयार भइसकेको छ । हालसम्म गरुडशिला, गण्डकी माताको मन्दिर, सिसमहल, गणेश मन्दिर, पवनपुत्र हुनमानको ठूलो मूर्ति, सिंहगुफा, ध्यानकुटी, गौशालालगायतका संरचना निर्माण सम्पन्न भइसकेको सर्वसिद्धिधाम पञ्चकोटले जनाएको छ ।यसैगरि, कलशसँगै पाँच हजार ५५५ केजीको महाघण्टा, ध्यान केन्द्र, योगशाला, अतिथि आवासलगायतका संरचना निर्माण हुनेछन् ।

सिसमहल

यहाँका सबै पूर्वाधार निर्माणका लागि झन्डै साढे २ अर्ब खर्च हुने अनुमान छ । यहाँ वार्षिक एक लाखभन्दा बढी पर्यटक भित्र्याउने लक्ष्य राखिएको छ । पञ्चकोटलाई हिन्दू र बौद्ध धर्मको मुख्य गन्तव्य बन्ने उल्लेख छ ।

१०८ फिट अग्लो विश्व शान्ति कलश तथा अन्य धार्मिक पूर्वाधार निर्माणका लागि २०७१ फागुन ९ गते तत्कालीन प्रधानमन्त्री स्व. सुशील कोइराला र भूतपूर्व प्रधानमन्त्री केपी शर्मा ओलीले शिलान्यास गरेका थिए ।

सर्वसिद्धिधाम पञ्चकोटका हालसम्म तीन हजार संस्थापक सदस्य रहेका छन् ।

कसरी पुग्ने ? 

पोखरा, कुश्मा हुँदै बागलुङ बजार पुगिन्छ । जिल्ला सदरमुकाम बागलुङ बजारबाट आठ किलोमिटरको दुरीमा रहेको यस स्थलमा बाइक वा गाडीबाट जानु उचित हुन्छ । पञ्चकोट जानका लागि बागलुङ नगरपालिका–४ कुँडुले हुँदै पदमार्ग पनि निर्माण गरिएको छ । कुँडुलेमा रहेको शालिग्राम संग्रालयको अवलोकनपश्चात् झन्डै एक घण्टाको पैदल यात्रापछि पञ्चकोट पुग्न सकिन्छ ।

बाटो कस्तो छ ? 

यहाँ पुग्नेबेलाको डेढ किलोमिटर बाटो कालोपत्रे हुन् बाँकी नै छ । पञ्चकोट आसपास राम्रो व्यवस्थापन सहितको आवास गृह एवम् खाजा घरहरू निर्माणाधीन अवस्थामा रहेका छन् । शनिवार र बिदाको दिन आन्तरिक पर्यटकहरूको चहलपहल बढिरहे पनि बाह्य पर्यटकलाई यहाँ पुर्‍याउन सकिएको छैन ।

सडकको स्तरोन्नति एवम् मौलिक नेपाली कलालाई प्राथमिकता दिएमा यस स्थलमा बाह्य पर्यटनको चहलपहल बढ्ने देखिन्छ । यहाँ पुगीसकेपश्चात् गल्कोट, विहुँकोट, संसारकोट, अनार्कोट र माझकोट लगायत क्षेत्रमा पुग्ने गरि बसाइ लम्बाउनु उपयुक्त हुन्छ  । यी बाहेक कालीका भगवती मन्दिर, ढोरपाटन, गाजा दह, भकुण्डे धुरी, हाडिकोट धुरी, चमेरे गुफा, रामकोट, घुम्टेको लेक, लोङाको धुरी, भैरवस्थान, घोडा बाँधे, फागुनेको धुरी, थाप्लेको धुरी र जैमिनेश्वर क्षेत्र जस्ता पर्यटनका गन्तब्यहरु पनि बाग्लुङमा रहेका छन् ।


स्रोत-सन्दर्भ:

स्थलगत भ्रमण, के.वि. मसाल, न्यूजडेली लगायत ।

(हिमाल दर्पणमा १५ फाल्गुन २०७९, सोमबार १५:१९ प्रकाशित)

Leave a Reply